काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- निर्वाचन आयोगमा समानुपातिकको सुची बुझाउने क्रम जारी रहेको बेला केहि युवाले आयोगको कार्यस्थलमै पुगेर नाराबाजी गरेका छन् । केहि युवाहरुले निर्वाचन धोका भएको भन्दै प्रधानमन्त्री सुशिला कार्कीको राजीनामा मागेका थिए । उनीहरुले पहिला निकास दिएर मात्र निर्वाचन गर्नुपर्ने र निर्वाचन गर्नका लागि मात्र जेनजी आन्दोलन नभएको बताएका थिए । केहि बेर नाराबाजी गरेका उनीहरुलाई प्रहरीले आयोग परिसरबाट बाहिर निकालेको थियो ।
२- सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएसँगै मुलुक सम्पूर्ण रूपमा निर्वाचनमा होमिएको बताएका छन् । स्मार्ट हुलाक घोषणा एवम् शुभारम्भ कार्यक्रलाई सम्बोधन गर्दै मन्त्री खरेलले सबै दलबाट सूची दर्ता भएसँगै निर्वाचन प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको उल्लेख गरे ।
उनले विषम परिस्थितिमा पनि निर्वाचन हुँदै आएकाले यसपटक पनि सुरक्षा निकाय पूर्ण तयारी अवस्थामा रहेको र शान्ति सुरक्षाको वातावरणमा कुनै समस्या नरहेको दाबी गरे । मन्त्री खरेलले निर्वाचनको पहिलो सर्त नै शान्ति सुरक्षा भएको उल्लेख गर्दै सरकारले मतदाता ढुक्क भएर मतदान गर्न सक्ने वातावरण निर्माण गरिरहेको बताए । देशको विकास र समृद्धिका लागि सबैलाई निर्वाचनमा सक्रिय सहभागिता जनाउन र योग्य उम्मेदवारलाई विजयी गराउन उनले आग्रह गरे ।
हरेक निर्वाचनमा उठ्ने इ–भोटिङ तथा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषय यसपटक पनि चर्चामा आए पनि सरकारले यसमा अझै प्रयास जारी राखेको मन्त्री खरेलको भनाइ थियो । अन्तरजिल्ला तथा वैकल्पिक मतदान प्रणालीबारे छलफल भइरहेको जानकारी पनि उनले दिए ।

३- श्रम शक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेन शाह जहाँबाट चुनाव लडेपनि हराउने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै साम्पाङले बालेनलाई चुनावमा हराउने चेतावनी दिएका हुन् । उनले भनेका छन्- ‘बालेनलाई चुनावमा हराउनेछौँ ! जहाँबाट उम्मेद्वारी दिन्छ त्यहीँ हामी हराउनेछौँ !’ बालेन र रवि लामिछानेबीच एकता भएपछि उनी सामाजिक सञ्जालमा आक्रामक बन्दै हरेक दिन आलोचना गरिरहेका छन् । साम्पाङले दिनमा सय भन्दा पोष्ट गर्दै बालेन र रवि लामिछानेसहित कुलमान घिसिङलाई निशाना बनाउदै आएका छन् । एक पोष्टमा उनले भनेका छन्- ‘कुलमान, रवि र बालेन यी तिनै जना एमसीसी पक्षधर हुन् ! नभए लु एमसीसीको विरोध गरेर देखाऊन् त ! देश बेचुवाहरु !’

