काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा-२ बाट प्रतिनिधि सभाको उम्मेदवार बन्ने भएका छन् । डा. भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोरखा- २ मा उम्मेदवार बन्ने जानकारी दिएका हुन् । उनी सोहि निर्वाचन क्षेत्रबाट २०७४ को निर्वाचनमा नेपाली काँग्रेसको सहयोगमा विजयी भएका थिए तर २०७९ को निर्वाचनमा भने उनले तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि छोडिदिएका थिए ।
आफ्नो उम्मेदवारी बारे जानकारी दिदै उनले भनेका छन्- ‘गोरखा-२ का पार्टी साथीहरू, आम मतदाता, अन्य दलभित्रका समेत शुभचिन्तकहरूको जोडबल र देशको अन्योलपूर्ण राजनीतिक अवस्थाले सिर्जना गरेको राष्ट्रिय दायित्वबोधलाई ध्यान दिंदै आगामी आम निर्वाचनमा गोरखा-२ बाटको चुनाव चिन्ह ‘खुलेको आँखा’ लिएर उम्मेदवारी दिने निर्णयमा पुगेको छु । सबैबाट सहयोग र सद्भावको अपेक्षा गर्दछु ।’
२- अधिवक्ता स्वागत नेपाल राप्रपा नेपालबाट झापा-२ मा प्रतिनिधि सभाको उम्मेदवार बन्ने भएका छन् । राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार सोमबार राप्रपाको तर्फबाट झापा-२ का लागि राप्रपा केन्द्रीय कार्यालयमा उमेदवारी घोषणा गर्ने कार्यक्रम तय भएको छ । स्वागत नेपाल गत निर्वाचनमा झापा-२ मा स्वतन्त्र उम्मेदवार बन्दै नेकपा एमालेका देवराज घिमिरेसँग पराजित भएका थिए । दोस्रो स्थानमा रहदै उनले २६ हजार ४५५ मत प्राप्त गरेका थिए भने उनी २२६१ मत अन्तरले पराजित भएका थिए ।
३- धरानका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले पदबाट राजीनामा दिएका छन् । साम्पाङले आइतबार उपप्रमुख आइन्द्रविक्रम बेघालाई राजीनामा पत्र बुझाएका हुन् । श्रम संस्कृति पार्टी खोलेर सक्रिय राजनीतिमा होमिएका साम्पाङ प्रतिनिधि सभाको निर्वाचनमा सुनसरी-१ बाट उम्मेदवार बन्ने तयारी गरेका छन् । त्यस्तै धरान उपमहानगर–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि राजीनामा दिएका छन् । उनलाई नेकपाले सुनसरी क्षेत्र नम्बर १ बाटनै साम्पाङविरुद्ध उम्मेदवार बनाएको छ । सुनसरी-१ मा अघिल्लो निर्वाचनमा तत्कालिन जसपा नेपालबाट अशोक राई विजयी भएका थिए ।

४- निर्वाचन आयोगले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई कारबाही गर्न साइबर ब्युरोलाई पत्राचार गरेको छ । प्रसाईले गगन थापालाई नेपाली काँग्रेसको आधिकारिकता दिन ५२ करोड रकम लेनदेन गरेको आरोप लगाएपछि आयोगले प्रसाईंमाथि अनुसन्धान गरी कारबाहीको प्रक्रिया अघि बढाउन ब्युरोलाई पत्राचार गरेको हो ।

सामाजिक सञ्जालमा प्रसाईले लगाएको आरोप बारेको भिडियोका आधारमा आयोगले निर्णय गरी अनुसन्धान गर्न ब्युरोलाई पत्राचार गरेको जनाएको छ । गत शुक्रबार नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको कार्यसमितिलाई आयोगले अध्यावधिक गर्ने निर्णय गरेपछि प्रसाईले शनिबार आयोगले पैसा लिएर निर्णय गरेको आरोप लगाएका थिए ।

