काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- प्रधानमन्त्री सुशीला कार्की आज ज्यापु संस्कृति विकास कोषद्वारा आयोजित २२औं राष्ट्रिय ज्यापु दिवस तथा यःमरि पुन्हिसम्बन्धी कार्यक्रममा सहभागी भएकी छन् । काठमाडौँको वसन्तुपरमा आयोजित कार्यक्रमको प्रमुख अतिथिका रुपमा उनले विशेष सम्बोधन गर्दै यो दिवस नेपालको मौलिक संस्कृति, कृषि परम्परा र नेवारी पहिचानलाई झल्काउने दिवस भएको र यस दिवसले हामीलाई ज्यापु संस्कृति तथा योमरी पुन्हिको महत्त्वलाई सम्झाउने बताएकी छन् ।
उनले भनिन्- ‘उपत्यकाको मलिलो भूमिमा पसिना बगाएर अन्न फलाउने र सांस्कृतिक चाडपर्वका माध्यमबाट समाजलाई जीवन्त राख्ने काममा ज्यापु समुदायको योगदान अतुलनीय छ । यस दिवसले हामी सबैलाई जातीय सद्भाव र एकताको सन्देश दिन सकेको छ भन्ने मलाई लाग्छ। हामी सबै मिलेर अगाडि बढ्दा हाम्रो मौलिक संस्कृति र समुदायको विकास एवं संवर्धन सम्भव छ। ज्यापु संस्कृति विकास कोषले यस दिशामा गरिरहेको अथक प्रयासका लागि म विशेष धन्यवाद दिन चाहन्छु ।’
प्रधानमन्त्री कार्कीले सरकारबाट प्राप्त सानो रकमको आर्थिक सहयोगबाट सुरु भएको ज्यापु संस्कृति विकास कोषले दुई दशकभित्र निकै उपलब्धिहरु हासिल गरेको बताउदै सम्बन्धित टोल गुठीहरु, स्थानीय समुदाय तथा संस्थामा कार्यरत लगनशील व्यक्तिहरुको इमान्दार प्रयासबाट यो उपलब्धि भएको बताइन् । प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ को जेनजी आन्दोलनसँगै घटेका घटनाहरुबाट पाठ सिक्नुपरेको भन्दै मुलुकको युवा शक्तिले भ्रष्टाचार अन्त्य, सुशासनको स्थापना र आमजनतालाई रोजगारी, गाँस-वास-कपासको सुनिश्चितताको माग गरेको बताइन । उनले आउँदो फागुन २१ गते आम निर्वाचन गराई युवा शक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने सबैको दायित्व भएको बताउदै घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार सम्पूर्ण रुपले तयारीमा जुटेको बताइन ।
२- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौँ गोर्खाजले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । विहिबार सम्पन्न खेलमा काठमाडौँले पोखरालाई १३ रनले पराजित गरेको हो । काठमाडौँले दिएको १६६ रनको लक्ष्य पछाएको पोखराले २० ओभरमा अल आउट हुदै १५२ रन बनाएको थियो । पोखराका लागि ऋषि धवनले सर्बाधिक ५४ रन बनाएका थिए भने धनन्जय लक्शानले ३०, कुशल भुर्तेलले २२ र जासन रोयले १६ रन बनाएका थिए । त्यस्तै काठमाडौँका बलर शाहाब आलमले ६ विकेट लिएका थिए । आलमले अन्तिम ओभरमा ह्याट्रिकसहित ४ विकेट लिएका थिए । त्यस्तै करण केसी र सन्नी पटेलले २-२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँले २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको थियो । काठमाडौँका लागि बेन चार्लेजवर्थले सर्बाधिक ६४ रन बनाएका थिए भने भीम सार्कीले आक्रामक ब्याटिंग गर्दै २३ बलमा ५५ रन बनाएका थिए । त्यस्तै मिलिन्द कुमारले १३ रन बनाएका थिए । त्यसैगरी पोखराका बलर धनन्जय लक्शानले ४ विकेट लिए भने कुशल भुर्तेलले २, विपिन खत्री र किरण ठगुन्नाले एक एक विकेट लिएका थिए । यो जितपछि काठमाडौँले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै काठमाडौँले आफ्ना लिग चरणका सबै सात खेल खेलेको छ र १० अंक हासिल गरेको छ । त्यस्तै यो हारले पोखराको प्लेअफको यात्रा भने संकटमा परेको छ र ६ खेलमा ४ अंक रहेको छ ।

