काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- सशस्त्र प्रहरी बल नेपालको कम्ब्याट पोशाक लगाएर सडकपेटीमा सुतिरहेको व्यक्तिको भिडियो सामाजिक सञ्जालमा प्रसारित भएपछि संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सशस्त्र प्रहरी बलका अनुसार भिडियोमा देखिएका व्यक्ति संगठनका सदस्य होइनन् । उनले संगठनको कम्ब्याट पोशाकको अर्ध भाग लगाएर पोशाकको दुरुपयोग गरेको पाइएको छ ।
उक्त व्यक्तिलाई सशस्त्र प्रहरीका सुरक्षाकर्मीका रूपमा चित्रण गर्दै वास्तविकता नबुझी भ्रामक सामग्री र टिप्पणी प्रसारित हुँदा सर्वसाधारणमा भ्रम सिर्जना हुन सक्ने संगठनले जनाएको छ । सशस्त्र प्रहरीले पोशाक दुरुपयोग गर्ने व्यक्ति तथा भिडियो बनाएर सामाजिक सञ्जालमा प्रसारण गर्नेहरूमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ । साथै, असम्बन्धित व्यक्तिले सशस्त्र प्रहरीको पोशाक, दर्ज्यानी चिह्न तथा संगठनको पहिचान झल्किने सामग्री प्रयोग नगर्न आग्रह गरेको छ। यस्ता गतिविधिबारे जानकारी भए टोल फ्री नम्बर १११४ मा खबर गर्न पनि अनुरोध गरिएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सहप्रवक्ता शैलेन्द्र थापाले भ्रामक भिडियोलाई सशस्त्र प्रहरी बलसँग जोडेर नबुझ्न सर्वसाधारण तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन् ।
२- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को मिनी अक्सनअघि विभिन्न फ्रेन्चाइज टोलीले खेलाडी रिलिज गरेका छन् । खेलाडी रिलिज गरेसँगै टोलीहरूले आगामी अक्सनका लागि आफ्नो बजेटसमेत खाली गरेका छन् । कोलकाता नाइट राइडर्सले अजिंक्य रहाणे, आकाश दीप, ब्लेसिङ मुजाराबानी, दक्ष कामरा, लुविनिथ सिसोडिया, एम. पाथिराना, मुस्ताफिजुर रहमान, नवदीप सैनी, रचिन रविन्द्र, राहुल त्रिपाठी, तेजस्वी सिंह र उमरान मलिकलाई रिलिज गरेको छ । रोयल च्यालेन्जर्स बेंगलुरुले ज्याकब बेथेल, रिचर्ड ग्लिसन, मंगेश यादव, सात्विक देसवाल र विहान मल्होत्रालाई रिलिज गरेको छ ।
यसबाट टोलीको १० करोड रुपैयाँ बजेट खाली भएको छ । गुजरात टाइटन्सले इशान्त शर्मा, लुक वुड, कुलवन्त खेजरोलिया, शाहरुख खान र कोनर इस्टरहुइजेनलाई रिलिज गरेको छ । मुम्बई इन्डियन्सले ट्रेन्ट बोल्ट, दीपक चाहर, एएम गजनफर, अथर्व अंकोलेकर, केशव महाराज, मोहम्मद इजार, दानिश मालवेर, मयंक मार्कण्डे र मयंक रावतलाई रिलिज गरेको छ । यसबाट टोलीको २८.८ करोड रुपैयाँ बजेट खाली भएको छ । चेन्नई सुपर किंग्सले म्याथ्यु सर्ट, म्याट हेनरी, ज्याक फोक्स, प्रशान्त वीर, अमन खान, कुलदीप यादव, आकाश मधवाल, डियान फोरेस्टर, म्याकनिल नोरोन्हा र महेन्द्रसिंह धोनीलाई रिलिज गरेको सूचीमा राखेको छ । यसबाट २४.५ करोड रुपैयाँ बजेट खाली भएको छ । धोनीले आइपिएल नखेल्ने घोषणा गरेका छन् र उनलाई चेन्नईको मेन्टर नियुक्त गरिएको छ । राजस्थान रोयल्सले एडम मिल्ने, क्वेना माफाका, तुषार देशपाण्डे, कुलदीप सेन, युधवीर सिंह, विघ्नेश पुथुर, रवि सिंह, शिमरन हेटमायर र नान्द्रे बर्गरलाई रिलिज गरेको छ । राजस्थानले २३.७५ करोड बजेट खाली गरेको छ ।

