काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सिहंदरबमा भोली हुने निर्वाचनको सुरक्षा चुनौती, तयारी बारे छलफल भएको बताइएको छ । राष्ट्रिय सुरक्षा परिषदका सदस्य सचिव एवं रक्षा सचिव केदारनाथ शर्माका अनुसार फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा व्यबस्थाको समिक्षा गर्दै निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारीहरु पूरा भएको तथा प्रतिनिधि सभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रृटिरहित ढंगबाट सम्पन्न गर्ने बिषयमा छलफल भएको छ ।
साथै बैठकमा, राष्ट्रिय सुरक्षामा आउन सक्ने विविध चुनौतीहरु तथा राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा देखा परेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव तथा चुनौतीहरु र अपनाउनु पर्ने भावी रणनीतिहरुको सम्बन्धमा समेत छलफल गरी मुलुकमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सम्बन्धित सुरक्षा निकायहरुलाई थप प्रभावकारी र समन्वयात्मक रुपमा परिचालन गर्ने समेत छलफल भएको शर्माले जानकारी दिएका छन् । बैठक परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा अर्थमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री (आमन्त्रित सदस्य ), मुख्य सचिव, प्रधानसेनापतिलगायतको उपस्थितिमा सम्पन्न भएको छ ।
२- गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा रहेको निर्वाचन व्यवस्थापन सूचना प्रणाली (इलेक्सन म्यानेजमेन्ट इनफरमेसन सिस्टम) को निरीक्षण गरेका छन् । गृहमन्त्री अर्याल, गृह सचिव राजकुमार श्रेष्ठ, मन्त्रालयका उच्चअधिकारीसहितको टोलीले निर्वाचन सम्बन्धी सूचना प्रणालीको निरीक्षण गरेको हो । सो प्रणालीमार्फत जनशक्ति पालिकास्तरसम्म कसरी परिचालन भएको छ, निर्वाचनमा खटिएका सबैको जानकारी प्राप्त गर्न सकिनेछ ।
यसले घटना र निर्वाचन विरोधी गतिविधिलाई नियमन गर्न सहज हुने जनाइएको छ । प्रहरी जनशक्ति, निर्वाचन प्रहरी जनशक्ति, मतदान स्थल र मतपेटिकाको अवस्था, मतगणना उम्मेदवारी विवरण र मतदाताको विवरण लिन सकिन्छ । मतदान स्थल र मतपेटिकाको अवस्थाको स्थलगत र संख्यात्मक अवस्थाबारे जानकारी लिइनेछ । निर्वाचनको हरेक गतिविधिको मनिटरिङ गर्नका लागि इलेक्सन म्यानेज्मेन्ट सिस्टम सफ्टवेरको विकास गरिएको हो । प्रहरी महानिरीषक दानबहादुर कार्कीको अध्यक्षता तथा गृहमन्त्रीको प्रमुख आतिथ्यतामा सुरक्षा निकायका सबै प्रमुखहरु, गृहमन्त्रालयका कर्मचारी र सुरक्षाकर्मीको उपस्थितिमा प्रहरी महानिरीक्षक कार्कीले सूचना प्रणालीबारे जानकारी दिएका थिए ।

उनका अनुसार मतदान स्थलमा मतपेटिका पुगेनपुगे, मतदान प्रत्रृया सुरु भएनभएको तथा मतदान रोकिएकोलगायत मत गणनाको अवस्था देखि बिजयी उम्मेदवार सम्मको विवरण प्राप्त हुनेछ । अनुगमनमा केन्द्रीय सुरक्षा समितिका सबैलगायत मन्त्रालय र सुरक्षाकर्मीको उपस्थिति रहेको थियो । उक्त केन्द्रमा ४१ वटा रियल टाइम भिडियो क्यामेरा जडान गरिएको छ । जसबाट ४१ वटा मतदान केन्द्रमा प्रत्यक्ष अनुगमत गरिन्छ । सो अवसरमा गृहमन्त्री अर्यालले प्रविधि र यसको व्यवस्थापनमा ठूलो फड्को मारेको आभास भएको बताउनुभयो । यो प्रणालीले निर्वाचनलाई महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । गृहमन्त्री अर्यालले प्रविधिमा सबै अपडेट हुन आग्रह गर्दै आगामी दिनमा सूचना प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए । उक्त सूचना प्रणाली मार्फत निर्वाचन सम्बन्धी नियमित गतिविधि, जनशक्ति परिचालनको जानकारी लिन सकिन्छ ।

