काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा केही राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन चिह्नको भौतिक स्वरुप बोकेर प्रयोग गरेको भन्ने गुनासो आएपछि निर्वाचन आयोगले त्यस्तो कार्य नगर्न आग्रह गरेको छ । आयोगका अनुसार फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै प्रचारप्रसार गर्दा धातु, काठ वा अन्य कडा सामग्रीबाट बनाइएका भौतिक निर्वाचन चिह्न प्रयोग गर्दा सुरक्षा जोखिम बढेको र सार्वजनिक शान्तिमा असर परेको भन्ने सूचना प्राप्त भएको जनाउदै कपडा, तुल, फ्लेक्स वा कागजमा छापी तोकिएको मापदण्डअनुसार निर्वाचन चिह्न प्रयोग गर्न पाइने भए पनि भौतिक स्वरुपका चिह्न बोकेर हिँड्नु उपयुक्त नहुने आयोगले स्पष्ट गरेको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१(१) अनुसार दल र उम्मेदवारलाई प्रदान गरिने निर्वाचन चिह्न आयोगले निर्धारण गर्ने व्यवस्था छ। त्यस्तै, प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा ४३(१) बमोजिम दललाई अनुसूची-३० र स्वतन्त्र उम्मेदवारलाई अनुसूची-३१ अनुसार निर्वाचन चिह्न प्रदान गरिन्छ । साथै, निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को खण्ड (ड) मा दलको झण्डा र चुनाव चिह्न प्रयोगसम्बन्धी मापदण्ड स्पष्ट गरिएको छ ।
यसै सन्दर्भमा आयोगले सबै राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिता पालना गर्दै तोकिएको मापदण्डअनुसार झण्डा र चुनाव चिह्नमार्फत मात्र प्रचारप्रसार गर्न अनुरोध गरेको छ । विपरीत कार्य गरेमा आचारसंहिताविपरीत मानिने चेतावनीसमेत आयोगले दिएको छ । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले सबै सरोकारवालालाई नियमको पालना गरी शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्न अपिल गरेका छन् ।
२- काठमाडौँको तारकेश्वर नगरपालिकास्थित मनमैजु क्षेत्रमा घरभित्र पसेको चितुवाको उद्धार गरिएको छ । डिभिजन वन कार्यालय र सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर चितुवालाई उद्धार गरेको हो । चितुवाको आक्रमणबाट घरका तीन जना घाइते भएका थिए । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । स्थानीय बासिन्दाका अनुसार चितुवा अचानक एक घरमा प्रवेश गरी त्यहाँ रहेका व्यक्तिमाथि आक्रमण गरेको थियो । घटनापछि मनमैजु आसपासका बासिन्दामा त्रास फैलिएको थियो ।

३- इङल्याण्डले श्रीलंकालाई पराजित गरेको छ । जारी टी-२० विश्वकपको सुपर आठको अन्तर्गतको खेलमा इङल्याण्डले श्रीलंकालाई ५१ रनले पराजित गरेको हो । इङल्याण्डले दिएको १४७ रनको लक्ष्य पछाएको श्रीलंकाले १६.४ ओभरमा अल आउट हुदै ९५ रन मात्र बनाएको हो । श्रीलंकाका लागि कप्तान दुशान शानकाले सर्बाधिक ३० रन बनाएका थिए । त्यस्तै इङल्याण्डका बलर विल ज्याकले ३ विकेट लिए भने जोफ्रा आर्चर, लियाम डावसन र आदील रशिदले २-२ विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो ।

इङल्याण्डका लागि फिल साल्टले सर्बाधिक ६२ रन बनाएका थिए भने विल ज्याकले २१, कप्तान ह्यारी ब्रुकले १४ रन बनाएका थिए । त्यसैगरी श्रीलंकाका बलर दुनिथ वेल्लालागे, दिलशान मदुशान्का र महीश थीकशानाले २-२ विकेट लिएका थिए भने दुषमनथा चामेराले एक विकेट लिएका थिए । अब सुपर आठ अन्तर्गत इङल्याण्डले अर्को खेल मंगलबार पाकिस्तानविरुद्ध खेल्ने छ भने श्रीलंकाले बुधबार न्यूजील्याण्डविरुद्ध खेल्ने तालिका छ ।

