काठमाडौं । तिहार हरेक नेपालीको घरआँगनमा आइसकेको छ । तिहारलाई फूल र बत्तीको पर्वको रूपमा लिइन्छ ।
तिहारको विशेष दिन भाइटीका हो । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने गर्छन् । तर, सप्तरङ्गी टीकाले मात्र भाइटीकाको विधि पूर्ण हुँदैन । यसका लागि फूलको माला अनिवार्य मानिन्छ ।
फूल धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वसँग पनि जोडिएको छ । धार्मिक ग्रन्थअनुसार फूललाई शुभसाइतको सङ्केतको रूपमा लिइन्छ । तिहारको समयमा लक्ष्मीपूजा गर्न, ढोकामा झुण्ड्याउन, मालाका लागि फूल प्रयोग हुने गर्छ ।
कुनै समय देशमै मागअनुसारको फूल उत्पादन नहुँदा बाहिर देशबाट आयात गर्नुपर्ने बाध्यता थियो । पछिल्लो समय पुष्प व्यवसायमा आकर्षण बढ्दै जाँदा फूलमा नेपाल आत्मनिर्भर बन्दै गएको छ ।
विगतमा तिहारमा खपत हुने मखमली फूलमा नेपाल आत्मनिर्भर भएको छ र करोडौंको सयपत्री फूल आयात हुने गरेकोमा यसपालिको तिहारमा देशमै उत्पादन भएको सयपत्री फूलले नै माग धान्ने पुष्प व्यवसायी बताउँछन् ।
नेपालमै उत्पादन भएको सयपत्री फूलले माग धान्न सक्ने भएकाले अबदेखि सयपत्री फूल आयात गर्न नपर्ने फ्लोलिकल्चर एसोसिएशन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले बताए । उनले भने, ‘पछिल्लो समय पुष्प व्यवसाय फस्टाउँदै गएको छ । स्वदेशी उत्पादन नै माग धान्न सक्षम छ ।’

उनले पुष्प व्यवसायीलाई प्रोत्साहन गर्दै काठमाडौं महानगरपालिकाले विदेशी फूल आयातमा लगाएको प्रतिबन्ध स्वागतयोग्य रहेको भन्दै उक्त कदममा एसोसिएशनको साथ रहने बताए ।

‘तिहारका लागि मात्र होइन, पुष्प व्यवसायीलाई प्रोत्साहन गर्दै काठमाडौं महानगरपाकाले विदेशी फूल आयातमा प्रतिबन्ध लगाएको छ, जुन निर्णय स्वागत योग्य छ । उक्त निर्णयलाई फ्लोरिकल्चर एसोसिएशन नेपालले सघाउने छ ।’

सरकारबाट स्थानीयस्तरमै उत्पादित फूललाई प्रोत्साहन मिल्दा पुष्प व्यवसायीहरू उत्साहित छन् । यसले स्वदेशी फूलको उत्पादन र बजारीकरणमा टेवा पुग्नाका साथै ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा समेत योगदान पुगिरहेको छ । फूल उत्पादन र बिक्रीबाटै पुष्पखेती गर्ने किसान र व्यवसायीहरूले मनग्य अर्थोपार्जन गरिरहेका छन् ।

FACEBOOK COMMENTS