काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ खेल्ने नेपाली टिमको घोषणा गरेको छ । क्यानले मंगलबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली टिममा हालै सम्पन्न एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल र वसिर अहमदले स्थान बनाएका छन् ।
विश्वकप खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, करण केसी, शेर मल्ल र बसिर अहमद रहेका छन् ।
आईसीसी विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुनेछ । नेपालको समूह बंगलादेश, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन् । नेपालले पहिलो खेल आगामी फेब्रुअरी ८ मा इङल्यान्डसँग, फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा बंगलादेशसँग खेल्ने छ । नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने छ ।
२- बीमा प्राधिकरणले सञ्चालनमा रहेका बीमा कम्पनीहरुले आउँदो १ माघदेखि सबै प्रकारका भुक्तानी विद्युतीय माध्यम (बैंकिङ प्रणाली) बाट गर्न निर्देशन दिएको छ । मंगलबार प्राधिकरणले परिपत्र जारी गर्दै सबै बिमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो ।

प्राधिकरणले निर्देशनमा भनेको छ- ‘त्यहाँबाट हुने सबै प्रकारको भुक्तानीहरु माघ १ देखि सोझै सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामा अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन निर्णायनुसार परिपत्र गरिएको छ ।’ हाल नेपालमा जीवन बीमा, निर्जीवन बीमा, लघु बीमा, पुनर्बीमा कम्पनी तथा इजाजत प्राप्त बीमा दलालहरु सञ्चालनमा छन् ।

३- प्रधानमन्त्री सुशीला कार्कीसँग मधेस प्रदेश प्रदेश प्रमुख सुरेन्द्र लाभले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा विविध समसामयिक विषयमा कुराकानी भएको छ । त्यसक्रममा प्रधानमन्त्री कार्कीले प्रदेश प्रमुख लाभलाई प्रदेशको राजनीतिक समस्या समाधानका क्रममा अभिभावकका रुपमा प्रभावकारी भूमिका खेल्न सफल भएको भन्दै प्रशंसा गरेकी थिइन् । साथै पछिल्ला दिनमा मधेसमा देखिएको सामाजिक समस्या समाधानमा पनि यस्तै भूमिका खेल्न आग्रह पनि गरेकी थिइन् । उनले भनिन्- ‘मधेस प्रदेशमा देखिएको राजनीतिक समस्या समाधानका लागि तपाईँले जुन अभिभावकीय भूमिका खेल्नुभयो, त्यो प्रशंसनीय छ । अझै पनि समाजका सबै पक्ष समेटेर शान्ति र सद्भाव कायम राख्न यस्तै भूमिका खेल्न सक्नुहुनेछ भन्ने मलाई विश्वास छ।’

आउँदो फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको वातावरण बन्दै गएको अवस्थामा यसबीचमा आउन सक्ने सम्भावित चुनौतीहरुतर्फ पनि सतर्क हुनुपर्ने प्रधानमन्त्रीको धारणा थियो । उनले भनिन्- ‘देश अब पूरै निर्वाचनको मुडमा गइसकेको छ । यस्तो समयमा कतिपय तत्त्वले चुनौती खडा गर्न सक्छन्। त्यसतर्फ सचेत रहँदै समाजमा शान्ति, सद्भाव र सहिष्णुता कायम गर्न सबै पक्षले भूमिका खेल्नुपर्ने हुन्छ। तपाईँ पनि अभिभावकका रुपमा पहल गर्नुहोस्। राज्यका सबै संयन्त्र परिचालन गरी चुनावका लागि अनुकूल वातावरण बनाउँदै जानुपर्छ।’ प्रदेश प्रमुख लाभले पनि प्रदेशको शान्ति सुव्यवस्था कायम राख्न आफ्नो तर्फबाट प्रयास गरिरहेको र सुरक्षा तथा प्रशासनिक संयन्त्र परिचालित भइरहेको जानकारी दिए ।

४- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मंगलबार नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शपथ लिएका छन् । नव नियुक्त मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप सुनुवार, उर्जा, खानेपानी तथा सिंचाई मन्त्री तिलचन पाठक, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा भीम पराजुली, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा इन्द्रमणि पराजुली रहेका छन् ।

यस्तै आर्थिक मामिला तथा योजना मन्त्रीमा बिदुर सुब्बा लिन्थेप, सामाजिक विकास मन्त्रीमा रामप्रसाद महतो, स्वास्थ्य मन्त्रीमा मानबहादुर लिम्बु रहेका छन् । त्यस्तै उद्योग कृषि तथा सहकारी मन्त्रीमा इजारयल मञ्सुरी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्यमन्त्रीमा उमाकान्त गौतम र भौतिक पूर्वाधार मन्त्रालयको राज्यमन्त्रीमा शोभा पालुङ्वा लिम्बु रहेकी छन् । यससँगै प्रदेशको मन्त्रिपरिषद् ११ सदस्यीय बनेको छ ।
५- नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनमा राजनीतिक दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ । काँग्रेसको आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले माघ ११ गते आइतबारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरुसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गरेको हो । काँग्रेसले राष्ट्रिय सभा निर्वाचनमा एमाले, नेकपा र जसपा नेपालसँग तालमेल गर्ने भएको छ । कांग्रेसको कार्यसम्पादन समितिको बैठक पुस २३ गते बुधबार बिहान ९ बजे पुनः बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
६- इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा मुसलधारे वर्षाका कारण आएको बाढीमा १६ जनाको मृत्यु भएको छ । इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीले मनसुनी वर्षापछि नदीहरूमा भिषण बाढी आएको जानकारी दिदै अहिलेसम्म १६ जनाको शव फेला परेको बताएको हो । सुलावेसीको उत्तरी छेउबाट लगभग १३० किलोमिटर टाढा अवस्थित सियाउ टापुका चारवटा प्रभावित गाउँहरूमा प्रहरी र सेनाको सहयोगमा आपतकालीन उद्धार भइरहेको एजेन्सीले बताएको छ । बाढीका कारण ६८० भन्दा बढी मानिसहरूले चर्च र सार्वजनिक भवनहरूमा स्थापित अस्थायी राहत शिविरहरूमा आश्रय लिनु परेको छ । मौसममा सुधार आएपछि र बाढीको पानी कम भएपछि उद्धारकर्मीहरूले मंगलबार १६ जनाको शव निकालेका छन् । अन्य तीन जना बेपत्ता व्यक्तिहरूको खोजी जारी रहेको बताइएको छ । राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका अनुसार, डिसेम्बरमा इन्डोनेसियाको सबैभन्दा ठूलो टापु सुमात्रामा आएको गम्भीर बाढी र पहिरोले ५२ शहर र जिल्लाहरूलाई असर गरेको थियो । डिसेम्बरमा बाढी पहिरोबाट ११७८ जनाको मृत्यु भएको र ७,हजारभन्दा बढी मानिसहरू घाइते भएका थिए । त्यस्तै १४८ जना अझै बेपत्ता रहेका छन् ।
