काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेन्सन प्रमाणीकरण प्रणालीको औपचारिक सुरुवात गरेका छन् । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. वाग्लेले महालेखा नियन्त्रकको कार्यालयले तयार पारेको पेन्सन प्रमाणीकरण प्रणाली उद्घाटन गरेका हुन् । यो प्रणाली लागू भएसँगै अब देशभरका करिब साढे तीन लाख पेन्सनकर्ताले भोग्दै आएको झन्झट हट्ने मन्त्रालयले जनाएको छ ।
विशेष गरी पेन्सन नवीकरण गर्न र बैंक छनोट गर्न भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता अब योसँगै अन्त्य हुने भएको छ । नयाँ व्यवस्था अनुसार पेन्सनकर्ताले घरमै बसेर अनलाइनमार्फत सेवा लिन सक्नेछन् । यसबाट सरकारले तिर्दै आएको वार्षिक करिब १५ करोड रुपैयाँ बराबरको बैंक कमिसनसमेत घटेर शून्य नजिक पुग्ने अपेक्षा गरिएको छ । साथै नगद प्रवाह व्यवस्थापन सहज हुने र ढुकुटीमा पर्ने दबाब नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । यस प्रणालीले पेन्सन गणनामा हुने मानवीय त्रुटि पनि घटाउने बताइएको छ । करिब ३ लाख ५२ हजारभन्दा बढी पेन्सनकर्ता (निष्क्रियसहित) यसबाट लाभान्वित हुनेछन् । यसअघि भने पेन्सनकर्ताले बैंक छनोट गर्न निवृत्तभरण व्यवस्थापन कार्यालयमै पुग्नुपर्ने र हरेक वर्ष बैंकमै गएर खाता नवीकरण गर्नुपर्ने बाध्यता थियो । साथै पेन्सन रकम र कर गणना म्यानुअल रूपमा हुने हुँदा त्रुटि र ढिलाइको समस्या देखिने गरेको थियो ।
२- प्रतिनिधिसभातर्फको संसदीय सुनुवाइ समिति गठन भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डिपी अर्यालले प्रस्तुत गरेको संसदीय सुनुवाइ समिति गठनको प्रस्ताव स्वीकृत भएको हो । समिति सदस्यहरूमा अर्जुननरसिंह केसी, कविन्द्र बुर्लाकोटी, गजला समिम मिकरानी, चन्दन कुमार सिंह, पद्मा कुमारी अर्याल, बोध नारायण श्रेष्ठ, भिष्मराज आङ्देबे, मधु चौलागाईं, रञ्जु दर्शना, राजीव खत्री, डा. लेखजंग कार्की र वर्षमान पुन रहेका छन् । समितिको सभापतिको निर्वाचन भने वैशाख ४ मा हुनेछ ।
३- परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका विदेश तथा बाह्य व्यापार मन्त्री डीएन धुङ्गेलसँग भेटवार्ता गरेका छन् । शुक्रबार मौरिससको पोर्ट लुइसमा मन्त्री खनाल र भुटानका विदेशमन्त्री धुङ्गेलबीच भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो । भेटमा नेपाल र भुटानबीचको घनिष्ठ सम्बन्धलाई पुनः पुष्टि गर्दै आपसी हितका प्रमुख क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खनाल आज र भोलीसम्म मौरिससमा हुने इण्डियन फाउन्डेसनले आयोजना गरेको नवौं पश्चिमी हिन्द महासागर सम्मेलनमा सहभागी हुन विहिबार त्यहाँ पुगेका थिए ।

४- उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबी कुमारी विजयी भएकी छन् । रुबी कुमारीलाई प्रतिनिधि सभाको उपसभामुख निर्वाचित गरियोस भन्ने प्रस्तावको पक्षमा २२९ परेको छ । त्यस्तै विपक्षमा २२ मत परेको छ भने तटस्थमा २२ मत परेको थियो । मतदानमा २५६ सांसद सहभागी भएका थिए ।