५- जनकपुरबाट भेडेटारमा शैक्षिक भ्रमणका लागि आएको एक निजी विद्यालयको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । आइतबार दिउँसो करिब सवा ४ बजे धरानको जिरो प्वाइन्टमा जनकपुरस्थित इन्टरनेशनल टेम्स एकेडेमीको को १ ख ७११९ नम्बरको बस दुर्घटनामा परेको हो । सुनसरी प्रहरीका अनुसार भेडेटार घुमेर फर्कने क्रममा बस अनियन्त्रित भई दुर्घटना भएको हो । उक्त बसमा विद्यार्थी नभई विद्यालयका शिक्षक तथा कर्मचारीहरू सवार थिए ।

जिरो प्वाइन्टमा एउटा स्कुटरलाई बचाउने क्रममा अनियन्त्रित भई बस सडक छेउको एक मेडिकल पसलमा ठोकिएको र त्यसपछि सडकमा पल्टिएको थियो । दुर्घटनामा ५ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस्तै, घाइते १७ जनालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पुर्याइएको छ ।

६- धान बाली उत्पादन ४.२० प्रतिशतले घटेको छ । कृषि मन्त्रालयले यस बर्ष धानको उत्पादन ५७ लाख ५ हजार १२६ मेट्रिक टन भएको जानकारी दिदै गत बर्षभन्दा ४.२० प्रतिशतले घटेको हो । आर्थिक बर्ष २०८१-८२ मा धानको उत्पादन ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन उत्पादन भएको भएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयलले धान बालीको तथ्याङ्क सातवटै प्रदेशका कृषि विषय क्षेत्राधिकार भएका प्रदेश मन्त्रालयबाट प्राप्त तथ्याङ्कलाई आधार लिएर बनाएको जानकारी दिएको छ ।
आर्थिक बर्ष २०८१-८२ मा धान बाली भित्राइएको कुल क्षेत्रफल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफल रहेकोमा चालु आर्थिक बर्षमा ३.८ प्रतिशतले घटेर १३ लाख ७६ हजार ८७२ हेक्टर क्षेत्रफल कायम रहेको मन्त्रालयले उल्लेख गरेको छ । यसै गरि आर्थिक बर्ष २०८१-८२ मा ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन उत्पादन भएकोमा चालु आर्थिक बर्षमा ४.२० प्रतिशतले कमी भई ५७ लाख ५ हजार १२६ मेट्रिक टन उत्पादन भएको जानकारी मन्त्रालयले दिएको छ । यसै गरी उत्पादकत्व गत आर्थिक बर्षमा ४.१९ मेट्रिक टन प्रति हेक्टर रहेकोमा आर्थिक बर्ष २०८२-८३ मा उत्पादकत्व १.१६ प्रतिशतले घटेर ४.१४ मेट्रिक टन प्रति हेक्टर हुन पुगेको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक बर्ष २०८१-८२ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिव २५.१६ प्रतिशत रहको छ भने कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमा धानबालीको योगदान करिव १२ प्रतिशत रहेको छ । धान बालीको क्षेत्रफलमा कमी आउनुमा मुख्यगरि पहाडी क्षेत्रमा देखिएको बसाईसराई, युवाहरुको विदेश प्रतिको आकर्षण एवं फलफूल तथा नगदेबालीको क्षेत्रफलमा भएको वृद्धि छन् भने तराई एवं शहरी क्षेत्रमा वृद्धि भैरहेको आप्रवासन, जमिनको औद्योगिक एवं अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोग जस्ता कारणले धानबालीको क्षेत्रफलमा केही कमी आएको छ ।
यसै गरि मधेश प्रदेशमा विशेष गरि धान लगाउने समयमा परेको खडेरीका कारण धान लगाएको क्षेत्रफलमा कमी आई धानको क्षेत्रफल घटेको हुँदा समग्रमा धान बालीको क्षेत्रफलमा कमी आएको हो । यस आर्थिक वर्षमा उन्नत बीउ बिजन र मलखादको पर्याप्त उपलब्धता हुँदा हुँदै पनि प्रतिकूल मौसमका कारण उत्पादकत्वमा केही कमी आएको मन्त्रालयले जनाएको छ । त्यस्तै धान बालीको क्षेत्रफल र उत्पादकत्वमा कमी भएका कारण चालु आर्थिक बर्षमा समग्र धान उत्पादनमा कमी आएको मन्त्रालयले उल्लेख गरेको छ ।
७- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आइतबार मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले सोमबारदेखि आचारसंहिता लागु गर्ने निर्णय गरेको हो । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शीता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता बनाई लागू गरेको आयोगले जनाएको छ । आचारसंहिताबारे आजै आयोगका पदाधिकारीहरूले मन्त्रिपरिषद्का सदस्य र उच्चपदस्थ सरकारी कर्मचारीलाई जानकारी समेत गराएको छ ।
८- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले उम्मेदवार छनोटप्रति असन्तुष्टि व्यक्त गर्दै फरक मत पार्टी कार्यालयमा दर्ता गरेका छन् । भट्टराईले आइतबार पार्टी कार्यालय च्यासलमा आफ्नो फरक मत दर्ता गराएका हुन् । शनिबार बसेको सचिवालय बैठकमा फरक मत राखेका भट्टराईले पार्टी नेतृत्वले १औँ महाधिवेशनको प्रतिस्पर्धा गरेकाहरुलाई किनारा गरिएको उल्लेख गरेका छन् । त्यस्तै उनले उमेदवार छनोट गर्दा मापदण्ड नबनाएको, पार्टीको निष्ठाभन्दा पनि टिकट वितरणमा नेतृत्वको पक्षधरतालाई प्राथमिकता दिइएको आरोप लगाएका छन् ।
उनले उम्मेदवार छनौटमा कार्यकर्तामाथि अन्याय भएको विषय पनि आफ्नो फरक मतमा उठाएका छन् । शनिबारको सचिवालय बैठकले अधिकांश क्षेत्रमा प्रतिनिधि सभाका उम्मेदवार टुंगो लगाएको छ । उपमहासचिव भट्टराईसहित कैयौं सिट अहिलेसम्म ‘होल्ड’ गरिएको छ । ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका ईश्वर पोखरेलसहितका नेताहरुलाई टिकट दिइएको छैन । पोखरेल पक्षबाट प्रतिष्पर्धा गरेका गोकर्ण विष्टलाई मात्र टिकट दिइएको छ ।
९- स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले राजीनामा दिएका छन् । स्वास्थ्य बीमाको भुक्तानीमा समस्या भएका कारण अस्पतालहरूले बीमा सेवा बन्द गर्न शुरु गरेपछि कार्यकारी निर्देशक काफ्लेले राजीनामा गरेका हुन् । ४० करोड भुक्तानी बाँकी रहेको भन्दै यही १ माघदेखि महाजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रममार्फत उपचार बन्द गरेको थियो । बीमा बोर्डका अनुसार देशभरका ५१० वटै सेवाप्रदायक अस्पतालहरूलाई साढे १० अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको छ । २०७२ देखि शुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयनको अभावमा बन्द हुने अवस्थामा पुगेको छ ।
१०- बालेन्द्र शाह (बालेन) ले काठमाडौँ महानगरको प्रमुख पदबाट राजीनामा गरेका छन् । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नु अघि बालेनले राजीनामा गरेका हुन् । बालेनले उपप्रमुख सुनिता डंगोललाई राजीनामा बुझाएका हुन् । उपप्रमुख डंगोलले बालेनको राजीनामा स्वीकृत गरेकी छन् । बालेनले राजीनामा गरेपछि आजदेखि नै रास्वपाको राजनीतिमा सक्रिय हुदैछन् ।
