काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका सभापति गगन थापासहितको टोलीले भेटवार्ता गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको विषयमा छलफल भएको थियो । सभापति थापाले सो अवसरमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई धन्यवाद दिएका थिए । सो भेटमा सभापति थापासहित काँग्रेस उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल सहभागी थिए भने सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल समेत सहभागी थिए ।
२- धनुषा- १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । साहले आफ्नो उम्मेदवारी कायम राख्न माग गर्दै सर्वोच्चमा दायर गरेको रिटमा न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अन्तरिम आदेश अस्वीकार भएसँगै धनुषा-१ बाट नेपाली कम्युनिस्ट पार्टीका मातृका यादवको जित कायम भएको छ ।
निर्वाचन आयोगले यसअघि नै यादवलाई विजयी घोषित गरि प्रमाणपत्र समेत दिइसकेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी विषयमा कर्जा सूचना केन्द्रले किशोरीको नाम कालोसूचीमा राखेको हुँदा निर्वाचन आयोगले फागुन १८ गते किशोरीको उम्मेदवारी खारेज गरेको थियो ।
३- सिके राउत नेतृत्वको जनमत पार्टीले पार्टीको महाधिवेशन मिति सार्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय सचिवालय समितिको बैठकले चैत २० र २१ गतेका लागि तय गरिएको महाधिवेशन २०८३ असोज ९ र १० गते गर्ने निर्णय गरेको महासचिव चन्दन सिंहले जानकारी दिएका छन् ।

बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा क्षेत्रीय तहमा चैत ७ गतेसम्म सम्पन्न गरी लिखित प्रतिवेदन केन्द्रीय सचिवालयमा पठाउने निर्णय पनि गरेको छ । यसैगरी सबै जिल्लामा तदर्थ जिल्ला पदाधिकारी चयन गर्न जिल्ला समन्वय समितिका सदस्यबाट बढीमा सात जनासम्मको टोली चैत १४ गतेभित्र चयन गर्ने निर्णय गरिएको छ ।हालै सम्पन्न निर्वाचनमा जनमत पार्टीले प्रत्यक्षतर्फ कुनै सिट जित्न सकेन भने समानुपातिकतर्फ केवल ७९ हजार ४३५ मत प्राप्त गरेको थियो ।

४- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले समानुपातिकतर्फ ९ जना सिफारिस गरेको छ । नेकपाले ५ पुरूष र ४ महिलाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको हो । जसअनुसार बलावती शर्मा, प्रमेश हमाल, प्रेम बहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बर्बरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौरा रहेका छन् । नेकपाले प्रत्यक्षतर्फ ८ सिट जितेको थियो भने समानुपातिकमा ९ सहित प्रतिनिधि सभामा कुल १७ सांसदसहित प्रतिधित्व गर्ने भएको छ ।

५- सरकारले भदौ २३ र २४ गतेका घटना जाँचबुझ गर्न गठन भएको गौरीबहादुर कार्की आयोगले बुझाएको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ । प्रतिवेदन अध्ययनका लागि मन्त्रिपरिषद् बैठकले प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । उनले मन्त्रिपरिषद्ले यस विषयमा अध्ययन गरेर विस्तृत जानकारी गराइने बताए । त्यस्तै आज बसेको बैठकले रिक्त रहेको राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री अर्यालको नाम राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

६- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलक राम अधिकारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार अधिकारीले एचके इन्टरप्राइजेज प्रालिसम्बन्धी राजस्व चुहावटको छानबिन सहजीकरण गरिदिने नाममा कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठ बिज्यूबाट ७० लाख रुपैयाँ घुस लिएको आरोप छ ।