३- प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि राजनीतिक दलका मुख्य नेता र विशिष्ट व्यक्तिहरुले कुन कुन स्थानबाट मतदान गर्दैछन भन्ने चासो रहेको छ । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्रबाट मतदान गर्ने छिन् । त्यस्तै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले चितवनको भरतपुर महानगरपालिका- १४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । पूर्वराष्ट्रपति रामवरण यादवले धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीस्थित विपी कोइराला मावि मतदान केन्द्रमा मतदान गर्ने नाम रहेको छ भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-२ भङ्गाल मतदान केन्द्रमा मतदानको नाम रहेको छ ।

त्यस्तै सर्लाही-४ बाट उम्मेदवार बनेका नेपाली कांग्रेस सभापति गगनकुमार थापाले भने काठमाडौँको मैतीदेवी मयुर कुण्ड मतदान केन्द्रमा नाम रहेको छ । त्यस्तै चितवन-२ बाट उम्मेदवार बनेका रास्वपाका सभापति रवि लामिछाने मतदान गर्ने नाम भने काठमाडौँको चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेडको महाँकाल मतदान केन्द्रमा रहेको छ । त्यस्तै झापा-५ बाट उम्मेदवार बनेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको मतदान गर्ने नाम काठमाडौँ महानगरपालिका- ९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय केन्द्रमा रहेको छ । त्यस्तै हाल सिंगापुरमा रहेको नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको मतदान केन्द्र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम मावि रुवाखोलामा रहेको छ । देउवा यस निर्वाचनमा उम्मेदवार बनेका छैनन् ।

त्यस्तै झापा- ५ बाट उम्मेदवार बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मतदान गर्ने नाम भने भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा रहेको छ । यस्तै रुकुम पुर्वबाट उम्मेदवार बनेका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको मतदान गर्ने नाम भने चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रमा रहेको छ । त्यस्तै नेकपाका सहसंयोजक माधवकुमार नेपालले रौतहटको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रमा नाम रहेको छ । नेपाल रौतहट-१ बाट उम्मेदवार पनि रहेका छन् । त्यस्तै नेकपा वरिष्ठ नेता झलनाथ खनालको इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रको मतदानस्थलमा नामावली रहेको छ ।

त्यस्तै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा-२ अन्तर्गत पालुङटार नगरपालिकाको खोप्लाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा नाम रहेको छ । डा. भट्टराईले यस क्षेत्रबाट आफ्नो उम्मेदवारी दर्ता गराएपनि पछि फिर्ता लिएका थिए । त्यसैगरी मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडौँको पुरानो बानेश्वरस्थित सानो गौचरण पार्क मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । त्यस्तै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काठमाडौँको अनामनगरस्थित मिलन विद्या मन्दिर