५- बलात्कार आरोप लागेका कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा भएका छन् । अमेरिकामा अध्ययनरत एक युवतीले बलात्कारको आरोप लगाएपछि सागरलाई प्रहरीले चैत्र २१ गते पक्राउ गरेको थियो । उनीविरुद्ध कुनै उजुरी नपरेपछि प्रहरीले अभद्र व्यवहारको कसुरमा थुनामा राखेको थियो । उनलाई चैत्र २२ गते पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिएको भएपनि शुक्रबार प्रहरीले हाजिरी जमानीमा रिहा गरेको छ ।

६- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसदमा कोही पनि कसैको बहिनी र नातिनी नभएको बताउदै यस्तो सम्बोधन नगर्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा उपसभामुखका उम्मेदवारसमेत रहेका आफ्ना सांसद रुबी कुमारी ठाकुरलाई संसदमै ‘बहिनी’ भनेर सम्बोधन गरेपछि साम्पाङले कोहि बहिनी र नातिनी नभएको बताउदै त्यस्तो सम्बोधन नगर्न आग्रह गरेका हुन् । यो संसद जेनजी आन्दोलनको बलमा आएको हुनाले आफुहरुले उपसभामुख पदमा जेनजीलाई नै उम्मेदवार बनाएको भन्दै रुबी कुमारीले निष्पक्ष भएर आफ्नो भूमिका निभाउने विश्वास व्यक्त गरे ।
७- उपसभामुखमा उम्मेदवारी दिएकी राप्रपाकी सरस्वती लामाको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा भएको मतदानमा लामलाई उपसभामुखमा निर्वाचित गरियोस भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको हो । लामाको पक्षमा केवल ५ मत परेको थियो भने विपक्षमा २१५ मत परेको थियो । त्यस्तै तटस्थमा ३७ मत परेको सभामुख डिपी अर्यालले जानकारी दिएका थिए । मतदान प्रक्रियामा २५७ सांसद सहभागी भएका थिए ।
८- एपीएफ क्लबले जारी पीएम कप अन्तर्गत कोशी प्रदेशलाई पराजित गरेको छ । शुक्रबार जनकपुरमा सम्पन्न खेलमा एपीएफ क्लबले कोशी प्रदेशलाई ५ रनले पराजित गरेको हो । एपीएफले दिएको २२६ रनको लक्ष्य पछाएको कोशी प्रदेशले ४९.५ ओभरमा अल आउट हुदै २२० रन बनाएको थियो । कोशी प्रदेशका लागि अंकित सुबेदीले सर्बाधिक ७२ रन बनाएका थिए भने सुमन श्रेष्ठले ६५ रन बनाएका थिए । त्यस्तै एपीएफका बलर अभिषेक गौतमले ४ विकेट लिएका थिए भने रोहित पौडेलले २ विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको एपीएफले ४७.५ ओभरमा अल आउट हुदै २२५ रन बनाएको थियो । एपीएफका लागि सन्दीप जोराले सर्बाधिक ७२ रन बनाएका थिए भने सुमित महर्जनले ५७ रन बनाएका थिए ।
यो जितपछि एपीएफको ८ खेलमा ९ अंक भएको छ र पाँचौं स्थानमा उक्लिएको छ । त्यस्तै कोशी प्रदेशको भने ८ खेलमा यो सातौं हार हो । त्यस्तै आज सम्पन्न अर्को खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई ३५ रनले पराजित गरेको हो । बागमती प्रदेशले दिएको २०९ रनको लक्ष्य पछाएको मधेश प्रदेशले ३४.३ ओभरमा अल आउट हुदै १७३ रन मात्र बनाएको थियो । मधेशका लागि मयन यादवले सर्बाधिक ४० रन बनाएका थिए भने आदील आलमले २७ रन बनाएका थिए । त्यस्तै प्रतिस जिसीले ५ विकेट लिएका थिए भने रिजन ढकालले २ विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बागमती प्रदेशले ४८.