काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार विदेशी सामु घुँडा टेकेर बसेको आरोप लगाएका छन् । दार्चुलामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले तुइन काटेर नेपालीलाई महाकालीमा फाल्दा सरकार एक शब्द बोल्न नसको उनले आरोप लगाए ।
‘विदेशीसँग गलत सम्झौता गर्छ । तर, प्रधानन्यायाधीशलाई नजरबन्दमा राख्ने । उनको छोरीलाई दिनभर थुनेर साँझ छोडीदिने जस्ता क्रियाकलाप निन्दनीय छन्, ‘उनले भने । आफूहरू सरकारमा हुँदा सडक बालबालिकाको व्यवस्थापन गरेको उनको भनाइ छ ।
‘हामी सरकारबाट बाहिरिए लगत्तै फेरी समस्या बल्झीयो । जब कंगाल बुद्धिका मान्छे सरकारमा आउँछन् तब देश बिग्रन्छ । हामीले १ सयबाट सुरु गरेको ज्येष्ठ नागरिक भत्ता अहिले चार हजार बनाएका छौँ । त्यसलाई कहिले ६८ वर्ष, कहिले ६५ वर्ष, भन्दाभन्दै २५ मै पाउनुपर्छ भन्न बेर छैन,’ काँग्रेस नेतृत्वको सरकारलाई व्यङ्ग गर्दै ओलीले भने ।
विकास गर्न टालाटुली बटुली कति राम्री कठपुतली भएको सरकारले नहुने भन्दै उनले स्थायी सरकार चाहिने बताए । ‘त्यसैले अब मङ्सिर ४ पछि एमालेको स्थायी सरकार बनाउन, एमालेलाई सरकारमा पुग्नका लागि नभई देश बनाउनका लागि भोट दिनु होला,’ उनले भने ।
एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले विगतमा टाउकोको मूल्य तोक्नेहरूको गठबन्धन नटिक्ने दाबी गरे । उनले भने, ‘अब गठबन्धनको प्रधानमन्त्री को हो ? गोरखा बाट प्रचण्ड म हुँ भन्छन्, काँग्रेसका गगन थापा म हुँ भन्छन्, सेर बहादुर देउवा डडेलधुराबाट मै हुँ भन्छन् र अन्य दलहरूको त कुरै छोडौँ। त्यसैले एमालेले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाई देश विकास गर्ने योजना छ, सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्छु ।
FACEBOOK COMMENTS