४- यूक्रेनी राष्ट्रपति भोलोदिमीर ज़ेलेन्स्कीले रूसले यूक्रेनमाथि ५० वटा मिसाइल र २९७ वटा ड्रोन प्रयोग गरी आक्रमण गरेको दाबी गरेका छन् । उनले तीमध्ये अधिकांश मिसाइल र ड्रोनलाई युक्रेनी वायु प्रतिरक्षा प्रणालीले खसाल्न सफल भएको बताएका छन् । ज़ेलेंस्कीले यसपटक रूसले ऊर्जा केन्द्रसँगै रसद आपूर्ति संरचनालाई पनि निशाना बनाएको उल्लेख गरेका छन् । विशेषगरी रेल सेवा र पानी आपूर्ति प्रणालीमा आक्रमण केन्द्रित गरिएको उनको भनाइ छ । उनले क्षेत्रीय प्रतिनिधिहरूसँग छलफल गर्दै रूसी आक्रमणबाट जोगिने संयन्त्र अझ सुदृढ गर्नुपर्ने र बदलिँदो रणनीतिलाई ध्यानमा राख्नुपर्ने बताएका छन् ।

उनका अनुसार किभ क्षेत्रको बोरीस्पिल जिल्लामा रहेको एक चर्च रूसी आक्रमणबाट क्षतिग्रस्त भएको छ भने अन्य स्थानमा सर्वसाधारणका घरहरूमा पनि क्षति पुगेको छ । प्रभावित नागरिकलाई सहायता उपलब्ध गराइएको जनाउँदै उनले सुमी क्षेत्रमा सुरक्षालाई थप मजबुत बनाउन रक्षा मन्त्रालयलाई अतिरिक्त बल परिचालन गर्न निर्देशन दिएको जानकारी दिएका छन् । यसअघि शोस्तका जिल्लामा रूसी ड्रोन आक्रमणमा एम्बुलेन्स लक्षित हुँदा तीन जनाको मृत्यु भएको पनि ज़ेलेंस्कीले दाबी गरेका छन् । राष्ट्रपति ज़ेलेंस्कीले युक्रेनलाई निरन्तर वायु प्रतिरक्षा मिसाइल उपलब्ध गराइरहेका सहयोगी राष्ट्रहरूलाई धन्यवाद व्यक्त गर्दै सुरक्षा सुदृढीकरण प्रत्येक दिन आवश्यक रहेको बताएका छन्।

५- गौर नगरपालिका–६ सबगढा गाउँमा देखिएको दुई समुदायबीचको विवादपछि उत्पन्न तनावपूर्ण अवस्थाप्रति सर्वपक्षीय बैठकले जिल्लाभर सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न सार्वजनिक अपिल जारी गरेको छ । फागुन ७ गते राति करिब ९:४५ बजे सुरु भएको सामान्य विवाद समाधानका लागि सुरक्षाकर्मी परिचालन गरिएको थियो । त्यसपछि फागुन ८ गते दुवै पक्षका प्रतिनिधिबीच छलफल भई ६ बुँदे सहमति गरिएको थियो । तर फागुन ९ गते बिहानैदेखि अवस्था पुनः जटिल बन्दै गएपछि सम्भावित जनधनको क्षति रोक्न जिल्ला सुरक्षा समितिको निर्णयानुसार दिउँसो १ बजेदेखि कर्फ्यू आदेश जारी गरिएको थियो ।
आइतबार बसेको सर्वपक्षीय बैठकले घटनाप्रति खेद व्यक्त गर्दै शान्तिपूर्ण वातावरण पुनःस्थापना गर्न सबै पक्षले संयमता अपनाउनुपर्ने निर्णय गरेको छ । बैठकले स्थानीय भद्रभलादमी तथा अगुवाहरूको उपस्थितिमा औपचारिक-अनौपचारिक संवादमार्फत समस्या समाधानको पहल अघि बढाउने जनाएको छ । त्यस्तै, सामाजिक सञ्जालमा अन्तर्राष्ट्रिय घटनालाई जिल्लासँग जोडेर भ्रामक प्रचारप्रसार गर्ने कार्यप्रति निगरानी बढाउने र आवश्यक परे कारबाहीका लागि सुरक्षा निकायलाई सहयोग गर्ने निर्णय पनि गरिएको छ ।
घटनामा संलग्न देखिएका व्यक्तिमाथि अनुसन्धान जारी रहेको र दोषी ठहरिए कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ । जिल्लाभर धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव कायम राख्ने उद्देश्यले फागुन ११ गते बिहान ७: ३० बजे नागरिक समाजको अगुवाइमा सबगढामा सद्भाव र्याली आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ । बैठकले द्वन्द्वबाट हुने क्षति सबैको साझा क्षति हुने भएकाले आपसी सम्मान, सहिष्णुता, एकता र समझदारी कायम गर्दै शान्ति स्थापना गर्न सम्पूर्ण जिल्लावासीसँग हार्दिक अपिल गरेको छ ।
