काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ । मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलमा लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछाएको विराटनगर किंग्स १४.१ ओभरमा अलआउट हुदै ७८ रन मात्र बनाएको थियो । विराटनगरका लागि फाफ डू प्लेसीसले सर्बाधिक ३६ रन बनाए भने मर्चेन्ट डि लांगेले १५ र बसिर अहमदले १२ रन बनाएका थिए ।
विराटनगरका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । त्यस्तै सुदूरपश्चिमका बलर अविनाश बोहोरा, स्कट कुग्लाइन र हरमित सिंहले २-२ विकेट लिए भने हेमन्त धामी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम रोयल्सले २० ओभरमा ७ विकेट गुमाउदै १५५ रन बनाएको थियो । सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्बाधिक ६३ रन बनाए भने शेल्डन ज्याक्सन र आरिफ सेखले २०-२० रन बनाएका थिए । त्यस्तै हरमित सिंहले १४, इशान पाण्डेले १३ र मुख्तर अहमदले १० रन बनाएका थिए ।
त्यस्तै विराटनगरका बलर मर्चेन्ट डि लांग र प्रतिस जिसीले २-२ विकेट लिएका थिए भने सुर्य तामाङ र साम हीजलेटले एक एक विकेट लिएका थिए । अब सुदूरपश्चिमले आगामी शनिबार हुने फाइनल खेलमा दोस्रो क्वालिफायरको विजेतासँग खेल्ने छन् । त्यस्तै यस खेलमा पराजित भएको विराटनगरले फाइनलमा पुग्ने एक अवसर पाउने छ । विराटनगरले अब लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाजबीचको इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्ने छ ।
२- नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग विशेष अदालतले पाँच लाख धरौटी माग गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भ्रष्टाचार मुद्दामा थुनछेक बहसपछि अधिकारीसँग धरौटी माग गर्ने आदेश गरेको हो । विशेष अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको इजलासले धरौटी रकम माग गरेको हो । अदालतले धरौटी माग गरे पनि अधिकारी थुनामै जाने छन् । यसअघि भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणको भ्रष्टाचार मुद्दामा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरिएको थियो । सोही आदेशको आधारमा उनी थुनामै रहने भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलमा भ्रष्टाचार भएको भन्दै उनीसहित ५५ जनाविरुद्ध गत आइतबार मुद्दा दायर गरेको थियो ।

३- नेपाली कांग्रेसमा फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार छनौटका लागि सिफारिसको प्रक्रिया शुरु भएको छ । यसैक्रममा प्रमुख नेताहरुलाई बिभिन्न जिल्लाबाट सिफारिस हुन शुरु भएको छ । महामन्त्री गगन थापाले आफु काठमाडौँको आफ्नो क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने बताइरहेका बेला उनलाई रोल्पा र धनकुटाबाट सिफारिस गरिएको छ । रोल्पाबाट गगन थापासहित लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, मनोजमणि आचार्य, मन्दीप सुवेदी र ज्ञानबहादुर वलीको नाम सिफारिस भएको छ ।

त्यस्तै धनकुटाबाट पनि गगनको उम्मेदवारी सिफारिस भएको छ । धनकुटाबाट गगन थापासहित जिल्ला सभापति दिनेश राई, पूर्वजिल्ला सभापति मननारायण श्रेष्ठ, पूर्वजिल्ला सभापति हरिकुमार राईको नाम सिफारिस भएको हो । त्यस्तै काँग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई झापा-१ बाट एकल सिफारिस गरिएको छ । त्यसैगरी काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सुर्खेत-१ बाट एकल सिफारिस गरिएको छ । त्यसैगरी काँग्रेस नेता डा. शेखर कोइरालाको नाम मोरङ- ६ बाट एकल उम्मेदवारको रुपमा सिफारिस गरिएको छ भने काँग्रेस नेतृ डा. आरजु राणा देउवाको नाम कैलाली- ५ बाट सिफारिस गरिएको छ । कैलाली ५ बाट आरजसहित सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाह, डिल्लीराज पन्त, नृपबहादुर वडको नाम सिफारिस भएको हो ।

