काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- जेनजी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ । उक्त समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रतिवेदन सारांशको प्रस्तुतीकरण पनि गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा गत असोज ५ गते यो समिति गठन भएको थियो। समितिले ७५ दिनमा आफ्नो प्रतिवेदन बुझाएको हो ।
समितिका अनुसार जेनजी आन्दोलनका क्रममा सातै प्रदेशमा क्षति भएको थियो। यस्तो क्षति हुने जिल्ला ५४ र स्थानीय तह २६२ रहेका छन् । प्रतिवेदनअनुसार भदौ २३ गते २० जना, २४ गते ३७ जना र त्यसपछि २० जना गरी कुल ७७ जनाको ज्यान गएको छ । २ हजार ४२९ जना घाइते भएकामा १७ जना १३ वर्षमुनिका छन्। १३ देखि २८ वर्षका १४३३ जना घाइते भएको प्रतिवेदनमा उल्लेख छ । समग्र भौतिक क्षति हेर्दा ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भएको समितिको मूल्यांकन छ।
जसमध्ये प्रभावित निकाय/संस्था २१६८ छन्। २६७१ भवनहरुमा क्षति पुगेको छ। जसमा क्षतिको मूल्यांकन ३९ अर्ब ३१ करोड ७५ लाख रुपैयाँ बराबर रहेको छ । १२ हजार ६५९ वटा सवारी साधन क्षतिग्रस्त हुँदा १२ अर्ब ९३ लाख ६१ हजार रुपैयाँबराबरको नोक्सान हुन पुगेको छ । सरकारी/सार्वजनिक क्षेत्रको ४४ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । निजी क्षेत्रको क्षतिको मूल्यांकन ३३ अर्ब ५४ करोड ८७ लाख रुपैयाँ बराबर छ । त्यस्तै सामुदायिक तथा अन्य क्षेत्रको ५ अर्ब ९७ करोड १७ लाख रुपैयाँ बराबरको क्षति भएको छ । सरकारी क्षतिमा तीन तहमध्ये संघीय सरकारको ६८ प्रतिशत छ भने प्रदेश र स्थानीय तहको क्रमशः १० र २२ प्रतिशत छ । समितिले पुनर्निर्माण कार्ययोजना पनि पेस गरेको छ। पुनर्निर्माण गर्न ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ बराबरको बजेट आवश्यक पर्ने अनुमान गरिएको छ ।
२- सरकारले प्रधानमन्त्री सुशीला कार्की र जेनजी प्रतिनिधिबीच भएको सम्झौताबमोजिम जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

मन्त्री खरेलले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत नेपाल न्याय सेवा कानुन समूह राजपत्रांकित प्रथम श्रेणीका सहसचिव पुष्कर सापकोटालाई निजामती सेवा ऐन, २०४९ को दफा ९ को उपदफा १ बमोजिम नेपाल न्याय सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढुवा नियुक्ति गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ । त्यस्तै मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्की र जेनजी प्रतिनिधिबीच बुधबार भएको सम्झौता अनुमोदन गर्ने निर्णय गर्दै अतिरिक्तांक गरी नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको उनले जानकारी दिएका छन् ।

३- भारतको सबैभन्दा ठूलो घरेलु एयरलाइन्स इन्डिगोले सामान्य सञ्चालनमा फर्कने घोषणा गर्दै अन्य धेरै घोषणाहरू गरेको छ । इन्डिगोले बिहीबार हालैका उडान अवरोधहरू पछि, यसले संकटबाट ‘गम्भीर रूपमा प्रभावित’ ग्राहकहरूलाई १० हजार बराबरको यात्रा भौचर प्रदान गर्ने घोषणा गरेको छ । यसका साथै, प्रस्थानको २४ घण्टा भित्र उडानहरू रद्द गरिएका यात्रुहरूले ५ हजारदेखि १० हजार सम्मको क्षतिपूर्ति प्राप्त गर्नेछन् ।

