काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेपालले जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा घरेलु टोली रुवाण्डालाई पराजित गरेको छ । बुधबार सम्पन्न खेलमा नेपालले रुवाण्डालाई २ विकेटले पराजित गरेको हो । रुवाण्डाले दिएको ८९ रनको लक्ष्य पछाएको नेपालले १९.४ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
नेपालको जितमा सम्झना खडकाले ४८ रन बनाएकी थिइन् । यसअघि पहिला ब्याटिंग गरेको रुवाण्डाले १९.४ ओभरमा अलआउट हुदै ८८ रन मात्र बनाएको थियो । यो जितपछि नेपालको ३ खेलमा दोस्रो जितसहित ४ अंक भएको छ भने रुवाण्डाको ४ खेलमा ४ अंक रहेको छ । अब नेपालले अर्को खेल अप्रिल २४ मा भानुआटुमा, अप्रिल २६ मा अमेरिकासँग, अप्रिल २८ मा रुवाण्डासँग, अप्रिल ३० मा भानुआटुसँग र मे १ मा इटालीसँग खेल्ने तालिका रहेको छ ।
२- प्रधानमन्त्री बालेन्द्र शाहले गृह मन्त्रालय तत्कालका लागि आफैसँग राखेका छन् । गृहमन्त्री सुदन गुरुङले राजीनामा दिएपछि प्रधानमन्त्री शाहले गृहमन्त्रालय आफैसँग राखेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा गृहमन्त्रालयको कार्यभार प्रधानमन्त्री बालेन्द्र शाहले सम्हाल्ने गरि तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । गृहमन्त्री गुरुङले सम्पत्ति विवरण र व्यावसायिक साझेदारी बारे चौतर्फी प्रश्न उठेपछि आजै राजीनामा दिएका थिए ।
३-राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा वैशाख १७ गते बिहीबारका दिन २ बजेदेखि संघीय संसद भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

४- होर्मुज जलडमरूमध्य क्षेत्रमा बुधबार कम्तीमा तीन जहाजमाथि गोलीबारी भएको छ । समुद्री सुरक्षासम्बन्धी स्रोत र बेलायतको समुद्री व्यापार निगरानी निकायले उक्त जानकारी दिएको हो । ओमानको उत्तर–पूर्व क्षेत्रमा लाइबेरियाको झण्डा बोकेको एक कन्टेनर जहाजमाथि गोलीबारीसँगै रकेट आक्रमण भएको जनाइएको छ । आक्रमणबाट जहाजको अगाडिको भागमा क्षति पुगे पनि चालक दलका सबै सदस्य सुरक्षित रहेको बताइएको छ । यसैगरी पनामाको झण्डा बोकेको अर्को जहाजमाथि पनि आक्रमण भएको छ । उक्त जहाज इरानबाट करिब ८ नटिकल माइल दूरीमा रहेको थियो । यो जहाज र त्यसमा सवार सबै सदस्य सुरक्षित रहेको जनाइएको छ । तेस्रो कन्टेनर जहाजमाथि पनि इरानबाट करिब ८ नटिकल माइल पश्चिमतर्फ गोलीबारी गरिएको थियो । होर्मुज क्षेत्रबाट बाहिरिँदै गरेको उक्त लाइबेरियाली जहाजमा भने कुनै क्षति नपुगेको जानकारी दिइएको छ ।

५- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी क्षेत्र सुधारका लागि चार्टर्ड एकाउन्टेन्टहरूसँग छलफल गरेकी छन् । मन्त्री रावलले बुधबार मन्त्रालयमा सहकारी नियमनकारी निकायका पदाधिकारी सहित आइक्यानका पदाधिकारीहरूसँग सहकारी संस्थाहरूमा देखिएका अनियमितता, अपारदर्शिता र वित्तीय अनुशासनको अभावलाई सुधार गर्न छलफल गरेकी हुन् ।

सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वासिलो बनाउन चार्टर्ड एकाउन्टेन्टहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले सुधारका लागि भूमिका निर्वाह गर्न मन्त्री रावलले आग्रह गरेकी छन् । मन्त्री रावलले सहकारी समस्या समाधानका लागि छलफल भइरहेको योजनामा सहयोग गर्न आग्रह गरिन । साथै मन्त्रालयले निकट भविष्यमै बचतकर्ताका रकम फिर्ता सुरु गर्न लागेकाले बचत फिर्ताको मोडालिटीका विषयमा समेत राय लिएकी छन् । छलफलमा सहभागी चार्टर्ड एकाउन्टेन्टस् संस्थाका अध्यक्ष निलबहादुर सारू मगर सहित सदस्यहरूले सहकारी क्षेत्रमा देखिएका चुनौती समाधान गर्न आफूहरू प्रतिबद्ध भएको उल्लेख गर्दै मन्त्रालयलाई आवश्यक सहयोग गर्न तयार भएको बताएका थिए ।
