काठमाडौं । गाजा युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत ४८ बन्धकहरूको रिहाइ सोमबार बिहान सुरु हुने भयेक छ छ, जसमा २० जना बाँचेका र २८ जनाको शव हस्तान्तरण गरिनेछ । इजरायली सेनाले शुक्रबार दिउँसोसम्म गाजाबाट आफ्नो प्रारम्भिक फिर्ता पूरा गरेको छ, जसले हमासलाई फिर्ता पूरा गर्न ७२ घण्टाको समय दिएको छ ।
त्यस्तै सोमबार, गाजा युद्ध अन्त्य गर्ने सम्झौतामा छलफल इजिप्टमा हुनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहित २० भन्दा बढी विश्व नेताहरूले सो छलफलमा भाग लिने भएका छन् । सो छलफल इजिप्टको शर्म अल–शेखको सुन्दर रेड सी रिसोर्टमा हुनेछ ।
अर्कोतर्फ, हमासले सोमबार इजिप्टमा तय भएको गाजा शान्ति शिखर सम्मेलनको आधिकारिक हस्ताक्षर समारोहमा भाग लिन अस्वीकार गरेको छ । हमासले ट्रम्पको योजनाका केही अंशहरूसँग असहमत भएको बताएको छ । हमासले आफुहरुले गाजा छोड्नु पर्ने र निशस्त्रीकरण हुने विषयमा आफुहरु असहमत रहेको बताएको छ ।
टाइम्स अफ इजरायलका अनुसार, रेडक्रसको अन्तर्राष्ट्रिय समितिले आदानप्रदानको निरीक्षण गर्ने भएको छ । रिपोर्टमा परिस्थिति अनुकूल भएमा आइतबार रातिदेखि नै सुरु हुन सक्ने बताइएको छ ।
अर्कोतर्फ अमेरिकी विशेष दूत स्टीव विटकफले शनिबार बन्धक परिवारहरूसँग भेट गरेका छन् । उनले बन्धकका केही शवहरू पत्ता लगाउन धेरै गाह्रो हुन सक्ने बताए, जसले परिवारहरूमा गहिरो चिन्ता बढाएको छ ।
रिपोर्ट अनुसार, इजरायललाई पहिले नै ७ देखि १५ बन्धकहरूको शव फेला नपर्न सक्ने बताएको छ ।
ट्रम्प सोमबार इजरायल पुग्ने र बन्धकहरूसँग भेट्ने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार बिहान इजरायल आइपुग्नेछन् र इजरायलको संसद नेसेटलाई सम्बोधन गर्नेछन् । उनको भ्रमण गाजामा हमासद्वारा बन्धक बनाइएका इजरायली नागरिकहरूको रिहाइकै समयमा हुने बताइएको छ । टाइम्स अफ इजरायलका अनुसार, ट्रम्पले नेसेटमा भाषण दिनेछन् र रिहा गरिएका बन्धकहरूसँग भेट्नेछन् ।
विपिन जोशीको अवस्था अझै अज्ञात
केहि मिडिया रिपोर्टमा हमासले हस्तान्तरण गर्ने बन्धकको सूचीमा विपिनको नाम रहेको उल्लेख गरेपनि यसको आधिकारिक पुष्टि अहिलेसम्म हुन सकेको छैन ।
मिडिया रिपोर्टमा हालसम्म अवस्था पत्ता नलागेका एक दुई जना बन्धक जीवित रहेको रहेको केहि प्रमाण भेटिएको दाबि गरिएको छ तर यसको आधिकारिक पुष्टि इजरायल र हमास दुवैतर्फबाट अहिलेसम्म भएको छैन ।
FACEBOOK COMMENTS