काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेपाली कांग्रेसले आजदेखि १५ औं महाधिवेशनको प्रक्रिया अगाडि बढाएको छ । पछिल्लो केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णयअनुसार कांग्रेसले शनिबारदेखि १५औं महाधिवेशनको प्रक्रिया अगाडि बढाएको हो । कांग्रेसको १५ औँ महाधिवेशनको तयारीलाई केन्द्रमा राखेर ‘जरा अभियान’ सञ्चालन गरिएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन् ।
पार्टीको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जरा अभियानमार्फत महाधिवेशनको तयारीसँगै सांगठनिक सुदृढीकरण, नागरिकसँग समीक्षा तथा सामाजिक गतिविधिसँग पार्टीलाई जोडिने बताए । उनले पार्टीले ७७ वटै जिल्लामा प्रतिनिधि खटाई ती विषयहरूमा अन्तरक्रिया तथा संवाद गरेको समेत बताए । ती प्रतिनिधिहरूलाई अभियानसम्बन्धी जानकारी गराउनुका साथै जिल्लामा गर्ने कामका बारेमा स्पष्ट जिम्मेवारी तोकिएको उनले बताए ।
महामन्त्री पौडेलले बैशाख महिनाभर खटिएका प्रतिनिधिहरूले सम्बन्धित जिल्लामा बसेर सदस्यता वितरण अभियानलाई व्यवस्थित गर्ने, पुराना सदस्यता अद्यावधिक गर्ने तथा नयाँ सदस्यता वितरणका लागि विधानअनुसारका व्यवस्था कार्यान्वयन गर्ने बताएका छन् । प्रतिनिधिसभा निर्वाचनपछि १०-११ चैतमा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोजको १६ देखि १९ सम्म १५औं महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका पारित गरेको थियो । कार्यतालिकाअनुसार २१ चैतदेखि मसान्तसम्म केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाउने र सदस्यता वितरणका लागि १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने कार्यतालिका बनाइएको थियो ।
२- म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा पुगेको छ । शनिबार सम्पन्न क्वाटरफाइनलको खेलमा लिभरपुललाई ४-० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । म्यानचेस्टर सिटीको जितमा इर्लिंग हलाण्डले ह्याट्रिक गरेका थिए । उनले खेलको ३९औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका थिए भने त्यसपछि खेलको पहिलो हाफको इन्जुरी समयमा दोस्रो र खेलको ५७औं मिनेटमा तेस्रो गोल गरेका थिए । त्यस्तै सिटीका लागि अर्को गोल एन्टोनी सेमेनियोले गरेका थिए । एफए कपको क्वाटरफाइनलका अन्य खेलमा चेल्सी र पोर्ट भाले, साउथहम्पटन र आर्सनल तथा वेस्ट ह्याम युनाइटेड र लिड्स युनाइटेड प्रतिष्पर्धा गर्दैछन् ।

३- स्वास्थ्य तह जनसंख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज र अस्पतालहरूमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरूलाई सम्झौता बमोजिमको न्यूनतम पारिश्रमिक र सेवा सुविधाहरू उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालयले निर्देशन दिदै नर्स तथा स्वास्थ्यकर्मीहरूलाई २०८२ कार्तिक १५ गते भएको सम्झौता बमोजिमको न्यूनतम पारिश्रमिक र सेवा सुविधाहरू उपलब्ध गराउने कार्य कार्यान्वयनको चरणमा रहे पनि केही स्वास्थ्य संस्थाहरूले उक्त सम्झौता पालना नगरेको गुनासो प्राप्त भएकाले सो सहमति पूर्ण रूपमा कार्यान्वयन गर्न भनिएको छ । साथै, मन्त्रालयले नियमित अनुगमन गर्ने र अनुगमनका क्रममा सम्झौता पालना नभएको पाइएमा आवश्यक कानुनी वा प्रशासनिक कदम चालिने चेतावनी दिएको छ ।

