काठमाडौं । नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीजको आयोजनामा शुक्रबारदेखि सुरू भएको टिग नास आईटी एक्सपो २०२५ को अन्तिम दिन कात्तिक २२ गते शनिबार सञ्चालन हुँदैछ । आयोजकहरूले सहभागिता र उत्साहका लागि सबैलाई समापन दिनमा उपस्थित भई सहभागिता जनाउन आग्रह गरेका छन् ।
ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भइरहेको एक्पोमा ३५ बढी नेपाली सफ्टवेयर र आईटी सेवाहरू प्रदर्शनीमा रहेका छन् । शनिबार बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने एक्सपो नि:शुल्क अवलोकन गर्न सकिने छ भने प्रडक्ट वा सेवाहरूमा ५० प्रतिशतसम्म छुट पाउन सकिने छ ।
नास आईटीका अध्यक्ष गौरव राज पाण्डेले नेपाली प्रविधिहरूको बारेमा बुझ्न एक्सपोमा आउनु पर्ने बताए । ‘एक्सपोले व्यवसाय, नवप्रवर्तक र लगानीकर्तालाई एउटै प्लेटफर्ममा जोड्न सफल भएको छ । यो एक्स्पो केवल प्रविधिको प्रदर्शनी होइन, नवप्रवर्तन र अवसरबीचको पुल हो,’ उनले भने, ‘पहिलो दिन बहुराष्ट्रिय कम्पनीका साथै विदेशी नियोगका प्रतिनिधि समेत अवलोकन गर्न आउनु भएको थियो, जुन हाम्रा लागि गौरवको कुरा हो । प्रविधिमा इच्छुक तपाईहरू सबैलाई पनि अवलोकन गर्न अनुरोध गर्दछु ।’
कार्यक्रमको पहिलो दिन अर्थात शुक्रबार इजरायल, अष्ट्रेलिया, दक्षिण कोरिया लगायतका विभिन्न देशका राजदूतहरू, सरकारी निकायका प्रतिनिधि, बहुराष्ट्रिय कम्पनीका सदस्यहरू, तथा उद्यमी, कर्पोरेट लिडर, कार्यकारी अधीकारी लगायतले एक्सपो अवलोकन गरेका थिए ।
एक्स्पोको पहिलो दिन १ हजार बढीले अवलोकन गरेका छन् । आज २ हजार बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । विशेष गरी बिजनस टु बिजनेस लक्षित गरिएको एक्सपोमा प्रविधिमा चासो राख्नेहरू सबै आएर अवलोकन गर्न तथा विभिन्न प्रडक्ट र सेवा बारे जानकारी लिन सक्ने छन् ।

नास आईटीकी महासचिव अलिशा श्रेष्ठले एक्सपोमा उत्साहजनक सहभागीता रहेको बताउँदै यसले देशको समग्र टेक इकोसिस्टमलाई दिगो बनाउन सहयोग गर्ने बताइन् । कार्यक्रममको पहिलो दिन ओपन बैंकिङमा आधारित एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’ लगायतका प्रडक्ट समेत सार्वजनिक गरिएको थियो । प्रदर्शनीमा फिनटेक, साइबर सेक्युरिटी, सेफ्टवेयर एज अ सर्भिस तथा इन्टरप्राइज, एचआर लगायत क्षेत्रका प्रडक्ट तथा सेवा राखिएको छ । कम्पनीहरूले आफ्नो बिजनेसलाई प्रवद्र्धन र नेटवर्किङ गर्ने अवसरको रूपमा नास आईटी एक्सपोलाई लिएका छन् ।

नास आईटीले व्यवसायी, उद्यमी र प्रविधिप्रेमीहरूलाई नेपालमा विकास भएका अत्याधुनिक प्रविधिहरूको अवलोकन गर्न र डिजिटल इकोसिस्टम विकासमा योगदान गर्न आग्रह गरेको छ । एक्सपोको शीर्ष प्रायोजकमा टिग, सिल्भर प्रायोजकमा इसेवाका साथै र्यापिड, रिडक्ट, एनसेल बिजनेस, भायानेट कम्युनिकेसन, डेटा वल्र्ड लगायतको सहकार्य रहेको छ । कार्यक्रममा दिगो विकास साझेदारमा ग्लोबल आईएमई बैंक र अर्किङ कलेज रहेका छन् ।

FACEBOOK COMMENTS