मतदान केन्द्रमा मतदान गर्ने भएका छन् भने निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले लमजुङको सुन्दरबजार नगरपालिका–२ स्थित महेन्द्र मावि परेवाडाँडा र आयुक्त सगुन शम्शेर जबराले टोखा नगरपालिका–४ फैमाचुली धपासी निमावी मतदान केन्द्रबाट मतदान गर्ने भयेअका छन् । त्यस्तै मुख्यसचिव सुमनराज अर्यालले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ लर्डलाइट एकेडेमी मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् ।
त्यसैगरी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मोरङको विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पसको विज्ञान भवन मतदान केन्द्रमा मतदान गर्ने छन् । यादव सप्तरी-३ बाट उम्मेदवार रहेका छन् । त्यसैगरी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको हल्दिबारी गाउँपालिका–१ स्थित वडा कार्यालयमा मतदान गर्ने छन् । उनी झापा-३ बाट उम्मेदवार रहेका छन् । त्यस्तै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँ महानगरपालिका–६ महाँकालस्थित जनकल्याण मावि मतदान केन्द्रबाट मतदान गर्ने छन् । उनी काठमाडौँ-३ बाट उम्मेदवार रहेका छन् । त्यसैगरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुनसरीको धरान उपमहानगरपालिका–१८ कार्मेल विद्यालय बुद्धचोक मतदान केन्द्रबाट मतदान गर्ने छन् । उनी सुनसरी-१ बाट उम्मेदवार बनेका छन् । त्यस्तै कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले झापाको मेचीनगर–९ स्थित कविशिरोमणि मावि मतदान केन्द्रबाट मतदान गर्ने छन् । शर्मा यस निर्वाचनमा उम्मेदवार बनेका छैनन् । त्यस्तै एमाले वरिष्ठ नेता ईश्वर पोखरेलले टोखा नगरपालिका–६ कार्यालयस्थित धापासी मतदान केन्द्रबाट मतदान गर्ने छन् । उनी काठमाडौँ-५ बाट उम्मेदवार बनेका छन् ।
४- राष्ट्रपति रामचन्द पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । बुधबार शीतलनिवासमा भएको भेटवार्तामा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई भोली देखि हुने निर्वाचनको तयारी र देशको समसामयिक अवस्थाका विषयमा जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । निर्वाचन आयोगले भोली हुने निर्वाचनको सबै तयारी पुरा भएको जानकारी दिएको छ ।
५- इरानका दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनीको अन्तिम विदाईको कार्यक्रम स्थगित भएको छ । राजधानी तेहरानमा बुधबार राति आयोजना हुने भनिएको समारोहलाई आयोजनासँग सम्बन्धित व्यवस्थापनमा समस्या देखिएको कारण स्थगित गरिएको तस्नीम समाचार संस्थाले जनाएको छ । प्रारम्भमा यो कार्यक्रम बुधबार राति १० बजे सुरु हुने तय भएको थियो र देशका विभिन्न प्रान्तबाट ठूलो संख्यामा सहभागी हुने अपेक्षा गरिएको थियो । एक अधिकारीका अनुसार, धेरै प्रान्तबाट आउने सहभागीका कारण व्यवस्थापनमा चुनौती देखिएपछि समारोह स्थगित गरिएको हो । समारोहको नयाँ मिति पछि सार्वजनिक गरिने बताइएको छ । गत शनिबार आफ्नै निवासमा देशका उच्च अधिकारीहरुको बैठक गरिरहेका बेला अमेरिका र इजरायलले गरेको आक्रमणमा परेर खामेनीसहित ४० भन्दा बढी उच्च अधिकारीको मृत्यु भएको थियो ।
