काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा शैक्षिक संस्थामा आबद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष-विपक्षमा प्रचारप्रसारमा संलग्न नहुन निर्देशन दिएको छ । आयोगका अनुसार केही शिक्षक तथा कर्मचारी चुनावी प्रचारमा सक्रिय भएको भन्ने उजुरी प्राप्त भएपछि यस्तो चेतावनी जारी गरिएको हो ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा १० अनुसार विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा तिनमा सम्बद्ध कर्मचारीले कुनै दल वा उम्मेदवारको समर्थन वा विरोधमा प्रचार गर्न नपाउने स्पष्ट व्यवस्था रहेको छ । त्यस्तै शिक्षा ऐन, २०२८ अनुसार शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिमा संलग्न पाइए पदबाट हटाउन सकिने व्यवस्था पनि रहेको आयोगले स्मरण गराएको छ ।
आचारसंहिता उल्लङ्घन गरेमा दफा ४८ बमोजिम कारबाही हुने चेतावनी दिँदै आयोगले जिल्ला आचारसंहिता अनुगमन समिति तथा निर्वाचन कार्यालयहरूलाई प्रभावकारी अनुगमन गर्न अनुरोध गरेको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले शैक्षिक क्षेत्रको तटस्थता र मर्यादा कायम राख्न सबै सरोकारवालालाई आग्रह गरेका छन् ।
२- सरकारले धादिङ बस दुर्घटना छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–५ भैंसीगौडास्थित पृथ्वी लोकमार्गमा यात्रुवाहक बस दुर्घटना भएपछि सरकारले घटनाको छानबिन प्रक्रिया अघि बढाएको हो । सोमबार बिहान करिब १:३० बजे पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल त्रिशूली नदीको किनारमा खसेको थियो ।

विवरणअनुसार बसमा सवार ४४ यात्रुमध्ये १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा स्थानीयवासीको समन्वयमा उद्धार कार्य तीव्र रूपमा सञ्चालन गरिएको थियो । नदी किनारबाट मृतकहरूको शव निकालिएको छ भने सनाखत प्रक्रिया जारी रहेको जनाइएको छ।

घाइतेहरूलाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ । दुर्घटनाको विषयमा गृह मन्त्रालय मा गृहमन्त्रीको अध्यक्षतामा बसेको बैठकले विस्तृत छानबिन गरी प्रतिवेदन पेश गर्न पाँच सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो । बैठकमा गृह सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभाग र सडक विभागका महानिर्देशक, सुरक्षा निकायका प्रमुख तथा यातायात व्यवसायी र मजदुर संघका प्रतिनिधिहरू सहभागी थिए । गृह मन्त्रालयले दुर्घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

३- निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ । आयोगका अनुसार झण्डा वा चुनाव चिह्न बोकाउने, र्याली, सांस्कृतिक कार्यक्रम तथा दल-विशेषको समर्थन वा विरोधमा बालबालिकालाई सहभागी गराउने, विद्यालय समयमा विद्यालय नजिक चुनावी कार्यक्रम आयोजना गरी अध्ययनमा अवरोध पुर्याउने विषयमा उजुरी प्राप्त भएका छन् ।

नेपालको संविधानको धारा ३९ तथा बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र सर्वाङ्गीण विकासको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै आयोगले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग कानुनविपरीत हुने जनाएको छ । साथै निर्वाचन आचारसंहिता, २०८२ अनुसार प्रचारप्रसार, आमसभा र जुलुसमा बालबालिका प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था रहेको छ । आचारसंहिता उल्लङ्घन गरेमा एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी रद्दसम्मको कारबाही हुन सक्ने आयोगले चेतावनी दिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले बालबालिकाको अध्ययन-अध्यापनमा असर पर्ने कुनै पनि गतिविधि नगर्न तथा बालअधिकारको संरक्षण गर्न सबै दल, उम्मेदवार र मतदातालाई आग्रह गरेका छन् ।