७- काठमाडौँको सिनामंगलस्थित काठको गोदाम भएको घरमा भएको भीषण आगलागी नियन्त्रणमा आएको छ । प्रहरीका अनुसार निजी काठ गोदाम रहेको घरमा आगलागी भएको अहिले आगलागी नियन्त्रणमा आएको जनाएको छ । घटनास्थलमा सुरक्षाकर्मीसहित स्थानीयको टोलीले आगो निभाएका थिए । गोदाम ईश्वरबहादुर कार्कीको रहेको र आगलागीको कारण भने र क्षति बारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
८- उदयपुरको त्रियुगा नगरपालिका, वडा नम्बर १ स्थित जागृति महिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मिना कुमारी चौधरीसमेत ४ जनाविरुद्ध समितिको कोष हिनामिना गरेको आरोपमा मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपभोक्ता समितिको ५ लाख १५ हजार ३०२ हिनामिना गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ । अख्तियारले उपभोक्ता समूहकी अध्यक्ष मिना कुमारी चौधरी, सचिव जानकी कुमारी चौधरी र कोषाध्यक्ष निलम चौधरी थारू र दर्तावाल लेखापरीक्षक तनुक लाल चौधरीविरुद्ध ५ लाख १५ हजार ३०२ बिगो माग गर्दै कानुन अनुसार सजाय माग गर्दै मंगलबार मुद्धा दायर भएको जनाएको छ ।
९- नेप्से आज वृद्धि भएको छ । मंगलबार नेप्से ९.९३ अंकले बढेर २६४९.३० विन्दुमा पुगेर रोकिएको छ । आज ३३४ कम्पनिका एक करोड ४८ लाख ३१ हजार २४१ कित्ता शेयर ७ अर्ब १२ करोड ३३ लाख ६५ हजार २९६ मा कारोबार भएको थियो । आज होटल्स र उत्पादन क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज जीवन विकास लघुवित्तको शेयर मुल्य सबैभन्दा बढी ९.९७ प्रतिशतले बढेको छ भने थ्री स्टार हाइड्रोको शेयर ९.५४ प्रतिशतले बढेको छ । त्यस्तै आज रुरु जलविद्युतको शेयर सबैभन्दा बढी ८.४१ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको २४ करोड ८८ लाख बराबरको कारोबार भएको छ भने बुटवल पावर कम्पनिको २३ करोड ६७ लाख बराबरको कारोबार भएको छ ।
१०- नेकपा एमालेले हालै सम्पन्न महाधिवेशनमा उपमहासचिव र केन्द्रीय सदस्यमा पराजित विष्णु रिमाललाई पार्टीको नीति अध्ययन प्रतिष्ठानको प्रमुख बनाएको छ । यस अघि प्रतिष्ठानको प्रमुखमा ईश्वर पोखरेल रहेका थिए । मंगलबार बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा पोखरेललाई हटाएर रिमाललाई सो जिम्मेवारी दिएको हो । आजको बैठकले उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी र अध्यक्ष ओलीको संयोजकत्वमा घोषणा पत्र निर्माण कमिटी गठन गरिएको छ । त्यस्तै सचिवालय बैठकले प्रदेश र निर्वाचनको संयोजक गर्ने गरी नेताहरूलाई जिम्मेवारी दिएको छ । जसअनुसार कोशीको संयोजकमा शेरधन राई, मधेशको संयोजकमा लीलानाथ श्रेष्ठ, बागमतीको संयोजकमा