यी क्षतिपुर्ति भौचरको रुपमा दिने इन्डिगोले जनाएको छ । यात्रुहरूले आगामी १२ महिना भित्र भविष्यमा हुने कुनै पनि इन्डिगो उडानको लागि यी यात्रा भौचरहरू प्रयोग गर्न सक्ने बताएको छ । विज्ञप्ति अनुसार, सरकारी निर्देशिका अनुसार यो अनिवार्य क्षतिपूर्ति उडानको ब्लक समयमा निर्भर हुनेछ । एयरलाइन्सले रद्द गरिएका उडानहरूको रकम फिर्ताको सबै प्रक्रिया गरिएको बताएको छ । यी मध्ये धेरैजसो रकम ग्राहकको खातामा जम्मा गरिएको छ, र बाँकी चाँडै वितरण गरिने इन्डिगोले जनाएको छ ।

४- भिजिट भिसा तस्करी प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सहसचिव तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विहिबार आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराईसहित ७ जना र दुई कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो ।

अख्तियारले भट्टराईविरुद्ध ७९ लाख ८० हजार माग गरेको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन अध्यागमन अधिकृत यज्ञ राज अर्यालसँग ८ लाख, ग्रिनलाइन होलिडेज र उक्त कम्पनिका अध्यक्ष बाल कृष्ण खड्कासँग ३० लाख २० हजार, फेमली होलिडेज ट्राभल्स एण्ड टुर्स र उक्त कम्पनीका संस्थापक शेयर सदस्य एवं सञ्चालक दिपक भण्डारीसँग १० लाख ६० हजार, ग्रिनलाइन होलिडेजका तत्कालीन संस्थापक शेयर सदस्य एवं सञ्चालक राम खड्कासँग ३० लाख २० हजार, कविता पौडलसँग ७९ लाख ८० हजार, खेम प्रसाद सुवेदीसँग ७९ लाख ८० हजार बिगो माग गरेको जनाएको छ । त्यस्तै अख्तियारले तिर्थराज भट्टराई, कविता पौडेल र खेम प्रसाद सुवेदीलाई १० करोड ३ लाख ८९ हजार ६०० बराबरको थप बिगो माग गर्दै सम्पत्ति शुद्दिकरणको मुद्धा समेत दायर गरेको छ । भिजिट भिसामा दुबईलगायत मुलुक जानेबाट रकम असुल्ने गरेको आरोपमा उजुरी परेपछि उनी सहसचिव भट्टराई अनुसन्धानमा तानिएका थिए ।
५- राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । विहिबार राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै समारोहमा उज्वेकिस्तान, रोमानिया, ताजकिस्तान, आइसल्याण्ड र क्यूबाका राजदुतले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो ।
६- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष जय मातृभूमि पार्टीको एक प्रतिनिधिमण्डलले भेट गरी आज ज्ञापनपत्र बुझाएको छ । उक्त पार्टीले केवल चुनावको तयारीमा मात्र नलागी सरकारले सुशासनको मूल कार्यादेशमा केन्द्रित हुनुपर्ने धारणा राखेको छ । प्रतिनिधिमण्डलमा पार्टीका वरिष्ठ नेता क्याप्टेन केबी लिम्बू, सहअध्यक्ष रामशरण पाण्डे, महासचिव गोविन्द गिरीलगायत रहेका थिए । पार्टीले निर्वाचनको वातावरण बनाउन जेनजी आन्दोलनका दमनकारी र भ्रष्टाचारीमाथि शीघ्र कारबाही हुनुपर्ने माग पनि राखेको छ । यो सरकारको मूल मुद्दा नै भ्रष्टाचारविरुद्धको कारबाही रहेकाले यसैमा केन्द्रित रहेर आफ्ना काम-कारबाही अघि बढाउनुपर्ने यस पार्टीको माग छ ।
उक्त कार्यक्रममा प्रधानमन्त्री कार्कीले उक्त दललाई आफ्ना एजेन्डा लिएर चुनावमा जान सुझाव दिएकि थिइन् । भ्रष्टाचारविरुद्धको कारबाहीलाई पनि सँगसँगै अघि बढाइरहेको उनको भनाइ थियो । यहाँ राजनीति गर्नेहरुले केवल भाषण गरेर विचार मात्रै पोख्ने गरेकाले अब मुलुकमा उत्पादनलाई केन्द्रमा राखेर काम गर्ने पार्टीको आवश्यकता रहेको पनि उनले बताएकी थिइन् । ‘खाली विचार मात्र पोख्ने दल धेरै भए। काम र रोजगारीमा केन्द्रित रहेर काम गर्ने भएनन् ।
