काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- रामेछापमा निर्वाचन सामग्री तथा कर्मचारी बोकेको गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ । घाइते अवस्थामा सदरमुकाम मन्थलीस्थित मन्थली अस्पताल ल्याइएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रामेछाप नगरपालिका-२ साँघुटार वडा कार्यालय भवन ‘ख’ मतदान केन्द्रका मतदान अधिकृत डोरप्रसाद घिमिरे रहेका छन् । सोमबार निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको गाडी रामेछाप नगरपालिका-२ स्थित वडा कार्यालय नजिकैको सिरूवारी भीरबाट खसेको थियो ।
दुर्घटनामा घाइते भएका मध्ये तीन जना गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएका थिए । यसअघि दुर्घटनास्थलमै नेपाल प्रहरीका असई आरपी यादवको मृत्यु भएको भएको थियो । दुर्घटनामा घाइते भएका दुई जना पुरूष र तीन जना महिलालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
२- इरानसँगको जारी युद्धमा अर्का एक अमेरिकी सैनिकको मृत्यु भएको छ । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले प्रारम्भिक इरानी आक्रमणमा गम्भीर घाइते भएका चौथो सैनिकको मृत्यु भएको जानकारी दिएको छ । यसअघि कमाण्डले अन्य तीन अमेरिकी सैनिकको मृत्युको जानकारी दिएको थियो । यस द्वन्द्वमा अहिलेसम्म चार अमेरिकी सैनिकले ज्यान गुमाएका छन् । कमाण्डले केहि अमेरिकी सैनिक घाइते भएको बताए पनि संख्या भने उल्लेख गरेको छैन ।
३- फागुन २१ गते हुने आमनिर्वाचन अघि आज राति १२ बजेदेखि मौन अवधि शुरु हुदैछ । आयोगले मौन अवधिमा गर्न नपाइने गतिविधि बारे जानकारी दिदै सबै जिल्लाका आचारसंहिता अनुगमन अधिकृतमार्फत मौन अवधिको अनुगमन गर्ने बताएको छ । आयोगका अनुसार यस अवधिमा निर्वाचनको प्रचार प्रसार गर्न रोक लगाइएको छ । यस अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन । त्यस्तै बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज भतेर गर्न, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्जत वा होहल्ला गर्न वा गराउन पनि नपाइने आयोगले जनाएको छ ।

त्यस्तै सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोष्ट वा शेयर गर्न वा गराउन आयोगले रोक लगाएको छ । त्यस्तै कुनै पनि तरिकाबाट मत माग्न नपाउने निर्वाचन प्रचारप्रसार तथा मत माग्नका लागि साउण्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन वा माध्यमको प्रयोग गर्न नपाइने आयोगले उल्लेख गरेको छ । त्यस्तै मतदानमा बाधा पुऱ्याउन नहुने मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा पुऱ्याउने कार्य गर्न नपाइने स्पष्ट गरको छ ।

त्यस्तै आयोगले राजनीतिक दल तथा उम्मेदवार, दलका भातृ संगठनहरूले सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा निर्वाचन प्रचारप्रसारका सामग्री हटाउनु पर्ने बताएको छ । त्यस्तै आयोगले मतदान केन्द्र रहेको घर, भवन वा स्थानमा मतदानलाई असर पार्ने गरी त्यसको वरिपरिको कुनै निजी वा सार्वजनिक घर, भवन वा जग्गामा शान्ति भंग गर्न वा भय, त्रास सिर्जना गर्न वा निर्वाचनको वातावरण बिथोल्ने कार्य गर्न वा गराउन नहुने बताएको छ । त्यसैगरी आयोगले मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउनुपर्ने बताएको छ ।

४- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनपछि काँग्रेस सबैभन्दा ठूलो बन्ने दाबी गरेका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति शर्माले चुनावका क्रममा देखिएको माहोलबाट काँग्रेस सबै भन्दा ठुलो दल बन्ने दाबी गरेका हुन् । छोटो समयमा काँग्रेसले आफ्ना कुरा मतदाता समक्ष राखेको र पार्टीका नेता कार्यकर्ता र मतदातामा बदलिएको काँग्रेस बारे विशेष उत्साह देखिएको उनले बताए । साथै उनले प्रत्यक्ष र समानुपातिक दुवैमा नेपाली कांग्रेस पहिलो शक्ति बताए ।

उनले भने- ‘काँग्रेसले विगतमा भन्दा तुलनात्मक रुपले आफुलाई व्यवस्थित रुपमा अगाडी सारेको र त्यसको परिणामको रुपमा निर्वाचनमा देखिदैछ । काँग्रेसमा देखिएको उर्जा, पार्टीप्रति देखिएको विश्वास, उम्मेदवार दर्तादेखि वडा तह, पालिका तह र केन्द्रदेखि हजारौंको संख्यामा प्रवेश गरेकोबाट काँग्रेस अहिलेको विषम परिस्थितिमा सम्हाल्न सक्ने अवस्थामा पुगेको छ ।’ उपसभापति शर्माले सबै दललाई चुनावलाई स्वस्थ र भयरहित वातावरणमा सम्पन्न गराउन आग्रह गरेका छन् ।

५- संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मृत्यु भएका नेपाली नागरिकको परिचय खुलेको छ । युएईको परराष्ट्र मन्त्रालयबाट प्राप्त आधिकारिक जानकारी अनुसार मृत्यु हुने नेपाली नागरिकमा मध्यपूर्व इष्ट कम्पनीमा सुरक्षा गार्डका रूपमा कार्यरत गोरखा जिल्लाका स्थायी बासिन्दा २९ वर्षीय दिबस श्रेष्ठ भएको अबुधाबीस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।
दुताबासले श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको शान्तिको कामना गरेको छ । साथै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ । साथै परिस्थिति सहज भएलगत्तै पार्थिव शरीर स्वदेश फिर्ता पठाउने लगायतका आवश्यक प्रक्रिया छिटो सम्पन्न गर्न दूतावासले पहल गर्ने जनाएको छ । यसैबीच दूतावासले युएईमा रहेका सबै नेपालीलाई संयम अपनाउन, सुरक्षित स्थानमा बस्न र त्यहाँको सरकारले जारी गरेका सुरक्षा निर्देशिका पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ।
६- कुवेतमा अमेरिकी सेनाका तीन लडाकु विमान दुर्घटनाग्रस्त भएका छन् । अमेरिकी पक्षले यो घटना सम्भावित रूपमा आफ्नै पक्षबाट भएको आक्रमणका कारण भएको जनाएको छ । यसअघि कुवेती सेनाले ‘धेरै’ अमेरिकी लडाकु विमान खसेको जानकारी दिँदै घटनाको कारणबारे छानबिन भइरहेको बताएको थियो । अमेरिकी केन्द्रीय कमान्डका अनुसार इरानविरुद्ध सञ्चालन भइरहेको ‘अपरेशन एपिक फ्युरी’ अन्तर्गत उडिरहेका एफ-१५ प्रकारका तीन विमान कुवेतको आकाशमा आफ्नै पक्षबाट भएको गल्तीपूर्ण आक्रमणका कारण खसेका हुन् । ति अमेरिकी लडाकु विमान कुवेतले गल्तीले गरेको आक्रमणका कारण खसेको बताइएको छ । विमानमा सवार सबै छ जना चालकदलका सदस्य सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका र उनीहरूको उद्धार गरिएको अमेरिकी सेनाले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।
७- आज राति १२ बजेदेखि सुरु हुने निर्वाचन प्रचारको मौन अवधिलाई कडाइका साथ लागू गर्न निर्वाचन आयोगले आचारसंहिता अनुगमन अधिकृतहरूलाई निर्देशन दिएको छ । संवत् २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउन आचारसंहिता, २०८२ कार्यान्वयन गराउन दफा ३२ अनुसार सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई फरक-फरक जिम्मेवारीसहित आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।