सनराइजर्स हैदराबादले ट्राभिस हेड, कामिन्दु मेन्डिस, जयदेव उनादकट, दिलशान मदुशंका, ओंकार तर्माले, अमित कुमार, शिवम मावी, जेराल्ड कोएट्जी र डेभिड पेनलाई रिलिज गरेको छ। यसबाट टोलीको २१.३५ करोड रुपैयाँ बजेट खाली भएको छ । पञ्जाब किंग्सले लोकी फर्गुसन, मिचेल ओवेन, नेहल वढेरा, पायला अविनाश, प्रवीण दुबे र विशाल निषादलाई रिलिज गरेको छ। यसबाट १०.१ करोड रुपैयाँ बजेट खाली भएको छ । लखनउ सुपर जायन्ट्सले एम. ब्रीट्जके, एनरिक नोर्किया, जर्ज लिन्डे, वानिन्दु हसरंगा, नमन तिवारी र अर्शिन कुलकर्णीलाई रिलिज गरेको छ। यसबाट ७.०५ करोड रुपैयाँ बजेट खाली भएको छ।

टोलीले जम्मु–कश्मीरका ब्याटर अब्दुल समदलाई भने निरन्तरता दिएको छ । दिल्ली क्यापिटल्सले नितिश राणा, अभिषेक पोरेल, पाथुम निसंका, बेन डकेट, करुण नायर, साहिल पारख, दुश्मन्था चमीरा, रेहान अहमद, मिचेल स्टार्क र अजय मण्डललाई रिलिज गरेको छ। यसबाट टोलीको २७ करोड रुपैयाँ बजेट खाली भएको छ । आगामी मिनी अक्सन डिसेम्बर १६ मा गोवामा गर्ने तयारी छ ।

३- देशका पाँच स्थानीय तहलाई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्यामुक्त पालिका घोषणा गरिएको छ । भूमि समस्या समाधान समितिले सार्वजनिक गरेको सूचनाअनुसार समस्यामुक्त घोषणा हुने पालिकामा बागलुङको जैमिनी नगरपालिका, डोल्पाको काइके गाउँपालिका, सोलुखुम्बुको खुम्बुपासाङल्हामु र महाकुलुङ गाउँपालिका तथा रुकुम पूर्वको भूमे गाउँपालिका रहेका छन् ।

समितिका अनुसार हालसम्म देशभर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित तथा स्ववासी गरी ६ हजार ७३८ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । सरकारले वर्षौंदेखि समाधान हुन नसकेको भूमिसम्बन्धी समस्या अन्त्य गर्दै नागरिकलाई जग्गाको कानुनी स्वामित्व सुनिश्चित गर्ने उद्देश्यले लालपुर्जा वितरण प्रक्रियालाई थप तीव्रता दिने जनाएको छ। यसका लागि सरल, सहज र छरितो प्रक्रियामार्फत देशभर भूमिसम्बन्धी समस्या समाधान गर्ने अभियानलाई प्राथमिकताका साथ अघि बढाइने बताइएको छ ।
४- नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारको श्रम अधिकार सुनिश्चित गर्न माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । महासंघका महासचिव रामप्रसाद दाहालले मंगलबार जारी गरेको विज्ञप्तिमा सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार व्यवहार देखाएको र पत्रकारको श्रम अधिकार उल्लंघन गरेको आरोप लगाइएको छ ।
समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भइरहेको तथा सञ्चारमाध्यमका कार्यालय अगाडि अनधिकृत रूपमा गाडी तेर्स्याएर अवरोध पुर्याउनेमाथि कारबाही नभएको भन्दै महासंघले गम्भीर आपत्ति जनाएको छ । त्यस्तै, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरी श्रम अधिकार उल्लंघन गरिएको महासंघको भनाइ छ । पत्रपत्रिकाले प्राप्त गर्दै आएको लोककल्याणकारी विज्ञापनको रकमसमेत प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार कार्यान्वयन नगरिएको विज्ञप्तिमा उल्लेख छ । घोषित आन्दोलनका कार्यक्रमअनुसार महासंघले मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने भएको छ ।
मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखहरूलाई ध्यानाकर्षणपत्र पठाउने कार्यक्रम तय गरिएको छ । यसैगरी, मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जालसँग छलफल गर्ने तथा मंसिर ७ गते महासंघका सबै जिल्ला शाखाले सञ्चारसम्बद्ध संघसंस्थासँग छलफल गर्ने कार्यक्रम रहेको छ । महासंघले मंसिर ९ गते देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानरसहित भेला भएर विरोध प्रदर्शन गर्ने जनाएको छ । महासंघले घोषित कार्यक्रमबाट पनि आफ्ना माग सम्बोधन नभए थप कडा आन्दोलनका कार्यक्रम तय गर्न बाध्य हुने चेतावनी दिएको छ ।
५- भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) को १९ वर्षे खेलजीवन अन्त्य गरेका छन् । चेन्नई सुपर किंग्सले उनलाई सन् २०२७ को संस्करणका लागि टोलीको मेन्टर नियुक्त गरेको मंगलबार घोषणा गरेको छ । ४५ वर्षीय धोनीले सन् २००८ देखि चेन्नईको प्रतिनिधित्व गर्दै पाँच पटक आईपीएल उपाधि जिताएका थिए । उनको कप्तानीमा चेन्नईले सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ मा उपाधि जितेको थियो ।
उनले आईपीएल करियरमा ५ हजार ४३९ रन बनाएका छन् । धोनीले आईपीएलमा चेन्नईका लागि १७ सिजन खेलेका थिए । सन् २०२६ को संस्करण चोटका कारण उनले एउटा पनि खेल खेल्न पाएनन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन् २०२० मा संन्यास लिएपछि उनले आईपीएल मात्रै खेल्दै आएका थिए । चेन्नईका मालिक एन श्रीनिवासनले धोनी सधैँ टोलीको पहिचान र परिवारको हिस्सा रहने बताएका छन् । सन् २०२७ को संस्करणमा उनी मुख्य प्रशिक्षक जाहिर खानसहितको नयाँ प्रशिक्षक टोलीसँग सल्लाहकारको भूमिकामा रहनेछन् ।
६- काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रिसोर्टमा विदेशी नागरिकले शंकास्पद गतिविधि गरिरहेको भन्ने जनगुनासोपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
मंसिर १ गते दिउँसो करिब ३ बजे प्रहरी नायब उपरीक्षक रविन विष्ट र प्रहरी निरीक्षक मनराज बानियाँको कमाण्डमा खटिएको ३० जनाको टोलीले रिसोर्टमा जाँच गरेको थियो । त्यसक्रममा ३१ जना पुरुष र पाँच जना महिला गरी ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय लगिएको प्रहरीले जनाएको छ । जाँचका क्रममा रिसोर्टका दुईवटा कोठामा ठूलो संख्यामा ल्यापटप तथा मोबाइल फोनसमेत फेला परेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
७- बाराको फेटा गाउँपालिकामा रोजगार संयोजक पदमा कार्यरत ओम प्रकाश गिरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार गिरीले २०७८ जेठ १ गतेदेखि नेपाल सरकारको राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृतसरहको रोजगार संयोजक पदमा नियुक्ति पाउन पेस गरेको तीनवर्षे बीएड तहको लब्धाङ्कपत्र अनुसन्धानका क्रममा नक्कली रहेको खुलेको हो ।
त्रिभुवन विश्वविद्यालयबाट प्रमाणीकरण गराउँदा उक्त लब्धाङ्कपत्र गिरीको नभई अन्य व्यक्तिको भएको पुष्टि भएपछि उनले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी पद प्राप्त गरेको आयोगको निष्कर्ष छ । आयोगले गिरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको मागदाबीसहित आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।
८- नेपालको सार्वभौम क्रेडिट रेटिङ स्कोर बढेर ३.६६ पुगेको छ। अर्थ मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय रेटिङ संस्था फिचको सार्वभौम रेटिङ मोडलमा नेपालको स्कोर गत वर्षको ३.४७ बाट ०.१९ अंकले वृद्धि भएको हो । फिचको सार्वभौम रेटिङ मोडल (एसआरएम) अनुसार यस वर्ष नेपालको स्कोर ३.६६ पुगेको छ । ‘बीबी–’ स्तर प्राप्त गर्न न्यूनतम ३.५ अंक आवश्यक पर्नेमा नेपालले यस वर्ष कुनै गुणात्मक मूल्याङ्कनबिना नै उक्त स्तर पार गरेको मन्त्रालयले जनाएको छ । गत वर्ष भने गुणात्मक मूल्याङ्कनका आधारमा नेपालको रेटिङ एक तह बढाएर ‘बीबी–’ कायम गरिएको थियो ।
