काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- ‘सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ भन्ने नारासहित चाडपर्व लक्षित यात्रु सहायता कक्ष–२०८३ सञ्चालनमा आएको छ । काठमाडौंको नयाँबसपार्कमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक शुशिल सिंह राठौरले रिबन काटेर सहायता कक्षको शुभारम्भ गरेका हुन् । विजया दशमी, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुलाई सुरक्षित, व्यवस्थित र सहज यात्रा गराउने उद्देश्यले यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, सामुदायिक प्रहरी, यातायात व्यवसायी तथा उपभोक्ता समूहको संयुक्त पहलमा सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । नयाँबसपार्कसहित माछापोखरी, टोखा, तीनपिप्ले, भीमढुंगा, नाङ्लेभार, कलंकी, बल्खु, नागढुंगा, कोटेश्वर, चाबहिल, फर्पिङ, साँखु, चापागाउँ र जगाती गरी उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिनेछ । शुभारम्भ कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक राठौरले चाडपर्वका समयमा यात्रुको बाध्यता र चापलाई अनुचित आर्थिक लाभको अवसर बनाउन नहुने बताए। क्षमताभन्दा बढी यात्रु चढाउने, तोकिएभन्दा बढी भाडा असुल्ने, टिकटमा कालोबजारी गर्ने, टिकट नदिने, अनावश्यक शुल्क लिने वा यात्रुमाथि दुर्व्यवहार गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गरिने उनले बताए ।
यात्रु सहायता कक्षबाट यात्रुको गुनासो सम्बोधन, भाडादरको निगरानी, फर्जी टिकटमाथि कारबाही, आधिकारिक व्यक्तिबाट टिकट जारी भए–नभएको जाँच तथा मनसुनजन्य विपद्का कारण सवारी आवागमन अवरुद्ध भए त्यसबारे जानकारी दिइनेछ। यात्रुको सुरक्षाका लागि आवश्यक सूचना तथा सचेतना पनि कक्षबाट उपलब्ध गराइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
२- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागेश्वरी मनोहरा नगरपालिकाकी इन्जिनियर दिपा कार्कीसहित तीन जनाविरुद्ध घुस लिएर भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । आरोपपत्रमा इन्जिनियर कार्की, आस्मा कार्की र आशिष पौडेललाई प्रतिवादी बनाइएको छ । अख्तियारका अनुसार भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुखसमेत रहेकी दिपा कार्कीले घर निर्माणको संरचनागत विश्लेषण स्वीकृत गर्नेलगायतका काममा सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो ।

अनुसन्धानका क्रममा अख्तियारको टोलीले इन्जिनियर कार्की र रकम लिएर मध्यस्थको भूमिका निर्वाह गर्ने आस्मा कार्कीलाई ६४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । अनुसन्धानबाट दिपा कार्कीले आस्मा कार्की र आशिष पौडेलसँगको मिलेमतोमा घर निर्माणको संरचनागत विश्लेषण स्वीकृति तथा सिफारिस, नक्सा पास, घर निर्माण सिफारिस, अस्थायी अनुमति र निर्माण सम्पन्नलगायतका काममा सहजीकरण गरिदिने भन्दै आफूहरूका लागि २ लाख ८ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारको दाबी छ ।

सोही आधारमा कार्कीविरुद्ध २ लाख ८ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार कैद र बिगोबमोजिम जरिवाना माग गरिएको छ । त्यस्तै, आस्मा कार्कीलाई मुख्य कसुरदारलाई सहयोग गर्ने मतियारका रूपमा २ लाख ८ हजार रुपैयाँ बिगो कायम गरी मुख्य कसुरदारसरह सजायको मागदाबी गरिएको छ। अर्का प्रतिवादी आशिष पौडेललाई १ लाख ४४ हजार रुपैयाँ बिगो कायम गरी मुख्य कसुरदारसरह सजाय माग गरिएको अख्तियारले जनाएको छ । अख्तियारले तीनै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को सम्बन्धित व्यवस्थाबमोजिम सजायको मागदाबी गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

३- नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता असोज १९ गते हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको मनोनयन पत्र दर्ता असोज १९ गते हुने जानकारी दिदै योग्य उम्मेदवारलाई तोकिएको समयभित्र मनोनयन दर्ता गर्न आग्रह गरेको छ । निर्वाचन समितिका अनुसार असोज १९ गते सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभागृहमा मनोनयन पत्र दर्ता हुनेछ । समितिले तोकिएको समयभित्र मनोनयन पत्र दाखिला गर्न सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेको छ ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दिन योग्य प्रतिनिधिले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गर्नुपर्नेछ । उम्मेदवारी दर्तासँगै महाधिवेशनमा नेतृत्व चयनको औपचारिक प्रक्रिया अघि बढ्नेछ। निर्वाचन समितिले भने निर्वाचन कार्यक्रमको विस्तृत विवरण पछि सार्वजनिक गरिने जनाएको छ । काँग्रेसको उम्मेदवार बन्न केन्द्रीय सभापतिका लागि ४० हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ भने केन्द्रीय उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
४- नजिकिँदै गरेका चाडपर्व र मनसुनलाई ध्यानमा राख्दै सरकारले सडक यातायात अवरुद्ध हुन नदिने तथा अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालन गर्ने गरी सम्बन्धित निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चाडपर्वका समयमा नागरिकलाई सेवा प्रवाहमा समस्या नहोस् र आवतजावत सहज रहोस् भन्ने उद्देश्यले आवश्यक पूर्वतयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको शुक्रबारको प्रेस ब्रिफिङमा जानकारी दिएको हो । कार्यालयले चाडपर्वको समयमा हुन सक्ने कालोबजारी, मूल्यवृद्धि तथा अन्य अनुचित गतिविधि नियन्त्रणका लागि बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णयसमेत गरेको जनाएको छ ।
चाडपर्वमा उपभोग्य वस्तुको माग बढ्ने भएकाले बजारमा हुन सक्ने अस्वाभाविक मूल्यवृद्धि तथा अनुचित गतिविधि नियन्त्रणलाई सरकारले प्राथमिकतामा राखेको हो । यसका लागि सम्बन्धित निकायबीच समन्वय गरी अनुगमनलाई प्रभावकारी बनाउने तयारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । मनसुनका कारण सडक तथा यातायातमा समस्या आउन सक्ने अवस्थालाई समेत सरकारले ध्यानमा राखेको छ। सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक सेवा तथा चाडपर्वमा घर जाने–आउने नागरिक प्रभावित हुन सक्ने भएकाले सम्बन्धित निकायलाई पूर्वतयारी अवस्थामा राख्ने निर्णय भएको हो। यससँगै अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालनका लागि आवश्यक तयारी र समन्वय गर्न पनि सम्बन्धित निकायलाई भनिएको बताएको छ ।
यसअघि प्रधानमन्त्री बालेन्द्र शाहसँग निजी क्षेत्र, नेपाल निर्माण व्यवसायी महासंघ, होटल संघ, महिला उद्यमी महासंघ तथा नेपाल हस्तकला महासंघलगायतका प्रतिनिधिले गरेको छलफलपछि भएका निर्णयको कार्यान्वयन अवस्थाबारे सम्बन्धित मन्त्रालयसँग समीक्षात्मक बैठकसमेत गरिएको कार्यालयले जनाएको छ । चाडपर्वसँग जोडिएका आर्थिक गतिविधि, सेवा प्रवाह र निजी क्षेत्रका सरोकारलाई समेत ध्यानमा राखेर निर्णय कार्यान्वयनको अवस्थामाथि समीक्षा गरिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि विपद् व्यवस्थापनलाई प्राथमिकता दिँदै आएको जनाएको छ । प्रभावित क्षेत्रमा खोज, उद्धार, उपचार, राहत वितरण, पूर्वाधार पुनर्निर्माण र प्रभावित परिवारको पुनःस्थापनाको काम अघि बढिरहेका बेला अब चाडपर्व र मनसुनका सम्भावित जोखिमलाई समेत ध्यानमा राखेर सरकारी संयन्त्रलाई तयारी अवस्थामा राखिएको हो। कार्यालयले यससँगै बजारमा हुने कालोबजारी, मूल्यवृद्धि र अनुचित गतिविधिमाथि प्रभावकारी अनुगमनलाई प्राथमिकता दिने जनाएको छ ।
५- परराष्ट्रमन्त्री शिशिर खनालले समृद्ध र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि आर्थिक कूटनीतिलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताएका छन् । काठमाडौंमा आज आयोजित ‘समृद्ध नेपालका लागि आर्थिक कूटनीति’ विषयक चौथो एआइडिया नेपाल विशिष्ट व्याख्यान शृंखलामा मुख्य वक्ताका रूपमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री खनालले नेपालको परराष्ट्र नीति मुलुकको आन्तरिक रूपान्तरणका लागि सक्रिय बाह्य माध्यमका रूपमा प्रयोग हुनुपर्ने बताए। बलियो र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक प्रयासलाई प्रत्यक्ष रूपमा जोड्नुपर्ने उनको भनाइ थियो ।
