काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका सवारी साधनलाई कानुनी बनाउने उद्देश्यले दर्ता गरिएको प्रकरणमा यातायात व्यवस्था कार्यालय नेपालगञ्जका कार्यालय प्रमुखसहित ३२ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार भारतीय नम्बरका चोरीका सवारी साधन आर्थिक लेनदेनमार्फत झुट्टा कागजात तयार गरी सरकारी अभिलेखमा दर्ता गरिएको थियो।
नक्कली प्रज्ञापनपत्र, रसिद तथा विवरण प्रयोग गरी सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) जारी गरिएको अनुसन्धानबाट पुष्टि भएको छ । यस प्रकरणमा यातायात व्यवस्था कार्यालय नेपालगञ्ज बाँकेका कार्यालय प्रमुख (उपसचिव) लोकबहादुर सुनार, वरिष्ठ लेखा अधिकृत दिनेश सिंह ठाकुर, अधिकृत नरभूपाल पौडेल, कम्प्युटर अधिकृत शक्ति ठाकुर, मेकानिकल सुपरभाइजर पुष्करराज शर्मा र सुशीलकुमार शर्मा, अधिकृत प्रेमप्रसाद उपाध्याय, काशीलाल अधिकारी, वरिष्ठ शाखा अधिकृत रवीन्द्र केसी, अधिकृत मधुकरजंग शाह, नायब सुब्बा चित्रबहादुर महतारा, गोपाल शर्मा, मुकुन्दराज केसी, सहायक लेखापाल ओमराज गिरी तथा कम्प्युटर अपरेटर मनोज गिरीलाई प्रतिवादी बनाइएको छ ।
त्यसैगरी लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सचिव उमेश ढुङ्गाना, उपसचिव रमेश गौतम, वरिष्ठ शाखा अधिकृत प्रदीप खनाल, मेकानिकल इन्जिनियर भरतकुमार कार्की, तथा यातायात व्यवस्था कार्यालय एकान्तकुनाका अधिकृत हरीबहादुर विष्ट र प्रकाश अधिकारीसमेत आरोपित छन् ।
साथै सर्वसाधारणतर्फ बब्लु अली अन्सारी, सुनिला देवी चौधरी, अनिस तामाङ, बलीराम यादव, सूर्यकला पण्डित क्षेत्री घिमिरे, शरदकुमार गोराथोकी, राजकुमार चौधरी, गोकुलप्रसाद श्रेष्ठ, नीता भुर्तेल महर्जन, गेहेन्द्र पौडेल र महेशकुमार नेपालीलाई समेत प्रतिवादी बनाइएको आयोगले जनाएको छ । आयोगका अनुसार सरकारी पदको दुरुपयोग गरी अवैध सवारी दर्ता, कागजात सच्याउने, अभिलेख हेरफेर गर्ने तथा गैरकानुनी लाभ लिएको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजाय माग गर्दै मुद्दा दायर गरिएको हो।

२- सर्वोच्च अदालतले राजकुमार शर्माको कर्णाली प्रदेशसभा सदस्य पद खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले कर्णाली प्रदेश सभा सचिवालयलाई सांसद पदबाट हटाउने निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि उनको सांसद पद यथावत् रहेको छ । तत्कालिन माओवादी केन्द्रबाट निर्वाचित भएका शर्मा पछिल्लो समय प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) मा लागेपछि कारवाहीमा परेका थिए ।

३- दक्षिण अफ्रिकाले वेस्ट इन्डिजमाथि शानदार जित हासिल गरेको छ । विहिबार सम्पन्न खेलमा दक्षिण अफ्रीकाले वेस्ट इन्डिजलाई ९ विकेटले पराजित गरेको हो । वेस्ट इन्डिजले दिएको १७७ रनको लक्ष्य पछाएको दक्षिण अफ्रीकाले १६.१ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । दक्षिण अफ्रिकाका लागि कप्तान एडेन मार्क्रमले अविजित ८२, क्वेंटन डिककले ४७ र रयान रिकेलटनले ४५ रन बनाएका थिए । त्यस्तै वेस्ट इन्डिजका रोस्टन चेजले एक विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १७६ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि रोमारियो शेफर्डले अविजित ५२ रन बनाए भने जासन होल्डले ४९ रन बनाएका थिए । यो जितपछि दक्षिण अफ्रिकाले सुपर आठमा लगातार दोस्रो जित हासिल गर्दै सेमिफाइनलको नजिक पुगेको छ । त्यस्तै वेस्ट इन्डिजले भने यो हार पछि अब अन्तिम खेलमा भारतविरुद्द जित्नैपर्ने अवस्था बनेको छ । त्यस्तै दक्षिण अफ्रिकाले अब आफ्नो अन्तिम खेल जिम्बाबेविरुद्ध खेल्ने छ ।

४- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हाल इजरायलको औपचारिक भ्रमणमा रहेका छन्। भ्रमणका क्रममा उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग उच्चस्तरीय भेटवार्ता गर्दै द्विपक्षीय सहकार्य विस्तारबारे व्यापक छलफल गरेका छन् । भेटमा रक्षा, सुरक्षा, व्यापार, प्रविधि, कृषि तथा नवप्रवर्तनलगायत विभिन्न क्षेत्रमा सहकार्य मजबुत बनाउने विषयमा सहमति भएको जनाइएको छ । साथै पश्चिम एशियाको वर्तमान परिस्थितिसहित भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोर तथा बहुपक्षीय सहकार्य संयन्त्रअन्तर्गत साझेदारी अघि बढाउने विषयमा समेत छलफल भएको थियो ।

वार्तापछि दुवै देशबीच प्रविधि विकास, आधुनिक कृषि प्रणाली, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले विभिन्न समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारत–इजरायल सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने घोषणा गरेका थिए । दुवै देशले उदीयमान तथा महत्वपूर्ण प्रविधिमा रणनीतिक साझेदारी स्थापना गर्ने, डिजिटल भुक्तानी प्रणाली विस्तार गर्ने तथा शान्तिपूर्ण परमाणु ऊर्जा र अन्तरिक्ष क्षेत्रमा सहकार्य बढाउने निर्णय गरेका छन् । कृषि आधुनिकीकरणका लागि संयुक्त रूपमा नयाँ प्रविधि विकास गर्ने र उत्कृष्ट गाउँ विकास कार्यक्रम सञ्चालन गर्ने सहमति समेत भएको बताइएको छ ।
यसैगरी साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता, ऊर्जा अन्वेषण, मत्स्य विकास, सांस्कृतिक आदानप्रदान तथा वित्तीय सहकार्यका क्षेत्रमा पनि सहमति जुटेको छ। दुवै देशले पारस्परिक लाभमा आधारित स्वतन्त्र व्यापार सम्झौता छिट्टै अन्तिम रूप दिने प्रतिबद्धता व्यक्त गरेका छन् । भ्रमणका क्रममा भारत र इजरायलबीचको सम्बन्धलाई विशेष रणनीतिक साझेदारीको स्तरमा विस्तार गर्ने ऐतिहासिक निर्णय गरिएको जनाइएको छ, जसलाई दुवै देशबीच बढ्दो विश्वास र दीर्घकालीन मित्रताको प्रतीकका रूपमा हेरिएको छ ।
५- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले भदौ २३ गतेको नरसंहारको जिम्मेवारी एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले जिम्मेवारी लिनुपर्ने बताएका छन् । विहिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भदौ २३ को नरसंहारको जिम्मेवारी तत्कालिन प्रधानमन्त्री ओली र त्यति बेला काँग्रेसको नेतृत्वमा रहेका देउवाले लिनुपर्ने बताएका हुन् । उनले भने- एउटा कुरा मैले यो पनि प्रष्ट गर्न चाहन्छु । अहिलेको परिस्थिति जो बन्न गयो, २३ गते जो नरसंहार भयो, त्यसको निम्ति तत्काल सरकारमा रहेका पार्टीहरु, सरकारमा रहेका पार्टीहरु, सरकारको नेतृत्व गर्ने एमाले केपी ओलीजी र शेर बहादुर देउवा त्यतिबेला नेपाली काँग्रेसको नेतृत्वले जिम्मेवारी लिनुपर्छ । उहाँहरु जिम्मेवारी लिन जो पन्छिनुभएको छ त्यो गलत भएको छ । पहिलो कुरा, हामि प्रष्ट भन्न चाहान्छौं । २४ गते आगजनी र लुटपाट गर्नेहरुलाई पनि कारवाही गर्नुपर्छ । त्यहाँ निर पनि हामि प्रष्ट छौं ।’ त्यस्तै कार्यक्रममा प्रचण्डले चुनावमा कसैसँग तालमेल नगर्ने र यसका लागि कसैसँग छलफल समेत नभएको स्पष्ट गरेका छन् । मिडिया र सामाजिक सञ्जालमा नेकपा र एमालेबीच विभिन्न क्षेत्रमा समीकरणको सहमति भएको समाचार आएपछि प्रचण्डले यस्तो स्पष्टीकरण दिएका हुन् । प्रचण्डले पार्टीका एजेण्डाकै बलमा चुनावमा जाने बताउँदै आफूले चुनाव घोषणा भएको पहिलो दिनदेखि नै राख्दै आएको समेत बताएका छन्।
६- दक्षिण भारतीय चलचित्र क्षेत्रका चर्चित कलाकार रश्मिका मन्दाना र विजय देवरकोंडा वैवाहिक बन्धनमा बाँधिएका छन् । लामो समयदेखि प्रेम सम्बन्धको चर्चामा रहेका यी दुई कलाकारले परिवार तथा नजिकका आफन्तको उपस्थितिमा पारम्परिक तेलुगु संस्कारअनुसार विवाह सम्पन्न गरेका हुन् । विवाहको खबर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा शुभकामनाको ओइरो लागेको छ । प्राप्त जानकारीअनुसार आज साँझ पुनः कोडावा परम्पराअनुसार दोस्रो विवाह समारोह आयोजना गरिने तयारी गरिएको छ ।
रश्मिका र विजयको सम्बन्ध विगत केही वर्षदेखि चर्चामा थियो । विजय र रश्मिका २०१८ र २०१९ मा फिल्म गीथा गोविन्दम र डियर कमरेड फिल्ममा एक साथ काम गर्दा प्रेममा परेको बताइएको छ । उनीहरुले २०२५ अक्टोबर ३ मा गोप्य रुपमा इन्गेजमेन्ट गरेको दाबि गरिएको छ । दुवै कलाकारले व्यक्तिगत जीवनलाई सार्वजनिक चर्चाबाट टाढा राख्ने प्रयास गर्दै आएका भए पनि विवाहको घोषणापछि उनीहरूको सम्बन्ध औपचारिक रूपमा सार्वजनिक भएको हो ।
७- क्रिस्टियानो रोनाल्डोले खेल जीवनसँगै व्यावसायिक क्षेत्रमा समेत ठूलो कदम चाल्दै स्पेनिस फुटबल क्लब युनियन डिपोर्टिभा अल्मेरियाको २५ प्रतिशत सेयर खरिद गरेका छन् । रोनाल्डोको स्वामित्वमा रहेको लगानी संस्था सीआर सेभेन स्पोर्ट्स इन्भेष्टमेन्टमार्फत उक्त सम्झौता औपचारिक रूपमा सम्पन्न भएको जनाइएको छ । हाल साउदी क्लब अल नासरबाट खेलिरहेका रोनाल्डोले स्पेनिस फुटबलसँग आफ्नो सम्बन्ध थप मजबुत बनाउने उद्देश्यले लगानी गरेको बताएका छन् । ४१ वर्षका रोनाल्डोले मैदान बाहिर पनि फुटबलको विकासमा योगदान गर्ने आफ्नो दीर्घकालीन योजनाअनुसार क्लबमा लगानी गरिएको उल्लेख गरेका छन् ।
हाल दोस्रो श्रेणीको स्पेनिस प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेको अल्मेरिया अंक तालिकामा तेस्रो स्थानमा रहेको छ र क्लबको भविष्यमा उल्लेखनीय सम्भावना रहेको उनले बताएका छन् । क्लब अध्यक्ष मोहम्मद अल खेरेइजीले रोनाल्डोको आगमनलाई स्वागत गर्दै उनको अनुभव र रणनीतिक दृष्टिकोणले पहिलो टोलीसँगै युवा एकेडेमीको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । सम्झौतासम्बन्धी आर्थिक विवरण सार्वजनिक नगरिए पनि यसलाई क्लबको दीर्घकालीन विकास लक्षित रणनीतिक लगानीका रूपमा वर्णन गरिएको छ ।