महेश बस्नेत, राजधानी प्रदेसको संयोजकमा डा. राजन भट्टराई, गण्डकीको संयोजकमा खगराज अधिकारी, कर्णालीको संयोजकमा यामलाल कँडेल, सुदूरपश्चिमको संयोजकमा गणेश ठगुन्ना र संगठन विभागको संयोजकमा भानुभक्त ढकाललाई जिम्मेवारी दिएको छ । त्यस्तै आजको बैठकले घोषणा पत्र निर्माण समिति बनाएको छ भने उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा निर्वाचन परिचालन कमिटी निर्माण गरिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।
११- केहि दिनदेखि दुई फरक समुदाय बीचको तनावका कारण अशान्त बनेको वीरगन्जमा धार्मिक र सामाजिक सद्भाव कायमका लागि ५ बुँदे सहमति भएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा सुरक्षा निकायका प्रमुखहरूको रोहबरमा बसेको हिन्दू र मुस्लिम समुदायका अगुवाहरू सम्मिलित सर्वपक्षीय बैठकमा सामाजिक सद्भाव कायम गर्ने लगायतका ५ बुँदे सहमति गरिएपछि साँझ ६ बजेसम्मका लागि लगाइएको कर्फ्यु हटाइएको छ । सहमति पत्रमा हिन्दू र मुस्लिम धर्मका अगुवा, जिल्लामा क्रियाशील राजनीतिक दलका नेताहरूले पनि हस्ताक्षर गरेका छन् भने सहमति भएसँगै वीरगन्जमा सोमबारदेखि लगाइएको कर्फ्यु आज दिउसो साढे ३ बजेदेखि हटाइएको छ । योसँगै आइतबारदेखि अशान्त बनेको वीरगन्जमा कर्फ्यु हटाएसँगै जनजीवन सामान्य बन्दै गएको छ ।
१२- जेनजी अभियन्ता रक्षा बमले नेपाली काँग्रेसलाई युवाहरुलाई धोका दिने एमालेकै बाटोमा हिड्न लागेको आरोप लगाएकी छन् । बमले काँग्रेसका कार्यकर्तालाई सम्बोधन गर्दै परिवर्तनको पक्षमा उभिन आग्रह समेत गरेकी हुन् । उनले भनेकी छन्- ‘आफ्नै पार्टीभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विषयमा दुई खेमामा बाँडिनुभएको छ । हामी स्पष्ट छौँ, तपाईंहरू जो नियमित महाधिवेशनको नाममा यथास्थितिवाद रोजिरहनुभएको छ, तपाईंहरूले हाम्रो आन्दोलनलाई नै अस्वीकार गरिरहनुभएको छ। भदौ २३ मा काँग्रेसभित्रकै जिनजी साथीहरू पनि परिवर्तनको माग गर्दै सडकमा उत्रिनुभएको थियो।उहांहरू आज पनि परिवर्तनको पक्षमा बोलिरहनु भएकै छ र तपाईंहरूले त्यो आवाज पनि निस्तेज पार्न खोजेको जस्तो देखिन्छ ।’ बमले परिवर्तनका लागि आवाज उठाउँदा जनताका छोराछोरीहरू मारिएका र युवापुस्ता घाइते भएको भएको उल्लेख गर्दै निराशाको लामो औँसीबाट थोरै आशाको जून खोजिरहँदा, काँग्रेसमा देखिएको यथास्थितिवादले सिङ्गो देशलाई मास डिप्रेसनमा पुर्याउने खतरा देखिरहेको टिप्पणी गरेकी छन् । उनले भनेकी छन्- ‘नेकपा एमालेले यो मास डिप्रेसन बाँड्दै हिँडिरहेकै छ।आफ्नै विधानलाई लत्याउदै, फेरि पुरानै नेतृत्वलाई निर्वाचित गरेर एमालेले आफ्नो बाटो रोजिसकेको छ ।अब तपाईंहरू पनि त्यही बाटो लाग्दै देशको युवापुस्तालाई धोका दिनुहुन्छ, कि देशको भविष्य कोर्ने सुन्दर बगैँचा निर्माणमा आफ्नो तर्फबाट साथ दिनुहुन्छ । हामी त्यो हेर्न पर्खिरहेका छौँ ।’ बमले आजको असाधारण राजनीतिक संकटमा असाधारण निर्णय आवश्यक रहेको भन्दै काँग्रेसमा विशेष महाधिवेशन अपरिहार्य रहेको बताएकी छन् । उनले तपाईंहरूको आजको यात्राले नै तपाईंहरूको गन्तव्य तय गर्ने बताउदै चुनाव दैलोमै आइपुगेको र मतदाताहरू परिवर्तनको पक्षमा आफ्नो मत खसाल्न तयार रहेको सम्झाएकी छन् ।
