काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- आज सम्पन्न राष्ट्रिय सभा निर्वाचनको सातै प्रदेसको परिणाम समेत आएको छ । नेपाली काँग्रेस, नेकपा एमाले र जसपाले तालमेल गरेर भाग लिएको यस निर्वाचनमा उनीहरुका मात्र उम्मेदवार विजयी भएका छन् । यस निर्वाचन राप्रपाले बहिष्कार गरेको थियो । राष्ट्रिय सभाका रिक्त १० मध्ये एक राष्ट्रपतिबाट मनोनित थिए भने १८ सदस्यका लागि निर्वाचन भएको हो । जसमा एक जना निर्बिरोध निर्वाचित भएका थिए भने १७ जनाको आज मतदानपछि परिणाम समेत आइसकेको छ ।
तीन दलको भागबण्डामा काँग्रेसले ९, एमालेले ८ र लोसपा (जसपा नेपाल) ले एक स्थानमा उम्मेदवारी दिएको थियो । जस अनुसार कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् भने एमालेका रोशनी मेचे र सोमनाथ पोर्तेल विजयी भएका छन् । त्यस्तै मधेस प्रदेशबाट काँग्रेसका धमेन्द्र पासवान र रञ्जित कर्ण, लोसपाका महन्थ ठाकुर र एमालेकी रेखाकुमारी झा विजयी भएका छन् ।
त्यसैगरी बागमती प्रदेशबाट काँग्रेसकी गीता देवकोटा र एमालेका डा. प्रेमप्रसाद दंगाल विजयी भएका छन् भने गण्डकी प्रदेशबाट एमालेकी सम्झना देवकोटा र कांग्रेसका जगत तिमिल्सिना विजयी भएका छन् । त्यस्तै लुम्बिनी प्रदेशबाट काँग्रेसका बासुदेव जंगली र चन्द्रबहादुर केसी तथा एमालेबाट रामकुमारी झाक्री विजयी भएका छन् भने कर्णाली प्रदेशबाट काँग्रेसका ललितजंग शाही र एमालेकी मीनासिंह रखाल विजयी भएका छन् । त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट एमालेका लीलाकुमारी भण्डारी र काँग्रेसबाट खम्मबहादुर खाती विजयी भएका छन् ।
२- नेपाली काँग्रेसले फागुन ७ गते जनकपुरधाममा विशेष आमसभा गर्ने भएको छ । काँग्रेस प्रवक्ता देवराज चालिसेले प्रजातन्त्र दिवस फाल्गुन ७ गते जनकपुरधाममा ऐतिहासिक आमसभा गर्ने तय गरिएको र आमसभालाई सभापति गगन थापा लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने जानकारी दिएका छन् । यसअघि काँग्रेसले माघ १६ गते गर्ने भनिएको आम सभा स्थगित गरिएको थियो ।

३- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहितको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णय विरुद्धको रिटमा थप सक्कल प्रमाण कागजात झिकाउन आदेश गरेको छ । आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासले थप सक्कल प्रमाण कागजात झिकाउन आदेश गरेको हो ।

महान्यायाधिवक्ता भण्डारीले सहकारी ठगि प्रकरणमा मुछिएका लामिछानेसहितलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध सम्बन्धी अभियोगपत्र संशोधन गर्ने निर्णय गरेपछि त्यसको विरुद्ध रिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेलले रिट दायर गरेका थिए ।

४- पर्थ स्कोर्चर्सले यस बर्षको बिग बास लिगको उपाधि जितेको छ । अस्ट्रेलियाको प्रतिष्ठित टी-२० फ्रेन्चाइजी लिग बिग बासको फाइनलमा पर्थले सिड्नी सिक्सर्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो । सिड्नीले दिएको १३३ रनको लक्ष्य पछाएको पर्थले १७.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको सिड्नीले २० ओभरमा अलआउट हुदै १३२ रन बनाएको थियो । योजितसँगै पर्थ स्कोर्चर्सले सबैभन्दा बढी ६ पटक बिग बास लिगको उपाधि जितेको छ । त्यस्तै सिड्नीले ३ पटक यो उपाधि जितेको छ ।

५- बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ का तत्कालीन वडा अध्यक्ष म.जलालुदिन मंसुरसमेत ४ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानी एवं गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक भतौडा गाविस-२ को जग्गा रजिष्ट्रेशन लिखित पारित गर्ने क्रममा उक्त जग्गामा कम्पाउन्ड वाल सहितको पक्की घर टहरा र उक्त जग्गा वीरगञ्ज कलैया हुलाकी सडकमा भएकोमा बाटोसँग नजोडिएको र घर नभएको भनी गलत सिफारिस गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।

अख्तियारले कलैया उपमहानगरपालिका-३ का तत्कालीन वडा अध्यक्ष म.जलालुदिन मंसुर र तत्कालीन वडा सचिव रघु प्रसाद सहनी गोढीलाई ६ लाख ९४ हजार ६५१, जग्गा बिक्रीकर्ता रौफ मिया मन्सुरलाई ३ लाख ७७ हजार र जग्गा खरिदकर्ता हिरालाल प्रसादलाई ३ लाख १८ हजार ६५१ बिगो माग गर्दै मुद्धा दायर गरेको जनाएको छ ।
६- नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी तालमेल भएको छ । आइतबार दुवै दलबीच चुनावी तालमेल गर्न तीन बुँदे सहमति भएको हो । जस अनुसार रुकुम पश्चिममा जनार्दन शर्मा र रुकुम पूर्वमा सन्दीप पुनलाई एमालेले मतदानमा सघाउनेछ । त्यस्तै कर्णालीका हुम्ला जुम्लाबाहेकका जिल्ला र पुरानो राप्ती अञ्चल (दाङ, रूकुम,रोल्पा रूकुम, प्यूठान) का जिल्लामा एमालेका उम्मेदवारलाई प्रलोपाले सघाउने सहमति बनेको छ । सहमतिपत्रमा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपाकी अध्यक्ष दुर्गा शोवले हस्ताक्षर गरेका छ्न् ।
७- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । योसँगै चौधरी निर्वाचनमा प्रतिस्पर्धा गर्न नपाउने भएका छन् । चौधरीले आफ्नो उमेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिटमा न्यायाधीश बालकृष्ण ढकालको इजलासले कारण देखाऊ आदेश जारी गरेको छ । योसँगै उनको उमेदवारी कायम नहुने भएको हो ।
सर्वोच्चले मुद्दाको अर्को सुनुवाइ यही माघ १५ गतेलाई तोकेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली-१ बाट मनोनयन पत्र दर्ता गरेका उनको उम्मेदवारी निर्वाचन आयोगले उनको उम्मेदवारी बिहीबार खारेज गरेको थियो । टीकापुर घटनामा जिल्ला अदालत हुँदै सर्वोच्चबाट दोषी ठहर भएकाले चौधरी उम्मेदवार हुन अयोग्य भएको भन्दै आयोगले उम्मेदवार खारेज गरेको थियो । २०७२ असोजमा टिकापुर घटनामा आठ जना प्रहरी र एक नाबालकको हत्याको अभियोगमा चौधरीलाई तीनै तहको अदालतले जन्मकैदको फैसला सुनाएको थियो । सर्वोच्च अदालतले पनि २०८० जेठ २ मा उक्त फैसला सदर गरेको थियो । चौधरीलाई २०८० जेठ १४ मा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी सजाय मिनाह गरे पनि यस निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट विचाराधीन रहेको छ ।
८- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गरेका छन् । बैठकमा सम्बोधन गर्दै संयोजक प्रचण्डले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना रहेको बताए । उनले पार्टीले २० वटा दललाई समेटेर एउटै पार्टी निर्माण गरेपनि सबै पक्षलाई समेट्ने गरी प्रतिनिधि सभाका उम्मेदवार चयन गरिएको र समानुपातिक उम्मेदवार छनोटमा समेत विशेष ध्यान दिइएको स्पष्ट पारे । जनमत, कार्यक्षमता र छविलाई आधार बनाएर उम्मेदवार छनोट गरिएकाले नेकपाका उम्मेवारहरुले निर्वाचनमा नतिजा निकाल्ने विश्वास व्यक्त गरे ।
प्रचण्डले जेन्जी आन्दोलन र त्यसपछिका घटनाक्रममा नेकपाले लिएको पहलका कारण पार्टीको छवि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा अन्य पुराना दलको तुलनामा सकारात्मक बनेको बताए । जेन्जी युवाहरूले पनि तीन प्रमुख दलमध्ये नेपाली कम्युनिष्ट पार्टी र यसको नेतृत्व फरक रहेको महसुस गरेको उनले बताए । त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिएको उत्साह विस्तारै ती पार्टीका उम्मेवारहरुका गतिविधिका कारण विस्तारै कमजोर हुँदै गएको र उनीहरुका गतिविधिलाई जनताले गहिरो गरि हेरिरहेको बताए ।
