काठमाडौँ । सरकारले गत कात्तिक २७ गते नेपालमा शर्ट भिडिओ शेयरिङ एप ‘टिकटक’ बन्द गर्यो ।
टिकटक बन्द भएसँगै यसका प्रयोगकर्ताहरूले सरकारको निर्णयलाई नै चुनौती दिँदै अन्य विभिन्न उपायहरू प्रयोग गरेर टिकटक चलाउन थाले । जस्तो, कसैले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) मार्फत त कसैले डब्ल्यूपीएस आईपी एड्रेस चेञ्ज गरेर टिकटक प्रयोग गर्न थाले ।
प्रयोगकर्ताको यो क्रेजलाई हेर्दा नेपालमा टिकटक नभइ नहुने सामाजिक सञ्जाल बनिसकेको रहेछ भन्ने सहजै अनुभूति गर्न सकिन्थ्यो । हुन पनि टिकटकबाट आफ्नो कला देखाएर मानिसहरूले पैसा आर्जन गर्नाका साथै विभिन्न प्रकारका व्यापार व्यवसाय प्रवर्द्धन समेत गरिरहेका थिए । त्यतिमात्र होइन नयाँ–नयाँ ठाउँको दृश्य र तस्वीरहरू व्यापक आउने हुनाले मुलुकको पर्यटन प्रवर्द्धनलाई समेत यसले राम्रै योगदान गरिरहेको देखिन्थ्यो ।
पछिल्लो समय नेपालको कलाकारिताको क्षेत्रमा समेत धेरैजसो नयाँ स्टारहरू टिकटकबाटै उदाउन थालेका थिए । कोही म्युजिक भिडिओमा त कोही चलचित्रमा नै खेल्न भ्याइसकेका छन् । यस्तै, कतिपयले त टिकटकमार्फत चिनजान गरेर आफ्नो जीवनसाथीका रूपमा लगनगाँठो नै कसेका कैयन उदाहरणहरू छन् । अर्थात् टिकटक नेपाली आम सर्वसाधरणको मन–मनमा बस्न सफल भइसकेको थियो ।
टिकटक बन्द भएसँगै अब यसको विकल्पमा नेपाली डिजिटल कम्पनीहरूले समेत उस्तै प्रकृतिका नयाँ एप धमाधम सार्वजनिक गर्न थालेका छन् । जसमा पहिलो पटक आइडिया जार डिजिटल कम्पनीले ‘रमाइलो’ एप मंसिर ५ गते सार्वजनिक गर्यो । तर, त्यसको दुई दिनमा प्ले–स्टोरका केही शर्तहरू पूरा नहुँदा रमाइलो एप हट्यो । यो एप दुई दिनमा १० हजार भन्दा बढी प्रयोगकर्ताहरूले डाउनलोड गरे । तर, यसमा प्ले–स्टोरको शर्त पूरा नगर्दा त हट्यो नै अन्य समस्याहरू पनि देखा परे । जस्तो, एप ढिलो चल्ने, रि–लोड हुन टाइम लाग्न वा भनौ टिकटकझैं स्मुथ थिएन । तर फेरी मंसिर ११ गतेदेखि पुन: सञ्चालनमा आएको छ भने डाउनलोड गर्नेको संख्यापनि १ लाखबढी रहेका छन् ।
यस्तै, फेरि टिकटकको विकल्पमा आयो अर्को नेपाली एप ‘स्मार्टगफ’ यसमा ठ्याक्ककै इन्स्टाग्राम जस्तै फिचर छ । यो मंसिर १० गते प्ले–स्टोरमा आएको हो । यो पनि १० हजार भन्दा बढी प्रयोगकर्ताले डाउनलोड गरिसकेका छन् । यो एप पनि त्यस्तै समस्याग्रस्त छ ।
अब यी दुई एप नेपाली बजारमा कति प्रभावकारी बन्लान् र दर्शकलाई टिकटकको विकल्प नै यो एप हो भन्ने बनाउलान् भन्ने हेर्न बाँकी छ ।
https://fb.watch/oCXjYLgVji/
FACEBOOK COMMENTS