काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणाधीन समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’ लगायतका पूर्वाधारको अवलोकन गरेका छन् ।
पर्यटनमन्त्रीसहितको टोलीले आज विमानस्थलको क्षमता अभिवृद्धि अन्तर्गतका कामको अवलोकन गर्नुका साथै प्रगतिबारे जानकारी लिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत कात्तिक २३ देखि दैनिक १० घण्टा उडान बन्द गरेर अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार गरिरहेको छ ।
निर्माणाधीन पूर्वाधार अवलोकन गर्दै मन्त्री पाण्डेले हाल भइरहेका काम सन्तोषजनक रहेको बताए । उनले निर्धारित समयमै निर्माण सम्पन्न भइ उडान सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले तोकिएकै समयमा काम सम्पन्न गर्न तीन वटा ठेक्का सम्झौता गरेर काम भइरहेको जानकारी दिए ।
विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता बढ्ने छ भने एयर ट्राफिक व्यवस्थापनमा थप सहज हुने जनाइएको छ ।
FACEBOOK COMMENTS