४ ओभरमा अल आउट हुदै २०८ रन बनाएको थियो । बागमतीका लागि उत्तम मगरले ४४ रन बनाएका थिए भने सन्दीप लामिछानेले ३६ र रिंगजिन लामाले २९ रन बनाएका थिए । यो जितपछि बागमती प्रदेशको ८ खेलमा ८ अंक भएको छ र छैटौं स्थानमा रहेको छ । त्यस्तै मधेश प्रदेशको भने ७ खेलमा ९ अंक रहेको छ र चौथो स्थानमा रहेको छ ।
९- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीस्थित सवारी चालक अनुमतिपत्र कार्यालयमा भएको अनियमितता प्रकरणमा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका अनुसार तत्कालीन प्रशासन अधिकृत शंकर थापा, कम्प्युटर अपरेटर जगत ढकाल र बागलुङ गलकोटका हिमबहादुर बस्नेत थापा मिलेमतोमा संलग्न रहेको पाइएपछि विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको हो ।
अनुसन्धानका क्रममा हिमबहादुर बस्नेत थापाको नाममा ए र बी वर्गको पुरानो सवारी चालक अनुमतिपत्र जारी नभएको तथ्य हुँदाहुँदै सरकारी अभिलेखमा गैरकानुनी रूपमा विवरण सच्याएर नयाँ अनुमतिपत्र तयार गरिएको खुलेको छ। उनीहरूले विद्युतीय र कागजी अभिलेखमा हेरफेर गरी झुट्टा विवरण प्रविष्ट गर्दै २० वर्षसम्म मान्य रहने अनुमतिपत्र बनाएको आयोगले जनाएको छ । सोही आधारमा २०७८ चैत १५ गते अनुमतिपत्रको प्रतिलिपिसमेत उपलब्ध गराइएको पुष्टि भएको छ । आयोगले सरकारी अभिलेखमा किर्ते गरी भ्रष्टाचार गरेको निष्कर्षसहित तीनै जनालाई कानुनबमोजिम सजाय माग गर्दै मुद्दा दायर गरेको जनाएको छ ।
१०- परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । मौरिससमा शुक्रबार भएको भेटमा जयशंकरले मन्त्री खनाललाई नयाँ जिम्मेवारीका लागि बधाई दिएका थिए । भेटका क्रममा दुई देशबीच विभिन्न क्षेत्रमा अझ गहिरो सहकार्य गर्दै द्विपक्षीय सम्बन्धको पूर्ण सम्भावना उपयोग गर्ने विषयमा छलफल भएको थियो । परराष्ट्रमन्त्री शिशिर खनाल आज र भोलीसम्म मौरिससमा हुने इण्डियन फाउन्डेसनले आयोजना गरेको नवौं पश्चिमी हिन्द महासागर सम्मेलनमा सहभागी हुन विहिबार त्यहाँ पुगेका थिए ।
११- राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सत्तारुढ दल रास्वपाको प्रस्तावमै उपसभामुखमा उम्मेदवारी दिएको बताएका छन् । प्रतिनिधि सभामा उपसभामुखमा सरस्वती लामाको प्रस्ताव पेश गर्दै शाहीले नयाँ दल र पुराना दल एकै ठाउमा जोडिएको आरोप लगाउदै उपसभामुखमा अंक गणितको खेल भएको दाबि गरेका छन् । आफुहरु राजसंस्थाको पक्षमा रहेको स्पष्ट गर्दै उपसभामुख पद प्राप्त गर्न नलागेको तर रास्वपाबाट प्रस्ताव आएपछि मात्र आफुहरुले उम्मेदवारी दिएको स्पष्ट गरे । उनले युवा देशको उपसभामुख बन्न लागेकोमा राप्रपालाई कुनै आपत्ति नभएको बताउदै रास्वपाले दिएको धोकाका कारण आजको अवस्था आएको बताए । उनले उपसभामुखको निर्वाचनले राष्ट्रवादी शक्ति र आयातित व्यवस्थाबीच कित्ता काट भएको दाबि गरे । उनले असहमति हुदा हुदै पनि राष्ट्रका मुद्धाहरुमा सहकार्य गर्ने र राजनीतिमा आश्वासन र बोली जायज हुने रहेछ भन्ने सिकेको बताए ।
