काठमाडाैं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन अर्थात् कात्तिक शुक्ल द्वितीया तिथिमा भाइटीका पर्दछ । यो पर्वका दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्छन् ।
भाइटीकाको दिन बिहान सबेरैदेखि प्रायः सबैको घरमा चहलपहल सुरू हुन्छ । दिदीबहिनीहरू दाजुभाइलाई टीका लगाउन माइती पुग्छन् भने कति जना दाजुभाइ आउने प्रतीक्षा र हर्षमा टीका लगाउने, मीठामीठा परिकार पकाउने, रमाइलो गर्न चाँजोपाँजो मिलाउनेमा व्यस्त रहन्छन् ।
यो दिन दिदीबहिनीले दाजुभाइलाई मेवामिष्ठान्न, मनपर्ने कुरा दिने गर्छन् । त्यसैगरी दाजुभाइले दिदीबहिनीलाई दक्षिणा तथा वस्त्र दिने परम्परा छ ।
सप्तरंगी टीका, कहिल्यै नओइलाउने मखमली तथा सुपारी फूलको माला, सेलरोटी, अनर्सा, मीठा स्वादिला चकलेट, काजु, किसमिस, नरिवल, छोकडा, मिठाई, मरमसालालगायतका खानेकुराहरूसहित दिदीबहिनीले दाजुभाइको पूजा गर्ने चलन रहेको छ ।
सुरूआत
यो पर्व परापूर्वकालमा बहिनी यमुना र दाजु यमराजसँग जोडिएको पाइन्छ । पौराणिक कथाअनुसार परापूर्वकालमा मृत्युका राजा यमराज आफ्नी बहिनी यमुनालाई भेट्न आएका थिए । यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वीलोकमा बस्थिन् । त्यसैले यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाइन् । त्यो बेलामा यमपञ्चक परेको थियो । यमपञ्चकभर यमराज यमुनाको घरमा बसे । भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरेर उपहार दिइन् अनि दाजुसँग आशीर्वाद लिइन् । त्यहीबेलादेखि भाइटीकाको सुरूआत भएको विश्वास गरिन्छ ।
पूजा विधि
भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट भई सम्बन्धमा आएको चिसोपन हटाएर मिलन गराउने पर्वका रूपमा लिइन्छ । अर्कातिर दाजुभाइ दिदीबहिनीबीचको सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ ।
भाइटीका यमपञ्चकको पाँचौं दिन पर्छ । दिदीबहिनीले अघिल्लै दिन दाजुभाइलाई पान, सुपारी आदि दिएर भाइटीकाको निम्ता दिन्छन् । भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन । टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । यमराज, हनुमान, विभीषण, पर्शुराम अष्ट चिरञ्जीवीभित्र पर्छन् ।
भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दुबो र सयपत्रीको माला चाहिन्छ । त्यसैगरी रोटी र मीठामीठा परिकार पनि समावेश गर्नुपर्छ ।
सबैभन्दा पहिले दियो, कलश र गणेशको पूजा गरी बिमिराको पूजा गर्नुपर्छ । त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै घरको ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ ।
पानी वा तेलले सात घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फूल, अक्षता, चन्दन र लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ ।
भाइटीकाका दिन दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ कहिल्यै उडेर जाँदैन भने दुबो सधैं हरियो रहन्छ।
दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन् । दाजुभाइप्रतिको प्रेम रङजस्तै गाढा भइरहने विश्वास गरिन्छ ।
दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउने विश्वास गरिन्छ । टीका लगाएपछि उपहार आदानप्रदान गरिन्छ ।
शुभ साइत
यस वर्षको भाइटीका कात्तिक १८ गते परेको छ । भाइटीकाको शुभ साइत सो दिन बिहान ११ बजेर ३७ मिनेटमा रहेको र पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
FACEBOOK COMMENTS