४- महालेखा नियन्त्रक कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ को सङ्घ, प्रदेश र स्थानीय सरकारको एकीकृत वित्तीय विवरण पेस गरेको छ । सोमबार महालेखानियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र महालेखा परीक्षक तोयम रायासमक्ष छुट्टा-छुट्टै पेस गरेका हुन् । सङ्घीय सञ्चित कोषको सञ्चालन र तीन वटै तहका सरकारको एकीकृत वित्तीय विवरण र प्रतिवेदन तयार पारी पेस गर्ने जिम्मेवारी महालेखा नियन्त्रक कार्यालयले गर्दै आएको छ

। नेपाल सरकारबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामान तथा महालेखा परीक्षकबाट स्वीकृत लेखा ढाँचाअनुरूप तयार पारिएको प्रस्तुत विवरण तथा प्रतिवेदनमा सङ्घ, प्रदेश र स्थानीय सरकार र बजेट प्रणाली बाहिरका निकायका प्रचलित कानुनले तोकेका विवरण पनि प्रतिवेदनमा समावेश गरिएको जनाइएको छ । प्रतिवेदन अनुसार आ.ब. २०८१।८२ मा सङ्घ, प्रदेश र स्थानीय सरकारहरुको संचित कोषमा एक खर्ब ८ अर्ब ९९ करोड ६ लाखले ऋणात्मक रहेता पनि नगद अबस्था भने एक खर्व ४ अर्ब १३ करोड ८४ लाखले धनात्मक रहनुका साथै सङ्घ, प्रदेश र स्थानीय सरकारहरु र एक्स्ट्रा बजेटरी निकायका विभिन्न कोषहरुको मौज्दात रकमको आधारमा नगद तथा बैंक मौज्दात एक खर्व ८८ अर्ब ९४ करोड ५८ लाखले धनात्मक रहेको छ ।

५- प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेट गरेका छन् । सोमबार अध्यक्ष दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयस्थित प्रधानमन्त्री कार्कीको कार्यकक्षमा भेट गरेका हुन् । भेटका क्रममा आसन्न प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सदस्यको निर्वाचन, राष्ट्रिय सभाका गतिविधिलगायत विषयमा कुराकानी भएको थियो । अध्यक्ष दाहालले राष्ट्रिय सभाको अधिवेशन बोलाउन र सुविधा कटौती पनि नगर्न आग्रह गरेका थिए ।

६- फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकको सूची बुझाउने क्रम जारी रहेको छ । निर्वाचन आयोगले आइतबार र सोमबार समानुपातिक सूची बुझाउन समय दिए बमोजिम आज सुची बुझाउने अन्तिम दिन हो ।
दलहरुले समानुपातिकतर्फको बन्दसूची बुझाउने क्रम जारी रहेको छ । अहिलेसम्म नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी माक्सवादी (पुष्पलाल), गतिशील लोकतान्त्रिक पार्टी, जसपा नेपाल, समावेशी समाजवादी पार्टी, समावेशी समाजवादी पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टीलगायतले समानुपातिकको बन्द सूची बुझाइसकेका छन् । समानुपातिक सुची बुझाउन नेपाली कांग्रेस, एमालेसहितका दलका नेताहरु अहिले आयोग पुगिसकेका छन् ।
७- यातयात व्यवस्था कार्यालय, भरतपुर चितवनमा कार्यरत कार्यालय सहयोगी ईन्द्रजित गुरुङ उपर घुस लिएको आरोपमा मुद्धा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ ३० गते घुस लिएको एक लाख ८५ हजार नगदसहित पक्राउ परेका गुरुङके पञ्जिकरण, ब्लुबुक, जाँचपास र परमिट नवीकरण लगायतका सार्वजनिक सेवा कार्यहरु गर्न गराउन सहजीकरण गरे गराए वापत सेवाग्राहीसँग घुस लिएकोले विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।
