काठमाडौं । आइतबार (आज) देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । विसं २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ ।
यसपटक सातौँ संविधान दिवस मनाउन लागिएको हो । सरकारको निर्णयानुसार असोज २–४ गते राष्ट्रिय दिवसका रूपमा नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगमा दीपावलीलगायत कार्यक्रम गरी मनाउन लागिएको छ ।
तत्कालीन सात राजनीतिक दल र (माओवादी) बीचमा भएको शान्ति सम्झौता, अन्तरिम संविधान, संविधानसभा निर्वाचन र जनताका प्रतिनिधिमार्फत जारी गरिएको संविधानको एकअर्कामा अन्यानोश्रित सम्बन्ध रहेको छ ।
नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी समृद्ध बनाएको छ । स्थानीय तहमा नै नागरिकलाई सहज र सरलरूपमा सेवा उपलब्ध गराएको छ । सात प्रदेश, ७५३ स्थानीय तह र सङ्घीय सरकारमार्फत नयाँ राजनीतिक प्रणाली सुरु भएको छ ।
राष्ट्रिय दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । दिवसका अवसरमा आइतबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ ।
वर्तमान सरकारले संविधानको कार्यान्वयनका लागि आवश्यक पर्ने कानुनी तथा नीतिगत विषयलाई सम्बोधन गरेको छ भने सङ्घीयताको कार्यान्वयनका लागि आवश्यक पहल र प्रयत्न गरिरहेको छ ।
मूल समारोह समितिअन्तर्गत प्रचारप्रसार उपसमितिले दिवसको व्यापक प्रचारप्रसारका लागि सरकारी, सामुदायिक तथा निजी क्षेत्रका सञ्चारमाध्यमलाई यसअघि नै आग्रह गरेको थियो ।
जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयमा रहेको नेपालको संविधान विगतको भन्दा विशिष्ट र फरक रहेको छ ।
FACEBOOK COMMENTS