काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१. चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो दुई महिना साउन र भदौमा नेपालको वैदेशिक व्यापारमा आयात १६।२३ प्रतिशतले बढेको छ । मंगलबार भन्सार विभागले सार्वजनिक विवरण अनुसार पहिलो दुई महिनामा आयात १६.२३ प्रतिशत बढेको छ भने निर्यात ८८.५७ प्रतिशतले बढेको छ । रिपोर्ट अनुसार दुई महिनमा ३ खर्ब ५ अर्ब १५ करोड ५० लाख ९९ हजार बराबरको वस्तु आयात भएको छ ।
अघिल्लो आर्थिक बर्षको यसै अवधिमा २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार बराबरको आयात भएको थियो । यस्तै यस आर्थिक बर्षको दुई महिनामा ४७ अर्ब ३१ करोड ७६ लाख ६३ हजार बराबरको वस्तु निर्यात भएको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा २५ अर्ब ९ करोड ३१ लाख १० हजार बराबरको निर्यात भएको थियो । यस आर्थिक बर्षको दुई महिनामा व्यापार घाटा उच्च देखिएको छ ।
यस अवधिमा ८.५९ प्रतिशतले बढेको छ । व्यापार घाटा चालु आर्थिक वर्षको दुई महिनामा २ खर्ब ५७ अर्ब ८३ करोड पुगेको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा २ खर्ब ३७ अर्ब ४४ करोड रहेको थियो । भन्सार विभागका अनुसार चालु आर्थिक बर्षको दुई महिनामा कुल वैदेशिक व्यापार २२.५४ प्रतिशतले बढेको छ । यस अवधिमा कुल वैदेशिक व्यापार ३ खर्ब ५२ अर्ब ४७ करोड पुगेको छ । त्यसैगरी दुई महिनामा आयात–निर्यात अनुपातमा सुधार देखिएको छ । गत वर्ष १०.४६ गुणा रहेको अनुपात निर्यात बढेपछि यस वर्ष घटेर ६.४५ गुणामा झरेको छ ।
२. काठमाडौँ महानगरपालिकाको बिगत ३ बर्ष देखि विविध कारणबस रोकिएको उज्यालो महानगर योजना फेरी शुरु भएको छ । काठमाडौ महानगरको लगानीमा करिब १० करोडको लागतमा ६२ वटा हाई मास्ट लाइट जडानको काम तीव्र गतिमा भइरहेको नगर प्रमुख बालेन शाहले जानकारी दिएको छ । बालेनले हालसम्म १२ वटा लाइट जडान भइसकेको जानकारी दिदै बाँकी सबै लाइट प्रज्वलन गर्ने तयारी भइरहेको बताएका छन् ।
अघिल्लो कार्यकालमा राखिएका तर बत्ति नबलेका दुइ हजार भन्दा बढी सोलार स्ट्रीट लाइटलाई इलेक्ट्रिकलमा बिस्थापित गरि हाल बलिरहेको उल्लेख गरेका छन् । साथै करिब ८५ करोडको स्ट्रीट लाइट खरिद तथा जडानको अन्तिम चरणको तयारी भइरहेको बताउदै बालेनले यसको सम्पन्नतापछि यसै वर्षभित्र काठमाडौँ महानगर पूर्ण उज्यालो हुने अपेक्षा गरेको बताएका छन् ।
३. प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरूले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनको तयारीका विषयमा छलफल भएको छ । छलफलमा सम्माननीय प्रधानमन्त्रीले प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी रूपमा सम्पन्न गर्नु नेपाल सरकारको उच्च प्राथमिकताको विषय भएको जानकारी गराउँदै निर्वाचन सम्पन्न गर्न नेपाल सरकारको तर्फबाट निर्वाचन आयोगलाई आवश्यक पर्ने स्रोत साधन र जनशक्ति उपलब्ध गराइने, शान्तिसुरक्षाको भरपर्दो व्यवस्था मिलाइने, निर्वाचनको लागि अनुकूल वातावरण तयार गर्न सरोकारवालाहरूसँग छलफल गरिने कुरा राख्दै निर्वाचन आयोगलाई निर्वाचन तयारीका सम्पूर्ण कार्य तत्काल अगाडि बढाउन आग्रह गरे ।