आयोगका अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म सबै पक्षले आचारसंहितामा तोकिएका नियम कडाइका साथ पालना गर्नुपर्नेछ र विशेष गरी दफा १७ र दफा १८ मा उल्लेखित मौन अवधिसम्बन्धी प्रावधानको जिल्लास्तरमा सूक्ष्म अनुगमन गर्न निर्देशन दिइएको छ । आचारसंहिता वा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ विपरीत कुनै गतिविधि भेटिएमा जिल्ला आचारसंहिता अनुगमन समितिसँग समन्वय गरी कानुनअनुसार कारबाही गर्न भनिएको छ । प्रचारप्रसार निषेध अवधिमा कानुनले रोक लगाएका काम नगर्न र नगराउन आयोगले सबै पक्षलाई आग्रह गरेको छ ।
८- अमेरिका-इसराइलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको मृत्यु भएपछि पाकिस्तानभर भएका प्रदर्शन हिंसात्मक बनेका छन् । विभिन्न सहरमा भएको झडपमा कम्तीमा २३ जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन् । प्राप्त विवरण अनुसार कराँचीमा अमेरिकी वाणिज्य दूतावास बाहिर भएको प्रदर्शनमा १० जनाको मृत्यु भएको छ । गिलगित-बाल्टिस्तानको स्कार्दुमा ११ जना र इस्लामाबादमा २ जनाको ज्यान गएको जनाइएको छ । कराँचीमा प्रदर्शनकारीले दूतावासतर्फ जाने सबै सडक बन्द गराएका थिए । सुल्तानाबाद पुलमुनिको ट्राफिक प्रहरी चौकीमा आगजनी गरिएको थियो ।
प्रहरी प्रधान कार्यालय नजिकै प्रदर्शन तितरबितर गर्न सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेका थिए । सिभिल अस्पतालका अनुसार मृत्यु र घाइते सबैलाई गोली लागेको थियो । सिन्ध प्रदेश सरकारले प्रदर्शनकारीले दूतावासको बाहिरी सुरक्षा घेरा तोडेर तोडफोड गरेको जनाएको छ । घटनाको छानबिन गर्न उच्चस्तरीय संयुक्त अनुसन्धान समिति गठन गरिएको छ । सिन्धका मुख्यमन्त्री मुराद अली शाहले घटनाप्रति दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन् । उनले धार्मिक अगुवासँग पनि सम्पर्क गरी जनभावना संयमित राख्न आग्रह गरेका छन् । लाहोरमा पनि सयौँ प्रदर्शनकारी सडकमा उत्रिएका थिए ।
त्यहाँ सुरक्षाकर्मी र प्रदर्शनकारीबीच सामान्य झडप भएको र अश्रुग्यास प्रहार गरिएको बताइएको छ । राजधानी इस्लामाबादमा कूटनीतिक क्षेत्रतर्फ जाने सबै सडक बन्द गरिएको थियो । हजारौँ प्रदर्शनकारी अघि बढ्न खोजेपछि सुरक्षाकर्मीले अश्रुग्यास र गोली चलाउँदा २ जनाको मृत्यु र करिब १० जना घाइते भएको अधिकारीहरूले बताएका छन् । गृहमन्त्री मोहसिन नकवीले प्रदर्शन शान्तिपूर्ण राख्न आग्रह गरेका छन् । प्रमुख धार्मिक अगुवाहरूले पनि धैर्य र संयम अपनाउन अपिल गरेका छन् । उनीहरूले सरकारी भवन, राष्ट्रिय संस्था वा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनु उचित नहुने बताएका छन् । हाल पाकिस्तानका विभिन्न सहरमा कालो झण्डा बोकेर प्रदर्शन जारी रहेको छ । अवस्था तनावपूर्ण रहे पनि सरकारले शान्ति कायम राख्न सबै पक्षसँग सहयोगको अपिल गरेको छ ।
९- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झन्डा राखेर चुनावी प्रचारमा हिँडेको जिपबाट प्रहरीले मदिरा र खाद्यान्नसहितका सामग्री बरामद गरेको छ । सल्यानको बन्गाड–कुपिण्डे नगरपालिका–१ स्थित सल्लीबजारबाट सोमबार बिहान जिप चालक र जिपमा सवार अर्का एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सामान लिएर खैरागारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको जिपमा चुनावलक्षित सामग्री रहेको आशंकामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिपबाट २५ केजीका दुई बोरा चामल, ‘डायमण्ड’ लेखिएको सात कार्टुन मदिरा, दुई कार्टुन बियर र तीन कार्टुन खानेतेल बरामद भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । पक्राउ पर्नेमा सिद्धकुमाख गाउँपालिका–४ बस्ने २४ वर्षीय चन्द्रप्रकाश बुढाथोकी र ३७ वर्षीय मोहन बीसी रहेका छन् । रास्वपाका नगर सभापति लोकेन्द्र ओलीले गाडीमा लोड गरिएको सामग्री स्थानीय व्यापारीको भएको दाबी गर्दै प्रचारमा हिँडेको गाडीमा सामान राखिनु चालकको कमजोरी भएको बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१०- नेपाली कांग्रेसले मध्यपूर्वमा विकसित पछिल्लो अवस्थाबाट प्रभावित नेपालीको सहयोगका लागि ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको जनाएको छ । पार्टी सभापति गगन थापाका अनुसार स्वदेश र मध्यपूर्वका विभिन्न देशमा समस्यामा परेका नेपालीहरुलाई राहत, स्थानान्तरण तथा तत्काल उद्धारको आवश्यकता परेमा काँग्रेसको हेल्प डेस्कमा सम्पर्क गर्न आग्रह गरिएको छ । सरकारले आफ्नो तर्फबाट काम गरिरहेको जनाउँदै नेपाली कांग्रेसले थप सहयोगका लागि यो व्यवस्था सुरु गरिएको जनाएको छ । सम्बन्धित देशमा रहेका नेपाली जनसम्पर्क समिति र गैरआवासीय नेपाली संघका प्रतिनिधिहरूले समन्वय गरिरहेको जानकारी दिइएको छ । उडान अवरुद्ध भएर काठमाडौँमा रोकिएका व्यक्तिलाई गृह जिल्ला पुग्न यातायातको समेत व्यवस्था मिलाइएको पार्टीले जनाएको छ ।
सहयोग वा समन्वय आवश्यक परेमा सम्बन्धित देशका तोकिएका सम्पर्क व्यक्तिमार्फत फोन वा सन्देश पठाई सहयोग लिन सकिने नेपाली कांग्रेसले जानकारी दिएको छ । साथै उडान अवरुद्द भएर काठमाडौँमा रोकिकाहरूलाई आफ्नो गृह जिल्ला वा घरसम्म पुग्नका लागि यातायातको पनि आवश्यक प्रबन्ध गरेको बताउदै आवश्यक सहयोग वा समन्वयका लागि निम्न उल्लेखित नम्बरहरूमा फोन वा ह्वाट्सएप मार्फत सम्पर्क गरी सहयोग लिन सकिने बताइएको छ । सम्पर्क विवरणहरू: नेपाली कांग्रेस केन्द्रीय पार्टी कार्यालय सम्पर्क कृष्ण दुलाल – (९८५२०५४०८१ ) सम्पर्क व्यक्ति- सुदिप ढुङ्गाना- (९८४००४०७१७) -काठमाडौं बाहिर जान यातायातको लागि: भरतप्रसाद अर्याल (९८४९८८४३७२) – बहराइन: शेर बहादुर रावत (+९७३ ३९०१६३९३) / पदम सुन्दर गुरुङ (+९७३ ६६९०७०९४) – कतार: मोहम्मद अजिज (+९७४ ५५२३५९२१) / राज रेग्मी (+९७४ ६६६८२०६७) – यूएई: भुवानि प्र. तिमल्सिना (+९७१ ५० ७९५ १०१९) / रमेश श्रेष्ठ (+९७१ ५० ३९८ ०४९९) – इजरायल: खगेश्वर अधिकारी – (+९७२ ५४ २८५९४७६)/राजेन्द्र उप्रेती (+९७२ ५३ ७८२७६१९ )
११- लेबनानमा इजरायलको हवाई तथा रकेट आक्रमणमा ३१ जनाको मृत्यु भएको छ । राजधानी बेरूतका दक्षिणी क्षेत्रमा २० जनाको मृत्यु र ९१ जना घाइते भएका छन् । दक्षिण लेबनानमा ११ जनाको मृत्यु र ५८ जना घाइते भएका छन् । यी आक्रमण हिज्बुल्लाहले उत्तरी इजरायलमा रकेट प्रहारको चेतावनी दिएको बेला भएका हुन् । लेबनानका राष्ट्रपति जोसेफ औनले इजरायल र हिज्बुल्लाह दुवैमा असन्तुष्टि व्यक्त गर्दै हिज्बुल्लाहले लेबनानी भूमिबाट इजरायलमाथि हमला गर्नु गलत भएको र यसले लेबनानलाई ठूलो युद्धमा तान्न सक्ने बताएका छन् ।