४- पर्साका प्रमुख जिल्ला अधिकारीले वीरगञ्ज महानगर क्षेत्रमा जारी कर्फ्यू आदेश हटाउँदै निश्चित समयका लागि निषेधाज्ञा लागू गरिएको जानकारी दिएका छन् । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम मिति २०८२ फागुन ११ गते बिहान ९:४५ बजेदेखि अर्को आदेश नभएसम्म लागू रहने गरी वीरगञ्ज महानगरपालिका का केही स्थानमा कर्फ्यू आदेश जारी गरिएको थियो । तर समग्र शान्ति–सुरक्षाको अवस्था क्रमशः सुधारोन्मुख देखिएको तथा सर्वपक्षीय बैठकको निर्णयका आधारमा सो कर्फ्यू आदेशलाई निरन्तरता दिन आवश्यक नदेखिएकाले आजै साँझ ४:३० बजेदेखि लागू हुने गरी कर्फ्यू हटाइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जनाएका छन् ।
यद्यपि अवस्था पूर्ण रूपमा सामान्य भइनसकेको भन्दै महानगरका तोकिएका क्षेत्रहरूमा बेलुकी ६ बजेदेखि भोलि बिहान ८ बजेसम्म कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ रानीघाट पुल उत्तरतर्फ पावर हाउस चोक र दक्षिणतर्फ घण्टाघर चोकसम्म रहने प्रशासनले जनाएको छ । प्रशासनले आदेश उल्लंघन गर्ने जो-कोहीलाई नियन्त्रणमा लिएर कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ । जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई संयमित र जिम्मेवार व्यवहार गर्न आग्रह गरेको छ ।
५- राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले आफ्नो उपचारका लागि आम जनताको सहयोग मागेकी छन् । सावित्राले आफ्नो इन्जुरीको उपचार गर्न सामाजिक सञ्जालमार्फत जानकारी दिँदै शल्यक्रियाका लागि सहयोगको अपिल गरेकी हुन् । उनले भनेकी छन्- ‘पछिल्लोपटक एन्फा नेतृत्वको पहलमा मेरो उपचारमा पूर्ण व्यवस्थापन र सहयोग थियो, जसका कारण म समयमा मैदानमा फर्कन सकें । तर यसपटक एन्फा नेतृत्वबाट वाचा गरिएको सहयोग पनि प्राप्त भएन ।
चोट लागेको तीन हप्तापछि क्लबले शल्यक्रिया मिति तोकेको भए पनि एन्फाबाट प्रक्रिया अघि बढेन ।’ सावित्राले अगाडी भनेकी छन्- ‘अघिल्लो साता एन्फा अध्यक्ष आफैंले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । वहाँले नगद ५ लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैं गर्न भन्नुभयो । एक त मैले यसअघि चालेको प्रक्रिया रोकियो, अर्कोतर्फ मैले झन्डै २ महिनापछि मात्र शल्यक्रिया मितिको लागि फेरी प्रयास गर्नुपर्ने भएको छ । यसबीचमा क्लबले मलाई न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गर्न तयार रहेको बताइरहेको छ । तर मेरो चोट गम्भीर रहेको र पछिल्लो पटक कतारको अस्पेटारमा गरिएको उपचार उच्च स्तरको रहेकाले मैले पुन: सोहि अस्पतालमा उपचार गराउने इच्छा राखेको हुँ । क्लबले विमाबाट प्राप्त रकम मेरो लागि निकासा गरिदिने भएको छ । तर उक्त रकम मेरो शल्यक्रिया र ७-८ महिना रिह्याबका लागि अपुग हुने भएकाले आम समर्थकमाझ सहयोग माग्न आइपुगेको छु । यसका लागि कुल ८० हजार अमेरिकी डलर खर्च हुने प्रारम्भिक आँकलन रहेको छ ।’ सावित्राले उनको चोट गम्भीर रहेको र पछिल्लो पटक कतारको अस्पेटारमा गरिएको उपचार उच्च स्तरको रहेकाले उनी त्यही अस्पतालमा पुनः उपचार गराउन चाहेको बताएकी छन् ।
