काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- प्रधानमन्त्री सुशीला कार्कीले आज पनि अन्तरनिर्वाचन क्षेत्र र विदेशमा रहेका नागरिकका लागि मतदानको व्यवस्थाको सम्भाव्यताका विषयमा छलफल गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा गृह मन्त्रालयबाट मन्त्री ओमप्रकाश अर्याल नेतृत्वको टोली सहभागी थियो । साथै कानुन मन्त्रालय, निर्वाचन आयोग, नीति अनुसन्धान प्रतिष्ठान, राष्ट्रिय पञ्जीकरण विभागका अधिकारीहरूको पनि सहभागिता थियो ।
नीति अनुसन्धान प्रतिष्ठानले देशबाहिर र आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिरबाट मतदानका लागि सम्भावित विकल्पका विषयमा आफ्नो अध्ययनको सारांश प्रस्तुत गरेको थियो । प्रस्तुति र छलफलपछि प्रधानमन्त्री कार्कीले कम्तीमा अन्तरनिर्वाचन क्षेत्र मतदान सम्भव हुने अघि अगाडि बढ्नुपर्ने बताइन् । मतदाता ओसार्नुपर्ने बाध्यताले उम्मेदवार र दलहरूमाथि आर्थिक भार निकै ठूलो परिरहेको र त्यसले भ्रष्टाचारलगायत अरु बेथिति पनि देखापरेको भन्दै उहाँले एउटा सुदृढ कदम चाल्नुपर्ने धारणा राखेकी थिइन् ।
उनले भनिन्- ‘पुरानै तरिकाको निर्वाचन गर्ने हो भने त जेनजी आन्दोलन गर्नुको कुनै अर्थ हुँदैन । एउटा सन्देशयुक्त काम गरौँ। सुदृढ ढंगले गरौँ। भोलिका लागि पनि प्रणाली स्थापित गरौँ । हामीले गर्न खोजेको पहलमा राजनीतिक तहको समझदारी पनि हुनुपर्छ । सबै पक्ष तयार हुनुपर्छ। हाम्रा सन्तान डिजिटल साक्षरतामा धेरै अगाडि छन्। राजनीतिक नेतृत्व यो कुरा बुझ्न कति तयार हुनुपर्छ। यति कुरा पहिला नै बुझेको भए भदौ २३ र २४ को घटना पनि हुँदैनथ्यो होला ।’
गृहमन्त्री ओमप्रकाश अर्यालले पनि विगतका निर्वाचनभन्दा यसपालि केही न केही फड्को मार्नैपर्ने बताए । उनले भने- ‘यो चुनावी सरकार हो। विगतका कमजोरी र खराबी हटाउँदै सुधारसहित निर्वाचन गराउन आएको सरकार हो। त्यसैले केही न केही फड्को त मार्नैपर्छ ।’ छलफलपछि अन्तरनिर्वाचन क्षेत्र मतदान र विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगका सम्बन्धमा गर्न सकिने काम, लागत र कानुनी संरचनाका विषयमा सुझाव दिन नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष, कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगाना र निर्वाचन आयोगका प्रतिनिधि सम्मिलित संयन्त्र बनाइएको छ ।

२- सर्वोच्च अदालतले दल बिभाजनसम्बन्धि मुद्धामा जनमत पार्टीका अध्यक्ष सीके राउतको पक्षमा फैसला सुनाएको छ । सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र मेघराज पोखरेलको पूर्ण इजलासले जनमत पार्टी विभाजन भई गठन भएको जनस्वराज पार्टी असंवैधानिक भएको ठहर गरेको हो । पूर्ण इजलासले दीपककुमार साह नेतृत्वको जनस्वराज पार्टीलाई असंवैधानिक भन्दै निर्वाचन आयोगको निर्णयलाई बदर गरेको छ । राउतले निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरिएको रिटमा सर्वोच्चले संक्षिप्त आदेश गरेको हो ।