४- टिओबी समुहका तेञ्जिङ दावा लामा धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले मंगलबार उनलाई ५ लाख २० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो । जेनजी प्रदर्शनमा ‘टिओबी’को टिसर्ट लगाएर आतंक मच्चाउने समूहका कमाण्डर रहेका लामाविरुद्ध नागरिकता, राहदानी, लिखतसम्बन्धी कसूर र लागुऔषध कसूरमा मुद्दा दर्ता गरिएको थियो । तिब्बतीयन मूलका तेन्जिङले अनुसन्धानको क्रममा नक्कली नेपाली नागरिकता, पासपोर्ट, जन्मदर्तालगायत अन्य कागजात बनाएको पाइएको थियो ।

५- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलबार भएको भेटमा नेपाल–भारत ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रका सहकार्य, विद्युत व्यापार तथा प्रसारण लाइन विस्तार, भारतीय सरकारी कम्पनीहरुको लगानीमा निर्माणाधीन आयोजनाको प्रगतिलगायतका विषयमा छलफल भएको थियो ।

ऊर्जा तथा जलस्रोत क्षेत्रका द्धिपक्षीय संयन्त्रको बैठक आयोजना गर्ने, महाकाली सिँचाइ (तेस्रो चरण)को नहरबाट शुख्खायामा नेपालतर्फ पानी पठाउने, भारतीय सरकारी कम्पनीबाट निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो तथा ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजनाको वन क्षेत्रको जग्गा प्रयोगमा देखिएको समस्या, नेपालबाट भारततर्फ थप विद्युत् निर्यातको स्वीकृति, हिउँदयामका महिनामा विद्युत आयातलगायतका विषयमा भेटमा छलफल भएको थियो ।मन्त्री घिसिङले हिउँदयामका केही महिनामा नेपालमा आवश्यक पर्ने निश्चित परिमाणको विद्युत आयात गर्न पुसको दोस्रो हप्ताभित्रसम्मका लागि मात्र स्वीकृति पाएकाले त्यसपछि केही महिनामा पनि २४सै घण्टा आयात गर्न पाउने व्यवस्था गरिदिन आग्रह गरे ।
भारतको प्रतिश्पर्धी डे अहेड र वास्तविक समय (रियल टाइम) मार्केटमा विद्युत निर्यात गर्दा हरेक वर्ष स्वीकृति लिनुपर्ने प्रक्रियालाई एक पटक स्वीकृति लिएपछि पुनः लिनु नपर्ने व्यवस्था गरिदिन र भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशतर्फ थप २० मेगावाट विद्युत पठाउन सकिने देखिएकाले त्यसका लागि आवश्यक सहमति उपलब्ध गराइदिन घिसिङले आग्रह गरे । तल्लो अरुण र अरुण तेस्रोमा वन क्षेत्रको जग्गा प्रयोगमा देखिएको समस्या समाधानका लागि मन्त्रालय र लगानी बोर्डकातर्फबाट आवश्यक समन्वय र सहजीकरण भइरहेको उल्लेख गर्दै उहाँले प्रसारण लाइन निर्माणका लागि भारतको निर्यात–आयात (एक्जिम) बैंकको लाइन अफ क्रेडिटबाट थप सहायता उपलब्ध गराउन आग्रह गरेका थिए ।
अतिरिक्त सचिव मुनु महावरले भारतका कम्पनीले नेपालमा निर्माण गरिरहेका जलविद्युत आयोजनाले बेहोरिरहेका समस्या समाधानका लागि आवश्यक सहयोग गरिदिन अनुरोध गरे । उनले भारत–नेपालबीचको विद्युत व्यापार र प्रसारण पूर्वाधार विस्तार क्रमिक रुपमा नयाँ चरणमा प्रवेश गरेर ठूलो सफलता हासिल भइरहको बताए ।