१२- मध्यपूर्वको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै गएपछि नेपाल आयल निगमले इन्धन बचत गर्न सर्वसाधारणसँग अपिल गरेको छ । निगमका अनुसार मूल्य समायोजन पूर्ण रूपमा गर्न नसक्दा आर्थिक घाटा अत्यधिक बढेको छ । यसले गर्दा इन्धन आपूर्ति प्रभावित हुने जोखिम समेत बढेको जनाएको छ । हाल निगमको वित्तीय अवस्था कमजोर बन्दै गएको र आपूर्ति शृंखला अवरुद्ध हुन सक्ने सम्भावना देखिएको छ । निगमले पछिल्लो पटक पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर १५ रुपैयाँ मात्रै मूल्य बढाएको थियो ।
तर खरिद मूल्यअनुसार समायोजन हुन नसक्दा पेट्रोलमा प्रति लिटर ३४ रुपैयाँभन्दा बढी, डिजेलमा १२० रुपैयाँभन्दा बढी र एलपी ग्यासमा प्रति सिलिन्डर ४ सय रुपैयाँभन्दा बढी घाटा भइरहेको जनाएको छ । सरकारले भन्सार महसुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिएपछि केही राहत भए पनि निगमलाई अझै दैनिक करिब ६८ करोड रुपैयाँ घाटा भइरहेको छ । पछिल्लो अन्तर्राष्ट्रिय मूल्य वृद्धिले भने घाटा बढेर दैनिक झण्डै ९३ करोड रुपैयाँ पुग्ने देखिएको निगमले जनाएको छ । यही अवस्थाका कारण निगमले पुनः मूल्य समायोजन गर्न बाध्य भएको छ । जसअनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ, डिजेल तथा मट्टितेलमा २५ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर १०० रुपैयाँ बढाइएको छ । निगमले इन्धन आपूर्ति नियमित राख्न हालै भारतीय आपूर्तिकर्तालाई २६ अर्ब ८६ करोड रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ भने आगामी किस्ताका लागि थप रकम व्यवस्थापन गर्नुपर्ने दबाब रहेको छ ।
निगमले विश्वका विभिन्न देशमा इन्धन संकटका कारण कडा उपायहरू लागू भइरहेको उदाहरण दिँदै नेपालमा भने स्थिति तुलनात्मक रूपमा राम्रो रहेको उल्लेख गरेको छ । तर संकट सामना गर्न सबै उपभोक्ताले इन्धन प्रयोगमा मितव्ययिता अपनाउनुपर्नेमा जोड दिएको छ । निगमका अनुसार यदि प्रत्येक सवारी चालकले दैनिक एक लिटर इन्धन बचत गर्न सकेमा राज्यलाई ठूलो आर्थिक बचत हुन सक्छ । त्यसैले इन्धन खपत घटाउनु नै अहिलेको अवस्थामा सबैभन्दा प्रभावकारी उपाय भएको भन्दै सहयोगका लागि आग्रह गरिएको छ ।
१३- राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सफल रुपमा निर्वाचन गरेपछि मुलुक लयमा फर्किएको बताएका छन् । शुक्रबार संघीय संसदको दुबै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अन्तरिमको मुख्य कार्यभार चुनाव गराउनु रहेको र त्यो शान्तिपूर्णरुपमा सफल भइसकेपछि मुलुक लयमा फर्किएको बताएका हुन् । उनले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिमक सरकारले गराएको निर्वाचनबाट होनाहार युवासहितको जनप्रतिनिधि निर्वाचित भएर नयाँ सरकार गठन भई काम शुरु गरिसकेको समेत बताए । उनले जनताको आकांक्षा पूरा गर्न नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माणमा जोड दिदै निर्माण भएका कानुनहरूको प्रभावकारी र परिणाममुखी कार्यान्वयन सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहने बताए ।