३- प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको उपस्थितिमा बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकमा ‘आकस्मिक सहुलियत अल्पकालीन कर्जा’ प्रवाह गर्ने निर्णय गरिएको छ । नेपाल प्रहरीमा कार्यरत प्रहरी कार्यालय सहयोगी देखि प्रहरी वरिष्ठ नायव निरीक्षक सम्मका प्रहरी कर्मचारी र तीनका आश्रित परिवारहरूलाई आकस्मिक अवस्था (स्वास्थ्य, शिक्षा, घरायसी समस्या लगायत) मा तत्कालको आवश्यकता पूर्ति गर्नका लागि किस्ताबन्दी कर्जा कार्यक्रम अन्तर्गत १ वर्षभित्र चुक्ता गर्ने गरी ५ प्रतिशत ब्याजदरमा आकस्मिक सहुलियत अल्पकालीन कर्जा रकम २ लाख रूपैयाँ सम्म उपलब्ध गराउने निर्णय गरिएको हो । साथै उक्त रकम उपलब्ध गराउन प्रहरी कल्याण कोषबाट चालु आ.व. २०८२/०८३ मा अधिकतम १० करोड सम्मको कोष खडा गरी नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाबाट आवश्यक मापदण्ड बनाई कर्जा प्रवाह गर्ने निर्णय गरिएको हो ।

४- मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पदभार ग्रहण गरेका छन् । बिहीबार जनकपुरस्थित प्रदेश प्रमुखको कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । त्यसअघि कार्यालयमा पुग्दा नेपाली सेनाले सलामी अर्पण गरेको थियो भने कार्यालयका कर्मचारीहरुले उनलाई स्वागत गरेका थिए ।

पदभार ग्रहणपछि मधेश प्रदेशका प्रदेश प्रमुख कर्णले मधेश प्रदेशमा सरोज कुमार यादव नेतृत्वको सरकार गठनको विषय अदालतमा पुगिसकेकाले अदालतले संवैधानिक व्यवस्था अनुसारकै निर्णय गर्ने धारणा राखेका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मधेस प्रदेशको तत्कालिन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्दै धनुषाका कर्णलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार कर्णलाई मधेश प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गर्दै पद तथा गोपनियताको शपथ गराएका थिए ।

५- अमेरिकाले भारत, इरान, चीन, हङकङ, संयुक्त अरब इमिरेट्स (युएई), टर्की र अन्य क्षेत्रका ३२ संस्था र व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले यी व्यक्तिहरूले इरानको ब्यालिस्टिक मिसाइल र ड्रोन (युएभी) उत्पादनसँग सम्बन्धित आपूर्ति नेटवर्कहरू चलाउने बताएको छ । तिनीहरूमध्ये केहीले इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का लागि पनि काम गर्छन् । आईआरजीसी धार्मिक, राजनीतिक र आर्थिक मोर्चामा इरानको लडाईं गर्ने शक्ति हो ।
यसले घरेलु संकट र विदेशी खतराहरूको सामना गर्दा इस्लामिक राष्ट्रको हितको रक्षा गर्दछ । अमेरिकी विदेश विभागद्वारा जारी प्रेस विज्ञप्तिमा प्रतिबन्धहरू सम्बन्धी जानकारी साझा गरिएको थियो । विज्ञप्ति अनुसार, सेप्टेम्बर २७ मा संयुक्त राष्ट्र संघ (यूएन) द्वारा इरानमाथि प्रतिबन्धहरू पुन: लागू गर्ने समर्थनमा यो कारबाही गरिएको थियो । इरानको आणविक कार्यक्रममा अन्तर्राष्ट्रिय सम्झौता पछि इरानमाथिको प्रतिबन्धहरू हटाइएको थियो, तर यस वर्षको सेप्टेम्बरमा, संयुक्त राष्ट्र संघले १० वर्ष पछि व्यापक आर्थिक र सैन्य प्रतिबन्धहरू पुन: लगायो ।
६- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा सर्वोच्चको प्रमाण मिसिल झिकाउन आदेश भएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सर्वोच्चको प्रमाण मिसिल झिकाउन आदेश दिएको हो । यसअघि उच्च अदालत तुलसीपुर बुटवल इजलासले उक्त मुद्दामा मूल मिसिल मगाउन आदेश दिएको थियो ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रवि र छविको मुद्दाको एकैसाथ सुनुवाइ भइरहेको हो । लामिछानेसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोग पत्र दायर गरिएको यस मुद्धामा लामिछानेले चार भागमध्ये आफ्नो एक भागको बिगो रकम २ करोड ७४ लाख ८४ हजारको बैंक जमानत दाखिला गरेर दिएको निवेदनमा जिल्ला अदालत रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो । जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।
७- बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले फेब्रुअरीको मध्यमा संसदीय चुनाव र जुलाई बडापत्रमा जनमत संग्रह गर्ने घोषणा गरेका छन् । आज दिउँसो राष्ट्रलाई २० मिनेटको टेलिभिजन सम्बोधनमा युनुसले जुलाई बडापत्र कार्यान्वयन आदेशमा जनताको मत माग्ने जनमत संग्रहको लागि एउटा प्रश्न हुने बताए । विवादित मागहरूलाई सन्तुलनमा राख्न, युनुसले १०० सदस्यीय माथिल्लो सदन राष्ट्रिय चुनावमा प्रत्येक दलको मतको हिस्साको आधारमा समानुपातिक प्रतिनिधित्व मार्फत गठन गरिने समेत घोषणा गरेका छन् । उनले कार्यान्वयन आदेश जारी गर्ने काम पहिले नै अन्तिम चरणमा रहेको र राजपत्रको अधिसूचनाको लागि पर्खिरहेको बताए ।
उनले जनमत संग्रहको लागि मतपत्रसँगै मतदाताहरूलाई हो वा होइन उत्तरमा चार प्रश्नहरूको उत्तर दिन आग्रह गरिने बताए । यदि बहुमत मतदाताहरूले हो मतदान गरे भने, संविधान संशोधन गर्न बंगलादेशमा संवैधानिक सुधार परिषद् गठन गरिनेछ । जुलाई बडापत्र देशको राजनीतिक र संस्थागत संरचना सुधार गर्ने उद्देश्यले गरिएको थियो । बंगलादेशका अधिकांश राजनीतिक दलहरूले अक्टोबरमा बडापत्रमा हस्ताक्षर गरेका थिए, तर गत वर्षको आन्दोलनका नेताहरू र चार वामपन्थी दलहरू मिलेर बनेको राष्ट्रिय नागरिक पार्टी (एनसीपी) ले यसलाई बहिष्कार गरेको थियो । एनसीपीले बडापत्रमा बडापत्रमा गरिएका वाचाहरू कार्यान्वयन गर्न कानुनी रूपरेखा वा आवश्यक ग्यारेन्टीको अभाव रहेको तर्क गरिरहेको छ ।
८- विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइन संरचनाबाट विद्युत उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम मसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् । यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई निरन्तरता दिएका छन् । यसरी, नेपाल विद्युत प्राधिकरणले ३५उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ असुल गरेको छ । ३५ उद्योगको कुल बक्यौता ५ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ थियो ।