४- दिल्ली क्यापिटल्सले आइपिएल अन्तर्गत मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा दिल्लीले मुम्बईलाई ६ विकेटले पराजित गरेको हो । मुम्बईले दिएको १६३ रनको लक्ष्य पछाएको दिल्लीले १८.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

दिल्लीको जितमा समिर रिज्वीले ९० रन बनाएका थिए भने पाथुम निसान्काले ४४ र डेभिड मिलरले २१ रन बनाएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १६२ रन बनाएको थियो । मुम्बईका लागि सूर्यकुमार यादवले सर्बाधिक ५१ रन बनाएका थिए भने रोहित शर्माले ३५ र नमन धीरले २८ रन बनाएका थिए । त्यस्तै दिल्लीका बलर मुकेश कुमारले २ विकेट लिएका थिए । जारी आइपिएलमा दिल्लीले लगातार दोस्रो जित हासिल गरेको छ । त्यस्तै पहिलो खेल जितेको मुम्बईले भने दोस्रो खेलमा हार बेहोरेको छ ।
५- नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित फिल्म ‘स्नो लियोपार्डְ’ प्रदर्शन भएको छ । सन् २०२३ को संस्करणको भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर भएको यस फिल्म निफ अन्तर्गत ‘सिजाङ पानोरमा’मा प्रदर्शन गरिएको हो । तिब्बती गोठालाहरूको जीवन र मानव-वातावरणबीचको सहअस्तित्वको कथामा बनेको यस फिल्मले भेनिसमा समेत चर्चा पाएको थियो । सिजाङ पानोरमा अन्तर्गत शनिबार अन्य तीन फिल्महरू ‘होम अवे होम क्लोज’, ‘लर्नर्स फ्रम द टप अफ द वर्ल्ड’ र ‘सनराइज ओभर द प्लेटो’ प्रदर्शन भए । यी तीनै फिल्म भृकुटी मण्डपस्थित पर्यटन बोर्डको हलमा प्रदर्शन भएका हुन् ।
गुओ यिफीको निर्देशनमा बनेको ‘होम अवे होम क्लोज’ले स्थानीय गोठालाहरूका लागि ‘मोबाइल फोटो स्टुडियो’ नामक जनसेवा पहल सुरु गर्न भौगोलिक जटिलता सामना गर्ने एक युवकको कथा प्रस्तुत गरेको छ । फिल्म ‘लर्नर्स फ्रम द टप अफ द वर्ल्ड’को निर्देशक ज्याक मालाटेरे हुन् । यस फिल्मले शैक्षिक मुद्दा उठान गरेको छ । सियाओ सियाओवाईको निर्देशनमा बनेको फिल्म ‘सनराइज ओभर द प्लेटो’ले साधारण परिवारहरूको शिक्षा, अर्थतन्त्र र संस्कृतिमा आएको असामान्य परिवर्तनहरूलाई उजागर गरेको छ । यस पानारोमा अन्तर्गत आइतबार फिल्महरू ‘वारियर किङ’ र ‘डिस्कोभरिङ सिजान २०२६’ पनि प्रदर्शन हुनेछ । निफअन्तर्गतको ‘सिजाङ पानोरमा’मा प्रतिस्पर्धाबाहिरको विशेष प्रदर्शन कार्यक्रम हो । निफमा शनिबार प्रतिस्पर्धामा रहेका फिल्महरू सिभिल मल, छाया सेन्टर र रसियन हाउसमा प्रदर्शन भए । पर्यटनमा बोर्डमा ‘निफ फिचर पिच’ कार्यक्रम पनि भएको थियो । जसमा नयाँ र युवा लेखकहरूले निर्मातालाई कथा सुनाएका थिए ।
६- सैयारा फेम अभिनेता अहान पाण्डेको नयाँ फिल्मको घोषणा भएको छ । चर्चित निर्देशक अली अब्बास जफरको नयाँ फिल्ममा आहानको प्रमुख भूमिका हुने भएको हो । एक्सन फिल्म बनाउने पहिचान बनाएका जफरले फिल्मको पहिलो झलक सार्वजनिक गरेका छन् । सार्वजनिक झलकसँगै यो फिल्मलाई आउँदै गरेको बहुप्रतीक्षित परियोजनामध्ये एकका रूपमा हेरिएको छ । पहिलो फिल्म ‘सैयारा’ सुपरहिट भएपछि अहानलाई बलिवुडमा नयाँ सुपरस्टारको रुपमा हेरिएको छ ।
नयाँ झलकमा उनी गम्भीर र रहस्यमय शैलीमा प्रस्तुत भएका छन् । धमिलो पृष्ठभूमि र तेज नजरले उनको चरित्रमा मनोवैज्ञानिक गहिराइ झल्काएको छ । झलकमा प्रयोग गरिएको मधुरो प्रकाश र न्यानो रंगले कथा भावनात्मक द्वन्द्व र उच्च जोखिमपूर्ण अवस्थातर्फ केन्द्रित हुने संकेत गर्छ । प्रेम र द्वन्द्वलाई सँगसँगै अगाडि बढाउने शैली निर्देशक जफरको पहिचान रहँदै आएको छ, जसले अहानलाई आफ्नो अभिनय दायरा विस्तार गर्ने अवसर दिन सक्ने देखिन्छ ।
