काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले सन्तुलित बजार व्यवस्थापन अनुगमनको नतिजा हुने बताएकी छन् । ‘स्वच्छ बजारका लागि योगदान गर्नेहरू व्यापारमा प्रोत्साहित हुनुपर्छ । अनुचित काम गर्नेहरूमाथि निगरानी हुनुपर्छ ।’ उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक डङ्गोलले दसैँ पर्व लक्षित अनुगमनको समीक्षा बैठकमा भनिन्, ‘अनुगमनको प्रभावकारिताका लागि काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को व्यवस्थाअनुसार महानगरको निरीक्षण अधिकृत तोकिनेछ ।’ अधिकारीहरूलाई उनले भनिने, ‘वाणिज्य विभागबाट निरीक्षण अधिकृतको अधिकार प्रत्योजनका लागि अधिकारीको नाम सिफारिस गरेर पठाउने प्रक्रिया आजैबाट थालनी गर्नुहोला । यससँगै ऐनबमोजिम अनुगमनमा हेरिने विषयसँग सम्बन्धित विज्ञलाई सहभागी गराउने प्रक्रियाबाट अनुगमनलाई नतिजामुखी बनाउनुपर्छ ।’
‘दसैँ लक्षित अनुगमनका सबल पक्षलाई सिकाकाई रूपमा ग्रहण गर्नुपर्छ । त्यसका कमजोरीलाई सुधार गर्नुपर्छ । अनुगमनमा जानुअघि पसलहरूमा हेरिने व्यवसाय दर्ता तथा नवीकरण, व्यवसाय दर्ता नगर्दा हुने जरिवाना सम्बन्धी सूचना हरेक व्यवसायीले थाहा पाउने गरी प्रकाशन गर्नुपर्छ ।‘ उपप्रमुख डङ्गोलले प्रक्रियाका विषयसँगै एकीकृत बजार अनुगमनमा जोड दिइन् । अनुगमनका नाममा एकै ठाउँमा धेरै समूह पुग्दा व्यापारिक क्षेत्रमा नकारात्मक सन्देश जान्छ । त्यसैले सरोकारवाला सबै एउटै टोलीमा सामेल भएर जानुपर्ने उनको भनाइ थियो ।
‘बजारका साना साना पसलमा पनि ठूला ठूला समस्या हुन सक्छन् । खानासँग सम्बन्धित विषय संवेदनशील हुन्छ । यस्ता विषयलाई गम्भीरताका साथ हेर्नुपर्छ ।’ बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले भने, ‘धेरै व्यक्तिलाई एकै पटक नकारात्मक प्रभाव पार्न सक्ने क्षेत्रलाई अनुगमनको प्राथमिकतामा राख्नुपर्छ । अनुगमनको प्रक्रिया, यस क्रममा हुने कारबाहीको विषयमा कहीँ कतैबाट पनि प्रश्न उठ्नु हुँदैन ।’
काठमाडौँका बजारमा बेचिने सामग्रीको मूल्यको चक्र उत्पादन क्षेत्रबाट सुरु हुन्छ । त्यसैले यो सबै चक्र हेर्ने गरी अनुगमन गर्नुपर्छ । बैठकमा वडा २० का अध्यक्ष राजेन्द्र मानन्धरको भनाइ थियो ।
पर्वलक्षित अनुगमनका क्रममा दैनिक उपभोग्य बस्तु विक्री वितरण हुने ठाउँ, माछा मासु पसल, डिपान्टमेन्ट स्टोर, होलसेल खाद्य पसल, डेरी उत्पादनहरू, गोदामहरू, तरकारी तथा फलफूल बजार हेरिनेछन् ।
योजना, अनुगमन तथा मूल्याङ्कन एकाइले विभिन्न ७ वटा निर्धारण गरेर नियमित अनुगमनको योजना बनाएको छ । एकाइका प्रमुख नरेन्द्रविलास बज्राचार्यले हरेक क्षेत्रमा सम्बन्धित विषय विज्ञ र सरोकारवालालाई सहभागी गराएर अनुगमन गर्ने योजना बनाएको जानकारी दिए । यसरी निर्धारण गरिएको क्षेत्रमा पशुबाट उत्पादन हुने खाद्यवस्तुहरूमा माछा मासु तथा दुग्ध पदार्थ, डेरी तथा मिठाई, दैनिक खाद्यवस्तुहरूमा तरकारी, दाल, चामल तथा फलफूल, औषधिजन्य, पूर्वाधार, निर्माणजन्य सामग्री, लत्ताकपडालगायतका क्षेत्र छन् ।
स्थानीय व्यापार, वस्तुको माग, आपूर्ति तथा अनुगमन, उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानुन, मापदण्ड, कार्यान्वयन र नियमन गर्ने बजार तथा हाट बजार व्यवस्थापन गर्ने विषय स्थानीय सरकारका क्षेत्र हुन् । स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन गर्ने, स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन गर्ने अधिकार स्थानीय तहमा छ ।
स्थानीय वस्तु तथा सेवा स्वच्छ बजारका लागि महानगरले ऐन र कार्यविधि जारी गरेको छ । ऐनमा दैनिक उपभोग्य बस्तु तथा सेवासँग सम्बन्धित विषयसँग सम्बन्ध राख्छ । कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यकाअनुसार उपप्रमुखको संयोजकत्वमा रहेको समितिले अनुगमन कार्यको पनि अनुगमन गर्न सक्छ । त्यस्तै क्षेत्रगत अधिकारीहरूको संयोजकत्वमा अनुगमन टोली गठन हुन्छ । यस टोलीले नियमित अनुगमन गर्न सक्छ ।
अनुचित व्यापारिक क्रियाकलाप रोकेर स्वच्छ तथा गुणस्तरीय बस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताका मौलिक अधिकार सुनिश्चित गर्नु अनुगमनको मुख्य उद्देश्य हो ।
FACEBOOK COMMENTS