३- जर्मनीले बर्लिन नजिकै इजरायल निर्मित एरो-३ वायु रक्षा प्रणाली तैनाथ गरेको छ । मिडिया रिपोर्टका अनुसार यसले रूसको ओरेश्निक जस्तै ब्यालिस्टिक क्षेप्यास्त्र पत्ता लगाउन र रोक्न सक्छ । इजरायलले हालै राजधानी बर्लिन नजिकैको वायुसेना अड्डामा आयोजित एक समारोहमा यो प्रणाली जर्मनीलाई हस्तान्तरण गरेको छ । इजरायली रक्षा मन्त्रालयले यो देशको इतिहासको सबैभन्दा ठूलो रक्षा निर्यात सम्झौता भएको बताएको छ ।

दुई वर्षअघि लगभग ४ अर्ब डलरमा यो सम्झौतामा हस्ताक्षर गरिएको थियो र यो प्रणाली २०२५ सम्ममा डेलिभर गर्ने वाचा गरिएको थियो । एरो-३ इजरायलको सबैभन्दा उन्नत क्षेप्यास्त्र रक्षा प्रविधि हो। यसमा अन्तरिक्षमा लामो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्रहरू नष्ट गर्ने क्षमता छ। इजरायलले विगत दुई वर्षमा इरान र यमनबाट प्रक्षेपण गरिएका धेरै क्षेप्यास्त्रहरूलाई रोकेको छ, जसले देशको सुरक्षा गरिरहेको छ ।

इजरायल एयरोस्पेस इन्डस्ट्रीजका प्रमुखले ब्यालिस्टिक क्षेप्यास्त्रहरूको खतरा विश्वव्यापी रूपमा बढ्दै गएको बताए, जसले एरो-३ जस्तो प्रविधिलाई महत्त्वपूर्ण बनाएको छ। उनले भने कि इजरायलले हालैका वर्षहरूमा यो प्रणाली प्रयोग गरेर सयौं क्षेप्यास्त्रहरूलाई रोकेको छ। जर्मनी र इजरायलले पहिले धेरै रक्षा सम्झौताहरूमा हस्ताक्षर गरेका छन्। इजरायलले जर्मनीबाट पनडुब्बी र नौसेना जहाजहरू खरिद गरेको छ भने जर्मनीले इजरायलबाट ट्याङ्क प्रतिरक्षा प्रणाली र ट्याङ्क विरोधी मिसाइलहरू प्राप्त गरेको छ।

४- भारत सरकारले सबै स्मार्ट फोनमा सञ्चार साथी एप अनिवार्य गर्नुपर्ने निर्णयबाट पछि हटेको छ । सरकारले ९० दिनभित्र फोन कम्पनीहरूलाई सबै नयाँ स्मार्टफोनहरूमा सञ्चार साथि एप अनिवार्य गर्न दिएको निर्देशन फिर्ता लिएको छ । यो निर्देशन घोषणा हुने बित्तिकै, गोपनीयता र सरकारी निगरानीको बारेमा सामाजिक सञ्जालमा ठूलो बहस सुरु भयो र विवाद बढेको थियो ।
यस आदेशको आलोचना गर्नेहरुले यसबाट सरकारले जासुसी गर्न लागेको आरोप लगाएका थिए । सरकारले चोरी भएका फोनहरू ट्र्याक गर्न, नक्कली आइएमइआई नम्बरहरूको बिक्री रोक्न र दूरसञ्चार स्रोतहरूको दुरुपयोग निगरानी गर्न यो कदम आवश्यक भएको दाबी गरेको थियो र्छ। तर यस्तो एप अनइन्स्टल वा असक्षम गर्न नसक्ने मोडेल लोकतान्त्रिक देशहरूका सामान्य विषय नभएको प्रश्न उठेपछि सरकारले आफ्नो निर्णय फिर्ता लिएको बताइएको छ ।
५- प्रधानमन्त्री सुशिला कार्कीले निर्वाचन केन्द्रित छलफलका लागि सर्वपक्षीय बैठक बोलाएकी छन् । प्रधानमन्त्री कार्कीले शुक्रबार ४ बजे बालुवाटारमा बस्ने गरि प्रमुख राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र सरकारका प्रतिनिधिहरु सहभागी हुने गरि बैठक बोलाएकी हुन् । बैठकमा फागुन २१ गते हुने निर्वाचनको अहिलेसम्मको तयारी र सुरक्षा चुनौतीको अवस्था बारे छलफल हुने बताइएको छ । स्रोतका अनुसार पाँच प्रमुख दललाई मात्र बोलाइएको छ ।
जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपा रहेका छन् । प्रधानमन्त्री कार्कीले यसअघि राजनीतिक दल र जेनजीप्रतिनिधिसँग सामुहिक छलफल गरेकी थिइन् भने त्यसपछि विभिन्न दलका नेताहरुलाई अलग अलग भेट गर्दै आएकी छन् ।