उनले इजरायलको हानिकारक आक्रमणको पनि निन्दा गर्दै देशलाई अनावश्यक युद्धको भाग नबनाउन चेतावनी दिएका छन् । इजरायली सेनाले स्थानीय बासिन्दालाई आफ्ना घर छोड्न आदेश दिएको छ । यसपछि दक्षिणी लेबनान र बेरूतमा सयौँ हजार मानिस सुरक्षित ठाउँतर्फ धाउन थालेका छन् । बेरूतको दहियाह क्षेत्र हिज्बुल्लाहको मुख्य गढ मानिन्छ । यहाँका बासिन्दा आफ्ना आवश्यक सामान लिएर सुरक्षित स्थानमा जान खोजिरहेका छन् । २०२४ को अन्तिम युद्धको समयमा पनि यस क्षेत्रमा धेरै पटक हमला भएको थियो । इजरायलले हिज्बुल्लाहले फेरि हतियार जुटाइरहेको आरोप लगाउँदै लेबनानी सरकार पर्याप्त कदम नचालेको दाबी गरेको छ ।
१२- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही-२ नेपाली कांग्रेसलाई समर्थन नगर्ने स्पष्ट गरेको छ । राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले काँग्रेसलाई समर्थन गर्ने कुनै नीति नरहेको स्पष्ट गरेका हुन् । उनले पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनमा कसैसँग तालमेल वा समर्थन गर्ने नीति नलिएको र नीति विपरीत गतिविधि अनुशासनको विषय हुने बताएका छन् । उक्त क्षेत्रका लागि राप्रपाको उम्मेदवारी खाली भएकाले समानुपातिक मत जुटाउन पार्टीले आफ्ना सदस्य र मतदातालाई सहकार्य गर्न अनुरोध गरेको छ ।
यसअघि राप्रपाका रुपन्देही-२ का अध्यक्ष रामबहादुर थापाले विज्ञप्ति जारी गर्दै उम्मेदवार नभएको अवस्थामा कांग्रेससँग एजेन्डा नजिक भएको भन्दै चुन्न प्रसाद पौडेललाई समर्थन गर्ने जानकारी दिएका थिए । यस अघि राप्रपाबाट कर्भिका थापाले उम्मेदवारी दर्ता गरेकी थिइन्, तर स्थायी आवसीय अनुमतिपत्र (पिआर) अवधि नपुगेकाले तीन महिना अघि उम्मेदवारी फिर्ता गरेपछि राप्रपा उक्त क्षेत्रमा उम्मेदवारविहीन बनेको थियो । २०७९ को निर्वाचनमा पनि राप्रपाको यस क्षेत्रमा उम्मेदवार थिएन, तर समानुपातिकतर्फ पार्टीले चौथो धेरै मत ५६ सय प्राप्त गरेको थियो।
१३- प्रधानमन्त्री सुशिला कार्कीले देशबासीलाई विशेष सम्बोधन गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनमा सक्रिय सहभागिताको अपील गरेकी छिन् । उनले मत दिनु केवल चुनावी प्रक्रिया नभई आफ्नो र आफ्ना सन्तानको भविष्यको निर्णय भएको बताइन् । प्रधानमन्त्रीले शान्ति, संयम र आपसी सम्मान कायम राख्न पनि आग्रह गर्दै निर्वाचन आयोग, सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीको योगदानको सराहना गरेकी छिन् । उनले देशमा दण्डहीनतालाई स्थान नदिने र कानुन अनुसार कारबाही गरिने पनि स्पष्ट पारेकी छिन् । साथै उनले फागु पूर्णिमाको अवसरमा उनले सबै नेपालीलाई शुभकामना दिँदै, रङ्गको पर्व र निर्वाचन दुवैमा उत्साह र एकता कायम राख्न अनुरोध गरिन् । उनले आफ्नो सम्बोधनमा, मध्यपूर्वी क्षेत्रमा जारी तनावमा नेपाल सरकारले आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्न सक्रिय रहेको जानकारी दिइन् ।
१४- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध चारदेखि पाँच हप्तासम्म लम्बिन सक्ने बताएका छन् । यसअघि उनले युद्ध करिब चार हप्ता चल्ने बताएका थिए । अहिले भने अवस्था हेर्दा पाँच हप्तासम्म जान सक्ने संकेत दिएका हुन् । ट्रम्पका अनुसार अमेरिकाले इरानको हालको नेतृत्वपछि सत्ता सम्हाल्न सक्ने केही व्यक्तिलाई निशाना बनाएको थियो । ‘एपिक फ्युरी’ नाम दिइएको सैन्य कारबाहीको पहिलो दुई दिनमै ती सबै मारिएको उनको दाबी छ । आइतबार इरानको आक्रमणमा तीन अमेरिकी सैनिकको ज्यान गएको थियो भने पाँच जना घाइते भएका थिए ।