मनोनयन र त्यसपछि प्रयोग गरिएका सवारी साधन तथा उनीहरू कसको सहयोगमा अघि बढेका हुन् भन्ने कुरा सार्वजनिक हुँदै जाँदा त्यतातिर बगेको हावा विस्तारै कमजोर बन्दै गएको पनि उनले उल्लेख गर । गोरखामा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि गोरखामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेको जित करिब–करिब सुनिश्चित जस्तै भएको संयोजक प्रचण्डले बताए । उम्मेदवारी फिर्ता र डा.भट्टराईसँग भएका संवादले अब डा.भट्टराई र नेपाली कम्युनिष्ट पार्टीबीचको सम्बन्ध पनि क्रमशः सुधार हुँदै जाने उनले विश्वास व्यक्त गरे ।
९- नेप्सेमा आज हरियाली छाएको छ । आइतबार नेप्से ५७.५५ अंकले बढेर २७७२.१७ विन्दुमा पुगेर रोकिएको छ । आज ३३१ कम्पनिका ३ करोड ९ लाख १५ हजार १८३ कित्ता शेयर १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार ६४५ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज एसवाई प्यानल, श्रीनगर एग्रोम नेपाल माइक्रो इन्सुरेन्स, बन्दीपुर केबलकार, हिमस्टार उर्जा, माबीलुंग इनर्जी, रिलायन्स फाइनान्स र अन्खु खोला हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको । त्यस्तै एभरेष्ट बैंकको डिभेन्चरको सबै भन्दा बढी ५.८० प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ४३ करोड ५९ लाख कारोबार भएको छ भने ग्रीन भेन्चरको ३९ करोड ७७ लाख बराबरको कारोबार भएको छ ।
१०- प्रधानमन्त्री सुशीला कार्की नेपाल खुला विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा कुलपतिका हैसियतमा सरिक भएकी छन् । काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न समारोहमा तीनवटा संकायका ५४५ विद्यार्थी दीक्षित भएका थिए। कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पदक पनि प्रदान गरिएको थियो । २०७३ सालमा स्थापित यस खुला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहको प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा थिए ।
नेपाल खुला विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीले खुला विश्वविद्यालयलाई आगामी दिनमा अझै प्रतिस्पर्धी, समयसापेक्ष, रोजगारमूलक, उद्यमशीलताउन्मुख, अनुसन्धान तथा नवप्रवर्तनमुखी जनशक्ति उत्पादनमा भूमिका खेल्ने विश्वास व्यक्त गरेकी थिइन् । उनले विश्वविद्यालय आन्तरिक रूपमा सबल रहँदै धेरैभन्दा धेरै विद्यार्थीहरूलाई शिक्षाको मूलधारमा समाहित गर्न सक्नुपर्ने चुनौतीलाई सामना गर्न सक्षम हुनुपर्ने बताउदै ज्ञानको समयसापेक्ष निर्माण र वितरणका पक्षलाई सँगसँगै महत्त्वका साथ अगाडि लैजान सक्नुपर्ने बताइन् ।
२०७३ सालमा स्थापना भई २०७४ सालदेखि सामाजिकशास्त्र तथा शिक्षा, व्यवस्थापन तथा कानुन र विज्ञान, स्वास्थ्य तथा प्रविधि सङ्कायअन्तर्गत विभिन्न विषयमा स्नातक, पीजीडी, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधिसम्मको अध्यापन गराउँदै विश्वविद्यालय अगाडि बढिरहेको छ ।
११- नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय सभा संसदीय दलको बैठक आज सिंहदरबारमा सम्पन्न भएको छ। बैठकले बेदुराम भुसाललाई संसदीय दलको नेता नियुक्त गरेको छ । त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ । पार्टीले दलको नेता नारायण काजी श्रेष्ठ राजीनामा दिएर निर्वाचनको उम्मेदवार बनेपछि राष्ट्रिय सभामा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित नयाँ नेतृत्व टिम गठन गरेको नेकपाले जनाएको छ ।