सावित्राले आफ्नो करियरको चुनौतीपूर्ण समयमा पनि साहसका साथ कठिनाइहरूको सामना गर्दै आएको उल्लेख गर्दै, यसपटक पुनः माथि उठ्न आम जनताको सहयोगको आवश्यकता रहेको बताइन् । उनले भनेकी छन्- ‘म आफ्नो देशको लागि सधैं शतप्रतिशत दिने प्रयास गर्दै आएको छु । इजरायल होस् या फ्रान्स, मैले नेपालकै नाम राखेको महसुस गरेको छु । आज मैले आफ्नो व्यक्तिगत आम्दानी प्रयोग गरेर उपचार गर्नुपर्ने अवस्था आएको छ, त्यसैले सहयोगको अपिल गर्दैछु ।’सावित्राको यो अपिलले खेल प्रेमी र आम नागरिकलाई उनको उपचारमा हातेमालो गर्न उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ । उनले यो चोटले आफुलाई शारीरिक र मानसिक रुपमा थकाएको तर नहारेको बताएकी छन् ।
६- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टोलटोलमा सुरक्षा समिति बनाउन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् । झापाको दमकमा नेशनल भोलेन्टियर फोर्स प्रदेश स्तरीय घोषणा सभामा बोल्दै अध्यक्ष ओलीले स्थानीय पार्टीले हस्तक्षेप नगरी नेशनल भोलेन्टियर फोर्सलाई संचालन गर्न निर्देशन दिदै टोल टोलमा सुरक्षा समिति बनाउन निर्देशन दिएका हुन् । ओलीले देशमा उपद्र हुन नदिन नेशनल भोलेन्टियर फोर्स बनाएको बताउदै यसले देशको सुरक्षा गर्ने बताए । उनले यो पनि मात्र बाड्ने फोर्स नभएको बताउदै अब प्रहरीको साथमा नेशनल भोलेन्टियर फोर्स रहेको बताए । उनले चुनावका हरेक बुथमा ३० जना भोलेन्टियर राख्न समेत निर्देशन दिएका छन् ।
सम्बोधनका क्रममा ओलीले रास्वपा वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै बच्चाबच्चीले के भन्छौं भन्दा प्रधानमन्त्री बन्छु भने जस्तो गरेर प्रधानमन्त्रीको उम्मेदवार बनेको टिप्पणी गरेका छन् । उनले भने- ‘म सुन्छु प्रधानमन्त्रीका उम्मेदवार भन्ने कतिपय मान्छेले बच्चाबच्चीलाई सोध्यो भने, तिमि के हुने भन्यो भने प्रधानमन्त्री पनि भन्न सक्छ, राष्ट्रपति पनि भन्न सक्छ । तर उ बन्ने होइन नि । त्यस्तै ख्याल ख्यालजस्तो लाग्यो मान्छेलाई । भनिदिए ।’
देश विकासको जिम्मा एमालेले लिने बताउदै आफुले सरकार छोडेपछि देशको विकास ठप्प भएको बताएका छन् । उनले भने- ‘देशमा जहाँ उभिएर हेरेपनि एमालेले गरेको विकास देखिन्छ । किसानका लागि, मजदुरका लागि, कर्मचारीका लागि, उद्यमी-व्यापारीका लागि, बालबालिका, युवाका लागि कसका लागि एमालेले कम गरेको छैन ? जेष्ठ नागरिक भत्तादेखि अनाथ र अपांगता भएकाहरुका लागि सामाजिक सुरक्षा भत्ता दिएका छौं ।’
७- अफगानिस्तानले श्रीलंकाविरुद्ध यूएईमा तीन एकदिवसीय र तीन टी-२० खेलको सिरिज खेल्ने भएको छ । सिरिज मार्च १३ देखि २५ सम्म सञ्चालन हुने अफगानिस्तान क्रिकेट बोर्डले जानकारी दिएको छ । सिरिजको सुरुवात टी- २० सिरिजबाट हुने छ । पहिलो टी- २० मार्च १३ मा शारजाहा क्रिकेट स्टेडियममा हुनेछ भने दोस्रो र तेस्रो खेल क्रमशः मार्च १५ र १७ मा सोही मैदानमा खेलाइनेछ । त्यसपछि एकदिवसीय सिरिजका लागि खेलहरू दुबई मा हुने छन् । मार्च २०, २२ र २५ मा हुने तीन एकदिवसीय खेल दुबई इन्टरनेशनल स्टेडियममा आयोजना गरिने भएको छ । अफगानिस्तान जारी टी-२० विश्वकपमा समुह चरणबाट बाहिरिएको छ भने श्रीलंका सुपर आठमा खेलिरहेको छ । ओलीले एमालेको सन्दर्भमा प्रश्न उठाउने ठाउ नभएको भन्दै एमाले बाहेक अन्य कसैले देश विकास गरेको कुरा उठाउन नसक्ने दाबि गरे ।