यस वर्ष आफ्नै आर्थिक सूचकका आधारमा नेपालले ‘बीबी–’ स्तर प्राप्त गरेको मन्त्रालयको भनाइ छ । फिच रेटिङ्सले नेपालको सार्वभौम क्रेडिट रेटिङलाई स्थिर दृष्टिकोणसहित लगातार तेस्रो वर्ष ‘बीबी–’ स्तरमा कायम राखेको छ । रसुवा, बुढीगण्डकीलगायत क्षेत्रमा आएको विनाशकारी बाढीले सिर्जना गरेको प्रतिकूल अवस्थाका बाबजुद नेपालको रेटिङ स्कोर बढ्नुलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको मन्त्रालयले जनाएको छ । सरकारले अघि बढाएका सुशासनका कदम र समग्र आर्थिक सुधारका कार्यक्रमले नेपालको सार्वभौम क्रेडिट रेटिङमा सुधार ल्याउन योगदान गरेको अर्थ मन्त्रालयको निष्कर्ष छ ।
९- राष्ट्रिय कर दिवसको अवसरमा सरकारले करको दायरा विस्तार, करदाता शिक्षा र डिजिटल कर सेवा प्रवर्द्धन गर्ने उद्देश्यसहित आजदेखि साताव्यापी कार्यक्रम सुरु गरेको छ । ‘कर न्याय र सुशासनको सुनिश्चितताः समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित सुरु भएको कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कर योगदान गर्ने १९ व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ । आन्तरिक राजस्व विभागमा आयोजित कार्यक्रममा करदाता सम्मानसँगै प्रभातफेरी, शुभकामना आदानप्रदान, निजी क्षेत्रसँग अन्तरक्रिया र करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
विभागअन्तर्गतका कार्यालयले आ–आफ्नो क्षेत्रका तीन–तीन जना करदातालाई समेत सम्मान गर्नेछन् । साताव्यापी कार्यक्रमअन्तर्गत करको दायरा विस्तार, करसम्बन्धी योजना कार्यान्वयन, डिजिटल सेवा प्रवर्द्धन तथा बिल लिने–दिने संस्कृतिको विकासका लागि प्रचारप्रसार गरिनेछ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा कर सचेतनामूलक सूचना पाटीसमेत राखिनेछ । त्यस्तै, शैक्षिक परामर्श तथा वैदेशिक रोजगारीसम्बन्धी कम्पनीलाई लक्षित कार्यक्रम, उद्योग वाणिज्य संघसँगको सहकार्यमा सचेतना अभियान र स्थानीय तहका कर्मचारीलाई राजस्वसम्बन्धी प्रशिक्षण दिइनेछ । सरकारले कर प्रशासनलाई पारदर्शी, सरल, भ्रष्टाचारमुक्त र प्रविधिमैत्री बनाउँदै करको प्रतिफल नागरिकले प्रत्यक्ष अनुभूति गर्ने वातावरण निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ ।
१०- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबार बस्ने भएको छ । आज बसेको स्थायी कमिटी बैठकले शुक्रबार बैठक बोलाइएको एमालेका उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् । यस अगाडि शनिबार बैठक बस्ने तय भएको थियो । एमालेले आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारीका लागि मंसिर २ र ३ गते राष्ट्रिय भेला आयोजना गरेको छ । उक्त भेलाको तयारीका बारेमा पनि आज छलफल भएको उनले बताए ।
११- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । मंगलबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको विस्तारित बैठकलाई सम्बोधन गर्दै ओलीले आन्दोलन सधैँ लामो तयारीपछि मात्रै नहुने भन्दै आवश्यकता परे तत्कालै आन्दोलनमा उत्रिनुपर्ने बताएका हुन् । उनले भने- ‘आन्दोलन सधै लामो तयारी गरेर मात्र हुन्छ भन्न सकिदैन । असह्य भएपछि आन्दोलन तत्काल हुनसक्छ । कुनै पनि बेला आन्दोलनमा जानुपर्ने हुनसक्छ, साथीहरु मानसिकरुपमा तयार भएर बस्नुहोला ।’