१२- म्यानमारमा तेस्रो तथा अन्तिम चरणको आम चुनावको लागि आइतबार मतदान जारी रहेको छ । लगभग एक महिनादेखि चलिरहेको यो प्रक्रियाले देशको संसदमा सैन्य शासक र उनीहरूका सहयोगीहरूलाई बहुमत सुनिश्चित गर्ने छ । आलोचकहरूले यी चुनावहरू निष्पक्ष नभएको बताउदै आएका छन् ।
फेब्रुअरी २०२१ मा आङ सान सुकीको सरकारलाई अपदस्थ गरेपछि सैन्य शासनलाई औचित्य दिन यो गरिएको उनीहरूको विश्वास छ । सैन्य समर्थक पार्टी, युनियन सोलिडारिटी एण्ड डेभलपमेन्ट पार्टीले पहिलो दुई चरणमा बहुमत सिट जितेको थियो । यसबाहेक, संसदमा २५ प्रतिशत सिट पहिले नै सेनाको लागि आरक्षित छन्, जसले संसदमा आफ्नो नियन्त्रणलाई सुदृढ पार्दैछ ।
सैन्य प्रमुख जनरल मिन आङ ह्लिङ नयाँ राष्ट्रपति बन्ने अपेक्षा गरिएको छ । देशमा गृहयुद्ध जस्तो अवस्थाका कारण, ३३० शहरहरू मध्ये पाँच भागको एक भागमा मतदान भएन । मलेसियाका विदेशमन्त्रीले चुनाव समावेशी नभएकोले आसियानले नतिजालाई मान्यता नदिने बताएक छन् । यद्यपि, रूस, चीन, भारत र जापान जस्ता देशहरूले पर्यवेक्षकहरू पठाएका छन् । म्यानमारकी ८० वर्षीया पूर्व नेत्री सु की जेलमा छिन् र उनलाई २७ वर्षको जेल सजाय सुनाइएको छ । उनको पार्टी २०२३ मा खारेज गरिएको थियो ।
तथ्याङ्क अनुसार, सैन्य शासनको विरोध गर्ने सशस्त्र समूहहरूले धेरै शहरहरूमा मतदान केन्द्रहरू र सरकारी भवनहरूमा आक्रमण गरेर पछिल्ला दुई चरणहरूमा मतदानमा बाधा पुर्याएका थिए । घटनामा कम्तिमा दुई निजामती कर्मचारीहरू मारिएका थिए । आइतबार बिहान ६ बजे छ क्षेत्र र तीन राज्यका ६१ शहरहरूमा मतदान सुरु भयो, जसमा हालका महिनाहरूमा झडप भएका धेरै क्षेत्रहरू पनि समावेश छन् ।
१३- निर्देशक कृषा चौलागाईंको नयाँ फिल्म पारसमा अभिनेत्री जसिता गुरुङ अनुबन्ध भएकी छन् । निर्देशक चौलागाईंले जसितासँगको तस्बीर सार्बजनिक गर्दै उनी फिल्म पारसमा अनुबन्ध भएको जानकारी दिएकी हुन् । पारसमा यसअघि अभिनेता निखिल उप्रेती अनुबन्ध भइसकेका छन् । तर, फिल्ममा जसिताको जोडी भने अर्को अभिनेता हुने बताइएको छ, जसको अनुबन्ध हुन बाँकी रहेको छ ।
केपी फिल्म्सको व्यानरमा निर्माण हुने यस फिल्मको पटकथा र संवाद बलिउडको चर्चित फिल्म ‘ग्याङ्ग्स अफ वासेपुर’का दुवै श्रृंखलाका लेखक सचिन लादियाले लेखेका छन् । यस फिल्मको छायांकन आगामी फागुनबाटसुरु हुने बताइएको छ । तीन चरणमा गरिएको चुनावमा कुल ६६४ सिटमध्ये ५८६ सिट मात्र मान्य हुनेछन् । सबै संसदीय सिटहरूको अन्तिम नतिजा यसै हप्ताको अन्त्यमा घोषणा हुने अपेक्षा गरिएको छ । सैन्य सरकारले मार्चमा संसद बोलाउने र अप्रिलमा नयाँ सरकारले पदभार ग्रहण गर्ने घोषणा गरेको छ ।
१४- पाकिस्तानले आइसीसी टी-२० विश्वकप २०२६ खेल्ने टिमको घोषणा गरेको छ । पाकिस्तान क्रिकेट बोर्डले सलमान अली अघाको कप्तानीमा १५ सदस्यीय विश्वकप खेल्ने टिमको घोषणा गरेको हो । टी-२० विश्वकपका लागि १५ सदस्यीय टोली: सलमान अली अघा(कप्तान), अबरार अहमद, बाबर आजम, फहीम अशरफ, फखर जमान, ख्वाजा मोहम्मद नाफे (विकेटकिपर), मोहम्मद नवाज, मोहम्मद सलमान मिर्जा, नसीम शाह, साहिबजादा फरहान (विकेटकिपर), सैम अयुब, शाहीन शाह अफ्रिदी, शडाब खान, उस्मान खान (विकेटकीपर) र उस्मान तारिक ।
आइसीसी पुरुष टी–२० विश्वकप फेब्रुअरी ७ देखि सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित कुल २० देशले सहभागिता जनाउँदैछन् । विश्वकपको समूह ‘ए’ मा आयोजक राष्ट्र भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन्। त्यस्तै समूह ‘बी’ मा आयोजक राष्ट्र श्रीलंका, अस्ट्रेलिया, आइरल्यान्ड, जिम्बाब्वे र ओमान रहेका छन् । टी–२० विश्वकप खेल्ने समूह ‘सी’ मा नेपाल, वेस्ट इन्डिज, स्कटल्याण्ड, इटाली र इङल्याण्ड रहेका छन् । समूह ‘डी’ मा भने न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई रहेका छन् ।
१५- अण्डाको मुल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो । यसअनुसार ठूलो अण्डा एक क्रेटको फार्म मूल्य ४९५ पुगेको छ । यसअघि प्रतिक्रेट ४६५ मा बिक्री गरिएको ठूलो अण्डाको मूल्य ३० ले बढेको हो । यस्तै मझौला अण्डाको फार्म मूल्य ४७५ कायम गरिएको छ । यसअघि यो अण्डा ४४५ मा बिक्री हुँदै आएको थियो । गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो ।
तत्कालीन समयमा फार्ममा ठूलो अण्डा ५६५ प्रतिक्रेटमा बिक्री भएको थियो । मझौलाको मुल्य ५५० थियो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार नेपालमा निर्वाचनको माहोल बन्नु, निर्वाचनसँगै सीमा क्षेत्रमा भएको कडाइका कारण अण्डाको मूल्यमा वृद्धि भएको हो । अण्डा उत्पादन गर्ने कुखुरामा कमी आउँदा अण्डा उत्पादन कम हुनु, बन्द भएका विद्यालयहरू खुल्नुलगायत कारणले अण्डाको मूल्यमा क्रमिक सुधार आउन लागेको हो । सङ्घका अनुसार अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउछ । सङ्घले बजारको अवस्थाअनुसार अण्डाको समर्थन मूल्य तय गर्दै आएको छ ।
१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको तोलाको २४ सयले बढेर तोलाको ३ लाख ३ हजार ८०० मा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि शुक्रबार सुन तोलाको ३ लाख एक हजार ४ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २९० रुपैयाँले बढेर तोलाको ६४८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ६१९० रुपैयाँमा कारोबार भएको थियो ।
१७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्रीका उम्मेदवारहरुको सार्बजनिक बहसमा सहभागी हुन अस्वीकार गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीले ‘पब्लिक डिबेट’को लागि आफू तयार भएको सामाजिक सञ्जालमार्फत बताएपछि सोहि स्ट्याटसमा कमेन्ट गर्दै बालेनले त्यसलाई अस्विकार गरेका हुन् । ओलीले लेखेको स्टाटसमा कमेन्ट गर्दै बालेनले ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिने भन्दै बहसमा नबस्ने बताएका छन् ।
बालेनले लेखेका छन्- ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो ! तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो ! आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्यो पछि अरू कुरा गरौँला ! ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।’ यस अघि भावि प्रधानमन्त्रीको उम्मेदवारका रुपमा चुनावमा होमिएका नेताबिच पब्लिक डिबेट हुनुपर्ने माग भइरहेको समयमा ओलीले यसका लागि आफू तयार भएको बताएका थिए । यस विषयमा नेपाली कांग्रेस सभापति गगन थापाको अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
१८- अमेरिकामा हिम आँधीको चेतावनी पछि, १८ राज्यमा आपतकालीन अवस्था घोषणा गरिएको छ । दुई दिनमा ९,००० भन्दा बढी उडानहरू रद्द गरिएका छन् । राष्ट्रिय मौसम सेवाका अनुसार, २० करोड मानिसहरू, वा लगभग दुई तिहाइ अमेरिकीहरू, यो आँधीबाट प्रभावित हुन सक्छन् । आँधीको डरले, मानिसहरू किराना पसलहरूमा ओइरिरहेका छन् । धेरै पसलहरूमा पानी, अण्डा, मक्खन र मासु सकिएको छ ।
मौसम सेवाले आँधीले भारी हिउँ, वर्षा र चिसो ल्याउने चेतावनी दिएको छ । यातायात अधिकारीहरूले सप्ताहन्तमा यात्रा ढिलाइ र रद्द हुने चेतावनी दिएका छन् । धेरै प्रमुख शहरहरूमा विमानस्थलहरू पनि प्रभावित भएका छन् । उडान ट्र्याकिङ वेबसाइट फ्लाइट वेयरका अनुसार, शनिबार अमेरिकामा ३ हजार २५९ भन्दा बढी उडानहरू रद्द गरिएका थिए र आइतबार लगभग ५ हजार ८२६ उडान रद्द गरिएको छ । त्यस्तै अमेरिकाका धेरै क्षेत्रहरूमा १० देखि १४ इन्च हिउँ पर्ने अपेक्षा गरिएको छ। मौसम सेवाका अनुसार, यो आँधी अमेरिकाको उच्च मैदानबाट सुरु हुनेछ र बिस्तारै पूर्वतिर सर्नेछ । मेम्फिस, न्याशभिल, वाशिंगटन डीसी, बाल्टिमोर, फिलाडेल्फिया र न्यूयोर्क जस्ता प्रमुख शहरहरूमा हिमपात हुनेछ ।
दक्षिणी रकीज र मैदानहरूबाट मध्य-एट्लान्टिक हुँदै उत्तरपूर्वसम्म भारी हिउँ पर्ने अपेक्षा गरिएको छ । मौसम सेवाका अनुसार, कोलोराडोदेखि पश्चिम भर्जिनिया र बोस्टनसम्मका धेरै क्षेत्रमा १२ इन्चभन्दा बढी हिउँ पर्न सक्छ । आइतबार बिहानदेखि सोमबारसम्म न्यूयोर्क शहर वरपरका भागहरूमा १० देखि १४ इन्च हिउँ पर्न सक्छ र ३० माइल प्रतिघण्टासम्मको गतिमा हावा चल्न सक्छ। दक्षिणपूर्वी अमेरिकाका ठूला भागहरूमा पनि चिसो महसुस हुनेछ । धेरै अमेरिकी राज्यहरू हाल गम्भीर चिसो हावासँग जुधिरहेका छन् । ध्रुवीय भोर्टेक्सलाई प्राथमिक कारण मानिन्छ । ध्रुवीय भोर्टेक्समा हावा घडीको विपरीत दिशामा बज्छ । भौगोलिक संरचनाका कारण, ध्रुवीय भोर्टेक्स सामान्यतया उत्तरी ध्रुवको वरिपरि घुम्छ, तर जब यो दक्षिणतिर सर्छ, यसले अमेरिका, युरोप र एशियामा गम्भीर चिसो ल्याउने बताइएको छ ।
१९- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु पब्लिक डिबेटका लागि तयार रहेको बताएका छन् । ओलीले वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्ने भन्दै यसका लागि आफु तयार रहेको बताएका हुन् । उनले भनेका छन्: नयाँ / पुराना सबै दलहरु अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा (एमाले) देश बनाउने तर्फबाट मैदानमा छ । यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ ।
फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्छ। यसपालीको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरु पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका छन्। देशको नेतृत्व गर्न खोज्ने दलहरुका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ ।
यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के गर्यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु। चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाउँछु। त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्दछु ।
२०- स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले भिल्ला रियलमाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले भिल्ला रियललाई २-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा दुवै गोल किलियन एम्बाप्पेले गरेका थिए । यो जितपछि रियल म्याड्रिडको २१ खेलमा ५१ अंक भएको छ र लिगको शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै एक खेल कम खेलेको बार्सिलोनाको २० खेलमा ४९ अंक रहेको छ र दोस्रो स्थानमा छ । त्यसैगरी भिल्ला रियलको २० खेलमा ४१ अंक रहेको छ र लिगमा चौथो स्थानमा छ ।
FACEBOOK COMMENTS