अब ५ अर्ब ७० करोड ६८ लाख रुपैयाँ बक्यौता असुल गर्न बाँकी रहेको छ । यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेबापतको प्रिमियम महसुल बक्यौता हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले राज्यप्रतिको दायित्व सम्झिएर उद्योगीहरुबाट बक्यौता रकम तिर्न थालेकोमा धन्यवाद दिएका छन् । मन्त्री घिसिङले उद्योगीहरुबाट बक्यौताको किस्ता तिर्न थालेपछि त्यसलाई निरन्तरता दिने विश्वास व्यक्त गरे । उनले भने- ‘उद्योगहरुलाई विद्युत नियमन आयोग, अदालतलगायतका निकायमा जाने बाटो खुल्लै छ, किस्ताबन्दी तिर्न थालेपछि त्यसलाई पालना गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौ, उद्योगीहरुका जायज मागलाई सम्बोधन गर्न सँधै तयार नै छौं ।’ प्राधिकरणले बक्यौता रकम तिर्न २१ दिनको समय दिएर असोजमा सार्वजनिक सूचना जारी गरेको थियो । त्यस अवधिमा पनि बक्यौता तिर्न नआएपछि ४ र ७ कात्तिक गरी दुई चरणमा लाइन काटिएको थियो ।
९- अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय पुरुष र महिला फुटसल टोलीका लागि प्रमुख र सहायक प्रशिक्षक नियुक्त गरेको छ । राष्ट्रिय महिला फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जनलाई नियुक्त गरिएको छ भने सहायक प्रशिक्षकमा नरेश श्रेष्ठलाई नियुक्त गरिएको छ । उनीहरूले जनवरी १३ देखि २६ सम्म थाइल्याण्डमा आयोजना हुने साफ महिला फुटसल च्याम्पियनसिप २०२६ मा टोलीको नेतृत्व गर्नेछन् । त्यस्तै, राष्ट्रिय पुरुष फुटसल टोलीको मुख्य प्रशिक्षकमा अनिल बहादुर गुरुङलाई नियुक्त गरिएको छ भने सहायक प्रशिक्षकमा सरोज कुमार थापा क्षेत्रीले काम गर्नेछन् । पुरुष फुटसल टोलीले जनवरी १३ देखि २६ सम्म थाइल्याण्डमा आयोजना हुने साफ फुटसल च्याम्पियनसिप २०२६ मा प्रतिस्पर्धा गर्दै छ । चारै जना प्रशिक्षकलाई एन्फा महासचिव किरण राईले नियुक्ति पत्र प्रदान गरेका छन् ।
१०- नेप्सेमा सामान्य वृद्धि भएको छ । विहिबार नेप्से १.१३ अंकले बढेर २५४५.७३ विन्दुमा पुगेर रोकिएको छ । आज ३२९ कम्पनिका ७६ लाख ५ हजार ५८४ कित्ता शेयर ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार ६७१ मा कारोबार भएको थियो । आज विकास बैंक, लगानी, लाइफ इन्सुरेन्स, उत्पादन, निर्जीव वीमा र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज माबीलुंग इनर्जी र स्वत गंगा हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने सागर डिस्टिलरी र बुङ्गल हाइड्रोको शेयर ९.९९ प्रतिशतले तथा बन्दीपुर केवलकारको शेयर ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज नेपाल माइक्रो इन्सुरेन्स कम्पनिको शेयर सबैभन्दा बढी ४.८२ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी हिमालायन पावर पार्टनरको १६ करोड ८० लाख कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको १३ करोड ९१ लाख बराबर कारोबार भएको छ ।
११- निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र भएकाले अनलाइन मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था गरेको छ । आयोगले बिहीबारदेखि राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न सुरु गरेको हो । यसले राष्ट्रिय परिचयपत्र नम्बर भएका र आफैँ निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदातालाई सहज हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले यही कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।