उनले आगामी निर्वाचनमा पार्टीलाई कमजोर बनाउन खोज्ने शक्तिविरुद्ध जित हासिल गर्ने गरी अघि बढ्न निर्देशन दिए । प्रदेशमा सरकार गठनको विषयमा सर्वोच्च अदालतले गरेको ब्याख्याप्रति असन्तुष्टि जनाउदै ओलीले अनौठो फैसला गरेको टिप्पणी गरे । उनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा ढिलाइ गरेको भन्दै उनले असन्तुष्टिसमेत व्यक्त गरे । ओलीले पार्टी पुनर्गठन गर्दै जनताको घरदैलोमा पुग्न, किसान तथा नागरिकसँग संवाद गर्न र एमालेलाई देशको निर्णायक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।
१२- नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । आज मंगलबार नेप्से १२.७९ अंकले घटेर २६३६.१० विन्दुमा पुगेर रोकिएको छ । आज ३५३ कम्पनिका एक करोड १२ लाख ९३ हजार ४५० कित्ता शेयर ४ अर्ब ७३ करोड ११ लाख ७८ हजार १७ मा कारोबार भएको थियो । आज म्युचुअल फण्डबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी अपर लोहोरे खोला हाइड्रोको शेयर ११.८४ प्रतिशतले बढेको छ भने एपोलो हाइड्रोको ५.६५ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एभरेष्ट कलरको शेयर ५.३६ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी नबिल डिभेन्चरको २८ करोड ९१ लाख बराबरको कारोबार भएको छ भने घलेम्दी हाइड्रोको २० करोड ३१ लाख बराबरको कारोबार भएको छ ।
१३- बंगालको खाडीमा विकसित चक्रवात ‘अकवान’ आज साँझसम्म शक्तिशाली आँधीमा परिणत हुन सक्ने भारतीय मौसम विभागले चेतावनी दिएको छ । चक्रवात नोभेम्बर १९ को राति आन्ध्र प्रदेशको तटीय क्षेत्रमा ठोक्किने सम्भावना छ। यसक्रममा प्रतिघण्टा १२० देखि १३० किलोमिटरको गतिमा हावा चल्ने र गति बढेर १४५ किलोमिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ । चक्रवातको प्रभावले आन्ध्र प्रदेश, ओडिशा र तमिलनाडुमा नोभेम्बर २१ सम्म भारी वर्षा हुने सम्भावना छ । तीन साताभित्र आन्ध्र प्रदेशलाई प्रभावित पार्ने यो तेस्रो चक्रवात हो । यसअघि आएका दुई चक्रवातका कारण करिब ७ हजार करोड भारतीय रुपैयाँबराबरको बालीमा क्षति पुगेको थियो । यसैबीच, भारतका हिमाली क्षेत्रमा हिमपात र वर्षाका कारण चिसो बढेको छ ।
उत्तराखण्डको बद्रीनाथमा तापक्रम माइनस ११ डिग्री सेल्सियसमा झरेपछि नदीको पानीसमेत जम्न थालेको छ । उत्तर प्रदेश, मध्य प्रदेश, राजस्थान र बिहारसहित आठ राज्यमा मंगलबार बिहान बाक्लो कुहिरो लागेको थियो । चक्रवातको प्रभावले नोभेम्बर २० र २१ मा ती क्षेत्रमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ । दिल्लीमा यस मौसमकै अहिलेसम्मको चिसो बिहान रेकर्ड भएको छ । सफदरजंगमा न्यूनतम तापक्रम ११.६ डिग्री सेल्सियस मापन गरिएको छ । चिसोसँगै दिल्लीको वायु प्रदूषण पनि खराब अवस्थामा रहेको छ । मंगलबार बिहान ८ बजे वायु गुणस्तर सूचकाङ्क २३८ पुगेको थियो भने सिरिफोर्ट क्षेत्रमा ३३३ मापन गरिएको थियो । बिहारमा आगामी दुई दिनमा न्यूनतम तापक्रम ३ डिग्री सेल्सियससम्म घट्ने र आगामी ७२ घण्टासम्म बिहान अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम कुहिरो लाग्ने अनुमान गरिएको छ ।