८- भुटानका बायाँ हाते स्पिन बलर सोमन येशीले म्यानमारविरुद्धको टी-२० खेलमा आठ विकेट लिएर नयाँ किर्तिमान बनाएका छन् । उनी टी-२० खेलमा आठ विकेट लिने विश्वकै पहिलो बलर बनेका छन् । २२ वर्षीय सोमनले आफ्नो चार ओभरमा केवल सात रन दिए र म्यानमारको शीर्ष क्रमलाई पूर्ण रूपमा ध्वस्त पारेका थिए । पहिले ब्याटिङ गर्दै भुटानले म्यानमारलाई १२७ रनको लक्ष्य दिएको थियो तर जवाफमा म्यानमार ४५ रनमा अलआउट भयो । यससँगै भुटानले पाँच खेलको टी-२० शृङ्खला ५-० ले जित्यो । सोमन येशीले यस सिरिजमा कुल १३ विकेट लिए । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार, अहिलेसम्म एक टी-२० खेलमा जम्मा छ बलरले सात विकेट लिएका छन् । यी मध्ये दुई पुरुष खेलाडी छन् भने चार महिला खेलाडी छन् ।
९- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो चरणको समानुपातिक प्राइमरी निर्वाचनमा १० हजारभन्दा बढी मत प्राप्त गरेका उमेदवारको सूची सार्वजनिक गरिएको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पार्टीको समानुपातिक सूचीतर्फ सबैभन्दा धेरै मत रमेश प्रसाईंले १८ हजार २२३ मत प्राप्त गरेका छन् । त्यस्तै टासी लोजोमले आदिवासी जनजातिअन्तर्गत तेस्रो नम्बरमा सबैभन्दा धेरै मत प्राप्त गरेकी छन् ।
लोजोमले १३ हजार ७२ मत पाएकी छन् । आदिवासी जनजाति महिलातर्फ सबैभन्दा धेरै मत बढी गायिका सत्यकला राईले १४ हजार २०१ मत प्राप्त गरेकी छन् । त्यस्तै इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा उमेदवार बनेर पराजित मिलन लिम्बूले १३ हजार ५९ मत प्राप्त गरेका छन् । त्यस्तै दलिततर्फ विजय जैरुले सबैभन्दा धेरै १३ हजार १४३ मत पाएका छन् भने खसआर्यतर्फको सूचीमा प्रसाईंपछि प्रमोद न्यौपानेले १४ हजार १६७ मत प्राप्त गरेका छन् । खसआर्यको महिलातर्फ रञ्जु दर्शनाले सबैभन्दा धेरै १३ हजार ५५१ मत प्राप्त गरेकी छन् । त्यस्तै टीका संग्रौला (ज्वाला) ले १३ हजार १०६, लिमा अधिकारी (आचार्य) ले १२ हजार ७६०, समीक्षा बास्कोटाले १२ हजार ४६० मत पाएका छन् ।
त्यसैगरी विपीनकुमार आचार्यले १२ हजार २४५, क्रान्तिशिखा धितालले ११ हजार ७८१, प्रतिभा रावलले ११ हजार ७२१ मत प्राप्त गरेका छन् भने स्वस्तिका लामिछाने ११ हजार ५४६ मत पाएकी छन् । त्यसैगरी मधेसीतर्फ पुनमकुमारी अग्रवालले सबैभन्दा धेरै १५ हजार ७४५ मत प्राप्त गरेकी छन् । त्यस्तै मुस्लिमतर्फ समिना मियाले सबैभन्दा धेरै १५ हजार ९६७ मत पाएकी छन् । थारूतर्फ प्रेमलाल चौधरीले सबैभन्दा धेरै १७ हजार ४२५ मत प्राप्त गरेका छन् । रास्वपाले शनिबारदेखि सोमबार बिहान ११ बजेसम्म समानुपातिक उम्मेदवार छान्न आन्तरिक मतदान गरेको थियो ।