६- पाकिस्तान र अफगानिस्तानबीचको सीमाक्षेत्रमा तनाव पुनः बढेको छ । पाकिस्तानले अफगानिस्तानको भूभागमा हवाई आक्रमण गरेको दाबी गरिएको छ, जसमा बालबालिकासहित ११ जनाको ज्यान गएको बताइएको छ । घटनापछि काबुलले कडा प्रतिक्रिया जनाउँदै उचित समयमा सहि जवाफ दिने चेतावनी दिएको छ । पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इस्लामाबादस्थित एक शिया मस्जिद, बाजौर र बन्नूमा भएका आतंकी आक्रमणमा अफगानिस्तानमा रहेका समूहहरूको संलग्नता रहेको ठोस प्रमाण भेटिएको दाबी गरिएको छ ।
ती आक्रमणको जिम्मेवारी अफगानिस्तानमा सक्रिय तहरीक-ए-तालिबान पाकिस्तान (टीटीपी) र इस्लामिक स्टेट अफ खुरासान प्रोविन्स (आईएसकेपी) ले लिएको मन्त्रालयले जनाएको छ । विज्ञप्तिमा पाकिस्तानले अफगान तालिबान सरकारलाई आफ्नो भूमिबाट पाकिस्तानविरुद्ध आतंकी गतिविधि हुन नदिन बारम्बार आग्रह गरेको तर त्यसतर्फ ठोस कदम नचालिएको आरोप लगाइएको छ । सोही पृष्ठभूमिमा प्राप्त गोप्य सूचनाका आधारमा आतंकी ठेगानालाई लक्षित गरी कारबाही गरिएको पाकिस्तानको दाबी छ । उता, अफगानिस्तानको रक्षा मन्त्रालयले पाकिस्तानी आक्रमणको कडा निन्दा गर्दै पक्तिका र नंगरहार प्रान्तमा गरिएको आक्रमणको जवाफ दिइने चेतावनी दिएको छ । मन्त्रालयले भनेको छ- ‘हामी चुप लागेर बस्ने छैनौं, समय आएपछि यस्तो जवाफ दिनेछौं कि सम्झिरहनेछन् ।’
सीमाको सुरक्षा र नागरिकको संरक्षण राष्ट्रिय कर्तव्य भएको पनि अफगान पक्षले जनाएको छ । अफगानिस्तानले उक्त आक्रमणलाई आफ्नो सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानुनको खुला उल्लंघन भएको दाबी गर्दै सर्वसाधारण र धार्मिक स्थल लक्षित भएको आरोप लगाएको छ । साथै, यस घटनालाई पाकिस्तानको आफ्नै सुरक्षा तथा गुप्तचर संयन्त्रको असफलताको परिणाम भएको टिप्पणीसमेत गरेको छ । दुई देशबीच पछिल्ला वर्षहरूमा सीमाक्षेत्रमा बारम्बार तनाव उत्पन्न हुँदै आएको छ । पछिल्लो घटनाले क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्ने संकेत दिएको छ ।
७- नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी किर्तिपूर नगरपालिकाका पूर्व मेयर रमेश मर्हजन र वडा नम्बर ६ का पूर्व वडाअध्यक्ष नुच्छे मर्हजन नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । उनीहरूलाई पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा नेता बामदेव गौतम लगायत नेताहरूले आज पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा संयोजक प्रचण्डले नेपाली कम्युनिष्ट पार्टी धेरै कम्युनिष्ट पार्टीहरु मिलेर बनेको बताउँदै यो एकता सिंगो एमालेसहितको बृहत् एकतामा पुग्ने विश्वास व्यक्त गरे ।
उनले राष्ट्रवादि शक्तिहरूबीचको सहकार्यले देशको राजनीतिमा सकारात्मक सन्देश जाने धारणा राखे । पार्टी प्रवेश गरेका पूर्व मेयर रमेश मर्हजन र पूर्व वडाअध्यक्ष नुच्छे मर्हजनले नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट किर्तिपूर–१० मा तारा चिन्हबाट उम्मेदवार रहेकी रुपा मर्हजनलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए । पूर्व मेयर रमेश मर्हजनले दुई तिहाइको सरकारको नेतृत्व गर्दा पनि जनअपेक्षा अनुसार काम गर्न नसकी हेलिकप्टरमार्फत बाहिरिनु परेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनतासँग पुनः मत माग्ने नैतिक अधिकार नभएको टिप्पणी गरे ।
८- निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरेको छ । आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार मतदाताको उत्साहजनक सहभागिता सुनिश्चित गर्ने उद्देश्यले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गर्न नेपाल सरकारलाई सिफारिस गरिएको हो । आयोगले निर्वाचन प्रक्रियामा सहजता र मतदाताको सहभागिता बढाउन बिदा आवश्यक ठानेको जनाएको छ । सार्वजनिक बिदा दिने वा नदिने अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकबाट हुने जनाइएको छ ।
९- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा संघीय प्रणालीको रक्षा मधेशको बलियो उपस्थिति र खबरदारीमा मात्रै निर्भर रहेको बताएका छन् । संघीयताको जननी नै मधेश प्रदेश भएकोले मधेशको संघर्ष, बलिदान र आन्दोलनकै परिणामस्वरूप देशमा संघीयता स्थापित भएको उनले स्मरण गराए । ‘संघीयतालाई असफल देखाउने, अधिकार कटौती गर्ने र पुनः केन्द्रिकृत शासनतर्फ फर्काउने प्रयास भइरहेको छ,’ सप्तरीको चुनावी अभियानमा रहेका अध्यक्ष यादवले आइतबार मतदातालाई सम्बोधन गर्दै भने, ‘तर मधेश जागरुक छ भने त्यस्ता कुनै पनि षड्यन्त्र सफल हुँदैनन् ।’ सप्तरी निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदबार समेत रहेका जसपा नेपालका अध्यक्ष यादवले संघीयता माथि भइरहेको प्रहारप्रति गम्भीर चिन्ता व्यक्त गर्दै केही शक्तिहरू संघीय व्यवस्थालाई कमजोर पार्ने र अन्ततः समाप्त गर्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।
‘मुलुकमा संघीयता धानिएकै मधेश प्रदेशको दृढ अडानको कारणले हो । मधेशले आवाज उठाएन भने संघीयता केवल कागजमा सीमित हुनेछ । अधिकारको रक्षा गर्न मधेश सधैं अग्रपंक्तिमा उभिएको छ,’ अध्यक्ष यादवले भने । मधेशको शक्तिलाई कमजोर बनाउने कुनै पनि प्रयास अन्ततः संघीयता कमजोर पार्ने प्रयास भएको उनले स्पष्ट गरे । ‘मधेश कमजोर भयो भने संघीयता रहँदैन । त्यसैले मधेशलाई राजनीतिक, आर्थिक र प्रशासनिक रूपमा बलियो बनाउनु आजको अपरिहार्य आवश्यकता हो,’ उनले जोड दिए । चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले संघीयताको रक्षा, अधिकारको सुनिश्चितता र स्वाभिमानको संरक्षणका लागि मतदानमार्फत् जसपा नेपाललाई बलियो बनाउन आमजनतालाई सार्वजनिक अपील गरेका छन् ।
१०- नेप्सेमा गिरावट आएको छ । आइतबार नेप्से २७.५९ अंकले घटेर २६१४.५५ विन्दुमा पुगेर रोकिएको छ । आज ३२४ कम्पनिका एक करोड ५९ लाख ८९ हजार ४३० कित्ता शेयर ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार २०४ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज सालपा विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ भने रिलायन्स स्पिनिंग मिल्सको शेयर ९.२६ प्रतिशतले बढेको छ । त्यसैगरी बुद्ध भुमि नेपाल हाइड्रोको शेयर सबैभन्दा बढी ८.९२ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ६३ करोड ४२ लाख बराबरको कारोबार भएको छ भने रिडी पावरको ३७ करोड ६० लाख बराबरको कारोबार भएको छ ।