६- युएईको रक्षा मन्त्रालयले हवाई सुरक्षा प्रणालीले आज तीन वटा ब्यालेस्टिक मिसाइलहरू रोक्न सफल भएको छ भने १२९ वटा ड्रोनमध्ये १२१ वटा ड्रोनलाई मार्फत नष्ट गरेको र ८ वटा ड्रोन युएईको भूभागमा खसेको जानकारी दिएको छ । मन्त्रालयका अनुसार, इरानी आक्रमण सुरु भएयता युएईतर्फ प्रहार गरिएका १८९ वटा ब्यालेस्टिक मिसाइलमध्ये १७५ वटा मिसाइल नष्ट भएका छन् । यसमा १३ मिसाइल समुद्रमा खस्दा १ मिसाइल युएईको भूभागमा खसेको छ । त्यस्तै, ९४१ वटा इरानी ड्रोनमध्ये ८७६ वटा ड्रोन नष्ट भए भने ६५ वटा ड्रोन युएईको भूभागमा खसेका छन् ।
यसका अतिरिक्त ८ वटा क्रुज मिसाइल नष्ट गर्दा केही आवासीय सम्पत्तिमा सामान्य क्षति भएको र पाकिस्तान, नेपाल, र बंगलादेशका एक एक नागरिकको मृत्यु भएको छ । ७८ जनामा सामान्य घाइतेको विवरण पनि मन्त्रालयले दिएको छ । मन्त्रालयले देशभर सुनिएका आवाज हवाई सुरक्षा प्रणालीद्वारा मिसाइल रोक्ने र ड्रोन तथा क्रुज मिसाइल नियन्त्रण गर्ने क्रममा उत्पन्न भएको बताउदै, जसले केही आवासीय सम्पत्तिमा सामान्यदेखि मध्यम स्तरको क्षति पुऱ्याएको उल्लेख गरेको छ । मन्त्रालयले यो सैन्य आक्रमणलाई राष्ट्रिय सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन मान्दै कडा निन्दा गरेको छ । यसले युएईलाई आफ्नो भूभाग, जनसाधारण र बासिन्दाको सुरक्षा सुनिश्चित गर्न आवश्यक सबै कदम चाल्ने पूर्ण अधिकार सुरक्षित रहेको जनाएको छ । मन्त्रालयले नागरिक, बासिन्दा र आगन्तुकको सुरक्षा सर्वोच्च प्राथमिकता भएको र यसमा कुनै सम्झौता नहुने स्पष्ट पारेको छ । साथै, जनतालाई आधिकारिक स्रोतबाट मात्र जानकारी लिन र अफवाह तथा अविश्वसनीय सूचना फैलाउन नगर्न आग्रह गरिएको छ ।
७- नेपाली सेनाले सम्बन्धित भन्दै फैलाइएका असान्दर्भिक, अतिरञ्जित वा भ्रामक सूचनामा विश्वास नगर्न र नगराउन आम जनसमुदायमा हार्दिक अपिल गरिएको छ । सेनाले आफ्नो गैर-राजनीतिक भूमिका कायम राख्दै संविधान र अन्य जिम्मेवारीहरू सदैव कुशलतापूर्वक निर्वाह गर्दै आएको जनाएको छ । सेनाले आउँदै गरेको प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजनाअनुसार सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गर्दै सुरक्षाका कार्यहरू गरिरहेको स्पष्ट गरेको छ ।
८- मौन अवधिको अवज्ञा गरेको आरोपमा टिकटकर तथा युट्युबर रतन कार्कीलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । मौन अवधिमा उम्मेदवारको प्रचार गरेर भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनले मौन अवधिमा विभिन्न राजनीतिक दलका उम्मेदवारसँगको भिडियो पोष्ट गरेको उजुरी परेको थियो ।
९- निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा उत्साहपूर्वक सहभागी भई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय निर्वाचन सम्पन्न गर्ने संवैधानिक दायित्वअनुसार आयोग पूर्ण रूपमा क्रियाशील रहेको जानकारी दिएका छन् । आयोगका अनुसार यही फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर मतदान हुनेछ । मतदानका लागि आवश्यक मतपत्र, मतपेटिका तथा अन्य सामग्री सबै मतदान केन्द्रमा पुर्याइसकिएको छ ।