११- नेप्सेमा आज वृद्धि भएको छ । आइतबार नेप्से ३१.१२ अंकले बढेर २६७२.५५ विन्दुमा पुगेर रोकिएको छ । आज ३३८ कम्पनिका एक करोड ६६ लाख ११ हजार ४७९ कित्ता शेयर ८ अर्ब ४० करोड २७ लाख ९७ हजार ७७५ मा कारोबार भएको थियो । आज बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज सागर डिस्टिलरी, उन्नति सहकार्य लघुवित्त, श्रीनगर एग्रो र गोर्खा फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज थ्री स्टार हाइड्रोको शेयर सबै भन्दा बढी ८.७८ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी मन्जुश्री फाइनान्सको ५३ करोड १६ लाख बराबरको कारोबार भएको छ भने एसवाई प्यानलको ३७ करोड ३९ लाख बराबरको कारोबार भएको छ ।
१२- ग्रीनल्याण्डमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोध शुरु भएको छ । ग्रीनल्याण्डको विलयको बारेमा अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइप्रति आफ्नो आक्रोश व्यक्त गर्दै हजारौं मानिस सडकमा उत्रिएका छन् । उनीहरुले ग्रीनल्याण्ड बिक्रीमा नभएको बताउदै ट्रम्पविरुद्ध प्रदर्शन गरेका छन् । हिउँले भरिएका सडकहरूको बीचमा, प्रदर्शनकारीहरूले ग्रीनल्याण्डको राजधानी नुउक शहरबाट अमेरिकी वाणिज्य दूतावाससम्म मार्च गरेका थिए । उनीहरूले राष्ट्रिय झण्डा फहराए र विरोध पोस्टरहरू बोकेका थिए ।
रिपोर्टका अनुसार ग्रीनल्याण्डमा भएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो प्रदर्शन मानिन्छ, जसमा नुउकको जनसंख्याको लगभग एक चौथाई भाग उपस्थित रहेको थियो । यसैबीच, अमेरिकाले अमेरिकी विलयको धम्कीको विरोध गर्दै आठ युरोपेली देशहरूमा १० प्रतिशत कर लगाउने घोषणा गरेको छ । यसले ट्रम्प विरुद्ध ग्रीनल्याण्डको आक्रोशलाई अझ बढाएको छ । युरोपेली संघका सांसदहरूले अमेरिकासँगको व्यापार सम्झौताको अनुमोदन रोक्ने तयारी गरिरहेका छन् । युरोपेली पिपुल्स पार्टी (इपिपी) का अध्यक्ष म्यानफ्रेड वेबरले ट्रम्पको ग्रीनल्याण्ड धम्कीका कारण अमेरिकासँगको सम्झौतालाई अनुमोदन गर्न असम्भव भएको बताएका छन् ।
१३- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले माघ ६ गते हुने उम्मेदवारको मनोनन दर्ता रोक्न माग गरेको छ । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत माग ६ गते मंगलबार उम्मेदवारको मनोनयनको कार्यतालिका रहेको छ । काँग्रेसको विवाद सर्वोच्च अदालतमा पुगेपछि देउवा पक्षले दायर गरेको रिटमा मंगलबारको मनोनयन दर्ता रोक्नुपर्ने माग गरेको हो ।
देउवा पक्षले सर्वोच्चमा दिएको रिटमा उम्मेदवारी चयन रोक्न, निर्वाचन आयोगले दिएको निर्णय बदर गर्न र विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति भंग गर्न माग गरेको छ । आज पेश भएको रिट दर्ता भएर मंगलबार पेसी तोकिने बताइएको छ । यसैबीच देउवा पक्ष आजै निर्वाचन आयोग पुगेर सर्वोच्चमा रिट दर्ता भएको र गगन थापा पक्षको उम्मेदवारी चयन र मनोनयन दर्ता रोक्न र मनोनयनको अर्को मिति तोक्न परमादेश पनि माग गरेका छन् । देउवा पक्षले रिटको प्रतिलिपी आयोगमा पेश गरेर रिट बारे जानकारी गराएको छ ।
१४- राष्ट्रिय सभाका तीन सदस्यले राजीनामा दिएका छन् । संसद सचिवालयका अनुसार नेकपाका नेता नारायणकाजी श्रेष्ठ, राष्ट्रपतिबाट मनोनित सांसद वामदेव गौतम र एमालेकी नेतृ भगवती न्यौपानेले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष आइतबार आज राजिनामा दिएका हुन् । उनीहरुले फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न राष्ट्रिय सभा छोडेका हुन् । तिनै जनाको कार्यकाल आगामी फागुन २० गते सकिदैछ । नेकपाका नेता श्रेष्ठ सर्लाही ३ मा उम्मेदवार बन्ने तयारी गरेका छन् भने नेकपाकै अर्का नेता बामदेव गौतम बर्दिया-१ बाट उम्मेदवार बन्दैछन् । त्यस्तै नेकपा एमालेकी नेतृ न्यौपाने तनहुँ- १ बाट उम्मेदवार बनेकी छन् ।
