काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन प्रतिवेदन बुझाएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरु सरकार गठनको छलफलमा जुटेका छन् । रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापतिद्वय डिपी अर्याल र डा. स्वर्णिम वाग्ले सरकार गठनको छलफलमा जुटेका हुन् । आयोगले निर्वाचन प्रतिवेदन राष्टपतिलाई बुझाएपछि सरकार गठनको बाटो खुलेको छ ।
अब रास्वपाले सांसदहरुको शपथ अघि नै सरकार गठन गर्छ या संघीय संसद सचिवालय तय गरेको चैत्र १२ गतेको शपथ गराउने मितिसम्म पर्खिन्छ भन्ने स्पष्ट भएको छैन । यसअघि २०७४ सालको निर्वाचनपछि केपी शर्मा ओलीले संसदहरुको शपथ अघि नै सरकार निर्माण गरेका थिए ।
२- प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण चैत १२ गते हुने भएको छ । बिहीबार संघीय संसद सचिवालय नयाँ प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसँग छलफल गर्दै आगामी चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण गराउने तयारी भएको जनाएको हो ।
दलहरूसँग शपथ ग्रहण, अभिमुखीकरण कार्यक्रम र संसदीय दलको कार्यालय व्यवस्थापनसँगका विषयमा छलफल भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन् । शपथ ग्रहण गराउनु अगाडि ज्येष्ठ सदस्यको पहिचान गर्ने र ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ ग्रहण गराउने तयारी भएको छ । राष्ट्रपतिसँग शपथ ग्रहण गरेपछि ज्येष्ठ सदस्यले अन्य सदस्यहरूलाई शपथ खुवाइने संसद सचिवालयले जानकारी दिएको छ ।

३- नेपाल क्रिकेट संघ (क्यान) ले आठौं संस्करणको प्रधानमन्त्री कप (पीएम कप) एक दिवसीय पुरुष राष्ट्रिय प्रतियोगिताका त्रिवि क्रिकेट मैदानमा हुने खेलहरु तल्लो मूलपानी क्रिकेट मैदानमा सारेको छ । क्यानले टियु क्रिकेट मैदानमा आइसीसी विश्वकप लिग–२ को लागि स्तरोन्नतिको काम गर्नुपर्ने भएको भन्दै पीएम कपका खेलहरु तल्लो मूलपानी मैदानमा सारिएको जानकारी दिएको छ । यसअघि टियु क्रिकेट मैदानमा ५ खेल हुने गरी तालिका सार्वजनिक गरिएको थियो ।

अब ती खेलहरु तल्लो मूलपानी मैदानमा हुने भएका छन् । त्यसबाहेक माथिल्लो मूलपानी मैदानमा ५ र अन्य खेलहरु जनकपुर र पर्सामा हुने गरी तालिका सार्वजनिक भएको थियो । प्रधानमन्त्री कप २०८२/८३ को संस्करण ४ वटा स्थानमा हुनेछन् । काठमाडौंका २ मैदान र जनकपुर र पर्सामा गरी ४ स्थानमा प्रधानमन्त्री कप सञ्चालन हुनेछ । क्यानले प्रतियोगिता चैत ७ देखि २०८३ वैशाख ४ गतेसम्म हुनेगरि तालिका सार्बजनिक गरिसकेको छ ।

प्रतियोगितामा सातै प्रदेशका टिमसहित तीन विभागीय टिम गरी कुल १० टिमको सहभागिता रहनेछ । जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका टिम रहेका छन् । ‘सिंगल राउन्ड रोबिन’ प्रणालीको आधारमा हुने यो प्रतियोगिताका दुई शीर्ष टिमले फाइनलको निम्ति प्रतिस्पर्धा गर्ने छन् । पीएम कप अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । नेपाल पुलिस क्लबले सबै भन्दा धेरै ४ पटक जितेको छ भने त्रिभुवन आर्मी र एपीएफ क्लबले २-२ पटक जितेका छन् । पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब रहेको छ ।

४- अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी शहिद स्मारक महिला राष्ट्रिय लिग पनि स्थगित गरेको छ । एन्फाले बिहीबार सूचना जारी गर्दै लिगका पाँचौं देखिका खेलहरु अर्को सूचना जारी नहुँदासम्मको लागि स्थगित गरिएको उल्लेख गरेको छ । एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जारी गरेको सुचनामा भनेका छन्- ‘उपरोक्त सम्बन्धमा अखिल नेपाल फुटबल संघको आयोजनामा मिति २०८२ चैत्र ४ गतेबाट संचालन भईरहेको शहिद स्मारक महिला राष्ट्रिय लिग प्रतियोगिता २०८२ अर्न्तगत म्याच नं ५ देखिका खेलहरु प्राविधिक कारणवश अर्को सुचना प्रकाशन नभए सम्मको लागी स्थगित गरिएको जानकारी गराउदछु ।’

यसअघि एन्फाले जारी राष्ट्रिय लिग पनि स्थगित गरेको जानकारी दिएको थियो । एन्फाले अहिले दोहोरो विवादमा परेका कारण खेल स्थगित गरेको बुझिएको छ । लिगमा खेलिरहेका विदेशी खेलाडीहरु पर्यटक भिसामा रहेको उजुरी अध्यागमनमा परेपछि विभागले अनुसन्धान शुरु गरेको छ र पर्यटक भिसामा रहेका खेलाडीलाई लिग नखेलाउन निर्देशन दिएको छ । अर्को तर्फ एन्फा र ए डिभिजन लिग क्लबबीच विवाद बढेपछि उनीहरु अन्दोलित भएका छन् र एन्फाको कार्यालय अगाडी धर्ना दिदै आएका छन् ।

५- निर्वाचन आयोगले गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३ अर्ब ५४ करोड २८ लाख ७९६ रुपैयाँ खर्च भएको जानकारी दिएको छ । आयोगले विहिबार पत्रकार सम्मेलन गरेर निर्वाचन आयोगबाट ३ अर्ब ५४ करोड २८ लाख ७९६ रुपैयाँ खर्च भएको जानकारी दिएको हो । निर्वाचन प्रयोजनका लागि ७ अर्ब ८१ करोड ५ लाख ७६ हजार रुपैयाँ माग गरेकोमा अर्थ मन्त्रालयबाट ६ अर्ब ७६ करोड ६६ लाख ९० हजार रुपैयाँको स्रोत सहमति प्राप्त भएको जानकारी दिएको छ । खर्चको दायित्व सिर्जना भएकोमध्ये केही रकम भुक्तानी गर्न बाँकी रहेको आयोगले जानकारी दिएको छ ।
आयोगका अनुसार निर्वाचन खर्चलाई मितव्ययी बनाउन आयोगबाट यसअघि खरिद भएका सामग्री प्रयोगको नीति लिइएको र सामग्री खरिदमा सरकारको स्वमित्वमा रहेका संगठित संस्थासँग सम्झौता गरी खरिद गरिएको बताएको छ । आयोगले ५० प्रकारका निर्वाचन सामग्रीमध्ये ३७ प्रकारका निर्वाचन सामग्री प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूबाटै खरिद गरिएको थियो भने १३ प्रकारका सामग्री आयोगबाट खरिद भई जिल्लागत रूपमा ढुवानी गरिएको जनाएको छ ।
६- सुरक्षण मुद्रण केन्द्रसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ । आयोगका अनुसार तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहितका प्रतिवादीहरूले सुरक्षण प्रेसका लागि सफ्टवेयर तथा उपकरण खरिद गर्दा प्रचलित कानुन विपरीत मिलेमतो गरी अनियमितता गरेका थिए ।
सम्भाव्यता अध्ययन नगरी, बढी लागत देखाएर तथा आवश्यक नभएका सामग्री खरिद गरी करिब ४० करोड ८५ लाख रुपैयाँ बराबरको हानी पुर्याइएको आरोप छ । उक्त मुद्दामा आयोगले बिगो असुलसहित कैद र जरिवानाको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो । तर विशेष अदालतले आंशिक सफाइ दिएपछि आयोगले उक्त फैसला चित्त नबुझेको जनाएको छ । यसै कारण आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दायर गर्दै पूर्ण न्यायको माग गरेको जनाएको छ ।