११- हङकङमा सन् २०२५ नोभेम्बरमा भएको भीषण आगलागीको तीन महिनापछि सरकारले पुनर्वास योजना सार्वजनिक गरेको छ । हङकङको ताइ पोस्थित वाङ फुक कोर्टका सातवटा भवनका करिब १७ सय फ्ल्याट मालिकलाई स्वामित्व अधिकार नगदमा बेच्ने वा फ्ल्याट साटफेर गर्ने विकल्प दिने सरकारले घोषणा गरेको हो । नोभेम्बर २६, २०२५ मा लागेको आगलागीमा १६८ जनाको ज्यान गएको थियो भने हजारौं बासिन्दा विस्थापित भएका थिए । हाल उनीहरू अस्थायी आवासमा बस्दै आएका छन् र सरकारले भाडा सहयोग उपलब्ध गराइरहेको छ । सरकारका अनुसार सम्पूर्ण पुनर्वास प्रक्रियामा करिब ६.८ अर्ब हङकङ डलर (झन्डै ७ हजार ८९२ करोड नेपाली रुपैयाँ) खर्च हुने अनुमान गरिएको छ ।
यसमध्ये ४ अर्ब डलर सार्वजनिक कोषबाट र बाँकी राहत कोषबाट व्यवस्थापन गरिने सरकारले जानकारी दिएको छ । प्रभावित फ्ल्याट मालिकहरूसँग सरकारले स्वामित्व अधिकार नगदमा खरिद गर्नेछ । इच्छुकहरूले सरकारी नीतिअनुसार नयाँ फ्ल्याट खरिद गर्न सक्नेछन् भने ठूलो रकम लिन नचाहनेहरूका लागि प्रत्यक्ष फ्ल्याट साटफेरको व्यवस्था गरिनेछ । मार्च महिनादेखि प्रभावित मालिकहरूसँग सम्पर्क प्रक्रिया सुरु गरिने र साटफेर योजना रोज्नेहरूले सेप्टेम्बरदेखि नयाँ आवास छनोट गर्न पाउने जनाइएको छ । सरकारका उपवित्त सचिव माइकल वोंगले क्षतिग्रस्त भवनहरूको मर्मत सम्भव र किफायती नभएको बताएका छन् ।
प्रशासन सातवटै भवन भत्काएर उक्त स्थानमा पुनः आवासीय निर्माण नगर्ने पक्षमा रहेको छ । त्यस स्थानमा पार्क वा सामुदायिक सुविधा निर्माण गर्ने योजना अघि सारिएको छ । वोंगका अनुसार सरकारी हस्तक्षेप नभए फ्ल्याट मालिकहरूले बजारमा खरिदकर्ता नपाउने र उनीहरूको वर्षौंदेखिको लगानी शून्य हुन सक्ने जोखिम थियो । हालै गरिएको सर्वेक्षणमा ७४ प्रतिशत प्रभावितले स्वामित्व अधिकार सरकारलाई बेच्ने इच्छा व्यक्त गरेका छन् भने ९ प्रतिशतले सोही स्थानमा पुनः निर्माण चाहेको बताएका छन् । पुनः निर्माण प्रक्रियामा करिब १० वर्ष लाग्न सक्ने अनुमान गरिएको छ ।
१२- बलिउड अभिनेता रणबीर कपुर र उनको परिवारले आफ्नो सिनेम्याटिक विरासत पुनर्जीवित गर्ने दिशामा महत्वपूर्ण कदम चालेका छन् । उनीहरूले मुम्बईको अन्धेरी इस्टस्थित ‘कनकिया वाल स्ट्रिट’ व्यावसायिक कम्प्लेक्समा पाँच तला २० वर्षका लागि लिजमा लिएर आरके स्टुडियोको नयाँ संस्करण स्थापना गर्ने तयारी गरेका छन् । ऐतिहासिक आरके स्टुडियोजका संस्थापक तथा रणबीरका हजुरबुवा राज कपुरले स्थापना गरेको मूल स्टुडियो चेम्बुरमा रहेको थियो । सन् २०१८ मा भीषण आगलागी र मर्मतसम्भारको बढ्दो चुनौतीका कारण उक्त स्टुडियो बिक्री गरिएको थियो ।
नयाँ लिज सम्झौतासँगै आरके ब्रान्डलाई आधुनिक पूर्वाधारसहित पुनःस्थापित गर्ने प्रयास थालिएको हो । पाँच तलामा अत्याधुनिक प्रोडक्सन तथा क्रिएटिभ हब निर्माण गरिनेछ । योजनाअनुसार भर्चुअल प्रोडक्सनका लागि साउन्डस्टेज, सम्पादन तथा पोस्ट-प्रोडक्सन सूट, स्क्रिनिङ रुम, भीएफएक्स सुविधा र कपुर परिवारको सिर्जनात्मक तथा प्रशासनिक टोलीका लागि छुट्टै कार्यालय रहनेछन् । साथै, आरकेसँग सम्बन्धित ऐतिहासिक सामग्री सुरक्षित राख्न अभिलेख कक्ष र आतिथ्य क्षेत्रसमेत बनाइने जनाइएको छ । लिजको आर्थिक विवरण सार्वजनिक नभए पनि आवश्यक स्वीकृति प्राप्त भएमा सन् २०२६ को मध्यतिर सञ्चालन सुरु हुन सक्ने बताइएको छ ।
