काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको ग्रे लिष्टबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे सम्बन्धित निकायहरुसँग जानकारी लिएकी छन् । आइतबार अर्थमन्त्री रामेश्वर खनाल, अर्थ मन्त्रालयकै राजस्व सचिव भुपाल बराल र नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्व पौडेलसमेतको उपस्थितिमा प्रधानमन्त्री कार्कीले विभिन्न अनुसन्धान गर्ने निकायहरुबाट ब्रिफिङ लिएकी हुन् ।
ती निकायका प्रमुखहरुले सम्पत्ति शुद्धीकरण कसुरमा समयमै अनुसन्धान तथा अभियोगनको प्रक्रियामा लैजाने, अपराधबाट आर्जित सम्पत्ति रोक्का र जफत गर्ने विषयमा भएको प्रगतिबारे जानकारी गराएका थिए । त्यस क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौँ उपत्यकाभित्र मात्र १ हजार ६ सय रोपनी जग्गा रोक्का राखेको जानकारी गराएको थियो ।
२- नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को छनोटका लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । आइतबार क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई समावेश गर्दै बन्द प्रशिक्षणका लागि प्रारम्भिक खेलाडीलाई बोलाएको हो । क्यानले एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल, विनोद भण्डारी, इसान पाण्डे, रुपेश सिंह, अविनास बोहोरालगायतलाई समेटेको छ ।
टिममा रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, आदिल आलम, करण केसी, साहब आलम, शेर मल्ल, भीम सार्की, इशान पाण्डे, बसिर अहमद, बिनोद भण्डारी, अविनाश बोहोरा, प्रतिश जिसी र रुपेश सिंह रहेका छन् ।

आईसीसी विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुनेछ । विश्वकपका लागि तयारी क्याम्प सोमबारदेखि सुरु हुने क्यानले जनाएको छ । नेपालको समूह बंगलादेश, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन् । नेपालले पहिलो खेल आगामी फेब्रुअरी ८ मा इङल्यान्डसँग, फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा बंगलादेशसँग खेल्ने छ । नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने छ ।

३- अमेरिकाले भेनेजुएलाबाट तेल बोकेको जहाज कब्जा गरेको छ । यो महिना अमेरिकाले भेनेजुएलाको तटबाट तेल बोकेको जहाज कब्जा गरेको यो दोस्रो पटक हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मंगलबार भेनेजुएला जाने र जाने प्रतिबन्धित तेल ट्याङ्करहरू विरुद्ध नाकाबन्दी गर्ने आदेश दिएका थिए ।

भेनेजुएलाले यस पछिल्लो अमेरिकी कारबाहीको निन्दा गर्दै यसलाई ‘डकैती र अपहरण’ भनेको छ । भेनेजुएलाले पहिले अमेरिकालाई आफ्नो स्रोतहरू चोर्न खोजेको आरोप लगाएको छ । भेनेजुएलाको सरकारले संयुक्त राष्ट्र सुरक्षा परिषद् र ‘विश्वभरका अन्य बहुपक्षीय एजेन्सीहरू र सरकारहरू’ मा उजुरी दर्ता गर्ने योजना बनाएको बताएको छ ।

४- सप्तरीको बलानबिहुल गाउँपालिकाका तत्कालिन अध्यक्ष दयानन्द गोइत समेत ५ जना र ओम गणेशाय कन्स्ट्रक्सनविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाको वडा नम्बर ६ को सेहरास्थित जागेश्वर गरहाई जनता माविको नमूना विद्यालय भवन निर्माण कार्यका लागि निर्माण कम्पनिको नक्कली प्रमाण पत्र लिएर गलत बोलपत्र मूल्याङ्कन गरी ८ करोड ९८ लाख २१ हजार ४९६ नोक्सानी पुर्याएको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको हो ।