उनले नेपालको रणनीतिक भौगोलिक अवस्थालाई मुलुकको सबैभन्दा ठूलो प्राकृतिक सम्पत्तिका रूपमा उपयोग गर्नुपर्ने बताए । सहज अन्तरदेशीय सम्पर्क, स्वच्छ ऊर्जा निर्यात, डिजिटल नवप्रवर्तन तथा स्वदेशी र अन्तर्राष्ट्रिय पुँजी साझेदारीमार्फत नेपाललाई क्षेत्रीय आर्थिक सेतुका रूपमा विकास गर्नुपर्ने उनले बताए । मन्त्री खनालले जलवायु न्यायप्रति नेपालको प्रतिबद्धता दोहोर्याउँदै यस विषयमा अन्तर्राष्ट्रिय समुदायसँग थप सहकार्य आवश्यक रहेको बताउदै राष्ट्रिय समृद्धिका लागि सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारबीच एकीकृत र साझा प्रयास आवश्यक रहेकोमा पनि उनले जोड दिए ।
६- प्रतिनिधि सभाको दोस्रो अधिवेशन समापन भएको छ । गत वैशाख २८ गतेदेखि शुरु भएको अधिवेशनमा ६८ वटा बैठक बसेको थियो । अधिवेशनको समापन गर्दै सभामुख डोलप्रसाद अर्यालले संसदले यस अवधिमा १२ वटा विधेयक पारित गरेको जानकारी गराएका छन् । गत वैशाख २८ गते सुरू भएको प्रतिनिधि सभाको दोस्रो अधिवेशन असोज १६ गतेसम्म १४५ दिन चलेको यो अधिवेशनमा ६२ दिनमा ६८ पटक बैठक बसेको थियो । संसदले आर्थिक विधेयक २०८३, विनियोजन विधेयक २०८३ र सम्पती शुद्धीकरण निवारण तेस्रो संशोधनलगायतका १२ वटा महत्वपूर्ण विधेयक पारित गरेको छ।
जसमध्ये ११ वटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन् । यसबाहेक २० वटा विधेयक विभिन्न समितिमा विचाराधीन छन् भने केही थप विधेयकहरू प्रक्रियामा रहेका छन् । यस अधिवेशनले हिमालमा जलवायु परिवर्तनको प्रभाव,जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी अध्ययन गर्न १५ सदस्यीय विशेष संसदीय समिति गठन गरेको छ । त्यस्तै यस अधिवेशनले बजेट पारित गरेको थियो । सभामुख अर्यालले संसद्ले कानुन निर्माणसँगै जनसरोकारका विषय, विपद् व्यवस्थापन तथा समसामयिक राष्ट्रिय मुद्दामा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको साथै युवा सांसदहरुले राखेको तार्किक विचार र प्रस्तुतिले संसदीय अभ्यासमा योगदान पुगेको बताएका थिए ।
७- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि सुरु हुँदै छ । काठमाडौंको खुलामञ्चमा हुने महाधिवेशन उद्घाटनको तयारी तीव्र पारिएको कांग्रेसले जनाएको छ । शुक्रबार, कांग्रेस प्रवक्ता देवराज चालिसेले पत्रकार सम्मेलन गरेर महाधिवेशनको तयारी बारे जानकारी दिएका छन् । महाधिवेशनमा सहभागी हुन विदेशबाट पनि जनसंगठनका प्रतिनिधिहरू काठमाडौं आउँदै गरेका प्रवक्ता चालिसेले बताए ।
पूर्वसभापति शेरबहादुर देउवालाई १५औँ महाधिवेशन उद्घाटनका लागि बोलाइएको प्रवक्ता देवराज चालिसेले पत्रकार सम्मेलनमा जानकारी दिए । देउवा भने आफ्नो समुहको अलग्गै महाधिवेशनको प्रक्रियामा अगाडी बढेका छन । त्यस्तै महाधिवेशनको उद्घाटन समारोहमा अन्य पार्टीका नेताहरू पनि सहभागी हुदैछन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता सामाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, श्रम संस्कृत पार्टीका महासचिव आरेन राई र राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम पौडेल उद्घाटन कार्यक्रममा आउने तय भएको प्रवक्ता चालिसेले जानकारी दिएका छन् ।
त्यस्तै विदेशी अतिथिहरूमा सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा महाधिवेशनमा सहभागी हुन नेपाल आइसकेकी छन् । असोज १८ गतेदेखि २२ गतेसम्म हुने महाधिवेशनमा सात हजार २८ प्रतिनिधिहरू सहभागी हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ । महाधिवेशनमा १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ भने असोज २१ र २२ गते निर्वाचनका प्रक्रियाहरू हुने समितिले जानकारी दिएको छ । यस महाधिवेशनले काँग्रेसको नयाँ नेतृत्व पनि चयन गर्ने छ ।
८- नेपालका १३औँ देखि २०औँ शताब्दीसम्मका ८ सयभन्दा बढी ऐतिहासिक हस्तलिखित ग्रन्थ तथा दस्तावेज राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गरिएको छ । परराष्ट्रमन्त्री शिशिर खनालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जर्मनीस्थित हाइडेलबर्ग विश्वविद्यालय तथा हाइडेलबर्ग विज्ञान तथा मानविकी प्रज्ञा प्रतिष्ठानका प्राध्यापक डा. एक्सेल माइकल्सले ती ऐतिहासिक सामग्री औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् । ‘जोसेफ पिटर रिन्डफ्लाइस’ संग्रहमा रहेका ती दस्तावेज नेपालका लिखित सांस्कृतिक सम्पदाका महत्वपूर्ण सामग्रीका रूपमा रहेका छन् ।
