काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित भएको छ । पाटन उच्च अदालतले निर्वाचन स्थगित गर्न अन्तरिम आदेश जारी गरेपछि महासंघको निर्वाचन समितिले अर्को सूचना नभएसम्म निर्वाचन स्थगित भएको जानकारी दिएको हो । समितिले अदालतको आदेसको सम्मान गर्दै अर्को सूचना नभएसम्म यसअघि सार्बजनिक गरिएको निर्वाचनका सबै कार्यक्रम स्थगित भएको जनाएको छ ।
महासंघले यही चैत्र २९ र ३० मा ६०औँ वार्षिक साधारणसभासहित नयाँ कार्यसमितिको निर्वाचन गर्ने तयारी गरिरहेको थियो । महासंघको वस्तुगततर्फको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले नेउवा महासंघमा अवैधानिक ढंगबाट सदस्य थपिएको भन्दै निर्वाचसहितको वार्षिक साधारण रोक्न माग गर्दै उच्च अदालतमा दायर रिटमा न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालले अन्तरिम आदेश जारी गर्दै तत्काल निर्वाचनसहितको वार्षिक साधारणसभा रोक्न आदेश दिएको थियो ।
२- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपसभामुख बन्न लागेको रुबी कुमारी ठाकुरलाई अब तिमि पुरै देशको भएको बताउदै जन्मदातालाई नबिर्सिन आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै साम्पाङले असल काम गरेर देखाएपछि आफुले बधाई दिने भन्दै अब पुरै देशको बन्ने र जरालाई नबिर्सिन सुझाव दिएका हुन् । उनले भनेका छन्- ‘बधाइ दिनेछैन म तिमीलाई किनकि असल काम गरेर देखाए पछि मात्रै म बधाइ दिने गर्छु ! कार्यकाल भरि पार्टीकी रहनेछैनौ अब ! तिमी पूरै देशकी बन्नेछौ ! आफ्नो जन्मदातालाई कहिल्यै नभुल्नु ! जरालाई बिर्सने वृक्ष सुकेर जानेछ !’
३- नयाँ शैक्षिक सत्र वैशाख १५ बाट र विद्यालयहरुमा पठनापाठन बैशाख २१ गतेबाट हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मन्त्रिपरिषद्को चैत २२ गतेको निर्णय अनुसार परिवर्तित शैक्षिक सत्र एवं सार्वजनिक बिदा अनुसार विद्यालयहरुलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न सर्कुलर जारी गरेको छ । केन्द्रले विद्यालयहरूलाई नयाँ शैक्षिक सत्रअनुसार वार्षिक कार्ययोजना निर्माण गर्न, कार्यतालिका निर्माण गर्न, विद्यालय सुधार योजना निर्माण गर्न, शिक्षकको पेशागत क्षमता विकासका कार्य गर्न र विद्यार्थी सिकाइ उपलब्धि सुधारसम्बन्धी योजना निर्माण गर्न अनुरोध गरेको छ । यसअघि सरकारले वैशाख १ बाट सुरु गरेर भर्ना अभियान चलाउने गर्दथ्यो भने निजी विद्यालयहरुले त्यसभन्दा पहिलेदेखि नै शैक्षिक सत्र सुरु गर्ने गरेका थिए । अबदेखि भने सरकारी र निजी दुवै विद्यालयमा एकै समयमा नयाँ शैक्षिक सत्र संचालन गर्न, सो अघि विद्यार्थी भर्ना नगर्न र एक पटक भर्ना भएपछि भर्ना शुल्क समेत नलिन सरकारले स्पष्ट निर्देशन दिएको छ ।

४- सरकारले राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त गरेको छ । सरकारले आयोगको सदस्यमा अर्जुनजंग थापा, प्रा. डा. सञ्जय आचार्य, डा. देवेन्द्र गौचन, रेशु अर्याल, प्रा. डा. सुदन झा र डा. पुकार मल्ललाई नियुक्त गरेको हो । आयोगको उपाध्यक्षमा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गुणकर भट्टलाई नियुक्त गरेको छ ।

५- अमेरिका र इरानबीच युद्धविराम घोषणा भए पनि होर्मुज जलडमरूमध्यमा जहाज आवागमन अझै ठप्पजस्तै बनेको छ । पछिल्लो २४ घण्टामा त्यहाँबाट केवल १ वटा तेल बोक्ने जहाज र ५ वटा मालवाहक जहाज मात्र आवतजावत गरेको विवरण सार्वजनिक भएको छ । यसअघि दैनिक करिब १४० जहाज आवतजावत गर्ने उक्त मार्ग फेब्रुअरी अन्त्यतिर द्वन्द्व सुरु भएपछि निकै प्रभावित बनेको हो । अहिले पनि स्थिति सामान्य हुन सकेको छैन । यता इरानले अमेरिका विरुद्ध युद्धविरामका मुख्य सर्त उल्लंघन गरेको आरोप लगाएको छ । इरानी संसदका सभामुख मोहम्मद