मन्त्री रावलसँग छलफलमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष खगराज शर्मा, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज आचार्य लगायतका पदाधिकारीहरु सहभागी थिए । यस्तै नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका तर्फबाट अध्यक्ष सारू मगर सहित सदस्यहरू आनन्दराज शर्मा वाग्ले, उमेशराज पाण्डे, अमन उप्रेती, हेमकुमार काफ्ले, हरिकुमार सिल्वाल, सुनिल देवकोटा, पीयुष आनन्द, भरतकुमार श्रेष्ठ, कलमणी लम्साल, प्रदिपकुमार यादव,कार्यकारी निर्देशक विमल डंगोल, निर्देशक किरणकुमार खत्री, सहनिर्देशक अस्मिता ढकाल सहभागी थिए । सरकारले पछिल्लो समय सहकारी क्षेत्रको सुधारलाई प्राथमिकतामा राख्दै विभिन्न सरोकारवालासँग छलफललाई तीव्रता दिएको छ ।
६- नेकपा एमालेका महासचिव शंकर पोखरेलले छोटो समयमै सार्वजनिक भइरहेका घटनाक्रमले आफूहरूले उठाएका आशंका क्रमशः सही सावित हुँदै गएको बताएका छन् । बुधबार च्यासलमा आयोजित नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ षड्यन्त्रपूर्ण भएको दोहोर्याउदै सरकारमा छोटो समयमै सार्वजनिक भइरहेका घटनाक्रमले आफूहरूले उठाएका आशंका क्रमशः सही सावित हुँदै गएको बताएका हुन् । उनले भदौ २४ गते भएको तोडफोड र विध्वंस योजनाबद्ध रूपमा गरिएको बताउदै पार्टीले त्यसबारेको धारणा जनतामाझ प्रभावकारी रूपमा पुर्याउन नसक्दा अहिलेको परिणाम भोग्नुपरेको दाबि गरेका छन् ।
उनले हालको राजनीतिक परिस्थितिमा जनताको जनादेशलाई सम्मान गर्दै विजयी पक्षलाई बधाई दिएको उल्लेख गर्दै सरकारले जनताका भावना अनुसार काम गर्नुपर्ने बताए । पोखरेलले सुशासनको विषय उठाउँदै एमालेका नेता–कार्यकर्तामाथि लगाइएका आरोपबारे निष्पक्ष छानबिन हुनुपर्ने बताए । उनले लामो समय सत्तामा रहेका एमाले नेताहरूको मात्र होइन, अहिले सरकारमा रहेका नेताहरूको सम्पत्तिको पनि जाँचबुझ गर्नुपर्ने धारणा राखे । तथ्यले एमालेका नेता–कार्यकर्ता इमान्दार रहेको देखाउने दाबी गर्दै पार्टीलाई बदनाम गर्न सुनियोजित रूपमा गलत सूचना फैलाइएको महासचिव पोखरेलको दाबि छ । प्रविधिको दुरुपयोगमार्फत जनमत प्रभावित पारिँदा एमाले जनताबाट टाढिएको उनको निष्कर्ष छ ।
७- सभामुख डोलप्रसाद अर्यालले संसदको आगामी बजेट अधिवेशनको कार्यतालिका निर्धारणबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग महत्वपूर्ण छलफल गरेका छन् । बुधबार सभामुख अर्यालले बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रारम्भिक छलफल, सरकारको नीति तथा कार्यक्रम र बजेटसँग जोडिएका आवश्यक व्यवस्थाबारे अर्थमन्त्री वाग्लेसँग परामर्श गरेका हुन् । आगामी अधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले यस्तो छलफल गरिएको सभामुखको सचिवालयले बताएको छ ।
८- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूकुम (पश्चिम) स्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा आर्थिक अनियमितता भएको ठहर गर्दै ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका अनुसार तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरि प्रसाद खनालसहितका पदाधिकारीले सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पुर्याउँदै रकम हिनामिना गरेका हुन् ।
आरोप दायर गरिएकामा विद्यालयका लेखापाल ठक बहादुर बुढाथोकी, कार्यालय सहायकद्वय रमा शाह र गौरी रावत केसी, मुसिकोट नगरपालिकाका शाखा अधिकृत बिनाराम खड्का र ऐ. कार्यालयका सूचना प्रविधि अधिकृत गोपाल ओली दाङ तुलसीपुर उप- महानगरपालिका, वडा नं. ६ बस्ने डिजिटल कम्प्युटर एण्ड इलेक्ट्रोनिक्स वर्ल्ड तुलसीपुर दाङका प्रोप्राइटर शिव प्रसाद श्रेष्ठ रहेका छन् । अनुसन्धानबाट आर्थिक वर्ष २०७८/७९ मा प्रविधिमैत्री कक्षा सञ्चालनका लागि खरिद गरिएको भनिएका सामग्री विद्यालयमा आपूर्ति नै नगरी करिब ४ लाख ८८ हजार रुपैयाँ भुक्तानी गरिएको खुलेको छ ।
साथै सूचना प्रविधिसम्बन्धी तालिम सञ्चालन नगरी झुट्टा बिल बनाएर थप २ लाख २० हजार रुपैयाँ खर्च देखाइएको पाइएको छ । यसैगरी विद्यालयको आन्तरिक आम्दानी तथा विद्यार्थीबाट उठाइएको शुल्कमध्ये ५४ हजारभन्दा बढी रकम बैंकमा दाखिला नगरिएको आरोप छ । अर्को तर्फ बेरुजु फर्छ्यौटका नाममा रकम निकालेर पुनः जम्मा गरी करिब २ लाख १२ हजार रुपैयाँ दुरुपयोग गरिएको र बिना प्रयोजन १ लाख रुपैयाँ निकालिएको पनि भेटिएको छ । समग्रमा करिब १० लाख ७५ हजार रुपैयाँभन्दा बढी रकम हिनामिना तथा दुरुपयोग भएको निष्कर्षसहित आयोगले सम्बन्धित कर्मचारी र पदाधिकारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।
९- यातायात व्यवस्था विभागले वृद्धि भएको भादादार विद्युतीय सवारी साधनमा लागु नहुने स्पष्ट गरेको छ । विभागले फागुन २५ मा अन्तर्राष्ट्रियस्तरमै जैविक इन्धनको मूल्यवृद्धि हुन गई स्वचालित भाडा समायोजन प्रणाली अनुरुप अन्तरप्रदेशीय सार्वजनिक सवारीसाधनको भाडा समायोजन गरिँदा यात्रुवाहक तथा मालवाहक सार्वजनिक सवारीसाधनको भाडामा भएको वृद्धि केवल डिजेल इन्जिन प्रयोग हुने सार्वजनिक सवारीसाधनको हकमा मात्रै भएको तर विद्युतीय सवारीसाधनको हकमा उक्त भाडा वृद्धि लागु नहुने स्पष्ट गरेको हो ।
विभागले कुनै कुनै विद्युतीय सवारीसाधन प्रयोग गर्ने यातायात सेवा प्रदायकबाट यात्रु ओसार-पसार गर्दा माथि उल्लेख भए अनुसार वृद्धि भएको भाडा असुलिएको साथै यात्रुलाई यात्री टिकट समेत नदिइएको गुनासो प्राप्त भएको हुँदा विद्युतीय सवारीसाधनको हकमा साविककै भाडादर कायम रहेको बताएको छ । साथै यातायात सेवा प्रदायकले यात्रुले भाडा तिरेको यात्री टिकट अनिवार्य रुपमा दिनुपर्ने प्रावधान रहेकोले सोही अनुसार गर्न निर्देशन दिदै त्यसको विपरित गरेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९; सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ तथा अन्य प्रचलित कानुन बमोजिमको कारवाही हुने चेतावनी दिएको छ ।