यही कारण मुलुकको आर्थिक अवस्था कमजोर भयो । रोजगारीका अवसर मुलुकमा भएनन् । विदेश पलायन हुनुपर्ने बाध्यता बन्यो’ उनले भनिन्, ‘यसको परिणाम के भयो भन्दा युवामा वितृष्णा बढ्यो। आन्दोलन भयो। अब यस्तो आन्दोलन हुनु नपर्ने गरी काम गरौँ।’ उनले भनिन्- ‘नेताहरु भाषण मात्रै गर्ने भए। भाषणले त रासन दिँदैन नि। त्यसैले तपाईँहरु पनि चुनावमा जानुहोस्। राम्रो काम गर्ने र देशको आर्थिक समृद्धि तथा सुशासनका निम्ति प्रतिबद्ध सांसद जिताएर संसदमा पठाउनुहोस्। एकएक जनाको राम्रो प्रयासले नै मुलुक सुशासनयुक्त र समृद्ध हुने हो ।’
७- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक व्यवस्था र प्रणालीसमेतका विषयमा नेपाल सरकार र जेनजीका प्रतिनिधिका नाममा बुधबार भएको सम्झौतालाई कलाबिहीन नाटकको संज्ञा दिएका छन् । प्रेस चौतारी नेपालद्वारा आज आयोजित संवाद कार्यक्रममा अध्यक्ष ओलीले अहिलेको सरकारले यस प्रकारको सम्झौता गर्ने म्याण्डेट कहाँबाट पायो भन्ने प्रश्न गर्दै वर्तमान सरकार नागपञ्चमीमा घरमा कसैले गोबर लगाएर टाँसिदिएको नाग जस्तै भएको टिपणी पनि गरे ।
‘विघटित संसद्लाई जनसमर्थन गुमाएको संसद भनेर सम्झौतामा भनिएको छ । त्यो यथार्थ होइन । असान्दर्भिक र अराष्ट्रिय भावना बोकेकाहरुले परिस्थितिलाई विध्वंशका माध्यमबाट आफ्नो कब्जामा लिन खोजेका मात्रै हुन् । त्यसकारण यो सरकारलाई यस प्रकारको सम्झौता गर्ने जनादेश छैन ।’, उनले भने, ‘यो देशमा एमाले र नेपाली काँग्रेसजस्ता पुराना र ठुला राजनीतिक दलहरु सक्रिय छन् र आगामी फागुन २१ गते पछि पनि नेपालको समय छ भन्ने सरकारले बुझ्नुपर्छ । त्यस कुरालाई हेक्का राखेर काम गर्न म आग्रह गर्दछु ।’
पार्टीको आशन्न ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनको प्रश्नमा उहाँले सहमति भएमा वा प्रतिनिधिहरुले चुनेमा आफू पार्टीको अध्यक्षमा पुनः रहन सक्ने बताए । महाधिवेशनले यथास्थितिमा केही न केही परिवर्तन दिने र नेतृत्वमा क्रमशः पुस्तान्तरण तथा हस्तान्तरण हुने विश्वास व्यक्त गर्दै उनले कुनै पूर्व शर्त राखेर आफूले कुनै दबाबमा काम नगर्ने स्पष्ट गर्दै बाहिर बाहिर प्रस्ताव दिनुभन्दा पार्टीभित्र बसेर सहमतिको पहल गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेताहरुलाई आग्रह गरे ।
पूर्व प्रधानमन्त्री ओलीले एमाले लामो इतिहास भएको र जनतामा भिजेको पार्टी भएकाले यसले कुनै स्टन्टका लागि काम नगरी देश बनाउने मार्गमा आफूलाई सक्रिय बनाइरहेको बताउँदै उनले एमालेलाई सिध्यायौँ भन्नेहरुले एमाले हैसियत हेर्न मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा हुने महाधिवेशनको उद्घाटनसत्रमा आउन आग्रह गरे । अर्को प्रश्नको जवाफमा उनले संसद पुनःस्थापनालगायत राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटमा संवाद भएको र त्यसको परिणाम क्रमशः आउने जानकारी दिए ।