‘सैयारा’ प्रेमकथामा आधारित भए पनि नयाँ चलचित्रमा प्रेमसँगै पर्याप्त द्वन्द्व र गतिशील दृश्यहरू रहने जनाइएको छ । जफरको पछिल्लो चलचित्र ‘बडे मियाँ छोटे मियाँ’ ले अपेक्षाअनुसार सफलता नपाएपछि यो परियोजना उनको लागि पनि महत्वपूर्ण मानिएको छ । नाम नखुलाइएको यो चलचित्रको छायांकन पनि सुरु भएको छ । मुख्य अभिनेत्री र आधिकारिक नाम भने चाँडै सार्वजनिक गरिने बताइएको छ । चलचित्रको छायांकन मुम्बईसहित विभिन्न विदेशी स्थानमा हुने तयारी छ ।
७- इरानसँगको युद्ध सुरु भएको एक महिनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका रणनीति असफल हुदै गएको देखिएको छ । पछिल्लो पटक उनले करिब १९ मिनेटको भाषणमा इरानको हवाई शक्ति ध्वस्त बनाएको र अब उसँग जवाफ दिने क्षमता नरहेको दाबी गरेका थिए । ट्रम्पले इरानको आकाशमा अमेरिकाको नियन्त्रण रहेको र आफ्ना युद्ध विमान तेहरानमाथि उडिरहेको पनि बताएका थिए । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि यस्तै दाबी गरेका छन् । तर पछिल्ला घटनाक्रमले भने फरक तस्वीर देखाइरहेका छन् । पछिल्लो २४ घण्टामा अमेरिकाका दुई सैन्य विमान र उद्धार कार्यमा खटिएका दुई ब्ल्याकहक हेलिकोप्टर इरानी आक्रमणको निशाना बनेका छन् ।
समाचार संस्था एपीका अनुसार २३ वर्षपछि पहिलोपटक अमेरिकी लडाकु विमान शत्रुको आक्रमणमा खसालिएका हुन् । यसअघि सन् २००३ मा इराक युद्धका बेला यस्तो घटना भएको थियो । यस युद्धमा अहिलेसम्म ७ अमेरिकी विमान नष्ट भइसकेका छन् । मार्च २ मा कुवेतमा आफ्नै गोली प्रहारबाट तीनवटा एफ–१५ विमान खसेका थिए, जसका सबै चालक दल सुरक्षित थिए । मार्च १२ मा इराकमा इन्धन बोक्ने विमान दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको थियो । मार्च २७ मा साउदीस्थित प्रिन्स सुल्तान हवाई आधारमा एउटा निगरानी विमान नष्ट भएको थियो । अप्रिल ३ मा एफ–१५ र ए–१० विमान शत्रुको आक्रमणमा परेका छन् ।
इरानी सञ्चारमाध्यमका अनुसार पहिलो आक्रमण एफ–१५ई लडाकु विमानमाथि गरिएको थियो, जुन इरानको दक्षिण–पश्चिम क्षेत्रमा उडिरहेको थियो । त्यसपछि चालक दलको खोजीका लागि पुगेको ए–१० आक्रमण विमान पनि निशानामा परेको थियो । पाइलट भने सुरक्षित रूपमा बाहिर निस्किन सफल भएका छन् । एफ–१५ ई मा रहेका दुईमध्ये एक जना सुरक्षित निकालिएका छन् भने अर्को अझै बेपत्ता रहेको बताइएको छ । उद्धारका लागि पठाइएका दुई ब्ल्याकहक हेलिकोप्टरमाथि पनि आक्रमण भए पनि त्यसमा रहेका सबै सैनिक सुरक्षित रहेको जनाइएको छ । विशेषज्ञहरूका अनुसार अमेरिकासँग इरानको आकाशमा केही हदसम्म बढत भए पनि पूर्ण नियन्त्रण भने छैन ।
इरानको हवाई प्रतिरक्षा प्रणाली कमजोर भए पनि पूर्ण रूपमा नष्ट भएको छैन । विशेषज्ञहरूले इरानले ‘असमान युद्ध’ रणनीति अपनाएको बताएका छन् । सिधा युद्धमा अमेरिकासँग प्रतिस्पर्धा गर्न कठिन भएकाले इरानले कम स्रोत प्रयोग गरेर बढी क्षति पुर्याउने तरिका अपनाइरहेको छ । त्यसैले आकस्मिक र अप्रत्याशित आक्रमण भइरहेको बताइएको छ । इरानले प्रयोग गरिरहेको ‘मजिद’ नामक हवाई प्रतिरक्षा प्रणाली विशेष चर्चामा छ । यो प्रणालीले कम उचाइमा उड्ने लक्ष्यलाई इन्फ्रारेड प्रविधिबाट पहिचान गरी प्रहार गर्न सक्छ । यसको मार गर्ने दूरी करिब ८ किलोमिटर र उचाइ ६ किलोमिटरसम्म रहेको छ ।
