काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेपाली कांग्रेसले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानप्रति सबै राजनीतिक दल प्रतिबद्ध रहेको भन्दै यसको समाधान विधिको शासनको पूर्ण पालना गर्दै खोजिनुपर्ने जनाएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सुकुम्बासी समस्या कुनै एक दल वा समूहको मात्र नभई समग्र राष्ट्रको साझा समस्या भएको उल्लेख गर्दै आफ्नो प्रतिज्ञापत्रमार्फत यस विषयमा स्पष्ट दृष्टिकोण र समाधानका आधार सार्वजनिक गरिसकेको बताएको छ ।
कांग्रेसले सम्मानित अदालतका आदेश र विगतका संसदीय समितिका निर्णयलाई मार्गदर्शक मानेर सरकार अघि बढ्नुपर्ने धारणा राखेको छ। बल प्रयोगभन्दा अघि विवेकपूर्ण, न्यायोचित र मानवीय उपाय अपनाउन आवश्यक रहेको पार्टीको भनाइ छ । सबैभन्दा पहिले वास्तविक सुकुम्बासी को हुन् र को होइनन् भन्ने स्पष्ट पहिचान सुनिश्चित गर्नुपर्ने कांग्रेसले जनाएको छ।
वास्तविक सुकुम्बासीलाई जमिन र आवास उपलब्ध गराउनु केवल नीतिगत दायित्व मात्र नभई उनीहरूको मौलिक अधिकारको संरक्षणसँग जोडिएको संवैधानिक कर्तव्य भएको पार्टीको ठहर छ । यसपछि मात्रै सुकुम्बासीको नाममा गलत फाइदा लिनेहरूमाथि कानुनअनुसार कारबाही गर्ने बाटो खुल्ने कांग्रेसले उल्लेख गरेको छ । नेपाली कांग्रेसले आफ्नो दायित्व पूरा नगरी बल प्रयोगमार्फत समस्या समाधान खोज्नु शासन सञ्चालनको अपरिपक्व र अविवेकी शैली भएको भन्दै सरकारलाई संवेदनशीलता, कानुनी आधार र न्यायपूर्ण दृष्टिकोणका साथ दिगो समाधानतर्फ अघि बढ्न आग्रह गरेको छ ।
२- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार तेस्रो दिन पनि प्रतिव्यारेल १०० डलरभन्दा माथि कायम रहेको छ। यसले विश्व बजारसँगै आयातमा निर्भर देशहरूमा चिन्ता बढाएको छ । वैश्विक मापदण्ड ब्रेन्ट क्रुड शुक्रबार १ दशमलव ८ प्रतिशतले बढेर प्रतिव्यारेल १०१.२ डलर पुगेको छ। यसअघि बुधबार र बिहीबार पनि यसको मूल्य १०० डलरभन्दा माथि बन्द भएको थियो। अमेरिकी मापदण्ड डब्लुटिआई पनि १.८ प्रतिशतले बढेर प्रतिव्यारेल ९७.६ डलरमा कारोबार भएको छ । विश्लेषकहरूका अनुसार अमेरिका–ईरान तनाव अन्त्यतर्फ कुनै ठोस प्रगति नदेखिएकाले बजारमा अनिश्चितता कायम छ।

इजरायल–लेबनानबीच युद्धविराम अवधि थपिए पनि क्षेत्रीय तनाव अझै कम भएको छैन । होर्मुज जलडमरूमध्यमा जहाज नियन्त्रणमा लिने घटना र समुद्री सुरक्षामाथि उठेका प्रश्नहरूले पनि तेल आपूर्तिको चिन्ता बढाएको छ । तेलको मूल्य बढिरहँदा विश्व शेयर बजारमा मिश्रित प्रभाव देखिएको छ। जापान र हङकङका बजारमा सुधार देखिए पनि युरोपेली बजार भने दबाबमा रहेका छन् । विशेषज्ञहरूले कच्चा तेलको मूल्य लामो समयसम्म १०० डलरभन्दा माथि रहे भारतजस्ता आयातमुखी देशमा महँगी र व्यापार घाटाको दबाब थप बढ्न सक्ने बताएका छन् ।

३- पक्राउ परेका उद्योगी शेखर गोल्छालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले हिमालयन रिइन्स्योरेन्सका पूर्व अध्यक्ष समेत रहेका गोल्छालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । केन्द्रीय अनुसन्धान ब्यूरोले गोल्छालाई धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा उनलाई विहिबार पक्राउ गरेको थियो ।