सो छलफलमा निर्वाचन आयोगको तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक पर्ने मतपेटिका लगायतका निर्वाचन सामग्रीहरू मौज्दातमा रहेको र मौज्दातमा नभएका अन्य सामग्री समेत स्वदेशमा उत्पादित सामग्रीलाई प्राथमिकता दिई प्रतिस्पर्धात्मक तरिकाले खरिद गरिने, राजनीतिक दल लगायत सरोकारवालाहरूसँग समन्वय गरिने प्रतिबद्धता व्यक्त गर्दै नेपाल सरकारका तर्फबाट भरपर्दो सुरक्षा प्रबन्ध मिलाइदिन अनुरोध गर्दै निर्वाचनमा नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज एवम् सञ्चार जगत लगायत सबै सरोकारवालाको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको आयोगले जनाएको छ ।
छलफलमा नेपाल सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, गृहमन्त्री ओम प्रकाश अर्याल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा, नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल लगायत सम्बन्धित अधिकारीहरू र आयोगको तर्फबाट निर्वाचन आयुक्तद्वय डा। जानकी कुमारी तुलाधर र सगुन सम्शेर ज।ब।रा। तथा आयोगका सचिव माहादेव पन्थ लगायतको उपस्थिति रहेको थियो ।
४. मुग्लिन(नारायणघाट सडक खण्ड अनिश्चितकालका लागि बन्द भएको छ । मुग्लिन-नारायणघाट सडकको तुइन खोला पुल नजिकै मंगलबार साँझ ठुलो पहाड खसेपछि सडक अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालयले सडक बन्द भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।
५. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनको नेतृत्व आफुहरुले नगरेको स्पष्ट गरेको छ । केन्द्रीय समितिको बैठकपछि पत्रकार सम्मेलन गरेर प्रवक्ता मनिष झाले जेनजी आन्दोलनको आफुहरुले नेतृत्व नगरेको स्पष्ट गर्दै आफुहरुले आन्दोलनमा घुसपैठ नहोस भनेर खबरदारी र सचेत गराएको बनाएका छन् । प्रवक्ता झाले नख्खु कारागारको प्रशासनले पटक पटक बोलाएपछि आफुहरु गएको स्पष्टीकरण दिएका छन् ।
उनले आफ्नो तीन सेकेन्डको भिडियोलाई अतिरन्जित गरेर सामाजिक सञ्जालमा आक्रमण गरिएको आरोप लगाए । उनले आफुले यस्तो गर्ने होइन भनेर भिडियो भनेपनि अन्य घटना जोडेर अतिरन्जित गरिएको बताए । त्यस्तै रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले कारागार प्रशासनले आफुहरुलाई दिएको पत्र बुझेको स्पष्ट गर्दै कारागार प्रशासनले पटक पटक फोन गरेर सुरक्षा थ्रेट भएको भन्दै फोन आएपछि सम्भव भएसम्मका कार्यकर्ता नख्खु जेल पुगेको बताएकी छन् । साथै उनले पत्रको विषयमा राज्यले छानबिन गरोस भन्दै यो विषय पार्टी भित्र पनि उठेको बताएकी छन् । भदौ २४ गते रास्वपा सभापति रवि लामिछाने आफ्ना समर्थकसहित नख्खु कारागारबाट बाहिर अयेपाची देशभरका १५ हजारभन्दा बढी कैदीबन्दी बाहिर निस्केका थिए । अहिलेपनि ८ हजार भन्दा बढी कैदीबन्दी सम्पर्कमा नाराहेको बताइएको छ ।
६. अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन श्रीवास्तव र नेपालका लागि जनगणतन्त्र चीनका राजदुत महामहिम चेङ्ग सोङ्गले छुट्टाछुटै शिष्टाचार भेट गरेका छन् । भारतीय राजदूतसंगको भेटमा अर्थमन्त्री खनालले नेपाल र भारत बीचको लामो सम्बन्धको चर्चा गर्दै भारतले नेपाललाई पुर्याउँदै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए । साथै नेपालमा विद्यमान परिस्थितिका कारण सिर्जना भएको विषम अवस्थामा छिमेकी मुलुक लगायत दातृ मुलुकसंगको आर्थिक साझेदारीको निरन्तरताको आवश्यकता औंल्याए ।
उक्त भेटको अवसरमा भारतीय राजदुतले भारत नेपालको सबैभन्दा नजिकको छिमेकी भएकोले दुई मुलुक बीच रहेको विशेष सम्बन्धलाई कायम राख्दै यस विषम परिस्थितिमा समेत सबै किसिमको सहयोगका लागि आफूहरु नेपालको साथमा रहेको उल्लेख गरे । उक्त अवसरमा भारतीय राजदूतले भारतीय सहयोगमा संचालन भएका विकास आयोजना र कार्यक्रमहरुमा तिब्रता दिने तथा नेपालमा लगानी गरिरहेका भारतीय निजी क्षेत्र समेतको मनोबल उच्च बनाउनका लागि आवश्यक सहयोग र सहकार्य गर्न भारत तयार रहेको विचार व्यक्त गरे । उक्त अवसरमा नेपाल भारत बीचको व्यापार सहजीकरणका लागि दुबै पक्षबीच समन्वय सुदृढ बनाउने विषयमा समेत छलफल भयो । त्यसैगरी चीनका राजदूतसंगको भेटमा अर्थमन्त्री खनालले चीन नेपालको असल छिमेकी रहेको उल्लेख गर्दै चीनले नेपालमा गर्दै आएको निरन्तर सहयोगका लागि धन्यबाद व्यक्त गरे ।
भेटका अवसरमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने रहेको उल्लेख गर्दै सरकारले चीनसँगको आर्थिक साझेदारीलाई निरन्तरता दिने बताए साथै उक्त अवसरमा मन्त्री खनालले नेपाल र चीन बैंकिङ्ग क्षेत्रमा साझेदारीलाई थप प्रगाढ बढाउन, चीनको बैंकको शाखा नेपालमा स्थापना, नेपालबाट भएको निकासीको भुक्तानी सरलीकरणको पहल गरिदिन तथा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीको लागि प्रोत्साहित गर्न समेत चिनियाँ राजदुतलाई अनुरोध गरे । उक्त भेटको अवसरमा महामहिम राजदुतले चीनले नेपाली जनताको छनौटलाई सँधै सम्मान गर्दै आएको उल्लेख गर्नुहुँदै चीनले नेपाललाई गर्दै आएको सहयोग निरन्तर रहने बताउनुभयो।साथै चिनियाँ राजदूतले चीनको सहयोगमा निर्माणाधिन परियोजनाहरु सन्तोषजनक रुपले अगाडी बढिरहेको तथा चिनियाँ लगानीकर्ता नेपालमा लगानीको लागि इच्छुक रहेको बताउँदै परिस्थिति अनुकूल भएपछि चिनियाँ लगानीकर्तासंगको छुट्टै अन्तर्क्रिया गरिने कुरा समेत जानकारी दिए ।
७. काठमाडौं महानगरपालिकाले गाउँपालिकालाई एम्बुलेन्स वितरण सुरु गरेको छ । मंगलबार आ।व। २०८२-८३ को बजेट तथा कार्यक्रममा व्यवस्था गरेअनुसार देशभरका विभिन्न ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण सुरु गरेको हो । यसअघि आव २०८०-८१ को बजेटमा समेत निरन्तरता दिइएको कार्यक्रमअन्तर्गत नगरसभाको निर्णयबाट ३५ थान ‘बी-क्लास’ एम्बुलेन्स खरिद गरी वितरण गर्ने तयारी भएको थियो । बोलपत्र प्रक्रियामार्फत अग्नि इन्करपोरेटेड प्रालिसँग सम्झौता भई आपूर्ति भएका एम्बुलेन्सलाई प्राविधिक निरीक्षण टोलीमार्फत परीक्षण गरि प्रतिवेदन प्राप्त भएपछि वितरण प्रक्रिया अघि बढाइएको हो । आव २०८१-८२ मा समेत रु। ८ करोड १० लाख विनियोजन भई सोही गाउँपालिकामा एम्बुलेन्स सहयोग गरिएको र चालु आव २०८२-८३ को नीति तथा कार्यक्रममा पनि निरन्तरता दिइँदै, बजेटमा ८ करोड १० लाख रकम छुट्याइएको छ ।
८. ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरबका सुनकोशी मरिण र भेरी बबई बहुउद्देश्यीय आयोजनाको ठेक्का यथास्थितिमा राख्न नसकिने बताएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार मन्त्रालयका सचिव, सिँचाइ विभागका महानिर्देशक, दुवै आयोजनाका प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग मन्त्री घिसिङले छललफल गरी आयोजनाका ठेक्का टोडेर नयाँ सिराबाट अगाडि बढ्नुको विकल्प नभएको बताए ।
दुवै आयोजनाको निर्माणमा देखिएको अस्वाभाविक ढिलाई भएपछि मन्त्री घिसिङले निर्माणमा सङ्लग्न सबै पक्षसँग छलफल गरेका थिए । तराई क्षेत्रमा सिँचाइ पुर्याएर कृषिको उत्पादकत्व बृद्धि गरी मुलुकको अर्थतन्त्रमा योगदान पुर्याउने आयोजनाहरुको निर्माणमा भइरहेको अस्वाभाविक ढिलाइले आयोजनाबाट प्राप्त हुने प्रतिफल गुमिरहेको उल्लेख गर्दै उनले सम्बन्धित सबै पक्षलाई गम्भीर हुन आग्रह गरे । महानगरले प्राप्त अनुरोध तथा मापदण्डका आधारमा छनोट भएका गाउँपालिकाका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा आधारभूत अस्पताललाई एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको हो ।
९. सुख्खा पहिरोले अवरुद्ध मुग्लिन(काठमाडौँ सडक खण्ड सुचारु भएको छ । अवरुद्ध सडकको पहिरो हटाएर केहि बेरअघि दुईतर्फी सुचारु भएको धादिङ प्रहरीले जानकारी दिएको छ । गएराती धादिङको बेनीघाट रोराङ गाउँपालिका(१० जवाङ खोलामा सुक्खा पहिरो गई बाटो दुईतर्फ अवरुद्ध भएको थियो ।
१०. आज नेप्सेमा वृद्धि भएको छ । मंगलबार नेप्से ५८.६३ अंकले बढेर २६८२.२५ विन्दुमा पुगेर रोकिएको छ । आज ३२८ कम्पनिका १ करोड १३ लाख ५३ हजार १४८ कित्ता शेयर ५ अर्ब २९ करोड २७ लाख ७३ हजार ९२५ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयरमा वृद्धि भएको छ । आज सप्तकोशी डेभलपमेन्ट बैंक र जोशी हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज प्रभु स्मार्ट फन्डको सबैभन्दा बढी ४.३० प्रतिशतले गिरावट आएको छ । त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको ३८ करोड ६८ लाख बराबरको कारोबार भएको छ भने युनिभर्सल पावरको १८ करोड ३० लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
११. बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफ चाँडै मातापिता बने भएका छन् । कट्रीनाले मंगलबार आफु गर्भवती भएको समाचार फ्यानहरूसँग खुसीको खबर साझा गरेकी हुन् । आफ्नो आधिकारिक इन्स्टाग्राममा, कट्रिना कैफले कालो र सेतो तस्बिर पोस्ट गरिन्, जसमा उनी र विक्की कौशलले आफ्नो बेबी बम्प समातेको देखाइन् । कट्रिनाले लेखेकी छन् ‘हामी हाम्रो जीवनको सबैभन्दा राम्रो अध्याय सुरु गर्न लागेका छौं, हाम्रो हृदय खुशी र कृतज्ञताले भरिएको छ ।’ सेप्टेम्बरको सुरुदेखि नै क्याट्रिना गर्भवती भएको खबर मिडियामा आएको थियो । क्याट्रिना र विक्कीको डिसेम्बर ९, २०२१ मा विवाह भएको थियो ।