हस्तान्तरण कार्यक्रममा परराष्ट्रमन्त्री खनालले ऐतिहासिक दस्तावेज नेपाल फर्किनु देशको लिखित सांस्कृतिक सम्पदाको संरक्षण, सुरक्षा र प्रवर्द्धनका दृष्टिले महत्वपूर्ण उपलब्धि भएको बताए । खनालले ऐतिहासिक सामग्री नेपाल फर्काउन योगदान गर्ने प्राध्यापक डा. एक्सेल माइकल्स, हाइडेलबर्ग विश्वविद्यालय, हाइडेलबर्ग विज्ञान तथा मानविकी प्रज्ञा प्रतिष्ठान, बर्लिनस्थित नेपाली दूतावास, विभिन्न विद्वान्, अनुसन्धानकर्ता तथा सम्बन्धित संस्थालाई धन्यवाद दिएका थिए । उनले विश्वका विभिन्न स्थानमा रहेका नेपालका ऐतिहासिक सम्पदा आगामी दिनमा पनि स्वदेश फिर्ता ल्याउन सरकार प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय अभिलेखालयका महानिर्देशक रामबहादुर कुँवर, प्राध्यापक डा. एक्सेल माइकल्स र नेपालका लागि जर्मनीका राजदूत उडो युगेन फोल्जले पनि मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाल सरकारका उच्च अधिकारी, विद्वान्, अनुसन्धानकर्ता, सांस्कृतिक क्षेत्रका विज्ञ तथा सञ्चारकर्मीहरूको सहभागिता थियो । ऐतिहासिक दस्तावेज हस्तान्तरण कार्यक्रम राष्ट्रिय अभिलेखालय, हाइडेलबर्ग अन्तरसांस्कृतिक अध्ययन केन्द्र, हाइडेलबर्ग विज्ञान तथा मानविकी प्रज्ञा प्रतिष्ठान र सराफ प्रतिष्ठानको संयुक्त आयोजनामा भएको हो ।
९- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारहरूले तडकभडक र भड्किलो प्रचारप्रसार गर्न नपाउने भएका छन् । केन्द्रीय निर्वाचन समितिले विपद्पछिको संवेदनशील अवस्था, राष्ट्रिय भावना र वातावरणीय पक्षलाई ध्यान दिँदै निर्वाचन आचारसंहितामा थप कडा व्यवस्था लागू गरेको हो । समितिले महाधिवेशन स्थल तथा आसपासका क्षेत्रमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेटलगायत कुनै पनि प्रकारका छापा तथा भौतिक प्रचार सामग्री राख्न, टाँस्न वा वितरण गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । महाधिवेशन स्थल बाहिर, सार्वजनिक सडक तथा आसपासका क्षेत्रमा समेत भौतिक प्रचार सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ ।
अब उम्मेदवारहरूले आफ्ना एजेन्डा र उम्मेदवारीसम्बन्धी विवरण डिजिटल माध्यमबाट मात्रै प्रचार गर्न पाउनेछन् । सामाजिक सञ्जाल, अनलाइन तथा अन्य विद्युतीय माध्यमबाट प्रचारप्रसार गर्न भने अनुमति दिइएको छ । केन्द्रीय निर्वाचन समितिले हालै भोटेकोशीलगायत देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएको र देश शोक तथा पुनरोत्थानको कठिन अवस्थामा रहेकाले महाधिवेशनलाई मर्यादित, मितव्ययी र अनुशासित बनाउन यस्तो व्यवस्था गरिएको जनाएको छ । समितिले आचारसंहिताको पूर्ण पालना गर्दै महाधिवेशनलाई अनुशासित र मर्यादित रूपमा सम्पन्न गर्न नेता, कार्यकर्ता, उम्मेदवार तथा शुभेच्छुकलाई आग्रह गरेको छ । आचारसंहिता उल्लङ्घन भएमा नियमअनुसार कारबाही गरिने समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिएका छन् ।
१०- नेप्सेमा आज गिरावट आएको छ । आज शुक्रबार नेप्से ११.९० अंकले घटेर २५८७.२५ विन्दुमा पुगेर रोकिएको छ । आज ३५६ कम्पनिका एक करोड १९ लाख १२ हजार ५५० कित्ता शेयर ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार १८१ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी एनएमबी डिभेन्चरको शेयर १४.२९ प्रतिशतले बढेको छ भने एसबिएल डिभेन्चरको शेयर ८.८० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सिन्धु विकास बैंकको शेयर ८.५५ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एसबिएल डिभेन्चरको २६ करोड ५३ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको १५ करोड ५३ लाख बराबरको कारोबार भएको छ ।