६- प्रधानमन्त्री सुशिला कार्कीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राखेका थिए । जेनजी आन्दोलनलाई वैधता दिने गरी सम्झौताको प्रक्रिया चाँडो टुंग्याउनुपर्ने र राष्ट्रपतिसमक्ष हस्ताक्षर गर्नुपर्ने उनको भनाइ थियो। यस्तै उनले आन्दोलनमा गएकै कारण कतिपय युवालाई प्रहरीले धरपकड गरेको, धरौटी तिर्ने रकम नभएर पनि पुर्पक्षका लागि थुनामा जानुपरेको गुनासो गरेका थिए ।
७- नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी पुरुष यू–१९ एशिया कप खेल्ने टिमको घोषणा गरेको छ । क्यानले अशोक धामीको कप्तानीमा १५ सदस्यीय यू-१९ टिमको घोषणा गरेको हो । एशिया कप खेल्ने नेपाली टिममा अशोक धामी (कप्तान), निरज यादव (उपकप्तान), निश्चल क्षेत्री, किब्रिन श्रेष्ठ, दयानन्द मण्डल, दिलसाद अली, नितेश पटेल, चन्दन राम, भान्स क्षेत्री, अभिषेक तिवारी, सहिल पटेल, आशिष लहार, विपिन शर्मा, रोशन विक र युवराज खत्री रहेका छन् ।
एकदिवसीय फर्म्याटमा हुने एसीसी यू-१९ एशिया कपमा आइसीसीका पुर्णकालिन सदस्य देश अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका सिधै छनौट भएका छन् भने प्रिमियर कपबाट नेपाल र युएई छनौट भएका छन् । नेपाल समुह बी मा अफगानिस्तान, बंगलादेश र श्रीलंकासँग रहेको छ । नेपालले डिसेम्बर १३ मा पहिलो खेल श्रीलंकासँग खेल्ने छ भने डिसेम्बर १५ मा दोस्रो खेल बंगलादेशसँग र डिसेम्बर १७ मा तेस्रो खेल अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ ।
८- इन्डोनेसियाको राजधानी जकार्तामा सात तले भवनमा भिषण आगलागी भएको छ । स्थानीय च्यानल कोम्पास टिभीका अनुसार, घटनामा अहिलेसम्म २० जनाको मृत्यु भएको पुष्टि भएको छ । जसमध्ये पाँच पुरुष र १५ महिला छन्, जसमध्ये केहीको निसास्सिएर मृत्यु भएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार, केही मानिसहरू अझै पनि भवन भित्र फसेका छन् र उनीहरूलाई उद्धार गर्ने प्रयास भइरहेको छ । आगलागी भएको भवन खानी र कृषिका लागि ड्रोन सर्वेक्षण सेवा प्रदान गर्ने कम्पनी टेरा ड्रोन इन्डोनेसियाको कार्यालय भएको बताइएको छ ।
९- नेप्सेमा आज सामान्य वृद्धि भएको छ । मंगलबार नेप्से ७.३९ अंकले बढेर २६१४.०७ विन्दुमा पुगेर रोकिएको छ । आज ३३१ कम्पनिका ८७ लाख ४२ हजार ८४ कित्ता शेयर ३ अर्ब ७५ करोड ५० लाख २७ हजार ७९५ मा कारोबार भएको थियो । आज बैंकिङ, माइक्रो फाइनान्स, निर्जीव बीमा र ट्रेडिङबाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज स्वस्तिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने श्रीनगर एग्रोको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी हिमस्टार उर्जाको शेयर ३.८८ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एनगाडी ग्रुप पावरको ३१ करोड ९२ लाख कारोबार भएको छ भने लक्ष्मी सनराइज बैंकको ११ करोड १४ लाखको कारोबार भएको छ ।
१०- खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङ्गका तत्कालीन कार्यालय प्रमुख भोला प्रसाद थापासमेत ६ जना र जय काली ड्रिलिङ्ग्स कन्स्ट्रक्सन एण्ड सप्लायर्सविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ । मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डीप ट्युब वेलको ठेक्कामा ११ लाख ११ हजार ५४४ अनियमितता गरेको भन्दै तत्कालीन कार्यालय प्रमुख भोला प्रसाद थापा, तत्कालीन ईन्जिनियर बसन्त कुमार दुलाल, तत्कालीन अधिकृत छैटौ माधव प्रसाद तिमिल्सेना, तत्कालीन सवइन्जिनियर नुतन आचार्य र तत्कालीन लेखापाल मनोज विष्ट तथा जय काली ड्रिलिङ्ग्स कन्स्ट्रक्सन एण्ड सप्लायर्स र सोका प्रवन्ध निर्देशक शेखर शर्माविरुद्ध मुधा दायर गरेको जनाएको छ । अख्तियारले जनही ११ लाख ११ हजार ५४४ बिगो माग गर्दै कानुन अनुसार सजायको माग गरेर विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ ।
