काठमाडौं । नेपालमा सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाइएको छ । सरकारले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै मन्त्रिपरिषदको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको हो ।
शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरू काठमाडौं आएका थिए । उनीहरूले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेर सबै सर्ब शर्त मान्न तयार रहेको बताएका थिए ।
टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिले सरकारले राखेका शर्तहरु पूरा गर्ने प्रतिवद्धता पत्र दिएपछि मन्त्रालयले प्राधिकरणलाई मन्त्रिपरिषदको निर्णय जानकारी गराउँदै टिकटकमाथिको रोक हटाउन निर्देशन दिएको थियो ।
सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो । त्यसको करिब साढे नौ महिनापछि गत ६ भदौमा मन्त्रिपरिषद बैठकले शर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय लिएको थियो ।
FACEBOOK COMMENTS