वीरगञ्ज — पर्सा जिल्लाको साझेदारी वनमा बाघको निगरानी गर्न अत्याधुनिक क्यामेरा ट्रयापिङ गरिएको छ । जिल्लाको साझेदारी वनबाट बस्तीमा बाघको गतिविधि बढेसँगै बाघको गतिविधि नियाल्नका लागि क्यामेरा ट्रयापिङ गर्न लागिएको हो ।
डिभिजन वन कार्यालय पर्साका डिभिजन वन अधिकृत मञ्जुर अहमदले पर्सा जिल्लाको साझेदारी वनमा बाघको गणना गर्नका लागि विभिन्न १२ स्थानमा क्यामेरा ट्रयापिङ गर्न थालेको जानकारी दिए ।
‘माघ २९ गतेदेखि पर्साको विभिन्न साझेदारी वनमा पनि बाघको गणनाका लागि क्यामेरा ट्रयापिङ सुरूआत गरेका छौँ । यसले सामुदायिक वनमा बाघ, चितुवालगायतका जङ्गली जनावरको गतिविधि अध्ययन र अनुसन्धानका लागि उपयोगी हुने अपेक्षा राखेका छौं’, उनले भने, ‘राष्ट्रिय निकुञ्जभित्र क्यामेरा ट्रयापिङ सामान्यजस्तै भए पनि साझेदारी वनमा भने जिल्लामै पहिलोपटक जडान गरिएको हो ।’
पर्सा जिल्लामा सबैया, बढनिहार र मानवा सवडिभिजन कार्यालय मातहतका क्षेत्रमा तीन–तीन वटा क्यामेरा क्यामेरा ट्रयापिङ जडान गर्न लागिएको हो । त्यस्तै रङ्गपुर, भतौडामा पनि एक–एक र अन्य एक ठाउँमा पनि क्यामेरा ट्रयापिङ जडान कार्य भइरहेको छ । क्यामेरा ट्रयापिङले २४ औँ घण्टा बाघलगायतका जङ्गली जनावरको गतिविधिलाई फोटो खिच्नेछ । सो क्यामेराको दैनिक १६ जिपीको क्षमताको तस्बिर खिच्न सक्ने क्षमता रहेको छ ।
FACEBOOK COMMENTS