काठमाडौं । बालबालिकाको गोपनीयता उल्लंघन गरेको आरोपसम्बन्धी मुद्दा टुंग्याउन टिकटकले अमेरिकी सरकारलाई ४० करोड अमेरिकी डलर तिर्न सहमत भएको छ ।
यो बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा अमेरिकामा भएको सबैभन्दा ठूलो जरिवानामध्येको एक हो । अमेरिकी न्याय मन्त्रालयले सन् २०२४ मा टिकटक र यसको मूल कम्पनी बाइटडान्सले १३ वर्षभन्दा कम उमेरका लाखौँ प्रयोगकर्ताको ठूलो मात्रामा व्यक्तिगत विवरण संकलन गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो ।
अमेरिकाको सन् २००० मा बनेको बालबालिकाको अनलाइन गोपनीयता संरक्षणसम्बन्धी कानुनले १३ वर्षभन्दा कम उमेरका बालबालिकाको विवरण संकलन गर्नुअघि अभिभावकको अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।
सम्झौताअनुसार टिकटक र बाइटडान्सले तत्काल अमेरिकी न्याय मन्त्रालयलाई ३० करोड डलर तिर्नेछन् । थप १० करोड डलर अमेरिकी संघीय व्यापार आयोगसँग भएको सन् २०१९ को सहमति आदेश हटाइएपछि तिर्नुपर्नेछ ।
यसअघि टिकटकसँग सम्बन्धित संस्था म्युजिकल्लीले बालबालिकाको गोपनीयता संरक्षणसम्बन्धी कानुन उल्लंघन गरेको भन्दै सन् २०१९ मा ५७ लाख डलर जरिवाना तिरेको थियो ।

अमेरिकी न्याय मन्त्रालयका अनुसार मुद्दा दायर भएयता टिकटकको स्वामित्व, गोपनीयता नीति र कम उमेरका प्रयोगकर्ताका लागि राखिएका नियन्त्रण प्रणालीमा महत्त्वपूर्ण परिवर्तन भएका छन् ।
टिकटकको अमेरिकी कारोबारसम्बन्धी संरचनामा गत वर्ष परिवर्तन भएको थियो । हाल अमेरिकी कारोबारमा लगानीकर्ताहरूको समूहको ८१ प्रतिशत स्वामित्व छ भने बाइटडान्ससँग १९ प्रतिशत हिस्सा रहेको छ ।
अमेरिकी सहायक महान्यायाधिवक्ता ब्रेट सुमाटेले सम्झौतापछि बालबालिका र अभिभावकहरू मुद्दा सुरु हुँदाको अवस्थाभन्दा अहिले बढी सुरक्षित रहेको बताएका छन् ।
यसअघि बालबालिकाको गोपनीयता कानुन उल्लंघनसम्बन्धी मुद्दामा गुगलको युट्युबले सन् २०१९ मा १७ करोड डलर र एपिक गेम्सले सन् २०२२ मा २७ करोड ५० लाख डलर जरिवाना तिरेका थिए ।