१०- नेप्से आज पनि गिरावट आएको छ । आज बुधबार नेप्से २.९५ अंकले घटेर २८०४.१७ विन्दुमा पुगेर रोकिएको छ । आज ३४२ कम्पनिका एक करोड ७५ लाख ८८ हजार ८५४ कित्ता शेयर ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार ३४२ मा कारोबार भएको थियो । आज बैंकिंग, फाइनान्स, लगानी, उतपादन र निर्जीव बीमा क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, पाल्पा सिमेन्टको शेयरमा १५ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ भने सुर्यकुण्ड हाइड्रो र शिखर पावरको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी होटल फरेस्ट इनको शेयर १०.७५ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी नेशनल हाइड्रोको ४१ करोड ३४ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिग मिल्सको ३२ करोड ७८ लाख बराबरको कारोबार भएको छ ।
११- नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालका कम्युनिष्ट आन्दोलनको पुनर्गठनको समय आएको बताएको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले अब नेपालको कम्युनिष्ट आन्दोलनको पुनर्गठन गर्ने समय आएको बताएका छन् । उनले चुनावको हारबाट आफु निराश नभएको बताउदै आफु नजिक निराश कुरा गर्ने मानिस मेरो नजिक नआए हुन्थ्यो भन्ने लागेको बताए ।
उनले भने- ‘मलाई आजकल निराशाको कुरा गर्ने मानिस मेरो नजिक नआए हुन्थ्यो जस्तो लाग्छ । तपाइँ हामीले सोचे भन्दा छिटो कम्युनिष्टको जन लहर आउनेवालाछ ।’ उनले सरकारको अवस्था देखेको भन्दै एकै उमेर समुहले मात्र चलाउन नसकिने दाबि गरे । उनले नेपो बेबी र नेपो किड्स भनेको पनि देखिएको भन्दै राम्रो दिन छिट्टै आउने बनाए । प्रचण्डले जनताले हामीलाई बहिष्कार होइन सबक सिकाएको बताउदै देशका लागि लडेको जनताले नबिर्सिएको बताए । उनले आफुहरु गणतन्त्रको लागि नलडेको भए अहिले सरकारमा आउने अवस्था बन्थ्यो भन्दै आफुहरुको योगदान नबिर्सिन सरकारलाई चेतावनी समेत दिएका छन् ।
१२- गृहमन्त्री सुदन गुरुङले राजीनामा दिएका छन् । गुरुङले आफ्नो सम्पत्ति विवाद बारे चौतर्फी प्रश्न उठेपछि राजीनामा दिएका हुन् ।
१३- इरान युद्धपछि इन्धन मूल्यमा आएको तीव्र वृद्धिका कारण युरोपको सबैभन्दा ठूलो विमान सेवा कम्पनी लुफ्थान्साले २० हजार उडान रद्द गर्ने निर्णय गरेको छ । कम्पनीले जनाएको अनुसार गर्मीयामको तालिकाअन्तर्गतका छोटो दूरीका उडानहरू कटौती गरिनेछ । युद्ध सुरु भएपछि जेट इन्धनको मूल्य झन्डै दोब्बर भएपछि यस्तो कदम चालिएको हो । यस निर्णयबाट कम्पनीको कुल सिट क्षमता करिब १ प्रतिशतले घट्ने अनुमान गरिएको छ । साथै करिब ४० हजार टन जेट इन्धन बचत हुने अपेक्षा गरिएको छ ।
१४- सांसदहरुले कूटनीतिक राहदानीको माग गरेपछि सभामुख डिपी अर्यालले विभिन्न दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । बुधबार सभामुख अर्यालले प्रतिनिधिसभामा सहभागी दलका प्रमुख सचेतकहरूसँगको छलफल गरेका हुन् । बैठक बारे जानकारी दिदै राप्रपाकी सांसद खुस्बु ओलीले प्रतिनिधिसभाका विभिन्न सदस्यहरूबाट कूटनीतिक राहदानीको माग भएकोले त्यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको जानकारी दिएकी छन् ।
राहदानी ऐन २०७६ तथा नियमावलीअनुसार दफा ६ मा विशेष सरकारी कार्यक्रम वा विशेष कार्यमा जाने तोकिएका पदाधिकारीहरूले मात्र कूटनीतिक राहदानी पाउने व्यवस्था रहेको भन्दै उनले अब आगमी दिनमा यसलाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल हुने बताइन ।
१५- सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को साधारण सदस्य समेत नरहने गरि छोडेका छन् । किराँतीले प्रलोपा छोडेको जानकारी गराएका हुन् । उनले करिब ५ महिनाको यस यात्रामा मार्गदर्शन गर्ने नेताहरू, हातेमालो गर्ने सम्पूर्ण साथीहरू तथा कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै यस अवधिमा प्राप्त अनुभवहरूलाई अमूल्य सम्पत्तिको रूपमा आत्मसाथ गरेको उल्लेख गरेका छन् ।