११- प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलबार सिंहदरबारमा भएको भेटवार्ताको अवसरमा उनको साथमा उपसचिव सकेता राजा मुसिनीपाल्ली, नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवलगायत सहभागी थिए ।
भेटवार्तामा महावरले आसन्न प्रतिनिधिसभा निर्वाचनमा भारत सरकारबाट हुने सहयोगको प्रतिबद्धता व्यक्त गरेको थिए । जेनजी आन्दोलनपछि सरकार फेरिएसँगै भारतीय विदेश मन्त्रालयबाट भएको यो उच्चस्तरीय भ्रमण हो । अतिरिक्त सचिव महावर भारतीय विदेश मन्त्रालयका नेपाल र भुटान मामिला हेर्ने विभागका प्रमुख हुन् । उनी बुधबार स्वदेश फर्किदैछन् ।
१२- भारतको ओडिशा मलकानगिरी जिल्लामा दुई समुदायबीच भएको हिंसाका कारण तनाव भएको छ । दुई आदिबासी समुहबीच झडप भएपछि मंगलबार साँझ ६ बजेसम्म इन्टरनेट सेवा बन्द गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । प्रहरीका अनुसार महिलाको विकृत शव फेला परेपछि दुई गाउँबीच तनाव उत्पन्न भएको थियो । हाल एमभी-२६ र राखेलगुडा गाउँबीच तनाव कायमै छ । राखेलगुडा गाउँकी एक महिला गत हप्ता बेपत्ता भएकी थिइन् ।
डिसेम्बर ४ मा उनको शव नजिकैको नदीको किनारमा फेला परेको थियो । प्रहरी अनुसन्धान टोली र कुकुर टोलीले महिलाको शवको अन्य भागहरू खोजिरहेका छन् । प्रहरीले महिलाको हत्या घटनामा एक अभियुक्तलाई पक्राउ गरेको छ । स्थानीयहरूले परम्परागत हतियारसहित धेरै ठाउँमा विरोध प्रदर्शन गरेका थिए भने प्रदर्शनकारीहरूले केही घरहरूमा तोडफोड र आगजनी गरेका थिए । ओडिशा गृह विभागद्वारा जारी आदेशमा असामाजिक तत्वहरूले परिस्थितिको फाइदा उठाउन र गलत सूचना फैलाउनबाट रोक्न इन्टरनेट सेवाहरू निलम्बन गरिएको जनाएको छ ।
१३- नेपाली सेना र भारतीय सेनाका फौज सहभागी भई मङ्सिर ९ गतेदेखि भारतको पिथौरागढमा सञ्चालित संयुक्त सैनिक अभ्यास ‘सुर्य किरण’ को १९औँ संस्करण सोमबार सम्पन्न भएको छ । नेपाली सेनाका अनुसार यो अभ्यास सुर्य किरण २०६७ सालदेखि नेपाल र भारतमा आलोपालो सञ्चालन हुँदै आएको छ । विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतङ्कवाद, जङ्गल युद्धकला र मानवीय सहयोग लगायतका विषयहरू समावेश गरी सञ्चालन भएको अभ्यास निरीक्षणको लागि नेपाली सेनाको तर्फबाट अब्जर्भर डेलिगेसन टिमको नेतृत्व गरी उपरथी अनुप जङ्ग थापा सहभागी भएका थिए ।
नेपाली सेनाले विविध विषयहरूमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिका, बेलायत, चीन, पाकिस्तान, भारत लगायतका मित्रराष्ट्रहरूका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं पेसागत प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आइरहेको छ । यस किसिमका संयुक्त सैनिक अभ्यासले मित्रराष्ट्रहरू बिच मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै सकलदर्जामा पेसागत सिपको विकास तथा आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।