१३- कपिलवस्तुका एमाले नेता बृजेश कुमार गुप्तले पार्टी छोडेका छन् । गुप्ताले जेनजी आन्दोलनपछि नयाँ जिम्मेवारीको बोध गराएको भन्दै आफुलाई अर्को बाटो अपनाउन बाध्य बनाएको बताउदै पार्टी छोडेका हुन् । उनले भनेका छन्- ‘देशमा घटेका विभिन्न घटनाक्रमहरूले मेरो मनलाई गहिरो रूपमा छोयो । जेनजीका युवा साथीहरूको अनुरोधले मलाई नयाँ जिम्मेवारीको बोध गरायो । तिनै घटना र तिनै युवाहरूको आवाजले मलाई अर्को बाटो अपनाउन बाध्य बनायो । म त्यो बाटोमा हिँडिरहेको छु र सधैँ हिँडिरहनेछु किनकि मैले सबैको सम्मान गर्न सिकेको छु, सबैको भावनालाई आत्मसात् गर्न सिकेको छु ।’ बृजेशले आफ्ना मतदातालाई प्रश्न गर्दै राजनीतिबाट सन्यास लिनुपर्छ भन्ने भावना छ भने आफुलाई त्यो पनि स्वीकार्य रहेको उल्लेख गर्दै आफुसँग सपना र भिजन रहेको र समाजलाई राम्रो बनाउने सोच र योजना रहेको बताएका छन् । सामाजिक सञ्जालमा उनी रास्वापा प्रवेश गर्न लागेको चर्चा चलिरहेको भएपनि उनले स्पष्ट जानकारी दिएका छैनन् । गत निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका बृजेश कपिलवस्तुको क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका सुरेन्द्र राज आचार्यसँग केवल ३१७ मतले पराजित भएका थिए ।
१४- नेपाली बजारमा आज सुनचाँदी मुल्य आजपनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ३१ सयले बढेर तोलाको २ लाख ६८ हजार एक सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ६५ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १९५ रुपैयाँले बढेर ४८८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४६८५ मा कारोबार भएको थियो ।
१५- सामाजिक अभियन्ता आशिका तामाङले ऊर्जामन्त्री कुलमान घिसिङ लक्षित पोष्ट गर्दै समानुपातिक सूचीप्रति अर्को कटाक्ष गरेकी छन् । आशिकाले ससुरा बा र भान्जाले नाम फिर्ता लिन नमानेको भन्दै आफ्नै रगतको भाइको ससुरा आफ्नै ससुरा हो कि होइन भन्दै प्रश्न समेत गरेकी छन् । उनले भनेकी छन्- ‘भनेपछि ससुरा बा र भान्जाले नाम फिर्ता लिन मानेनन्, आफ्नै रगतको भाइको ससुरा आफ्नै ससुरा होकी होइन ? अनि नाताले आफ्नो भान्जा पर्ने आफ्नो नातेदार हो की होइन ?’ कुलमानले आफू संरक्षक रहेको उज्यालो नेपाल पार्टीको समानुपातिक सूचीमा भान्जादेखि ससुरासम्मको नाम राखेको भन्दै चौतर्फी विरोध जारी रहेको छ । चर्को आलोचनापछि कुलमानले सार्बजनिक रुपमा भने ससुरा र भान्जालाई सिफारिस नगरेको बताएका थिए । यद्यपी उनले पार्टी बैठकमा भने गल्ति भएको र सूची सच्याउने बताएका थिए ।