बाकेर गालिबाफले अमेरिका द्वारा प्रस्तावित १० बुँदे सहमतिका आधारभूत सर्त तोडिएको बताएका छन् । इरानले वार्ताको आधार नै कमजोर भइसकेको भन्दै अहिलेको अवस्थामा वार्ता वा युद्धविरामको औचित्य नरहेको स्पष्ट पारेको छ । अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको सहमति पूर्ण रूपमा कार्यान्वयन नभएसम्म अमेरिकी सेना सो क्षेत्र वरिपरि तैनाथ रहने बताएका छन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै सहमति उल्लंघन भए पुनः झडप सुरु हुन सक्ने र त्यसको प्रभाव अझ ठूलो र विनाशकारी हुन सक्ने बताएका छन् । साथै उनले यस्तो अवस्था आउन सक्ने सम्भावना कम भए पनि अमेरिका पूर्ण तयारीमा रहेको जनाएका छन् । युद्धविरामपछि अमेरिका र इरानका प्रतिनिधिवार्ताका लागि पाकिस्तान पुग्ने क्रममा रहेका छन् ।

६- प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन आग्रह गरेका छन् । भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आज आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहलाई सम्बोधन गर्दै उहाँले करिब ३६ महिनाको कठिन प्रशिक्षण सफलतापूर्वक पूरा गरी अधिकृत पद प्राप्त गर्न सफल क्याडेटहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । प्रधानमन्त्री शाहले मातृभूमि र जनताप्रति पूर्ण समर्पित भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै सैनिक आचरण, ‘चेन अफ कमान्ड’ र अनुशासनको दायराभित्र रही सदैव आफ्नो कर्तव्यप्रति सजग रहनुपर्नेमा जोड दिनुभयो । फरक सामाजिक पृष्ठभूमिका जवानहरूको नेतृत्व गर्दै एकीकृत र सक्षम टोली निर्माण गर्न नवआयुक्त अधिकृतहरू सफल हुने विश्वास व्यक्त गरेका थिए । सो समारोहमा प्रधानमन्त्री शाहले उत्कृष्ट अधिकृत क्याडेटहरूलाई श्रेष्ठताको प्रतीक खुकुरी तथा छडी प्रदान गर्दै पुरस्कृत गरेका थिए । प्रधानमन्त्री शाहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा एक सय ८३ जना अधिकृत क्याडेटहरूले आयुक्त पद प्रदान कवाज प्रदर्शन गरेका थिए ।
७- नेपाल पुलिस क्लबले जारी पीएम कप अन्तर्गत कर्णाली प्रदेशलाई पराजित गरेको छ । विहिबार पर्सामा सम्पन्न खेलमा पुलिस क्लबले कर्णाली प्रदेशलाई ४८ रनले पराजित गरेको हो । पुलिस क्लबले दिएको २६२ रनको लक्ष्य पछाएको कर्णालीले ४५.२ ओभरमा अल आउट हुदै २१३ रन बनाएको थियो । कर्णालीका लागि अर्जुन घर्तिले सर्बाधिक ४६ रन बनाए भने सुनिल धमलाले ३४, विपिन रावलले २८ रनको योगदान दिएका थिए । त्यस्तै पुलिस क्लबका बलर ललित राजबंशीले ५ विकेट लिए भने करण केसीले ३ विकेट लिएका थिए । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको पुलिस क्लबले ५० ओभरमा ८ विकेट गुमाउदै २६१ रन बनाएको थियो । पुलिसका लागि दिनेश खरेलले सर्बाधिक ८२ रन बनाएका थिए भने अमित श्रेष्ठले ३०, कप्तान आरिफ सेखले २७ रन बनाएका थिए । यो जितपछि पुलिस क्लबको ७ खेलमा ९ अंक भएको छ र तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै कर्णाली प्रदेशको भने ८ खेलमा ३ अंक रहेको छ र नवौं स्थानमा छ । त्यस्तै विहिबार सम्पन्न अर्को खेलमा आर्मीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १५१ रनको लक्ष्य पछाएको आर्मीले २०.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । आर्मीको जितमा कप्तान विनोद भण्डारीले शतकीय पारी खेलेका थिए भने कुशल मल्लले २६ रन बनाएका थिए । यसअघि पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३८.१ ओभरमा अल आउट हुदै १५० रन बनाएको थियो । सुदूरपश्चिमका लागि नारायण जोशीले सर्बाधिक ६३ रन बनाएका थिए भने अभिषेक पलले २४ रन बनाएका थिए । त्यस्तै आर्मीका बलर बसिर अहमदले ५ विकेट लिए भने शहाब आलमले २ विकेट लिएका थिए । यो जितपछि त्रिभुवन आर्मीको ७ खेलमा १३ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै सुदूरपश्चिमको भने ८ खेलमा १० अंक रहेको छ र दोस्रो स्थानमा छ ।
