काठमाडौं । एसियन अटो जिमखाना च्याम्पियनसिप २०२५ को तेस्रो राउन्ड भारतको गुडगाउँमा आजदेखि सुरू भएको छ ।
एसिया क्षेत्रकै प्रतिष्ठित मोटरस्पोट्र्स प्रतियोगितामा ८ देशका १२ टिम प्रतिस्पर्धामा छन्, जसमा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल)को टोली पनि सामेल छ ।
नेपालका तर्फबाट जय प्रताप मास्के, रविन सुनुवार, र विपासना तामाङ प्रतिस्पर्धा गर्दै छन् । उनीहरूले मेल सोलो, मेल डबल, फिमेल सोलो र मिक्स डबलजस्ता विभिन्न वर्गमा सहभागिता जनाइरहेका छन्। टोलीका म्यानेजर नासा नेपालका सचिव आशिष रौनियार हुन् ।
प्रतियोगिताको फाइनल खेल नोभेम्बर २ तारिखमा गुडगाउँस्थित ट्रयाकमा हुनेछ। यसअघि यो सिरिज काजाकिस्तान र श्रीलंकामा सम्पन्न भइसकेको छ भने बाँकी राउण्डहरू ताइवान र उज्बेकिस्तानमा हुनेछ ।
नेपाली ड्राइभरहरूले पछिल्ला वर्षहरूमा एसिया प्यासिफिकका विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। गत महिना मात्र आशिष भारतीले एसिया प्यासिफिक मोटरस्पोट्र्स च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण पदक जितेका थिए ।

एफआईएद्वारा मान्यता प्राप्त यो खेल हाल विश्वभर लोकप्रिय बन्दै गएको छ। नासा नेपालले मोटरस्पोट्र्स, मोटरसाइकलिङ, सिम रेसिङ, पावर बोटिङ, कार्टिङ र ड्रोन प्रतियोगिताहरू मार्फत नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउने प्रयास गरिरहेको छ ।

FACEBOOK COMMENTS