काठमाडौं । पत्रकार टीकाराम यात्रीले अर्का पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरिएकोप्रति प्रतिवाद गरेका छन् ।
आज बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पत्रकार यात्रीले पाठकविरुद्धको पक्राउ पुर्जीलाई प्रेस स्वतन्त्रताविरोधी कदम भनेका छन् ।
प्रकाशित/प्रसारित सामग्रीप्रति असहमति वा असन्तुष्टि भएमा विधिसम्मत सुनुवाइ र निरूपण प्रेस काउन्सिलमार्फत हुने व्यवस्था हुँदाहुँदै फौजदारी प्रकृतिको प्रक्रिया अघि बढाउनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप रहेको उनको ठम्याइ छ ।
‘प्रकाशित/प्रशारित सामग्रीप्रति कुनै प्रतिवाद, असहमति या असन्तुष्ट भए त्यसको विधिसम्मत सुनुवाइ र निरूपण प्रेस काउन्सिलमार्फत हुनुपर्छ भन्ने स्पष्ट कानुनी व्यवस्था छ । यस्तो स्पष्ट व्यवस्था हुँदाहुँदै फौजदारी प्रकृतिको प्रक्रिया अघि बढाउनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो,’ पत्रकार यात्रीले लेखेका छन्, ‘अग्रज पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी गर्नु वा जुनसुकै समाचार हटाउने आदेश दिनु प्रेस स्वतन्त्रतामा कोपभाजन ल्याउने काम मात्रै हैन, यो गैरकानुनी कदम पनि हो ।प्रेस स्वतन्त्रताविरोधी यस्ता कदमको सबैले प्रतिवाद गर्न जरुरी छ ।’


पत्रकार पाठकविरुद्ध साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको छ । उनीविरुद्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा परराष्ट्रमन्त्री आरजु राणाका छोरा जयवीर देउवाबारे युट्युबमा पोष्ट गरेको सामग्रीका कारण पक्राउ पुर्जी जारी भएको बुझिएको छ ।

पत्रकार पाठकले तीन साताअघि युट्युबमा जयवीरले शङ्कर ग्रुपको लगानी रहेको काठमाडौंको नक्सालस्थित हिल्टन होटेलको शेयर खरिद–बिक्रीसँग सम्बन्धित सामग्री पोष्ट गरेका थिए । भिडिओमा जयवीरले दुबई, अष्ट्रेलिया हुँदै क्यानडासम्म रियलस्टेट बिजनेस फैलाएको दाबी पनि गरिएको थियो ।

यस सम्बन्धमा शङ्कर ग्रुपले गत वैशाख २१ गते विज्ञप्ति जारी गरेर खण्डन गर्दै त्यसविरुद्ध कानुनी उपचारमा जाने बताएको थियो ।