उनले संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भएपनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध यथावत् रहने विश्वास लिएको बताउदै उनले जनसमुदायको भरोसा र सहिदको अधुरो सपनालाई मुटुमा बोकेर जस्तोसुकै परिस्थिति आएपनि देश र जनताको सेवा, समर्पण र समाज रूपान्तरणको यात्राबाट पछि नहट्ने बताएका छन् । उनले आफ्नो आगामी बाटो सजिलो नहुने तर जनताको विश्वास र सहिदको बलिदानले देखाएको मार्गमा निरन्तर अघि बढिरहने बताएका छन् । किराँती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा आवद्ध हुने तयारी गरेको बताइएको छ ।
१६- अमेरिकाको मध्य तथा दक्षिण एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री समीर पाउल कपुरले नेपाल भ्रमण सम्पन्न गरेका छन् । भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटघाट गर्दै नेपाल-अमेरिका साझेदारी थप सुदृढ बनाउने विषयमा छलफल गरेका छन् । कपुरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गर्दै द्विपक्षीय सम्बन्ध विस्तार र व्यापारिक सहकार्य बढाउने विषयमा विचार आदान–प्रदान गरेका हुन् ।
भेटका क्रममा उनले आगामी ‘सेलेक्ट यूएसए लगानी सम्मेलन’ मा सहभागी हुने नेपाली टोलीसँग अमेरिकी लगानीका अवसरबारे जानकारी साझा गरेका थिए । साथै, नेपालमा विस्तार हुँदै गएको प्रविधि क्षेत्रलाई केन्द्रमा राख्दै अमेरिकी र नेपाली निजी क्षेत्रबीच सहकार्यका सम्भावना खोज्ने प्रयास पनि गरिएको जनाइएको छ । भ्रमणकै क्रममा कपुरले बौद्धनाथ स्तूप र पाटन दरबार क्षेत्रको अवलोकन गरेका थिए । यी सम्पदास्थल संरक्षणमा अमेरिकाले सहयोग गर्दै आएको बताइएको छ ।
१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ८ सयले घटेर तोलाको ३ लाख ५ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख १ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले घटेर ५१३० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५१६० मा कारोबार भएको थियो ।
१८- प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली मस्यौदा विवादमा परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुली नेतृत्वको मस्यौदा समितिले मंगलबार मस्यौदा सभामुख डोलप्रसाद अर्याललाई बुझाएसँगै यसभित्रका केही प्रावधान विवादमा परेका हुन् । मस्यौदा समितिका सभापति रास्वपाकै सांसद हुनु र नियमावलीका बुँदाहरूले फौजदारी अभियोग लागेका सांसदहरूलाई सहज हुने गरी बनाइएको पाइएपछि विवाद भएको हो । यस प्रावधानलाई रास्वपाका सभापति रवि लामिछानेलाई कानुनी कारबाहीबाट जोगाउने पहलका रूपमा बुझिएको छ ।
सभामुखलाई पेश गरिएको मस्यौदामा नियमावलीको नियम २५९ मा ‘नियमावली लागू हुने’ शीर्षकमा विशिष्ट व्यवस्था गरिएको छ । जसमा भनिएको छ, ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि सभा, समिति र सदस्यको हकमा यो नियमावली सङ्घीय कानूनको रूपमा रही विशेष कानून सरह लागू हुनेछ ।’ यो विशेष व्यवस्था पछि अब नियमावलीलाई नै ‘विशेष कानुन’ को रुपमा व्याख्या गरेर देशको कानुन भन्दा पनि माथि राखेको देखिएको छ । संसद्को विशेषाधिकारका रूपमा नियमावलीलाई राखेर फौजदारी कानुनको दायरालाई कमजोर बनाउन र अप्रत्यक्ष रुपमा रास्वपा सभापति रवि लामिछानेलाई सहज बनाउन खोजिएको विश्लेषण गरिएको छ ।