राष्ट्रपतिले भने- ‘जनताको चाहाना पूरा गर्न संसदले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ । निर्माण भएको कानुनको पनि प्रभावकारी र परिणाममुखी कार्यान्वयनको सुनिश्चितता सरकारले दिने छ भन्ने विश्वास दिलाउन चाहन्छु । न्यायपालिकाबाट छिटो, छरितो स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन हुन सक्यो भने मात्र परिवर्तनका लागि अमुल्य जीवन उत्सर्ग गर्ने सहीदहरुप्रति साँचो अर्थमा सम्मान हुनेछ ।’ उनले नयाँ सरकारले कार्य प्रारम्भ गरिसकेको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीप्रति युवा पुस्ताको आकर्षण, विश्वास, सहभागिता र नेतृत्व विकास भएको स्पष्ट सन्देश दिएको उल्लेख गर्दै जनताले उत्तरदायी र पारदर्शी शासन प्रणाली, प्रभावकारी सेवा प्रवाह, सबै तहमा भ्रष्टाचारको अन्त्य तथा सुशासनको स्थापना चाहेको बताएका थिए ।
१४- नेप्सेमा आज गिरावट आएको छ । आज शुक्रबार नेप्से १३.४६ अंकले घटेर २८३७.७७ विन्दुमा पुगेर रोकिएको छ । आज ३३५ कम्पनिका २ करोड १० लाख ८७ हजार ६२८ कित्ता शेयर ८ अर्ब ९९ करोड ३२ लाख ८० हजार ९६७ मा कारोबार भएको थियो । आज हाइड्रो र उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, भुजुङ हाइड्रो, सुपर खुदी, होटल फोरेस्ट इन र पाल्पा सिमेन्टको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, रिज लाइन इनर्जी, सुर्यकुण्ड हाइड्रो र शिखर पावरको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी एनआइसी एशिया ब्यालेन्स फण्डको शेयर ४.१७ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी नेशनल हाइड्रोको ५१ करोड ३२ लाख बराबर कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको ४३ करोड ५९ लाख बराबरको कारोबार भएको छ ।
१५- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसम्बन्धी श्रम स्वीकृति सम्बन्धी कार्य गर्ने प्रचार सामग्री हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । विभागले शुक्रबार सूचना प्रकाशित गर्दै विभागको कार्यालय प्रवेश गर्ने बाटोको वरपर तथा अन्य स्थानमा समेत रहेका केही साइबर सेन्टर, तालिम केन्द्र (इन्स्टिच्युट) तथा अन्य संस्थाहरूले ‘यहाँ श्रम गरिन्छ’ वा ‘श्रम स्वीकृति सम्बन्धी कार्य गरिन्छ’ वा ‘श्रम अनलाईन फारम भरिन्छ वा यस्तै अन्य ‘श्रम’ शब्दको प्रयोग गरी प्रचार-प्रसार गरी वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने, आकर्षण गर्ने, रकम असुल गर्ने वा बिचौलियाको रूपमा समेत कार्य गर्ने कार्य बन्द गर्न आग्रह गरेको हो ।