६- भक्तपुरको गुण्डुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि घर निर्माण कार्य सुरु गरिएको छ । एमाले नेता महेश बस्नेतका अनुसार बिहीबार ओली पत्नी राधिका शाक्यले घरको शिलान्यास गरेर निर्माण कार्य शुरु भएको हो । बस्नेतकै अगुवाईमा ओलीका लागि ‘ओली कुटी’ निर्माण सुरु गरिएको छ । यसअघि भक्तपुरको बालकोटमा रहेको ओलीको घर जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनीबाट ध्वस्त भएको थियो । जेनजी आन्दोलनपछि ओली गुण्डुमै बस्दै आएका छन् ।
७- सिन्धुली र रामेछापको सीमा रहेको सुनकोशी नदीको खैरेनीघाटमा बेली ब्रिज (फलामे पुल) जडान सुरु भएको छ । गत वर्षको असोजको भारी वर्षाका कारण रोशीखोला र सुनकोशी नदीमा आएको बाढीले नेपालथोक नजिक खैरेनीघाटको पक्की पुललाई क्षति पुर्याएपछि उक्त स्थानमा बेली ब्रिज जडान गर्न लागिएको हो । उक्त स्थानमा ७० मिटर लम्बाइ भएको बेली ब्रिज जडान हुनेछ । सिंगल लेन पुलको भार वहन क्षमता २० टन रहेको छ ।
विपद्बाट क्षति पुगेका सडक सञ्जाललाई नियमित रुपमा सञ्चालनका लागि नेपाल सरकारको अनुरोधमा भारतले उक्त बेली ब्रिज अनुदानमा उपलब्ध गराएको हो । भारतले अनुदानमा उपलब्ध गराएका १० वटा बेली ब्रिजमध्ये एउटा खैरेनीघाटमा जडान गर्न लागिएको हो । बेलि ब्रिज खैरेनीघाटसम्म ढुवानी भइसकेको छ । जडानका लागि प्राविधिकहरु भारतबाट निर्माणस्थमाल पुगिसेकका छन् । बाढीले पुलसम्म पुग्ने सडक क्षति पुर्याएको थियो । उक्त स्थलसम्म पुग्ने सडकको ट्रयाक खोलिसकिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीवार खैरेनीघाट क्षेत्रको स्थलगत निरीक्षण गरी बेली ब्रिज जडानका बारेमा जानकारी लिएका छन् । मन्त्री घिसिङले विपद्का कारण पुलमा क्षति पुग्दा रामेछापका सुनापति, खाँडादेवी, दोरम्बा, काभ्रेपलाञ्चोकको चौंरीदेउरालीलगायतका क्षेत्रको तराई र काठमाडौंसँगको सडक सम्पर्क टुटेको र आवातजावतमा कठिनाई भएकाले बेली ब्रिज जडान जतिसक्दो छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले गत असोजमा त्यस क्षेत्रको भ्रमण गरी उक्त स्थानमा बेली ब्रिज जडानका लागि सडक विभागका अधिकारीहरुलाई निर्देशन दिएका थिए ।
८- हामी नेपालीका संयोजक सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क सभापति रवि लामिछानेसँग भेट गरेका छन् । गुरुङले बालेन र कुलमानको एकतापछि, बाचा अनुसार आज एकता संवादको लागि रवि लामिछानेसँग भेट गर्ने बताएका थिए । गुरुङले नख्खु कारागार पुगेर लामिछानेसँग भेट गरेका छन् ।
९- बर्दिया र इलामबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । बर्दिया, ६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-७ सिउनिया बस्ने ३२ वर्षीय प्रशान्त कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । प्रशान्तले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । इलाम, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माङसेबुङ गाउँपालिका-२ इभाङ बस्ने ४० वर्षीय राजिन कामीलाई प्रहरीले पक्राउ गरेको छ । राजिनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी इभाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