१२.अखिल नेपाल फुटबल संघ ९एन्फा० ले २०८२ को बाँकी क्यालेन्डर सार्वजनिक गरेको छ । जसमा हाल सर्वाधिक चर्चामा रहेको ए डिभिजन लिग पुष ९ गतेदेखि असार २६ गतेसम्म हुने उल्लेख गरिएको छ । मिति तोकिए पनि हालसम्म प्रतियोगिताको भेन्यु भने तोकिएको छैन । ए डिभिजन लिगको मिति तोकिएर आउँदा नेपाल सुपर लिग ९एनएसएल० भने एन्फाको परिमार्जित क्यालेन्डरमा राखिएको छैन ।
यसअघि सार्वजनिक भएको एन्फाको क्यालेन्डरमा एनएसएलको लागि सेप्टेम्बर, अक्टोबर र नोभेम्बरको समय तोकिएको थियो । तर, परिमार्जित क्यालेन्डरमा एनएसएल राखिएको छैन । नेपाली राष्ट्रिय टिमले भियतनामसँग एएफसी एसियन कप छनोटको खेल खेल्नेछ । जसका लागि प्रशिक्षक म्याट रोसले प्रारम्भिक टोली पनि सार्वजनिक गरिसकेका छन्। त्यस्तै कार्तिककमा नेपाली महिला टिमले भारतसँग ५ दिन लामो मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।
एन्फा प्रेसिडेन्ट लिग २०२५, एन्फा यू १६ युथ लिग कात्तिक १७ देखि मंसिर २ सम्म एन्फा कम्प्लेक्समा रहेको छ । नेपाली सिनियर पुरुष टोलीले मलेसियासँग एएफसी एसियन कप खेल्ने अन्तर्राष्ट्रिय तालिका छ । त्यसैगरी सी डिभिजन लिग मंसिर ४ देखि २८ गतेसम्म हुने तालिका छ । ३ देश सम्मेलित मैत्रीपूर्ण सिरिज महिलाको मंसिर ८ देखि १६ गतेसम्म इण्डोनेसियामा हुनेछ।साफ वुमन्स क्लब च्याम्पियनसिप मंसिर १९ देखि पुष ५ सम्म दशरथ रंगशालामा हुनेछ ।
१३. सरकारले गृहसचिव गोकर्णमणि दुवाडीलाई सरुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकले दवाडीलाई गृहबाट हटाएर राष्ट्रिय योजना आयोगमा सरूवा गरेको हो । त्यस्तै गृहसचिवमा यस अघि रक्षासचिव रहेका रामेश्वर दंगाललाई ल्याइएको छ । जेनजी आन्दोलन दबाएको आरोप लागेका सचिव दवाडीलाई सरकारले अहिले आएर हटाएको छ । त्यस्तै योजना आयोगमा सदस्य सचिव रहेका सुमनराज अर्याललाई रक्षा सचिव बनाइएको छ ।
१४. कारगारबाट भागेका टोपबहादुर रायमाझीले कारागार फर्किएका छन् । रायमाझी सोमबार कारागारमा फर्किएको कारागार प्रशासनले जानकारी दिएको छ । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा रायमाझी जेलबाट निस्किएका थिए र उनले कारागार प्रशासनलाई फोन गरेर आफु जुन सुकै कारागारमा फर्किन तयार रहेको बताएका थिए । रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका छन् । यसै कारागारमा रहेका ३३ किलो सुन काण्डमा मुख्य नाइके चुडामणि उप्रेती गोरे पनि फरार भएका थिए । उनी यसअघि नै कारागारमा फर्किएका छन् । रायमाझी सँगै भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका पूर्वसचिव टेकनारायण पाण्डे भने अहिलेसम्म फर्किएका छैनन् ।
१५. बुढासुब्बा युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको फिल्म ‘जेरी अन टप’को पहिलो गीत ‘कस्तुरी’हटाइएको छ । घटस्थापनाको अवसर पारेर सोमबार रिलिज गरिएको गीत २४ घन्टा पनि नवित्दै युट्युबबाट हटाइएको छ । पाँच लाखभन्दा बढी भ्यूज प्राप्त गरिसकेको गीत अचानक हटाइएपछि सबै आश्चर्यमा परेका छन् । फिल्मका निर्माता सरोज न्यौपानेका अनुसार गीतमा प्राविधिक समस्या देखिएपछि युट्युबबाट हटाइएको बताइएको छ । निर्माण पक्षले गीतको अर्को फाइल रिलिज भएका कारण त्यसलाई हटाएर गीतको नयाँ भर्सन रिलिज गरिने बताएको छ ।