मतदान केन्द्र निर्माण, व्यवस्थापन, पहुँचको व्यवस्था, लैंगिक तथा अपाङ्गमैत्री संरचना र कर्मचारी परिचालनसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । मतदाताले निर्धक्क रूपमा आफूले चाहेको उम्मेदवार र राजनीतिक दललाई मत दिन सक्ने गरी शान्ति सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएको आयोगले जनाएको छ । यसैबीच तयारीका क्रममा केही दुखद घटना पनि भएका छन् । रामेछापमा मतदान केन्द्रतर्फ जाँदै गर्दा भएको सवारी दुर्घटनामा सुरक्षाकर्मी र मतदान अधिकृतको निधन भएको छ। त्यसैगरी सर्लाही, मुस्ताङ र कञ्चनपुरमा कार्यक्षेत्रमै खटिएका कर्मचारी तथा सुरक्षाकर्मीको ज्यान गएको आयोगले जनाएको छ । आयोगले दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । आयोगले निर्वाचन केवल प्रतिनिधि चयन गर्ने प्रक्रिया मात्र नभई लोकतन्त्रको वैधता नवीकरण गर्ने संवैधानिक अभ्यास भएको उल्लेख गरेको छ । लोकतन्त्र सुदृढ बनाउन मतदान नागरिकको अधिकार र दायित्व दुवै भएको जनाउँदै आयोगले सबै मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन अपिल गरेको छ ।
१०- आइसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत नेपाल, ओमान र यूएईबीच हुने सिरिज स्थगित भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मध्यपूर्वमा भएको तनावका कारण फागुन २६ गतेदेखि चैत्र ६ गतेसम्म टियू क्रिकेट मैदानमा हुने सिरिज अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी दिएको छ । क्यानले सिरिजको अर्को मिति पछि सार्बजनिक गरिने बताएको छ । यस सिरिजमा तिनै देशले एक आपसमा २-२ खेल खेल्ने तालिका रहेको थियो । हाल नेपाल आइसीसी विश्व क्रिकेट लिग-२ मा २० खेलमा ५ जित १३ हजार र २ खेल रद्ध हुदा १२ अंकसहित स्थानमा स्थानमा रहेको छ । त्यस्तै ओमानको २० खेलमा २४ अंक रहेको छ र चौथो स्थानमा छ भने युएईको २० खेलमा १० अंकसहित पुछारमा रहेको छ ।
११-इजरायलले केही समयदेखि नै इरानका सर्वोच्च नेतालाई जहाँ लुकेका भए पनि निशाना बनाउने चेतावनी दिँदै आएको थियो । अहिले खामेनीलाई आक्रमण गरेपछि उनको स्थानमा आउने व्यक्तिलाई समेत लक्षित गर्ने बताएको छ । इजरायली रक्षा मन्त्री इजरेल काट्जले खामेनीको स्थान लिने जो कोहीलाई पनि निशाना बनाउने चेतावनी दिएका छन् । उनले भनेका छन्- ‘इरानी आतंकवादी शासनद्वारा नियुक्त कुनै पनि नेता निर्मूलनको लागि स्पष्ट लक्ष्य हुनेछ, प्रधानमन्त्री र मैले सेनालाई अपरेशन ‘लायन्स रोअर’ को उद्देश्यको अभिन्न अंगको रूपमा मिसन पूरा गर्न आवश्यक सबै तरिकाले तयारी गर्न र कार्य गर्न निर्देशन दिएका छौं ।’
विश्लेषकहरूका अनुसार खमेनीको हत्या सैन्य कारबाहीका हिसाबले मात्र होइन, त्यसअघि गरिएको गोप्य सूचनाको तयारीका कारण पनि ठूलो सफलता मानिएको छ । यसअघि गाजामा हमास नेतृत्वलाई खोजी खोजी निशाना बनाउने रणनीति अपनाइएको थियो । लेबनानमा पनि यस्तै कदम चालिएको उदाहरण देखिएको छ । विश्लेषकहरूका अनुसार धम्की दिने र आवश्यक परे कार्यान्वयन गर्ने नीति इजरायलको रणनीतिक अभ्यासको एक हिस्सा बनेको छ ।
१२- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँग सबै व्यापारिक सम्बन्ध तोड्न सक्ने चेतावनी दिएका छन् । स्पेनले इरानमा भइरहेको अमेरिकी सैन्य कारबाहीका लागि आफ्नो सैनिक आधारस्थल प्रयोग गर्न अनुमति नदिएपछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो । राष्ट्रपति भवनमा भएको छलफलका क्रममा ट्रम्पले स्पेनको व्यवहारको कडा आलोचना गर्दै त्यसलाई धेरै खराब बताएका थिए । उनले भने- ‘हामी स्पेनसँग सबै व्यापार बन्द गर्न सक्छौं। हामी स्पेनसँग कुनै सम्बन्ध राख्न चाहँदैनौं ।’ यो निर्णय कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने अझै स्पष्ट छैन । यदि यस्तो कदम चालियो भने युरोपेली सङ्घका सदस्य राष्ट्र स्पेनसँगको व्यापार रोक्न कस्ता प्रक्रिया अपनाइने भन्ने विषय खुल्न बाँकी छ । ट्रम्पको यस अभिव्यक्तिले दुई देशबीचको तनाव अझ बढ्न सक्ने देखिएको छ । स्पेनले यसअघि पनि उत्तर एटलान्टिक सन्धि सङ्गठन अन्तर्गत रक्षा खर्च बढाउनुपर्ने ट्रम्पको मागको विरोध गर्दै आएको छ ।
१३- निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन २०८२ को मतदानको दिन फागुन २१ गते तोकिएका सवारी साधानका लागि आयोगबाट जारी भएको सवारी पास आवश्यक नपर्ने ब्यवस्था गरेको छ । आयोगले सवारीसाधन सञ्चालन सम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमति सम्बन्धी कार्यविधि, २०८२ को दफा ५ को खण्ड ‘त’, दफा ९ र दफा ११ समेतका आधारमा सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने गरी निम्म सवारीसाधनहरूलाई पास आवश्यक नपर्ने व्यवस्था मिलाएको छ ।
जस अनुसार, (क) दमकल, एम्बुलेन्स, शववाहन । (ख) खानेपानीका, दुध, फलफूल, तरकारी, माछा, मासु, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन । (ग) दूरसञ्चार सेवा, खानेपानी, विद्युत, ढल मर्मतका लागि प्रयोग हुने सवारीसाधन । (घ) अस्पताल सेवाका सवारीसाधनहरू (अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म आवतजावत गर्न) । (ङ) अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका सवारीसाधन (विमानस्थलदेखि घर वा होटलसम्म र घर वा होटलदेखि विमानस्थलसम्म) । (च) हिँडडुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री, शारीरिक रूपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक मतदाता र निजका एक जना सहयोगी बोकेका सवारीसाधन ।
(छ) नम्बर प्लेटमा ‘सिडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधन । (ज) आयोगबाट जारी भएका पर्यवेक्षक परिचयपत्रवाहक पर्यवेक्षणकर्ताले प्रयोग गर्ने सवारीसाधन (परिचयपत्रमा उल्लिखित स्थानमा मात्र), राष्ट्रिय मानव अधिकार आयोगबाट अनुगमनरपर्यवेक्षणका लागि प्रयोग गर्ने सवारीसाधन र प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन । साथै, निर्वाचन आयोग, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रतिनिधि रहेको एकीकृत सवारीसाधन आवागमन डेस्क निर्वाचन आयोग परिसरमा स्थापना भई जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरबाट जारी हुनुपर्ने सवारी पास समेत सोही डेस्कबाट जारी भइरहेको व्यहोरा आयोगले जानकारी गराएको छ ।
१४- आबुधाबीस्थित नेपाली राजदूतावासले हाल संयुक्त अरब इमिरेट्समा विभिन्न कारणले रोकिएका नेपाली नागरिकलाई विवरण उपलब्ध गराउन आग्रह गरेको छ । राजदूतावासका अनुसार नेपाल फर्कने वा तेस्रो मुलुक जाने क्रममा वर्तमान परिस्थितिका कारण इमिरेट्समै रोकिएका तथा कम्पनीको भिसा रद्द भई नेपाल फर्कन असहज अवस्थामा परेका नेपालीलाई कन्सुलर सेवा विभाग, काठमाडौँको पोर्टलमा नाम दर्ता गर्न यसअघि नै जानकारी गराइएको थियो । यसै क्रममा पर्यटक, भ्रमण वा पारगमन भिसामा रहेका, भिसा अवधि सकिएका तथा तत्काल नेपाल फर्कन चाहने विद्यार्थीलाई यथाशीघ्र अनलाइन फाराममार्फत आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ । राजदूतावासले सम्बन्धित सबैलाई समयमै विवरण बुझाई आवश्यक सहयोगका लागि पहल गर्न आग्रह गरेको छ । दुताबासले यो लिङ्क https://forms.gle/TGTTepHBTnojeAu17 मार्फत विवरण उपलब्ध गराइदिनु हुन अनुरोध गरेको छ ।