११- सभामुख डोलप्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । भेटका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका संघको १५३औँ महासभामा सहभागी हुन आफू आइतबार तान्जानिया प्रस्थान गर्न लागेको जानकारी राष्ट्रपतिलाई दिएका थिए । अन्तरव्यवस्थापिका संघको १५३औँ महासभा अक्टोबर ५ देखि ९ सम्म तान्जानियाको अरुसास्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछ । महासभाको मुख्य विषय ‘समावेशिता, विश्वास र सबैका लागि अवसरमार्फत सुशासन सुदृढीकरण तथा समुदायको सशक्तीकरण’ रहेको छ ।
महासभामा संघका शासकीय परिषद्सहित सबै प्रमुख निकाय, स्थायी समिति, संसद् सदस्यको मानवअधिकारसम्बन्धी समिति, मध्यपूर्व मामिला समिति तथा महिला र युवा सांसदका मञ्चको बैठक हुनेछ। महासभाका क्रममा शासकीय परिषद्ले नयाँ अध्यक्षसमेत चयन गर्ने कार्यक्रम रहेको छ । महासभामा सहभागी प्रतिनिधिहरूले समावेशी विकास, सुशासन, लोकतन्त्र र समुदाय सशक्तीकरणका विषयमा छलफल गर्नेछन् । अपांगता भएका व्यक्तिको अधिकार तथा सशक्तीकरणका लागि संसदीय रणनीतिसम्बन्धी प्रस्ताव पनि पारित हुने अपेक्षा गरिएको छ । महासभाले समग्र छलफलको निष्कर्षका रूपमा एक दस्तावेजसमेत पारित गर्नेछ । अन्तरव्यवस्थापिका संघ विश्वभरका राष्ट्रिय संसद्हरूको साझा संस्था हो । सन् १८८९ मा स्थापना भएको संघमा हाल १८३ सदस्य संसद् र १५ सहयोजक सदस्य रहेका छन् । संघले संसदीय कूटनीति, शान्ति, लोकतन्त्र र दिगो विकास प्रवर्द्धनमा संसद् तथा सांसदहरूलाई सहजीकरण गर्दै आएको छ ।
१२- राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह नेतृत्वको सरकारको आलोचना गर्दै ७६ जना शहिदले तपाईहरुलाई सत्तामा पुर्याउन ज्यान नदिएको बताएका छन् । शुक्रबार, प्रतिनिधि सभाको बैठकमा सांसद शाहीले सरकार बनेको ६ महिनासम्म पनि जेनजी आन्दोलनका दोषीमाथि कारबाही नभएको भन्दै सरकारको आलोचना गरेका हुन् । उनले भने- ‘आन्दोलनको क्रममा अहिलेका गृहमन्त्रीले, प्रधानमन्त्रीले घाँटी सुकाई सुकाई कराएर हत्याराहरू हुन् भन्ने मान्छे एकजना पक्राउ गर्न सक्नुभयो ? कहाँ छन् आज तिनीहरू ? त्यो ७६ जना मान्छे जो मरे, तपाईँहरूलाई सत्ताको सिँढी चढाउनका लागि मात्र मरेका होइनन् ।’ उनले सरकारले प्रतिबद्धता व्यक्त गरे अनुसार काम गर्न नसकेको भन्दै अर्को अधिवेशनसम्म जेनजी आन्दोलनका दोषी जेलमा भएको हुनुपर्ने बताए ।
जेनजी आन्दोलनका क्रममा संसद भवन जलाउने सिंहदरबार जलाउने र निजी सम्पत्ति जलाउनेलाई अहिलेसम्म कारवाही नगरेको भन्दै उनले हिजोको सरकार र अहिलेको सरकारमा के फरक भयो भन्दै प्रश्न गरेका थिए । उनले भने- ‘राष्ट्रिय मानव अधिकार आयोगले सिंहदरबार जलाउने, संसद् भवन जलाउने, सर्वोच्च अदालत जलाउने, निजी व्यक्तिहरूको सम्पत्तिसम्म जलाउने अपराधीहरूलाई कारबाही गर भनेर प्रतिवेदन बुझाएको ६ महिना भयो, तपाईँहरूले एउटा अनुसन्धानको अ पनि गर्नुभएको छैन। अनि तपाईँ र हिजोको सरकारका बीचमा फरक के भयो त? त्यसैले काम गर्नुस्।’
सांसद शाहीले अहिलेसम्म एउटा भ्रष्टचारको प्रकरण पनि अदालतमा नलगेको आरोप लगाउदै वाइडबडी, एनसेल, फोरजी, ३३ किलो सुन प्रकरण, गिरीबन्ध टी स्टेट, भुटानी शरणार्थी, क्यान्टोन्मेन्ट घोटालालगायत भ्रष्टाचारका काण्डको पनि छानबिन किन नगरेको भन्दै प्रश्न गरेका छन् । स्वास्थ्य बीमालाई धारासायी बनाएको भन्दै सांसद शाहीले गरिब दुखीले पाउदै आएको सुबिधा खोसिदा उनीहरुले उपचार गर्न नसक्ने अवस्थामा पुगेको बताए । उनले सहकारी ठगिमा जीबी राईलाई अहिलेसम्म पक्राउ नगरेको भन्दै १-२ लाख फिर्ता गरे भनेर प्रचार गर्दैमा यो समस्या समाधान नहुने बताए । विपक्षका कुरा सुन्न आग्रह गर्दै उनले सत्ता अस्थायी हुने र उदाहरणको लागि केपी ओली नेतृत्वको पहिलाको सरकारलाई हेर्न आग्रह गरेका थिए ।
१३- परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे संसदलाई जानकारी गराएका छन् । शुक्रबार, प्रतिनिधि सभाको बैठकमा मन्त्री खनालले महासभामा आफुले मुलुकका उच्च पदाधिकारी तथा समकक्षीहरूसँग भेटवार्ता एवं छलफल गरेको जानकारी दिदै महासभाको ‘जेनरल डिबेट’मा प्रधानमन्त्री वालेन्द्र शाहले गरेको सम्बोधनले जलवायु न्यायलाई यथार्थमा परिणत गर्न योगदान दिएको उल्लेख गरेका थिए । उनले प्रधानमन्त्रीको शाहको संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन धेरै दृष्टिकोणबाट ऐतिहासिक बनेको दावी गर्दै प्रधानमन्त्रीको उक्त सम्बोधनमा जलवायु न्यायसहित नेपालको राष्ट्रिय हितका मुलभूत पक्षहरू उजागर भएको बताए । मन्त्री खनालले जलवायु न्यायलाई व्यवहारमा उतार्न अन्तर्राष्ट्रिय समुदायलाई गरेको प्रधानमन्त्रीको सम्बोधनले विश्वको ध्यान खिच्न सफल भएको बताए ।