यो प्रणाली मोबाइल भएकाले एक स्थानबाट अर्को स्थानमा छिटो सार्न सकिन्छ । यसलाई ‘प्रहार गर र तुरुन्त हट’ रणनीतिमा प्रयोग गरिन्छ, जसले यसको स्थान पत्ता लगाउन कठिन बनाउछ । रिपोर्टअनुसार निरन्तर आक्रमणका बाबजुद इरानका करिब आधा मिसाइल प्रक्षेपक अझै सुरक्षित रहेका छन् । केही विश्लेषकले इरानले थप उन्नत प्रविधि पनि प्रयोग गरिरहेको हुनसक्ने बताएका छन् । युद्ध सुरु भएको ३५ दिन बितिसक्दा पनि इरानको रणनीति पूर्ण रूपमा बुझ्न अमेरिका सफल हुन सकेको छैन ।
८- अभिनेत्री स्वस्तिमा खड्काले पीडितले मौनता तोडेर हिम्मत जुटाउन गर्ने मानसिक संघर्षलाई बुझ्नुपर्ने टिप्पणी गरेकी छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै अभिनेत्री खड्काले हिंसाविरुद्ध आवाज उठाउनु कमजोरी नभई साहस भएको उल्लेख गर्दै उनले अन्यायविरुद्ध बोल्नेहरूलाई प्रश्नले थिच्नुको साटो आड र भरोसा दिने बानी बसाल्न आग्रह गरेकी छन् । उनले भनेकी छिन्, ‘हामी कति सजिलै प्रश्न गर्छौँ, एक वर्षसम्म किन नबोलेको? यतिका समय किन चुप बसेको ? तर हामी यो सोच्दैनौँ कि त्यो मौनता तोडेर हिम्मत जुटाउन उनलाई कति ठुलो मानसिक संघर्ष गर्नुपर्यो होला ।हामीले जस्तो समाज बनाउँछौँ, भोलि हामी आफैँले त्यही समाजमा बाँच्नुपर्छ।
भोलि यस्तै विपत्ति हाम्रै परिवारभित्र आइपर्दा हामीलाई कस्तो महसुस होला ? ’ स्वस्तिमाले पीडितलाई थप पीडा दिनुको सट्टा न्यायका लागि दह्रो साथ दिनुपर्नेमा जोड दिएकी छन् । उनले न्यायको कुरा कानुनले हेर्ने भए पनि मानवता भने समाजले देखाउनुपर्ने तर्क गरेकी छन् । चर्चित कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप लागेपछि स्वस्तिमाले यस्तो टिप्पणी गरेकी हुन् । लम्सालमाथि अमेरिकामा बस्दै आएको युवतीले सामाजिक सञ्जालमार्फत बलात्कारको आरोप लगाएपछि सोही आरोपका आधारमा उनलाई शनिबार बिहान प्रहरीले काठमाडौंबाट पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले जानकारी दिएको छ।
९- एपीएफले जारी पीएम कप अन्तर्गत कर्णाली प्रदेशलाई पराजित गरेको छ । शनिबार जनकपुरमा सम्पन्न खेलमा एपीएफले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गरेको हो । कर्णालीले दिएको १०८ रनको लक्ष्य पछाएको एपीएफले १२ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको हो । एपीएफको जितमा आसिफ सेखले अविजित ६५ र दिपक बोहराले अविजित ४२ रन बनाएका थिए । यस अघि पहिला ब्याटिंग गरेको कर्णालीले ३६ ओभरमा अल आउट हुदै १०७ रन बनाएको थियो । कर्णालीका लागि अर्जुन घर्तिले ३८, दिपेन्द्र रावतले २५ र रविन्द्र शाहीले १८ रन बनाएका थिए । त्यसैगरी एपीएफका बलर कमल सिंह ऐरी र अभिषेक गौतमले ४-४ विकेट लिएका थिए ।
यो जितपछि एपीएफको ६ खेलमा ५ अंक भएको छ र छैटौं स्थानमा उक्लिएको छ । त्यस्तै कर्णालीको भने ६ खेलमा ३ अंक मात्र रहेको छ र हाल आठौं स्थानमा छ । त्यस्तै आज अर्को खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई ३९ रनले पराजित गरेको हो । गण्डकीले दिएको २२८ रनको लक्ष्य पछाएको कोशीले ५० ओभरमा ९ विकेट गुमाएर १८८ रन बनाएको थियो । कोशीका लागि दिपेश कँडेलले ५२ र आशिष मगरले ३० रन बनाएका थिए । त्यस्तै गण्डकीका बलर सिब्रिन श्रेष्ठले ३ विकेट लिएका थिए । यसअघि पहिला ब्याटिंग गरेको गण्डकीले ५० ओभरमा ७ विकेट गुमाएर २२७ रन बनाएको थियो । गण्डकीका लागि अर्जुन कुमालले शतकीय पारी खेल्दै १०२ रन बनाएका थिए भने कप्तान विपिन खत्रीले अविजित ७६ रन बनाएका थिए । त्यस्तै कोशी प्रदेशका दिपेश कँडेलले ४ विकेट लिएका थिए । यो जितपछि गण्डकी प्रदेशको ६ खेलमा ५ अंक भएको छ र सातौं स्थानमा रहेको छ । त्यस्तै कोशी प्रदेशको भने ६ खेलमा यो पाँचौं हार हो ।