८- नेपाली कांग्रेस (विपी) डडेल्धुराले नेपाली कांग्रेसको सातौं जिल्ला अधिवेशनपछि उत्पन्न परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्दै पार्टी एकताका लागि आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरेको छ । जिल्ला सभापति भरत नेपालीद्वारा जारी वक्तव्यमा २०७८ सालमा सम्पन्न नेपाली कांग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशनका क्रममा उत्पन्न विषम परिस्थितिपछि विधिसम्मत अधिवेशनको पक्षमा उभिएका नेता-कार्यकर्ताको सहभागितामा कांग्रेस (विपी) गठन भई जिल्लामा सशक्त राजनीतिक शक्तिका रूपमा स्थापित भएको उल्लेख गरिएको छ ।
वक्तव्यमा जननायक बीपी कोइरालाद्वारा प्रतिपादित मौलिक प्रजातान्त्रिक समाजवादको सिद्धान्त अनुसरण गर्दै पार्टीले पछिल्ला दुई निर्वाचनमा भाग लिएर सम्मानजनक जनमत प्राप्त गरेको दाबी गरिएको छ । मिति २०८२ फागुन १० गते प्रकाशित नेपाली कांग्रेस डडेल्धुराको पार्टी एकता सम्बन्धी विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कांग्रेस (विपी) ले उक्त आह्वानलाई सकारात्मक रूपमा लिएको जनाएको छ । सातौं जिल्ला अधिवेशनमा सहभागी हुन नपाएका तथा हाल विपी कांग्रेसमा आबद्ध कार्यकर्तालाई केन्द्रीय समितिको निर्णयसमेतलाई दृष्टिगत गर्दै पार्टीमा जोडिन गरिएको आह्वानप्रति छलफल आवश्यक रहेको उल्लेख गरिएको छ ।
वक्तव्यमा सातौं अधिवेशनदेखि हालसम्मको राजनीतिक घटनाक्रमबारे नेपाली कांग्रेसको वर्तमान नेतृत्व पूर्ण रूपमा जानकार रहेको स्मरण गराउँदै पार्टी एकताका लागि आवश्यक संवाद र प्रक्रिया अघि बढाउन नेपाली कांग्रेस डडेल्धुरा तथा सो पार्टीको केन्द्रीय समितिलाई अनुरोध गरिएको छ । कांग्रेस (विपी) डडेल्धुराले आपसी सहमति र लोकतान्त्रिक मूल्य-मान्यताका आधारमा राजनीतिक सहकार्य सुदृढ गर्न तयार रहेको जनाएको छ । काँग्रेसको केन्द्रीय नेतृत्वबाट शेरबहादुर देउवा बाहिरिएपछि दुई पटक जिल्ला सभापति र एक पटक प्रदेश सांसद भइसकेका नेता कर्ण मल्ल मूल घर काँग्रेसमै फर्किने सक्ने विश्लेषण गरिएको छ । उनी देउवासँग विवाद भएपछि काँग्रेस छोडेर नयाँ पार्टी बनाएका थिए । सुदूरपश्चिममा मल्ल प्रभावशाली नेता मानिन्छन् ।
९- नेप्सेमा सामान्य करेक्सन आएको छ । सोमबार नेप्से २.४१ अंकले बढेर २६१६.९७ विन्दुमा पुगेर रोकिएको छ । आज ३२९ कम्पनिका एक करोड २६ लाख २१ हजार १८८ कित्ता शेयर ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार ९४६ मा कारोबार भएको थियो । आज होटल्स, हाइड्रो, उत्पादन, माइक्रो फाइनान्स, म्युचुअल फन्ड, निर्जीव वीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज सालपा विकास बैंकको शेयर ९.९९ प्रतिशतले बढेको छ भने मा सकारात्मक सर्किट लागेको छ भने रिलायन्स स्पिनिंग मिल्सको शेयर ९.२८ प्रतिशतले बढेको छ । त्यसैगरी एनआइबिएल समृद्धि फण्डको शेयर सबैभन्दा बढी ४.८१ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ३६ करोड २ लाख बराबरको कारोबार भएको छ भने रिडी पावरको ३२ करोड १९ लाख बराबरको कारोबार भएको छ ।