१०- अमेरिकी वायुसेनाको एफ-१६ लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटना हुनुभन्दा केही सेकेन्ड अगाडि पाइलट सुरक्षित रूपमा बाहिर निस्किए र आफ्नो ज्यान बचाएका थिए । दक्षिणी क्यालिफोर्नियाको ट्रोना नजिकैको मरुभूमि क्षेत्रमा भारतीय समय अनुसार बिहान दुर्घटना भएको थियो । विमान ट्रोना विमानस्थलबाट करिब तीन किलोमिटर टाढा खसेको थियो ।
विमानस्थल प्रबन्धकले सैन्य विमानहरू प्रायः यस क्षेत्रमा उडान गर्छन् । सामाजिक सञ्जालमा राखिएका भिडियोहरूले विमान द्रुत गतिमा खसिरहेको र पाइलट प्यारासुटबाट बाहिर निस्किरहेको देखाएको छ । जमिनमा ठोक्किने बित्तिकै ठूलो विस्फोट भयो र आकाशमा कालो धुवाँ फैलिएको थियो ।
११- कान्ति राजमार्गको यातायात मङ्सिर २० गतेदेखि ६० दिनसम्मका लागि दैनिक बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले सूचना जारी गर्दै मङ्सिर २० गतेदेखि दुई महिना (६० दिन) सम्म दैनिक ६ घण्टा (बिहान ११ बजेदेखि अपरान्ह ५) बजेसम्म सवारी आवागमन बन्द हुने जानकारी दिएको हो । यस अवधिभर यात्रु तथा सवारी चालकहरूलाई पर्न सक्ने असुविधालाई ध्यानमा राखेर वैकल्पिक मार्गहरू प्रयोग गर्न अनुरोध गरिएको छ ।
१२- भारतको सबैभन्दा ठूलो एयरलाइन्स इन्डिगो हाल गम्भीर संकटको सामना गरिरहेको छ । यसले बारम्बार उडान रद्द र ढिलाइको सामना गरिरहेका यात्रुहरूलाई प्रत्यक्ष असर गरिरहेको छ । विगत केही दिनमा स्थिति झनै बिग्रिएको छ, जसले गर्दा देशभरका आठ विमानस्थलहरूमा १०० भन्दा बढी उडानहरू रद्द भएका छन् । यसले हजारौं यात्रुहरू अलपत्र परेका छन् र उनीहरूको यात्रा योजनामा गम्भीर असर पारेको छ ।
ढिलाइ र रद्दले हवाई भाडामा पनि असर गरिरहेको छ । धेरै प्रमुख मार्गहरूमा टिकटको मूल्य अचानक तीव्र रूपमा बढेको छ, जसले यात्रुहरूलाई थप बोझ थपेको छ । क्रिसमस र नयाँ वर्षको बिदा मनाउन ठूलो संख्यामा यात्रुहरू हाल विश्वका विभिन्न भागहरूमा यात्रा गरिरहेका छन् । इन्डिगोसँग देशको सबैभन्दा ठूलो विमान फ्लीट छ, जसमा ४३४ विमान र २३ सयभन्दा बढी दैनिक उडानहरू छन् । यसले घरेलु उडानहरूको ६० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ । हाल, एयरलाइन्सले ५ हजार ४५६ पाइलट, १० हजार २१२ केबिन क्रू र कुल ४१ हजारभन्दा बढी कर्मचारीहरूलाई रोजगारी दिन्छ । यसको बावजुद, कम्पनी चालक दलको गम्भीर अभावसँग जुधिरहेको छ ।
भारतमा इन्डिगो उडानहरूमा अवरोध सबैभन्दा बढी प्रमुख शहरहरूमा देखिएको छ । बेंगलुरुमा सबैभन्दा बढी ४२ उडान रद्द भए, त्यसपछि दिल्लीमा ३८ उडानहरू रद्द भएका थिए । त्यसति अहमदाबादमा २५, हैदराबादमा १९, इन्दौरमा ११ र कोलकातामा १० उडानहरू रद्द भएका थिए । यी सात शहरहरूमा मात्र १५० भन्दा बढी उडानहरू रद्द भएका कारण यात्रुहरूले ठूलो असुविधाको सामना गर्नुपरेको बताइएको छ । विगत दुई दिनमा २०० भन्दा बढी उडानहरू रद्द गरिएका छन् । सयौं उडानहरू घण्टा ढिलाइका साथ आइपुगे र प्रस्थान गरिरहेका छन् । इन्डिगोको बारम्बार ढिलाइ र रद्दले हवाई टिकटको मूल्यमा प्रत्यक्ष प्रभाव पारिरहेको छ ।