प्राविधिक समस्याका कारण गीतलाई युट्युबबाट हटाइएपछि फिल्मका मुख्य अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमार्फत दर्शकसँग माफी मागेका छन् । उनले लेखेका छन्, ‘सबैसँग माफी माग्छु । प्राविधिक समस्याका कारण हाम्रो नयाँ गीत हटाउनुपर्यो । तर, चिन्ता नगर्नुस्, हामी चाँडै नयाँ संस्करण लिएर आउनेछौं ।’ यही असोज ३१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा अनमोलसहित आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे ९माग्ने बुढा०, भुवन केसी, उषा खड्गी लगायतको पनि अभिनय रहेको छ भने फिल्ममा सुरक्षा पन्तको विशेष भूमिका रहेको छ ।
१६. ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालस्थित बेलायतका राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई बेलायतका राजदूत फेनले बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । भेटमा नेपाल–बेलायतबीचको मित्रता, सहकार्य, ऊर्जा क्षेत्रमा बेलायतको सहयोग, पूर्वाधार क्षेत्रमा लगानीको सम्भावना, जलवायु परिवर्तनबाट सिर्जित समस्या न्यूनीकरणका उपायहरुका लागि आवश्यक सहयोग लगायतका विषयमा छलफल भएको थियो ।
भेटमा मन्त्री घिसिङले जेन—जी आन्दोलनपछि गठन भएको सरकारको मुख्य प्राथमिकताको रुपमा आन्दोलनका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, आम चुनाव र सुशासन कायम गर्नु रहेको बताए । नेपालको पुरानो मित्र बेलायतले नेपालको आर्थिक विकासमा गरेको सहयोगको सरहना गर्दै नेपाललाई कार्वनरहित बनाउन विद्युतीय सवारी साधनको प्रयोग बढाउन चार्जिङ स्टेसन स्थापनाका लागि भइरहेको सहयोग प्रभावकारी रहेको बताए । यसैगरी, उनले बेलायतमा पूर्वाधार निर्माणमा सफल मानिएको सार्वजनिक निजी साझेदारी लगानी मोडेललाई नेपालमा पनि अनुसरण गर्ने, ग्रिन हाइड्रोजन, जलवायु परिवर्तनका कारण सम्भावित हिमताल विस्फोटको जोखिम अध्ययन लगायतका क्षेत्रमा सहयोग गर्न आग्रह गरे । बेलायत—नेपालको पूरानो मित्र भएकाले नेपालको सफलता आफ्नो देशको सफलता भएको उल्लेख गर्दै राजदूत फेनले नेपलाको आर्थिक रुपान्तरणमा सहयोग गर्ने बताए ।
१७. नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान सुरु भएको छ । कांग्रेस नेता गुरुराज घिमिरेसहितका नेताहरुले विशेष महाधिवेशन माग गर्दै पार्टीमा हस्ताक्षर अभियान सुरु गरेका हुन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई अध्ययन गर्दै हस्ताक्षर अभियान सुरु गरेको हस्ताक्षर पत्रमा उल्लेख छ । सोमबार काठमाडौंमा भएको एउटा बैठकपछि सयभन्दा धेरै जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरी अन्यलाई पनि यो अभियानमा सहभागी हुन आग्रह समेत गरेका छन् ।