उनले अदालतको फैसलाहरुलाई चित्त नबुझे पनि मान्दै आएको सन्दर्भ उल्लेख गर्दै आफूहरुको मागबमोजिमको आदेश नआए पनि एमालेले हिंसात्मक आन्दोलन नगर्ने स्पष्ट गरे । देश र प्रणालीलाई नै बचाउनुपर्ने स्थिति आएमा शान्तिपूर्ण आन्दोलनमा उत्रने चेतावनी उनले दिए । अध्यक्ष ओलीले भदौ २३ र २४ गतेको आन्दोलनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगमा आफूले बयान दिन जानुपर्ने कुनै कानुनी व्यवस्था नभएको बताए ।
८- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट फागुन २१ को निर्वाचनका लागि एक शिफारिस भएका छन् । कांग्रेस डडेल्धुराको बिहीबार बसेको पार्टी बैठकले देउवाको नाम एकल सिफारिस गरेको हो । जिल्ला सभापति भीमबहादुर साउदका अनुसार देउवाको नाम प्रदेश समितिमा सिफारिस गरिएको छ । देउवाले यसअघि नै जिल्लाका नेताहरूसँग आफु अन्तिम पटक चुनाव लड्ने बताएका थिए । देउवा यसअघि २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालका सबै निर्वाचनमा डडेल्धुराबाटै विजयी हुँदै आएका छन् । डडेल्धुराबाट समानुपातिकतर्फ नरभान कामी र मानकुमारी थापाको नाम सिफारिस गरिएको छ । त्यस्तै राष्ट्रिय सभाका लागि भीमबहादुर साउद र रघुवर भट्टलाई सिफारिस गरिएको छ । कांग्रेसले केन्द्रबाट फागुन २१ मा हुने निर्वाचनका लागि उय्म्मेद्वर सिफारिस गर्न दिएको निर्देशन अनुसार धमाधम उम्मेदवार सिफारिस भइरहेको छ ।
९- कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसमेत ४ जनाविरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाकाको वडा नम्बर-२ मा हुँदै नभएको घर छ भनी नक्सा तयार गरी जग्गा-घर धितोमा राखी लक्ष्मी सनराईज बैंकबाट ३३ लाख ७५ हजार ऋण लिएको र उक्त कार्य गर्नका लागि जग्गाधनी, प्रमुख प्रशासकीय अधिकृतसमेतका कर्मचारीहरुले मिलोमतो गरी भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरिएको जनाएको छ । अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, सव-इन्जिनियर जय कुँवर र असिस्टेन्ट सव- इन्जिनियर तेज बहादुर सुनार र वडा नम्बर २ बस्ने जग्गाधनी शान्ती नाथविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।
१०- अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिगका लागि दर्ता भएका १७ क्लबहरूबीच आज दशरथ रङ्गशालामा राष्ट्रिय लिगसम्बन्धी छलफल सम्पन्न भएको छ । एन्फा महासचिव किरण राईको अध्यक्षतामा प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर सम्मिलित छलफलमा प्रतियोगितामा सहभागी प्रत्येक क्लबलाई तयारी खर्च स्वरूप १५ लाख प्रदान गर्ने निर्णय गरिएको छ ।
साथै, हेटौडामा सम्पन्न भएको एन्फा प्रेसिडेन्ट लिगबाट राष्ट्रिय लिगमा छनोट भएका काठमाडौँ उपत्यकाबाहिरका क्लबहरूलाई यातायात खर्च स्वरूप २ लाख र काठमाडौँ उपत्यका क्लबलाई १ लाख प्रदान गरिनेछ । राष्ट्रिय लिगको विजेताले नगद ५० लाख, उपविजेताले नगद २५ लाख तथा तृतीय स्थान हासिल गर्ने क्लबले नगद १५ लाख पुरस्कार प्राप्त गर्नेछन् । क्लबहरूले खेलाडी दर्ता पुस १८ गतेभित्र सम्पन्न गर्नुपर्ने र प्रतियोगिताको खेल तालिका पुस २० गते सार्वजनिक गर्ने सहमति पनि बैठकमा भएको छ ।