धेरै रुटहरूमा भाडा अचानक आकाशिएको छ । दिल्ली-मुम्बई रुटमा अवस्था सबैभन्दा खराब छ, जहाँ सामान्यतया ४ देखि ५ हजार पर्ने टिकट अब २१ देखि २५ हजारसम्म पुगेको छ । ठूलो उडान रद्द भएपछि, इन्डिगो एयरलाइन्सले यात्रुहरूसँग माफी माग्दै एक विज्ञप्ति जारी गरेको र भविष्यमा पनि यस्तै समस्याहरू आउन सक्ने बताएको छ । एयरलाइन्सले आगामी ४८ घण्टा भित्र सामान्य अवस्था पुनर्स्थापित गर्न काम गरिरहेको बताएको छ । इन्डिगोले भनेको छ- ‘हामी स्वीकार गर्छौं कि विगत दुई दिनमा इन्डिगो नेटवर्क सञ्चालनमा गम्भीर असर परेको छ । यात्रुहरूलाई भएको असुविधाको लागि हामी माफी चाहन्छौं ।’ एयरलाइन्सले यो अवरोध प्राविधिक गडबडी, खराब मौसम, बढ्दो भीडभाड र डिजीसीए एफडिटिएल नियमहरूलाई भएको बताएको छ ।
१३- नेपाली कम्युनिष्ट पार्टीका नेता भिम रावलले सवारी साधनहरूमा इम्बोड्स नम्बर राख्ने सम्झौताको म्याद थप्ने निर्णय गर्न लागिएको भन्दै विरोध गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता रावलले सुशिला कार्की नेतृत्वको सरकारले इम्बोड्स नम्बर राख्ने सम्झौताको म्याद सकिएपछि पुनः म्याद थप्ने निर्णय गरेमा नेपालको राष्ट्रियता र जनतामाथिको घात ठहरिने चेतावनी दिएका हुन् ।
उनले भनेका छन्: सुशीला कार्की नेतृत्वको सरकारले अमेरिका र बंगलादेशको संयुक्त कम्पनी डेकाटोरसँग विगतमा भएको सवारी साधनहरूमा इम्बोड्स नम्बर राख्ने सम्झौताको म्याद सकिएपछि पुनः म्याद थप्ने निर्णय गरेमा नेपालको राष्ट्रियता र जनतामाथिको घात ठहरिनेछ। यस सम्झौताको जनताबाट चौतर्फी विरोध हुँदै आएको छ।
१४- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको ८ सयले घटेर तोलाको २ लाख ५३ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ५४ हजार १ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले घटेर ३६२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ३६५५ मा कारोबार भएको थियो ।
१५- नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने टिम छनौटका लागि २६ नेपाली महिला खेलाडीलाई क्लोज क्याम्पमा बोलाएको छ । क्यानले इन्दु बर्मा, राजमती ऐरी, सिता राना मगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिष्ट, रचना चौधरी, रुबी पोदार, पूजा महतो, कविता कुँवर, रुबिना क्षेत्री, साना प्रविन, अलिशा यादव, इश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, बिन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, सीमाना केसी, अनु कडायत, काजोल श्रेष्ठ, किरण कुँवर, अस्मिना कर्माचार्य र ममता चौधरीलाई क्लोज क्याम्पमा बोलाएको छ ।
नेपालमै जनवरी १२ देखि फेब्रुअरी २ सम्म आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देशले भाग लिदैछन् । १० मध्ये शिर्ष चार देश इङल्याण्डमा २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनौट हुने छन् । ग्लोबल क्वालिफायरआमा समुह ए मा आयरल्याण्ड, स्कटल्याण्ड, थाइल्याण्ड, अमेरिका र जिम्बाबे रहेका छन् भने समुह बी मा बंगलादेश, नामिबिया, नेपाल, नेदरल्याण्डसर पिएनजी रह्गेका छन् ।
१६- नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोडसेडिङ हटाएको जस लिएको भन्दै कुलमान घिसिङप्रति व्यंग्य गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एउटाको भएको र जस अर्कोले पाएको टिप्पणी गरेका हुन् । उनले लोडसेडिङ विरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस अर्कोले पाएको र दल तेस्रोले खोलेको भन्दै उज्यालो नेपाल पार्टीप्रति कटाक्ष गरेका छन् । उनले भनेका छन्- लोडसेडिङ विरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेश्रोले । जसको योजना उसैलाई श्रेयदिने कहिले ?