अनुसन्धानमा उक्त रकम विकास चापागाई, देवेन्द्र केसी र रविन्द्र लामिछानेसहितको मिलेमतोमा विभिन्न बैंक खातामा जम्मा गरी स्वरूप परिवर्तन गरिएको पाइएको आयोगले जनाएको छ । आयोगका अनुसार घुसबाट प्राप्त रकम भक्तपुरको थिमीस्थित दिव्यश्वरी आयोजनाभित्रको जग्गा खरिद गर्न तथा ‘द कुटी रिसोर्ट’ को ऋण भुक्तानी गर्न प्रयोग गरिएको तथ्य पनि अनुसन्धानबाट पुष्टि भएको छ ।
७- इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य हुने स्पष्ट ग्यारेन्टी भएमा वार्ताका लागि तयार रहेको जनाएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले युद्ध अन्त्य हुने सुनिश्चितता दिन सक्ने कुनै पनि त्यस्तो प्रस्ताव वा पहललाई स्वागत गरिने बताएका हुन् । यसैबीच खाडी क्षेत्रका देशहरूले आफ्नो भूभागमा भइरहेका आक्रमण रोक्न इरानसँग माग गरेका छन् ।
ती देशहरूको भनाइमा आक्रमणका कारण अमेरिकी सैनिक चौकी मात्र होइन ऊर्जा संरचना र आवासीय क्षेत्र पनि प्रभावित भएका छन् । तर विदेशमन्त्री अराघचीले इरानले मध्यपूर्व क्षेत्रमा कुनै पनि सर्वसाधारण वा आवासीय स्थानलाई निशाना नबनाएको दाबी गरेका छन् । यदि यस्तो गुनासो आएको खण्डमा छानबिनका लागि छिमेकी देशहरूसँग मिलेर संयुक्त समिति बनाउन इरान तयार रहेको उनले बताएका छन् । उनले दिएको इरान खाडी क्षेत्रका देशहरूसँग निरन्तर सम्पर्कमा रहेको पनि बताएका छन् ।
८- गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले तयार पारेको प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न माग गर्दै काठमाडौंको माइतीघरमा आइतबार जेनजी समूहले प्रदर्शन गरेका छन् । उनीहरूले कार्की नेतृत्वको छानबिन आयोगले तयार पारेको प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न सरकारसँग माग गर्दै प्रदर्शन गरेका हुन् । सरकारले भदौ २३ र २४ गते भएको घटनाको निष्पक्ष छानबिन गर्न आयोग गठन गरेको थियो । उक्त आयोगले फागुन २४ गते आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको छ। सो प्रतिवेदन सार्वजनिक नभएको र कार्यान्वयन पनि नभएको भन्दै जेनजी समूहले सरकारलाई दबाब दिएका हुन् न माइतीघरमा प्रदर्शन गरेका हुन्।
९- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातितर्फका चार सांसदको नाम टुङ्गो लगाएको छ । आज बसेको कार्य सम्पाद समितिको वैठकले समानुपातिकका चार सांसदको नाम टुङ्ग्याएको हो । पार्टी कार्यालयमा बसेको वैठकले खस आर्यतर्फ भरत गिरी, मुस्लिम पुरुषबाट ताहिर अली खस आर्य महिलाबाट खुश्बु ओली र जनजाति महिलाबाट सरस्वती लामालाई समानुपातिक सांसद छानेको हो । समानुपातिकमा ३ लाख ३० हजार ६ सय ८४ मत पाएको राप्रपाले चार सांसद पाएको छ । प्रत्यक्षतर्फ भने राप्रपाले केवल एक सिट मात्र जितेको छ ।
१०- उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचन २०८२ को समीक्षा गर्दै आगामी राजनीतिक कार्यदिशा तय गर्न दुई दिने केन्द्रीय समीक्षा बैठक सम्पन्न गरेको छ । पार्टी अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा फागुन २९ र ३० गते पार्टीको केन्द्रीय कार्यालयमा सम्पन्न बैठकमा केन्द्रीय सदस्य, उम्मेदवार तथा प्रदेश र जिल्ला संयोजकहरूको सहभागिता रहेको थियो । बैठकमा सीमित समय, न्यून स्रोतसाधन र प्रारम्भिक संगठनात्मक अवस्थाका बाबजुद पनि पार्टीले देशभर सम्मानजनक मत प्राप्त गर्न सफल भएको निष्कर्ष निकालिएको छ ।