४- नेपाली सेनाले पछिल्लो समय विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सेना तथा यसको नेतृत्वलाई लिएर फैलाइएका तथ्यहीन सूचना र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सेनाले यस्ता कपोलकल्पित र भ्रामक सामग्रीहरूले आम नागरिकमा भ्रम सिर्जना गर्ने भएकाले त्यस्ता सूचना प्रसारण नगर्न र नगराउन आग्रह गरेको छ ।
नेपाली सेनाले यस्ता उच्छृङ्खल तथा अराजक गतिविधिहरूको नियमित निगरानी भइरहेको पनि स्पष्ट पर्दै यस्ता कार्यमा संलग्न व्यक्तिहरू प्रचलित कानुनको दायरामा आउने भन्दै सेनाले चेतावनी दिएको छ । साथै, आम जनमानसलाई आधारहीन र द्वेषपूर्ण समाचार तथा टिप्पणीहरूमा विश्वास नगर्न अनुरोध गरिएको छ । आधिकारिक जानकारीका लागि नेपाली सेनाले जारी गर्ने प्रेस विज्ञप्ति, सामाजिक सञ्जाल, वेबसाइट तथा जनसम्पर्क तथा सूचना निर्देशनालयसँग समन्वय गर्न सेनाले आग्रह गरेको छ ।
५- नेपाली कांग्रेसले संसद अधिवेशनको बैठक नै नबस्दै पुनः स्थगित गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट आह्वान गरिएको अधिवेशन बैठक सञ्चालन हुनुअघि नै स्थगन गर्नु संसदीय परम्परा, अभ्यास र संवैधानिक नैतिकताको विपरीत भएको निष्कर्ष निकालेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।
कांग्रेसले संसदीय शासन प्रणालीको मूल आधार कार्यपालिका संसद्प्रति उत्तरदायी हुने सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै संसदलाई स्वतन्त्र विमर्श र निर्णय गर्ने सर्वोच्च जनप्रतिनिधिमूलक संस्था मानिनुपर्ने बताएको छ। बैठक नै नबस्दै स्थगन गर्नुले संसदलाई कार्यपालिकाको सुविधा अनुसार चल्ने ‘औजार’ का रूपमा प्रस्तुत गर्ने गम्भीर जोखिम पैदा गरेको उसको भनाइ छ । पार्टीले “विशेष कारण” जस्तो अस्पष्ट आधारमा संसद स्थगन गर्नु र नागरिकलाई स्पष्ट जानकारी नदिनु सरकारको पारदर्शिता र नियतमाथि प्रश्न उठाउने विषय भएको जनाएको छ।
यस्तो प्रवृत्तिले नागरिकको सुसूचित हुने अधिकारमाथि आघात पुग्ने र जनआवाजलाई सीमित गर्ने प्रयास हुने कांग्रेसको ठहर छ। आर्थिक चुनौती, सुशासनका समस्या तथा जनजीविकासँग जोडिएका विषयमा संसदमा हुने छलफलबाट सरकार पन्छिन खोजेको आरोप लगाउँदै कांग्रेसले यसले लोकतन्त्रको नियन्त्रण र सन्तुलनको आधार कमजोर बनाउने चेतावनी दिएको छ। नेपाली कांग्रेसले अविलम्ब संसद बैठक सञ्चालन गर्न, स्थगनका वास्तविक कारण सार्वजनिक गर्न र संसदप्रति सरकारको पूर्ण जवाफदेहिता सुनिश्चित गर्न माग गरेको छ। अन्यथा संसदलाई प्रभावहीन बनाउने प्रयासविरुद्ध सदन र सडक दुवैबाट सशक्त आवाज उठाइने चेतावनी पनि दिएको छ।