८- संघीय संसदको चालु अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम सरकारको सिफारिशमा चैत २७ गते शुक्रबार राती १२ बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका हुन् । फागुन २१ गते सम्पन्न निर्वाचनपछि चैत्र १९ गतेदेखि चालु अधिवेशन बोलाइएको थियो । सरकारले छिट्टै बजेट अधिवेशन बोलाउन चालु अधिवेशन अन्त्यको सिफारिस गरेको बताइएको छ ।
९- प्रधानमन्त्री बालेन शाहले स्वास्थ्य मन्त्री निशा मेहतालाई सचेत गराएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्य बीम बोर्डको सदस्यमा निष्क्रिय रहेकी श्रममन्त्री दीपककुमार साहकी पत्नीलाई पुन: सक्रिय बनाएको भन्दै मन्त्री मेहतालाई सचेत गराएका हुन् । यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारी निर्वाह गर्दा अपेक्षित गम्भीरता नदेखाएको भन्दै रास्वपा सभापति रवि लामिछानेले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराउन प्रधानमन्त्री शाहसमक्ष गरेको सिफारिसका आधारमा मन्त्री मेहतालाई सचेत गराएका हुन् ।
१०- प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साह पदबाट हटाएका छन् । मन्त्री बनेको १४ दिनमै विभिन्न विवादमा परेपछि प्रधानमन्त्री बालेनले साहलाई पदमुक्त गरेका हुन् । साहलाई मन्त्रीमा नियक्ति गरेपछि उनीविरुद्ध एमबीबीएसमा नाम निकाल्दिने भनेर पैसा उठाएको अभियोगमा पक्राउ पुर्जी जारी भएको र उनकी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डको सदस्यमा पुन: सक्रिय गराइएको विषय विवादित बनेका थिए ।
विवाद उठेपछि रास्वपामा पनि मन्त्री साह बारे प्रश्न उठेको थियो । सभापति रवि लामिछानेले मन्त्री शाहको विषयमा प्रश्न उठेको भन्दै उनलाई जिम्मेवारीबाट अलग गर्न प्रधानमन्त्री बालेनलाई पत्र नै लेखेका थिए । साथै सभापति लामिछानेले आफ्नो जिम्मेवारीमा गाम्भीर्यता नदिएको भन्दै स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत गराउन समेत पार्टीबाट प्रधानमन्त्रीलाई सिफारिस गरेका थिए ।
११- नेप्सेमा वृद्धि भएको छ । आज विहिबार नेप्से ४८.७१ अंकले बढेर २८५१. २४ विन्दुमा पुगेर रोकिएको छ । आज ३३८ कम्पनिका २ करोड ७९ लाख ३१ हजार ७७० कित्ता शेयर ९ अर्ब ९१ करोड ९२ लाख १० हजार २११ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, आत्मनिर्भर लघुवित्त, रिलायन्स स्पिनिग मिल्स, भुजुङ हाइड्रो, रिज लाइन हाइड्रो, सोलु हाइड्रो र होटल फोरेस्ट इनको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सुपर खुदी र सुर्यकुण्ड हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी एनआइसी एशिया ब्यालेन्स फण्डको शेयर ६.७४ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी नेशनल हाइड्रोको ४३ करोड ४७ लाख बराबर कारोबार भएको छ भने रिढी पावरको ४१ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।
१२- उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुरले उम्मेदवारी दर्ता गरेकी छन् । सिंहदरबारस्थित संसद सचिवालय पुगेर रुबीले उपसभामुखमा उम्मेदवारी दर्ता गरेकी हुन् । रुबीलाई सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित नेपाली काँग्रेस, एमाले र नेकपाको समर्थन रहेको छ । यसअघि उपसभामुखमा राप्रपाकी सरस्वती लामाले पनि उम्मेदवारी दर्ता गराएकी छन् ।
