काठमाडाैं। भिडियो प्लेटफर्म टिकटकमा लाइभ गर्नका लागि अब १८ वर्ष पुगेको हुनुपर्नेछ । टिकटकले लाइभस्ट्रिमिङको लागि न्यूनतम उमेर १६ वर्षबाट बढाएर १८ वर्ष बनाएको छ । यो नियम आगामी महिनाबाट लागू हुनेछ ।
हालै बीबीसीले गरेको खोजका क्रममा सिरियाली शरणार्थी शिविरहरुबाट सयौंको संख्यामा बालबालिकाले टिकटकमा लाइभ गरेर आर्थिक सहयोग मागिरहेको तथ्य पत्ता लगाएको थियो । त्यसरी लाइभ आए सहयोग माग्नेहरुले घण्टामै एक हजार डलरसम्म कमाउने गरेका थिए । तर उनीहरुले त्यसरी संकलन गरेको रकम झिक्ने क्रममा टिकटकले ७० प्रतिशतसम्म रकम लिएको थियो ।
अब अर्को महिनादेखि टिकटकमा केवल बालिगहरुले मात्रै लाइभस्ट्रिमिङ गर्न, भर्चुअल गिफ्ट पठाउन वा अकाउन्टलाई मनिटाइजेसन गर्न सक्ने कम्पनीले जनाएकाे छ। तर, टिकटकले उमेरमा लगाएको उक्त पावन्दी कसरी कार्यान्वयन गर्छ भन्ने कुरा प्रष्ट भएको छैन ।
फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटा र युट्युबको गुगल कम्पनीले प्रयोगकर्ताका लागि लाइभ स्ट्रिमिङ गर्न पाउने न्यूनतम उमेर १३ वर्ष तोकेका छन् । त्यस्तै प्रयोगकर्ताले उमेरको हदबन्दी लगाउने गरी सामग्री अपलोड गर्न समेत पाउँछन् ।
बीबीसीको ग्लोबल डिसइन्फर्मेसन युनिटले पछिल्लो पाँच महिना उत्तर–पश्चिमी सिरियाबाट सञ्चालित ३०० टिकटक अकाउन्टको निगरानी गरेको थियो । टिकटकको नियमानुसार टिकटक लाइभमा आएर सिधै गिफ्ट वा रकम माग्न पाइँदैन र बालबालिकाको दुरुपयोग गर्ने, हानि गर्ने वा खतरामा पार्ने काम पनि गर्न पाइँदैन । तर सिरियाली शरणार्थी क्षेत्रका ती टिकटक अकाउन्टहरुमा बच्चाहरुलाई माग्न लगाइएको थियो । टिकटकले त्यस्ता अकाउन्टमाथि प्रतिबन्ध समेत लगाइसकेको छ ।
FACEBOOK COMMENTS