काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेकपा एमालेको ११औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले शपथ लिएका छन् । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले नवनिर्वाचित अध्यक्ष ओलीलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन्। बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई भने अध्यक्ष ओलीले सपथ खुवाएका छन् । बिहिबार सम्पन्न मतगणनामा एमालेका १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य र आयोगका ४१ सदस्य निर्वाचित भएका छन् ।
२-सरकारले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् । यसअघि बुधबार आयोगका पदाधिकारीले प्रधानमन्त्री सुशिला कार्कीलाई भेट गरेर एक महिना म्याद थप गर्न आग्रह गरेका थिए ।
त्यस्तै बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिए । २०७८ को जनगणनाको प्रतिवेदन बमोजिमको दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु, मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसूची १ लाई संशोधन गर्न लागिएको मन्त्री खरेलले बताए । यस्तै बैठकले विभिन्न बालसुधार गृहमा रहेका र अवधि बाँकी रहेका १८ वर्ष माथिका व्यक्तिहरूलाई राख्नका लागि नुवाकोटको विदुरमा निर्माण भएको केन्द्रीय कारागारको खाली रहेको ब्लकलाई बाल सुधार गृहको रूपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय पनि गरेको मन्त्री खरेलले जानकारी दिएका छन् ।
३- उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पाँच शर्तसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश गरेको छ । विहिबार न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले सुप्रिम सहकारीको ठगी मुद्दामा लामिछानेलाई धरौटीमा छाड्न आदेश गरेको हो । १- सुरु जिल्ला अदालतले मिति २०८१।१०।१३ मा सुरु थुनछेकको क्रममा माग गरेको घरौटी रकम दफा ६८ अनुसार स्वीकार गर्ने । त्यति बेला रूपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले १ करोड धरौटी राख्न आदेश गरेको थियो । २- प्रतिवादीले निवेदन साथ पेश गरेको बैंक जमानत (ग्यारेन्टी) २ करोड ७४ लाख ८४ हजार बिगोका हकमा सुरक्षित गर्ने ।

३- प्रतिवादी व्यक्तिगत वा संस्थागत रुपमा विदेश यात्रा गर्नु परेमा अदालतलाई पूर्व जानकारी दिने । ४- सुरु जिल्ला अदालतको मिति २०८२-४-२६ को आदेश बदर गरिदिएको छ । ५- अदालतबाट फैसला हुँदा ठहरे बमोजिम हुने नै हुँदा साथै फैसलाले बिगोका हकमा थप दायित्व सृजना गरेमा तिर्न बुझाउन मञ्जुर भए सो को कागज गरी प्रतिवादी रवी लामिछानेलाई प्रस्तुत मुद्दाको रोहबाट थुनामुक्त गर्नु ।

४- कारागार कार्यालय, कुश्माका कार्यालय प्रमुख तथा मूल्याङ्कन समितिका अध्यक्ष शिला श्रेष्ठसमेत ५ जनाविरुद्ध भ्रष्टाचार गरेको मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/०७९ मा कारागारको भान्साघर ब्लक निर्माणको क्रममा २१ लाख ५५ हजार अनियमितता गरेको आरोपमा मुद्धा दायर गरेको जानकारी दिएको छ । अख्तियारले श्रेष्ठसमेत बोलपत्र मूल्याङ्कन समितिका सदस्यहरु सघन शहरी तथा भवन निर्माण आयोजना बागलुङका इन्जिनियर विकाश अधिकारी, कारागारका नायब सुब्बा हरिकृष्ण शर्मा र कोष तथा लेखा नियन्त्रणको कार्यालय, पर्वतका सह-लेखापाल सुभास घर्ती, मोदीकाली कन्स्ट्रक्सन मोदी -६ पर्बतका प्रोपाइटर प्रदिप तिमिल्सिनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।