ट्रम्पले ती सैनिकको मृत्युको बदला नलिएसम्म इरानमाथिको आक्रमण जारी रहने बताएका छन् । यसैबीच, अन्तर्राष्ट्रिय समाचार संस्था रायटर्सले गरेको सर्वेक्षणअनुसार केवल एक चौथाइ अमेरिकी मात्र इरानमाथि भइरहेको अमेरिका-इजरायलको आक्रमणको पक्षमा छन्। सर्वेक्षणमा ४३ प्रतिशतले युद्धप्रति असहमति जनाएका छन् भने २९ प्रतिशतले स्पष्ट धारणा नदिएको बताइएको छ । ४२ प्रतिशत रिपब्लिकन समर्थकले अमेरिकी सैनिक मारिए समर्थन नगर्ने बताएका छन् । उता अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले आज पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ । शनिबारदेखि इरानमाथि सुरु भएको आक्रमणपछि पहिलो पटक कुनै उच्च अमेरिकी अधिकारीले औपचारिक रूपमा जानकारी दिन लागेका हुन् । पत्रकार सम्मेलनमा संयुक्त सैन्य प्रमुख समितिका अध्यक्ष जन केन पनि सहभागी हुने जनाइएको छ । रक्षा मन्त्रालयले इरानमाथिको आक्रमण र समग्र सैन्य कारबाहीबारे विस्तृत जानकारी दिइने जनाएको छ ।
१५- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ५६ सयले बढेर तोलाको ३ लाख २६ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख २० हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले बढेर तोलाको ६०२० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५९८५ मा कारोबार भएको थियो ।
१६- नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई प्रतिनिधि सभा सदस्यको आमनिर्वाचनको समयमा आवश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुरोधपछि राष्ट्र बैंकले निर्वाचन बिदाको समयमा पनि बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको हो । सरकारले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गरेको छ । साथै फागुन १८ गते हिमाली र पहाडी क्षेत्रका ५६ जिल्लामा तथा फागुन १९ गते तराईका २१ जिल्लामा होली पर्वका कारण बिदा रहनेछ । निर्देशनअनुसार सरकारी कारोबारका लागि तोकिएका वाणिज्य बैंकहरूले भुक्तानी र राजस्व दाखिला सेवा नियमित रूपमा सञ्चालन गर्नुपर्नेछ भने निर्वाचन प्रचारप्रसारका लागि खोलिएका बैंक खातामार्फत राजनीतिक दल र उम्मेदवारहरूको नगद, चेक वा अन्य भुक्तानी सम्बन्धी सेवा पनि निरन्तर उपलब्ध गराउन भनिएको छ ।राष्ट्र बैंकले निर्वाचन अवधिमा वित्तीय सेवा अवरुद्ध नहुने गरी आवश्यक व्यवस्था मिलाउन सबै बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।
१६- मध्यपूर्व र खाडी क्षेत्रमा देखिएको असामान्य परिस्थितिलाई ध्यानमा राख्दै सरकारले ती क्षेत्रका देशमा वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरको निर्णयअनुसार आइतबारदेखि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल जाने व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका श्रम स्वीकृति अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको हो । वैदेशिक रोजगार विभागअन्तर्गत ताहाचलस्थित श्रम स्वीकृति शाखाले सूचना जारी गर्दै यी देशमा रोजगारीका लागि विभाग तथा मातहतका निकायबाट प्रदान गरिने सम्पूर्ण श्रम स्वीकृति अर्को सूचना नआएसम्म रोकिने जानकारी दिएको छ । सरकारले त्यहाँको अवस्थालाई निरन्तर निगरानीमा राखेको पनि जनाएको छ ।