मुद्धा दायर हुनेमा बलानबिहुल गाउँपालिकाका तत्कालिन अध्यक्ष दयानन्द गोइत, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मो. नसिम राइन, लेखापाल कमलेस कुमार साह र तत्कालीन सब-इन्जिनियर सन्तोष कुमार रजक तथा ओम गणेशाय कन्स्ट्रक्सन प्रालि, डाक्नेश्वरी-९, सप्तरी तथा उक्त कम्पनीका म्यानेजिङ डाईरेक्टर राजिब कुमार साह रहेको अख्तियारले जनाएको छ । अख्तियारले सबैविरुद्ध ८ करोड ९८ लाख २१ हजार ४९६ बिगो माग गर्दै कानुन बमोजिम कारवाहीको माग गरेको छ ।
५- प्रधानमन्त्री सुशीला कार्कीसँग इलाम-२ का निवर्तमान सांसद तथा एमालेका केन्द्रीय सदस्य सुहाङ नेम्बाङ नेतृत्वको एक प्रतिनिधिमण्डलले सिंहदरबारमा भेटवार्ता गरेको छ । भेटमा नेम्बाङले इलाममा बाढीपहिरोका कारण क्षतिग्रस्ता राजमार्ग र पुल पुनःनिर्माणमा तदारुकता देखाउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
प्रधानमन्त्री कार्कीले हालै भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले स्थलगत अवलोकन निरीक्षण गरी फर्किएको र यस विषयमा सरकार गम्भीर रहेको जानकारी दिएकी थिइन् । सो अवसरमा प्रधानमन्त्री कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएकी छन् । उनले भनिन्- ‘हामी चुनाव गराउनै लागिरहेका छौँ। असामान्य अवस्थामा शान्ति स्थापना र चुनाव गराउनकै लागि आएका हौँ । शान्ति स्थापना र कानुनको शासन बहालीमा सफलता मिलेको छ । अबको हाम्रो लक्ष्य चुनाव गराउने हो। चुनाव भए मात्र मुलुकमा अब दिगो शान्ति र स्थायित्व सुनिश्चित हुन्छ ।’
६- एसीसी पुरुष यू–१९ एशिया कपको उपाधि पाकिस्तानले जितेको छ । आइतबार भएको फाइनल खेलमा भारतलाई १९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तानले उपाधि जितेको हो । पाकिस्तानले दिएको विशाल ३४८ रनको लक्ष्य पछाएको भारत २६.२ ओभरमा अलआउट हुदै १५६ रन बनाएको थियो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले समीर मिनहासको १७२ रनको शतकीय पारीको सहयोगमा ५० ओभरमा ८ विकेट गुमाउदै ३४७ रन बनाएको थियो । पाकिस्तानले योसँगै दोस्रो पटक यू-१९ एशिया कपको उपाधि जितेको छ । यू-१९ एशिया कपको उपाधि सबैभन्दा बढी भारतले ८ पटक जितेको छ भने बंगलादेशले पनि २ पटक जितेको छ । त्यस्तै अफगानिस्तानले पनि एक पटक यो उपाधि जितेको छ । यस एशिया कपमा नेपालले पनि भाग लिएको थियो । नेपालले समुह चरणका सबै खेलमा हार बेहोर्दै बाहिरिएको थियो ।
७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा भव्य स्वागत गरिएको छ । रास्वपाको केन्द्रीय कार्यालयमा उपस्थित नेता कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी रहेको बताएका छन् । जेनजीले विद्रोह गरेको र त्यसलाई क्रान्तिमा बदल्न बाँकी रहेको भन्दै रास्वपाले जेनजी आन्दोलनले उठाएका माग पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले भने- ‘जेनजीले विद्रोह गरेको छ, क्रान्तिमा बदल्न बाँकी छ । जलेको सिंहदरबार त बनाउला तर सिंहदरबार बनाएर मात्र हुदैन सिंहदरबार बदल्न पनि आवश्यक छ ।’ लामिछानेले चुनावमा जानुको विकल्प नरहेको बताउदै रास्वपाले चुनावको वातावरण बनाउन सहयोग गर्ने बताए । उनले जेनजी आन्दोलनलाई दमन गरेकाहरु अहिले सल्बलाएकोभन्दै चुनावमा गएर जनताको मत जित्न चुनौती दिएका छन् । उनले जेनजीले उठाएका माग पुरा गर्न रास्वपा सरकारसँग साथमा रहेको बताए । उनले आफुले न्याय पाउन बाँकी नै रहेको बताउदै उनले आफ्नो न्याय भन्दापनि देशको न्याय महत्वपूर्ण भएको र त्यसका लागि सबैको साथ आवश्यक रहेको बताए ।