१२- बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना विरुद्धको मुद्धाको फैसला सुनाउने मिति सरेको छ । यसअघि आज फैसला सुनाउने भनिएको भएपनि विशेष अदालत, अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले देशमा सम्भावित हिँसाका कारण नोभेम्बर १७ मा फैसला सुनाउने निर्णय गरेको छ । शेख हसिनाको पार्टी, अवामी लिगले आङ बंगलादेश बन्दको घोषणा गरेको छ । अवामी लिग बन्दका कारण राजधानी ढाकामा सुरक्षा कडा पारिएको छ र बंगलादेशभर उच्च सतर्कता बनाइएको छ । अभियोजन टोलीका एक सदस्यले फौजदारी न्यायाधिकरणले निर्धारित समयमै आफ्नो फैसला सुनाउने बताएका छन् ।
अवामी लिग बन्द र शेख हसिना विरुद्धको फैसलालाई ध्यानमा राख्दै सरकारले ढाकामा सेना, सीमा रक्षक बंगलादेश र दंगा विरोधी प्रहरी कर्मचारीहरू तैनाथ गरेको छ । ढाकाका सडकहरू खाली देखिन्छन् र बस ट्राफिक पनि सीमित छ । धेरै निजी संस्था र विश्वविद्यालयहरूले आफ्ना कक्षाहरू अनलाइन सञ्चालन गर्ने निर्णय गरेका छन् । मिडिया रिपोर्टका अनुसार ढाका, मुन्सीगञ्ज, सेन्ट्रल टाङ्गेल र दक्षिणपश्चिमी गोपालगञ्जमा अज्ञात व्यक्तिहरूले पाँचवटा खाली बसहरूमा आगजनीको दाबी गरेका छन् । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना विरुद्ध दायर गरिएको मानवता विरुद्धको अपराधको मुद्दामा सुनुवाइ हुन लागेको हो । सरकारी वकिलले हसिना विरुद्ध पाँच गम्भीर आरोप लगाएका छन्, जसमध्ये सबैभन्दा महत्त्वपूर्ण हत्या, अपराध रोक्न असफलता र मानवता विरुद्धको अपराध हुन् । सरकारी वकिलले उनलाई मृत्युदण्डको माग गरेका छन्। हसिनाको पार्टी, अवामी लिगले बिहीबार बिहानदेखि बेलुकासम्म राष्ट्रव्यापी तालाबन्दीको घोषणा गरेको छ ।
१३- निवर्तमान महानिरीक्षक चन्द्र कुवेर खापुङलाई विदेश भ्रमणमा रोक लगाइएको छ । भदौ २३ र २४ गतेको घटना सम्बन्धि जाँचबुझ आयोगले खापुङलाई आजदेखि लागु हुने गरि कुनै पनि समय आयोगमा उपस्थित हुनुपर्ने भएकाले विदेश भ्रमण र आयोगको स्वीकृत बेगर काठमाडौँ उपत्यका छोड्न नपाउने निर्णय गरेको आयोगक सदस्य विज्ञान राज शर्माले जानकारी दिएका छन् । खापुङको ३० बर्षे सेवा अवधिक कारण गएरति १२ बजेदेखि कार्यकाल सकिएको थियो ।
१४- पोर्चुगल सरकारले कामदार भिसा सम्बन्धी विद्यमान कानुनमा संशोधन गरेको छ । पोर्चुगल सरकारबाट गत अक्टोबर २३ देखि लागू हुने गरी कामदार भिसा सम्बन्धी विद्यमान कानुनमा संशोधन गर्दै उच्च दक्ष बाहेक सबै प्रकारका कामदार भिसा जारी गर्न बन्द गरेपछु यसको असर नेपालीलाई पनि पर्ने देखिएको छ । लिस्बनस्थित नेपाली दुताबासले यस सम्बन्धमा औपचारिक जानकारी गराइएको परिप्रेक्षमा अझै पनि नेपाल तथा मध्यपूर्वका मुलुक लगायतका क्षेत्रमा बस्ने नेपालीहरुलाई पोर्चुगलमा काम लगाईदिने प्रलोभनमा पारी ठगी गर्ने प्रयास भैरहेको उल्लेख गर्दै यस्ता गतिविधिमा कोही नलाग्न तथा कसैको बहकाउमा लागेर ठगिनबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