१७- मध्यपूर्वमा बढेको युद्धको असरले विश्व बजारमा कच्चा तेलको भाउ एक्कासी उकालो लागेको छ । सोमबार एसियाली बजार खुल्नेबित्तिकै अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट कच्चा तेलको भाउ १३ प्रतिशतले बढेर प्रति ब्यारेल ८२ डलर नाघेको छ । अमेरिकी मापदण्ड पश्चिम टेक्सास इन्टरमिडिएट पनि करिब १० प्रतिशतले बढेर ७० डलर माथि पुगेको छ । अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि आपूर्ति अवरुद्ध हुने डरले बजारमा मूल्य चर्किएको हो । विश्वको करिब २० प्रतिशत तेल ओसारपसार हुने होर्मुज जलडमरु मार्गमा अवरोधको जोखिम बढेको छ ।
केही जहाज आवतजावत गरे पनि मुख्य जलमार्ग असुरक्षित बनेको छ । ठूला जलयातायात कम्पनीहरूले सो मार्गबाट आफ्ना जहाज नचलाउने निर्णय गरिसकेका छन् । विशेषज्ञहरूका अनुसार यो अवस्था लम्बिए तेलको भाउ ९० डलरसम्म पुग्न सक्छ। केहीले १०० डलर नाघ्ने सम्भावनासमेत औंल्याएका छन् । होर्मुज मार्ग पूर्ण रूपमा बन्द भए दैनिक ८ देखि १० मिलियन ब्यारेल तेल आपूर्ति घट्न सक्ने चेतावनी दिइएको छ । यसको असर ग्यास बजारमा पनि पर्ने देखिएको छ। कतार तरल प्राकृतिक ग्यासको ठूलो निर्यातकर्ता भएकाले ग्यासको भाउ पनि बढ्ने अनुमान छ । ऊर्जा मूल्य चर्किँदा यातायात खर्च, इन्धन मूल्य र दैनिक उपभोग्य वस्तुको भाउ बढ्न सक्ने भएकाले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने अर्थविद्हरूको भनाइ छ । यदि संकट छोटो समयमै टुंगियो भने असर सीमित हुने, तर लामो समय जारी रहे आर्थिक मन्दीको जोखिम बढ्ने उनीहरूले चेतावनी दिएका छन् ।
१८- इजरायल, अमेरिका र इरानबीच सुरु भएको युद्ध आज तेस्रो दिनमा पुगेको छ । अहिलेसम्म इरानका करिब एक हजार स्थानमा आक्रमण भइसकेको छ । इजरायली सेनाले दिएको जानकारीअनुसार पहिलो ३० घण्टामै दुई हजारभन्दा बढी बम खसालिएका छन् । यस अवधिमा लडाकु विमानहरूले सात सयभन्दा बढी उडान भरेका थिए । इरानले पनि जवाफी कारबाही स्वरूप इजरायलसहित नौ देशमा रहेका अमेरिकी सैन्य अड्डामाथि हमला गरेको जनाएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आउने दिनमा तेहरानमाथिको आक्रमण अझ कडा बनाइने चेतावनी दिएका छन् ।
आइतबार इरानले गरेको आक्रमणमा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कारबाही जारी रहने बताएका छन् । उनका अनुसार ती सैनिकको मृत्युको बदला नलिएसम्म आक्रमण रोकिने छैन । शनिबार सुरु भएको यो युद्धको पहिलो दिनमै इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनेईको मृत्यु भएको छ । ती आक्रमणमा ४८ जना इरानी उच्च अधिकारी पनि मारिएको खबर छ । अहिले इरानमा सत्ता सम्हाल्न तीन सदस्यीय अस्थायी समिति बनाइएको छ । यसमा राष्ट्रपति मसूद पजश्कियान, न्यायपालिकाका प्रमुख गुलाम हुसेन मोहसेनी एजेही र धर्मगुरु अलीरेजा अराफी रहेका छन् । इजरायल र अमेरिकाले इरानको राजधानी तेहरानसहित दस ठूला सहरलाई निशाना बनाएको जनाइएको छ।
अहिलेसम्म दुई सयभन्दा बढी मानिसको मृत्यु भएको छ भने सात सय चालीसभन्दा बढी घाइते भएका छन् । एउटा विद्यालयमा मिसाइल खस्दा एक सय ८० छात्राको ज्यान गएको र ४५ जना घाइते भएको खबर छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले एक-दुई दिनभित्र नयाँ सर्वोच्च नेता चयन हुन सक्ने बताएका छन् । इरानको सरकारी सञ्चारमाध्यम फार्सका अनुसार खामेनेईका छोरा मुजतबा खामेनेई सम्भावित दाबेदारका रूपमा अघि आउन सक्छन् । उनलाई पछिल्ला दुई वर्षदेखि उत्तराधिकारी बनाउने तयारी