८- मधेश प्रदेशको सभामुखमा जनता समाजवादी पार्टीका रामअशिष यादव विजयी भएका छन् । सात दलीय गठबन्धनले उम्मेदवार बनेका यादवले प्रदेश सभामा ७२ मत पाएर विजयी बनेका हुन् । मतदानमा ९६ सांसद सहभागी रहेका थिए । प्रदेश सभाबाट सत्ता पक्षका यादवलाई निर्वाचित गर्ने प्रस्ताव बहुमतले पारित भएपछि एमालेको तर्फबाट सभामुखको उम्मेदवार बनेका त्रिलोकी प्रसाद चौधरीको प्रस्ताव निर्णयार्थ पेश गरिएन । यादव जसपा नेपालबाट धनुषाको क्षेत्र नं. २ (क) बाट निर्वाचित सांसद हुन् । यसअघि मधेशका निवर्तमान सभामुख रामचन्द्र मण्डललाई आचरणविरुद्धको कार्य गरेको आरोपमा संसद्को दुई तिहाइबाट पदमुक्त गरिएको थियो ।
९- जेनजी अभियन्ता मिराज ढुंगानाको समूहले आन्दोलनको घोषणा गरेको छ । आइतबार समूहले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सोमबारदेखि माइतीघरबाट आन्दोलन थाल्ने घोषणा गरेको हो । ढुंगानाले जेनजी आन्दोलन निर्वाचनको लागि मात्रै नभएको बताउदै उनले सरकारले निर्वाचनको मात्रै रटान लगाएको तर जेनजी आन्दोलनको मुख्य माग रहेको भ्रष्टाचारको फाइल खोल्न नसकेको आरोप लगाए ।
उनले वर्तमान अवस्थामा निर्वाचन भए अझै अस्थिर परिणाम आउने आंशका व्यक्त गर्दै निर्वाचन गराउनुलाई आन्दोलनको ठूलो उपलब्धि नठान्न सरकारलाई आग्रह गरे । उनले प्रधानमन्त्रीले नै सार्वजनिक जग्गा मिचेको, गृहमन्त्रीले काकालाई नियुक्ति दिलाउन प्रहरीमा दरबन्दी थपेको, महान्यायधिवक्ताले छोरीलाई डिम्ब तस्करीमा उन्मुक्ति दिएको, प्रधानमन्त्रीको सचिवालाय नातावाद र कृपावादमा चलेको आरोप समेत लगाए । आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने बताउदै ढुंगानाले देशमा रोजगारीको व्यवस्था गर्नुपर्ने, शासकीय स्वरूपमा सुधार गर्नुपर्ने, विदेशमा रहेका नागरिकलाई मताधिकार दिनुपर्ने, शान्ति सुरक्षाको कायम गर्नुपर्ने, जेन-जी आन्दोलनमा संलग्नलाई धरपकड गर्न नहुनेलगायतका माग राखेर आन्दोलन गर्न लागिएको जानकारी दिए ।
उनले राज्य पुनर्संरचनासहितका विषयमा सर्वपक्षीय गोलमेच सम्मेलन अथवा संबिधान परिमार्जन सभा गठन गरेर सर्वसहमतिले प्रक्रिया पुर्याएर संबिधान सुधार गर्नुपर्ने माग राखेका छन् । उनले जेनजी जानआन्दोलनमा भएको मानवअघिकार उलंघन, घातक दमन, र निहत्था युवाहरुको हत्याको छानबिन गरि दोषीलाई कारवाही गर्नुपर्ने माग समेत गरेका छन् । साथै उनले न्यायालयको विश्वसनीयताका लागि केहि सम्बेदनशील विषय बाहेक अन्य सबै इजलासको प्रत्यक्ष प्रशारण गर्नुपर्ने माग गरेका छन् ।
१०- नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से १९.९२ अंकले घटेर २५९५.१० विन्दुमा पुगेर रोकिएको छ । आज ३४५ कम्पनिका एक करोड १२ लाख ९९ हजार ३३४ कित्ता शेयर ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार ६७१ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज एसवाई प्यानलको शेयर मुल्यमा सर्बाधिक ९.९९ प्रतिशतले बढेको छ भने सिटिजन बैंक डिभेन्चरको शेयर ९.८३ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी सिन्धु विकास बैंकको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबै भन्दा बढी स्वस्तिक लघुवित्तको १३ करोड ५ लाखको कारोबार भएको छ भने बाराही हाइड्रोको ११ करोड ९० लाखको कारोबार भएको छ ।
