काठमाडौं । पत्रकार टीकाराम यात्रीले आफू लोकतन्त्रवादी भएको स्पष्टीकरण दिएका छन् । आफू राजसंस्था पक्षधर रहेको भनी आएका टिप्पणी र उठेका प्रश्नपछि आज शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ जारी गर्दै उनले आफू राजावादी नभएको बताएका हुन् ।
हिजो शुक्रबार सामाजिक प्रबुद्ध व्यक्तिहरूको भन्दै उनीसहित ३२ जनाको नाममा राजावादीहरूको आवाजलाई निषेध नगर्न भनी ६ बुँदे अपिल जारी भएको थियो । उनीसहितको बृहत् अन्तरक्रियात्मक भेलाले जारी गरेको भनिएको अपिलमा हस्ताक्षर भने कसैको पनि थिएन । तर, बैठकको भिडिओ भने सामाजिक सञ्जालमा राखिएको थियो ।
आफूले टेलिभिजन पत्रकारिताको यात्रा ‘एभिन्युज टेलिभिजन’बाट सुरु गरी त्यहाँ चार वर्ष काम गरेको तथा काम छोडेको एक दशकपछि पनि टेलिभिजनका संस्थापक अध्यक्ष भाष्करराज राजकर्णिकारलाई व्यावसायिक अभिभावक ठान्ने गरेको बताए । त्यसैले पनि राजकर्णिकारले बोलाएका पारिवारिक तथा सार्वजनिक कार्यक्रममा जान आफूले केही सोच्नुपर्ने अवस्था हुँदैन भन्ने लाग्ने गरेकाले हिजोको भेलामा उपस्थित भएको प्रस्टीकरण उनले दिएका छन् ।
सो भेलामा पनि आफूले हालको राजनीतिक परिस्थितिले असन्तुष्टि बढाए पनि लोकतन्त्रबाहेकको अर्को विकल्पमा जान नसकिने धारणा राखेको बताए । यो घटनाले अत्यन्त निकट र अकाट्य व्यक्तिले सार्वजनिक कार्यक्रममा बोलाए के प्रयोजनका लागि हो र त्यहाँ हुने निर्णयमा आफ्नो सहमति छ/छैन स्पष्ट भएर मात्रै जानुपर्ने पाठ सिकाएको उनले बताए ।
हेर्नुस् भिडिओ
FACEBOOK COMMENTS