भइरहेको चर्चा छ । केही रिपोर्टअनुसार विशेषज्ञ सभाले सन् २०२४ सेप्टेम्बरमै गोप्य रूपमा नयाँ नेताको छनोट गरिसकेको दाबी पनि गरिएको छ । उता इरानले जवाफी कारबाहीमा इजरायलसहित मध्यपूर्वका नौ देशमा ड्रोन र मिसाइल प्रहार गरेको जनाएको छ । उसले कतार, कुवेत, जोर्डन, बहराइन, साउदी अरब र संयुक्त अरब इमिरेट्समा रहेका अमेरिकी अड्डालाई निशाना बनाएको दाबी गरेको छ । संयुक्त अरब इमिरेट्सको दुबई सहरमा पाम जुमेराह क्षेत्र र बुर्ज खलिफा नजिक ड्रोन हमला भएको बताइएको छ । क्षेत्रीय तनाव बढ्दै जाँदा अन्तर्राष्ट्रिय समुदायले गम्भीर चिन्ता व्यक्त गर्न थालेका छन् ।
१९- कृत्रिम बुद्धिमत्ता क्षेत्रमा ठूलो विकासका रूपमा प्रविधि कम्पनी ओपनएआईले ११० अर्ब अमेरिकी डलर बराबरको लगानी जुटाएको घोषणा गरेको छ । कम्पनीका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत स्याम अल्टम्यानका अनुसार अमेजन, एनभिडिया र सफ्टबैंकले संयुक्त रूपमा उक्त लगानी गर्ने प्रतिबद्धता जनाएका हुन् । घोषणाअनुसार अमेजनले ५० अर्ब डलर, एनभिडियाले ३० अर्ब डलर र सफ्टबैंकले ३० अर्ब डलर लगानी गर्नेछन् । यस लगानीपछि ओपनएआईको कम्पनी मूल्यांकन करिब ७३० अर्ब डलर पुगेको बताइएको छ, जसले यसलाई विश्वकै सबैभन्दा मूल्यवान प्रविधि कम्पनीहरूमध्ये एक बनाएको छ ।
अमेजनले सुरुवाती चरणमा १५ अर्ब डलर लगानी गर्नेछ भने बाँकी रकम चरणबद्ध रूपमा थपिनेछ । दीर्घकालीन सहकार्यअन्तर्गत अमेजनको क्लाउड सेवा प्रणालीले उन्नत कृत्रिम बुद्धिमत्ता विकास र वितरणमा मुख्य भूमिका खेल्नेछ । साथै अमेजनका विभिन्न सेवाका लागि विशेष कृत्रिम बुद्धिमत्ता मोडेलसमेत विकास गरिने जनाइएको छ । एनभिडिया पहिले नै कृत्रिम बुद्धिमत्ता चिप र उच्च क्षमताका ग्राफिक्स प्रविधिमा अग्रणी कम्पनी मानिन्छ । ओपनएआईसँगको सहकार्य विस्तार भएपछि शक्तिशाली एआई मोडेल प्रशिक्षण, डाटा केन्द्र विस्तार तथा नयाँ पुस्ताका प्रणाली विकासमा गति आउने अपेक्षा गरिएको छ ।
यसबीच ओपनएआईले माइक्रोसफ्टसँगको पुरानो सहकार्य यथावत रहने स्पष्ट पारेको छ । नयाँ लगानी आए पनि हालको साझेदारीमा कुनै परिवर्तन नहुने कम्पनीले जनाएको छ । स्याम अल्टम्यानका अनुसार कृत्रिम बुद्धिमत्ता अब अनुसन्धानको चरण पार गर्दै दैनिक प्रयोगको चरणमा प्रवेश गरिसकेको छ । आगामी प्रतिस्पर्धा ती कम्पनीबीच हुने बताइएको छ, जसले छिटो पूर्वाधार विस्तार गर्दै सुरक्षित र उपयोगी एआई सेवा विकास गर्न सक्नेछन् ।
२०- जारी टी-२० विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । विश्वकपका सुपर आठका खेलहरु सकिएसँगै दक्षिण अफ्रिका, न्यूजील्याण्ड, इङल्याण्ड र भारत सेमिफाइनलमा पुगेका हुन् । अब विश्वकपका सेमिफाइनलका खेल आगामी बुधबार र विहिबार हुदैछन् । बुधबार पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिका र न्यूजील्याण्डले प्रतिष्पर्धा गर्ने छन् । यो खेल भारतको कोलकोतास्थित इडेन गार्डेनमा नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुनेछ । त्यस्तै दोस्रो सेमिफाइनल खेल विहिबार इङल्याण्ड र भारतबीच भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुने छ । दुवै सेमिफाइनलमा रिजर्भ डे राखिएको छ । जारी विश्वकपको फाइनल खेल भने आगामी आइतबार भारतको अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने तालिका छ ।
FACEBOOK COMMENTS