१३- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैरकानुनी रुपमा १३ दिनसम्म नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएको बताएका छन् । विहिबार हाजिरी जमानीमा रिहा भएपछि सामाजिक सञ्जालमा लेख्दै ओलीले सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः रिहा भएको बताएका हुन् । उनले भनेका छन्- ‘मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरु, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु। साथै, परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु ।’
प्रहरी नियन्त्रणमा रहँदा मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र मेरो स्वास्थ्योपचारमा तल्लीन त्रिवि शिक्षण अस्पताल परिवारप्रति ओलीले कृतज्ञता व्यक्त गरेका छन् । उनले आफ्नो रिहाईको माग गर्दै प्रदर्शनका क्रममा घाइते भएकाहरको उपचार खर्च राज्यले बेहोर्नु पर्ने, यसमा राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने बताएका छन् । साथै प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गराउने ओलीले जानकारी गराएका छन् ।
१४- इरानसँग जोडिएको युद्धका कारण विश्वभर खाद्य संकट झन् गहिरिने चेतावनी अन्तर्राष्ट्रिय निकायहरूले दिएका छन् । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रको विश्व खाद्य कार्यक्रमले संयुक्त वक्तव्य जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । वक्तव्यमा तेल, प्राकृतिक ग्यास र मलको मूल्य तीव्र रूपमा बढ्दा खाद्य वस्तुको मूल्यसमेत महँगो हुने र सर्वसाधारणको पहुँच भोजनसम्म झन् कठिन बन्ने उल्लेख गरिएको छ । ती निकायहरूले मध्यपूर्व क्षेत्रमा भइरहेको द्वन्द्वले केवल त्यही क्षेत्र मात्र नभई विश्वभरका मानिसको जीवन र जीविकामा असर पारिरहेको बताएका छन् । खाद्य, इन्धन र मल आपूर्तिमा आएको अवरोधको सबैभन्दा ठूलो असर कमजोर वर्गमा पर्ने, विशेषगरी कम आय भएका र आयातमा निर्भर देशहरूमा यसको प्रभाव बढी देखिने जनाइएको छ । यदि वर्तमान अवस्था यथावत रहेमा विश्वव्यापी रूपमा खाद्य संकट अझै गहिरिने र महँगीको दबाब निरन्तर बढ्ने चेतावनीसमेत दिइएको छ ।
१५- अमेरिका र इरानबीच हुने उच्चस्तरीय वार्ताअघि पाकिस्तानले इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा घोषणा गरेको छ । जिल्ला प्रशासनले राति ढिलो सूचना जारी गर्दै आज र भोलिका लागि बिदा लागू गरिएको जनाएको हो । बिदाको कारण स्पष्ट नखुलाइए पनि यसलाई सुरक्षा तयारीसँग जोडेर हेरिएको छ । प्रशासनका अनुसार उक्त निर्णय केवल इस्लामाबाद राजधानी क्षेत्रमा मात्र लागू हुनेछ ।
आगामी शुक्रबार इस्लामाबादमा अमेरिका र इरानबीच उच्चस्तरीय वार्ता हुँदैछ । ह्वाइट हाउसका अनुसार अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले अमेरिकी टोलीको नेतृत्व गर्नेछन् । यसअघि पनि ठूला कूटनीतिक कार्यक्रमअघि इस्लामाबादमा सुरक्षा कारण देखाउँदै यस्ता कदम चालिँदै आएका छन् । यद्यपि, प्रहरी, अस्पताल, विद्युत् र ग्यासजस्ता अत्यावश्यक सेवाहरू भने नियमित रूपमा सञ्चालन हुने जनाइएको छ ।
१६- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखक रिहा भएका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार ओलीलाई अनुसन्धानका क्रममा आवश्यक परेका बेला उपस्थित हुने गरी हाजिरी जमानीमा उनकी पत्नी राधिका शाक्यको जिम्मा लगाएर रिहा गरिएको हो । पक्राउ परेदेखि ओली भने शिक्षण अस्पतालमा उपचारत रहेका छन् ।
१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको ४३ सयले घटेर तोलाको २ लाख ९४ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ९९ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५० रुपैयाँले घटेर ४८७५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५०२५ मा कारोबार भएको थियो ।