१४- नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदयामका लागि भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ । साथै, तीन जलविद्युत् आयोजनाबाट उत्पादित ५६ मेगावाट विद्युत् भारतमा बिक्री गर्न पनि अनुमति प्राप्त भएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाललाई भारतीय ऊर्जा विनिमय बजारको डे–अहेड तथा वास्तविक समय बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न अनुमति दिएको हो । प्राधिकरणले २०८३ मङ्सिर १ देखि २०८४ साउन १५ सम्म विद्युत् आयात गर्न पाउनेछ । बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्म भने आयात गर्न पाइने छैन । अनुमतिअनुसार कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनबाट ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया प्रसारण लाइनबाट ५० मेगावाट विद्युत् आयात गर्न सकिनेछ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भारतबाट ३५० मेगावाट आयातको अनुमति प्राप्त भएकाले आगामी हिउँदयाममा विद्युत् माग र आपूर्ति व्यवस्थापन सहज हुने बताएका छन् । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीका कारण जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुग्दा ४३१ मेगावाट जडित क्षमताका आयोजना राष्ट्रिय विद्युत् प्रणालीबाट विच्छेद भएका छन् । प्राधिकरणको अनुमानअनुसार यस वर्ष पुसदेखि चैतसम्म आन्तरिक उत्पादनभन्दा विद्युत् माग बढी हुनेछ। विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने देखिएको छ । उच्च माग हुने समयमा भने दैनिक ८०० देखि ९०० मेगावाटसम्म आयात आवश्यक पर्ने अनुमान छ । पुस र चैतमा तुलनात्मक रूपमा कम विद्युत् आयात गरे पुग्ने तथा वैशाखदेखि नदीमा पानीको बहाव बढेसँगै आन्तरिक उत्पादन वृद्धि भएर आयात घट्दै निर्यात सुरु हुने प्राधिकरणको आकलन छ । प्राधिकरणले तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ । उक्त विद्युत् पनि २०८३ मङ्सिर १ देखि २०८४ साउन १५ सम्म निर्यात गर्न सकिनेछ ।
१५- त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्ने उद्देश्यले विभिन्न देशका लागि ‘कन्ट्री फोकल पर्सन’ नियुक्त गर्न आवेदन आह्वान गरेको छ । विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रले हालै स्वीकृत ‘त्रिविको अन्तर्राष्ट्रियकरणसम्बन्धी निर्देशिका, २०२६’ अनुसार इच्छुक स्थायी प्राध्यापकबाट आवेदन माग गरेको हो । उपकुलपतिबाट नियुक्त हुने उक्त पद मानार्थ तथा स्वयंसेवी हुनेछ भने कार्यकाल सुरुमा दुई वर्षको रहनेछ ।
नियुक्त व्यक्तिले सम्बन्धित देशका विश्वविद्यालयसँग भएका सम्झौता कार्यान्वयन तथा सक्रिय बनाउने, संयुक्त अनुसन्धान, विद्यार्थी तथा प्राध्यापक आदानप्रदान प्रवर्द्धन गर्ने, अनुसन्धानका लागि आर्थिक स्रोत खोज्ने र विदेशी विद्यार्थीलाई त्रिविमा आकर्षित गर्न सहजीकरण गर्ने जिम्मेवारी पाउनेछन् । इच्छुक स्थायी प्राध्यापकले आगामी मंसिर १० गते (नोभेम्बर २५) भित्र अनलाइन आवेदन दिन सक्नेछन् । आवेदनसँगै अन्तर्राष्ट्रिय अनुभव, व्यक्तिगत विवरण र आगामी दुई वर्षको कार्ययोजना पेस गर्नुपर्नेछ । त्रिविले आवेदकको अन्तर्राष्ट्रिय अनुभव, सम्बन्धित देशसँगको सम्पर्क र सहकार्य विस्तार गर्न सक्ने क्षमताका आधारमा छनोट गर्ने जनाएको छ ।
१६- प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा आयोजित वित्तीय अपराध अनुसन्धानसम्बन्धी कार्यशाला गोष्ठीको उद्घाटन गरेका छन् । ‘आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान : वित्तीय अपराध रोकथाम नेपाल प्रहरीको मूल अभियान’ नारासहित आयोजित कार्यशालामा वित्तीय अपराधको प्रमाण सङ्कलनदेखि न्यायिक फैसलासम्मका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा प्रहरी अधिकारी, अभियोजनकर्ता, वित्तीय नियामक निकाय, बैंक तथा वित्तीय संस्था र दूरसञ्चार सेवा प्रदायकका प्रतिनिधिहरू सहभागी थिए।