१०- नेप्से आज दोहोरो अंकले घटेको छ । सोमबार नेप्से १०.५३ अंकले घटेर २६२२.८८ विन्दुमा पुगेर रोकिएको छ । आज ३३७ कम्पनिका एक करोड ३७ हजार ३०७ कित्ता शेयर ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ मा कारोबार भएको थियो । आज विकास बैंक र म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज एसवाई प्यानलको शेयरमा सकारात्मक सर्किट लागेको छ भने ग्लोबल आइएमइ सम्मुन्नत योजना -२ को शेयर ९.९४ प्रतिशतले बढेको छ । त्यस्तै आज वीन नेपाल लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको २३ करोड २ लाख र कारोबार भएको छ भने मन्जुश्री फाइनान्सको १७ करोड ९८ लाखको कारोबार भएको छ ।
११- जनता समाजवादी पार्टी (जसपा) फुटेको छ । सोमबार जसपा सह-अध्यक्ष रेणु यादवसहित बहुमत केन्द्रीय सदस्यहरू जनता समाजवादी पार्टी नेपालसँग पुन: एकता गरेको घोषणा गरेका हुन् । जसपाका सह-अध्यक्ष रेणु, सचिव प्रदीप यादवसहितका बहुमत केन्द्रीय सदस्यहरूले एकताका लागि सहमतिमा हस्ताक्षर गरेको जानकरी दिएका छन् ।
सहमति पत्रमा जनता समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टीका सह-अध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरूसहित जसपा, नेपाल पार्टीसँग एकीकरण गरिएको उल्लेख गरिएको छ । एकतापछि प्रदीप यादवले मधेश र मधेशी जनताको अधिकार सुनिश्चित्तताका लागि एकीकृत भएको प्रतिक्रिया दिए ।
उनले भनेका छन्- ‘मधेश आन्दोलनको उपलब्धिको रुपमा रहेको संघीयता गणतन्त्रको संरक्षण एवं सम्वर्द्धन तथा मधेश र मधेशी जनताको अधिकार सुनिश्चित्तताका लागि बदलिदो राजनैतिक परिवेशमा जनता समाजवादी नेपाल र जनता समाजवादी पार्टीको एकता अपरिहार्य रहेकाले मधेशी जनताको चाहना र जनअपेक्षालाई सिरोधार्य गरी एकता भएको घोषणा गर्दछु ।’ आइतबार मात्र जसपा नेपाल र लोसपाले पनि एकताको घोषणा गरेका थिए ।
१२- पुर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिएका छन् । लेखकले सोमबार सिंहदरबारस्थित आयोगको कार्यालयमा पुगेर भदौ २३ र २४ गतेको घटनासम्बन्धी लिखित बयान दिएका हुन् । आयोगले गत शुक्रबारसम्म बयान दिन पत्र लेखेको भएपनि लेखकले सोमबार बयान दिन आउने जानकारी आयोगलाई गराएको बताएका थिए । आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई गत मंगलबार पत्र लेख्दै बयानका बोलाएको थियो । आफ्नो अनुसन्धानको अन्तिम चरणमा रहेको आयोगले लेखकको बयानपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिने तयारी गरेको छ ।
१३- दक्षिण कोरियाली राष्ट्रपति ली जे-म्युङ आधिकारिक राष्ट्रपति निवास, चेओङ वा दाई पुगेका छन् । जुनमा पदभार ग्रहण गरेपछि राष्ट्रपति दरबारको यो उनको पहिलो भ्रमण थियो । पूर्व राष्ट्रपति युन सुक-योलले राष्ट्रपति दरबारलाई रक्षा मन्त्रालय परिसरमा सारेको तीन वर्षदेखि राष्ट्रपति दरबार खाली थियो । दक्षिण कोरियाली राष्ट्रपतिको आधिकारिक निवास एक ऐतिहासिक भवन हो, जसलाई ब्लू हाउस भनिन्छ । मे ९, २०२२ पछि दक्षिण कोरियाली राष्ट्रपतिले ब्लू हाउसको भ्रमण गरेको यो पहिलो पटक हो ।