१४- नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले भदौ २३ र २४ को आन्दोलनलाई विश्वभर सत्ता परिवर्तनको नेपाली भर्सन भएको टिप्पणी गरेका छन् । शुक्रबार, प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बादलले फागुन २१ को निर्वाचन परिणाम भदौ २३ र २४ का घटनाको बाई प्रडक्ट भएको भन्दै भदौ २३ र २४ को आन्दोलन विश्वभर सत्ता परिवर्तनको सुनियोजित नेपाली भर्सन भएको टिप्पणी गरेका हुन् ।
संसदमा बोल्दै नेता बादलले संसदको चालु अधिवेशनमा सबै विधेयक एकतर्फी रुपमा पारित गरेको भन्दै विधि निर्माणमा रास्वपाले आफ्नो एकाधिकार ठानेको आरोप लगाए । उनले भने- ‘६ महिनामा प्रतिनिधि सभा सरकारको प्रति छाया मात्र बन्यो । हामीले ६ महिना सत्ता पक्षको ढ्याप ढ्याप सुन्यौं, विपक्षीको आक्रोश देख्यौं, र पछिल्लो समय सत्ता पक्षमा आशाको किरण देखिएको छ, सभामुखले प्रधानमन्त्रीमाथि रुलिङ गर्ने कोसिस गर्नु भएको छ, सत्ता पक्षका कतिपय सांसदहरुले सरकारको हुकुमी शासन शैलीप्रति प्रश्न खडा गर्नुभएको छ ।’ उनले बालेन्द्र शाहको सरकारले फासिवादी शासनको ६ महिना पुरा गरेको भन्दै पुर्ब प्रधानमन्त्री केपी ओलीलाई पक्राउ गरेर कार्यकाल शुरु गरेर पछिल्लो पटक पूर्व प्रधानन्यायाधीशलाई पक्राउ गरेको बताउदै सरकारको आलोचना गरे । नेता बादलले प्रतिनिधि सभा पुन; स्थापनाको मुद्धा सर्वोच्चमा विचाराधीन रहेको उल्लेख गर्दै आफुहरुको राजनीतिक अडान अहिले पनि कायम रहेको स्पष्ट गरे ।
१५- श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै आफैँले आफ्नो सरकार नढाल्न आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रतिपक्षहरूको तर्फबाट राखिएका मागहरु सम्बोधन नगरिएको र अपमान गरिएको भन्दै अब तीन महिनापछि भेट हुदा आफैँले आफ्नो सरकार नढाल्नुहोला भनेका हुन् । उनले भने- ‘म आज दुःखका साथ सरकारका प्रमुखलगायत सरकारलाई भन्दैछु, फेरि अब ३ महिनापछि हाम्रो भेट होस्, तपाईँहरू आफैँले आफ्नो सरकार नढाल्नुहोला । फेरि पनि सम्पूर्ण प्रतिपक्षहरूको तर्फबाट हाम्रो मागलाई जे अपमान गरियो, अबको सुरु हुने सदनमा त्यस्तो नहोस्।’ आफूहरूले उठाएको प्रश्नको जवाफ सदनमा यो अधिवेशनमा प्रधानमन्त्रीबाट पाउन नसकेको बताए ।
उनले आफुहरुले सरकार प्रमुखलाई प्रश्न उठाएपनि त्यसको उत्तर नपाएको गुनासो गरे । उनले सदनबाट आफु रित्तै भोजपुरे जनताहरूको घरआँगनसम्म फर्किँन लागेको बताउदै सांसदको गन्तीमा मात्रै दुई तिहाइ नजिक हो भन्ने कुरा हेक्का राख्न चेतावनी दिए । उनले सरकारको यस्तै गतिविधि चलिरहे गत भदौ २३ र २४ को आन्दोलन दोहोरिनसक्ने चिन्ता व्यक्त गर्दै उनले भने- ‘मलाई त डर लागिरहेको छ, हिजो २३ र २४ को आन्दोलनतिर पुरानो दल भनिएको नेताहरूका गतिविधिको कारणले भ्रष्टाचार गर्यो, धेरै पैसा कमायो भनेर घरहरू जलेको थियो । अब हामीले हाम्रो घरहरू जोगाउन निकै मुस्किल पर्ला कि ! अहिलेसम्मको अधिवेशनको गतिविधिहरूमा मलाई त्यो लागिरहेको छ ।’
१६- नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने आइसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ को सिरिजका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरेको छ । क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), आसिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजबंशी, करण केसी, नन्दन यादव, साहब आलम र सन्दीप जोरा रहेका छन् । अक्टोबर ९ देखि शुरु हुने यस सिरिजमा नेपालसहित ओमान र क्यानडाले खेल्ने तालिका रहेको छ । नेपालले अक्टोबर ११ मा क्यानडासँग, अक्टोबर १३ मा ओमानसँग, अक्टोबर १७ मा क्यानडासँग र अक्टोबर १९ मा ओमानसँग खेल्ने तालिका छन् । नेपालको हाल ३२ खेलमा २४ अंक रहेको छ भने अंक तालिकामा सातौं स्थानमा रहेको छ ।