१०- पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवनिर्वाचित सभामुख डिपी अर्याललाई बधाई दिदै सर्वोच्च जनप्रतिनिधि संस्थालाई साँच्चै लोकतान्त्रिक अभ्यासको थलो बनाउने कि कर्मकाण्डी थलो मात्र बनाउने भन्ने सभामुखको हातमा हुने बताएका छन् । अर्याललाई बधाई दिदै डा. भट्टराईले सभामुखलाई संसद संचालन गर्न थुप्रै स्वविवेकीय अधिकार समेत रहने भएकाले सर्वोच्च जनप्रतिनिधि संस्थालाई साँच्चै लोकतान्त्रिक अभ्यासको थलो बनाउने कि कर्मकाण्डी थलो मात्र बनाउने भन्ने सभामुखको हातमा रहने र यो कुरा नेपालमा र विश्वभर देखिने गरेको टिप्पणी गरेका हुन् । उनले हसमुख र मृदुभाषी स्वभावका धनी अर्यालले आफ्नो कार्यकालमा नेपालको विशिष्ठ कालखण्डमा गठित वर्तमान प्रतिनिधिसभालाई उन्नत लोकतन्त्रको अभ्यासको थलो बनाउने विश्वास व्यक्त गरेका छन् । शुक्रबार सभामुखमा अर्यालको मात्र मनोनयन दर्ता भएपछि उनी निर्बिरोध निर्वाचित भएका छन् भने आइतबार बस्ने प्रतिनिधि सभाले उनी निर्वाचित भएको औपचारिकता पुरा गर्ने छ । त्यस्तै आइतबार नै अर्यालले सभामुखको शपथ लिने कार्यक्रम तय भइसकेको छ ।
११- विश्वभर चर्चामा रहेको कुख्यात यौन अपराधी जेफ्री एपस्टाइनसँग सम्बन्धित प्रकरणमा नयाँ खुलासासँगै दबाब बढिरहेको छ । पछिल्ला कागजात र तथ्य बाहिरिँदै जाँदा विश्वका ठूला नेता र अर्बपतिहरू समेत तनावमा परेका छन् । यसैबीच, बैंक अफ अमेरिका र पीडित महिलाका कानुनी प्रतिनिधिबीच भएको सहमतिअनुसार करिब ७.२५ करोड डलर बराबरको राहत कोष स्थापना गरिएको छ । उक्त कोषबाट पीडित महिलालाई क्षतिपूर्ति प्रदान गरिने जनाइएको छ ।
अदालतका अनुसार यो कोषबाट करिब ६० देखि ७५ जना महिलाले लाभ लिन सक्नेछन्, जसलाई एपस्टाइनले सन् २००८ पछि यौन शोषण गरेको आरोप छ । अमेरिकी जिल्ला न्यायाधीश जेड एस. राकोफले सहमतिलाई प्रारम्भिक स्वीकृति दिएका छन् भने अन्तिम सुनुवाइ आगामी अगस्ट २७ मा हुने तय गरिएको छ । साथै उनले सबै पीडितसम्म कोषबारे जानकारी पुर्याउन निर्देशन दिएका छन्, ताकि कोही पनि छुट्न नपरोस् । पीडित पक्षका वकिलहरूले बैंक अफ अमेरिकाले एपस्टाइनका शंकास्पद आर्थिक कारोबारलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।
उनीहरूले सन् २००८ देखि २०१९ सम्म एपस्टाइनले महिलाहरूको शोषण गर्दा बैंकले आवश्यक निगरानी नगरेको दाबी गरेका छन् । यद्यपि बैंकले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै कुनै पनि आपराधिक गतिविधिमा संलग्न नभएको स्पष्ट पारेको छ । तर, यो सहमतिले मुद्दा टुंग्याउन र पीडितलाई केही राहत दिन मद्दत पुग्ने अपेक्षा गरिएको छ । जेफ्री एपस्टाइनलाई सन् २०१९ जुलाईमा अवैध यौन व्यापारको आरोपमा पक्राउ गरिएको थियो । तर त्यसको एक महिनापछि अगस्टमा न्यूयोर्कस्थित जेलमा उनको मृत्यु भयो, जसलाई आत्महत्या भनिएको थियो । त्यसयता पनि यस प्रकरणमा नयाँ-नयाँ तथ्य बाहिरिँदै आएका छन् ।