८- नेप्से सामान्य बढेको छ । विहिबार नेप्से ६.०३ अंकले बढेर २६५४. ९३ विन्दुमा पुगेर रोकिएको छ । आज ३३५ कम्पनिका एक करोड ५३ हजार १४५ कित्ता शेयर ४ अर्ब १७ करोड ४६ लाख ३० हजार ५१५ मा कारोबार भएको थियो । आज होटल्स, उत्पादान, माइक्रो फाईनान्स र म्युचुअल फन्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज सालपा विकास बैंकको शेयर सबैभन्दा बढी ९.९ प्रतिशतले बढेको छ भने रिलायन्स स्पिनिंग मिल्सको शेयर ९.२६ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी नबिल डिभेन्चरको सेयर ३.६० प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी अपि पावरको ३२ करोड ६८ लाख बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको २१ करोड १३ लाख बराबरको कारोबार भएको छ ।
९- नेपाली काँग्रेसका सभापति गगन थापाले फागुन २१ गते हुने निर्वाचनको विषयमा यता उताको कुरा गर्न नहुने स्पष्ट गरेका छन् । विहिबार कर्णालीको सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले तोकिएको समयमा चुनाव समपन्न गर्न काँग्रेस प्रतिबद्ध रहेको बताएका हुन् । उनले यो चुनाव हाम्रो संबिधानलाई ट्रयाकमा राख्न अनिवार्य सर्त भएको बताउदै चुनावका बारेमा यता उता कुरा गरेर संसयका कुरा नगर्न आग्रह गरे । सभापति थापाले ७४ सालपछि संबिधान बनेपछिका ४-५ बर्ष दुर्भाग्यपूर्ण भएको भन्दै त्यो समय सरकार बनाउने र ढाल्नेमा बितेकोले जनतामा चरम निराशामा आएको स्पष्ट गरे ।
उनले ८२ देखि ८७ सम्मको पाँच बर्ष एउटा मौका दिन मतदातालाई आग्रह गर्दै देशको अहिलेसम्मको सुनौलो समय बनाउने संकल्प गरेको बताए । उनले भने- ‘हामीलाई नेपालको यथार्थ थाहा छम नेपाललाई सुधार्छौँ, यसको अवस्था सुधार्छौँ ।’ उनले अहिले ठुलो कोलाहल भएको र खासगरी यो हल्ला सामाजिक सञ्जालमा र गाउँ गाउँमा पुगेको बताउदै चुनावमा केहि समुहले चटक गरिरहेको बताए । सभापति थापाले अहिलेको प्रश्न कर्णालीको गरिबी किन हटेन भन्ने प्रश्न भएको बताउदै कर्णालीको समस्याको जारामा पुग्नु पर्ने बताए । उनले कर्णालीको प्रमुख मुद्धा संबिधान परिवर्तन गरेर, कानुन बदलेर, काठमाडौँबाट कर्णालीको हक लिएर गर्नुपर्ने बताए ।
१०- दक्षिण अमेरिकी देश ब्राजिलमा आएको भीषण वर्षा र बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । लगातार परेको भारी वर्षापछि आएको बाढी र पहिरोका कारण हालसम्म कम्तीमा ४६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने दर्जनौँ मानिस अझै बेपत्ता रहेका छन् । प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य तीव्र रूपमा जारी रहेको जनाइएको छ । विशेषगरी दक्षिण-पूर्वी क्षेत्रस्थित मिनास जेराइस राज्य सबैभन्दा बढी प्रभावित बनेको छ । अचानक आएको बाढीले घर, सडक तथा बस्तीहरू पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ । सयौँ परिवार विस्थापित भएका छन् भने हजारौँ मानिस सुरक्षित स्थानतर्फ सारिएका छन् ।
अधिकारीहरूका अनुसार जुइज डे फोरा र उबा सहर आसपास बाढी र पहिरोका कारण करिब तीन हजार छ सयभन्दा बढी नागरिक घरबारविहीन बनेका छन् । उद्धारकर्मीहरूले हिलो र भग्नावशेषले ढाकिएका बस्तीहरूमा फसेका नागरिकको खोजी तथा राहत वितरण कार्य जारी राखेका छन् । स्थानीय अग्नि नियन्त्रण निकायले करिब २१ जना अझै सम्पर्कविहीन रहेको जनाएको छ । मौसमविद्हरूले आगामी केही दिन थप वर्षा हुने सम्भावना रहेकाले जोखिम अझ बढ्न सक्ने चेतावनी दिएका छन् । यसैबीच लुइज इनासियो लुला दा सिल्भा ले प्रभावित क्षेत्रमा सुरक्षा निकाय, स्वास्थ्यकर्मी तथा राहत टोली परिचालन गरिएको जानकारी दिएका छन् ।