त्यस्तै नियम २४७ मा नियमको उपनियम (३) मा गम्भीर फौजदारी मुद्दा लागेका सांसदहरूको हकमा ‘पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा मात्र त्यस्तो अवधिभर सदस्य निलम्बनमा रहने’ व्यवस्था गरिएको छ । यस अनुसार कुनै सांसदमाथि गम्भीर अपराध वा ठगीको मुद्दा छ र उनी अदालतको आदेशले थुनामा नगई धरौटीमा वा अन्य कुनै कारणले बाहिरै रहे भने सांसद पदबाट निलम्बिनमा पर्ने छैनन् । हाल मुद्दाको सामना गरिरहेका रास्वपा सभापति रवि लामिछाने पक्राउ नपरेको वा थुनाबाहिरै रहेको अवस्थामा उनको सांसद पद र पार्टी नेतृत्व सुरक्षित राख्नकै लागि यो व्यवस्था गरिएको विपक्षीहरुको आरोप छ । त्यस्तै नियम २६१ मा संसद् वा समितिले गरेका कामकारबाहीलाई ‘आन्तरिक काम कारबाही’ मानिने र यस सम्बन्धमा कुनै पनि अदालतमा प्रश्न उठाउन नपाइने उल्लेख छ ।
सभामुखलाई बुझाइएको यो मस्यौदाप्रति नेकपा एमाले, नेकपाका केही समितिकै सदस्यहरूले असहमति जनाएका छन् । मुद्दा र राजनीतिक परिस्थितिलाई हेरेर नियमावलीमा व्यवस्था गर्नु गलत भएको भन्दै उनीहरुले कानुन सबैका लागि बराबर हुनुपर्ने बताएका छन् । रास्वपाका सांसद गणेश पराजुलीको संयोजकत्वमा बनेको मस्यौदा समितिमा सांसदहरु ओजश्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुश्बु ओली, गजाला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निष्कल राई, बलावती शर्मा, मधु चौलागाइँ, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादल र डा. सुलभ खरेल रहेका थिए ।
१९-नेपालले जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा घरेलु टोली रुवाण्डालाई पराजित गरेको छ । बुधबार सम्पन्न खेलमा नेपालले रुवाण्डालाई २ विकेटले पराजित गरेको हो । रुवाण्डाले दिएको ८९ रनको लक्ष्य पछाएको नेपालले १९.४ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा सम्झना खडकाले ४८ रन बनाएकी थिइन् । यसअघि पहिला ब्याटिंग गरेको रुवाण्डाले १९.४ ओभरमा अलआउट हुदै ८८ रन मात्र बनाएको थियो ।
यो जितपछि नेपालको ३ खेलमा दोस्रो जितसहित ४ अंक भएको छ भने रुवाण्डाको ४ खेलमा ४ अंक रहेको छ । अब नेपालले अर्को खेल अप्रिल २४ मा भानुआटुमा, अप्रिल २६ मा अमेरिकासँग, अप्रिल २८ मा रुवाण्डासँग, अप्रिल ३० मा भानुआटुसँग र मे १ मा इटालीसँग खेल्ने तालिका रहेको छ ।
२०- सनराइजर्स हैदरावादले जारी आइपिएलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले दिल्लीलाई ४७ रनले पराजित गरेको हो । सनराइजर्सले दिएको २४३ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउदै १९५ रन बनाएको थियो । दिल्लीका लागि नितिश रानाले सर्बाधिक ५७ रन बनाए भने समीर रिज्वीले ४१, केएल राहुलले ३७ रन बान्येका थिए ।
त्यस्तै सनराइजर्सका बलर इशान मालिंगाले ४ व्विकेट लिए भने हर्ष दुबेले ३ विकेट लिएका थिए । यसअघि पहिला ब्याटिंग गरेको सनराइजर्सले अभिषेक शर्माको १३५ रनको शतकीय पारीको मद्धतले २० ओभरमा २ विकेट गुमाउदै २४२ रन बनाएको थियो । यो जितपछि सनराइजर्सको ७ खेलमा ८ अंक भएको छ र तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै दिल्लीको भने ६ खेलमा ६ अंक रहेको छ ।