१४- एसवाई प्यानल नेपाल लिमिटेडको शेयर नेप्सेमा सुचिकृत भएको छ । एसवाइ प्यानल नेपालका एक करोड ३० लाख ८१ हजार ३७१ इकाई आइपिओ शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । यसमा प्रमोटरहरूले राखेका शेयरहरू र सर्वसाधारणलाई जारी गरिएको सेयर समावेश रहेको छ । एसवाइ प्यानलको पहिलो कारोबारको लागि खुला दायरा १०६.६१ देखि ३१९.८३ सम्म रहेको छ । यदि कम्पनीले नेप्सेसँग सम्झौतामा हस्ताक्षर गरेमा, शेयरहरू भोलिपल्ट दोस्रो बजारमा कारोबार हुनेछन् । कुल एक करोड ३० लाख ८१ हजार ३७१ इकाई शेयरहरू मध्ये. १०० रुपैयाँको ४० लाख ७६ हजार १५६ इकाई आइपीओ शेयरहरू १९ कार्तिक, २०८२ देखि २३ कार्तिक, २०८२ सम्म सर्वसाधारणलाई जारी गरिएको थियो । नेप्सेमा सुचिकृत शेयर ‘SYPNL’ नामबाट कारोबार हुने भएका छन् ।
१५- प्रधानमन्त्री सुशिला कार्कीले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि नहट्ने बताएकी छन् । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका स्थापित संयन्त्र क्रियाशील रहेको बताउदै जेनजीका माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्ला तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि नहट्ने बताएकी हुन् । उनले भनेकी छन्- ‘यो सरकार चुनावी सरकार मात्र होइन। सुशासनको माग राखी भएको जेन्जी आन्दोलनको जगमा बनेको सरकार हो।
सरकारले नियमित कार्य सँगसँगै सुशासनका निमित्त तीब्र गतिमा काम गरिरहेको छ । जेनजीका माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्ला तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन। यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेका छन् ।’ प्रधानमन्त्री कार्कीले भ्रष्टाचारविरुद्ध चालिएका कदमबाट अत्तालिएर कतिपय तत्त्वले प्रत्यक्ष वा परोक्षरुपमा धम्क्याए पनि आफुहरु नडराउने बताउदै सम्बन्धित निकायका पदाधिकारी र राष्ट्र सेवकहरुलाई पनि कत्ति पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न आग्रह गरेकी छन् ।
१६- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरावाट अन्तिम पटक चुनाव लड्ने इच्छा व्यक्त गरेका छन् । नेविसंघका केन्द्रीय सदस्य भुवन भट्टले देउवासँगको भेटको तस्बीर सार्बजनिक गर्दै भेटमा सभापति देउवाले डडेल्धुरावाट अन्तिम पटक चुनाव लड्ने इच्छा व्यक्त गरेको उल्लेख गरेका हुन् । भेटमा देउवाले युवाहरुको पार्टी र आम निर्वाचनमा अर्थपुर्ण प्रतिनिधित्व गराउने विषयमा आफ्नो साथ रहने र पार्टीमा नवयुवाहरुको आकर्षण बढाउनु आवश्यक भएको बताएको भट्टले बताएका छन् ।
उनले भनेका छन्- ‘नेपाली काँग्रेसका सभापति, पुर्वप्रधानमन्त्री शेर वहादुर देउवाज्युसँग भेटघाट । आसन्न निर्वाचन र पार्टि महाधिवेशन वारे कुराकानी भयो । उहाँले डडेल्धुरावाट अन्तिम पटक चुनाव लड्ने इच्छा रहेको वताउनु भयो । साथै उहाँले युवाहरुको पार्टि र आम निर्वाचनमा अर्थपुर्ण प्रतिनिधित्व गराउने विषयमा आफ्नो साथ रहने र पार्टीमा नवयुवाहरुको आकर्षण बढाउनु आवश्यक भएको समेत भेटघाटमा बताउनुभयो ।’
१७- थाइल्याण्ड र कम्बोडियाबीच सोमबार र मंगलबार रातभरि झडप जारी रहेको छ । कम्बोडियाली रक्षा मन्त्रालयका अनुसार, सोमबार र मंगलबार मध्यरातपछि थाई सेनाले सीमा नजिकै रहेको बान्टेय मिन्चे प्रान्तमा गोली चलाएको थियो । कम्बोडियाली रक्षा मन्त्रालयले घटनामा राष्ट्रिय राजमार्गमा यात्रा गरिरहेका दुई नागरिकको मृत्यु भएको बताएको छ । दुई देशबीचको पछिल्लो द्वन्द्वमा मृत्यु हुनेको कुल संख्या छ पुगेको छ । यसअघि सोमबार थाइल्याण्डले आफ्ना एक सैनिकको मृत्यु भएको बताएको थियो ।
