वि.स. २०७२ सालदेखि पर्यटकीय नगरी पोखराको चिप्लेढुङ्गामा सञ्चालनमा आएको पोखरा ट्रेड मल एण्ड हाउजिङ कम्पनी अहिले यस क्षेत्रकै ठूलो व्यापारिक मलको रूपमा कहलिएको छ । साना–साना व्यापारीहरूको समूहले ठूलो (दुई अर्ब रूपैयाँ) लगानी गरेर सञ्चालन गरेको मलमा खाजा घरदेखि फिल्म हलसम्मको सेवासुविधा उपलब्ध छ ।
देशमा आर्थिक मन्दीले सकस पारिरहेको अवस्थामा समेत आरामले चलिरहेको मलमा अरु धेरै सुविधा उपलब्ध रहेको मलका प्रबन्ध निर्देशक दिपक कुमार मुल्मी बताउँछन् । यसअघि पोखराकै बुद्ध विशाल बजारका सामान्य व्यापारी रहेका मुल्मी अहिले कसरी यो भव्य मलको प्रबन्धनिर्देशक बने ? मल कसरी निर्माण भयो र कसरी चलिरहेको छ ? लगायत विषयहरूमा केन्द्रित रहेर कर्पोरेट खबरका साइराम उपरकोटीले विस्तृत कुराकानी गरेका छन् । प्रस्तुत छ, प्रबन्ध निर्देशक मुल्मीसँग हाम्रा प्रतिनिधि उपरकोटीले गरेको कुराकानी:–
पोखरा ट्रेड मल कहिलेदेखि सञ्चालनमा आयो ?
पोखरा ट्रेड मल साना–साना व्यवसायीहरू मिलेर सञ्चालनमा ल्याएको व्यापारिक केन्द्र हो । यो हामीले २०६९ सालमा बनाउन सुरू गरेर २०७२ सालदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याएका हौँ । यसमा ४३ जना व्यवासायी साथीहरूको संयुक्त लगानी छ । उहाँ संलग्न हामी सबै व्यवसायी साथीहरूको पहिला छुट्टाछुट्टै व्यवसाय थियो । त्यसबेला पोखरामा ठूलो मल भनेको विशाल बजार मात्र थियो, अन्य मलहरू थिएनन् । हामीले यसको नाम पोखरामा बनेको भएकाले ‘पोखरा ट्रेड मल एण्ड हाउजिङ कम्पनी’ राखेका हौँ ।
४३ जनाको शेयर छ भन्नुभयो यी मध्ये कसले यो मल बनाउन प्रेरित गर्नुभयो ?
म पहिल्यैदेखि बुद्ध विशाल बजारमा व्यापार गर्थेँ । त्यस बेला व्यवसायी र घरबेटीबीच टसल (विवाद) भयो । यो टसल जिल्ला प्रशासन कार्यालयसम्म पुग्यो । सधैँ यसरी टसल गरेर हुँदैन भनेर हामीले छलफल गर्यौँ । पोखरा फेन्सी व्यवसायी संघको साधारसभामा हामी सबै मिलेर केही गर्नुपर्छ भन्ने छलफल भएपछि वर्तमान अध्यक्ष मिनराज काफ्ले सरको नेतृत्वमा यो मल सञ्चालनमा ल्याएका हौँ । हामीले मिनराज सरको नेतृत्वमा साथ दिएर यो मल खडा गरेका हौँ ।
पोखरा ट्रेड मलको संरचना कस्तो छ र सञ्चालन कसरी भइरहेको छ ?