मे ९, २०२२, तत्कालीन राष्ट्रपति मुन जे-इनको कार्यकालको अन्तिम दिन थियो । उनका उत्तराधिकारी युन सुक-योलले राष्ट्रपति दरबारलाई रक्षा मन्त्रालय भवनमा सारेका थिए । डिसेम्बर २०२४ मा, युन सुक-योललाई देशमा मार्शल ल लगाएको आरोप लगाइएको थियो र उनलाई सत्ताबाट हटाइएको थियो। त्यसपछिको चुनावमा ली जे-म्युङले सत्ता सम्हालेका थिए । ब्लू हाउस उत्तरी सियोलको पहाडको फेदमा अवस्थित छ, शहरको कोलाहलबाट टाढा रहेको छ । ऐतिहासिक जियोङबोकगुङ दरबार नजिकै अवस्थित यो ६२ एकडको ऐतिहासिक भवनले दक्षिण कोरियाले जापानी शासनबाट स्वतन्त्रता पाएदेखि राष्ट्रपतिको आधिकारिक निवासको रूपमा काम गर्दै आएको छ । यद्यपि, युन सुक-योलले राष्ट्रपति दरबार जनताको लागि पहुँचयोग्य नभएको विश्वास गरे र अधिक लोकतान्त्रिक दृष्टिकोण उद्धृत गर्दै, राष्ट्रपति दरबारलाई रक्षा मन्त्रालय परिसरमा स्थानान्तरण गरे । यसमा धेरै पैसा खर्च भयो, जसको लागि युनको आलोचना गरिएको थियो । युनले ब्लू हाउसलाई संग्रहालयमा परिणत गरे र जनताको लागि खुला गरेका थिए ।
१४- गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि । अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति दिएको छ । क्षतिग्रस्त सडक तथा पुल मर्मत तथा पुनर्निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पेश गरेका कार्यक्रममा अर्थ मन्त्रालयले स्रोत सहमति प्रदान गरेको छ । क्षति भएका मेची राजमार्ग, माइखोला पुल राजदुवाली, माइखोला पुल बेलवासे, पुवाखोला पुल, जोगमाईखोला पुल, मेची करिडोरको मर्मत तथा पुनर्निर्माणमा उक्त रकम खर्च गरिने छ ।
अर्थ मन्त्रालयले चालू आवका लागि तत्काल आवश्यक पर्ने ५४ करोड रुपैयाँ निकासा दिएको छ । स्रोत सहमति प्राप्त भएकाले अव सडक तथा पुल पुनर्निर्माणका लागि खरिद (टेण्डर) प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले विपद्बाट क्षतिग्रस्त सडकका संरचना मर्मत तथा पुनर्निर्माणका लागि स्रोत सुनिश्चित भएकाले टेण्डरको प्रक्रिया तत्काल अगाडि बढाउन सडक विभागलाई निर्देशन दिएका छन् ।
उक्त कार्य विभाग मातहतको सडक डिभिजन, इलामले कार्यान्वयन गरिनेछ । ३९ जनाको मृत्यु र ठूलो भौतिक संरचनामा क्षति पुग्नेगरी मनसुनजन्य विपद् घटना भएपछि सरकारले २३ असोजमा इलामलाई ३ महिनाका लागि ‘विपद् संकटग्रस्त’ घोषणा गरेको थियो । २५ असोजमा मन्त्री घिसिङ, सचिव केशवकुमार शर्मा, गृहसचिव रामेश्वर दंगाल, सडक विभागका महानिर्देशक विजय जैसी र राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेशराज भट्टको टोलीले इलाम पुगेर विपद्को क्षति निरीक्षण गरेको थियो ।