नयाँ स्टुडियोमा एकैपटक फिल्म र विज्ञापन छायांकन गर्न सकिने गरी संरचना तयार गरिनेछ, जसले मुम्बईका अन्य प्रोडक्सन स्पेससँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ । उद्योग विश्लेषकहरूका अनुसार यो पहल केवल अतीतको सम्मान मात्र नभई भारतीय सिनेमाको भविष्यमा रणनीतिक लगानी पनि भएको बताइएको छ । रणबीर कपुरका सम्भावित निर्देशन परियोजनाहरूका लागि पनि यही स्टुडियो आधार बन्न सक्ने संकेत दिएका छन् ।
१३- अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो शक्तिशाली स्पेस लञ्च सिस्टम चन्द्र रकेटको महत्वपूर्ण इन्धन परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । यस सफलतासँगै आर्टेमिस-२ मानवयुक्त चन्द्र अभियानको तयारीले गति लिएको छ । यो अभियानमार्फत ५० वर्षभन्दा बढीपछि अन्तरिक्ष यात्री पुनः चन्द्रमातर्फ उड्नेछन् । आर्टेमिस- २ नासाको आर्टेमिस कार्यक्रमअन्तर्गतको पहिलो मानवयुक्त चन्द्र मिशन हो । सन् १९७२ मा सम्पन्न एपोलो १७ पछि पहिलो पटक अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमाको कक्षासम्म लैजाने योजना रहेको छ । करिब १० दिनको यस यात्रामा चार जना अन्तरिक्ष यात्री ‘ओरियन’ अन्तरिक्ष यानमार्फत चन्द्रमाको परिक्रमा गर्नेछन्, तर अवतरण भने गर्ने छैनन् ।
यो भविष्यको आर्टेमिस- ३ चन्द्र अवतरण अभियानका लागि महत्वपूर्ण सुरक्षा परीक्षणका रूपमा हेरिएको छ । नासाको टोलीले प्रक्षेपणस्थलमा उभिएको एसएलएस रकेटमा दोस्रोपटक सुपर-कुल्ड इन्धन भरेको थियो। करिब सात लाख ग्यालन (झन्डै २६ लाख लिटर) अत्यन्त चिसो इन्धन भरेर काउन्टडाउन अन्तिम ३० सेकेन्डसम्म पुर्याइयो । अन्तिम १० मिनेटको प्रक्रियाको पुनः परीक्षणका लागि काउन्टडाउन रोकिने निर्णय गरिएको थियो । नासाका अनुसार यसपटक हाइड्रोजन ग्यासको चुहावट न्यून र सुरक्षित सीमाभित्र रहेको पाइयो । इन्जिनियरहरू अहिले परीक्षणबाट प्राप्त तथ्यांक विश्लेषणमा जुटेका छन् ।
यसले आगामी मार्चमा मिशन प्रक्षेपण सम्भव छ वा छैन भन्ने निर्णय गर्न सहयोग गर्नेछ । करिब दुई साता अघि गरिएको परीक्षणमा रकेट र लञ्च प्याडबीचको जडानबाट ठूलो मात्रामा लिक्विड हाइड्रोजन चुहावट भएको थियो, जसलाई जोखिमपूर्ण मानिएको थियो। त्यसपछि इन्जिनियरहरूले सिल र फिल्टर परिवर्तन गरी आवश्यक सुधार गरेका थिए। नयाँ सुधारपछि गरिएको परीक्षण सकारात्मक देखिएको नासाले जनाएको छ । सबै प्रक्रिया योजनाअनुसार अघि बढेमा मिशन मार्च ६ मा प्रक्षेपण हुन सक्ने अनुमान गरिएको छ । मिशनमा तीन अमेरिकी र एक क्यानेडियन अन्तरिक्ष यात्री सहभागी हुनेछन् । तयारीस्वरूप उनीहरू क्वारेन्टिनमा जाने तयारीमा रहेका छन्, ताकि प्रक्षेपण अवधिमा स्वास्थ्य जोखिम न्यून होस् ।
हाइड्रोजन चुहावट नासाका लागि नयाँ समस्या होइन। स्पेस शटल कार्यक्रमदेखि नै यो चुनौती दोहोरिँदै आएको छ, किनकि एसएलएसका केही इन्जिन सोही प्रविधिमा आधारित छन् । आर्टेमिस कार्यक्रमअन्तर्गतको पहिलो परीक्षण उडान पनि यही समस्याका कारण महिनौँ ढिलाइपछि नोभेम्बर २०२२ मा सफलतापूर्वक सम्पन्न गरिएको थियो । नासाले स्पष्ट पारेको छ कि सुरक्षा पहिलो प्राथमिकता हो। भविष्यको आर्टेमिस-३ अभियानअघि रकेट र लञ्च प्याडबीचको इन्धन जडान प्रणाली पुनः डिजाइन गर्ने योजना बनाइएको छ । आर्टेमिस-३ को लक्ष्य अन्तरिक्ष यात्रीलाई चन्द्रमाको दक्षिणी ध्रुव नजिक अवतरण गराउनु रहेको छ । नासाको यो पछिल्लो सफल परीक्षणले मानवको चन्द्र यात्रा पुनः सुरु गर्ने ऐतिहासिक तयारीलाई थप बल दिएको छ ।