७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेसहितलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर संशोधन गरि हटाउन स्वीकृति दिने महान्यायाधिवक्ताको निर्णयको विरुद्धको रिटमा अन्य प्रतिवादीको फाइल झिकाउन सर्वोच्च अदालतबाट आदेश भएको छ । सर्वोच्चका न्यायाधीशहरू शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले बिहीबार त्रुटी सच्याई अन्य प्रतिवादीहरू समेतको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरको फिर्ता गरेको भनिएको माघ २ गतेको निर्णय फाइल झिकाउन आदेश भएको हो । महान्यायाधिवक्ता सबिता भण्डारीले पुस ३० गते रविको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर मुद्दा संशोधन गर्ने निर्णय गरेकी थिइन् भने त्यसपछि माघ २ गते त्रुटी सच्याइएको भन्दै सबै प्रतिवादीहरूविरूद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने निर्णय गरेकी थिइन् ।
यसमा जिबी राईसहित अन्य सबै प्रतिवादीहरूको समेत मुद्दा संशोधन गर्ने निर्णय गरिएको थियो । यो रिट अधिवक्ता दिनेश त्रिपाठी,युवराज सफलगायतले महान्यायाधिवक्ताको कार्यालयको उक्त निर्णय बदरको माग गर्दै सर्वोच्चमा दायर गरेका थिए । रिटमा महान्यायाधिवक्ता कार्यालय,विभिन्न सरकारी वकिल कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई रिटमा विपक्षी बनाइएको छ । रिट निवेदकहरूले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसँग अपराधको अभियोगलाई कमजोर नबनाउन र कानुनी प्रक्रियामा कुनै अवरोध नगर्न परमादेश माग गरेका छन् । महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते रास्वपा सभापति लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने निर्णय गरेको थियो । महान्यायाधिवक्ता सविता भण्डारीले आसन्न निर्वाचनलाई लक्षित गरी लामिछानेलाई उम्मेदवारी दिन र निर्वाचित भएमा राजनीतिक अधिकार उपभोग गर्ने बाटो खुल्ने गरी अभियोग संशोधनको निर्णय गरेकी थिइन् ।
८- नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाको राजीनामाको प्रसँगमा टिप्पणी गर्दै डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत नहुने बताएका छन् । उपसभापति शर्माले ‘नैतिक जिम्मा लिन्छु’ भन्नू सकारात्मक भएको बताउदै यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व भएको बताउदै डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत नहुने टिप्पणी गरेका हुन् । उनले शुक्रबारको बैठकमा प्रारम्भिक समिक्षा, राजीनामा पत्र र राजीनामा अस्विकृत गर्ने प्रस्ताव पेश हुने स्पष्ट गरेका छन् ।
९- आगामी तीन दिन देशका विभिन्न क्षेत्रमा भारी वर्षा, हिमपात र तीव्र हावाहुरीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार चैत ६ गते कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्नेछ । त्यसैगरी शुक्रबारदेखि दाङ, नेपालगञ्ज आसपासका लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तथा शनिबार पूर्वी क्षेत्रका विराटनगर, धरान र धनकुटा आसपासका जिल्लामा करिब ११९ किलोमिटर प्रतिघण्टा वेगको तीव्र हावाहुरी चल्ने सम्भावना रहेको छ ।
प्रि-मनसुन अवधिमा हावाहुरीका कारण रुख ढल्ने, छाना उड्ने, कमजोर संरचना भत्किने तथा विद्युत र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको प्राधिकरणले जनाएको छ । पछिल्ला दिनमा यस्तै घटनाबाट जनधनको क्षति समेत भएको छ । प्राधिकरणले आवश्यक बाहेक यात्रा नगर्न, हावाहुरीका बेला घरका झ्यालढोका बन्द गर्न, सवारी साधन सुरक्षित स्थानमा रोक्न तथा भीडभाडमा नआत्तिन आग्रह गरेको छ । साथै कमजोर संरचना, अग्ला रुख, बिजुलीका खम्बा र तारमुनि नबस्न, लत्रिएको तार नछुन र विद्युतीय उपकरण प्रयोग नगर्न पनि चेतावनी दिइएको छ । मौसमसम्बन्धी सूचना नियमित रूपमा हेरी सतर्क रहन प्राधिकरणले सबैमा अनुरोध गरेको छ ।
१०- राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता चयन गरेको छ । राप्रपाको ५ सदस्यीय संसदीय दलले जुम्लाबाट प्रत्यक्षमा जितेका एक मात्र सांसद शाहीलाई संसदीय दलको नेता चयन गरेको हो । त्यस्तै शाहीले समानुपातिक सांसद खुश्बु ओलीलाई मुख्य सचेतकमा नियुक्त गरेका छन् । प्रत्यक्षमा एक सिट मात्र जितेको राप्रपाले समानुपातिकतर्फ चार सिट पाएको थियो ।
११- जारी राष्ट्रिय लिग २०८२ मा खेलिरहेका विदेशी खेलाडीहरु पर्यटकीय भिसामा रहेको उजुरी परेपछि अध्यागमन विभागले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई त्यस्ता खेलाडीलाई खेलमा संलग्न नगराउन निर्देशन दिएको छ । अध्यागमन नियमावली २०५१ को नियम २० मा विदेशीहरु जुन भिसामा नेपाल आएको त्यो बाहेक अन्य गर्न नपाउने भन्ने उल्लेख रहेको बताउदै विदेशी खेलाडीलाई कार्य सहमति र श्रम स्विकृति नभइ नखेलाउन विभागले निर्देशन दिएको हो ।
उजुरीका आधारमा निर्देशन दिदै विभागका निर्देशक टिकाराम ढकालले निरीक्षण सुरु गर्ने र कानुन विपरितका खेलाडी मैदानमा भेटिएको खण्डमा कारबाही हुने बताएका छन् । यसअघि पनि एन्फालाई राष्ट्रिय खेलकुद परिषद (राखेप) ले यस विषयमा पत्र पठाइसकेको छ । राखेपमा पनि विदेशी खेलाडी श्रम स्विकृति बिना खेलिरहेको उजुरी परेको थियो ।
१२- जय ट्रफीको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । त्रिभुवन आर्मीले दिएको २२८ रनको लक्ष्य पछाएको पुलिस क्लबले ६ विकेट गुमाएर पुरा गर्दै ४ विकेटले उपाधि जितेको हो । फाइनलको पहिलो इनिंगमा त्रिभुवन आर्मी क्लबले २२१ रन बनाएको थियो भने पुलिस क्लबले पनि २२१ रन नै बनाएर अल आउट भएको थियो । त्यसपछि त्रिभुवन आर्मी क्लबले दोस्रो इनिंगमा २२६ रन बनाएर अलआउट भएपछि पुलिसले २२७ रनको लक्ष्य पाएको हो ।
यसअघि लिगमा आर्मी क्लबले ३ खेलमा एक जित र २ बराबरी खेल्दै ६६ अंक हासिल गरेर शिर्ष स्थानमा रहदै फाइनलमा पुगेको हो । त्यस्तै नेपाल पुलिस क्लबले ३ खेल मध्ये २ जित र एक हारसहित ६५.५ अंक हासिल गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । त्यस्तै नेपाल एपीएफ क्लब ३ खेलमा एक जित एक हार र एक बराबरीसहित तेस्रो र बागमती प्रदेशले ३ खेलमा २ हार र एक बराबरीसहित चौथो हुदै बाहिरिएका थिए । योसँगै नेपाल पुलिसले लगातार दोस्रो पटक जय ट्रफीको उपाधि जितेको छ । जय ट्रफीमा नेपाल पुलिस क्लबबाट खेलेका कुशल भुर्तेलले सर्बाधिक ३३६ रन बनाएका छन् भने इशान पाण्डेले ३३१ र रोहित पौडेलले २७९ रन बनाएका छन् । त्यस्तै नेपाल पुलिसका बलर ललित राजबंशीले सर्बाधिक २६ विकेट लिएका छन् भने पुलिसकै सागर ढकालले १६ र करण केसीले ११ विकेट लिएका छन् ।
१३- नेप्सेमा वृद्धि भएको छ । आज विहिबार नेप्से ६४.६७ अंकले बढेर २८७७.०२ विन्दुमा पुगेर रोकिएको छ । आज ३४२ कम्पनिका ५ करोड ६९ लाख २० हजार ६०८ कित्ता शेयर २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८८६ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्मिनिंग मिल्स र सालपा विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सोलु हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ भने होटल फरेस्ट इनको शेयर ९.९६ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी नेपाल लाइफ समृद्धि लगानी योजनाको शेयर५.१२ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एनगाडी ग्रुपको ६७ करोड १६ लाख, नेशनल हाइड्रोको शेयर ६६ करोड ९० लाख बराबरको कारोबार भएको छ भने रिढी पावरको ६२ करोड ६० लाखको कारोबार भएको छ ।
१४- धादिङ जिल्लाका १३ वटै स्थानीय सरकारले संयुक्त बैठकमार्फत सांसदका नामबाट जारी भएका निर्देशन तथा जिल्ला प्रशासन कार्यालयबाट पठाइएको पत्रलाई संविधानविपरीत ठहर गर्दै स्थानीय सरकारको अधिकारमा हस्तक्षेप भएको भन्दै कडा विरोध जनाएको छ । धादिङ-१ बाट निर्वाचित सांसद आशिका तामाङले मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारी साधनले शुल्क तिर्नु नपर्ने घोषणा गर्दै अबदेखि शुल्क नउठाउन निर्देशन दिएकी थिइन् भने त्रिशूली नदीबाट भइरहेको अवैध बालुवा र गिट्टी उत्खनन तत्काल रोक्न निर्देशन दिएकी थिइन् ।
१३ वटै स्थानीय सरकारले संघीयताको मर्मअनुसार तीनै तहका सरकारबीच पारस्परिक सम्मान, विश्वास र सहकार्यलाई अझ सुदृढ बनाउन सबै पक्षसँग अपिल गरेका छन् । उनीहरुले संविधानले दिएको अधिकार कार्यान्वयनका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाको अध्यक्षतामा बसेको बैठकले संविधान अनुसार संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित सम्बन्धप्रति पूर्ण प्रतिबद्धता जनाएको छ ।
साथै, अनुसूची ८ मा व्यवस्था भएका स्थानीय तहका एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्न सुनिश्चित गर्न नेपाल सरकारलाई आग्रह गरिएको छ । बैठकले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूलाई बधाई दिँदै स्थिर सरकार, भ्रष्टाचार अन्त्य र सुशासनसहितको विकसित नेपाल निर्माणका लागि संघीय सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ । यसैगरी संघ तथा प्रदेश सरकारबाट सञ्चालन हुने विकास निर्माण, सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण र योजनाबद्ध विकासका अभियानमा सहकार्य र समन्वय गर्न स्थानीय सरकार तयार रहेको जनाइएको छ ।
१५- विश्व ह्यापिनेस इन्डेक्स २०२६ सार्बजनिक भएको छ । जस अनुसार फिनल्याण्ड लगातार नवौं वर्ष विश्वको सबैभन्दा खुसी देशको स्थानमा रहेको छ । १४७ देशहरूमध्ये शिर्ष स्थानमा रहेको फिनल्याण्डपछि दोस्रो स्थानमा आइसल्याण्ड रहेको छ भने डेनमार्क तेस्रो, कोस्टा रिका चौथो, स्विडेन पाँचौं, नर्वे छैटौं, नेदरल्याण्डस सातौं, इजरायल आठौँ, लक्जेम्बर्ग नवौं र स्वीट्जरल्याण्ड दशौँ स्थानमा रहेको छ । यस सूचीमा अस्ट्रेलिया १५औं स्थानमा छ भने अमेरिका २३औं स्थानमा रहेको छ । त्यस्तै बेलायत २९औं स्थानमा छ भने सिंगापुर ३६औं स्थानमा छ ।