१५- प्रतिनिधि सभा निर्वाचन २०८२ मा देशभर ७०० जना राष्ट्रिय पर्यवेक्षक परिचालन गरिएको छ । निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल) ले विगतका निर्वाचनको अनुभवअनुसार यस पटक पनि दीर्घकालीन र अल्पकालीन पर्यवेक्षण जारी राखेको जनाएको छ । यस पटकको निर्वाचनमा सामाजिक सञ्जालको व्यापक प्रयोग भएकाले, इओसी नेपालले डिजिटल माध्यमबाट आचारसंहिता उल्लङ्घनको सूक्ष्म निगरानीका लागि केन्द्रिय कार्यालयमा विशेष प्राविधिक टोली स्थापना गरेको छ । यस टोलीले विभिन्न सामाजिक सञ्जाल तथा डिजिटल माध्यममा देखिएका उल्लङ्घनका घटनाहरूको दर्ता, अध्ययन र निगरानी गरिरहेको छ ।
सार्वजनिक जानकारीका लागि इओसी नेपालले ‘इलेक्सन वाच २०८२’ नामक विशेष वेभपेज सञ्चालनमा ल्याएको छ । यसमार्फत माघ १८ गतेदेखि सामाजिक सञ्जाल र अन्य डिजिटल माध्यममा देखिएका आचारसंहिता उल्लङ्घनका घटनाहरू अद्यावधिक गरिँदै आएको छ। नागरिकहरूले उल्लङ्घनको विवरण https://watch.eocnepal.org.np मा गएर हेर्न सक्ने व्यवस्था गरिएको जनाएको छ ।
गएको राति १२ बजेदेखि सुरु भएको मौन अवधि बाबजुद पनि डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार, उम्मेदवार वा दलको पक्षमा मत प्रभावित गर्ने सामग्री तथा भ्रामक सन्देशहरू निरन्तर प्रसारित भइरहेको छ। इओसी नेपालले निर्वाचन आयोग, नेपाल सरकारसँग आचारसंहिता विपरित गतिविधि रोक्न, निर्वाचन प्रक्रिया कडाइका साथ निगरानी गर्ने, र सुरक्षा व्यवस्थापन चुस्त बनाउने आग्रह गरेको छ। साथै, सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, समर्थक र आम नागरिकलाई आचारसंहिताको पूर्ण पालना गरी स्वतन्त्र, स्वच्छ, विश्वसनीय र धाँधलीरहित निर्वाचन सम्पन्न गराउन सहयोग गर्न हार्दिक अपिल गरेको छ ।
१६- पर्सा- २ का नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनोज चौधरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनलाई पर्सागढी नगरपालिका–बढनिहार क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । पर्सा प्रहरीक उम्मेदवार चौधरी सवार बा १० च १२५० नम्बरको गाडीमा शंकास्पद वस्तु भेटिएको बताएको छ । जाँचका क्रममा ‘होक्सी बम’ फेला परेको र नेपाली सेनामार्फत उक्त वस्तु डिस्पोज गराइसकिएको उनले जानकारी दिए । चौधरीसहित गाडीमा सवार अन्य तीन जनालाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा प्रसौनीका २६ बर्षिय आलम अन्सारी, धनुषाधामका ३० बर्षिय सुरज कार्की र पर्सागढ़ीका ६८ बर्षिय सत्यनारायण थारु रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चौधरीमाथि निर्वाचन ऐन २०७३, मुलुकी फौजदारी संहिता अन्तर्गत विस्फोटक पदार्थसम्बन्धी कसुर तथा सार्वजनिक शान्तिविरुद्धको कसुरसहित तीन मुद्दामा अनुसन्धान अघि बढाइएको छ । सो घटनापछि निर्वाचन सुरक्षालाई लिएर पर्सा जिल्लामा सतर्कता थप कडा पारिएको प्रहरीले जानकारी दिएको छ ।
