काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गैर आवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिन विलम्ब गर्न नहुने बताएका छन् । “गैर आवासीय नेपालीलाई नागरिकता दिन विलम्ब हुन नहुने थियो”, उनले भने, “यो विषयलाई निर्वाचनपछि समाधान गर्छौँ, गैर आवासीय नेपालीलाई तुरुन्त नागरिकता उपलब्ध गराइनेछ ।”
गैर आवासीय नेपाली दिवस एवं गैरआवसीय नेपाली सङ्घको वार्षिक साधारण सभा बुधवार काठमाडौँमा समापन गर्दै उनले आफूले सरकारको नेतृत्व गरेको समयमा गैर आवासीय नेपालीलाई नागरिकता दिलाउन नागरिकता विधेयक अगाडि बढाउन खोजे पनि सत्ता साझेदारका कारण निणायार्थ प्रस्तुत गर्न नसकेको जिकिर गरे । “गैर आवासीय नेपालीका माग स्वाभाविक छन्, मैले त्यसलाई समर्थन गर्दै आइरहेको छु”, उनले भने ।
गैर आवासीय नेपालीलाई नेपालको समृद्धिका लागि लगानी गर्न आह्वान गर्दै उनले लगानीको व्यवधान हटाइने प्रतिबद्धता व्यक्त गरे । “गैर आवासीय नेपालीलाई नेपालमा लगानीका लागि सहज ढङ्गको वातावरण बनाइनेछ, लगानीको प्रक्रियालाई सरलीकृत गरिनेछ”, पूर्व प्रधानमन्त्री ओलीले भने ।
प्रवासी नेपालीलाई जहाँ भए पनि मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगले प्रयास गरिरहेको उल्लेख गर्दै उनले नेपाली जहाँ भए पनि मताधिकारको प्रयोग गर्न पाउनुपर्छ भन्नेमा आफू दृढ रहेको बताए । उनले भूकम्प, नाकाबन्दी तथा कोरोना महामारीमा गैर आवासीय नेपालीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।
एमालेको नेता डा. सूर्य पाठकले गैर आवासीय नेपालीलाई नागरिकता प्रदान, प्रवासी नेपालीलाई मताधिकारको प्रयोग, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउने तथा पुस्तौँदेखि बर्मा, मलेसिया, थाइल्याण्डलगायत मुलुकमा रहेका नेपालीलाई पनि गैर आवासीय नेपालीले पाउने अधिकार दिलाउन सरकारको ध्यानाकर्षण गराए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य उमेशजङ्ग रायमाझीले मुलुकको विकासका लागि गैर आवासीय नेपाली एकजुट हुनुपर्ने उल्लेख गर्दै गैर आवासीय नेपालीले उठाएको मुद्दामा आफ्नो पार्टीको समर्थन रहेको बताए ।
सङ्घका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले मातृभूमिलाई समृद्ध बनाउने गैर आवासीय नेपालीले आआफ्नो क्षमता प्रदर्शन गर्दै आइरहेको बताए । उनले सरकार र सबै राजनीतिक दलले विदेशमा रहेका नेपालीले नेपालमा लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरिदिनुपर्ने बताए ।
सङ्घका अध्यक्ष डा. बद्री केसीले गैर आवासीय नेपालीले विदेशमा नेपालको प्रतिनिधित्व गरिरहेको जनाउँदै अध्यादेश ल्याएर भए पनि गैर आवासीय नेपालीलाई तत्काल नागरिकता दिइनुपर्ने बताए । सङ्घका अर्का अध्यक्ष कूल आचार्यले नेपालको समृद्धिका लागि गैर आवासीय नेपालीले सच्चा साझेदारीको पहल गरिरहेको बताए ।
दुई दिनसम्म चलेको सो साधारण सभा आज १० बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
FACEBOOK COMMENTS