१२- अमेरिकी अन्तरिक्ष निकाय नासाको आर्टेमिस- २ मिशनमा अन्तरिक्ष यात्रीहरूले अनौठो उपकरण साथ लगेका छन् । यो उपकरण देख्दा सामान्य स्मार्टफोनजस्तै, विशेष गरी आईफोन १७ प्रो म्याक्स जस्तै देखिने भएकाले धेरैलाई चासो लागेको छ । ५० वर्षभन्दा बढी समयपछि चन्द्रमातर्फ मानवसहित पठाइएको आर्टेमिस- २ पहिलो अभियान हो । यसअघि भएका परीक्षण उडानभन्दा फरक, यसमा अन्तरिक्ष यात्री प्रत्यक्ष रूपमा सहभागी छन् । करिब १० दिनको यस अभियानमा टोलीले चन्द्रमाको परिक्रमा गरेर पुनः पृथ्वी फर्कने योजना बनाइएको छ । भविष्यमा मानवलाई चन्द्रमामा अवतरण गराउने तयारीका लागि आवश्यक प्रणाली परीक्षण गर्नु यसको मुख्य उद्देश्य हो ।
यस अभियानमा स्मार्टफोनजस्तो उपकरण लैजानुको कारण प्रयोगमा सहजता र राम्रो अभिलेखीकरण मानिएको छ । भारी र जटिल उपकरणको तुलनामा यस्तो उपकरण चलाउन सजिलो हुन्छ । अन्तरिक्ष यात्रीहरूले यसमार्फत उच्च गुणस्तरका फोटो र भिडियो खिच्न, महत्वपूर्ण क्षणहरू रेकर्ड गर्न तथा अन्तरिक्ष यानभित्रका गतिविधि कैद गर्न सक्नेछन् । तर, अन्तरिक्षमा यसको प्रयोग पृथ्वीमा जस्तो सामान्य छैन । सुरक्षाका कारण यी उपकरणहरू पूरै यात्राभर ‘एयरप्लेन मोड’ मा राखिनेछ । किनकि स्मार्टफोनबाट निस्किने संकेतले अन्तरिक्ष यानका संवेदनशील प्रणालीमा असर पार्न सक्छ । त्यसैले नेटवर्क बन्द गरेर यसलाई केवल क्यामेरा र रेकर्डिङ उपकरणको रूपमा मात्र प्रयोग गरिने नासाले बताएको छ ।
यद्यपि उपकरण बाहिरबाट सामान्य देखिए पनि यसको प्रयोग कडाइका साथ नियन्त्रण गरिएको छ । नासाले यी उपकरण विशेष रूपमा परिमार्जित हुन् वा सामान्य बजारमै पाइने प्रकारका हुन् भन्ने स्पष्ट खुलाएको छैन । तर एउटा कुरा स्पष्ट छ, सामान्य प्रयोगका साना तर शक्तिशाली प्रविधि अब अन्तरिक्ष अभियानसम्म पुग्न थालेका छन् । यसले दैनिक जीवनमा प्रयोग हुने प्रविधि कति उन्नत भइसकेको छ भन्ने देखाउछ । यद्यपि, यस्ता उपकरणहरू कडा नियम र निगरानीमा मात्र प्रयोग गरिने भएकाले अन्तरिक्ष यात्रामा सुरक्षा नै सबैभन्दा ठूलो प्राथमिकता रहने बताइएको छ ।
१३- इरानमा खसेको अमेरिकी लडाकु विमानपछि पाइलटको खोजीका लागि अमेरिका दुई छुट्टाछुट्टै अभियान सञ्चालन गरिरहेको छ । अमेरिकी अधिकारीहरूले खोज तथा उद्धार अभियान तीव्र रूपमा जारी रहेको अल जजिरासँगको कुराकानीमा बताएका छन् । पहिलो अभियान शुक्रबार दक्षिण-पश्चिम इरानमा खसेको लडाकु विमानमा रहेका एक सैनिकको खोजीमा केन्द्रित रहेको छ । उक्त विमान खसेपछि ती सदस्य बेपत्ता भएका थिए । दोस्रो अभियान खाडी क्षेत्रको होर्मुज नजिक खसेको ए-१० आक्रमणकारी विमानसँग सम्बन्धित छ ।
सो विमानमा दुई जना सवार थिए, जसमध्ये एक जनाको उद्धार भइसकेको छ भने अर्काको खोजी जारी छ । यसैबीच, बेपत्ता सदस्यको खोजीका लागि पठाइएका दुई ‘ब्ल्याक हक’ हेलिकप्टरमाथि इरानको हवाई प्रतिरक्षा प्रणालीले आक्रमण गरेको जनाइएको छ । यद्यपि ती हेलिकप्टरमा ठूलो क्षति नभएको र अभियान अझै जारी रहेको बताइएको छ । इरानमा अमेरिकी लडाकु विमान खसालिएको घटनाबारे विभिन्न विवरण सार्वजनिक भइरहेका छन् । ह्वाइट हाउसले यस घटनाबारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराइएको पुष्टि गरेको छ । घटना त्यस्तो समयमा भएको हो, जब इरानको सरकारी टेलिभिजनले अमेरिकी पाइलटलाई जीवितै नियन्त्रणमा ल्याउनेलाई इनाम दिने घोषणा गरेको थियो ।