यो मल साढे ६ रोपनी जग्गामा पोखराको चिप्लेढुङ्गामा बनाएको हो । यसले ८ रेक्टरको भूकम्प छेक्न सक्छ । यसको अगाडिपट्टी ६ तल्ला छ भने पछाडिपट्टी ४ तल्ला छ । यहाँ ५०२ वटा सटर रहेको छ । सबै सटरहरूमा पसल छैनन् । ३ तल्लासम्म पसल सञ्चालन भएको छ भने त्यो भन्दा माथि फिल्म हल्ल र गोदाम रहेको छ ।
पार्किङको पनि राम्रो सेवासुविधा हामीले दिएका छौँ । ७० देखि ८० वटासम्म गाडी र ५०० वटासम्म मोटरसाइकल अटाउन सक्ने क्षमताको पार्किङ छ । मोटरसाइकलको दैनिक १० रूपैयाँ र गाडीको घण्टाको ३० रूपैयाँ र घण्टै पिछे १० रूपैयाँको दरले लिने गरिएको छ । यहाँ फेन्सी, विद्युतीय उपकरणदेखि दैनिक उपभोग्य वस्तु, गरगहना, खेलौना, बलाबाच्चाका लागि चाहिने सामग्री, कन्सलटेन्सी, फिल्म हल, रेष्टुराँ र अत्याधुनिक र युनिसेक्स सैलुन रहेका छन् । यो मल बनाउन दुई अर्ब रूपैयाँका लगानी भएको छ ।
धेरैजसो व्यापारिक केन्द्रहरूमा आर्थिक मन्दीका कारण सटरहरू धमाधम बन्द हुन थालेको समाचारहरू आइरहेका छन् । पोखरा ट्रेड मलको अवस्था चाहिँ कस्तो छ ?
धेरै ठाउँमा सटर बन्द भएको समाचार मैले पनि सुनेको छु र देखेको पनि छु । तर, हाम्रोमा भने ५–६ वटा मात्र सटर बन्द भएको छ । अन्य सबै सञ्चालनमै छन् । यहाँ सटर बन्द नहुनुको कारण भनेको सटरको मूल्य कम, सेवासुविधा धेरै भएकाले हो । हामीले यस मलमा व्यवसाय गर्ने सम्पूर्ण व्यवसायीहरूको आवश्यकता र दु:ख बुझेका छौँ । त्यसैले व्यवसायीहरू खुसी हुनुहुन्छ र हाम्रा सटरहरू भरिभराउ भएको छ । कोभिड भएको बेलामा पनि ५० प्रतिशतसम्म छुट दिएका थियौँ । यसले गर्दा र हाम्रो व्यवस्थापन देखेर व्यवसाय टिकेर बसीरहनुभएको हो । नभए हाम्रो पनि सटरहरू बन्द हुने अवस्था हुने थियो ।
सस्तो त भनिरहँदा एउटा सटरको भाडा कतिसम्म तिर्नुपर्छ ?
यहाँको व्यापार सन्तोषजनक छ । त्यति धेरै राम्रो पनि छैन र खराब भएको अवस्था पनि छैन् । अब जसले व्यवसाय राम्रोसँग गर्नुभएको छ उहाँहरूको राम्रो छ जसले गर्नुभएको छैन उहाँहरूको व्यवसाय राम्रो छैन । एउटा सटरको भाडा १८ देखि २० हजार रूपैयाँ रहेको छ भने प्राइम लोकेशनमा केही महङ्गो पनि रहेको छ । तर, बाहिरको भन्दा धेरै सस्तो रहेको छ । हामी पैसा नै कामाउँछौँ भनेर हिँडेका होइनौँ त्यसैले भाडा सस्तो दिएका हौँ । हामीले सबै सेवासुविधा दिएका छौँ । जति खर्च गरेका छौँ त्यति नै उठाउँछौँ । व्यवसायीसँग हामी चाहिने भन्दा धेरै उठाउँदैनौँ ।
यो कुराकानीका क्रममा छुट भएका अरु केही छन् ?
समग्रमा सबै कुरा आइसकेका छन् । सम्पूर्ण ग्राहक महानुभावहरू तपाइँहरूलाई लाग्न सक्छ मल भन्ने बित्तिकै महङ्गो हुन्छ । हामीले किन्न नसक्ने सामग्रीहरू हुन्छ । त्यस्तो होइन, हाम्रो मलमा सबैले किन्न सक्ने मूल्यका साम्रगी र सबै भन्दा राम्रो सामग्री पाइन्छ । सबै जना आउनुस् र आफूलाई चाहिएको सामग्री खरिद गर्नुहोस् भन्न चाहान्छु ।
FACEBOOK COMMENTS