पछिल्लो द्वन्द्वको लागि दुवै देशले एकअर्कालाई दोष लगाइरहेका छन् । जुलाईमा युद्धविराम भएयता दुई देशबीचको यो सबैभन्दा गम्भीर द्वन्द्व हो । जुलाईमा दुई देशहरू बीच तनाव उत्पन्न भएको थियो, जसमा पाँच दिनको द्वन्द्व भयो । मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिम र ट्रम्पले मध्यस्थता गरेपछि युद्धविराम भएको थियो । अक्टोबरमा, दुई देशहरूले क्वालालम्पुरमा विस्तारित शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । जुलाईको द्वन्द्वमा ४८ जनाको मृत्यु भयो र लगभग ३ लाख अस्थायी रूपमा विस्थापित भएका थिए ।
१८- नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको एक हजारले घटेर तोलाको २ लाख ५१ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ५२ हजार ९ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर ३६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार चाँदी तोलाको ३५८५ मा कारोबार भएको थियो । थाईल्याण्ड र कम्बोडिया बीचको ८१७ किलोमिटर लामो भूमि सीमा एक शताब्दी भन्दा बढी समयदेखि विवादको रूपमा रहेको छ । यस सीमाका केही भागहरूमा सार्वभौमिकता विवादित छ । यो सीमा पहिलो पटक १९०७ मा फ्रान्सले नक्साङ्कन गरेको थियो, जब यसले कम्बोडियामा शासन गर्थ्यो । त्यसबेलादेखि तनाव धेरै पटक भड्किएको छ । २०११ मा एक हप्ता लामो बन्दुक युद्ध भयो । यद्यपि, दुवै देशहरूले शान्तिपूर्ण रूपमा विवाद समाधान गर्ने प्रयास गरिरहेका छन् ।
१९- युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले लन्डनमा बेलायती प्रधानमन्त्री केयर स्टारमर, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मन चान्सलर फ्रेडरिक मेर्ट्जसँग भेटवार्ता गरेका छन् । बैठकमा गत हप्ता युक्रेनी र अमेरिकी अधिकारीहरूले तयार पारेको नयाँ शान्ति प्रस्तावको बारेमा छलफल गरिएको बताइएको छ । युरोपेली नेताहरूले युक्रेनलाई समर्थन बढाउने र युद्ध अन्त्य गर्ने दिशामा कदम चाल्न रूसलाई दबाब दिने यो महत्वपूर्ण समय भएको निष्कर्ष निकालेका छन् ।
अमेरिकाले रूससँग द्रुत सम्झौतामा पुग्न युक्रेनमाथि दबाब बढाएको अवस्थामा युरोपेली नेताहरूले युक्रेनको सुरक्षा सुनिश्चित गर्न थप काम आवश्यक रहेकोमा जोड दिएका छन् । यसैबीच, जेलेन्स्कीले युक्रेनले अमेरिकासँग यो संशोधित शान्ति प्रस्ताव साझा गर्ने बताए । जेलेन्स्की अहिले नाटोका अधिकारीहरूसँग भेट्न ब्रसेल्समा छन् । गत हप्ता, फ्लोरिडामा युक्रेनी अधिकारीहरू र अमेरिकी वार्ता टोलीबीच तीन दिनको वार्ता भएको थियो, जसको क्रममा युक्रेनी अधिकारीहरूले अमेरिका समर्थित शान्ति प्रस्तावमा परिवर्तनहरूमा जोड दिएका थिए। यो प्रस्तावलाई व्यापक रूपमा रूसको पक्षमा मानिएको थियो ।
२०- सरकारले उखुको समर्थन मूल्य ६२० रूपैयाँ कायम गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उखुको समर्थन मूल्य तोकेको हो । अघिल्लो बर्ष सरकारले प्रतिक्विन्टल ६५५ रुपियाँ निर्धारण गरेको थियो । यसबर्ष सरकारले प्रतिक्विन्टल ३५ रुपैयाँ घटाएको छ । सरकारले उखुको समर्थन मुल्य २०८०-८१ मा ६३५, २०७९-८० मा ६१०, २०७८-७९ मा ५९० तोकेको थियो । कृषि मन्त्रालयका अनुसार हाल देशका आठ जिल्लामा ६१ हजार हेक्टर क्षेत्रफलमा वार्षिक ३२ लाख १७६ मेट्रिक टन उखु उत्पादन हुने गरेको छ । त्यस्तै सरकारले उखु किसानलाई दिने अनुदान रकम ७० कायम गरिएको छ । अघिल्लो बर्षपनि अनुदान रकम यति नै रहेको थियो ।
FACEBOOK COMMENTS