१७- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको दुई दिने भ्रमणका लागि आज भारत आउदैछन् । उनी डिसेम्बर ४ र ५ मा भारतको आधिकारिक भ्रमणमा हुनेछन् । यस भ्रमणको क्रममा पुटिन २३औं भारत-रूस वार्षिक शिखर सम्मेलनमा भाग लिनेछन् । रुसी राष्ट्रपति चार वर्षको अन्तराल पछि भारतको भ्रमणमा आउदैछन् । उनले अन्तिम पटक २०२१ मा भारत-रूस वार्षिक शिखर सम्मेलनमा भाग लिन भारतको भ्रमण गरेका थिए । यद्यपि, पुटिनको यो भारत भ्रमण अघिल्लो भ्रमण भन्दा बढी महत्त्वपूर्ण मानिएको छ ।
भारत र रूस बीच प्रत्येक वर्ष शिखर सम्मेलन वार्ताहरू हुन्छन् । अहिलेसम्म दुई देशहरू बीच २२ वटा वार्ता भइसकेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्ष जुलाईमा मस्कोको भ्रमण गरेका थिए । डिसेम्बर २०२१ मा पुटिनको भ्रमण केही घण्टा मात्र चलेको थियो । यद्यपि, यस पटक पुटिन दुई दिन भारतमा बस्नेछन् । डिसेम्बर ४ र ५ मा पुटिनको कार्यक्रमहरूको पूर्ण तालिका जारी गरिएको छ । राष्ट्रपति पुटिन डिसेम्बर ४ को साँझ नयाँ दिल्ली आइपुग्नेछन् । त्यसपछि उनले प्रधानमन्त्री मोदीसँग भेट गर्नेछन् । दुई नेताले द्विपक्षीय वार्ता गर्नेछन् । यसपछि, पुटिनले प्रधानमन्त्री मोदीको निमन्त्रणामा एक निजी रात्रिभोजमा भाग लिनेछन् ।
आफ्नो भारत भ्रमणको दोस्रो दिन, भ्लादिमिर पुटिनलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिनेछ । त्यसपछि पुटिन महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गर्न राजघाट जानेछन् । त्यसपछि उनी हैदराबाद हाउसमा द्विपक्षीय र प्रतिनिधिमण्डल-स्तरीय वार्तामा भाग लिनेछन् । केही प्रमुख उद्योगपतिहरू पनि प्रतिनिधिमण्डल बैठकमा भाग लिन सक्छन् । शुक्रबार, प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनले भारत-रूस व्यापार मञ्चमा भाग लिनेछन् । यसपछि, पुटिन राष्ट्रपति द्रौपदी मुर्मुको निमन्त्रणामा राष्ट्रपति भवनमा आयोजित भोजमा भाग लिनेछन् ।
यसपछि, राष्ट्रपति पुटिन मस्को प्रस्थान गर्नेछन् । चार वर्षपछि हुन लागेको यो भ्रमण मुख्यतया रूसी तेल, मिसाइल प्रणाली र लडाकु विमानहरूको बढ्दो बिक्रीको लागि भारतलाई तयार पार्ने उद्देश्यले गरिएको छ । यो विशेष गरी यस्तो समयमा सत्य हो, जब अमेरिकी दबाबले दुई देशहरू बीच ऊर्जा र रक्षा क्षेत्रमा सम्बन्ध तनावपूर्ण बनाएको छ । यस पटक, पुटिनको साथमा रूसी रक्षामन्त्री आन्द्रेई बेलोसोभ सहित उद्योग र व्यापार जगतको ठूलो प्रतिनिधिमण्डल आउनेछ । विज्ञहरूले यो भ्रमण विशेष भारत-रूस सम्बन्धलाई पुनर्जीवित गर्ने अवसर हो र यसले केही नयाँ रक्षा सम्झौताहरू पनि गर्ने अपेक्षा गरिएको छ ।