सोही अवसरमा प्रहरी महानिरीक्षक केसीले ‘नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह–भाग ३’ पुस्तकसमेत विमोचन गरेका थिए । उनले वित्तीय अपराधको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो प्रयोगलाई सम्बोधन गर्न आधुनिक प्रविधि तथा वैज्ञानिक अनुसन्धान पद्धति आवश्यक रहेको बताए । साथै, वित्तीय अपराध नियन्त्रणका लागि सम्बन्धित सरकारी निकाय, बैंक तथा वित्तीय संस्था र अन्य सरोकारवालाबीच समन्वय तथा सूचनाको आदानप्रदान प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
१७- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित प्रविधि क्षेत्रका चर्चित व्यक्तिहरूले एनभिडियाका पूर्वप्रमुख जेन्सेन हुआङलाई पुनः जिम्मेवारी दिन समर्थन जनाएका छन् । तर कम्पनीको सञ्चालक समितिले उनलाई पुनर्बहाली गर्ने विषयमा चासो नदेखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विवाहेतर सम्बन्धका विषय सार्वजनिक भएपछि हुआङले गत साता पदबाट राजीनामा दिएका थिए । उनीसँग सम्बन्धित एक महिलामाथि चिनियाँ गुप्तचर भएको आशङ्का पनि गरिएको छ । त्यसपछि उनलाई पुनः जिम्मेवारी दिन माग गर्दै सुरु गरिएको अभियानमा १ लाख ७५ हजारभन्दा बढीले हस्ताक्षर गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प, स्पेसएक्सका प्रमुख एलन मस्क र एपिक गेम्सका प्रमुख टिम स्वीनीले हुआङको पुनरागमनलाई समर्थन गरेका छन् ।
ट्रम्पले पनि उनलाई पुनः जिम्मेवारी दिइए आफूलाई आपत्ति नहुने बताएका छन् । तर अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भने एनभिडियाले नयाँ प्रमुख कम्पनीबाहिरबाट नियुक्त गर्नुपर्ने धारणा राखेका छन् । यसैबीच, अमेरिकी सरकारले चीनमा कृत्रिम बौद्धिकतासम्बन्धी अत्याधुनिक उपकरणको पहुँच सीमित गर्न चिप निर्यातमा थप कडाइ गर्ने घोषणा गरेको छ । नयाँ व्यवस्थाअनुसार सिङ्गापुर, थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया र ब्राजिलका कम्पनीले अत्याधुनिक चिप निर्यातका लागि अमेरिकी अनुमति लिनुपर्नेछ । हुआङले राजीनामा दिएपछि अहिले प्रमुख फाइनान्स अफिसर रहेकी कोलेट क्रेसले कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको भूमिका निभाइरहेकी छन् ।
१८- युरोपेली सङ्घका पाँच देशले अवैध रूपमा बसोबास गरिरहेका आप्रवासीलाई फिर्ता पठाउने उद्देश्यले रुवान्डामा आप्रवासी फिर्ता केन्द्र खोल्ने भएका छन् । जर्मनी, डेनमार्क, अस्ट्रिया, ग्रिस र नेदरल्यान्ड्सले सन् २०२७ देखि सञ्चालनमा ल्याउने गरी यस्तो केन्द्र स्थापना गर्न सहमति गरेका हुन् । यस योजनाअन्तर्गत ती पाँच देशमा बस्नका लागि कानुनी सबै विकल्प समाप्त भएका र देश निकाला गर्नुपर्ने अवस्थामा रहेका आप्रवासीलाई रुवान्डा पठाइनेछ । पहिलो चरणमा पुरुष आप्रवासीलाई मात्र पठाउने र करिब १०० जनालाई राख्ने तयारी गरिएको छ। पाँचवटै देशले प्रारम्भिक चरणमा करिब २०–२० जना पठाउन सक्नेछन् । रुवान्डा पुगेका आप्रवासीले त्यहाँको समाजमा घुलमिल भएर बस्न वा आफ्नै देश फर्कन सक्नेछन् ।