कांग्रेसले १६५ निर्वाचन क्षेत्र र भातृ तथा सुभेच्छुक संघ संस्था र विदेशस्थित जनसम्पर्क समितिबाट गरी ४७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन् । पार्टीको विधानले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न पाउने व्यवस्था रहेको छ । विशेष महाधिवेशनको माग गर्नेमा घिमिरेसहित देवराज चालिसे, नारायण प्रसाद भट्टराई, जनकराज गिरी, तारानाथ दाहाल, उज्ज्वल बराल, रामपल्टन शाह, विनोद खनाल, टेकराज पौडेल, सुरज काफ्ले मेदिनी सिटौला, सुरेन्द्र राज आचार्य, महेन्द्रध्वज जिसी, इन्द्र रिजाल, चतुर बहादुर चन्द, अष्टभुजा पाठक लगायतका नेताहरु रहेका छन् ।
१८. प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सम्बोधनको क्रममा हमासलाई आफ्ना हतियारहरू आत्मसमर्पण गर्न अपील गरेका छन् । राष्ट्र संघका १५० भन्दा बढी देशले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिएपछि राष्ट्रपति अब्बासले संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सम्बोधनको क्रममा हमासलाई आफ्ना हतियारसहित आत्मसमर्पण गर्न अपील गरेका हुन् । अमेरिकाले अब्बास र अन्य प्यालेस्टिनी अधिकारीहरूको भिसा रद्द गरेपछि प्यालेस्टिनी राष्ट्रपतिले भिडियो लिङ्क मार्फत संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गरेका थिए ।
अब्बासले आफ्नो सम्बोधनमा स्थायी युद्धविरामको आवश्यकतामा जोड दिए । उनले गाजाको प्रशासनमा हमासको कुनै भूमिका नहुने बताए । उनले हमासलाई प्यालेस्टिनी प्राधिकरणलाई आफ्ना हतियारहरू आत्मसमर्पण गर्न आग्रह गरे । प्यालेस्टिनी राष्ट्रपतिले भने- ‘हामी हतियार बिनाको संयुक्त राष्ट्र चाहन्छौं ।’ प्यालेस्टिनी राष्ट्रपतिले अक्टोबर ७, २०२३ मा हमासले दक्षिणी इजरायलमा आक्रमण गरेको घटनाको पनि निन्दा गरे । इजरायलका जनतालाई सम्बोधन गर्दै उनले भने ‘हाम्रो र तपाईंको भविष्य शान्तिमा निर्भर छ । अब हिंसा र युद्ध होइन ।’
१९. नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको ३९ सयले बढेर तोलाको २ लाख २१ हजार ७ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यस अघि सोमबार सुन तोलाको २ लाख १७ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले बढेर २६८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २६५० मा कारोबार भएको थियो ।
२०. ओसमान डेम्बेलेले यस बर्षको बेलुन डो अर अवार्ड जितेका छन् । फ्रेन्च फुटबल एसोसियसनले हरेक बर्ष प्रदान गर्ने बेलुन डो अर अवार्ड यस बर्ष पिएसजीबाट खेल्ने २८ बर्षिय डेम्बेलेले जितेका हुन् । बेलुन डो अरको दोस्रो स्थानमा स्पेनका लामीन यमल रहेका थिए भने तेस्रो स्थानमा पोर्चुगलका भिटिन्हा र चौथो स्थानमा इजिप्टका मोहमद सलाह रहेका थिए । बेलुन डो अरको यस सूचीमा फ्रान्सका किलीयन एम्बाप्पे सातौं स्थानमा र ब्राजिलका भिनिसियस जुनियर १६औं स्थानमा रहेका थिए ।
त्यसैगरि महिला तर्फको बेलुन डो अर भने स्पेनकी ऐताना बोनमातीले लगातार तेस्रो पटक जितेकी छन् । उनी बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने गर्दछिन् । त्यस्तै लामिन यमलले यस बर्षको कोपा ट्रफी जितेका छन् । यो हरेक बर्ष उदियमान फुटबलरलाई दिने गरिन्छ । त्यस्तै यस बर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड पिएसजीका लुइस इनरिकले जितेका छन् । इनरिकले पीएसजीलाई पिलो पटक च्याम्पियन्स लिग जिताएका थिए ।
FACEBOOK COMMENTS