११- बंगलादेशस्थित भारतीय भिसा आवेदन केन्द्रले चटगाउँस्थित भारतीय भिसा केन्द्र अनिश्चितकालीन बन्द गर्ने घोषणा गरेको छ । चटगाउँस्थित भारतीय सहायक उच्चायुक्तको निवासमा हालै भएको आक्रमणको प्रयासपछि यो निर्णय गरिएको बताइएको छ । केन्द्रले भनेको छ- ‘चटगाउँस्थित भारतीय सहायक उच्चायुक्तको निवासमा हालै भएको सुरक्षा घटनाका कारण यो निर्णय गरिएको हो । चटगाउँमा सबै भारतीय भिसा-सम्बन्धित काम डिसेम्बर २१ देखि अर्को सूचना नभएसम्म निलम्बित रहनेछ । भिसा आवेदन केन्द्रहरू पुन: खोल्ने सम्बन्धमा जानकारी स्थितिको समीक्षा गरेपछि प्रदान गरिनेछ ।’
बंगलादेशी विद्यार्थी नेता उस्मान हादीको मृत्युपछि, बिहीबार राति चटगाउँस्थित भारतीय उच्चायुक्तको निवास अगाडि मानिसहरूको एक समूहले धर्ना विरोध प्रदर्शन गरेको थियो । सामाजिक सञ्जालमा प्रसारित विभिन्न भिडियोहरूमा धेरै व्यक्तिहरूले सहायक उच्चायुक्तको निवासमा ढुङ्गा हानेको देखाइएको छ । त्यसपछि प्रहरीले उनीहरूलाई लाठीले तितरबितर पारेको छ । प्रहरीले पछि घटनास्थलबाट कम्तिमा १२ जनालाई पक्राउ गरेको छ । यसअघि, डिसेम्बर १७ मा, जुलाई ओइक्या नामक प्लेटफर्मले ढाकास्थित भारतीय उच्चायोग घेराबन्दीको घोषणा गरेको थियो । यसपछि, सुरक्षा कारणहरू उद्धृत गर्दै बुधबार दिउँसो जमुना फ्युचर पार्कमा रहेको केन्द्र बन्द गरिएको थियो । यद्यपि, ढाकास्थित भारतीय भिसा आवेदन केन्द्र डिसेम्बर १८ मा पुनः खोलिएको थियो ।
१२- राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालस्थित चिनियाँ राजदूत छन् सोङले बिदाइ भेट गरेका छन् । कार्यकाल पूरा गरेर फर्किन लाग्नुभएका राजदूत सोङले आइतबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा आएर बिदाइ भेट गरेका हुन् । भेटमा अध्यक्ष दाहालले नेपाल बसाइका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्न खेल्नुभएको भूमिकाको प्रशंसा गरेका थिए ।
उनले भने- ‘तपाईँले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ बलियो बनाउन राम्रो भूमिका खेल्नुभएको छ । तपाई जहाँ रहे पनि हामी असल मित्रको रुपमा सम्झिनेछौँ ।’ सो अवसरमा राजदूत सोङले आफ्नो कार्यकालमा प्राप्त सहयोग र सहकार्यका लागि धन्यवाद व्यक्त गरेका थिए । चीन नेपालको असल मित्र भएको र सदैव दुई देशले एक अर्काको संवेदनशीलता र चिन्तालाई गहिरोसँग आत्मसात गरेको उनले बताए । सो अवसरमा राजदूत सोङले आगामी फागुनमा हुने निर्वाचनमा चीनले आवश्यक सहयोग गर्न तयार रहेको पनि बताए ।
१३- अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले गत हप्ता भएको बोन्डी समुद्र तट आक्रमणपछि प्रहरी र राष्ट्रिय गुप्तचर निकायहरूको समीक्षाको घोषणा गरेका छन् । अल्बानीजले आईएसआईएसबाट प्रेरित गत आइतबारको आतंकवादी आक्रमणले हाम्रो देशमा द्रुत गतिमा परिवर्तन भइरहेको सुरक्षा वातावरणलाई प्रकाश पारेको उल्लेख गर्दै राष्ट्रिय गुप्तचर निकायहरूको समीक्षाको घोषणा गरेका हुन् ।
उनले इस्लामिक स्टेट समूहलाई वर्णन गर्न आईएसआईएस शब्द प्रयोग गरेका थिए । अल्बानीजले भने- ‘हाम्रा सुरक्षा निकायहरू प्रतिक्रिया दिनको लागि उत्तम सम्भव स्थितिमा हुनुपर्छ ।’ यहूदी बिदाको समयमा सिड्नीको समुद्र तटमा दुई बन्दुकधारीहरूले गोली चलाउँदा पन्ध्र जनाको मृत्यु भएको थियो। अष्ट्रेलियाले आइतबार मृतकलाई श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय शोक समारोह मनाउँदैछ । कडा सुरक्षा बीच साँझ ६:४७ बजे एक मिनेट मौन धारण गरिनेछ । एक हप्ता अघि सोही समयमा गोलीबारी सुरु भएको थियो । तीन दशकमा अष्ट्रेलियामा यो पहिलो यस्तो घटना हो, जुन घटनापछि सरकारले बन्दुक स्वामित्व नियमहरूलाई कडा बनाउने योजना बनाएको बताएको छ ।