१५- आइसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरको पहिलो खेलमा नेपालल थाइल्याण्डसँग पराजित भएको छ । टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा थाइल्याण्डले नेपाललाई ८ विकेटले पराजित गरेको हो । नेपालले दिएको १२३ रनको लक्ष्य पछाएको थाइल्याण्डले १६.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।
थाइल्याण्डका लागि नथ्थकन चान्थमले सर्बाधिक ५७ रन बनाएकी थिइन् भने नान्नापत कोन्चारोएनकाईले ३२ र अपिसारा सुवान्चोनरथीले २८ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर सिता राना मगरले २ विकेट लिएकी थिइन् । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा अल आउट हुदै १२२ रन बनाएको थियो । नेपालका लागि बिन्दु रावलले सर्बाधिक ४४ रन बनाएकी थिइन् भने सम्झना खड्काले २६ रन बनाएकी थिइन् । त्यस्तै रुबिना क्षेत्रीले १७ र पुजा महतोले १२ रन बनाएकी थिइन् । त्यस्तै थाइल्याण्डकी बलर थिपातचा पुथावोंगले सर्बाधिक ४ विकेट लिएकी थिइन् । अब नेपालले अर्को खेल विहिबार नेदरल्याण्डससँग खेल्ने तालिका छ भने थाइल्याण्डले मंगलबार जिम्बाबेसँग खेल्ने छ ।
१६- राष्ट्रियसभाको १९औं अधिवेशन आजदेखि शुरु भएको छ । सिंहदरबारस्थित संसद सचिवालयमै राष्ट्रियसभाका निम्ति तयार गरिएको हलमा बैठक बसेको हो । आजको बैठक राष्ट्रियसभाका सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव पारित गरेर सकिएको छ । शोक प्रस्ताव पारितसँगै बैठक अब शुक्रबार माघ ९ बस्ने गरी बैठक स्थगित गरिएको छ । गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवनमा आगजनी भएपछि सिंहदरबारस्थित संसद सचिवालयमै राष्ट्रिय सभाको बैठक बस्ने गरी तयारी गरिएको थियो ।
१७- नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको तोलाको ६ सयले बढेर तोलाको २ लाख ७७ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ७७ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले घटेर तोलाको ५६२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५६४५ रुपैयाँमा कारोबार भएको थियो ।
१८- नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने निर्णय गरेको छ । एमाले सचिव महेश बस्नेतका अनुसार शनिबार बसेको सचिवालय बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने निर्णय गरेको हो । अध्यक्ष ओली झापा-५ बाट चुनाव लड्ने भएका छन् । उनको यो आफ्नै क्षेत्र हो । पछिल्लो निर्वाचनमा उनले यस क्षेत्रबाट २८ हजार ५७६ मत अन्तरले जित हासिल गरेका थिए । अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ भने नेपाली काँग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको छ ।