५- नेकपा एमालेको उपाध्यक्षमा निर्वाचित भएपछि गोकर्ण विष्टले ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेलगायतका सबै नेताहरुको निष्ठा, साहस र संघर्षलाई सम्मान गरेका छन् । नेता विष्टले खुला प्रतिस्पर्धा र युगले खोजेको रुपान्तरणसहितको पार्टी निर्माणका लागि आफुहरुको अभियानको नेतृत्व गर्ने ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेप्रति सम्मान व्यक्त गरेका हुन् । उनले आजीवन सामाजिक परिवर्तनको आन्दोलनमा समर्पित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहरा, केशव वडालसहितका अग्रजहरुले देखाएको उच्च नैतिकता र त्यागको प्रसंशा गरेका छन् ।

६- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा लोकप्रिय मत पाएर निर्वाचित भएका छन् । एमालेको ११औँ महाधिवेशनबाट ज्ञवालीले १९४२ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा विजयी भएका हुन् । महाधिवेशनमा ओली प्यानलबाट उपाध्यक्षमा परे पनि उनले सो पद अस्वीकार गर्दै केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका थिए। महासचिवका आकांक्षी ज्ञवालीले महासचिव नपाएपछि पदाधिकारी नबन्ने निर्णय लिदै केन्द्रीय सदस्य मात्र बनेका छन् । उनको स्थानमा ओली प्यानलबाट रघुजी पन्त उपाध्यक्षमा १२५८ मत प्राप्त गर्दै विजयी भएका छन् ।

७- अमेरिकाले ताइवानलाई १० अर्ब डलरभन्दा बढीको हतियार प्याकेज बेच्ने घोषणा गरेको छ । यस प्याकेजमा मध्यम दूरीका मिसाइल, हाविट्जर र ड्रोनहरू समावेश छन् । यो कदमले चीनको कडा प्रतिक्रिया आउने सम्भावना रहेको छ । विदेश मन्त्रलायले ताइवानलाई यी हतियारहरू बिक्री गर्ने घोषणा गरेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रलाई सम्बोधनको क्रममा यो घोषणा आएको थियो। आफ्नो सम्बोधनमा उनले विदेश नीतिका मुद्दाहरूलाई संक्षिप्त रूपमा उल्लेख गरे र चीनसँगको व्यापार वा अन्य मुद्दाहरूलाई सम्बोधन गरेनन् । आठ हतियार बिक्री सम्झौताहरूमा ८२ हाई-मोबिलिटी आर्टिलरी रकेट सिस्टम र ४२० आर्मी ट्याक्टिकल मिसाइल सिस्टम समावेश छन् ।
यी त्यहि प्रणालीहरू हुन् जुन रूस विरुद्धको रक्षाको लागि बाइडेन प्रशासनको समयमा युक्रेनलाई प्रदान गरिएको थियो र ४ अर्ब डलरभन्दा बढीको मूल्यका रहेका थिए । बिक्रीमा ६० स्व-चालित हाविट्जर प्रणाली र अन्य उपकरणहरू पनि समावेश छन्, जसको मूल्य पनि ४ अर्ब डलरभन्दा बढी छ, र १ अर्ब डलरभन्दा बढीको ड्रोनहरू पनि समावेश छन् । अन्य बिक्रीहरूमा १ अर्ब डलरभन्दा बढीको सैन्य सफ्टवेयर, ७०० मिलियन डलरभन्दा बढीको जेभलिन र टाउ मिसाइल, ९६ मिलियन डलरभन्दा बढीको हेलिकप्टर स्पेयर पार्ट्स र ९१ मिलियन डलरको हार्पुन मिसाइल नवीकरण किट समावेश छन् । ट्रम्पले भने, ‘अमेरिकामा पहिले नै १८ ट्रिलियन डलरको रेकर्ड लगानी भइसकेको छ, जसको अर्थ रोजगारी, ज्याला वृद्धि, विकास, कारखाना खोल्ने र राष्ट्रिय सुरक्षामा अभूतपूर्व वृद्धि हो।