१५- गत सेप्टेम्बरको आन्दोलन र त्यसपश्चात छाएको राजनैतिक अस्थिरताको प्रभावलाई प्रतिबिम्वित गर्दै नेपालको वृद्धि आर्थिक वर्ष २०२५ मा ४.६ प्रतिशतबाट घटेर आर्थिक वर्ष २०२६ मा २.१ प्रतिशतमा झर्ने प्रक्षेपण विश्व बैंकको पछिल्लो आर्थिक प्रतिवेदनले गरको छ । आर्थिक वर्ष २०२७ मा भने पुनर्निर्माणका प्रयासमा हुने प्रगतिले आर्थिक वृद्धिदर ४.७ प्रतिशत पुग्ने अनुमान गरिएको छ । विहिबार सार्वजनिक भएको नेपाल डेभलपमेन्ट अपडेट प्रतिवेदनका अनुसार सबैभन्दा बढी सेवा क्षेत्र प्रभावित हुने उल्लेख गरिएको छ ।
यद्यपि यो प्रक्षेपण अझै पनि अनिश्चित रहेको र राजनैतिक परिवर्तनको सफलता र दिगो सुदृढ आर्थिक व्यवस्थापनको प्रत्याभूतिले लगानीकर्तालाई प्रोत्साहित आर्थिक सुधारलाइ गति दिन सक्ने उल्लेख छ । नकारात्मक पक्षको रुपमा भने निरन्तरको अनिश्चितताले लगानीकर्तालाई निरुत्साहित गर्न सक्ने पनि अनुमान गरिएको छ । पुनरुत्थानका लागि आवश्यक तत्काल गतिविधि बाहेक प्रतिवेदनले दिगो आर्थिक वृद्धिका लागि सार्वजनिक लगानी व्यवस्थापनलाई बलियो बनाउनुपर्ने कुरामा जोड दिएको छ । आ.व २०२४ मा संघिय, प्रादेशिक र स्थानिय सरकारको कुल पुँजीगत खर्च कुल ग्राहस्थ उत्पादनको ७.९ प्रतिशत थियो ।
यो नेपालको पूर्वाधार आवश्यकताहरू पुरा गर्न आवश्यक लगानी भन्दा निकै कम हो । नेपालको पूर्वाधार आवश्यकताहरू पुरा गर्नका लागि कुल ग्राहस्थ उत्पादनको १० देखि १५ प्रतिशत लगानी आवश्यक पर्छ । माल्दिभ्स, नेपाल र श्रिलंकाका लागि विश्व बैंकका डिभिजन डाइरेक्टर डेभिड सिस्लेनले भने- ‘नेपालको आर्थिक वृद्धिदर सुधार, रोजगारी सिर्जना तथा सम्पुर्ण नेपालीहरूको समृद्धिका लागि सार्वजनिक लगानी बढाउनु निकै महत्त्वपूर्ण छ । यसका लागि केही मुख्य कामहरू कार्यान्वयन गर्नु आवश्यक छ ।
यसमा परियोजनाहरू निर्माण र बजेटिङको सुदृढीकरण गर्ने, जग्गा अधिग्रहण र रुख कटान जग्गा अधिग्रहण र रूख प्रक्रियालाई सुव्यवस्थित गर्ने, रकम व्यवस्थापनलाइ थप प्रभावकारी बनाउने, सार्वजनिक खरिद एेन तथा नियमावलीहरूमा संसोधन गर्ने लगायतका विषयहरूलाई प्राथमिकता दिनुपर्ने देखिन्छ । यसले परियोजनाहरूलाई तिव्र रुपमा सम्पन्न गर्न मद्दत गर्नेछ ।’ नेपाल डेभलपमेन्ट अपडेट वर्षको दुई पटक सार्वजनिक हुने गर्छ । विगत लामो समयदेखि यस प्रतिवेदनले आर्थिक विकासको गहन अध्ययन तथा विश्लेषण दिदैँ आएको छ ।
१६- नेपाल धितोपत्र बोर्डले सोलु हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ ) प्रस्तावलाई स्वीकृत गरेको छ । स्वीकृत प्रस्ताव अनुसार, कम्पनीले सर्वसाधारणलाई कुल २ करोड कित्ता शेयर जारी गर्नेछ ।
शेयरहरू प्रति इकाई १०० को बराबर मूल्यमा प्रस्ताव गरिनेछ । सार्वजनिक निष्कासनको लागि नबिल इन्भेस्टमेन्ट बैंकिङ र हिमालायन क्यापिटललाई निष्कासन प्रबन्धक नियुक्त गरिएको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड (इन्फोमेरिक्स नेपाल) ले आइआरएन बीबीको जारीकर्ता मूल्याङ्कन तोकेको छ । यो मूल्याङ्कन भएका जारीकर्ताहरूलाई वित्तीय दायित्वहरूको समयमै सेवा प्रदान गर्ने सम्बन्धमा पूर्वनिर्धारित जोखिमको मध्यम जोखिम भएको मानिन्छ ।
