काठमाडौँ । गोरखामा रुखमा झुन्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुन्डिएको अवस्थामा शनिवार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए ।
“सात वर्षका दुई बालकको काप्राको रुखमा झुन्डिएको अवस्था फेला परेको छ”, उनले भने, “बुबा हेमबहादुरको शव अर्कै रुखमा भेटिएको छ ।” घटनाको प्रकृति हेर्दा रानाले दुई छोरालाई रुखमा झुण्ड्याएर हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ ।
घरबाट झण्डै डेढ किलोमिटर पश्चिमदक्षिणमा छोराहरूको शव एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला परेको उनले बताए। हेमबहादुरको शव भने बालकहरू झुन्डिएको रुखभन्दा केही पर अर्को रुखमा फेला परेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा अहिले प्रहरीको टोली पुगेर अनुसन्धान सुरु गरेको उनले बताए । “घटना कसरी घट्यो भनेर खुल्न बाँकी नै छ”, उनले भने, “शवको मुचुल्का उठाउनका लागि प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ, तिनै जनाको शव पोष्टमार्टमका लागि शव गोरखा अस्पतालमा ल्याउने तयारी भइरहेको छ ।”
बिहान स्थानीयले रुखमा मान्छे भुण्डिएको देखेपछि घटनाका बारेमा जानकारी पाएको वडाध्यक्ष रन्जन रिमालले जानकारी दिए । मृतक राना डेढ महिनाअघि मात्र श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेर बसेका थिए ।
FACEBOOK COMMENTS