१६- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३-२४ को घटनासम्बन्धी जाँचबुझ आयोगमा बुझाएको लिखित बयानमा भदौ २४ गते नेपाली सेना परिचालन गर्न प्रायस गरेपनि त्यो सम्भव हुन नसकेको उल्लेख गरेका छन् । जाँचबुझ आयोगमा दिएको लिखित बयानमा उनले २२ भदौको बेलुका राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलन शान्तिपूर्ण हुने, बल प्रयोग नगर्ने र युवा–विद्यार्थीलाई सहयोग गर्ने विषयमा छलफल भएको र आन्दोलनमा घुसपैठ र अराजक समूह प्रवेश भएको कुरा आन्दोलनमा संलग्न युवाहरूले नै स्वीकार गरिसकेको उल्लेख गरेका छन् । त्यसै ओलीले आन्दोलन गर्ने अधिकांश व्यक्ति जेन–जी पुस्ताका नभएको कुरा तत्कालीन फोटो र भिडियोहरूले प्रस्ट देखाएको र २३ भदौमा तोडफोड र एक्कासि गोली प्रहार सुरु भएपछि गृहमन्त्रीसहित सबै सुरक्षा प्रमुखसँग छलफल गरी छानबिन समिति गठन गर्ने निर्णय गरेको बताएका छन् । त्यस्तै ओलीले गौरीबहादुर कार्कीले घटनाकै दिन र त्यसअघि–पछिसमेत सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरिसकेकाले निष्पक्ष प्रतिवेदन आउनेमा आशंका रहेको आफ्नो जवाफमा उल्लेख गरेका छन् । आयोगले घटनाको जाँचबुझ तथा छानबिनको सिलसिलामा ओलीलाई विदेश भ्रमणमा रोक र अनुमति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने गरी असोज १२ मा निर्णय गरिएकोमा सोधपुछलगायत बुझ्ने कार्य सकिएकाले उक्त निर्णयको औचित्य समाप्त भइसकेको भन्दै विदेश भ्रमणमा रोक र स्थान हद सोमबार फुकुवा गरेको छ । ओलीलाई आयोगले आइतबार बयानको पत्र काटेकोमा पत्र लिएर आफ्नो निवास गुण्डु गएको आयोगको टोलीलाई उनले लिखित बयान पठाएका थिए ।
१७- सङ्खुवासभाको भोटकोला गाउँपालिका—२ मा पहिचाहन गरिएको ४५४ मेगावाटको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी लगानी ढाँचा -मोडालिटी तयार भएको छ । निर्माण अवधिको व्याजसहित ९७ अर्ब ९४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजना सरकार र सरकारी निकायहरु संस्थापक रहेको विद्युत उत्पादन कम्पनीले आफैंले गर्नेछ । आयोजनाको कुल लागतमध्ये ७० प्रतिशत अर्थात ६८ करोड ५५ लाख ऋणबाट र ३० प्रतिशत अर्थात २९ अर्ब ३८ स्वःपूँजी (इक्विटी)बाट जुटाउने गरी वित्तीय व्यवस्थापनको मोडालिटी तयार गरिएको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी एचआइडिसिएल,कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनीहरु र बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरणमार्फत ऋण लिने प्रस्ताव गरिएको छ । इक्विटीबाट प्राप्त हुने रकम कम्पनीका संस्थापक र गैह्रआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित जिल्लाका स्थानीय बासिन्दा,अतिविपन्न परिवारका सदस्य र सर्वसाधारणलाई शेयर निश्कासन गरी संकलन गरिनेछ । किमाथाङ्का अरुणको अध्ययन तथा पूर्वनिर्माण खर्च ७३ करोड १४ लाख रुपैयाँ खर्च भएको छ । आयोजनाको कार्यालय तथा कर्मचारी आवास (क्याम्प) निर्माणका लागि जग्गा अधिग्रहण भइसकेको छ । बाँध, जलाशय, विद्युतगृहलगायतका संरचना निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि मुआब्जा तथा क्षतिपूर्ति निर्धारण भइसकेको छ । यसका लागि करिब ४५ करोड रुपैयाँ लाग्नेछ । आयोजनाबाट वार्षिक रुपमा २ अर्ब ६९ करोड युनिट (२६९०.