१७- पूर्वऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्काले कब्जा गरेको नेपाल स्काउटको जग्गामा काठमाडौं महानगरले डोजर चलाएको छ । नेपाल स्काउटले गत बिहीबार खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई ७ दिनभित्र बहालको बक्यौता रकम तिर्न अल्टिमेटम दिएको थियो । जिल्ला प्रशासन कार्यालयबाट मुचुल्का गरी सिलबन्दी गरिए पनि खड्का ल्यान्डले भोगचलन गरेपछि सात दिनको समय दिएर बक्यौता तिर्न अल्टिमेटम दिइएको थियो ।
नेपाल स्काउट र खड्काल्याण्ड डेभलपण्ट प्रालिबीच २०६५ सालमा ३ रोपनी जग्गा (हाल लैनचौर बैक्वट सञ्चालन भइरहेको स्थान) १० वर्षका लागि करार सम्झौता गरी उपलब्ध गराइएको थियो । सम्झौता सकिएको लामो समयसम्म पनि उक्त कम्पनीले भाडा तिरेको थिएन । स्काउटले राष्ट्रपति, प्रधानमन्त्री, संसददेखि काठमाडौँ महानगरपालिकासम्म पत्राचार गर्दै जग्गा खाली गराउन सहयोग मागेको थियो । स्काउटका अनुसार २०७५ सालसम्म नियमित भाडा तिरेका खड्काले त्यसपछि जग्गा र भवन उपयोग गरिरहे पनि भाडा तिर्न आनाकानी गरिरहेका थिए ।
१८- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको ५९ सयले बढेर तोलाको २ लाख ५० हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ४४ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १७० रुपैयाँले बढेर ३३४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ३१७५ मा कारोबार भएको थियो ।
१९- अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित ग्रामीण क्षेत्र स्टोनलीमा भएको भीषण सवारी दुर्घटनामा चितवन घर भएका एकै परिवारका तीन नेपालीले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ४१ वर्षीय पुरुष, ३१ वर्षीया श्रीमती र तीन वर्षीय छोरा रहेका छन् । उनीहरू सवार कारलाई मालबाहक ट्रकले ठक्कर दिँदा घटनास्थलमै तिनै जनाले ज्यान गुमाएको रिपोर्टमा उल्लेख गरिएको छ । दुर्घटनामा दम्पतीकी आमा गम्भीर घाइते भएकी छन् र उनलाई हेलिकोप्टरमार्फत अस्पताल पुर्याइएको छ । चिकित्सकका अनुसार उनको अवस्था स्थिर रहेको छ ।
२०- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी कोष विधेयकमा हस्ताक्षर गरेसँगै ४३ दिनदेखिको सरकारी बन्दको अन्त्य भएको छ । विधेयक प्रतिनिधि सभा (तल्लो सदन) बाट २२२-२०९ को अन्तरले पारित भएपछि राष्ट्रपति ट्रम्पले विधेयकमा हस्ताक्षर गरेका हुन् । विधेयकमा हस्ताक्षर गर्नुअघि ट्रम्पले भने- ‘देश कहिल्यै राम्रो स्थितिमा थिएन । यो एक महान दिन हो ।’ विधेयकले जनवरी ३१ सम्म सरकारलाई कोष प्रदान गर्नेछ । विधेयक अन्तर्गत, एजेन्सीहरूलाई जनवरी ३१ सम्म कर्मचारीहरूलाई हटाउनबाट रोक लगाइनेछ । यसैबीच, केही डेमोक्र्याटिक नेताहरूले सब्सिडी कर क्रेडिटहरू विस्तार गर्न लडाई जारी राख्ने बताएका छन् ।
FACEBOOK COMMENTS