१८- युइएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल पिएसजीले लिभरपुलमाथि अग्रता हासिल गरेको छ । गएराती सम्पन्न आफ्नै घरेलु मैदानमा सम्पन्न क्वाटरफाइनलको पहिलो लिग खेलमा पिएसजीले लिभरपुललाई २-० गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा डिजायर डोउ र खभिचा कभाराटखेलियाले एक एक गोल गरेका थिए । अब दोस्रो लिग भने अप्रिल १५ मा लिभरपुलको घरेलु मैदानमा हुने छ ।
त्यस्तै गएराती सम्पन्न अर्को खेलमा क्वाटरफाइनलमा एटलेटिको म्याड्रिडले बार्सिलोनामाथि अग्रता लिएको छ । गएराती बार्सिलोनाको घरेलु मैदानमा सम्पन्न क्वाटरफाइनलको पहिलो लिगमा एटलेटिको म्याड्रिडले २-० को जित हासिल गरेको हो । एटलेटिको म्याड्रिडको जितमा जुलियन अल्भारेज र एलेक्जेन्डर सोरलोथले एक एक गोल गरेका थिए । त्यस्तै यस खेलमा खेलको ४४औं मिनेटमा पाउ कुबार्सीले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो । अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १५ मा एटलेटिको म्याड्रिडको घरेलु मैदानमा हुने छ ।
१९- ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु भएको छ । दुवैको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–६ घर भई हाल ललितपुरको इमाडोल बस्ने ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय सृजन नेम्बाङ रहेका छन् । बुधबार साँझ उनीहरूमाथि चक्कु प्रहार भएको थियो । दुई पक्षमा विवाद हुदा चक्कु प्रहार भएको र दुवै जनाको पेटमा गहिरो चोट लागेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको जनाएको छ ।
२०- बंगलादेशको संसदले बुधबार कडा कानुन पारित गर्दै पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी आवामी लिगमाथि लगाइएको प्रतिबन्धलाई कानुनी मान्यता दिएको छ । अब उक्त पार्टीलाई औपचारिक रूपमा प्रतिबन्धित संगठन घोषणा गरिएको छ । गृह मन्त्री सलाहुद्दीन अहमदले संसदमा विधेयक प्रस्तुत गर्दै यो कानुन ‘नरसंहार र आतङ्ककारी गतिविधिमा संलग्न’ संस्थामाथि कारबाहीका लागि ल्याइएको बताए । उनले प्रत्यक्ष रूपमा आवामी लिगको नाम नलिए पनि कानुन सोही पार्टी लक्षित रहेको स्पष्ट देखिएको छ । यो व्यवस्था यसअघि लागू गरिएको आतङ्कवादविरुद्धको ऐनमा संशोधन गरेर ल्याइएको हो ।
नयाँ कानुन लागू भएसँगै आवामी लिगको निर्वाचन आयोगमा रहेको दर्ता स्थायी रूपमा खारेज हुने भएको छ । अब पार्टीले चुनावमा भाग लिन पाउने छैन भने कुनै पनि राजनीतिक गतिविधि सञ्चालन गर्न पनि प्रतिबन्ध लगाइएको छ । साथै, पार्टीको समर्थनमा सामाजिक सञ्जाल वा सञ्चारमाध्यममा अभिव्यक्ति दिनु, जुलुस निकाल्नु वा भाषण गर्नु पनि अपराध मानिने व्यवस्था गरिएको छ । यस विधेयकको संसदभित्रैबाट समेत विरोध भएको छ । प्रमुख विपक्षी जमात–ए–इस्लामीका नेता शफीकुर रहमानले विधेयकमाथि थप छलफलका लागि समय माग गरेका थिए । प्रधानमन्त्री तारिक रहमान नेतृत्वको बंगलादेश नेशनालिष्ट पार्टी (बीएनपी) ले दुई तिहाई बहुमत ल्याएपछि आफ्नो पुरानो प्रतिद्वन्दी दल आवामी लिगमाथि प्रतिबन्ध लगाउने कानुन ल्याएको आरोप लगाइएको छ । अन्तर्राष्ट्रिय स्तरमा पनि यस कदमको आलोचना सुरु भएको छ ।
संयुक्त राष्ट्रका मानवअधिकार अधिकारीहरूले ठूलो राजनीतिक दललाई पूर्ण रूपमा प्रतिबन्ध लगाउनु लोकतन्त्रका लागि उपयुक्त नभएको टिप्पणी गरेका छन् । संवैधानिक विज्ञहरूले समेत यस्तो निर्णयले लोकतान्त्रिक प्रणालीमा नकारात्मक असर पार्न सक्ने बताएका छन् । यसैबीच, शेख हसिना हाल भारतमा शरण लिइरहेकी छन्। बंगलादेशको एक विशेष अदालतले उनको अनुपस्थितिमै मानवताविरुद्धको अपराधमा मृत्युदण्ड सुनाइसकेको छ । नयाँ सरकार बनेपछि पुराना सत्तासँग नजिक रहेका व्यक्तिमाथि पनि कारबाही तीव्र पारिएको छ । हालै पूर्व सभामुख शिरीन शर्मिन चौधरीलाई समेत हत्या प्रयासको आरोपमा पक्राउ गरिएको छ ।