काटमाठौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप २६ बेलायतको स्कटल्यान्डस्थित ग्लास्गोमा आइतबार सुरु हुँदैछ ।
विश्वभरका विकसितदेखि विकासोन्मुख र अल्पविकसित राष्ट्रका शीर्ष नेतृत्व र प्रतिनिधिले यो सम्मेलनमा सहभागिता जनाउँदै छन् । उनीहरूले जलवायु परिवर्तनका विविध आयाममा छलफल गर्नेछन् । जोखिम न्यूनीकरण गर्ने उपाय खोज्नेछन् ।
जलवायु परिवर्तनलाई मानव जातिले सामना गर्ने सबैभन्दा ठूलो समस्याका रूपमा लिइएको छ। यसले हावापानी र मौसमको ढाँचामा दीर्घकालीन परिवर्तन गर्छ। मानव गतिविधिले हाम्रो ग्रहको मौसम परिवर्तन गर्न सक्छ भन्ने वैज्ञानिकको दाबीमा एक शताब्दीकोअनुसन्धानपछि मात्र विश्वस्त हुन थालेको पाइन्छ।
यससम्बन्धी वैज्ञानिक खोजको इतिहास १९औं शताब्दीको सुरु तिरको हो। सन् १८२० मा फ्रान्सेली वैज्ञानिक जोसेफ फोरियरले सूर्यबाट पृथ्वीको दूरीलाई ध्यानमा राख्दै पृथ्वी जति न्यानो छ त्यति हुनुहुँदैन भन्ने निष्कर्ष निकाले। उनले यस ग्रहलाई न्यानो राख्न सौर्य विकिरणबाहेक अन्य केही तत्वले भूमिका खेलेको हुनुपर्ने भन्ने दाबी गरे। वायुमण्डलले यसमा महत्वपूर्ण भूमिका निभाएको पत्ता लगाए। फोरियरले मानव गतिविधिले जलवायु परिवर्तनलाई प्रभाव पार्न सक्ने शंका गरे। यसलाई प्रायः ‘हरितगृह प्रभाव’ भनेर चिनिने पछिल्ला अनुसन्धानको आधार मानिन्छ।
आइरिस भौतिकशास्त्री जोन टिन्डलले सन् १८२० देखि सन् १८९५ सम्मको अवधिमा विभिन्न ग्यासले विभिन्न मात्रामा ताप छाड्ने विषयमा अध्ययन गरे। उनले वायुमण्डलको संरचनामा भएको भिन्नता जलवायु परिवर्तनमा जिम्मेवार हुन सक्ने बताए। टिन्डलले कार्बनडाइअक्साइडले पनि तापलाई सोस्न सक्ने पत्ता लगाए।
स्विडेनका वैज्ञानिक भान्ते एरेनियसलाई वायुमण्डलमा कार्बनडाइअक्साइड थुप्रदा यसले विश्वव्यापी तापमानमा कसरी प्रभाव पार्न सक्छ भन्ने सिद्धान्त प्रकाशन गर्ने पहिलो व्यक्ति मानिन्छ। उनको गणनाअनुसार कार्बनडाइअक्साइडलाई आधा घटाउँदा बरफ युग सुरु हुन्छ भने दोब्बर बनाउँदा यसले पृथ्वीको तापमानलाई ५ देखि ६ डिग्री सेल्सियससम्म बढाउँछ।
एरेनियसले सन् १८९६ मा पृथ्वीको तापमानमा हावामा रहेका कार्बनिक एसिडको प्रभाव विषय लेख प्रकाशित गरे। बलिरहेको कोइला र अन्य औद्योगिक स्रोतबाट हुने उत्सर्जनले अन्ततः न्यानोपन निम्त्याउँछ भनेर स्विडेनी अग्रगामीले लेखमार्फत बुझे।
सन् १९३० को दशकमा एक वैज्ञानिकले कार्बन उत्सर्जनले पहिले नै पृथ्वी न्यानो हुन थालिसकेको बताए। बेलायती इन्जिनियर स्टिवर्ट क्यालेन्डरले संयुक्त राज्य अमेरिका र उत्तरी एट्लान्टिक क्षेत्र औद्योगिक क्रान्तिको समयमा उल्लेखनीय रूपमा न्यानो भएको बताए। वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा दोब्बर हुँदा यसले २ डिग्री सेन्टिग्रेट (३.६ डिग्री फरेनहाइट)सम्म न्यानो पार्न सक्ने उनले भनाइ थियो। उनले सन् १९६० को दशकमा पृथ्वीको हरितगृह प्रभावले तापमान उच्च राख्ने काम गरिरहेको दाबी गरे। उनका दाबीहरूलाई शंकाका दृष्टिकोणले हेरिए पनि तापमान वृद्धिको सम्भावनाप्रति ध्यानाकर्षण गर्न सफल भए ।
यसले जलवायु र कार्बनडाइअक्साइडको स्तरलाई अझ नजिकबाट अनुगमन गर्न केही सरकारी अनुदान प्राप्त परियोजना जुटाउन भूमिका खेल्यो। जलवायु परिवर्तन र यसको राजनीतिक तथा आर्थिक प्रभावमाथि वैज्ञानिक दृष्टिकोण प्रदान गर्न सन् १९८९ मा संयुक्त राष्ट्रअन्तर्गत जलवायु परिवर्तनमा अन्तरसरकारी प्यानल (आईपीसीसी)को स्थापना गरेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS