काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा सिंगापुरबाट हङकङ प्रस्थान गरेका छन् । सिंगापुरमा नियमित उपचार सकिएपछि थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन देउवा हङकङ गएको बताइएको छ । स्रोतका अनुसार हङकङमा पारिवारिक कार्यक्रम सकेर नेपाल फर्कने कार्यक्रम रहेको छ । देउवा निर्वाचन अघि फागुन १३ गते राति उपचारको फलोअपका लागि सिंगापुर गएका थिए । देउवा पत्नी आरजु राणा देउवा भने त्यसको तीन दिनअघि नै सिंगापुर पुगिसकेकी थिइन् । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आफ्नै निवासमा कुटाई खाएका देउवा दम्पति उपचारका लागि कार्तिक १० मा सिंगापुर गएका थिए । त्यसपछि उनीहरु कार्तिक २८ मा स्वदेश फर्किएका थिए ।
२- विभिन्न २२ देशले स्ट्रेट अफ होर्मुजमाको अवस्थाबारे संयुक्त वक्तव्य जारी गर्दै इरानका गतिविधिको कडा निन्दा गरेका छन् । संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड्स, जापान, क्यानडा, कोरिया गणराज्य, न्यूजील्याण्ड, डेनमार्क, लाटभिया, स्लोभेनिया, इस्टोनिया, नर्वे, स्वीडेन, फिनल्याण्ड, चेक गणराज्य, रोमानिया, बहराइन, लिथुआनिया र अष्ट्रेलियासहितका देशहरूले इरानले निहत्था व्यापारिक जहाज, तेल तथा ग्यास संरचना र नागरिक पूर्वाधारमाथि गरेको आक्रमणको विरोध गरेका हुन् । उनीहरूले इरानले जलडमरूमध्य बन्दजस्तै अवस्था सिर्जना गरेको आरोप पनि लगाएका छन् ।
उनीहरुले बढ्दो द्वन्द्वप्रति गहिरो चिन्ता व्यक्त गर्दै इरानलाई धम्की, माइन बिछ्याउने, ड्रोन तथा मिसाइल आक्रमण रोक्न र व्यापारिक जहाज आवतजावतमा अवरोध नगर्न आग्रह गरेका छन् । साथै संयुक्त राष्ट्र सुरक्षा परिषद्को सम्बन्धित प्रस्ताव पालना गर्न पनि माग गरेका छन् । वक्तव्यमा अन्तर्राष्ट्रिय कानुनअनुसार समुद्री मार्गमा स्वतन्त्र आवतजावत सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै यस्तो अवरोधले विश्व ऊर्जा आपूर्ति र शान्तिमा असर पार्ने चेतावनी दिइएको छ । देशहरूले नागरिक पूर्वाधारमाथि हुने आक्रमण तुरुन्त रोक्न माग गर्दै होर्मुज जलडमरूमध्यमा सुरक्षित आवतजावत सुनिश्चित गर्न आवश्यक पहलमा सहयोग गर्न तयार रहेको जनाएका छन् । ऊर्जा बजार स्थिर बनाउन रणनीतिक पेट्रोलियम भण्डार प्रयोग गर्ने निर्णयको स्वागत गर्दै उत्पादन वृद्धि गर्न पनि केही देशसँग सहकार्य गरिने उल्लेख गरिएको छ । साथै सबै देशलाई अन्तर्राष्ट्रिय कानुनको पालना गर्दै समुद्री सुरक्षा र स्वतन्त्र आवतजावत सुनिश्चित गर्न आह्वान गरिएको छ ।
३- नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले हर्मुज क्षेत्रमा इरानी सेनाको नियन्त्रणमा परेका नेपाली युवा अमृत झाको रिहाइका लागि कुटनैतिक पहल गर्न सरकारसँग माग गरेका छन् । शर्माले नेपाली युवा अमृत झाको रिहाइका लागि कुटनैतिक र राजनैतिक पहल अविलम्ब र तिब्रतापुर्वक अघि बढाउन सरकारसँग आग्रह गर्दै झाको रिहाइ कुशलतापुर्वक चाँडै हुने र समग्र द्वन्द्वको शान्तिपूर्ण समाधान हुने कामना र अपेक्षा गरेको बताएका छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार झा इरानी सेनाको नियन्त्रणमा रहेको जानकारी दिएको थियो ।

४- नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीलाई सुधार गर्न तीन वटा सुझाव अगाडी सारेका छन् । उनले एमाले आधुनिक र शक्तिशाली भएर उदाउन सक्ने भन्दै अब ‘इतिहासको ब्याज’ मा होइन, ‘भविष्यको लगानी’ मा ध्यान दिनुपर्ने बताएका छन् । उनले तीन सुझाव दिदै भनेका छन्- पहिलो, विज्ञतामा आधारित राजनीति: अब पार्टीले केवल भाषण होइन, विषयविज्ञ र अर्थशास्त्रीहरूसँगको सहकार्यमा देशको आर्थिक संकट समाधान गर्ने ‘प्राविधिक रोडम्याप’ तयार गर्नुपर्छ ।

दोस्रो, डिजिटल मेरिटोक्रेसी: व्यक्तिगत पहुँचका आधारमा जिम्मेवारी दिने प्रथा अन्त्य गर्न आधुनिक प्रविधि र पारदर्शी ‘इभ्यालुएसन फ्रेमवर्क’ लागू गर्नुपर्छ, जसले हरेक कार्यकर्ताको क्षमता र योगदानको निष्पक्ष मापन गरोस् । तेस्रो, संरचित पुस्तान्तरण: नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन र अनुभवीहरूको ज्ञान उपयोग गर्न ‘को-लिडरसिप र मेन्टरसिप’ को वैज्ञानिक मोडल सुरु गर्नुपर्छ । नेता पाण्डेले अबको एमाले केवल राजनीतिक शक्ति मात्र होइन, देशका जटिल समस्या समाधान गर्ने ‘विज्ञता र प्रविधि’ सहितको एउटा गतिशील संस्था बन्नुपर्ने बताएका छन् ।

५- जल तथा मौसम विज्ञान विभागले हाल गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका विभिन्न स्थानहरुमा वर्षा भइरहेको जानकारी दिएको छ । यो अवस्था अझै केही समयसम्म कायम रहने सम्भावना रहेको छ भने आज बेलुकादेखि मौसममा क्रमिक सुधार हुने विभागले जनाएको छ ।

हिजोदेखि सक्रिय रहेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण विगत २४ घण्टामा देशका अधिकांश भू-भागमा मेघगर्जन/चट्याङ्ग, असिना तथा हावाहुरीसहित वर्षा भएको छ । हाल लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । यो प्रणाली क्रमश पूर्वतिर सर्ने क्रममा छ र उक्त प्रणाली आज बेलुकादेखि क्रमिक रूपमा कमजोर हुँदै जाने सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

६- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो सदस्य देशहरूमाथि सहयोग नगरेको भन्दै आलोचना गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले नाटो देशहरूले तेलको मूल्यवृद्धिको गुनासो मात्र गर्ने तर होर्मुज जलडमरूमध्य खुलाउन सहयोग नगर्ने बताएका छन् । उनले सबै देशले मिलेर समुद्री मार्गको सुरक्षा जिम्मेवारी लिनुपर्नेमा जोड दिएका छन् । ट्रम्पले पछिल्लो एक सातादेखि विभिन्न देशहरूसँग सहयोग माग्दै दबाब बढाइरहेका छन् ।

अमेरिकाले अब एक्लैले जिम्मेवारी नलिई अन्य देशले पनि साथ दिनुपर्ने धारणा राखेको छ । यसैबीच रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानलाई समर्थन जनाएका छन् । फारसी नयाँ वर्षको अवसरमा सन्देश दिँदै उनले रूस इरानको भरपर्दो साझेदारका रूपमा साथमा रहने बताएका छन् । रूसले अमेरिका र इजरायलका हमलाका कारण मध्यपूर्वको अवस्था थप जटिल बनेको र यसको प्रभाव विश्व ऊर्जा बजारमा परेको पनि जनाएको छ ।
७- आठौं संस्करणको प्रधानमन्त्री कप (पीएम कप) का पहिलो दिनका दुवै खेल बर्षाले रद्ध भएका छन् । आज पहिलो दिन कोशी र मधेश प्रदेश जनकपुरमा खेल्ने छन् भने लुम्बिनी प्रदेश र कर्णाली प्रदेश पर्सामा खेल्ने तालिका रहेको थियो । बर्षका कारण दुवै खेल हुन नसकेपछि खेल रद्ध भएको क्यानले जानकारी दिएको छ । अब भोली पीएम कपमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच तल्लो मुलपानी मैदानमा तथा बागमती प्रदेश र एपीएफविरुद्ध माथिल्लो मुलपानी मैदानमा हुने तालिका रहेको छ ।
८- जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगंज क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । शनिबार बिहान मन्दिरमा भजन गाएको विषयमा भएको विवादपछि दुई समुदायबीच तनाव भएपछि निमित्त प्रमुख जिल्ला अधिकारीले सो क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेका छन् ।
जिल्ला सुरक्षा समितिको निर्णयानुसार शनिबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म जिल्ला कपिलवस्तु महाराजगंज नगरपालिकाका पूर्वतर्फ बर्गदी पुल, पश्चिमतर्फ बहादुरगंज चोक, उत्तरतर्फ महाराजगंज बजार र दक्षिणतर्फ हर्दौनामा निषेधाज्ञा जारी गरिएको छ ।प्रशासनले यी क्षेत्रमा कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको जानकारी दिएको छ । साथै आदेशको उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई कानून बमोजिम कारवाही गरिने उल्लेख छ ।
९- इरानले होर्मुज जलडमरूमध्यबाट जापानसँग सम्बन्धित जहाजलाई आवतजावत गर्न अनुमति दिन तयार रहेको जनाएको छ । इरानका विदेशमन्त्री अब्बास अराग्चीले यस्तो बताएका हुन् । उनका अनुसार प्रतिबन्ध अस्थायी रूपमा हटाउने विषयमा जापानी पक्षसँग वार्ता सुरु भइसकेको छ । यसबारे प्रतिक्रिया दिँदै जापान सरकारका एक अधिकारीले प्रतिबन्ध हटाउने सबैभन्दा प्रभावकारी उपाय इरानसँग प्रत्यक्ष संवाद नै भएको बताएका छन् ।
उनले अमेरिकालाई उक्साउने अवस्था नआओस् भनेर सावधानी अपनाउनुपर्नेमा पनि जोड दिएका छन् । उनले जापानी जहाजलाई अनुमति दिइए पनि यसले हाल देखिएको ऊर्जा संकट पूर्ण रूपमा समाधान नगर्ने बताएका छन् । जापानका अर्का एक अधिकारीले भने अराग्चीको अभिव्यक्तिपछाडि रहेको वास्तविक उद्देश्यलाई सावधानीपूर्वक मूल्याङ्कन गर्नुपर्ने धारणा राखेका छन् ।
१०- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा नपरेपछि गायक प्रकाश सपुतले आफ्नो धारणा सार्वजनिक गरेका छन् । सपुतले देशका लागि काम गर्ने सोचका साथ चुनावमा होमिएको उल्लेख गर्दै आफू सूचीमा नपरे पनि आफ्नो उद्देश्य पूरा भएको बताएका छन् ।
उनले नयाँ राजनीतिक शक्ति स्थापना, पुरानो अभ्यास अन्त्य र परिवर्तनको पक्षमा उभिने लक्ष्यसहित अघि बढेको बताए । उनले छोटो तयारीका बीच राम्रो समर्थन पाएको भन्दै यसलाई सकारात्मक रूपमा लिएको जनाएका छन् । साथै, आफूले व्यक्तिगत स्वार्थका लागि नभई समग्र परिवर्तनका लागि मत मागेको उल्लेख गरेका छन् । सपुतले अब पनि समाज र देशका लागि योगदान दिन सकिने भन्दै कलाकारितामार्फत जनचेतना फैलाउने काम जारी राख्ने बताएका छन् । उनले भविष्यमा पनि देशको हितमा आवश्यक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
११- राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको व्यावसायिक कुखुरापालन सर्वेक्षण २०८१–८२ अनुसार नेपालका ७७ जिल्लामध्ये ७५ जिल्लामा मात्र व्यावसायिक कुखुरापालन भइरहेको पाइएको छ । मनाङ र मुस्ताङमा यस्तो व्यवसाय सञ्चालन भएको छैन । प्रतिवेदनअनुसार देशभर २२ हजार ९२८ फार्म तथा कृषक कुखुरापालनमा संलग्न छन् भने तीमध्ये ९२ प्रतिशतले मासु, ७.४ प्रतिशतले अण्डा र ०.५ प्रतिशतले चल्ला उत्पादन गर्दै आएका छन् ।
करिब ६३.७ प्रतिशत फार्म कुनै न कुनै सरकारी निकायमा दर्ता भएका छन् । कुल फार्ममध्ये ७९.५ प्रतिशत पुरुषले सञ्चालन गरेका छन् भने २०.५ प्रतिशत महिलाद्वारा सञ्चालित रहेको र अधिकांश, अर्थात् ९८ प्रतिशतभन्दा बढी फार्म व्यक्तिगत स्वामित्वमा रहेक प्रतिवेदनमा उल्लेख छ । त्यस्तै पाँचदेखि १४ वर्षसम्म सञ्चालनमा रहेका फार्मको संख्या सबैभन्दा बढी देखिएको छ । व्यवसायमा ३५ देखि ४४ वर्ष उमेर समूहका सञ्चालकहरूको वर्चस्व रहेको छ, जसले ४४.८ प्रतिशत हिस्सा ओगटेका छन् । त्यस्तै शैक्षिक अवस्थातर्फ हेर्दा ५२.२ प्रतिशत व्यवसायीले माध्यमिक तहसम्मको शिक्षा हासिल गरेका छन् । देशभर कुखुरापालनमा ६३ हजार ८८१ जना संलग्न छन्, जसमध्ये ५८.५४ प्रतिशत पुरुष र ४१.५४ प्रतिशत महिला रहेका छन् ।
सर्वेक्षणअनुसार एक समयको गणनामा देशमा ३ करोड ३४ लाखभन्दा बढी कुखुरा रहेको छ भने सन्दर्भ वर्षभरमा कुल संख्या १२ करोड ७६ लाखभन्दा बढी पुगेको देखिएको छ । कुखुरामा लाग्ने रोग तथा अन्य कारणले ५१.२ प्रतिशत फार्ममा क्षति भएको पाइएको छ । आर्थिक हिसाबले आर्थिक बर्ष २०८१-८२ मा व्यावसायिक कुखुरापालनमा ८५ अर्बको उत्पादन बिक्री भएको देखिएको छ । जसमा करिब ६० अर्ब रुपैयाँ बराबरको मासु, १४ अर्बभन्दा बढीको अण्डा, १० अर्बभन्दा बढीको चल्ला र १ अर्ब बराबरको मल उत्पादन तथा बिक्री भएको छ । कुखुरापालनमा सो वर्ष करिब ७९ अर्ब रुपैयाँ खर्च भएको देखिन्छ भने व्यवसायीसँग ६१ अर्ब ५० करोडभन्दा बढी स्थायी सम्पत्ति रहेको उल्लेख छ ।
करिब ३७ प्रतिशत फार्मले ऋण लिएका छन् भने ४.१ प्रतिशतले मात्र बीमा गरेका छन् । प्रतिवेदनअनुसार ९६.४ प्रतिशत फार्ममा छुट्टै खोरको व्यवस्था छ भने ३४.१ प्रतिशत व्यवसायीले सम्बन्धित तालिम लिएका छन् । मृत कुखुरा व्यवस्थापनमा अधिकांशले गाड्ने विधि अपनाउने गरेका छन् । कुखुरापालन गर्नेमध्ये ६६.१ प्रतिशतका लागि यही मुख्य व्यवसाय रहेको छ । भविष्य योजनाअनुसार ५५.७ प्रतिशतले यथावत् सञ्चालन गर्ने, ३५ प्रतिशतले विस्तार गर्ने, ३.२ प्रतिशतले घटाउने र ६.२ प्रतिशतले बन्द गर्ने योजना बनाएका छन् । व्यवसाय घटाउने वा बन्द गर्ने कारणमा बजार अभाव, पूँजी अभाव, कामदारको कमी, व्यवस्थापन समस्या र गुणस्तरसम्बन्धी चुनौती प्रमुख रहेको प्रतिवेदनमा उल्लेख छ ।
१२- बलिवुड अभिनेता रणवीर सिंह अभिनित धुरन्धर-२ ले रिलिजको पहिलो दिन कीर्तिमानी कमाई गरेको छ । फिल्मले रिलिजको दुई दिनमा १८८ करोड भारू नेट कमाई गरेको छ बलिवुड फिल्म विश्लेषकहरुले धुरन्धर-२ ले पहिलो दिन कलेक्सन र पेड प्रिभ्युबाट ४७ करोड गरेर १४४ करोड भारु कमाई गरेको थियो भने दोस्रो दिन ७० करोड कमाई गरेको छ । फिल्मले दुई दिनमा भारतीय बक्स अफिसमा २१४ करोड भारु कमाई गरेको छ । धुरन्धर- २ फिल्म ३ घण्टा ४९ मिनेटको रहेको छ । जुन बलिवुडको सबैभन्दा दोस्रो लामो फिल्म भनिएको छ । यसअघिको सबैभन्दा लामो फिल्म जेपी दत्ताको २००३ मा रिलिज भएको फिल्म एलओसी कारगिल ४ घण्टा १५ मिनेट लामो थियो ।
धुरन्धर २ मा रणवीर सिंह, अर्जुन रामपाल, संजय दत्त र आर. माधवनले अभिनय गरेका छन् । आदित्य धरले फिल्म लेखेका छन् र निर्देशन गरेका छन् । त्यस्तै फिल्मको निर्माण पनि उनले नै गरेका हुन् । यो फिल्म जियो स्टुडियोद्वारा प्रस्तुत गरिएको हो र बि ६२ स्टुडियोको ब्यानरमा निर्माण गरिएको हो । धुरन्धरको पहिलो भागले ८३६ करोड कमाई गरेर बलिवुडकै अहिलेसम्मको सर्बाधिक कमाई गर्ने फिल्म बनेको थियो । फिल्मले विश्वभर लगभग १३ सय करोड भारु कमाएको थियो ।
१३- लगातारको वर्षाका कारण पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पर्ने दाउन्ने सडकखण्डमा सडक अवरुद्ध भएको छ । प्रहरीका अनुसार सडक अत्यन्त चिप्लो बनेपछि दुवैतर्फका सवारी साधन पूर्ण रूपमा अवरुद्ध भएका हुन् । गएरातीदेखि नै सडक अवरुद्ध भएपछि हजारौं यात्री सडकमा अलपत्र परेका छन् । अहिले पनि सो क्षेत्रमा यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ । साँघुरो सडक, अत्यधिक गाडीको चाप तथा हिलाम्मे सडकका कारण लामो जाम लागेको छ ।
१४- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा युद्धविरामको पक्षमा नरहेको बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिलेको अवस्थामा युद्ध रोक्ने कुनै योजना नभएको स्पष्ट पारेका हुन् । उनका अनुसार जब विपक्षी पक्षलाई पूर्ण रूपमा कमजोर पारिँदै हुन्छ, त्यस्तो अवस्थामा युद्धविराम उपयुक्त हुँदैन । ट्रम्पले अमेरिका युद्धमा अग्रता हासिल गरिसकेको दाबी गर्दै यसै कारण तत्काल युद्ध रोक्ने मनसाय नरहेको बताएका छन् । यसैबीच उनले उत्तर एटलान्टिक सन्धि संगठनका सदस्य राष्ट्रहरूमाथि पनि कडा टिप्पणी गरेका छन् ।
सहयोग नगरेको भन्दै उनले ती राष्ट्रहरूलाई कायरको संज्ञा दिएका छन् र अमेरिकाविना उक्त सैन्य गठबन्धन प्रभावहीन हुने बताएका छन् । समाचारअनुसार ट्रम्पले इरानविरुद्धको अभियानमा विशेषगरी होर्मुज जलडमरूमध्य खुला गराउन सहयोग मागेका थिए । तर धेरै देशहरूले प्रत्यक्ष संलग्न हुन अस्वीकार गरेपछि अमेरिका र उसका सहयोगीहरूबीच तनाव बढेको जनाइएको छ ।
१५- राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा नागरिक स्वतन्त्रताका लागि भएका हरेक सङ्घर्ष र बलिदानी पूर्ण आन्दोलनमा मधेसी समुदायको भूमिका ऐतिहासिक र महत्त्वपूर्ण रहेको बताएका छन् । मधेशी आयोगको सातौँ वार्षिक उत्सव तथा स्थापना दिवसको अवसरमा शनिबार राष्ट्रपति भवन शितलनिवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ती आन्दोलनमा अभिव्यक्त स्वतन्त्रता, सहभाव, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिसहितको राष्ट्रिय एकताको भावना अभिवृद्धि सबै नेपालीको चाहना रहेको बताए ।
उनले भने- ‘यो चाहनालाई आत्मसाथ गरेर अघि बढ्नु आजको मुख्य आवश्यकता हो, हालै सम्पन्न निर्वाचनमार्फत नेपाली जनताले अभिव्यक्त गरेको राष्ट्र निर्माणको दायित्वलाई पूरा गर्न म यस अवसरमा सबै पक्षलाई आह्वान गर्दछु ।’
उनले नेपाल एक बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक तथा भौगोलिक विविधताले सम्पन्न राष्ट्र हो भन्दै यस विविधताभित्र मधेसी समुदायले राष्ट्र निर्माणमा पु¥याएको योगदान महत्त्वपूर्ण रहेको बताए । ऐतिहासिक रूपमा केही समुदाय-विशेषत: मधेसी समुदाय-राजनीतिक, सामाजिक र आर्थिक अवसरहरूबाट वञ्चित रहँदै आएको यथार्थलाई स्वीकार गर्दै ती असमानताहरूको अन्त्य गर्ने उद्देश्यले मधेसी आयोगको स्थापना गरिएको उनको भनाई थियो ।
१६- बिपी राजमार्गमा सबै प्रकारका सवारी साधन सुचारु भएका छन् । रोशी खोलामा पानीको बहाव कम भएसँगै अवरुद्ध भएका सबै स्थानहरूमा बाटो मर्मत पश्चात हाललाई साना ठुला सबै प्रकारका गाडीहरूको आवागमन सुचारु गरिएको काभ्रे प्रहरीले जानकारी दिएको छ । यसअघि बिपी राजमार्गको चारसयबेशी, गिम्दी, बाउन्ने र कालढुङ्गामा अबिरल बर्षाको कारण रोशी खोलाको पानिको बहाव बढी सडक पूर्ण रूपमा अवरुद्ध रहेको थियो ।
१७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्ने बताएका छन् । इद उल फित्रको अवसरमा सामाजिक सञ्जालमा लेख्दै बालेनले धर्म, संस्कृति र विविधताको सम्मान गर्दै सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्ने बताएका हुन् । उनले लेखेका छन्, ‘धर्म, संस्कृति र विविधताको सम्मान गर्दै सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ ।’ उनले एक-अर्काप्रति सम्मान, समझदारी र एकताले समाजलाई अझ सुदृढ बनाउनेछ भन्ने कामना गर्दै, ईदको यस पावन अवसरले भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बन्ने कामना गरेका छन् ।
१८- म्याग्दीबाट निर्वाचित सांसद महावीर पुनले शिक्षा क्षेत्रमा सुधार गर्न ठोस कदम चल्नुपर्ने बताएका छन् । सांसद पुनले विश्वविद्यालय, विद्यालय तथा स्वास्थ्य प्रतिष्ठानहरूमा भइरहेको राजनैतिक भागबण्डा र हस्तक्षेप अन्त्य गर्नुपर्ने बताउदै शुद्ध शैक्षिक वातावरण निर्माणका लागि विश्वविद्यालय ऐन र शिक्षा ऐनमा पूर्ण संशोधन आवश्यक रहेको उल्लेख गरेका छन् । त्यसैगरी, उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रलाई पुनःसंरचना गरी सैद्धान्तिकभन्दा सीपमूलक शिक्षामा जोड दिनुपर्ने धारणा राखेका छन् ।
उनले भनेका छन्- ‘मैले गर्न खोजेको र अब सरकारले नगरी नहुने कुराहरू- १) विश्वविद्यालयहरू, विद्यालयहरू तथा स्वास्थ्य प्रतिष्ठानहरूमा राजनैतिक भागवण्डा र राजनितिकरणको अन्त्य गरी बिशुद्ध शैक्षिक वातावरणको सृजना गर्ने। त्यसको लागि बिश्व विद्यालय ऐन र शिक्षा ऐनमा पुर्ण संशोधन गर्नु पर्नेछ । २) प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रलाई पुर्ण रूपमा पुर्नसंरचना गरी सैद्धान्तिक भन्दा शिपमुलक शिक्षामा मात्र बढी जोड दिने ।’
१९- अमेरिका र इजरायलका हमलामा इरानमा तीन हजारभन्दा बढी मानिसको मृत्यु भएको दाबी गरिएको छ । इरानसँग सम्बन्धित एक मानवअधिकार समूहले सार्वजनिक गरेको विवरणअनुसार फागुन १६ गतेदेखि सुरु भएका हमलामा हालसम्म तीन हजार २२० जनाको ज्यान गएको बताइएको छ ।
उक्त विवरणमा एक हजार ३९८ सर्वसाधारणको मृत्यु भएको उल्लेख छ, जसमा २१० बालबालिका पनि रहेका छन् । त्यसैगरी एक हजार १६५ सैनिक र ६५७ अन्य व्यक्तिको पनि ज्यान गएको जनाइएको छ । तर इरानको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको आधिकारिक तथ्यांक अनुसार हालसम्म एक हजार ४४४ जनाको मृत्यु भएको छ भने १८ हजार ५५१ जना घाइते भएका छन् । मानवअधिकार समूहले आफ्ना तथ्यांक स्थलगत विवरण, स्थानीय स्रोत, स्वास्थ्य तथा आपतकालीन सेवा र सार्वजनिक तस्बिर तथा दृश्य सामग्रीका आधारमा तयार पारिएको जनाएको छ । यद्यपि यी दाबीहरू स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन् ।
२०- प्रधानमन्त्री सुशिला कार्कीले इद्–उल–फित्रको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले रमजान महिनाभर गरिएको रोजाले सहनशीलता, सहिष्णुता, त्याग र मानवताप्रतिको समर्पणको सन्देश दिने बताएकी छन् । उनका अनुसार यो महिना सत्कर्म र संयमको प्रतीकका रूपमा समेत लिइने भन्दै यस्ता मूल्यले समाजमा मानवता, सहअस्तित्व र समृद्धिको भावना बलियो बनाउने उल्लेख गरेकी छन् । इद्–उल–फित्रले आपसी सद्भाव, भाइचारा र एकतालाई अझ मजबुत बनाउने विश्वास पनि व्यक्त गरेकीछन् । प्रधानमन्त्री कार्कीले यस पर्वले नेपालीहरूबीच सम्मान, सहकार्य र सद्भाव बढाउँदै देशको समृद्धि र स्थायित्वमा टेवा पुर्याओस् भन्ने कामना गरेकी छन् ।
FACEBOOK COMMENTS