श्रम स्वीकृति सम्बन्धी कार्य प्रचलित कानुन बमोजिम वैदेशिक रोजगार विभाग तथा तोकिएका श्रम तथा रोजगार कार्यालयहरुबाट मात्र हुने व्यवस्था रहेकोमा सो काममा भ्रम श्रृजना गर्ने गरी हुने गरेका यस्ता लेखन तथा प्रसार तत्काल बन्द गर्न तथा उपरोक्त अनुसारको प्रचार प्रसार गर्ने बोर्ड, होडिङ बोर्ड, फ्लेक्स बोर्ड, भित्ते लेखन लगायतको सामाग्री चैत्र ३० गतेसम्म हटाउन सम्बन्धित सबै व्यवसायी, साइबर, संस्था तथा व्यक्तिहरूलाई यसै सूचनामार्फत निर्देशन दिएको छ । विभागले सो समयसम्म त्यस्ता बोर्ड नहटाएमा वैदेशिक रोजगार ऐन, २०६४ तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।
१६- प्रधानमन्त्री बालेन्द्र शाहले दुई नयाँ मन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार दीपक साहलाई बर्खास्त गरिएपछि खाली रहेको श्रममन्त्रीमा रामजी यादवलाई नियुक्त गरिएको छ । त्यस्तै सुरुदेखी नै प्रधानमन्त्रीले सम्हाल्दै आएको उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको जिम्मेवार भने गौरी कुमारी यादवलाई दिइएको छ । रामजी सप्तरी- २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन भने गौरी महोत्तरी- ४ बाट निर्वाचित भएकी हुन् । दुवैले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।
१७- अमेरिकी अन्तरिक्ष संस्था नासाले मानव अन्तरिक्ष उडान क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । नासाका अनुसार आर्टेमिस- २ मिशन सफल प्रक्षेपणपछि अहिले आफ्नो ऐतिहासिक यात्राको अन्तिम चरणमा पुगेको छ । नासाले जानकारी दिँदै अन्तरिक्षयानले चन्द्रमाको परिक्रमा पूरा गरिसकेको र अब पृथ्वी फर्किने क्रममा रहेको जनाएको छ । यसको समुद्रमा अवतरण (स्प्ल्यासडाउन) शनिबार प्रशान्त महासागरमा हुने अपेक्षा गरिएको छ । नासाले अन्तरिक्षयात्रीहरूलाई पृथ्वीमा पुनः स्वागत गर्न उत्साहित रहेको जनाएको छ । यो मिशन पाँच दशकभन्दा बढी समयपछि पृथ्वीको तल्लो कक्षाभन्दा बाहिर मानवको पुनः प्रवेशको प्रतीक मानिएको छ ।
मिशनका क्रममा चार सदस्यीय टोलीले करिब २ लाख ४८ हजार ६ सय ५५ माइल दूरी पार गर्दै नयाँ कीर्तिमान बनाएको छ। टोलीमा रीड वाइजम्यान, भिक्टर ग्लोभर, क्रिस्टिना कोच र जेरेमी ह्यानसेन रहेका छन्। यात्राको सबैभन्दा टाढाको बिन्दुमा उनीहरू करिब २ लाख ५२ हजार ७ सय ५६ माइलसम्म पुगेका थिए, जसले अघिल्लो अपोलो- १३ को कीर्तिमानलाई उछिनेको छ । अधिकारीहरूका अनुसार यो १० दिनको मिशन गहिरो अन्तरिक्षमा रकेट र अन्तरिक्षयानको क्षमता परीक्षणका लागि सञ्चालन गरिएको हो ।
चन्द्रमाको नजिकबाट यात्रा गर्नु भविष्यका अभियानका लागि महत्वपूर्ण चरण मानिएको छ । नासाका अधिकारीले यस उपलब्धिले अन्तरिक्ष अन्वेषणमा नयाँ सीमाहरू पार गर्ने प्रतिबद्धता झल्काएको बताएका छन् । अन्तरिक्षयानबाटै एक सदस्यले यो सफलताले पुराना अन्तरिक्षयात्रीहरूको योगदानलाई सम्मान गर्दै नयाँ युगको सुरुवात गरेको उल्लेख गरेका छन् । आर्टेमिस- २ मिशनलाई चन्द्रमामा दीर्घकालीन मानव उपस्थितिको लक्ष्यतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