त्यसैगरी जापान ६१औं स्थानमा छ भने चीन ६५औं स्थानमा रहेको छ । त्यस्तै रसिया ७९औं स्थानमा छ भने नेपाल ९९औं स्थानमा रहेको छ । यस सूचीमा छिमेकी मुलुक भारत ११६औं स्थानमा छ भने पाकिस्तान १०४औं स्थानमा रहेको छ । यस सूचिको पुछारमा अफगानिस्तान रहेको छ । फिनल्याण्ड जस्ता देशहरूको खुशी राम्रो आर्थिक अवस्था, समान स्रोत वितरण, बलियो कल्याणकारी प्रणाली र राम्रो जीवनस्तरलाई श्रेय दिइएको छ । रिपोर्टका अनुसार, अत्यधिक सामाजिक सञ्जालको प्रयोगले धेरै देशका युवाहरूको खुशी र मानसिक स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ । प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ औषत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणाहरु जस्ता विभिन्न तत्वहरुका आधारमा विश्व खुसी प्रतिवेदनले यस पटक १४७ देशहरुलाई क्रमबद्ध गरेको छ । विश्व ह्यापिनेस इन्डेक्स अक्सफोर्ड विश्वविद्यालयको वेलबिङ रिसर्च सेन्टरले संयुक्त राष्ट्र संघको दिगो विकास समाधान नेटवर्क, ग्यालपसँगको साझेदारीमा प्रकाशित गर्ने गरेको छ ।
१६- अर्जेन्टिनाका खेलाडी लियोनेल मेसीले आफ्नो क्यारियरको ९०० गोल पूरा गर्दै नयाँ कीर्तिमान बनाएका छन् । विहिबार बिहान इन्टर मियामीका लागि नाश भिलेविरुद्ध मेसीले गरेको गोलसँगै उनले आफ्नो क्यारियरको ९०० गोल पुरा गरेका हुन् । दुई दशकभन्दा लामो यात्रामा उनले ११४२ खेलमा ९०० गोल गरेका छन् । प्रति खेल झण्डै ०.७९ गोलको औसत राख्दै उनले फुटबल इतिहासमा आफूलाई सर्वकालीन महान खेलाडीमध्ये एकका रूपमा स्थापित गरेका छन् । उनको करियरको आधार बार्सिलोनामा बनेको थियो, जहाँ उनले ७७८ खेलमा ६७२ गोल गरे । त्यसपछि अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि १९६ खेलमा ११५ गोल गरेका छन् ।
यस्तै पिएसजीमा ३२ र इन्टर मियामीमा अहिलेसम्म ८१ गोल गरेका छन् । मेसीको गोल गर्ने शैलीमा उनको देब्रे खुट्टाको भूमिका सबैभन्दा ठूलो रहेको छ । उनले कुल ७५६ गोल देब्रे खुट्टाबाट गरेका छन् भने दाहिने खुट्टाबाट ११० र हेडरबाट ३० गोल गरेका छन् । त्यस्तै उनले ११२ पेनाल्टी र ७० फ्रिकिकमार्फत गोल गरेका छन् । विशेषगरी सन् २०१० पछि उनी फ्रिकिकका उत्कृष्ट खेलाडीका रूपमा स्थापित भएका छन् । ठूला खेलमा निर्णायक प्रदर्शन गर्नु उनको अर्को विशेषता हो । उनले नकआउट चरणमा १७५ गोल गरेका छन्, जसमा ३५ गोल फाइनल खेलमा आएका छन् ।
च्याम्पियन्स लिगमा मात्रै उनले १२९ गोल गरेका छन् । उनका सफलतामा सहकर्मीहरूको पनि ठूलो भूमिका रहेको छ । लुइस स्वरेजले सबैभन्दा धेरै ४७ असिस्ट दिएका छन् । प्रशिक्षक पेप गुवार्डिओलाको प्रशिक्षणमा उनले आफ्नो उत्कृष्ट लय समातेका थिए, जहाँ उनले २११ गोल गरेका थिए । ३८ वर्षको उमेरमा पनि मेसीले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेका छन् । ९०० गोलको उपलब्धि अन्त्य होइन, बरु उनको ऐतिहासिक यात्राको अर्को महत्वपूर्ण अध्यायका रूपमा हेरिएको छ । मेसीको क्यारियरमा ठुला प्रतिद्वन्दी मानिएका क्रिस्टियानो रोनाल्डोले भने १३०९ खेल खेल्दै ९६५ गोल गरेका छन् ।
१७- निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरेको छ । आयोग परिसरमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयोगक रामप्रसाद भण्डारीसहित आयुक्तहरुले समानुपातिक तर्फका ११० सांसदहरुलाई प्रमाण पत्र वितरण गरेका हुन् । समानुपातिक निर्वाचनतर्फ रास्वपाबाट ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेकपाबाट ९, श्रम संस्कृति पार्टी र राप्रपाबाट ४-४ जना सांसद निर्वाचित भएका छन् । आयोगले यस पछि आजै राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाउने गरी तयारी गरेको छ ।