१०- मेक्सिकोको सेनाले आइतबार देशकै सबैभन्दा शक्तिशाली ड्रग कार्टेलका प्रमुख नेमेसियो ओसेगुएरा केरवेंटेसलाई कारबाहीका क्रममा मारिएको जनाएको छ । ‘एल मेन्चो’ नामले परिचित उनी अमेरिका का सबैभन्दा खोजी सूचीमा रहेका फरार अपराधीमध्ये एक थिए । सरकारका लागि ठूलो सफलताका रूपमा हेरिएको उक्त कारबाहीपछि भने देशका विभिन्न क्षेत्रमा हिंसात्मक घटना भड्किएका छन् । कार्टेलका सदस्यहरूले खुद्रा पसल, सार्वजनिक सवारीसाधन र सरकारी भवनमा आगजनी गर्नुका साथै सडक अवरुद्ध र गोलीबारी गरेका छन् । करिब एक दर्जन राज्यमा सवारीसाधन जलाइएको र राजमार्ग अवरुद्ध पारिएको विवरण सार्वजनिक भएको छ ।
एल मेन्चो जलिस्को न्यू गेनेरेसन कार्टेल (जेएनजीसी) का प्रमुख थिए । यो समूह हाल मेक्सिकोको सबैभन्दा ठूलो, तीव्र रूपमा विस्तार भइरहेको र खतरनाक आपराधिक सञ्जाल मानिन्छ । ५९ वर्षीय ओसेगुएरा पश्चिमी मेक्सिकोको मिचोआकान प्रान्तका बासिन्दा थिए । सन् १९९४ मा अमेरिकामा हेरोइन तस्करी अभियोगमा तीन वर्ष जेल सजाय भोगेका उनले रिहाइपछि मेक्सिको फर्केर लागुऔषध कारोबारमा आफ्नो प्रभाव विस्तार गरेका थिए । सन् २००९ तिर उनले जेएनजीसी स्थापना गरेका थिए, जसले अमेरिका सम्म कोकिन, मेथाम्फेटामिन, फेन्टानिल तथा मानव तस्करीमा संलग्नता जनाएको आरोप छ । यस समूहले ड्रोन र आईईडीजस्ता आधुनिक हतियार प्रयोग गर्दै हिंसाका नयाँ तरिका अपनाएको थियो ।
सन् २०१५ मा जालिस्को क्षेत्रमा मेक्सिकन सेनाको हेलिकप्टर खसालिएको घटना र मेक्सिको सिटीका तत्कालीन प्रहरी प्रमुखमाथि गरिएको आक्रमण प्रयासले कार्टेललाई कुख्यात बनाएको थियो । एल मेन्चोको मृत्यु पश्चात दोस्रो ठूलो सहर ग्वाडलाहारासहित विभिन्न स्थानमा सुरक्षा सतर्कता बढाइएको छ । कतिपय राज्यमा विद्यालय बन्द गरिएका छन् भने सुरक्षाकर्मी उच्च सतर्कतामा राखिएका छन्। छिमेकी ग्वाटेमालाले समेत सीमाक्षेत्रमा सुरक्षा कडा पारेको जनाएको छ ।
अमेरिकी विदेश विभागले ओसेगुएराको पक्राउका लागि १ करोड ५० लाख डलर इनाम घोषणा गरेको थियो । अमेरिकी प्रशासनले उनको कार्टेललाई विदेशी आतंकवादी संगठन घोषणा गरेको थियो । अमेरिकी अधिकारीहरूले मेक्सिकोको कारबाहीको स्वागत गरेका छन् । अब जेएनजीसीको नेतृत्व कसले सम्हाल्ने भन्ने प्रश्न उठेको छ । विज्ञहरूका अनुसार एल मेन्चोले संगठनमा प्रत्यक्ष नियन्त्रण राखेका थिए । उनको अनुपस्थितिमा केही समय कार्टेल कमजोर हुन सक्ने भए पनि प्रतिद्वन्द्वी समूहबीच शक्ति संघर्ष बढ्न सक्ने र त्यसले हिंसा थप चर्किन सक्ने अनुमान गरिएको छ ।
११- गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको फागुन ९ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार अ बाट आमाले बक्स अफिसमा शानदार कमाई गरेको छ । माघ १६ गतेदेखि रिलिज भएको आ बाट आमाले बक्स अफिसमा अहिलेसम्म ११ करोड २४ लाख ६ हजार ९६९ कमाई गरेको छ । यस फिल्मका ४ लाख २३ हजार १११ टिकट विक्री भएको बोर्डले जनाएको छ ।
त्यस्तै माघ २३ गतेदेखि रिलिज भएको अर्को फिल्म कुमारीले अहिलेसम्म ६३ लाख २४ हजार कमाएको छ । यस फिल्मको अहिलेसम्म १९ हजार ३७९ टिकट बिक्रि भएको छ । त्यसैगरी माघ २३ गते नै रिलिज भएको अर्को फिल्म रमिताकी पिरतीले २५ लाख ५५ हजार ५३ कमाई गरेको छ । अहिलेसम्म रमिताकी पिरतीको ७ हजार ८०३ टिकट बिक्री भएको छ । त्यस्तै फिल्म बिगुलले ८ लाख १७ हजार ४१० कमाएको छ भने श्री बुकुरोले २ लाख ७२ हजार कमाई गरेको छ । त्यस्तै फागुन १ गते रिलिज भएको फिल्म शिवांशले २ लाख ६१ हजार कमाई गरेको छ ।