सरकारले बाढीपीडितलाई तत्काल उद्धार, उपचार र आवश्यक सहयोग उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखिएको जनाएको छ । प्राकृतिक विपत्तिका कारण पहाडी तथा नदी आसपासका बस्तीमा ठूलो क्षति पुगेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् भने उद्धार अभियान अझै जारी रहेको अधिकारीहरूले बताएका छन् ।
११- नवलपरासी पश्चिमका रास्वपा सभापति महेन्द्र सिंह ठकुरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । विहिबार नवलपरासी बर्दघाटको चौपतामा भएको चुनावी सभामा ठकुरीलाई काँग्रेस उपसभापति विश्वप्रकाश शर्माले काँग्रेसमा स्वागत गरेका हुन् । ठकुरीलाई कांग्रेसका कार्यकर्ताले १०८ किलोको मालाले पार्टीमा स्वागत गरेका थिए ।
ठकुरीले २०७९ को निर्वाचनमा नवलपरासी पश्चिम क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्दै १२ हजार ४९९ मत प्राप्त गरेर तेस्रो भएका थिए । यस पटक यस क्षेत्रमा रास्वपाले पुर्व काँग्रेस नेता विक्रम खनाललाई उम्मेदवार बनाएको छ । यस क्षेत्रबाट गत निर्वाचनमा काँग्रेसका विनोद चौधरी विजयी भएका थिए भने उनी यस पटक पनि चुनावी मैदानमा रहेका छन् ।
१२- नेपाल-भारत केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपाल र भारतको सिक्किम सीमा क्षेत्रमा विहिबार दिउसो १२ बजेर ५४ मिनेट जादा ४.६ रेक्टर स्केलको भूकम्प गएको छ ।
१३- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट झापा-५ का उम्मेदवार रञ्जित तामाङले कुनै दलसँग गठबन्धन नगर्ने स्पष्ट गरेका छन् । तामाङले भिडियो सन्देश जारी गर्दै भ्रम फैलाइएको भन्दै कुनै दलसँग गठबन्धन नगरेको स्पष्ट गरेका हुन् । उनले चुनावपछि गठबन्धन हुनसक्ने र कुनै उम्मेदवारले आफुलाई समर्थन गरेमा गठबन्धन हुनसक्ने बताएका छन् । नेकपाका संयोजक प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच विभिन्न क्षेत्रमा गठबन्धन गर्ने सहमति भएको समाचार मिडिया र सामाजिक सञ्जालमा आएपछि उनले त्यसको खण्डन गरेका छन् । उनले आफु सबै खेलाए अतिवादसँग लडेर आएको भन्दै घोषित र अघोषित कुनै किसिमको गठबन्धन गर्ने विषयमा छलफल नभएको स्पष्ट गरेका छन् । उनले आफुले जनताको माया पाइरहेको भन्दै चुनाव जित्ने दाबि समेत गरेका छन् ।
१४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीका नेता राजु राईले पार्टी छोडेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत नेता राईले पार्टी छाडेको घोषणा गरेका हुन् । उनले भनेका छन्- ‘राजनीति भनेको सोझो र इमानदारले गर्ने काम होइन रहेछ । आजदेखि राजनीति र पार्टीका लागि एक कौडी पैसा र एक सेकेन्ड समय पनि खर्च गर्ने छैन । अब स्वतन्त्र नागरिक भएर समाज सेवामा लाग्नेछु ।’ २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कास्की- १ मा रास्वपाका उम्मेदवार राईले १० हजार ९४१ मत प्राप्त गरेका थिए । सोही निर्वाचनमा रास्वपाले उक्त क्षेत्रमा समानुपातिकतर्फ १५ हजार ८६४ मत प्राप्त गरेको थियो । यसपटक पनि उनी उम्मेदवारको दाबेदार रहेपनि उनले टिकट पाएनन् । यस निर्वाचनमा रास्वपाबाट कास्की-१ मा खड्क राज पौडेल उम्मेदवार बनेका छन् ।