रुवान्डामा बस्न चाहनेले आवासीय अधिकारसँगै शिक्षा, स्वास्थ्य सेवा, रोजगारी र कानुनी सुविधासमेत पाउनेछन् । रुवान्डाका आन्तरिक मामिलामन्त्री भिन्सेन्ट बिरुताले आप्रवासीका लागि सुरक्षित र सम्मानजनक व्यवस्था गर्न युरोपेली साझेदारसँग सहकार्य गर्ने बताएका छन् । तर, मानव अधिकारवादी संस्थाहरूले यस योजनाप्रति चिन्ता व्यक्त गरेका छन् । ह्युमन राइट्स वाचले रुवान्डामा मनपरी पक्राउ, हिरासतमा दुर्व्यवहार र राजनीतिक दमनको समस्या रहेको भन्दै आप्रवासीको अधिकार जोखिममा पर्न सक्ने चेतावनी दिएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पनि यस योजनाको आलोचना गर्दै यसमा न भविष्य देखिएको छ, न मानवीयता भनेका छन् ।
१९- नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर खरिद लागत महँगिए पनि उपभोक्ताका लागि हाल कायम बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । निगमले इन्डियन आयल कर्पोरेसनबाट २०८३ कात्तिक २९ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन नगर्ने निर्णय गरेको हो । निगम सञ्चालक समितिको कात्तिक ३० गतेको निर्णयअनुसार पेट्रोल र डिजेलको साविककै बिक्री मूल्य कायम राखिएको निगमले जनाएको छ ।
निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम राखेको छ । पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल रहेका छन् । मूल्य यथावत् राख्दा निगमलाई मासिक रूपमा करिब १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको निगमले जनाएको छ ।
२०- हलिउड अभिनेता रोबर्ट प्याटिन्सन नयाँ जेम्स बन्ड बन्ने भएका छन् । अमेजनले प्याटिन्सनलाई चर्चित जासुसी पात्र जेम्स बन्ड अर्थात् ‘००७’ को भूमिकामा चयन गरिएको घोषणा गरेको हो । नयाँ जेम्स बन्डका रूपमा प्याटिन्सनलाई प्रस्तुत गरिएको भिडियोमा उनी कालो सुट लगाएर हातमा बन्दुक बोकेको अवस्थामा देखिएका छन् । भिडियोको अन्त्यमा ‘जेम्स बन्ड पुनः फर्किनेछन्’ भन्ने सन्देश राखिएको छ ।
प्याटिन्सनले जेम्स बन्डजस्तो चर्चित पात्रको भूमिका पाउनु आफ्नो जीवनकै ठूलो सम्मान भएको बताएका छन् । उनले यो भूमिका आफ्नो सपना पूरा भएजस्तै रहेको उल्लेख गर्दै निर्देशक डेनिस भिलेनुभ, निर्माता एमी पास्कल, डेभिड हेम्यानलगायत अमेजनका सम्पूर्ण टोलीप्रति आभार व्यक्त गरेका छन् । नयाँ चलचित्रका निर्देशक डेनिस भिलेनुभले प्याटिन्सनलाई नयाँ जेम्स बन्डका रूपमा स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् । उनका अनुसार प्याटिन्सनमा जेम्स बन्डको परम्परागत व्यक्तित्वसँगै नयाँपन पनि छ । निर्माता एमी पास्कल र डेभिड हेम्यानले पनि प्याटिन्सनको अभिनय क्षमता, निर्भीकता र आफूलाई निरन्तर नयाँ रूपमा प्रस्तुत गर्ने खुबीले उनलाई उपयुक्त पात्र बनाएको बताएका छन् ।
जेम्स बन्डको भूमिकामा प्याटिन्सन सातौँ अभिनेता हुनेछन् । यसअघि ड्यानियल क्रेगले जेम्स बन्डको भूमिका निर्वाह गरेका थिए । उनले आगामी चलचित्रमा पुनः अभिनय नगर्ने घोषणा गरेपछि नयाँ बन्डको खोजी सुरु भएको थियो । नयाँ कलाकार चयनको चर्चा करिब पाँच वर्षदेखि चल्दै आएको थियो । प्याटिन्सन ‘ट्वाइलाइट’ चलचित्र शृङ्खलामा एडवर्ड कलेनको भूमिका निर्वाह गरेपछि चर्चामा आएका थिए । उनले ‘ह्यारी पोटर एन्ड द गोब्लेट अफ फायर’मा सेड्रिक डिगोरीको भूमिका पनि खेलेका थिए । पछिल्लो समय ‘द ब्याटम्यान’लगायत चलचित्रमा अभिनय गरेर उनले आफ्नो छुट्टै पहिचान बनाएका छन् । यसअघि जेम्स बन्डको भूमिकाका लागि ज्याक लोडेन, क्यालम टर्नर र जोस ओ’कनरलगायत कलाकारको नाम चर्चामा थियो । तर निर्माताहरूले विश्वव्यापी दर्शकमाझ परिचित र ठूला चलचित्र शृङ्खला सफलतापूर्वक अघि बढाएको अनुभव भएका प्याटिन्सनलाई छनोट गरेका हुन् ।