१२- नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छन् । सिरहाको गोलबजारमा आयोजित एक विशेष कार्यक्रमबीच थपलियासहितका एमाले नेता, कार्यकर्ता रास्वपामा भित्रिए । उनीहरूलाई रास्वपाका नेता तथा समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले पार्टीमा स्वागत गरेका थिए । थापा २०७९ को निर्वाचनमा खस आर्यतर्फकी समानुपातिक सांसद हुन् । लामो समय एमालेमा सक्रिय रहेकी थपलियाले केही समयअघि मात्रै नेकपा एमाले सिरहा जिल्लामा ‘परिवारवाद’ हाबी भएको र पुराना कार्यकर्ताको मूल्याङ्कन नभएको आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेकी थिइन् ।
१३- रौतहट जिल्लाको गौर क्षेत्रमा जारी गरिएको कर्फ्यू हटाइएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज बिहान १० बजेदेखि कर्फ्यू स्थगित गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसअघि मिति २०८२ फागुन ९ गते दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी गौर नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यू जारी गरिएको थियो । कर्फ्यू आदेशअनुसार पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको क्षेत्रमा आवतजावत, भेला, सभा, जुलुस तथा प्रदर्शनमा रोक लगाइएको थियो । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी गरिएको उक्त आदेश जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले हटाउने निर्णय गरेको हो ।
१४- झापा- ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो चुनावी प्रतिबद्धता पत्र (वाचापत्र) सार्वजनिक गरेका छन् । बालेनले आफ्नो बचापत्रमा संघीय संसदको हैसियतले बेथिति र भ्रष्टाचारविरुद्ध संसदमा अग्रपंक्तिमा उभिने उल्लेख गर्दै राष्ट्रिय नीति तथा बजेरमा झापा- ५ का विकासका मुद्धाहरु सशक्त रुपमा उठाउने बताएका छन् । बालेनले भूमिहीन र सुकुमवासी समस्या समाधानका लागि आवश्यक कानुन निर्माण गरी व्यवस्थित बसोबासको ग्यारेन्टी गर्ने प्रतिबद्धता व्यक्त गर्दै सय दिनमा आयोग र १००० दिनमा समाधान गर्ने बाचा समेत गरेका छन् ।
उनले झापा- ५ मा एक सचिवालय खोलेर स्थानीय समस्याको सम्बोधन गर्ने बताएका छन् भने उनले रास्वपाको बाचा पत्र कार्यान्वयनको नेतृत्व गर्ने उल्लेख गरेका छन् । बालेनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै संसदमा सशक्त भूमिका निर्वाह गर्ने संकल्प गरेका छन् ।उनले वाचापत्रमा शिक्षा, पूर्वाधार, कृषि तथा रोजगारी, महिला तथा बालबालिका, पर्यटन तथा उद्योग, खेलकुद, स्वास्थ्य, भुमि व्यवस्थापन, वातावरण, सुशासन र कला एवं संस्कृतिलाई मुख्य प्राथमिकतामा राखेका छन् । बालेनले विपन्न परिवारका लागि निःशुल्क उपचारको सुनिश्चितता गर्ने, दमक अस्पताललाई ३०० शय्यामा स्तरोन्नति गर्ने तथा घर-घरमै स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरी ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य जाँच गर्ने योजना अघि सारेका छन् ।
१५- बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले महिला टोलीकी क्रिकेटर जहाँनारा आलमले लगाएको उत्पीडन आरोपमाथि गरिएको छानबिनपछि पूर्व महिला टोली चयनकर्ता तथा व्यवस्थापक मोन्जुरुल इस्लामलाई सबै प्रकारका क्रिकेटसम्बन्धी गतिविधिबाट प्रतिबन्ध लगाएको छ । बीसीबीको बोर्ड बैठकपछि जारी विज्ञप्तिमा स्वतन्त्र छानबिन समितिको प्रतिवेदनका आधारमा इस्लामलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बीसीबीअन्तर्गत कुनै पनि रोजगारी तथा क्रिकेट गतिविधिमा संलग्न हुन नपाउने निर्णय गरिएको उल्लेख छ ।