टोलीले विपद्बाट प्रभावितका भएका घरपरिवारका लागि तत्काल राहत उपलब्ध गराउने, क्षति पुगेका संरचनाको तत्काल मर्मत सम्भार गरी जनजीवन सामान्य बनाउने र आवश्यक तत्कालीन तथा दीर्घकालीन योजना ल्याउने प्रतिबद्धता जनाएको थियो । सबैभन्दा बढी रकम मेची राजमार्गको पुनर्निर्माणका लागि १ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति प्रदान गरिएको छ । मेची राजमार्गअन्तर्गतकै माइखोला मोटरेवल स्थायी पुल राजदुवालीका लागि २० करोड, मेची करिडोरको माइखोलामा मोटरेवल स्थायी पुल वेलासेका लागि २५ करोड, पुवाखोला र जोगमाईखोला पुलमा बेली ब्रिज निर्माण गर्न ५-५ करोड र मेची राजमार्गको बैकल्पिक सडकको रुपमा रहेको मेची करिडोरका लागि १४ करोड रुपैयाँको स्रोत सुनिश्चिता प्रदान गरिएको छ । यसमध्ये, मेची राजमार्गका लागि २५ करोड, माइखोला राजदुवाली तथा माइखोला पुल वेलासेका लागि क्रमश: ५ तथा १० करोड र मेची करिडोरका लागि ४ करोड रुपैयाँ चालु आवमा तत्काल आवश्यक रकम निकासा दिइएको छ । दुई वटा बेली ब्रिजका लागि आवश्यक सम्पूर्ण रकम निकासा दिइएको छ ।
१५- गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पुस १२ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्म झरी पछिको इन्द्रेणीले ६२ लाख ६९ हजार ४७५ कमाई गरेको छ । फिल्मले अहिलेसम्म १९ हजार ७९३ टिकट बिक्री भएको छ । त्यस्तै परानले अहिलेसम्म करिब १७ करोडभन्दा बढी कमाई गरेको छ । परानले अहिलेसम्म १७ करोड ६७ लाख ३६ हजार ८२८ ग्रस कमाई गरेको छ ।
त्यस्तै यस अवधिमा परानले ६ लाख २७ हजार ५८५ टिकट बेचेको छ । त्यस्तै निकै प्रचार गरिएको अभिमन्यु च्याप्टर-१ भने बक्स अफिसमा असफल भएको छ । यस फिल्मले अहिलेसम्म २१ लाख ५० हजार ४०२ ग्रस कमाई गरेको छ । यस फिल्मका ६ हजार ८६१ टिकट बिक्री भएको छ । त्यस्तै फिल्म पीआरले ६ लाख ७५ हजार ३३ कमाई गरेको छ भने लोकन्तीले ४ लाख १२ हजार ५४० कमाई गरेको छ ।
१६- चीनले ताइवान नजिक सैन्य अभ्यास सुरु गरेपछि सो क्षेत्रमा तनाव बढ्ने संकेत देखिएको छ । चीनले यी अभ्यासहरू ‘पृथकतावादी शक्तिहरू’ लाई चेतावनी दिनको लागि गरिएको बताएको छ । चिनियाँ सेनाका अनुसार यी अभ्यासहरूमा सेना, नौसेना, वायुसेना र रकेट फोर्स तैनाथ गरिएको छ । यी अभ्यासहरूमा प्रत्यक्ष फायर ड्रिलहरू पनि समावेश छन् । यी सैन्य अभ्यासहरूलाई ‘न्याय मिसन २०२५’ नाम दिइएको छ ।
अमेरिकाले ताइवानलाई ११ अर्ब डलरको प्रमुख हतियार प्याकेज बेच्ने घोषणा गरेको केही दिनपछि यी अभ्यासहरू भइरहेका छन् । चीनले यस निर्णयको कडा विरोध गरेको छ र प्रतिक्रियामा अमेरिकी रक्षा कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको छ । यस वर्ष आफ्नो रक्षा तयारीलाई अझ बलियो बनाउने ताइवानको प्रयासबाट चीन पनि चिन्तित देखिएको छ । चीनले ताइवानलाई आफ्नो क्षेत्रको हिस्सा मान्छ, जबकि ताइवानले आफूलाई एक स्वतन्त्र देश मान्दछ । ताइवानलाई स्वतन्त्र देशको रुपमा अमेरिकाको बलियो समर्थन रहेको छ ।