१४- विश्व रिटेल बजारमा नयाँ युगको सुरुवात भएको छ । ई-कमर्स दिग्गज अमेजनले वार्षिक राजस्वका आधारमा वालमार्टलाई उछिन्दै विश्वकै सबैभन्दा ठूलो कम्पनी बन्ने कीर्तिमान बनाएको छ । यस उपलब्धिले कम्पनीको आक्रामक विस्तारसँगै प्रविधि र क्लाउड कम्प्युटिङको बढ्दो प्रभावलाई पनि संकेत गरेको छ । हालै सार्वजनिक प्रतिवेदनअनुसार जनवरी ३१ मा समाप्त पछिल्लो १२ महिनामा वॉलमार्टले ७१३.२ अर्ब डलर बिक्री गरेको थियो । तर अमेजनले सन् २०२५ का लागि ७१७ अर्ब डलर राजस्व हासिल गरको छ । सन् १९९४ मा जेफ बेजोसले ग्यारेजबाट सुरु गरेको कम्पनी आज ७१७ अर्ब डलर वार्षिक बिक्री गर्ने स्तरमा पुगेको छ ।
विशेषज्ञहरूका अनुसार अमेजनको यो अग्रता शुद्ध खुद्रा व्यापारभन्दा बढी प्रविधि क्षेत्रको योगदान हो । कम्पनीको क्लाउड व्यवसाय ‘अमेजन वेभ सर्भिस ’ मुख्य आधार बनेको छ । यदि वेभ सर्भिसको राजस्व हटाउने हो भने अमेजनको बिक्री ५८८ अर्ब डलरमा सीमित हुने बताइएको छ । अर्थात् एआई र डेटा सेन्टरको विस्तारले अमेजनलाई यो स्थानमा पुर्याएको विश्लेषण गरिएको छ । पछिल्लो दशकमा अमेजनको राजस्व वृद्धि वॉलमार्टको तुलनामा करिब १० गुणा तीव्र रहेको तथ्यांकले देखाएको छ । दुवै कम्पनी एक-अर्काको मुख्य क्षेत्रमा प्रवेश गर्ने प्रयासमा छन् ।
‘होल फुड्स’ खरिद गरेपछि पनि अमेजन खुद्रा स्टोर क्षेत्रमा विस्तारमा लागिरहेको छ भने वॉलमार्टले अनलाइन व्यापारलाई तीव्र बनाएको छ । अमेजनको एप र वेबसाइटमा हरेक महिना करिब २.७ अर्ब प्रयोगकर्ता पुग्ने बताइएको छ, जबकि वॉलमार्ट विश्वकै ठूलो भौतिक रिटेलरका रूपमा स्थापित छ । विश्लेषकहरुले अमेजनको यो सफलता असली नभएको टिप्पणी गरिएको छन्। उनका अनुसार अमेजनले वॉलमार्टलाई पारम्परिक रिटेल खेलमा होइन, वॉलमार्ट संलग्न नभएको क्लाउड व्यवसायमार्फत पछि पारेको हो । रिटेलमा अमेजन अग्रस्थानमा रहे पनि कुल बजार मूल्यका हिसाबले भने एनभिडिया विश्वको सबैभन्दा मूल्यवान कम्पनी रहेको छ । करिब ४.५ ट्रिलियन डलर मार्केट क्यापसहित एनभिडियाको मूल्य अमेजनभन्दा दोब्बर र वॉलमार्टभन्दा चार गुणा बढी रहेको छ । यता ब्लूमबर्ग बिलियनेयर्स सूचकांकअनुसार अमेजनका संस्थापक जेफ बेजोस २२८ अर्ब डलर सम्पत्तिसहित विश्वका चौथो धनी व्यक्ति रहेका छन् ।
१५- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको ५६ सयले बढेर तोलाको ३ लाख १० हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख ४ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३७५ रुपैयाँले बढेर तोलाको ५४२५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५०५० मा कारोबार भएको थियो ।
१६- रौतहटमा दुई समुदायबीच भएको विवादका कारण जारी कर्फ्यु आज पनि जारी रहने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म अत्यावश्यक कामका लागि कर्फ्यु खुकुलो गरेपनि त्यसपछि कर्फ्यु जारी रहने जनाएको छ । प्रशासनले रौतहटको पूर्वमा मुद बलवा गेट र पश्चिममा लालबकैया बाँधसम्म तथा उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्म कर्फ्यु लगाएको छ । गत बिहिबार गौर नगरपालिका-६ सपगडा टोलमा विवाहको बाजा बजाउँदै गइरहेका जन्तीमाथि फरक समुदायले अवरोध खडा गरेपछि भएको विवादले उग्र रूप लिँदा प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । शुक्रबार बिहानदेखि भएको झडप नियन्त्रणमा लिएर प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको नेतृत्वमा दुवै समुदायका अगुवाहरूले जिल्ला प्रशासन कार्यालय रौतहटमा छलफल गरेर ६ बुँदे सहमति गरेका थिए । शनिबार बिहानदेखि पुन: विवाद सुरु भई झडप र आगजनी सुरु भएको थियो ।