१७- प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा कार्यरत २५ जनाको नाम, पद र सुविधासहितको विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले वेबसाइटमार्फत सल्लाहकार, स्वकीय सचिवालय र विज्ञका रूपमा कार्यरत व्यक्तिहरूको विवरण सार्वजनिक गरेको हो । सचिवालयमा ५ जना सल्लाहकार छन् । मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार र राजनीतिक सल्लाहकार असिम साह मन्त्री सरह रहेका छन् । ब्यञ्जनकारले भने अवैतानिक रूपमा काम गरिरहेका छन् । राज्यमन्त्रीसरहका सल्लाहकारमा सुदिप ढकाल र विवेक मिश्र तथा विज्ञ सल्लाहकारमा अवैतानिक स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदिश प्रसाद अग्रवाल छन् । सचिवसरहको सुविधामा प्रमुख स्वकीय सचिव सुवाष शर्मा छन् । त्यस्तै सहसचिवसरहको सुविधामा स्वकीय सचिव नविन भण्डारी, स्वकीय सहसचिव सञ्जिव पाण्डे र दिपा दाहाल, कार्यक्रम तथा भ्रमण संयोजक सन्तोष गिरी तथा सामाजिक विकास विज्ञ विश्व राई छन् । उपसचिवसरहमा प्रकृति ढकाल, विशाल अधिकारी, सुमन गौतम, रविकिरण अधिकारी र विनय शाक्य छन् । शाखा अधिकृतसरह सुरेन्द्र बजगाईं, रोशन तामाङ, बेदानन्द जोशी र हेम नारायणदास चौधरी कार्यरत छन् । नासुसरहको सुविधामा प्रशासन सहायक अनुप थापामगर, ऋषि थापा, राजकुमार गौतम, बेनिस कार्की तथा कम्प्युटर सहायक अमृत पाण्डे छन् । प्रधानमन्त्रीको सचिवालयमा ४८ जनाको दरबन्दी रहेको छ ।
१८- हिमलुङ हिमाल आधार शिविरमा नेपाल पर्वतारोहण तथा पर्वतीय मार्गदर्शन संघको खोज तथा उद्धार टोलीले १५ जनाको शव फेला पारेको छ भने एक जना अझै बेपत्ता रहेका छन् । पाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) का अनुसार उद्धार गरिएका तथा पहिचान भएका व्यक्तिमा छेबी भोते, पासाङ भोते, वीरेन्द्र गुरुङ, घनश्याम राई, बिर्ख ध्वज तामाङ, जगत तामाङ, कलाम बुढा, लकुमार राई, ङिमा दोर्जे तामाङ, सन्ता वीर तामाङ, सुरज राई, उर्खा ध्वज बोहरा, प्रेम तामाङ, किर्ते शेर्पा र आश गुरुङ रहेका छन् । त्यस्तै, पासाङ नुरी शेर्पा भने अझै बेपत्ता रहेका छन् । अत्यन्त कठिन मौसम र १४ फिटभन्दा बढी हिउँ जमेको अवस्थामा पनि टोलीले सम्भावित जीवित व्यक्तिको खोजी गर्नुका साथै ज्यान गुमाएकाहरूको शव निकालेको एनएनएमजीएले जनाएको छ । खोज तथा उद्धार अभियानको पहिलो चरणको नेतृत्व अन्तर्राष्ट्रिय पर्वतीय मार्गदर्शक महासंघका पर्वतीय मार्गदर्शक मिङ्मा जी. शेर्पाले गरेका थिए । त्यसपछि दोस्रो चरणको नेतृत्व अन्तर्राष्ट्रिय पर्वतीय मार्गदर्शक महासंघका पर्वतीय मार्गदर्शक पासाङ काजी शेर्पाले गरेका थिए । मनाङको हिम्लुङ हिमालको आधार शिविर क्षेत्रमा असोज ११ गते गएको हिमपहिरोमा १२ जना भान्साका कर्मचारी र दुई जना गाइड बेपत्ता भएका थिए ।
१९- युइएफए नेसन्स लिगको समूह चरणमा पोर्चुगलले डेनमार्कलाई ४–२ गोलले पराजित गरेको छ । गए राति भएको खेलमा पोर्चुगलले दुईपटक बराबरीमा आएपछि निर्णायक रूपमा खेल आफ्नो पक्षमा पारेको हो । पोर्चुगलका लागि खेलको १३औँ मिनेटमै जोआओ कान्सेलोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । डेनमार्कले पहिलो हाफको २३औं मिनेटमा गोल गरेर खेल बराबरी गरेको थियो भने २५औँ मिनेटमा गोन्कालो रामोसले गोल गरेपछि पोर्चुगल २–१ ले अघि बढेको थियो । दोस्रो हाफको सुरुआतमै डेनमार्क खेलमा फर्कियो । ५३औँ मिनेटमा रास्मुस होइलुन्डले गोल गर्दै खेल २-२ को बराबरी गरेका थिए । त्यसको केही समयपछि ६७औँ मिनेटमा भिटिन्हाले गोल गरेपछि पोर्चुगलले फेरि ३-२ को अग्रता बनायो । त्यसपछि खेल सकिन तीन मिनेट बाँकी रहँदा जोआओ फेलिक्सले गोल थपेपछि पोर्चुगलले ४–२ को जित पक्का गरेको थियो । यस जितसँगै पोर्चुगलले समूह ‘ए’ चारमा लगातार तीन खेल जित्दै आफ्नो शतप्रतिशत नतिजा कायम राखेको छ ।
पोर्चुगलले यसअघि वेल्स र नर्वेलाई पनि पराजित गरेको थियो। डेनमार्क भने तीन खेलबाट तीन अंकमै सीमित भएको छ । अघिल्लो खेलमा बेन्चमा बसेका क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टिम छोडेपछि यस खेलमा ब्रुनो फर्नानडेजले कप्तानी गरेका थिए भने यस खेलमा रोनाल्डोको जर्सी नम्बर ७ राफा लिओले लगाएका थिए । त्यस्तै, गएराती नै सम्पन्न अन्य खेलमा जर्मनीले सर्बियालाई २-० गोलले पराजित गरेको छ । यो जित जर्गेन क्लोपको प्रशिक्षणमा जर्मनीको पहिलो जित हो । त्यस्तै ग्रीसविरुद्ध नेदरल्यान्ड्स २-२ गोलको बराबरीमा रोकिएको छ भने वेल्सले नर्वेलाई २-१ ले पराजित गरेको छ ।
