काठमाडाैं । नेपालमा चिनियाँ सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खुलाउने तयारी गरिएको छ । प्रतिबन्ध लगाइएको ८ महिनापछि खुलाउने तयारी भइरहेको हो ।
सिंगापुरस्थित टिकटकको कार्यालयले नेपालको सबै नियम-कानुन मान्न तयार रहेको र त्यहीअनुसार नियमन गर्दा हुने आशयको पत्र पठाएपछि सरकारले टिकटकमाथिको प्रतिबन्ध खुलाउने तयारी गरेको हो ।
त्यसका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले आवश्यक परामर्श र छलफल अघि बढाएका छन् । मन्त्री गुरूङको सचिवालयका अनुसार टिकटकले नेपालको कानुनअनुसार सम्बन्धित निकायमा दर्तादेखि करसम्बन्धी कानुन पनि मानेर अघि बढ्ने प्रतिबद्धता जनाएपछि प्रतिबन्ध हटाउने गरी छलफल थालिएको हो ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषदले २०८० कात्तिक २७ गतेको निर्णयबाट टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । विकृति बढेको र सामाजिक सद्भाव भड्किएको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो ।
टिकटकले पछिल्लो पटकसहित आठौं पत्र सरकारलाई पठाएको थियो । उसले नेपालमा दर्ता हुन तयार रहेको, नेपालको कानुन मान्न पनि तयार रहेको जनाउ दिएपछि अब प्रतिबन्ध हहटाउने तयारी भइरहेको हो ।
सरकारले तीन महिनाभित्र सूचीकरण गरिसक्नुपर्ने गरी टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी थालेको छ । त्यसका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने गरी तयारी थाल्न मन्त्री गुरूङले कर्मचारीलाई निर्देशन दिएका छन् ।
FACEBOOK COMMENTS