१८- चीनको अग्रणी निजी अन्तरिक्ष कम्पनी, ल्याण्डस्पेसले आफ्नो पहिलो पुन: प्रयोग गर्न मिल्ने रकेट, जेडक्यू-३ वाई १ प्रक्षेपण गरेको छ । रकेटले सफलतापूर्वक कक्षामा प्रवेश गरेपानी पहिलो चरणको बूस्टर अवतरणको क्रममा विस्फोट भएको थियो । यो चीनको पुन: प्रयोग गर्न मिल्ने रकेटलाई कक्षामा प्रक्षेपण गर्ने पहिलो प्रयास थियो । अमेरिका पृथ्वीमा कक्षीय-वर्ग बूस्टर सफलतापूर्वक फिर्ता गर्ने एक मात्र देश हो । एलन मस्कको कम्पनी, स्पेसएक्स, फाल्कन ९ रकेट प्रयोग गरेर बुस्टर पृथ्वीमा फिर्ता ल्याउने पहिलो कम्पनि हो ।
त्यस्तै जेफ बेजोसको कम्पनी, ब्लू ओरिजिनले पहिले नै त्यसो गरिसकेको छ । गत महिना, नयाँ ग्लेन रकेटले आफ्नो दोस्रो मिसनमा बूस्टरलाई सफलतापूर्वक पुन: प्राप्ति गर्यो र पुन: प्रयोग गरेको थियो । चीनको यस प्रक्षेपणको उदेश्य मिसन रकेटलाई कम-पृथ्वी कक्षामा लैजाने र पहिलो चरणलाई पृथ्वीमा फर्काउने थियो । यद्यपि, आगोको कारण यो असफल भयो । रकेट दिउँसो चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको थियो । रकेटले लिफ्टअफदेखि कक्षा सम्मको आफ्नो सम्पूर्ण यात्रा योजना अनुसार पूरा गर्यो । पहिलो चरणको फिर्तीको क्रममा, रकेटमा हावाको बीचमा आगो लाग्यो । यो रकेटको ताप ढाल वा प्यारासुट प्रणालीमा खराबीको कारणले भएको हुन सक्ने बताइएको छ ।
जेडक्यू-३ वाई १ मिथेन-संचालित इन्जिनद्वारा संचालित एक मध्यम-लिफ्ट पुन: प्रयोग गर्न मिल्ने रकेट हो । यो चिनियाँ निजी कम्पनी, ल्याण्डस्पेसद्वारा विकसित गरिएको थियो । रकेटको व्यास ४.५ मिटर र उचाइ ६६.१ मिटर छ । पूर्ण रूपमा इन्धन भर्दा, यसको तौल लगभग ५७० मेट्रिक टन हुन्छ । यसको लिफ्टअफ थ्रस्ट ७५० टन भन्दा बढी हुन्छ । यसले उपग्रहहरूलाई कम-पृथ्वी कक्षा वा सूर्य-सिंक्रोनस कक्षामा लैजान सक्छ । रकेटको प्रोपेलेन्ट ट्याङ्कहरू स्टेनलेस स्टीलबाट बनेका छन्, जुन बलियो छ, उच्च तापक्रम र क्षरण सहन सक्छ, र लागत कम छ। बूस्टरमा चार ग्रिड फिन र चार अवतरण खुट्टाहरू छन् ।
विज्ञहरूले सानो प्राविधिक समस्याले रकेट विफलता निम्त्याएको बताएका छन् । समस्या समाधान गर्न धेरै समय नलाग्ने बताउदै कम्पनीका प्रवक्ताले भने- ‘यो पहिलो परीक्षण थियो, डेटाले हामीलाई भविष्यका उडानहरूलाई बलियो बनाउन मद्दत गर्नेछ ।’ यो परीक्षण चीनको व्यावसायिक अन्तरिक्ष क्षेत्रमा एक ऐतिहासिक क्षण थियो, किनकि यो पहिलो पटक चिनियाँ निजी फर्मले कक्षीय परीक्षणसँगै पहिलो चरणको रिकभरी परीक्षण गरेको थियो । हाल, चीनसँग एकल-प्रयोग रकेटहरू छन्, तर पुन: प्रयोग गर्न मिल्ने रकेटहरूले लागत ३०-५० प्रतिशतले घटाउन सक्छन् । ल्याण्डस्पेस २०१५ मा स्थापित बेइजिङमा आधारित निजी अन्तरिक्ष फर्म हो । यसको संस्थापक र सीईओ, झाङ चाङवु, पुन: प्रयोग गर्न मिल्ने रकेट प्रविधिमा केन्द्रित छन् । २०२३ मा, ल्याण्डस्पेसले जेडक्यू-२ सँग विश्वको पहिलो मिथेन एलओएक्स रकेट