११- नेप्सेमा आज सामान्य गिरावट आएको छ । विहिबार नेप्से १.६६ अंकले घटेर २६०७. ३७ विन्दुमा पुगेर रोकिएको छ । आज ३२६ कम्पनिका ७७ लाख ६८ हजार ६०१ कित्ता शेयर ३ अर्ब ४९ करोड ७९ लाख ७९ हजार ७५६ मा कारोबार भएको थियो । आज बैंकिङ, जीवन बीमा, उत्पादन, माइक्रो फाइनान्स र ट्रेडिङबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज स्वस्तिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने एसवाई प्यानलको शेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी मुक्ति कृषि कम्पनिको शेयर ८.४२ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एनगाडी ग्रुप पावरको १८ करोड ९७ लाख कारोबार भएको छ भने श्रीनगर एग्रोको १२ करोड ३५ लाख कारोबार भएको छ ।
१२- थाइल्याण्ड र कम्बोडियाबीच सीमामा भएको झडपमा नागरिक र सैनिक हताहत भएका छन् । थाई सेनाले सीमामा कम्बोडियाली सेनासँग जारी झडपमा ३ जना सर्वसाधारण र ९ जना सैनिकको मृत्यु भएको जानकारी दिएको छ । झडपमा करिब १२० जना घाइते भएको पुष्टि थाई सेनाले गरेको छ । यस झडपबाट दुई लाख भन्दा बढी थाई नागरिक हाल ८४९ अस्थायी केन्द्रहरूमा आश्रय लिइरहेको जनाएको छ । रोयल थाई सशस्त्र बलका उपप्रवक्ता रियर एडमिरल सुरासाक कोङसिरीले कम्बोडियाली सेनाले विशेष गरी चान मा क्षेत्र र हिल ६६७ नजिकै बीएम-२१ रकेट, मोर्टार र कामिकाजे ड्रोनको साथ भारी आक्रमण जारी राखेको बताएको छ ।
थाई सेनाले कम्बोडियाली सेनाले नागरिक घरहरूलाई सुदृढ स्थानको रूपमा प्रयोग गरेको आरोप लगाएको छ । रोयल थाई वायुसेनाले जमिन अपरेशनहरूलाई पनि जारी राखेको र नौसेनाले निरन्तर ड्रोन आक्रमणहरूको सामना गरेको अपडेट दिएको छ । जुलाईमा युद्धविराम भएयता दुई देशबीचको यो सबैभन्दा गम्भीर द्वन्द्व हो । जुलाईमा दुई देशहरू बीच तनाव उत्पन्न भएको थियो, जसमा पाँच दिनको द्वन्द्व भयो । मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिम र ट्रम्पले मध्यस्थता गरेपछि युद्धविराम भएको थियो । अक्टोबरमा, दुई देशहरूले क्वालालम्पुरमा विस्तारित शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । जुलाईको द्वन्द्वमा ४८ जनाको मृत्यु भयो र लगभग ३ लाख अस्थायी रूपमा विस्थापित भएका थिए ।
थाईल्याण्ड र कम्बोडिया बीचको ८१७ किलोमिटर लामो भूमि सीमा एक शताब्दी भन्दा बढी समयदेखि विवादको रूपमा रहेको छ । यस सीमाका केही भागहरूमा सार्वभौमिकता विवादित छ । यो सीमा पहिलो पटक १९०७ मा फ्रान्सले नक्साङ्कन गरेको थियो, जब यसले कम्बोडियामा शासन गर्थ्यो । त्यसबेलादेखि तनाव धेरै पटक भड्किएको छ । २०११ मा एक हप्ता लामो बन्दुक युद्ध भयो । यद्यपि, दुवै देशहरूले शान्तिपूर्ण रूपमा विवाद समाधान गर्ने प्रयास गरिरहेका छन् ।
१३- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँगको भेटको अर्थ रहेको र त्यसको नतिजा छिट्टै देखिने बताएका छन् । विहिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देउवासँगको भेटमा देशको राजनीतिको विषया कुरा भएको र त्यसको परिणाम छिट्टै देखिने दाबी गरेका हुन् । देउवासँग भएको भेटको आलोचना भएको भन्दै देउवा क्षमता भएरनै देशको पटक पटक प्रधानमन्त्री बनेको उल्लेख गर्दै ओलीले भने- प्रमुख पार्टीका नेताहरु भेट हुदा देशको बारेमा कुरा हुनु, समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा छलफल हुनु स्वाभाविक नै हो । अर्थपूर्ण छलफल भयो, त्यसको अर्थ छ, भोली देखिन्छ । त्यो प्रकट हुन टाइम लाग्छ ।’ अध्यक्ष ओलीले देशमा १४३ दल खुलेको भन्दै नयाँ दलको कुनै सिद्धान्त र आर्थिक दृष्टिकोण नभएको र विभिन्न क्षेत्रमा असफल भएर अहिले दल खोल्ने फेशन चलेको टिप्पणी गरेका छन् । देशमा धेरै दल खुलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