१७- यसबर्षको ग्लोबल सकर अवार्ड प्रदान गरिएको छ । दुबईमा आयोजित विशेष कार्यक्रममा विश्व फुटबलमा २०२५ मा उत्कृष्ट प्रदर्शन गरेका फुटबलरलाई ग्लोबल सकर अवार्ड प्रदान गरिएको हो । फ्रान्स र पीएसजीका फरवार्ड उसमान डेम्बेले बर्षको उत्कृष्ट फुटबलरको अवार्डबाट सम्मानित भएका छन् । त्यस्तै महिला उत्कृष्ट खेलाडीमा स्पेन र बार्सिलोनाकी फरवार्ड एइताना बोनमति बनेकी छन् । त्यस्तै ग्लोबल सकरको उत्कृष्ट प्रशिक्षकको अवार्ड पीएसजीका प्रशिक्षक लुइस इनरिकले पाएका छन् ।
त्यस्तै पिएसजीका पोर्चुगल र पीएसजीका भिटीन्हाले बर्षको उत्कृष्ट मिडफिल्डरको अवार्ड जितेका छन् भने स्पेन र बार्सिलोनाका लामिन यमलले बर्षको उत्कृष्ट फरवार्डको अवार्ड जितेका छन् । त्यस्तै डेसिरे डुएले उत्कृष्ट इमर्जिङ खेलाडीको अवार्ड जितेका छन् । त्यसैगरी अल नासरबाट खेलिरहेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले मिडल इस्टको उत्कृष्ट खेलाडीको अवार्ड दिइएको छ । त्यस्तै ग्लोबल सकर अवार्डमा पोर्चुगलले उत्कृष्ट राष्ट्रिय टिमको अवार्ड जितेको छ । यस अवार्ड कार्यक्रममा टेनिस खेलाडी नोभाक जोकोभिचलाई ग्लोब स्पोर्ट्स अवार्ड प्रदान गरिएको थियो ।
१८- उत्तर कोरियाले फेरि एक पटक आफ्नो सैन्य शक्ति प्रदर्शन गरेको छ । यसैको एक भागको रूपमा, यसले समुद्रमा लामो दूरीको रणनीतिक क्रूज क्षेप्यास्त्र परीक्षण गरेको छ । यो परीक्षण देशको आणविक क्षमता परीक्षण गर्न गरिएको थियो । यो कदम यस्तो समयमा आएको हो, जब उत्तर कोरियाले आफ्नो पहिलो आणविक पनडुब्बीको निर्माणलाई तीव्र पार्दै कोरियाली प्रायद्वीपमा तनाव बढाइरहेको छ । उत्तर कोरियाको राज्य समाचार एजेन्सी, केसीएनएका अनुसार, देशको पश्चिमी तट नजिकै आइतबार क्षेप्यास्त्र परीक्षण गरिएको थियो । उत्तर कोरियाली नेता किम जोङ उन परीक्षणमा उपस्थित थिए ।
उनले देशको आणविक शक्तिको विश्वसनीयता परीक्षण गर्नु र यसको सैन्य क्षमता प्रदर्शन गर्नु बाह्य खतराहरू विरुद्ध आत्मरक्षा र युद्ध रोक्नको लागि एक जिम्मेवार कदम भएको सो अवसरमा बताएको उल्लेख गरेका थिए । अर्कोतर्फ, दक्षिण कोरियाको सेनाले पनि आइतबार बिहान उत्तर कोरियाको राजधानी क्षेत्रबाट धेरै क्रूज क्षेप्यास्त्र प्रहार गरिएको पुष्टि गर्यो । दक्षिण कोरियाले संयुक्त राज्य अमेरिकासँगको सैन्य गठबन्धन अन्तर्गत उत्तर कोरियाको कुनै पनि उत्तेजनाको जवाफ दिन पूर्ण रूपमा तयार रहेको बताएको छ । अन्तर्राष्ट्रिय कानूनको साथ जारी राख्दै, संयुक्त राष्ट्र सुरक्षा परिषद्ले उत्तर कोरियालाई ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्न निषेध गर्दछ । यद्यपि, क्रूज मिसाइल परीक्षणमा प्रत्यक्ष प्रतिबन्ध छैन । यद्यपि, यी मिसाइलहरू संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका लागि खतरनाक मानिन्छन् किनभने तिनीहरू कम उचाइमा उड्छन्, सजिलै दिशा परिवर्तन गर्न सक्छन् र राडारबाट बच्न सक्छन् ।