यो सफलताको धेरैजसो भाग शुल्क मार्फत प्राप्त भएको छ। मेरो मनपर्ने शब्द, जुन दशकौंदेखि अन्य देशहरूले हाम्रो विरुद्ध सफलतापूर्वक प्रयोग गर्दै आएका छन्। तर अब त्यस्तो हुने छैन। कम्पनीहरूलाई थाहा छ कि यदि तिनीहरूले अमेरिकामा उत्पादन गरे भने, कुनै शुल्क लाग्दैन । त्यसैले तिनीहरू रेकर्ड संख्यामा अमेरिका फर्किरहेका छन् । तिनीहरूले अभूतपूर्व स्तरमा कारखाना र प्लान्टहरू खोलिरहेका छन् ।’ ट्रम्पले आफ्नो सम्बोधनमा अमेरिकालाई यसको शक्ति फिर्ता ल्याउने बताएका छन् । उनले दस महिनामा आठ युद्धहरू रोकेको दाबी गर्दै इरानको आणविक खतरालाई हटाएर गाजामा युद्ध समाप्त पारेको, मध्य पूर्व (पश्चिम एसिया) मा तीन हजार वर्षमा पहिलो पटक शान्ति ल्याए र जीवित र मृत दुवै बन्धकहरूको रिहाइ सुनिश्चित गरेको दाबि गरेका छन् ।
८- हालै नेकपा एमालेमा फर्किएकी नेतृ रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी भएकी छन् । झाँक्री संस्थापन पक्षबाटै केन्द्रीय सदस्यको उम्मेदवार बनेकी झाँक्रीले १९११ मत ल्याएकी छन् । झाँक्रीले सचिवमा आकांक्षा राखे पनि संस्थापनमा भागबण्डा नमिलेपछि उनी केन्द्रीय सदस्यमा मात्र उम्मेदवार बनेकी थिइन् ।
९- नेप्सेमा आज गिरावट आएको छ । विहिबार नेप्से १०.५६ अंकले घटेर २६१५.०३ विन्दुमा पुगेर रोकिएको छ । आज ३२९ कम्पनिका एक करोड १२ लाख ९१ हजार ४०१ कित्ता शेयर ४ अर्ब ५७ करोड ७८ लाख २७ हजार ९०३ मा कारोबार भएको थियो । आज होटल्स, निर्जीव बीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज स्वस्तिक लघुवित्त र एसवाई प्यानलको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने सिन्धु विकास बैंकको शेयर ९.५६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी बाराही हाइड्रोको शेयर ४.७६ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी बाराही हाइड्रोको २४ करोड ७२ लाखको कारोबार भएको छ भने राढ़ी जलविद्युतको १८ करोड ३५ लाखको कारोबार भएको छ ।
१०- नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् । केपी ओली प्यानलबाट पदाधिकारीमा पराजित भएका नेता रिमाल केन्द्रीय सदस्यमा समेत पराजित भएका हुन् । उनले केन्द्रीय सदस्यमा ६३० मत मात्रै पाएका छन् । रिमाल उपमहासचिवमा पराजित भएका थिए । उपमहासचिवमा उम्मेदवार बनेका रिमालले १०९१ मत प्राप्त गर्दै चौथो स्थान हासिल गरेर पराजित भएका छन् ।
११- नेकपा एमालेको अध्यक्षमा पराजित भएका ईश्वर पोखरेलले विजयी बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा मेरो सहभागिता र संलग्नता अटूट रूपमा रहिरहने बताएका छन् । पोखरेलले प्रतिस्पर्धामा यसपटक विजयी बन्न नसके पनि अध्यक्ष पदमा भएको उमेदवारीप्रति आफ्नो विश्वासको मत प्रदान गर्ने प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै महाधिवेशनको दौरानमा उठाएका मुद्दाहरू जनताको बहुदलीय जनवादको प्रकाशमा पार्टीमा सामूहिक नेतृत्व, विधि र पद्धति अनुसार पार्टी संचालन, पार्टीलाई सही र लोकतान्त्रिक तरिकाले संचालन गर्न ‘नियन्त्रण र सन्तुलन ‘ को सिद्धान्तको पालन आदि महत्वपूर्ण विषयहरूले बहस र छलफलले नयाँ स्तरमा निरन्तरता विश्वास व्यक्त गरेका छन् ।
१२- नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनबाट १९ जना पदाधिकारी निर्वाचित भएका छन् । केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलनै बनाएर चुनावी मैदानमा गएकोमा पदाधिकारीमा १९ मध्ये २ जना मात्र पोखरेल पक्षका विजयी भएका छन् । जसमा उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई रहेका छन् । त्यस्तै एमालेको पदाधिकारीमा एक मात्र महिला पदमाकुमारी अर्याल सचिवमा विजयी भएकी छन् ।
एमालेको नवनिर्वाचित पदाधिकारी:
अध्यक्ष:
केपी शर्मा ओली
उपाध्यक्ष:
पृथ्वीसुब्बा गुरुङ
विष्णु पौडेल
रामबहादुर थापा बादल
गोकर्ण विष्ट
रघुजी पन्त
महासचिव
शंकर पोखरेल
उपमहासचिव
लेखराज भट्ट
रघुवीर महासेठ
योगेश भट्टराई
सचिव
महेश बस्नेत
पद्माकुमारी अर्याल
छविलाल विश्वकर्मा
शेरधन राई
हिक्मतकुमार कार्की
खगराज अधिकारी
यमलाल कँडेल,
राजन भट्टराई
भानुभक्त ढकाल
१३- २०४६ सालको जनान्दोलनका कमान्डर गणेशमान सिंह र मंगलादेवी सिंहकी जेठी छोरी रिता सिंह वैद्यको निधन भएको छ । नेपाल बाल संगठनकी पूर्वअध्यक्ष समेत रहेकी सिंहको उपचारका क्रममा आज मेडिसिटी अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि किड्नीसम्बन्धि समस्याबाट ग्रसित रहेकी थिइन् । सिंहको आज शोभा भगवती, कर्णद्दिपमा दाहसंस्कार हुने परिवारले जानकारी दिएको छ ।
१४- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १.४५ मिलियन अमेरिकी सैनिकहरूलाई एक हजार ७७६ डलरको ‘योद्धा लाभांश’ भुक्तानीको घोषणा गरेका छन् । ट्रम्पका अनुसार, यस भुक्तानीको लागि कोषको एक भाग उनले लगाएको करबाट उठाइनेछ । राष्ट्रलाई गरेको टेलिभिजन सम्बोधनमा, ट्रम्पले यो रकम क्रिसमस अघि मानिसहरूसम्म पुग्ने बताए । आफ्नो सम्बोधनमा, ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा आफ्नो सरकारको रेकर्डको प्रशंसा गरे भने उनले डेमोक्र्याटहरूलाई पनि आलोचना गरेका थिए । भाषणमा, ट्रम्पले देश सही दिशामा अघि बढिरहेको र चीजहरूमा सुधार हुने कुरामा आश्वस्त पारेका थिए भने मुद्रास्फीति घट्दै गएको दाबी गरेका थिए । यद्यपि, सर्वेक्षणहरूले धेरै अमेरिकीहरू आवास, बाल हेरचाह र स्वास्थ्य सेवाको बढ्दो लागतबाट असन्तुष्ट रहेको देखाएका छन् ।
१५- नेपाली बजारमा सुनचाँदीको मुल्य आजपनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाल सुनको मुल्य तोलाको ७ सयले बढेर तोलाको २ लाख ६० हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ५९ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले बढेर ४०८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४०५५ मा कारोबार भएको थियो ।
१६- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले चार लेनको महाकाली पुल र त्यस वरपरको बस्तीलाई बचाउन नदी किनार संरक्षणको काम तत्काल अगाडि बढाउन निर्देशन दिएका छन् । महाकाली पुल र महाकाली नदीले कटान गरेको क्षेत्रको जानकारी लिन त्यस क्षेत्रमा पुग्नु भएका मन्त्री घिसिङले तटबन्धको काम गराउनेमा हाल रहेको अन्यौललाई तत्काल निरुपण गरी निर्माण अगाडि बढाउनुपर्ने बताए ।
आगामी वर्षायाम अगाडिनै काम सम्पन्न गर्न नसकिएमा नदीमा आउने बाढीबाट पुल र नदीको वायाँ किनारतर्फको वस्ती नै जोखिममा पर्ने सम्भावना देखिएकाले तटबन्ध व्यवस्थापनको काम तत्काल अगाडि बढाउन सडक विभाग र महाकाली पुल योजना व्यवस्थापनलाई निर्देशन दिए । महाकाली पारीको दोधारा–चाँदनी नगरपालिकालाई सडक सञ्जालसँग जोड्ने र दोधारा चाँदनीमा निर्माणाधीन सुख्खा बन्दरगाहलाई लक्षित गरी महाकालीमा चार लेनको पक्की पुल निर्माण गरी सञ्चालनमा छ । बाढीबाट पुललाई बचाउन मन्त्रिपरिषद्को ६ जेठ २०८२ को निर्णयबाट महाकाली पुल आसपास महाकाली नदी बीच भागमा जम्मा भएको नदीजन्य पदार्थ हटाइ व्यवस्थापन तथा बाढीजन्य विपद् न्यूनीकरणका लागि आवश्यक पर्ने अस्थायी नदी नियन्त्रणको काम सेनाबाट गराउने स्वीकृति भएको थियो ।