१७- अमेरिकी सर्वोच्च अदालतको निर्णयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरबाट अमेरिका भित्रिने सामानमा लाग्ने कर बढाएका छन् । सर्वोच्चको आदेशले यसअघि ट्रम्पले लगाएको सबै कर खारेज गरेपछि लगाएको १० प्रतिशत करलाई बढाएर १५ प्रतिशत पुर्याउने घोषणा गरेका छन् । अदालतले ट्रम्प प्रशासनले अघि सारेको अघिल्लो आयात शुल्क नीतिलाई खारेज गरेको एक दिनपछि राष्ट्रपतिले नयाँ दर सार्वजनिक गरेका हुन् । यसअघि उनले अदालतले रद्द गरेको शुल्कको सट्टा सबै आयातित वस्तुमा १० प्रतिशत कर लगाउने बताएका थिए ।
ट्रम्पले यो निर्णय तत्काल प्रभावबाट लागू हुने उल्लेख गरेका छन् । ट्रम्पले आफ्नो पोस्टमा अमेरिकी सर्वोच्च अदालतको निर्णयलाई ‘असाधारण रूपमा अमेरिका विरोधी’ भन्दै आलोचना गरेका छन् । उनले आगामी केही महिनाभित्र कानुनी रूपमा मान्य हुने नयाँ भन्सार संरचना तय गरिने र यसले ‘मेक अमेरिका ग्रेट अगेन’ अभियानलाई अझ सशक्त बनाउने दाबी गरेका छन् । ट्रम्पको पछिल्लो घोषणापछि अन्तर्राष्ट्रिय व्यापार क्षेत्र र अमेरिकी बजारमा कस्तो प्रतिक्रिया आउने भन्ने विषयमा चासो बढेको छ ।
१८- संखुवासभा केन्द्रविन्दु भएर भूकम्प गएको छ । आइतबार बिहान ७ बजेर ३१ मिनेट जादा संखुवासभाको रितक आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
१९- साउदी प्रो लिगमा अल नासर शिर्ष स्थानमा उक्लिएको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल हाजेमलाई ४-० गोल अन्तरले पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे भने किंग्सले कोम्यान र एन्गोलो गाब्रियलले एक एक गोल गरेका थिए । त्यसैगरी गएराती नै सम्पन्न अर्को खेलमा अल हिलाल अल इत्तिहादसँग १-१ गोलको बराबरीमा रोकिएको थियो । अल हिलालका लागि मालकमले एक गोल गरेका थिए भने इत्तिहादका लागि होउसेम आओअरले एक गोल गरेका थिए ।
यस खेलमा अल इत्तिहादका हसन कादेशले खेलको नवौं मिनेटमा नै रातो कार्ड पाएपछि इत्तिहाद १० खेलाडीमा सिमित भएको थियो । गएरातीका खेलपछि अल नासर लिगको शिर्ष स्थानमा उक्लिएको छ ।अल नासरको २२ खेलमा ५५ अंक छ भने अल हिलालको २२ खेलमा ५४ अंक भएको छ । त्यस्तै अल इत्तिहादको २२ खेलमा ३८ अंक रहेको छ र लिगमा छैटौं स्थानमा छ भने अल हाजेमको २२ खेल २४ अंक छ र लिगमा १२औ स्थानमा रहेको छ ।
२०- स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड ओसासुनासँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा ओसासुनाले रियल म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडीमिर र राउल गार्सियाले एक एक गोल गरेका छन् भने रियल म्याड्रिडका लागि एक गोल भिनिसियस जुनियरले गरेका थिए । यो हारपछि रियल म्याड्रिडको २५ खेलमा ६० अंक रहेको छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको २४ खेलमा ५८ अंक रहेको छ । त्यस्तै ओसासुनाको २५ खेलमा ३३ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।
FACEBOOK COMMENTS