विज्ञहरू युद्धको अवस्थामा, उत्तर कोरियाले तिनीहरूलाई अमेरिकी युद्धपोत र विमान वाहकहरूमा आक्रमण गर्न प्रयोग गर्न सक्छ । गत हप्ता, उत्तर कोरियाले नयाँ विमान विरोधी मिसाइलहरूको परीक्षण गरेको थियो । यसले आणविक शक्तिले चल्ने पनडुब्बीको तस्बिरहरू पनि जारी गर्यो, जसले यसको लगभग पूर्ण संरचना देखाउँछ । यसले यो पनडुब्बी आणविक मिसाइलहरूले सुसज्जित हुन सक्छ । आणविक पनडुब्बीहरू धेरै उन्नत हतियार प्रणालीहरू मध्ये एक हो जुन किम अमेरिकाको नेतृत्वमा रहेको सुरक्षा खतराहरूको सामना गर्न तैनाथ गर्न चाहन्छन् । २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आणविक वार्ता असफल भएदेखि, उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रममा बढी जोड दिएको छ । यद्यपि, सेप्टेम्बरमा, किमले अमेरिकाले उत्तर कोरियाको पूर्ण आणविक निशस्त्रीकरणको माग त्यागेमा वार्ता पुनः सुरु हुन सक्ने बताएका थिए ।
१९- नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ६ सयले घटेर तोलाको २ लाख ७० हजारमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ७० हजार ६ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले बढेर ४८९५ रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि आइतबार चाँदी तोलाको ४८३५ मा कारोबार भएको थियो ।
२०- आपूर्ति अवरोध, बलियो औद्योगिक माग र थप अमेरिकी ब्याजदर कटौतीको कारणले विश्वबजारमा चाँदीको मुल्य लगातार बढिरहेको छ । चाँदी विश्वको सबैभन्दा मूल्यवान सम्पत्ति मध्ये एक बन्न पुगेको छ, बजार मूल्यमा टेक दिग्गज एप्पल र अल्फाबेटलाई उछिनेर विश्वको तेस्रो ठुलो मुल्यवान सम्पत्ति बनेको छ । चाँदीको बजार विश्वव्यापी पूँजीकरण ४.४ ट्रिलियन डलर पुगेको छ । जो एनभिडिया भन्दा केवल ८.१ प्रतिशत मात्र पछाडी रहेको छ ।
एनभिडियाको ४.६ ट्रिलियन डलर रहेको छ । पछिल्लो अपडेट सुन ३१.५ ट्रिलियन डलरको बजार पूँजीकरणको साथ सबैभन्दा मूल्यवान सम्पत्तिको रूपमा धेरै अगाडि छ । त्यसैगरी एप्पलको ४.०५ ट्रिलियन डलर बजार पुँजीकरण रहेको छ भने अल्फाबेटको ३.८ ट्रिलियन डलर रहेको छ । चाँदीको मूल्यमा तीव्र वृद्धि ऐतिहासिक मूल्य वृद्धिको बीचमा आएको छ। चाँदीको पछिल्लो कारोबार मुल्य प्रति औँस ८० डलर पुगेको छ । जुन अहिलेसम्मकै उच्च मुल्य हो । चाँदी २०२५ मा १८१ प्रतिशतले वृद्धि भएको छ । अमेरिकी फेडरल रिजर्भको ब्याज दर कटौती र भूराजनीतिक तनाव, देशहरूले अमेरिकी धितोपत्र र डलरबाट टाढा जान खोज्दा केन्द्रीय बैंकहरूबाट बलियो माग, र विनिमय-व्यापारित कोषहरूमा बढ्दो होल्डिंग सहित कारकहरूको एक ककटेलले चाँदीको मुल्यलाई प्रभावित पारेको छ ।
FACEBOOK COMMENTS