१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ११ हजारले घटेर तोलाको ३ लाख १७ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख २८ हजार ६ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २७५ रुपैयाँले घटेर तोलाको ५५४० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५८१५ मा कारोबार भएको थियो ।
१८- रूस र चीनले इरानमा अमेरिकी-इजरायली आक्रमणको कडा आलोचना गरेका छन् । मोस्कोले तेहरानले परमाणु हतियार विकास गरिरहेको कुनै प्रमाण नभएको बताएको छ भने बेइजिङले संयुक्त आक्रमण तत्काल रोकिनुपर्ने माग गरेको छ । चीनका परराष्ट्रमन्त्री वाङ यीले मंगलबार इजरायली समकक्षी गिडीयोन सारलाई फोनमार्फत कुरा गर्दै अमेरिकी र तेहरानबीच भइरहेको वार्ता पर्याप्त प्रगति गरिरहेको बेला आक्रमण भएको बताएका थिए । वाङले भने- ‘चीनले ईरानमाथि इजरायल र अमेरिकाद्वारा गरिएको कुनै पनि सैन्य आक्रमणको विरोध गर्दछ ।
युद्धले समस्या समाधान हुँदैन, बरु नयाँ समस्या र दीर्घकालीन नकारात्मक परिणाम ल्याउछ ।’ उनले इजरानमा रहेका चिनियाँ नागरिक र संस्थाको सुरक्षाका लागि तत्काल ठोस कदम चाल्न सारलाई आग्रह गरेका थिए । त्यस्तै, रुसका परराष्ट्र मन्त्री सेर्गेई लावरोभले पनि अमेरिकाको इजरानमाथिको युद्धको आलोचना गर्दै यसले परमाणु हतियार विस्तार रोक्ने लक्ष्य विपरीत परिणाम निम्त्याउन सक्ने चेतावनी दिएका छन् । उनले भनेका छन्- ‘अमेरिका र इजरायलको कदमको परिणाम स्वरूप ईरानमा त्यस्ता शक्तिहरू उत्पन्न हुन सक्छन्, जसले परमाणु हतियार बनाउन सक्छन् । किनकि अमेरिका तिनैमाथि आक्रमण गर्दैन जससँग पहिल्यै परमाणु हतियार हुन्छ ।’
उनले हालका घटनाबाट अरबी देशहरू पनि परमाणु हतियार प्रतिस्पर्धामा सामेल हुन सक्ने बताउदै यसले परमाणु विस्तार नियन्त्रण बाहिर जान सक्ने चिन्ता व्यक्त गरेका छन् । लावरोभले इरानसँगको वार्ता र कूटनीतिक समाधानमा रूस तयार रहेको पनि उल्लेख गरेका छन् । यसअघि शनिबार अमेरिकाले इरानमाथि पहिलो आक्रमण गरेपछि रूसको परराष्ट्र मन्त्रालयले यसलाई ‘सत्यापित र अनावश्यक सशस्त्र आक्रमण’ भन्ने टिप्पणी गरेको थियो । चीन र रूसको आलोचनापछि क्षेत्रीय तनावलाई कूटनीतिक माध्यमबाट समाधान गर्न अन्तर्राष्ट्रिय दबाब बढेको छ, तर अमेरिकी-इजरायली कदमले मध्यपूर्वमा स्थिति अझै अस्थिर बनेको घटनाक्रमले देखाएको छ ।
१९- सिरहा- ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव नगद पैसासहित पक्राउ परेका छन् । प्रहरीका अनुसार नेपाल-भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र- २-०२-००१ च ०८७ नम्बरको स्कारपियो गाडी चेकजाँचका क्रममा यादवको गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
२०- इरानमा युद्ध सुरु भएयता एक हजारभन्दा बढी सर्वसाधारणको ज्यान गएको मानव अधिकारवादी संस्थाले जनाएको छ । अमेरिकास्थित मानव अधिकार कार्यकर्ता समाचार संस्था (एचआरएएनए) का अनुसार शनिबारदेखि सुरु भएको युद्धपछि हालसम्म कम्तीमा १ हजार ९७ जना सर्वसाधारण मारिएका छन् । ज्यान गुमाउनेमध्ये १८१ जना बालबालिका रहेका छन् । संस्थाले मंगलबार दिउँसोसम्मको विवरण सार्वजनिक गर्दै ५ हजार ४ सयभन्दा बढी सर्वसाधारण घाइते भएको जनाएको छ । घाइतेमध्ये करिब १०० जना बालबालिका रहेका छन् । एचआरएएनएले सार्वजनिक गरेको तथ्यांक प्रारम्भिक भएको उल्लेख गर्दै थप सयौं मृत्युका घटनाबारे पुष्टि गर्ने काम भइरहेको जनाएको छ ।
FACEBOOK COMMENTS