९७ गिगावाट आवर) विद्युत उत्पादन हुनेछ । यसमध्ये हिउँदयामको पिक तथा अफ पिक ऊर्जा क्रमश ः ४७ करोड ३१ लाख तथा ३५ करोड ३३ लाख र वर्षायामको १ अर्ब ८६ करोड ४६ लाख युनिट रहेको छ । उक्त विद्युत बिक्रीबाट वार्षिक रुपमा १६ अर्ब ९१ करोड रुपैयाँ आम्दानी हुनेछ ।
१८- भेनेजुएलाविरुद्धको अमेरिकी कारबाही र त्यसपछि अपदस्थ राष्ट्रपति निकोलस मादुरोको पक्राउले विश्वव्यापी राजनीतिमा उल्लेखनीय हलचल मच्चाएको छ भने, स्विस सरकारले अब यस विषयमा एउटा महत्वपूर्ण कदम चालेको छ । स्विस सरकारले निकोलस मादुरोको स्विट्जरल्याण्डमा रहेका सबै सम्पत्तिहरू तुरुन्तै रोक्का गरेको छ ।स्विस संघीय सरकारले अनुसन्धानले यी सम्पत्तिहरू अवैध रूपमा प्राप्त गरिएको पत्ता लगायो भने, भेनेजुएलाका जनताको हितमा प्रयोग गर्ने प्रयास गरिने बताएको छ । स्विस सरकारले यो निर्णय तुरुन्तै लागू भएको र मादुरोसँग सम्बन्धित सबै स्विस सम्पत्तिहरू सबै रोक्का गरिएको बताएको छ । सरकारले स्विट्जरल्याण्डको सर्वोच्च कार्यकारी निकाय, संघीय परिषद्ले जनवरी ५, २०२६ मा यो निर्णय गरेको थियो । स्विस सरकारले यो कदमको पछाडिको उद्देश्य वर्तमान परिस्थितिमा कुनै पनि शंकास्पद सम्पत्ति देश बाहिर स्थानान्तरण नगरियोस् भन्ने सुनिश्चित गर्नु भएको बताएको छ । सरकारले यो सम्पत्ति रोक्का वर्तमान भेनेजुएला सरकारका सदस्यहरूमा लागू नहुने स्पष्ट गरेको छ । यदि भविष्यका कानुनी अनुसन्धानहरूले यी कोषहरू गैरकानूनी रूपमा कमाइएको प्रमाणित गरेमा, स्विट्जरल्याण्डले भेनेजुएलाका जनताको हितमा तिनीहरूलाई प्रयोग गर्ने प्रयास गर्नेछ । स्विट्जरल्याण्डले यो नयाँ निर्णय २०१८ देखि भेनेजुएलामाथि प्रतिबन्ध ऐन अन्तर्गत लगाइएको प्रतिबन्धहरूको अतिरिक्त हो । नयाँ कारबाही छुट्टै कानून, विदेशी नेताहरूको अवैध सम्पत्ति फ्रिज गर्ने र फिर्ता गर्ने ऐन अन्तर्गत लिइएको हो, जसले स्विट्जरल्याण्डमा पहिले स्वीकृत नभएका व्यक्तिहरूलाई लक्षित गर्दछ । जनवरी ३ मा अमेरिकी सेनाले काराकसमा निकोलस मादुरोलाई पक्राउ गरी अमेरिका लागेको थियो । यसपछि, भेनेजुएलाको अवस्था अत्यन्तै तनावपूर्ण र अनिश्चित छ । स्विट्जरल्याण्डले सबै पक्षहरूलाई तनाव कम गर्न, संयम अपनाउन र अन्तर्राष्ट्रिय कानूनको पालना गर्न अपील गरेको छ । शान्तिपूर्ण समाधानको लागि स्विस सरकारले मध्यस्थताको प्रस्ताव पनि गरेको छ । यो सम्पत्ति फ्रिज गर्ने आदेश तुरुन्तै लागू भएको छ र चार वर्ष वा अर्को सूचना नभएसम्म लागू रहनेछ । स्विस सरकारले यो निर्णयले मादुरोले कसरी सत्ता छोडे वा त्यो कानुनी थियो कि थिएन भन्ने कुरालाई ध्यानमा नराख्ने स्पष्ट गरेको छ । विद्युत उत्पादन कम्पनीमा सरकारको ३० प्रतिशत, नेपाल विद्युत प्राधिकरण, कर्मचारी सञ्चय कोष तथा नेपाल टेलिकमको १०÷१०, नागरिक लगानी कोषको ५, एचआइडिसिएल ४, राष्ट्रिय जीवन बीमा कम्पनीको २ प्रतिशत संस्थापक शेयर स्वामित्व रहेको छ । सर्वसाधारणका लागि २९ प्रतिशत सेयर छुट्याइएको छ ।