समितिले चार वटा आरोपमध्ये दुई आरोप पुष्टि नभए पनि बाँकी दुई आरोपमा प्रारम्भिक रूपमा अनुपयुक्त व्यवहारको पर्याप्त प्रमाण फेला पारेको जनाएको छ। पाँच सदस्यीय समितिले फेब्रुअरी २ मा आफ्नो प्रतिवेदन बीसीबी अध्यक्ष अमिनुल इस्लाम बुलबुललाई बुझाएको थियो । बीसीबीले प्रतिबन्धको अवधि भने खुलाएको छैन । इस्लामको सम्झौता ३० जुन २०२५ मै सकिएको र हाल उनी बीसीबीअन्तर्गत कार्यरत नरहेको पनि जनाइएको छ । साथै, संस्थागत सुरक्षालाई मजबुत बनाउन नयाँ उजुरी समिति गठन गरिएको बोर्डले जानकारी दिएको छ ।
१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको ३२ सयले बढेर तोलाको ३ लाख १३ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख १० हजार ३ सयमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १७० रुपैयाँले बढेर तोलाको ५५९५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५४२५ मा कारोबार भएको थियो ।
१७- उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टी अफ कोरियाको कांग्रेसले किम जोंग उनलाई पुनः पार्टीको जनरल सेक्रेटरी पदमा सर्वसम्मत चयन गरेको छ । यस निर्णयसँगै उनको उत्तराधिकारबारे पछिल्ला महिनाहरूमा चलेका अटकलहरूलाई विराम लागेको छ । राज्य सञ्चारमाध्यमका अनुसार हजारौँ प्रतिनिधिले किमको नेतृत्वप्रति विश्वास व्यक्त गर्दै उनलाई पुनः शीर्ष पदमा अनुमोदन गरेका हुन् । पार्टी कांग्रेस गत बिहीबारदेखि सुरु भएको थियो र आइतबार चौथो दिनमा औपचारिक निर्णय सार्वजनिक गरिएको हो । पार्टीले किमको नेतृत्वमा देशले आफ्नो परमाणु क्षमता सुदृढ बनाएको र बाह्य खतराको सामना गर्न सक्षम भएको दाबी गरेको छ । आगामी पाँच वर्षमा सैन्य तथा राजनीतिक लक्ष्यहरूलाई अझ आक्रामक ढंगले अघि बढाइने पनि जनाइएको छ ।
विशेषज्ञहरूका अनुसार किमले परमाणु तथा क्षेप्यास्त्र कार्यक्रमलाई थप तीव्रता दिन सक्ने संकेत देखिएको छ । उत्तर कोरियाले एशियामा अमेरिकाका सहयोगी देशहरू र अमेरिकी मुख्यभूमिसम्म पुग्न सक्ने क्षेप्यास्त्र विकास गरिसकेको दाबी गर्दै आएको छ। पार्टीले परमाणु शक्तिले राष्ट्रिय सुरक्षा सुनिश्चित गरेको र जनविश्वास बढाएको उल्लेख गरेको छ । हालका वर्षहरूमा रूससँग उत्तर कोरियाको सम्बन्ध मजबुत बन्दै गएको छ। यूक्रेन युद्धका क्रममा देखिएको सैन्य सहकार्यले प्योंगयाङको अन्तर्राष्ट्रिय भूमिकालाई थप सक्रिय बनाएको विश्लेषण गरिएको छ। किमले परम्परागत सेनालाई पनि परमाणु क्षमतासँग जोडेर सुदृढ बनाउने योजना अघि सार्न सक्ने आँकलन गरिएको छ ।
सन् २०१९ मा किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपबीच भएको शिखर वार्ता असफल भएपछि दुई देशबीच सार्थक वार्ता हुन सकेको छैन। ट्रंपको दोस्रो कार्यकालमा पनि उत्तर कोरियाले परमाणु निःशस्त्रीकरणको सर्तमा वार्ताबाट अस्वीकार गरेको बताइएको छ । सन् २०२४ मा किमले दक्षिण कोरियालाई स्थायी शत्रु घोषणा गरेपछि कोरियाली प्रायद्वीपमा तनाव थप बढेको छ । राज्य समाचार एजेन्सीले कांग्रेसमा पार्टी नियमावली संशोधन गरिएको जानकारी दिएको भए पनि विस्तृत विवरण सार्वजनिक गरिएको छैन । सन् २०१६ देखि प्रत्येक पाँच वर्षमा कांग्रेस आयोजना हुँदै आएको छ र किम लगातार शीर्ष पदमा कायम छन् ।