त्यसपछि अस्थायी संरचना सेनाबाट निर्माण गरिएका थिए । तत्कालीन वर्षाको जोखिमलाई ध्यान दिएर सेनाद्धारा आपत्कालीन रुपमा निर्माण गरिएका संरचना अस्थायी प्रकृतिका भएका कारण थप सवलीकरण गर्नुपर्ने छ । पुलबाट माथिल्लो तटीय बायाँ किनारमा नेपाली सेनाले करिब तीन सय मिटर निर्माण गरेको अस्थायी प्रकृतिको संरचनाको सवलीकरण आवश्यक रहेको हो । सवलीकरणको काम तत्काल अगाडि बढाउन निर्देशन दिंदै मन्त्री घिसिङले त्यसका लागि आवश्यक सहजीकरण गर्ने बताए । योजनाले सवलीकरण कार्यको डिजाइन तयार गरिसकेको छ ।
१७- भुजुङ हाइड्रोपावर लिमिटेडले आजदेखि लमजुङ जिल्लाका परियोजना प्रभावित स्थानीयहरूलाई १० लाख कित्ता र विदेशी नेपाली आप्रवासीहरूलाई एक लाख कित्ता आईपीओ शेयर खुला गरेको छ । लमजुङ जिल्लाका स्थानीयहरूको लागि आईपीओ निष्कासन आजदेखि पौष १७ सम्म खुला हुने छ भने सबै कित्ता शेयरमा आवेदन नपरेमार माघ २ सम्म खुला हुने छ । त्यस्तै विदेशमा काम गर्ने नेपाली नागरिकहरूको लागि, पौष ३ गतेदेखि पौष ७ गतेसम्म खुला हुनेछ भने सबै कित्ता शेयरमा आवेदन नपरेमा पुस १७ सम्म खुला हुने छ ।
कम्पनीको जारी पूँजी रु. १ अर्ब रहेको छ । यसमध्ये २० प्रतिशत अर्थात् २० लाख इकाई शेयर सर्वसाधारणलाई जारी गरिने भएको छ । परियोजना प्रभावित स्थानीय र विदेशमा काम गर्ने नेपाली नागरिकहरूका लागि न्यूनतम आवेदन मात्रा १० इकाई र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ । कम्पनिले कुमारी क्यापिटल लिमिटेडलाई निष्कासन प्रबन्धकको रूपमा नियुक्त गरेको छ । भुजुङ हाइड्रोपावर २०१५ मा स्थापित एक जलविद्युत विकास कम्पनी हो । कम्पनीले ७.५ मेगावाटको माथिल्लो मिदिम जलविद्युत परियोजना विकास गरिरहेको छ । यो परियोजना नेपालको लाम्पुङ जिल्लाको क्ह्लोसोथार ग्रामीण नगरपालिकामा रहेको छ ।
१८- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको शान्ति वार्ता रुसको सर्त अनुसार अगाडि बढेन भने, रुसले युक्रेनमा आफ्नो नियन्त्रण अझ विस्तार गर्ने चेतावनी दिएका छन् । पुटिनले वरिष्ठ सैन्य कमाण्डरहरूको वार्षिक बैठकलाई सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन् । रसियन मिडियाका अनुसार पुटिनले यदि कूटनीतिक रुपमा शान्ति बार्ता असफल भएमा रुसले सैन्य बल मार्फत आफ्नो लक्ष्यहरू प्राप्त गर्ने बताएका हुन् । पुटिनले रुस वार्ता मार्फत द्वन्द्व समाधान गर्न चाहेको र युद्धको मूल कारणहरू हटाउन चाहेको बताएका छन् । यद्यपि, उनले यदि विपक्षी पक्षहरू र उनीहरूका विदेशी समर्थकहरूले गम्भीर वार्ता अस्वीकार गरे भने, रुसले सैन्य कारबाहीको सहारा लिने स्पष्ट गरेका छन् ।
पुटिनको शब्दमा, रुसले आफ्नो ऐतिहासिक क्षेत्रहरू मुक्त गर्न बल प्रयोग गर्न नहिचकिचाउने बताएका छन् । यो बयान यस्तो समयमा आएको छ, जब युक्रेनी युद्ध अन्त्य गर्ने अन्तर्राष्ट्रिय प्रयासहरू तीव्र भएका छन् । वर्तमान अमेरिकी राष्ट्रपति ट्रम्पले उच्चस्तरीय बैठकहरू पछि सम्झौता पहिलेभन्दा नजिक रहेको दाबि गरिरहेका छन् । सुरक्षा ग्यारेन्टी र सीमा मुद्दाहरूको बारेमा अमेरिका, युक्रेन र युरोपेली देशहरू बीच वार्ता भइरहेको छ । यद्यपि, नेटो सदस्यता जस्ता मुद्दाहरूमा सम्झौता अझै पनि अस्पष्ट छ । पुटिनले सम्पूर्ण मोर्चा रेखामा रुसी सेनाले रणनीतिक फाइदा कायम राखेको दाबी गरेका छन् । उनले रुस-युक्रेन सीमामा सुरक्षा बफर क्षेत्रको थप विस्तारको लागि आह्वान गरे ।