छलफलमा आगामी दिनमा संगठन विस्तार, सदस्यता वृद्धि, जनसम्पर्क सुदृढीकरण र आगामी प्रदेश तथा स्थानीय तह निर्वाचनको तयारीलाई तीव्र बनाउने निर्णय गरिएको पार्टीले जनाएको छ । भर्खरै सम्पन्न निर्वाचनमा उज्यालो नेपालले प्रत्यक्षतर्फ कुनै सिट जित्न सकेन भने समानुपातिकतर्फ नेपाल परिवर्तन पार्टीको चुनाव चिन्ह बाँसुरीमा मत माग्दै एक लाख ७२ हजार ४८९ मत प्राप्त गरेको थियो ।
११- नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ । आज आइतबार नेप्से ४.४५ अंकले बढेर २८२४. ९० विन्दुमा पुगेर रोकिएको छ । आज ३५० कम्पनिका ३ करोड ९५ लाख ४९ हजार ३३ कित्ता शेयर १४ अर्ब ३२ करोड ९६ लाख ४ हजार ३१५ मा कारोबार भएको थियो । आज होटल्स, लगानीम जीवन बीमा, म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज सोलु हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सालपा विकास बैंकको शेयर ९.९९ प्रतिशतले बढेको छ ।
त्यस्तै होटल फरेस्ट इनको शेयर ९.३३ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी दारम खोला हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ भने खानी खोला हाइड्रोको शेयर ५.१८ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी ग्रीनलाइफ हाइड्रोको ८१ करोड बराबरको कारोबार भएको छ भने रिढी पावरको ६७ करोड ९६ लाख बराबरको कारोबार भएको छ । त्यस्तै नेशनल हाइड्रोको ६२ करोड ५५ लाख कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनिको ५५ करोड १३ लाख बराबरको कारोबार भएको छ ।
१२- चीनले क्षेत्रीय तनाव अन्त्य गर्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ । चीनले ऊर्जा आपूर्ति स्थिर राख्नु सबै देशको साझा जिम्मेवारी भएको पनि जनाएको छ । चिनियाँ दूतावासका अधिकारीहरूले जारी गरेको प्रतिक्रियामा वर्तमान अवस्थालाई थप जटिल बनाउन नहुने र संवादमार्फत समाधान खोजिनु आवश्यक रहेको उल्लेख गरिएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतलाई स्ट्रेट अफ होर्मुज क्षेत्रमा तेल बोक्ने जहाजको सुरक्षाका लागि आफ्ना युद्धपोत पठाउन आग्रह गरेका थिए ।
तर हालसम्म कुनै पनि देशले ट्रम्पको प्रस्तावलाई सार्वजनिक रूपमा स्वीकार गरेको छैन । बेलायतको रक्षा मन्त्रालयका प्रवक्ताले अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै सहयोगी देशहरूसँग मिलेर क्षेत्रका जहाजहरूको सुरक्षा कसरी सुनिश्चित गर्ने भन्ने विषयमा अन्य विकल्पबारे छलफल भइरहेको बताएका छन् । जापानका अधिकारीहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार केवल ट्रम्पको आग्रहका आधारमा जापानले युद्धपोत पठाउने निर्णय नगर्ने बताएका छन्।
उनीहरूले जापानले आफ्ना निर्णय स्वतन्त्र रूपमा गर्ने पनि स्पष्ट पारेका छन् । फ्रान्सले पनि युद्धपोत नपठाउने स्पष्ट संकेत दिएको छ। दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयले भने ट्रम्पको प्रस्तावलाई सावधानीपूर्वक अध्ययन गर्ने र यस विषयमा अमेरिकासँग नजिकबाट सम्पर्कमा रहने जनाएको छ।
१३- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक सांसद छानेको छ । राष्ट्रिय पार्टी बनेको श्रम संस्कृति पार्टीले समानुपातिकमा ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरेपछि चार सांसद पाउने भएको छ । जस अनुसार पार्टीले आदिवासीबाट पूर्ण लिम्बू, खस आर्य महिलाबाट अम्बिका देवी सङ्ग्रौला, दलितबाट राधिका रम्तेल र मधेसीबाट रुबी कुमारी ठाकुरको नाम छ्नौट गरेको हो ।