१८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीले पार्टी छोडेका छन् । पराजुलीले पार्टीबाट राजीनामा दिएर काँग्रेसमा फर्किएका हुन् । सोमबार बिहान नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई भेटेपछि उनले पार्टीबाट राजीनामा दिएका हुन् । उनीसँगै रास्वपाका मकवानपुर-२ का चुनावी संयोजक निराजन बर्तौलासहित अन्य नेताहरु पनि काङ्ग्रेसमा फर्किन तयारी गरेका छन् । पराजुलीले गत निर्वाचनमा रास्वपाबाट १२ हजार ५९ मत ल्याएर तेस्रो भएपनि यस पटक टिकट नदिएपछि असन्तुष्टि थिए ।
१९- निर्वाचन आयोगले स्थानीय कार्यपालिकाका पदाधिकारीलाई निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा संलग्न नहुन निर्देशन दिएको छ । केही स्थानीय तहका जनप्रतिनिधि राजनीतिक दल तथा उम्मेदवारको चुनावी प्रचारमा सहभागी भएको भन्ने उजुरी प्राप्त भएपछि आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । आयोगले निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिता, २०८२ लागू गरिएको स्मरण गराउँदै यसको पूर्ण पालना गर्नु सबै सरोकारवालाको दायित्व भएको स्पष्ट पारेको छ। राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षले आचारसंहिताको पूर्ण पालना गरिरहेका छन् वा छैनन् भन्ने विषयमा आयोगले निरन्तर अनुगमन गरिरहेको जनाएको छ ।
निर्वाचन आचारसंहिताको दफा ५ को खण्ड (क) को प्रतिबन्धात्मक वाक्यांशअन्तर्गत बुँदा नं. (४) मा स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारमा संलग्न हुन सक्ने व्यवस्था रहेको उल्लेख छ । साथै, सोही दफाको खण्ड (ख) अनुसार प्रचारप्रसारमा सहभागी हुँदा सरकारी स्रोत-साधन प्रयोग गर्न नपाइने व्यवस्था छ । यस आधारमा आयोगले स्थानीय कार्यपालिकाका पदाधिकारीलाई आफू कार्यरत रहेको स्थानीय तहमा कुनै पनि दल वा उम्मेदवारको पक्षमा प्रचारप्रसार नगर्न सचेत गराएको छ। साथै, पदको मर्यादा, तटस्थता र कानुनी दायित्वलाई मनन गर्दै आचारसंहिता विपरीत गतिविधिमा संलग्न नहुन स्पष्ट निर्देशन दिएको छ । आयोगले आचारसंहिता उल्लंघन गरेको पाइएमा दफा ४८ बमोजिम कारबाही गरिने चेतावनी दिएको छ। साथै, जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत तथा सम्बन्धित निकायलाई प्रभावकारी अनुगमन गर्न आग्रह गरिएको छ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गर्न सबै पक्षको जिम्मेवार भूमिका आवश्यक रहेको बताएका छन् ।
२०- भारत जारी टी-२० विश्वकप अन्तर्गत दक्षिण अफ्रिकासँग पराजित भएको छ । गएराती सम्पन्न जारी विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा दक्षिण अफ्रीकाले भारतलाई ७६ रनले पराजित गरेको हो । दक्षिण अफ्रिकाले दिएको १८८ रनको लक्ष्य पछाएको भारत १८.५ ओभरमा अल आउट हुदै केवल १११ रन मात्र बनाएको थियो । भारतका लागि शिभम दुवेले सर्बाधिक ४२ रन बनाए भने हार्दिक पाण्डेय र कप्तान सुर्यकुमार यादवले १८-१८ रन बनाएका थिए ।
त्यस्तै दक्षिण अफ्रिकाका बलर मार्को जानसेनले ४ विकेट लिए भने केशव महाराजले ३ र कोर्बिन बोचले २ विकेट लिएका थिए । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ७ विकेट गुमाएर १८७ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले सर्बाधिक ६३ रन बनाए भने ट्रीस्टन स्टब्सले अविजित ४४ तथा डेवाल्ड ब्रेभिसले ४५ रन बनाएका थिए । त्यसैगरि भारतीय बलर जसप्रित बमराहले ३ तथा अर्शदीप सिंहले २ विकेट लिएका थिए । अब जारी विश्वकपको अर्को खेलमा विहिबार दक्षिण अफ्रीकाले वेस्ट इण्डिजसँग खेल्ने छ भने भारतले जिम्बाबेको सामना गर्ने छ ।
FACEBOOK COMMENTS