कक्षीय प्रक्षेपण सुरु गरेको थियो । ल्याण्डस्पेसले २०२६ देखि चीनको तियाङगोङ अन्तरिक्ष स्टेशनमा अन्तरिक्षयान प्रक्षेपण मिसनहरू सञ्चालन गर्नेछ । कम्पनीले पुन: प्रयोग गर्न मिल्ने प्रविधि प्रमाणित र लागू गर्न जारी राख्नेछ । पुन: प्रयोग गर्न मिल्ने प्रविधि प्रयोग गरेर, चीनले उपग्रह नक्षत्रहरू, चन्द्रमा मिसनहरू र अन्तरिक्ष पर्यटनमा ध्यान केन्द्रित गर्नेछ ।
१९- दक्षिण अफ्रिकाले भारतविरुद्धको दोस्रो एकदिवसीय खेलमा शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रीकाले भारतलाई ४ विकेटले पराजित गरेको हो । भारतले दिएको ३५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ४९.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । दक्षिण अफ्रिकाको जितमा एडन मार्क्रमले शतकीय पारी खेल्दै ११० रन बनाएका थिए भने माथ्यु ब्रीटज्केले ६८, डेवाल्ड ब्रेभिसले ५४, कप्तान टेम्बा बभुमाले ४६, कोर्बिन बोचले २९ रन बनाएका थिए । त्यस्तै भारतीय बलर अर्शदीप सिंह र प्रसिद्ध कृष्णले २-२ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाउदै ३५८ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले १०२ र ऋतुराज गायकवाडले १०५ रनको शतकीय पारी खेलेका थिए भने कप्तान केएल राहुलले ६६ रन बनाएका थिए । यो एकदिवसीय क्रिकेट इतिहासमा दक्षिण अफ्रीकाले गरेको सबै भन्दा ठुलो तेस्रो रन चेज हो । दक्षिण अफ्रिकाले यसअघि २०१६ मा अस्ट्रेलियाविरुद्ध ३७२ रन चेज गरेको थियो भने २००६ मा अस्ट्रेलियाविरुद्ध ४३५ रन चेज गरेको थियो । यो जितपछि ३ खेलको सिरिजमा दक्षिण अफ्रिकाले १-१ को बराबरी गरेको छ । अब सिरिजको अन्तिम तथा निर्णायक खेल डिसेम्बर ६ मा विशाखापट्टनममा हुने छ ।
२०- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी पराजित भएको छ । गएराती सम्पन्न खेलमा चेल्सी लिड्स युनाइटेडसँग स्तब्ध भएको हो । लिड्सले चेल्सीलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो । लिड्सको जितमा जाका बिजोल, आओ टनाका र मोनिक कलभर्ट लेविनले एक एक गोल गरेका थिए । त्यस्तै चेल्सीका लागि एक गोल पेड्रो नेटोले गरेका थिए ।
त्यस्तै गएराती नै सम्पन्न अर्को खेलमा लिभरपुल सन्डरल्याण्डसँग १-१ गोलको बराबरीमा रोकिएको छ । त्यस्तै एस्टन भिल्लाले ब्राइटनलाई ४-३ गोल अन्तरले पराजित गरेको छ भने क्रिस्टल प्यालेसले बर्न्लीलाई १-० गोल अन्तरले पराजित गरेको छ । त्यसैगरी नोट्टीङघाम फोरेस्टले वोल्भ्सलाई १-० ले पराजित गरेको छ । हारपछि चेल्सीको १४ खेलमा २४ अंक रहेको छ र हाल लिगमा चौथो स्थानमा छ भने लिड्स युनाइटेडको १४ खेलमा १४ अंक भएको छ र १७औं स्थानमा उक्लिएको छ । त्यसैगरी लिभरपुलको १४ खेलमा २२ अंक रहेको छ र हाल लिगमा आठौँ स्थानमा रहेको छ ।
FACEBOOK COMMENTS