२०- न्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको खेलतालिका सार्वजनिक गरेको छ । दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाको संयुक्त आयोजनामा हुने विश्वकप २०२७ अक्टोबर २ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ । विश्वकपको सुरुवात नामिबियाको राजधानी विन्डहोकमा हुने प्रारम्भिक चरणका खेलबाट हुनेछ भने फाइनल नोभेम्बर २१ मा खेलाइनेछ । प्रतियोगितामा १४ टोलीले १२ मैदानमा कुल ५७ खेल खेल्नेछन् । यसपटक विश्वकपको ढाँचामा ठूलो परिवर्तन गरिएको छ । सन् २०२३ को विश्वकपमा १० टोली सहभागी थिए भने २०२७ मा टोलीको संख्या बढाएर १४ पुर्याइएको छ । सेमिफाइनल र फाइनलअघि प्रतियोगितालाई प्रारम्भिक शृंखला, समूह चरण र सुपर–७ गरी तीन चरणमा विभाजन गरिएको छ ।
विश्वकपको सुरुवात सबैभन्दा कम वरीयतामा रहेका तीन टोलीबीच हुने प्रारम्भिक शृंखलाबाट हुनेछ । तीन टोलीले एकअर्कासँग एक–एक खेल खेल्नेछन् । यस चरणको विजेता टोली मात्र मुख्य समूह चरणमा प्रवेश गर्नेछ । बाँकी दुई टोलीको विश्वकप यात्रा त्यहीँ समाप्त हुनेछ । यसरी १४ टोली सहभागी हुने भए पनि मुख्य समूह चरणमा १२ टोली मात्र पुग्नेछन् । प्रारम्भिक चरणका खेल नामिबियाको राजधानी विन्डहोकमा हुनेछन् । प्रारम्भिक चरणपछि १२ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहमा ६ टोली रहनेछन् । समूहका प्रत्येक टोलीले आफ्नै समूहका अन्य पाँच टोलीसँग एक–एक खेल खेल्नेछन् ।
यस चरणमा कुल ३० खेल हुनेछन् । दुवै समूहबाट शीर्ष तीन स्थानमा रहने तीन–तीन टोली सुपर–७ चरणमा पुग्नेछन् । त्यसका अतिरिक्त दुवै समूहमा चौथो स्थानमा रहने टोलीमध्ये तुलनात्मक रूपमा राम्रो प्रदर्शन गर्ने एक टोलीले पनि सुपर–७ मा स्थान बनाउनेछ । यसरी सुपर–७ चरणमा कुल सात टोली पुग्नेछन् । सन् २०२७ को विश्वकपको सबैभन्दा ठूलो परिवर्तन सुपर–७ चरण हो । यस चरणमा पुगेका सातै टोलीले एकअर्कासँग एक–एक खेल खेल्नेछन् । सुपर–७ मा कुल २१ खेल हुनेछन् । अंक तालिकाको शीर्ष चार स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलमा अंक तालिकाको पहिलो स्थानमा रहने टोलीले चौथो स्थानमा रहने टोलीसँग तथा दोस्रो स्थानमा रहने टोलीले तेस्रो स्थानमा रहने टोलीसँग खेल्नेछ । दुवै सेमिफाइनलका विजेताबीच फाइनल हुनेछ । सन् २०२७ को विश्वकप २४ वर्षपछि अफ्रिकामा फर्किन लागिएको हो । दक्षिण अफ्रिका र जिम्बाब्वेले यसअघि सन् २००३ को विश्वकप संयुक्त रूपमा आयोजना गरेका थिए ।
नामिबियाले भने पहिलोपटक पुरुष वरिष्ठ विश्वकपको आयोजकको भूमिका पाउनेछ । तीनै देशमा गरी प्रतियोगिताका लागि १२ वटा मैदान तय गरिएको छ । ती मैदानमा कुल ५७ खेल सञ्चालन हुनेछन् । विश्वकपको खेलतालिका सार्वजनिक भएसँगै टिकट खरिदका लागि छनोट प्रक्रियाको दर्तासमेत सुरु भएको छ । प्रशंसकले अक्टोबर १ देखि टिकट छनोट प्रक्रियाका लागि दर्ता गर्न सक्नेछन् ।
यो प्रक्रिया पहिले आउनेले पहिले टिकट पाउने आधारमा हुने छैन । टिकटका लागि आवेदन दिँदैमा टिकट सुनिश्चित हुने छैन । आयोजक दक्षिण अफ्रिका र जिम्बाब्वेले स्वतः विश्वकपमा स्थान बनाएका छन् । त्यसबाहेक भारत, अस्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशले पनि मुख्य प्रतियोगिताका लागि स्थान पक्का गरिसकेका छन् । अब बाँकी चार स्थान अर्को वर्षको सुरुवातमा हुने विश्वकप क्वालिफायर प्रतियोगिताबाट तय हुनेछन् । दुईपटकको विश्व च्याम्पियन वेस्ट इन्डिजले पनि उक्त छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ । यसपटकको नयाँ ढाँचाले विश्वकपमा सहभागी टोलीको संख्या बढाउनुका साथै उपाधिको यात्रालाई थप चरणमा विभाजन गरेको छ । प्रारम्भिक शृंखलादेखि समूह चरण, सुपर–७ र त्यसपछि सेमिफाइनल हुँदै फाइनलसम्म पुग्न टोलीहरूले फरक–फरक चुनौती पार गर्नुपर्नेछ ।