१९- इजिप्ट र नाइजेरिया जारी अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा पुगेका छन् । गएराती सम्पन्न खेलमा इजिप्टले बेनिनलाई ३-१ गोल अन्तरले पराजित गरेर प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवैले १-१ गोल गरेपछि खेल ३० मिनेट अतिरिक्त खेलाइएको थियो । इजिप्टको जितमा मारवान अट्टीया, यासर इब्राहिम र मोहमद सलाहले एक एक गोल गरेका थिए । त्यस्तै बेनिनका लागि एक गोल जोडेल डोससोउले गरेका थिए । त्यसैगरी गएराती नै सम्पन्न अर्को खेलमा नाइजेरियाले मोजाम्बिकलाई ४-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । नाइजेरियाको जितमा भिक्टर ओसिमहेनले दुई गोल गरेका थिए भने अडेमोला लूकम्यान र अकोर एडमसले एक एक गोल गरेका थिए । अब क्वाटरफाइनलमा इजिप्ट र नाइजेरियाले प्रतिष्पर्धा गर्ने छन् । जारी प्रतियोगितामा यसअघि माली, सेनेगल, मोरक्को र क्यामरुन क्वाटरफाइनलमा पुगिसकेका छन् । राउण्ड १६ अन्तर्गत आज अल्जेरिया र डिआर कंगो तथा आइभरी कोष्ट र बुर्किना फासो खेल्दैछन् ।
२०- गत वर्ष नेपाली सिनेमा उद्योगलाई ‘ब्लकबस्टर’ सिनेमा दिएको ‘बोक्सीको घर’को टिम नयाँ चलचित्र निर्माणको सहकार्यमा जुटेको छ । अभिनेत्री केकी अधिकारी र निर्देशक सुलक्षण भारतीको टिमले नयाँ चलचित्र ‘पेट्रोल पम्प’ निर्माणको घोषणा गरेको हो । ‘बोक्सीको घर रिलिजको समयमा हामीले कुनै इन्ट्रेस्टिङ प्रोजेक्ट र समय मिलेको खण्डमा हामी पुनः सहकार्यमा जुट्ने छौँ भनेका थियौँ,’ केकीले भनिन्, ‘त्यो समय अहिले पेट्रोल पम्ममार्फत आएको छ ।’ चलचित्रलाई सुलक्षण भारतीले निर्देशन गर्नेछन् । चलचित्रमा कथा पनि निर्देशक सुलक्षणले नै लेखेका छन् । प्रोडुसर भने केकी अधिकारी हुनेछिन् । यसअघिको चलचित्र ‘बोक्सीको घर’मा पनि लेखक तथा निर्देशक पनि सुलक्षण नै थिए । प्रोडुसरमा केकी नै थिइन् । सोसल ड्रामा चलचित्र ‘पेट्रोल पम्प’ विसं. २०८३ मा रिलिज हुनेछ । चलचित्रमा को–को कलाकार हुनेछन् भन्ने निर्माणपक्षले खुलाएका छैन । ‘पेट्रोल पम्पमा को–को कलाकार रहनेछन् भने हामी केही समयमा विस्तृत जानकारी दिनेछौँ । प्राविधिक पनि को–को हुनुहुनेछ हामी विस्तारै जानकारी दिँदै जानेछौँ,’ केकीले भनिन् । ‘बोक्सीको घर’मा भने केकी र सुलक्षण दुवैले अभिनय गरेका थिए । केकी मुख्य भूमिकामा थिइन् । बद्री अधिकारी निर्माता रहेको ‘बोक्सीको घर’ले नेपाली बक्सअफिसमा ११ करोडभन्दा माथि ग्रसकलेक्सन गरेको थियो । केकीको पहिलो निर्माण नै बल्कबस्टर भएको थियो । यो सिनेमाको ‘बुझिन मैले’ गीत भाइरल भएको थियो ।
Single Image
FACEBOOK COMMENTS