१५- अमेरिकाले इरानले आफ्नो परमाणु कार्यक्रम पुनः अघि बढाउने प्रयास गरिरहेको संकेत प्राप्त भएको जनाएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सञ्चारकर्मीसँग कुराकानी गर्दै गत वर्ष जुन महिनामा अमेरिकी नेतृत्वमा भएका आक्रमणपछि इरानले परमाणु कार्यक्रम पुनः निर्माण गर्न खोजिरहेको प्रमाण भेटिएको दाबी गरेका हुन् । उनले भने- ‘सिद्धान्त अत्यन्त स्पष्ट छ, इरानसँग परमाणु हतियार हुनुहुँदैन । यदि उनीहरू परमाणु हतियार निर्माणतर्फ अघि बढ्छन् भने त्यो हाम्रो लागि गम्भीर समस्या हुनेछ। त्यस्तो प्रयास भइरहेको संकेत दिने प्रमाण हामीले देखेका छौँ ।’
उनले इरान र अमेरिकाबीच परमाणु कार्यक्रमसम्बन्धी वार्ता हुनुअघि यस्तो बताएका हुन् । दुवै पक्षका प्रतिनिधिबीच बिहीबार जेनेभामा छलफल तय भएको छ । भान्सका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफ र राष्ट्रपतिका ज्वाइँ जारेड कुशनरले सो वार्तामा अमेरिकाको प्रतिनिधित्व गर्दैछन् । उनले वर्तमान प्रशासन इरानको परमाणु कार्यक्रमको विषय कूटनीतिक माध्यमबाट समाधान गर्न चाहेको स्पष्ट पारे । तर आवश्यक परे अन्य विकल्पहरू पनि खुला रहेको संकेतसमेत उनले दिएका छन् । अमेरिका-इरान सम्बन्ध पुनः तनावतर्फ उन्मुख भइरहेका बेला जेनेभा वार्तालाई महत्वपूर्ण रूपमा हेरिएको छ ।
१६- सन् २०२५ मा विश्वभर १२९ जना पत्रकार तथा सञ्चारकर्मीको ज्यान गएको तथ्यांक सार्वजनिक भएको छ । कमिटी टु प्रोटेक्ट जर्नालिष्ट (सीपीजे) ले सार्वजनिक गरेको प्रतिवेदनमा यो वर्ष पत्रकारहरूको मृत्यु संख्या हालसम्मकै उच्च रहेको उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार सन् २०२५ मा ज्यान गुमाएका पत्रकारमध्ये दुई तिहाइ घटनाका लागि इजरायल जिम्मेवार रहेको आरोप लगाइएको छ । साथै, कुल मृतकमध्ये तीन चौथाइभन्दा बढी पत्रकार द्वन्द्वग्रस्त क्षेत्रमा कार्यरत रहेका बेला मारिएका थिए । सीपीजेका अनुसार सन् २०२५ मा इजरायली आक्रमणबाट ज्यान गुमाएका ८६ सञ्चारकर्मीमध्ये ६० प्रतिशतभन्दा बढी गाजाबाट रिपोर्टिङ गरिरहेका प्यालेस्टिनी पत्रकार थिए ।
गाजामा जारी द्वन्द्वका क्रममा पत्रकारहरू उच्च जोखिममा परेको प्रतिवेदनमा जनाइएको छ । यद्यपि इजरायली सेनाले भने आफूले जानाजानी पत्रकारलाई निशाना नबनाउने दाबी गर्दै आएको छ । सीपीजेकी प्रमुख कार्यकारी अधिकृत जोडी गिन्सबर्गले वक्तव्य जारी सूचनामा पहुँच पहिलेभन्दा बढी महत्वपूर्ण भएको समयमा पत्रकारहरू रेकर्ड संख्यामा मारिनु गम्भीर चिन्ताको विषय भएको उल्लेख गर्दै समाचार संकलनकै कारण पत्रकार मारिँदा सबै जोखिममा पर्ने बताएकी छन् । प्रतिवेदनले द्वन्द्व क्षेत्रहरूमा प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको अवस्था झन् जटिल बन्दै गएको निष्कर्ष निकालेको छ ।
१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको ६ सयले बढेर तोलाको ३ लाख १५ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख १४ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर तोलाको ५७२५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५७१५ मा कारोबार भएको थियो ।