१८- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको २२ सयले बढेर तोलाको २ लाख ९६ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ९४ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ८५ रुपैयाँले बढेर ४९६० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४८७५ मा कारोबार भएको थियो ।
१९- चार वर्षदेखि जारी रुस-युक्रेन युद्धबीच फेरि एकपटक नयाँ मोड आएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अचानक घोषणा गर्दै युक्रेनमा ३२ घण्टाका लागि अस्थायी युद्धविराम लागू गर्न आदेश दिएका छन् ।
यो निर्णय अर्थोडक्स इस्टर पर्वको अवसरमा लागू गरिने बताइएको छ । क्रेमलिनका अनुसार युद्धविराम शनिबार साँझ ४ बजेदेखि सुरु भई आइतबार रातिसम्म जारी रहनेछ । यस अवधिमा सबै मोर्चामा सैन्य गतिविधि रोक्न निर्देशन दिइएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले इस्टरको समयमा आक्रमण रोक्न आग्रह गरेपछि यस्तो कदम चालिएको जनाइएको छ । उनले विशेषगरी ऊर्जा संरचनामा आक्रमण नगर्न प्रस्ताव गरेका थिए, जुन अमेरिका मार्फत अघि बढाइएको थियो ।
रुसले घोषणा गरेको युद्धविराम युक्रेनको मागभन्दा केही व्यापक रहेको जनाएको छ । सबै दिशामा लडाइँ पूर्ण रूपमा रोक्न सैनिकलाई निर्देशन दिइएको भए पनि कुनै उक्साहट आएमा जवाफी कारबाही गर्न तयार रहन भनिएको छ ।
क्रेमलिनले युक्रेनले पनि यसलाई पालना गर्ने अपेक्षा व्यक्त गरेको छ । यसअघि पनि इस्टर वा अन्य पर्वका बेला यस्ता अस्थायी युद्धविराम घोषणा भएका थिए । गत वर्ष पनि करिब ३० घण्टाको युद्धविराम गरिएको थियो, तर छिट्टै उल्लंघन भएको भन्दै दुवै पक्षले एकअर्कालाई आरोप लगाएका थिए । पश्चिमी देशहरूको मध्यस्थतामा भइरहेका शान्ति प्रयासमा अहिलेसम्म ठोस प्रगति हुन सकेको छैन । अमेरिका र युक्रेनले ३० दिनको लामो युद्धविराम प्रस्ताव गरे पनि रुसले स्वीकार गरेको छैन । रुसले स्थायी समाधानका लागि समग्र द्वन्द्वको दीर्घकालीन समाधान आवश्यक रहेको बताउँदै आएको छ । हाल करिब ८ सय माइल लामो मोर्चामा युद्ध जारी छ र कुनै पक्षले निर्णायक अग्रता हासिल गर्न सकेको छैन ।
२०- लखनउ सुपर जाइन्टले जारी आइपिएलमा कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लखनउले कोलकोतालाई ३ विकेटले पराजित गरेको हो । कोलकोताले दिएको १८२ रनको लक्ष्य पछाएको लखनउले २० ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । लखनउका लागि आयुष बदानी र मुकुल चौधरीले ५४-५४ रन बनाएका थिए भने एडन मार्क्रमले २२ रन बनाएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ४ विकेट गुमाउदै १८१ रन बनाएको थियो । कोलकोताका लागि अंगक्रिश रघुबंशीले सर्बाधिक ४५ रन बनाए भने कप्तान आजिख्य रहानेले ४१, रोमन पावेलले ३९ र क्यामरुन ग्रीनले ३२ रन बनाएका थिए । यो जितपछि लखनउको ३ खेलमा ४ अंक भएको छ भने कोलकोताले ४ खेलमा तेस्रो हार बेहोरेको छ ।