सञ्चारमाध्यमका अनुसार खसेको विमान एफ- १५ ई प्रकारको थियो, जसमा एक पाइलट र एक हतियार प्रणाली अधिकृत सवार थिए । आक्रमणपछि दुवैले सुरक्षित रूपमा विमानबाट बाहिर निस्किएका थिए । उपलब्ध विवरणअनुसार तीमध्ये एक जनाको उद्धार भइसकेको छ भने अर्को अझै बेपत्ता छन् । इरानले पनि आफ्नै स्तरमा खोजी तीव्र बनाएको र स्थानीय बासिन्दासँग सहयोग मागिएको बताइएको छ । अमेरिका, इजरायल र इरानबीच युद्ध सुरु भएयता हालसम्म ३६५ अमेरिकी सैनिक घाइते भएका छन् । अमेरिकी रक्षा मन्त्रालयको सैन्य शाखाले सार्बजनिक गरेको विवरण अनुसार स्थलसेनातर्फ सबैभन्दा धेरै २४७ जना घाइते भएका छन् भने नौसेनाका ६३ जना प्रभावित भएका छन् । त्यसैगरी, मरीन समूहका १९ जना र वायुसेनाका ३६ जना सैनिक घाइते भएका विवरणमा उल्लेख छ । यस युद्धमा हालसम्म १३ जना अमेरिकी सैनिकको ज्यान गएको पनि पुष्टि गरिएको छ ।
१४- पोखराको फेवाताल किनारमा रहेका मापदण्ड विपरीतका अस्थायी संरचनामा भत्काउन शुरु गरिएको छ । शनिबार बिहानैदेखि फेवा तालको ६५ मिटर भित्र पर्ने अस्थायी संरचनामा डोजर लगाएर भत्काउन शुरु गरिएको हो । फेवा किनारमा रहेको पर्यटन व्यवसायी कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्टको स्विमिङ पुल, गेट र पर्खालहरू पनि भत्काइएका छन् । संरचना भत्काउन नेपाल प्रहरी, नगर प्रहरी र सशस्त्र परिचालन गरिएको छ । पोखरा महानगरले पनि यसअघि अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाउने गरेको थियो ।
पछिल्लो समय सर्वोच्चको आदेशपछि प्रदेश सरकारसँगको समन्वयमा ताल किनारमा पोल गाड्ने काम सकिएको छ । अहिले ६५ मिटरको सीमाना छुट्याउने काम चलिरहेको छ । बालेन शाह प्रधानमन्त्री बनेपछि पोखरा महानगरका प्रमुख धनराज आचार्यसँग टेलिफोन कुराकानी गर्दै फेवा तालको अतिक्रमित संरचना बारे चासो लिएका थिए । बालेन सरकारले सार्बजनिक गरेको १०० बुँदे कार्यक्रमको बुँदा नम्बर ७६ मा फेवा किनारको अतिक्रमित संरचना हटाएर जलाधार क्षेत्रलाई व्यवस्थापन गर्ने उल्लेख रहेको छ । यसैबीच पोखरा महानगरले फेवा ताल संरक्षणको विषयमा हालसम्म भएको प्रगति विवरण प्रधानमन्त्री कार्यालयलाई बुझाएको छ ।
१५- अर्थ मन्त्रालयले वृद्ध भत्ता पाउने उमेरको विषयमा चलेका टिका टिप्पणीप्रति कुनै सत्यता नभएको स्पष्ट गरेको छ । सामाजिक सञ्जाल र मिडियामा वृद्ध भत्ता पाउने उमेर ७० बर्षबाट ७५ गर्न सरकारले निर्णय गरेको भन्ने हल्ला चलेपछि अर्थ मन्त्रालयले त्यसमा कुनै सत्यता नभएको जानकारी दिएको हो । अर्थ मन्त्रालयले भनेको छ- ‘बृद्ध भत्ता पाउने उमेर बारे भएका टिका टिप्पणीहरुमा कुनै सत्यता छैन । यस सन्दर्भमा मन्त्रालय र मन्त्रीले कुनै छलफल समेत नगरेको स्पष्ट पार्न चाहन्छौं ।’ हाल ७० बर्ष उमेर पुगेका नागरिकले मासिक ४ हजार बृद्ध भत्ता पाउने गर्दछन् ।
१६- कलाकार सागर लम्साल ‘बले’ पक्राउ परेका छन् । काठमाडौँको बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले पुष्टि गरेको छ । उनीमाथि अमेरिकामा रहँदै आएकी एक युवतीले बलात्कार आरोप लगाएकी थिइन् । एक वर्ष अघि अमेरिकामै लम्सालले बलात्कार गरेको ती युवतीले सामाजिक सञ्जालमार्फत आरोप लगाएकी थिइन् । सामाजिक सञ्जालमा युवतीको पोष्टपछि उनलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई दबाब परेको थियो ।