१४- नेकपा एमालेले ११औं महाधिवेशनमा विदेशी पाहुनाहरुलाई नबोलाउने बताएको छ । बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको महाधिवेशन मूल व्यवस्थापन सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले नेता महेश बर्तौलाले यस महाधिवेशनमा विदेशी पाहुनालाई नबोलाउने जानकारी दिएका हुन् । मंसिर २७ गतेबाट २९ सम्म काठमाडौंमा हुने महाधिवेशनमा देशका १६ राजनीतिक दलहरुलाई निमन्त्रणा दिने बर्तौलाले जानकारी दिए । महाधिवेशनमा कुल २ हजार २६८ प्रतिनिधि सहभागी हुने, जसमा १०८ प्रतिनिधि मनोनित हुनेछन् । एमालेले २७ गते भक्तपुरको सल्लाघारीमा हुने उद्घाटन सत्रमा लाखौं नेता कार्यकर्ता सहभागी हुने जनाएका हो । एमालेले १६५ निर्वाचन क्षेत्रबाट हरेक ४ जना प्रतिनिधिमा एक जना ४० बर्ष मुनिका युवालाई समेटिएको छ भने केन्द्रीय समितिमा पनि युवा क्लस्टरबाट प्रतिनिधित्व गराउने तयारी गरिएको छ ।
१५-ट्विटर इन्टरनेट दृश्यमा फेरी फर्कन सक्ने देखिएको छ । रोयटर्सको रिपोर्टका अनुसार, एक स्टार्टअप कम्पनि अपरेशन ब्लूबर्डले अमेरिकी पेटेन्ट र ट्रेडमार्क कार्यालयलाई ट्विटर र ट्वीट ट्रेडमार्क रद्द गर्न अनुरोध गरेको छ । कम्पनीले एक्स कर्पोरेशनले तिनीहरूलाई त्यागेको दाबी गर्दै स्टार्टअपले ‘twitter.new’ भनिने आफ्नो नयाँ सामाजिक सञ्जाल प्लेटफर्मको लागि ‘ट्विटर र ट्वीट’ भाने शब्द प्रयोग गर्न अनुमति समेत पागेको छ । डिसेम्बर २ मा अमेरिकी पेटेन्ट र ट्रेडमार्क कार्यालयमा गरिएको आफ्नो निवेदनमा, अपरेशन ब्लूबर्डले एक्स कर्पोरेशनले ट्विटर ब्रान्डलाई पूर्ण रूपमा त्यागेको बताएको छ ।
कम्पनीका जनरल काउन्सिल, स्टीफन कोट्स, जो पहिले ट्विटरमा ट्रेडमार्क वकिल थिए, ले स्पष्ट रूपमा एक्सले कानुनी रूपमा ट्विटर ट्रेडमार्क त्यागेको दाबि गर्दै निवेदन दिएका छन् । यो स्टार्टअपले एक्स कर्पोरेशनले यी नामहरू व्यावसायिक रूपमा प्रयोग नगरेको हुनाले, आफुलाई यी ट्रेडमार्कहरू प्रयोग गर्न अनुमति दिनुपर्ने दाबि पेश गरेको छ । २०२२ मा, मस्कले ट्विटरलाई ४४ अर्ब डलरमा खरिद गरे र त्यसपछि यसलाई एक्सको रूपमा पुन: ब्राण्डिङ गरेका थिए । २०२३ मा, मस्कले एक्समा पोस्ट गर्दै कम्पनीले बिस्तारै ट्विटर ब्रान्ड र यसका चराहरूलाई रिटायर गर्ने बताएका थिए । यसैकारण ट्विटरको प्रसिद्ध नीलो चरा अब एक्समा देखिँदैन र ट्विटर डट कम अब अब एक्स डट कम भएको छ ।
एक्स क्रपले २०२३ मा ट्विटरको ट्रेडमार्क नवीकरण गरेको थियो, जुन गत वर्ष मात्र अनुमोदन गरिएको थियो । रोयटर्सको रिपोर्ट अनुसार, बौद्धिक सम्पत्ति विज्ञ जोश गोर्डनले यदि एक्स क्रपले ट्विटरको ट्रेडमार्क प्रयोग गरिरहेको छैन भने, उनीहरूलाई स्वामित्व अधिकार कायम राख्न गाह्रो हुनेछ । यद्यपि, एक्सले ट्विटर नाम गुमाए पनि, यसले अझै पनि अपरेशन ब्लूस्टारलाई व्यावसायिक रूपमा प्रयोग गर्नबाट रोक्न सक्छ । विज्ञहरूले यसलाई एक रोचक मामला भनेका छन् र एक्सले प्रयोग गर्ने इरादा नभएको ब्रान्डमा पैसा खर्च गर्छ या गर्दैन भनेर हेर्न चाहेको बताएका छन् ।