१४- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले बिदाइ भेट गरेका छन् । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तारलगायतका विषयमा छलफल भएको छ ।
सभामुख घिमिरेले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किन लागेका राजदूत छन सोङलाई बधाई दिँदै नेपाल–चीन द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तार तथा दुवै देशका संसदहरूबीच सम्बन्ध मजबुत बनाउन उनले पुर्एको योगदानको उच्च प्रशंसा गरेका थिए ।
सभामुखले राजदूत सोङको नेपाल बसाइ सुखद र अविस्मरणीय रहेको विश्वास व्यक्त गरेका थिए । राजदूत सोङले चीनले नेपाललाई कुटनीतिक सम्बन्धमा उच्च प्राथमिकता दिएको बताए । उनले आफ्नो कार्यकालमा सन् २०२० मा भएको चिनियाँ राष्ट्रपति सी जिनफिङको भ्रमणमा भएका सम्झौता कार्यान्वयनमा महत्वपूर्ण सफलता प्राप्त भएको उल्लेख गरे । राजदूत सोङले आफ्नो चीन वर्षे कार्यकालमा सभामुखसहित नेपालका शीर्ष नेताहरूको न्यानो र सकारात्मक सहयोग सदैव स्मरणीय रहने बताएका थिए ।
१५- शहरी विकास मन्त्रालय अन्तर्गत रहेको अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर जडान गरेको छ । हाल गुह्वेश्वरीवाट ट्रास बेरियर जडान सम्पन्न गरी बागमती नदीका ५ स्थान क्रमशः गोकर्ण ब्यारेज, गुह्वेश्वरी, तिलगंगा आँखा अस्पताल, बाग्मती मनहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा १ स्थान गरी जम्मा ६ स्थानहरुमा रु ६५ लाखमा ठेक्का सम्झौता भई ट्रास बेरियर राख्ने काम धमाधम हुदै छ । ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर वस्तुहरूलाई रोक्ने र एक निश्चित स्थानमा जम्मा गराउने काम गर्दछ ।
काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा र धोबीखोला जस्ता नदीहरूमा शहरीकरण, अव्यवस्थित फोहोर व्यवस्थापन कारण ठूलो मात्रामा तैरिने फोहोर बग्ने गरेको पाईएको हुँदा यस्ता नदीहरूमा ट्रास बेरियर जडान गर्दा नदीको बहावलाई अवरुद्ध नगरी फोहोर मात्र निकाल्न सकिन्छ । जसले गर्दा नदी प्रदूषण न्यूनीकरण गर्न सहयोग पुग्दछ । ट्रास बेरियरबाट संकलित फोहोरलाई नियमित रूपमा निकालेर वर्र्गीकरण, पुनःप्रयोग तथा सुरक्षित रूपमा व्यवस्थापन गर्न समेत सकिन्छ ।
यसले नदी प्रदूषण न्यूनीकरण गर्नुका साथै नदीको सौन्दर्य, जलजीवको संरक्षण र सार्वजनिक स्वास्थ्यमा सकारात्मक योगदान पुग्ने देखिन्छ । नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर वस्तुहरूलाई नदीको बहावलाई अवरुद्ध नगरी रोक्ने र पानीको सतह घटबढसँगै ट्र्यास बैरियरको सतह आफै तलमाथि हुने ढंगले रबरको कन्भेयर बेल्ट र तैरिने भाग सहितको संरचना जडान हुनेछन् ।
१६- दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको गोलीबारीमा १० जनाको मृत्यु भएको छ । स्थानीय दक्षिण अफ्रिकी मिडियाका अनुसार जोहानेसबर्गको पश्चिममा रहेको बेकरसडल टाउनशिपमा अन्धाधुन्ध गोली चल्दा कम्तिमा १० जनाको मृत्यु भएको छ । बन्दुकधारीहरूले एउटा अवैध बारमा प्रवेश गरेर चेतावनी बिना नै भीडमाथि अन्धाधुन्ध गोली चलाएको बताइएको छ, जसले गर्दा आतंक र अराजकता सिर्जना भएको थियो ।
प्रहरीले दुईवटा गाडीमा आएका आक्रमणकारीहरूले बार भित्रका मानिसहरूमाथि गोली चलाएका थिए र घटनास्थलबाट भाग्दै अन्धाधुन्ध गोली चलाइरहेका थिए । प्रहरी आइपुग्नुअघि नै आक्रमणकारीहरू घटनास्थलबाट भागेका थिए । घटनाको बारेमा थाहा पाएपछि आपतकालीन सेवाहरूले घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा पुर्याएका थिए । गोलीकाण्डमा घाइते भएका केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।