१९- फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा चितवन -३ मा रोचक प्रतिष्पर्धा हुने भएको छ । यस पटक चितवन-३ मा नेकपाबाट रेणु दाहाल, रास्वपाबाट सोबिता गौतम र राप्रपाबाट बिक्रम पाण्डे उम्मेदवार बन्दैछन् । रास्वपाले सोबितालाई चितवन-३ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ । सोबिता अघिल्लो निर्वाचनमा काठमाडौँ-२ बाट विजयी भएकी थिइन् । काठमाडौँ- २ बालेन शाहले आफु या आफ्नो पक्षका लागि लिएको बुझिएको छ । त्यस्तै नेकपाबाट भरतपुर महानगरकी प्रमुख रहेकी रेणु दाहाल राजीनामा गरेर चुनावी मैदानमा उत्रिने भएकी छन् ।
गत निर्वाचनमा यस क्षेत्रबाट राप्रपाका नेता विक्रम पाण्डेले ९ हजार २३६ मत अन्तरले विजयी भएका थिए । त्यस्तै यस क्षेत्रमा काँग्रेसले अझै उम्मेदवार टुंगाएको छैन । गत निर्वाचनमा काँग्रेस र माओवादीको गठबन्धनका बीच पनि काँग्रेस नेता दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दिदै १२ हजार २७५ मत प्राप्त गरेर चौथो स्थान हासिल गरेका थिए । त्यस्तै गत निर्वाचनमा यस क्षेत्रमा रास्वपाबाट जीता बरालले १४ हजार ८४३ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेकी थिइन् ।
२०- गत वर्ष अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले लगभग चार हजार कर्मचारी कटौती गरेको थियो । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि, बजेट कटौतीले एजेन्सीको काममा प्रत्यक्ष प्रभाव पारेको थियो । ठूलो संख्यामा अनुभवी कर्मचारीहरू बाहिरिएपछि अनुसन्धान, नयाँ प्रविधि र भविष्यका मिसनहरूको गति सुस्त भएको छ । विज्ञहरूले कर्मचारीहरूको अभाव केवल प्रशासनिक समस्या मात्र होइन, तर यसले नासाको दीर्घकालीन योजनाहरूलाई पनि कमजोर बनाएको बताएका छन् । धेरै महत्त्वपूर्ण परियोजनाहरू समय तालिकाभन्दा पछाडि चलिरहेका छन्, जसले अन्तरिक्षमा अमेरिकाको नेतृत्वमाथि प्रश्न उठाएको छ ।
अपोलो मिसन पछि, पहिलो पटक, अमेरिका चन्द्रमामा पुगेको देखिन्छ। नासाको आर्टेमिस कार्यक्रमले गम्भीर ढिलाइको सामना गरिरहेको छ । अन्तरिक्ष प्रक्षेपण प्रणाली र ओरियन क्याप्सुल जस्ता प्रविधिहरू पुरानो भइसकेका छन्, जबकि तिनीहरूको लागत पनि धेरै उच्च छ। थप रूपमा, चन्द्रमा ल्यान्डर र अन्य आवश्यक प्रणालीहरू अझै तयार छैनन् । बारम्बार नेतृत्व परिवर्तन र राजनीतिक दबाबले लामो रणनीतिलाई कमजोर बनाएको छ। एकै समयमा, चीनको अन्तरिक्ष कार्यक्रम बढी योजनाबद्ध र स्थिर देखिन्छ । २०२४ मा, चीनले चाङ’ई-६ मिसन मार्फत चन्द्रमाको टाढाको भागबाट नमूना खसालेर विश्वलाई चकित पारेको थियो ।
यो उपलब्धिलाई भविष्यको मानव मिसनको दिशामा ठूलो कदम मानिन्छ । चीन विशेष गरी चन्द्रमाको दक्षिणी ध्रुवमा रहेको पानी र बरफको स्रोतमा केन्द्रित छ । यद्यपि अमेरिका अझै पनि विश्वव्यापी अन्तरिक्ष अर्थतन्त्रमा बलियो स्थितिमा छ, चीनले यो खाडललाई द्रुत गतिमा कम गर्दैछ । चीनमा, सरकारी र निजी कम्पनीहरूले रकेट, उपग्रह र नयाँ प्रविधिहरूमा सँगै काम गरिरहेका छन्। यसको विपरीत, अमेरिकाको अन्तरिक्ष कार्यक्रम त्यस्तै देखिन्छ । कोषको अनिश्चितता, नेतृत्वको अभाव र दीर्घकालीन सोचको अभावले भविष्यमा अन्तरिक्ष दौडको सन्तुलन परिवर्तन गर्न सक्ने विश्लेषण शुरु भएको छ ।
FACEBOOK COMMENTS