श्रम संस्कृतिले प्रत्यक्षतर्फ भने ३ सिट जितेको छ । खोटाङ, भोजपुर र सुनसरी १ मा प्रत्यक्ष तर्फ जित हासिल गरेको थियो । पहिलो पटक चुनाव लडेको श्रम संस्कृति पार्टीले प्रतिनिधि सभामा ७ सांसदसहित आफ्नो उपस्थिति जनाएको छ ।
१४- प्रधानमन्त्री सुशिला कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उनका बुबाको निधनप्रति समवेदना दिएकी छन् । प्रधानमन्त्री कार्कीले ओलीको निवास गुण्डुमा भेट गरेर उनका बुबा मोहन प्रसाद ओलीको निधनप्रति समवेदना प्रकट गर्दै दिवंगत बुबाप्रति श्रद्धाञ्जली व्यक्त गरेकी हुन् । ओलीका ९७ बर्षिय बुबा मोहन प्रसाद ओलीको शुक्रबार निधन भएको थियो ।
१५- रास्वपाले समानुपातिक सांसदको नाम सार्वजनिक नगर्ने भएको छ । आज बसेको सचिवालय बैठकले समानुपतिक सांसद छनौट गरेको, आजै आयोगमा बुझाउने र निर्वाचन आयोगले स्वीकृत गरेपछि मात्र आयोगबाट सार्वजनिक हुने प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । रास्वपाले खसआर्यबाट १७ जना, जनजातीबाट १६ जना, मधेशीबाट ९ जना, दलितबाट ८ जना, थारुबाट ४ जना र मुस्लिमबाट ३ जना समानुपातिक सांसद छनौट गरेको छ ।
जसमा ४८ जना महिला र ९ जना पुरुष रहेका छन् । प्रवक्ता झाले बालेन शाहलाई प्रधानमन्त्री बनाउने विषयमा आफुहरु प्रतिबद्ध रहेको बताउदै अन्यथा विश्लेषण नगर्न आग्रह गरेका थिए । स्वास्थ्य अवस्थाका कारण बैठकमा अनुपस्थित पार्टी सभापति रवि लामिछाने भर्चुअल तरिकाबाट जोडिएका थिए । प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ ५७ सिट जितेको छ ।
१६- आर्थिक बर्ष २०८२-८३ को फागुन मसान्तसम्म ८ महिनामा ७ खर्ब ५१ अर्ब ८६ करोड राजश्व संकलन भएको छ । फागुन मसान्तसम्म ८ महिनामा ९ खर्ब १० अर्ब २० करोडको लक्ष्य रहेकोमा ८२. ६० प्रतिशत संकलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै फागुन महिनाको लक्ष्य ९६ अर्ब ५७ करोड रहेकोमा ८२ अर्ब ५३ करोड राजश्व संकलन भएको छ, जुन ८५. ४६ प्रतिशत हो ।
अघिल्लो आर्थिक बर्षमा फागुन महिनामा ७८ अर्ब ७५ करोड राजश्व संकलन भएको थियो । आर्थिक बर्ष २०८२-८३ को कुल राजश्व संकलन लक्ष्य भने १४ खर्ब ८० अर्ब रहेको छ भने ८ महिनामा ७ खर्ब ५१ अर्ब ८६ करोड संकलन भएको छ । अघिल्लो आर्थिक बर्षमा १४ खर्ब १९ अर्ब ३० करोड बार्षिक लक्ष्य रहेकोमा फागुनसम्म ८ खर्ब ६५ अर्ब ५१ करोड राजस्व संकलन भएको थियो ।
१७- हङकङ चाइनाविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको लागि नेपाली राष्ट्रिय फुटबल टिमको प्रारम्भिक टोली छनौट गरिएको छ । मुख्य प्रशिक्षक गुग्लिएल्मो एरिनाले आफ्नो प्रारम्भिक टोलीमा ४९ खेलाडीहरूलाई बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ । नेपाली प्रारम्भिक टिममा अभिषेक लिम्बु, आदित्य शाक्य, अजय चौधरी, अनन्त तामाङ, अञ्जन विष्ट, अरिक विष्ट, अविष्कार खड्का, आयुष घलान, भरत खवास, विशाल सुनार, दीप कर्की, हन्जपेनाङ, हङकङ, दिवाकर चौधरी, जर्ज प्रिन्स कार्की, गिलेस्पे जङ्ग कार्की, किरण चेम्जोङ, किरण सुनार, कृतिश रत्न छुन्जु, कुशल देउवा, लच्छु थापा, लकेन लिम्मन्लम्मा, राई, नवयुग श्रेष्ठ, ओशेन्द्र कटुवाल, पदम भट्टराई, पदम कुमार तामाङ, पेम्बा दोर्जे लामा, प्रदिप बुढाथोकी, प्रदिप लामा, प्रताप सिंह राई, रामबाबु कुमार शा, रोहन कार्की, रोहित चन्द, रोमन भुजेल, सकल रेग्मी, सनिष श्रेष्ठ, सरज तामाङ, शंकर थरु, श्रृजम, शृङ्खला श्रेष्ठ, सुमन श्रेष्ठ, सुरज गुरुङ, योगेश धिमाल, योगेश गुरुङ र युवराज खड्का रहेका छन् । नेपालले मार्च २६ मा दशरथ रंगशालामा हङकङ चाइनाविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।