१६- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज पनि हेन नमिल्नेमा परेको छ । उच्च अदालत तुलसीपुर्को बुटवल इजलासमा न्यायाधीश सागर विष्ट र तेजनारायण पौडेलको इजलासमा तोकिएको पेसी हेर्न नमिल्ने भएको हो । यसअघि मंसिर ११ गते तोकिएको पेशी लामिछानेकै कानुन व्यवसायीको अनुरोधमा स्थगित भएको थियो । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दाको निरन्तर पेसी तोकिदै आएपनि विभिन्न कारणले स्थगित हुदै आएको छ ।
बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो । त्यसविरुद्ध उच्च अदालत गएका लामिछानेको मुद्दामा यसअघि कार्तिक २७ गते भएको सुनुवाइमा सर्वोच्चबाट मुल अभियोगको सक्कल मिसिल मगाउने आदेश भएको थियो । गत बिहीबार तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश बासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले मुल अभियोग मिसिल मगाउने आदेश गरेको थियो ।
यसअघि कात्तिक २० गते पनि न्यायाधीशद्वय आचार्य–अर्यालकै इजलासले सुरु मिसिल मगाउने आदेश दिएको थियो । सर्वोच्चबाट सुरु मिसिलको फाइल प्राप्त नभए पनि जिल्ला अदालतबाट प्रतिलिपि प्राप्त भएपछि बिहीबारका लागि पेशी तोकिएको थियो । अदालतले लामिछानेको मुद्दाको सुनुवाइलाई प्राथमिकता दिएर अघि बढाएको छ । यसअघि रविले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुटकारा दिन माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए । जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो । बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ । पुर्पक्षका लागि रवि र छवि दुवै कारागारमा छन् । भैरहवा कारागारमा रहेका रविलाई ललितपुरको नख्खु कारागार सरुवा गरिएको छ भने छवि भने भैरहवा कारागारमै छन् ।
१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको एक हजारले बढेर तोलाको २ लाख ५३ हजार एक सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ५२ हजार एक सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले बढेर ३८०५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ३७५० मा कारोबार भएको थियो ।
१८- नेपाली कांग्रेसले तोकिएको मापदण्ड अनुसार उम्मेदवार सिफारसि गर्न प्रदेश, जिल्ला र क्षेत्रीय समितिहरुलाई निर्देशन दिएको छ । काँग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले विहिबार पार्टीको मङ्सिर १५ र १७ गतेको परिपत्र अनुसार तोकिएको मापदण्ड र तोकिएको संख्यामा उम्मेदवार सिफारिस गर्न प्रदेश, जिल्ला र क्षेत्रीय समितिहरुलाई ध्यानाकर्षण गराएका छन् । केन्द्रको निर्देशन अनुसार अहिले काँग्रेसमा फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ धमाधम उम्मेदवार सिफारिस भइरहेको छ ।