आयोगले निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने भएको छ । यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी १८२ सिट जितेर दुई तिहाई नजिकको जनादेश पाएको छ । यसैबीच नवनिर्वाचित सांसदहरुको शपथ करिब चैत्र १२ गते खुवाउने र नयाँ प्रतिनिधिसभाको पहिलो बैठक १५ गते बस्ने गरि तयारी अगाडी बढेको बुझिएको छ । संसद अधिवेशनका लागि सिंहदरबारमा निर्माणाधीन संसद भवनकै नजिक अस्थायी हल निर्माणको काम अन्तिम चरणमा रहेको छ ।
१८- नेपाली बजारमा आज सुनचाँदीको मुल्य आजपनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको ५४ सयले घटेर तोलाको ३ लाख २ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ७ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १४० रुपैयाँले घटेर ५०१० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५१५० मा कारोबार भएको थियो ।
१९- नेपाली काँग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । प्रतिनिधि सभाको निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिदै थापाले उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा बुझाएका हुन् । कांग्रेसको केन्द्रीय समितिको बैठक शुक्रबार बस्ने मिति तय भएपछि थापाले राजीनामा दिएका हुन् । यद्यपी राजीनामा अझै सार्बजनिक गरिएको छैन । यसअघि थापाले राजीनामा दिन गरेको प्रस्तावप्रति उपसभापति शर्माले राजीनामा नदिन सुझाव दिएका थिए । अब सभापति थापाको राजीनामाको स्वीकृत गर्ने नगर्ने निर्णय केन्द्रीय समितिले गर्ने छ ।
कांग्रेसको विधानमा केन्द्रीय सभापतिले राजीनामा दिन चाहेमा उपसभापतिमार्फत केन्द्रीय कार्यसमितिमा राजीनामा प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ । काँग्रेसको विधानको धारा २६ मा केन्द्रीय सभापतिको राजीनामाको व्यवस्था गरिएको छ । केन्द्रीय कार्यसमितिले राजीनामा स्वीकृत गरेमा उपसभापतिले कार्यवाहक सभापति भई कार्यभार सम्हाल्ने र छ महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाई केन्द्रीय सभापतिको निर्वाचन गरिने विधानमा व्यवस्था रहेको छ । गत पौष २७ गतेदेखि ३० गतेसम्म भएको कांग्रेस विशेष महाधिवेशनमा थापा निर्विरोध सभापति बनेका थिए । थापाको नेतृत्वमा नयाँ समिति निर्वाचित भएपछि विवादका बीच निर्वाचन आयोगले मान्यता दिएको थियो । तर संस्थापन पक्षबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन अवैधानिक भएको भन्दै दायर भएको रिट सर्वोच्च अदालतमा सुनुवाईकै क्रममा रहेको छ ।
२०- युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । गएराती राउण्ड १६ का दोस्रो लिगका खेल सम्पन भएसँगै क्वाटरफाइनलमा पुग्ने ८ क्लबको टुंगो लागेको हो । जसमा पिएसजी, लिभरपुल, रियल म्याड्रिड, बायर्न म्युनिख, बार्सिलोना, एटलेटिको म्याड्रिड, स्पोर्टिंग सिपि र आर्सनल रहेका छन् । अब क्वाटरफाइनलमा रियल म्याड्रिड र बायर्न म्युनिख, बार्सिलोना र एटलेटिको म्याड्रिड, स्पोर्टिंग सिपि र आर्सनल तथा पीएसजी र लिभरपुल खेल्ने भएका छन् । क्वाटरफाइनलका पहिलो लिग अप्रिल ७ र ८ मा खेलिने छ भने दोस्रो लिग अप्रिल १४ र १५ मा खेलिने भएको छ ।
FACEBOOK COMMENTS