काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म टिकटक र नेपाल पर्यटन बोर्ड बीच नेपालको पर्यटन क्षेत्रलाई डिजिटल माध्यममार्फत प्रवद्र्धन गर्ने उद्देश्यले सहकार्य भएको छ।
यस सहकार्य अन्तर्गत पर्यटन व्यवसायी, ट्राभल कन्टेन्ट क्रिएटर, ट्रेकर तथा पर्वतारोहीहरूका लागि कन्टेन्ट क्रिएशन तथा डिजिटल स्टोरीटेलिङ सम्बन्धी कार्यशालाको शृंखला सञ्चालन गरिएको छ।
‘टुरिजम क्रिएटर नेपाल’ नाम दिइएको उक्त पहलमार्फत नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा साहसिक पर्यटनलाई विश्व समुदायमाझ प्रभावकारी रूपमा प्रस्तुत गर्ने लक्ष्य राखिएको छ। साथै, चर्चित पर्यटकीय गन्तव्यसँगै ओझेलमा परेका आकर्षक स्थानहरूको प्रवद्र्धनमा समेत यस कार्यक्रमले योगदान पुर्याउने अपेक्षा गरिएको छ।
तीन दिनसम्म सञ्चालन हुने कार्यशालामा सहभागीहरूले शर्ट भिडियो निर्माण, डिजिटल स्टोरीटेलिङ, अडियन्स एंगेजमेन्ट, अडियन्स ग्रोथ, ब्रान्ड सहकार्य तथा जिम्मेवार कन्टेन्ट विकासका विषयमा व्यावहारिक प्रशिक्षण प्राप्त गर्नेछन्।
कार्यक्रममा पर्यटन व्यवसायी, ट्रेकिङ गाइड तथा साना–मझौला उद्यमीहरूलाई आफ्ना सेवा र उत्पादनलाई डिजिटल माध्यमबाट प्रभावकारी रूपमा प्रचार–प्रसार गर्ने सीप प्रदान गरिने जनाइएको छ।

नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्मा ले डिजिटल प्लेटफर्महरूले मानिसहरूको यात्रा, संस्कृति र गन्तव्य खोज्ने तरिकामा परिवर्तन ल्याएको उल्लेख गर्दै कन्टेन्ट क्रिएटरहरूले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।
उनले टिकटकसँगको सहकार्यले पर्यटन व्यवसायी, कन्टेन्ट क्रिएटर र यात्राप्रेमीहरूलाई एकै ठाउँमा ल्याएर उनीहरूको स्टोरीटेलिङ क्षमता अभिवृद्धि गर्ने तथा नेपालको पर्यटन क्रिएटर समुदायलाई सशक्त बनाउने विश्वास व्यक्त गरे।
त्यस्तै, टिकटकका दक्षिण एसियाका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फिर्दौस मोत्ताकिन ले डिजिटल स्टोरीटेलिङमार्फत नेपालको अनुपम प्राकृतिक सौन्दर्य र समृद्ध सांस्कृतिक सम्पदालाई विश्वसामु पुर्याउन यस सहकार्य महत्वपूर्ण हुने बताए।
कार्यशालामा अन्तरक्रियात्मक सिकाइ सत्र, व्यावहारिक कन्टेन्ट निर्माणसम्बन्धी मार्गदर्शन तथा क्षेत्रगत विज्ञहरूसँग छलफलसमेत समावेश गरिनेछ। यसले सहभागीहरूलाई आकर्षक र प्रभावकारी डिजिटल सामग्री उत्पादन गर्न तथा दर्शकसँग अर्थपूर्ण सम्बन्ध स्थापित गर्न आवश्यक ज्ञान र अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।