१८- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको ४८ सयले घटेर तोलाको ३ लाख ९ हजार ४ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख १४ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २२५ रुपैयाँले घटेर ५२७० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५४९५ मा कारोबार भएको थियो ।
१९- नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको पूर्ण संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्ने बेला आएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पाण्डेले जनताले मतपत्रमार्फत दिएको अस्वीकारको सन्देशलाई गम्भीर रूपमा लिन आवश्यक भएको बताउदै अब पार्टीको पूर्ण संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्ने बेला आएको बताएका हुन् । उनले भनेका छन्- ‘नेकपा (एमाले) को पूर्ण संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्ने बेला आइसकेको छ। यस्तो गम्भीर मोडमा पनि सबै ठीक थियो, हामीलाई त फसाइयो भन्ने निष्कर्ष निकाल्नु आफैँलाई धोका दिनु हो ।
मानौँ, कसैले फसायो होला, अन्तर्घात भयो होला – तर अन्तर्घातले ५ – १० हजार मत तल-माथि होला । देखिएको ४०-५० हजारको मतान्तरलाई “फसाइएको” भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हो ।’ पाण्डेले जनताले मतपत्रमार्फत दिएको अस्वीकारको सन्देशलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन् । उनले यस्तो अवस्थामा आफ्नै कार्यकर्तालाई सत्य बोलेको आधारमा कारबाहीको धम्की दिनु बुद्धिमानी नहुने टिप्पणी गरेका छन् । पाण्डेले ठूलो नैतिक पराजयपछि पनि नेतृत्वसँग अरूलाई कारबाही गर्ने नैतिक आधार कति बाँकी छ भन्ने प्रश्न उठाएका छन् ।
उनका अनुसार अहिलेको अवस्थामा नेकपा एमालेको संरचना र कार्यशैलीलाई पुनः व्यवस्थित गर्ने आवश्यकता देखिएको छ । उनले यसलाई कुनै षड्यन्त्र नभई पार्टीको वर्तमान सञ्चालन शैलीप्रति जनताले दिएको स्पष्ट अस्वीकारको सन्देशका रूपमा बुझ्नुपर्ने उल्लेख गरेका छन् ।
उनले भनेका छन्- ‘यो कुनै षड्यन्त्र होइन, यो एमालेको वर्तमान सञ्चालन पद्धति र हठलाई जनताले पूर्ण रूपमा ‘रिजेक्ट’ गरेको सन्देश हो। अब पनि हामीले आफ्नो तरिका बदल्ने आँट गरेनौँ र अरू असफल होलान् र फेरि हाम्रो पालो आउला भन्ने सोचमै अल्झिरह्यौँ भने, त्यो पार्टी र देश दुवैका लागि घातक हुनेछ ।’ उनले पार्टीले समयमै आफ्नो कार्यशैली परिवर्तन गर्ने साहस नगरे पार्टी र देश दुवैका लागि हानिकारक हुन सक्ने चेतावनी समेत दिएका छन् ।
२०- मनकामना मन्दिर दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको ईभी माइक्रोबस गएराती दुर्घटनामा पर्दा कम्तीमा ७ जनाको मृत्यु भएको छ । प्रहरीले बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोमा १४ जना सवार रहेको जानकारी दिएको छ । तीर्थयात्री बोकेको ईभी माइक्रोबस मन्दिर दर्शन सकेर फर्किने क्रममा सडकबाट अनियन्त्रित भई दुर्घटनामा परेको बताइएको छ । घाइते केहिको अवस्था गम्भीर रहेको बताउदै प्रहरीले मृतकहरूको पहिचान खुल्न नसकेको र दुर्घटना बारे अनुसन्धान गरिरहेको बताएको छ ।
FACEBOOK COMMENTS