१८- पूर्व शिक्षामन्त्री तथा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका महावीर पुनले नेपालमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था आए आफू पनि स्वतन्त्र रूपमा प्रधानमन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने- ‘यदि नेपालमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री बन्ने शासन प्रणाली आयो भने म स्वतन्त्र उम्मेदवारका रूपमा उठ्छु र जित्नेमा विश्वस्त छु ।’ यद्यपि उनले यस्तो प्रणाली पुराना राजनीतिक दलहरूले सहजै लागू गर्न नदिने दाबी गरे । पुनले नयाँ राजनीतिक शक्ति र स्वतन्त्र अभियानहरूबीच एकता अपरिहार्य रहेको औंल्याउँदै संयुक्त मोर्चा बनाएर चुनाव लड्नुपर्ने बताए ।
उनका अनुसार नयाँ शक्तिहरू एकजुट भई दुई तिहाइ बहुमत ल्याउन सके मात्र देशमा संरचनात्मक परिवर्तन सम्भव हुन्छ । तर, उनले हाल देखिएको विभाजनप्रति असन्तुष्टि जनाउँदै धरानका पूर्व मेयर हर्क साम्पाङ, नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन शाहबीच सहकार्य हुनु पर्ने बताएका छन् । उनले भनेका छन्- ‘यदि नयाँ शक्तिहरूबीच एकता भएन भने यो चुनावपछि पनि उस्तै किसिमको सरकार बन्ने सम्भावना बढ्छ । राजनिति नै गर्ने हो भने झगडा नगर, संयुक्त मोर्चा बनाउ ।’
१९- आसन्न निर्वाचनको ठीक अघि नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । देउवा गएराती सिंगापुर गएका हुन् । देउवा पत्नी आरजु राणा देउवा भने तीन दिनअघि नै सिंगापुर पुगिसकेकी थिइन् । देउवा दम्पति यसअघिको उपचारको फलोअपका लागि सिंगापुर गएको उनी निकट नेताहरुले जानकारी दिएका छन् । विशेष महाधिवेशनपछि पार्टीभित्रको शक्ति सन्तुलन फेरिए पनि सभापति गगन थापा पक्षले निर्वाचनमा देउवाको साथ खोजिरहेको चर्चा चल्दै आएको बेला देउवा सिंगापुर गएका हुन् ।
विशेषगरी उनको गृह जिल्ला डडेल्धुरामा मतदानका लागि मात्र भए पनि देउवा पुग्ने अपेक्षा स्थानीय कांग्रेस कार्यकर्ताले गरिरहेका थिए । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आफ्नै निवासमा कुटाई खाएका देउवा दम्पति उपचारका लागि कार्तिक १० मा सिंगापुर गएका थिए । त्यसपछि उनीहरु कार्तिक २८ मा स्वदेश फर्किएका थिए ।
२०- युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ मा पुग्ने सबै टिमको टुंगो लागेको छ । गएराती सम्पन्न प्लेअफका खेलपछि यस सिजनको च्याम्पियन्स लिगको राउण्ड १६ मा पुग्ने १६ क्लबको टुंगो लागेको हो । जस अन्तर्गत रियल म्याड्रिडले बेनिफिकालाई समग्रमा ३-१ गोल अन्तरले पराजित गर्दै राउण्ड १६ मा पुगेको छ भए गालाटासारेले युभेन्टसलाई समग्रमा ७-५ गोल अन्तरले पराजित गर्दै राउण्ड १६ मा पुगेको छ ।
त्यसैगरी पिएसजीले मोनाकोलाई समग्रमा ५-४ गोल अन्तरले पराजित गरेको छ भने एटलान्टाले डोर्टमण्डलाई समग्रमा ४-३ गोल अन्तरले पराजित गरेर राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ । यसरी च्याम्पियन्स लिगको राउण्ड १६ मा पुग्ने क्लबहरुमा रियल म्याड्रिड, पीएसजी, एटलान्टा, गालाटासारे, एटलेटिको म्याड्रिड, न्यूक्यासल युनाईटेड, बोडो, बायर लिभरकुसन, बार्सिलोना, चेल्सी, लिभरपुल, टोटनह्याम, स्पोर्टिंग सिपी, म्यानचेस्टर सिटी,आर्सनल र बायर्न म्युनिख रका छन् । अब राउण्ड १६ को ड्र शुक्रबार हुनेछ । त्यस्तै राउण्ड १६ का खेलहरु पहिलो लिग मार्च १० र ११ तथा दोस्रो लिग मार्च १७ र १८ मा हुने छ ।
FACEBOOK COMMENTS