१९- हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी —डोकेबजार—बेलौरी—बेलडाँगी—दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले बिहीबार सडक निर्माणका लागि बाबा हन्स—सिद्धीसाई संयुक्त उपक्रम (जेभी) काठमाडौंसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७३-७४मा ठेक्का सम्झौता भएको थियो । करिब २० किलोमिटर सडकमध्ये ५ किलोमिटर मात्र कालोपत्रे गर्न बाँकी रहेको छ । निर्माण प्रगति करिब ८२ प्रतिशत रहेको छ ।
पटक—पटक ताकेता गर्दा काम नगरेको, प्रतिबद्धता बमोजिम काम नगरेको र साइट ठप्प बनाएकाले ठेक्का तोडिएको योजना कार्यायल धनगढीले जनाएको छ । ठेक्का सम्झौता रद्ध गरिएको निर्माण व्यवसायीको कार्य सम्पादन जमानत जफत गरिनेछ । योजना कार्यालय धनगढीबाट गत १४ कात्तिकमा ठेक्का किन नतोड्ने ? भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्ध गरिएको हो ।
निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेको कारण र कार्य सम्पन्न गर्न सक्ने अद्यावधिक कार्यतालिका, स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माण व्यवसायीको आधिकारी प्रतिनिधि उपस्थित नभएको, पेश भएको स्पष्टीकरण चित्त बुझ्नो नभएको र कार्य सुचारु गर्नेतर्फसमेत तदारुकता नदेखाएको हुँदा सार्वजनिक खरिद ऐन तथा ठेक्का सम्झौता उल्लङ्गन गरिएको जनाइएको छ । ऐनको प्रावधान बमोजिम कार्य सम्पादन जमानत वापतको रकम जफत गरिने, बाँकी काम पूरा गर्न आवश्यक पर्ने रकम सरकारी बाँकी सरह असूल उपर गरिने र कालोसूचीमा राख्न सिफारिस गरिएको जनाइएको छ । हालसम्मको अद्यावधिक भएको काम र बाँकी कामको नापजाँच मूल्याकन गरी वित्तीय फरफारख गर्न १५ दिनभित्र कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ । निर्माण व्यवसायी कार्यालयमा उपस्थित नभएमा कार्यालयबाट नापचाँच गरिनेछ ।
२०- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले ‘गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए तर यसलाई एक मिलियन डलर बनाएर लागु गरिएको छ । गोल्ड कार्डको घोषणा गर्दै ट्रम्पले भने- ‘हामीले भर्खरै ट्रम्प गोल्ड कार्ड सुरु गरेकोमा म र देशको लागि ठूलो खुशीको कुरा हो । सबै आम्दानी संयुक्त राज्य सरकारमा जानेछ । यो हाम्रो देशमा साँच्चै विशेष व्यक्ति ल्याउनको लागि उपहार हो । दोस्रो, यसले सरकारी कोषमा अरबौं डलर ल्याउनेछ ।’ गोल्ड भिसा कार्डले नागरिकहरूलाई ग्रीन कार्ड जस्तै विशेष अधिकार दिनेछ । अमेरिकामा स्थायी रूपमा बसोबास गर्न ग्रीन कार्ड आवश्यक छ ।
गोल्ड कार्ड डोनाल्ड ट्रम्पद्वारा प्रस्तुत गरिएको नयाँ भिसा/रेसिडेन्सी कार्यक्रम हो। यसले संयुक्त राज्य अमेरिकामा दीर्घकालीन बसोबास, काम र नागरिकताको लागि विकल्प प्रदान गर्दछ । परम्परागत भिसा वा “ग्रीन कार्ड” भन्दा फरक, यो कार्यक्रम विशेष गरी धनी, लगानीकर्ता, व्यवसायी वा प्रतिभाशाली पेशेवरहरूका लागि डिजाइन गरिएको हो। व्यक्तिहरूको लागि शुल्क एक मिलियन डलर र कम्पनीहरूको लागि २ मिलियन डलर तोकिएको छ । थप रूपमा, आवेदन प्रक्रियाको क्रममा छुट्टै शुल्क तिर्नुपर्ने बताइएको छ । यस कार्यक्रमको सबैभन्दा ठूलो फाइदा भनेको शुल्कको सट्टामा, आवेदकहरूले संयुक्त राज्य अमेरिकाको नागरिक बन्ने अवसर पाउनेछन् । अमेरिकामा ग्रिन कार्ड प्राप्त गर्ने प्रक्रिया (कागजी कार्य, योग्यता, पर्खाइ, आदि) धेरै लामो भए पनि, गोल्ड कार्डले सबै कुरा सरलीकृत गरेको छ ।
FACEBOOK COMMENTS