पुटिनले रुसी सेनालाई युद्ध-कठोरको रूपमा वर्णन गर्दै उनीहरूको लडाई क्षमता अतुलनीय रहेको बताएका छन् । यसैबीच, युक्रेन र यसका पश्चिमी सहयोगीहरूले यी दावीहरूलाई अस्वीकार गरे र रुसको सार्वभौमसत्ता उल्लङ्घन गरेको आरोप दोहोर्याए । आफ्नो भाषणमा, पुटिनले रुसको बढ्दो सैन्य शक्ति र आणविक क्षमताहरूको पनि उल्लेख गरे । उनले आणविक-सक्षम ओरेश्निक ब्यालिस्टिक मिसाइल यस महिना औपचारिक रूपमा सेवामा समावेश गरिने घोषणा गरेका छन् । पुटिनले नोभेम्बर २०२४ मा युक्रेनी कारखानामा भएको आक्रमणमा यस मिसाइलको परम्परागत संस्करण प्रयोग गरिएको थियो, जसलाई रोक्न नसकिने उल्लेख गरेको मिडिया रिपोर्टमा उल्लेख छ । पुटिनले युक्रेन र अन्तर्राष्ट्रिय समुदायले क्रिमियामा रूसको नियन्त्रणलाई मान्यता दिनुपर्ने बताउदै हाल कीभद्वारा नियन्त्रित पूर्वी र दक्षिणी युक्रेनका क्षेत्रहरूबाट युक्रेनी सेना फिर्ताको माग दोहोराएका छन् ।
१९- निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र तोकेको छ । आयोगले बुधबार सातवटै प्रदेशका लागि मतदानस्थल निर्धारण गरिएको सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । आयोगले सातवटै प्रदेशको राजधानी रहेका जिल्लामा मतदानस्थल रहनेगरी स्थान तोकिसकेको हो ।
आयोगले कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका वडा ४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका–४ मकवानपुर, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा कास्कीमा प्रदेशको मतदान केन्द्र, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र, घोराही, दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर, सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी, कैलालीमा मतदान केन्द्र तोकेको छ ।
राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचन मण्डलले मतदान गर्ने व्यवस्था रहेको छ भने मतदान केन्द्र ‘क’ प्रदेशसभाका सदस्यका लागि र मतदान केन्द्र ‘ख’ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि तोकिएको छ ।
२०- फिफाले अर्को वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकप फुटबलमा सहभागी देशहरूलाई प्रदान गरिने पुरस्कार रकममा ५० प्रतिशत वृद्धिको घोषणा गरेको छ । फिफाले विश्वकपमा कुल पुरस्कार रकम ७२७ मिलियन डलर अनुमोदन गरेको छ । २०२६ को विश्वकप विजेता देशले ५० मिलियन डलर प्राप्त गर्ने छ भने उपविजेताले ३३ मिलियन डलर पाउने छ । त्यस्तै तेस्रो हुनेले २९ मिलियन, चौथो हुनेले २७ मिलियन डलर पाउने भएको छ । त्यसैगरी पाँचौदेखि आठौँ स्थानसम्मले १९ मिलियन डलर, नवौंदेखि १६औं स्थानसम्मले १५ मिलियन डलर, १७औं देखि ३२औं स्थानसम्मले ११ मिलियन डलर र ३३औं देखि ४८औंसम्मको देशले ९ मिलियन डलर पाउने भएको छ ।
यसका अतिरिक्त फिफाले हरेक सहभागी टिमलाई विश्वकपको तयारीका लागि १.५ मिलियन डलर अतिरिक्त प्रदान गर्ने छ । २०२६ को विश्वकप विज्ञापन अधिकार र टिकट बिक्रीको हिसाबले ठूलो आम्दानी गर्ने प्रतियोगिता हुनेछ र यसले फिफालाई कम्तिमा १० बिलियन डलर आम्दानी गर्ने अपेक्षा गरिएको छ । २०२२ को फिफा विश्वकपमा ४४० मिलियन डलर पुरस्कार स्वरूप वितरण गरिएको थियो भने विश्वकप विजेता अर्जेन्टिनाले ४२ मिलियन डलर पाएको थियो ।
FACEBOOK COMMENTS