१७- युएईको अबुधाबीमा इरानी मिसाइल तथा ड्रोनलाई हवाई प्रतिरक्षा प्रणालीले नष्ट गर्दा खसेको भग्नावशेषका कारण सात नेपालीसहित १२ जना घाइते भएका छन्। अबुधाबी मिडिया अफिसका अनुसार अजबान क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीले क्षेप्यास्त्र र मानवरहित हवाई वाहन (ड्रोन) लाई बिचैमा नष्ट गरेपछि खसेको भग्नावशेषका कारण १२ जना घाइते भएका थिए । घाइतेमध्ये एक नेपाली नागरिक गम्भीर घाइते भएका छन् भने अन्य छ नेपाली र पाँच जना भारतीय नागरिक सामान्य रहेको उल्लेख छ ।
घटनामा कुल सात नेपाली घाइते भएका थिए । अबुधाबी प्रशासनले आपतकालीन टोली परिचालन गरी प्रभावित क्षेत्रमा पुगेर घाइतेहरूलाई तत्काल चिकित्सा सहायता प्रदान गरेको उल्लेख गरेका छन् । युएई रक्षा मन्त्रालयले हवाई रक्षा प्रणालीले मिसाइल र ड्रोनको खतरालाई निषेध गरेको पुष्टि गरेको छ । रक्षा अभियानका क्रममा केही क्षेत्रमा ठूलो आवाज सुनिएको मन्त्रालयले बताएको छ ।
१८- हर्क साम्पाङले श्रम संस्कृति पार्टीले उपसभामुखमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत साम्पाङले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा पार्टीले उम्मेदवारी दिने बताएका हुन् । उनले लेखेका छन्, ‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाइ दिइसक्यौँ अब उपसभामुख चयनको निर्वाचन हुँदैछ ! हामी महिला उम्मेद्वार खडा गर्दैछौँ ! हेरौँ नयाँले नयाँलाई भोटहाल्छ कि उही पुरानालाई ! ७ भोट आउँछ कि १८९ ?’सभामुखमा रास्वपा उपसभापति डिपी अर्याल निर्बिरोध निर्वाचित भइसकेका छन् भने अब उपसभामुखमा संबिधान अनुसार फरक दलको महिला उम्मेदवार हुनु पर्ने संबैधानिक व्यवस्था रहेको छ ।
१९- अल नासरले साउदी प्रो लिग अन्तर्गत अल नाजमामाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल नाजमालाई ५-२ गोल अन्तरले पराजित गरेको हो । इन्जुरी पछि मैदानमा फर्किएका क्रिस्टियानो रोनाल्डोले यस खेलमा २ गोल गरेका थिए । त्यस्तै साडियो माने र अब्दुल्लाह अल हाम्दानले एक गोल गरेका थिए । यस खेलमा गरेको दुई गोलसहित रोनाल्डोको क्यारियर गोल संख्या ९६६ पुगेको छ ।
त्यस्तै अल नाजमाका लागि राक्न राजेह अलतुलायही र फेलिप कारडोसोले एक एक गोल गरेका थिए । यो जितपछि अल नासरको साउदी लिगमा २७ खेलमा ७० अंक भएको छ र शिर्ष स्थानमा कायम छ । त्यस्तौ अल नाजमको भने २७ खेलमा ८ अंक मात्र रहेको छ ।
२०- स्थानीय तह र प्रदेश सरकार मातहतका सम्पूर्ण कार्यालयहरुलाई तीन दिनभित्र स्वीकृत दरबन्दीको विवरण उपलब्ध गराउन निर्देशन दिइएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्राचार गर्दै स्थानीय तह र प्रदेश सरकार मातहतका सम्पूर्ण कार्यालयहरुलाई तीन दिनभित्र स्वीकृत दरबन्दीको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । मन्त्रालयले सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा एकीकृत जन्शाकित प्रक्षेपण तयार गर्न देशका सबै स्थानीय तह र प्रदेशसँग दरबन्दी विवरण मागेको बताएको छ ।
मन्त्री प्रतिभा रावलले स्थानीय तहहरूमा लामो समयदेखि निमित्तकै भरमा प्रशासन सञ्चालन हुँदै आएको प्रति अभियान नै चलाएर कर्मचारी पठाउने प्रक्रिया शुरु गरेकी छन् । उनले ढिलासुस्ती, जिम्मेवारीमा अस्पष्टता तथा सेवा प्रवाहमा कमजोरी देखिन नहुने भन्दै सरकारले खटाएको स्थानमा नजाने कर्मचारीलाई मार्ग प्रशस्त गर्न समेत चेतावनी दिएकी छन् ।