प्रहरीले आक्रमणको अनुसन्धान सुरु गरेको छ, तर अहिलेसम्म कुनै पनि संदिग्ध व्यक्ति वा उद्देश्य पहिचान गरिएको छैन। मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने विश्वास गरिएको छ । यो महिना दक्षिण अफ्रिकामा भएको दोस्रो ठूलो गोलीकाण्डको घटना हो । डिसेम्बरको सुरुमा दक्षिण अफ्रिकी राजधानी प्रिटोरिया नजिकै गोलीकाण्डको घटना भएको थियो । बन्दुकधारीहरूले त्यहाँको होस्टेलमा आक्रमण गर्दा तीन वर्षीय बालक सहित १२ जनाको मृत्यु भएको थियो ।
१७- नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको एक सयले घटेर तोलाको २ लाख ५८ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ५८ हजार ४ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको सय रुपैयाँले बढेर ४१०५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४००५ मा कारोबार भएको थियो ।
१८- संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपाललाई नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले कालोमोसो दलेको छ । आइतबार बिहान नेपाललाई उनी बस्ने घरमै क्रान्तिकारीका कार्यकर्ताले कालोमोसो दलेर दुर्व्यबहार गरेका हुन् ।
क्रान्तिकारीले रजिष्ट्रार सिफारिस गर्दा पैसा लिएको उपकुलपति नियुक्त हुनुभन्दा सात दिनअगाडिसम्म नेपालले संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्रमा ताला लगाई विश्वविद्यालयलाई अस्तव्यस्त बनाएको भन्दै कालोमोसो दलेको क्रान्तिकारीले जानकारी दिएको छ ।
विश्वविद्यालयको अवस्था अत्यन्त नाजुक हुँदाहुँदै पनि त्यसतर्फ कुनै चिन्ता–चासो नलिई ठेकेदारहरूसँग कमिसन खाने रजिष्ट्रारलाई साथ दिँदै कार्यकारी परिषद्को बैठक बोलाई विधिविपरीत भुक्तानी गर्ने निर्णय गरेको क्रान्तिकारीले आरोप लगाएको छ ।
१९- स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले सेभियालाई पराजित गरेक छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले सेभियालाई २-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा जुड बेलिङ्घम र किलियन एम्बाप्पेले एक एक गोल गरेका थिए । यो जितपछि रियल म्याड्रिडको १८ खेलमा ४२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । १७ खेल खेलेको बार्सिलोनाको ४३ अंक रहेको छ । त्यस्तै सेभियाको १७ खेलमा २० अंक रहेको छ र हाल लिगमा नवौं स्थानमा छ ।
२०- शिक्षामन्त्री महावीर पुनले विद्यालय शिक्षाको बेथिति अन्त्यका लागि स्थानीय तहका अभिभावकहरू नै सक्रिय हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले मन्त्रालयले दिने निर्देशनले स्थानीय तहका विद्यालयहरूमा सुधार नआउने भन्दै अभिभावकहरूले नै तदारुकता देखाउनुपर्नेमा जोड दिएका हुन् ।
उनले भनेका छन्- ‘नेपाल भरिका धेरै विद्यालयहरुमा भएका मनपरी, बेथिति, भ्रष्टाचार र राजनितिकरण हटाउन स्थानीय अविभावकहरु एकजुट भएर जोडदार आन्दोलन नगरे सम्म र कडा चेतावनीहरु नदिए सम्म सुधार हुन गाह्रो छ । त्यसो गर्ने पुर्ण अधिकार सम्विधानले अविभावकहरुलाई दिएको छ । शिक्षा मन्त्रालयले मात्र काठमाडौँबाट निर्देशन दिएर नपुग्ने भयो। लौ त स्थानिय अविभावकहरु, आफ्नो छोराछोरीहरुको भविष्यको लागि जाग्नुहोस् ।’
FACEBOOK COMMENTS