६- नेकपा एमालेको प्रमुख सचेतकमा ऐनबहादुर महरलाई मनोनयन गरिएको छ । प्रतिनिधिसभामा एमाले संसदीय दलका नेता रामबहादुर थापाले महरलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन् । एमालेको सङ्घीय संसदीय दलको विधान २०७७ बमोजिम आजदेखि लागू हुनेगरी महरलाई प्रतिनिधि सभाको प्रमुख सचेतकमा मनोनयन गरिएको हो । महर गत फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा बझाङबाट प्रत्य्क्ष निर्वाचित भएका थिए । त्यस्तै सचेतकमा निता घतानीलाई मनोनयन गरिएको छ ।
७- प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँका नदी किनारमा वर्षौँदेखि जोखिमपूर्ण अवस्थामा बसिरहेका परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले हरेक वर्ष बाढीका कारण हजारौँ मानिसले ज्यान जोगाउन घर–सामान छोडेर भाग्नुपर्ने अवस्था दोहोरिँदै आएको उल्लेख गर्दै अब यो समस्या आगामी वर्षका लागि थाती नराखिने बताएका हुन् ।
प्रधानमन्त्री शाहले नागरिकलाई डुबान र जोखिमयुक्त क्षेत्रमा बस्न बाध्य बनाउनु अधिकारको संरक्षण नभई जीवनसँग खेलबाड भएको बताएका छन् । उनका अनुसार सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्नु नै राज्यको दायित्व र नागरिकको अधिकार हो । उनले नदी तथा खोला किनारमा रहेका अव्यवस्थित बस्तीका कारण ढल निकास प्रणाली निर्माणमा अवरोध पुगेको, उपत्यका फोहोर बन्दै गएको र नदीहरू दुर्गन्धित भइरहेको पनि बताएका छन् । यस्ता बस्तीको व्यवस्थापनले काठमाडौँको ढल निकास प्रणाली सुधार गर्न सहयोग पुग्ने उनको भनाइ छ ।
थापाथली, गैरीगाउँ, मनोहरा लगायत नदीकिनारका जोखिमपूर्ण बस्तीलाई बल प्रयोग नगरी, मानवीयता कायम राख्दै सुरक्षित रूपमा स्थानान्तरण गरिने प्रधानमन्त्री शाहले स्पष्ट पारे । उनले आफूले उम्मेदवार हुँदा गरेको प्रतिबद्धता, पार्टीको वाचापत्र र सरकारका १०० प्राथमिक कामअन्तर्गत सुकुम्बासी व्यवस्थापन तथा सरकारी जग्गा अतिक्रमण रोक्ने योजना बिर्सिएको नभई त्यसको कार्यान्वयनका लागि तयारी भइरहेको बताए । प्रधानमन्त्री शाहले काठमाडौँका खोला किनारका बासिन्दा र देशभरका वास्तविक सुकुम्बासीको समस्या फरक रहेको उल्लेख गर्दै अतिक्रमणकारी र वास्तविक सुकुम्बासी छुट्याएर आवश्यक प्रक्रिया पूरा गरी जग्गा वितरण गरिने बताए । उनले वर्षौँ पुरानो सुकुम्बासी समस्या यही सरकारले स्थायी रूपमा समाधान गर्ने दाबी गरेका छन् ।
उनले भनेका छन्- ‘ काठमाडौँका खोला किनार बाहेक अरू हजारौँ परिवार छन्, जो वास्तवमै पीडित छन्। अनि देशभर लाखौँ सुकुम्बासी छन्। त्यहाँको र यहाँको समस्या बिल्कुलै फरक हो। हामी सरकारमा छौँ; अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ । देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौँ। वर्षौँ पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ। ढुक्क हुनुहोस् ।’
८- नेपाली राष्ट्रिय क्रिकेट टिमका खेल्दि आदिल आलम बारामा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् । बाराको बम नहर रोड अन्तर्गत थलही पुलमा शुक्रबार उनी सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनालगत्तै मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सरोज कुमार यादव घटनास्थल पुगेर घाइते अन्सारीको उद्धारमा सहयोग गरेका थिए । अन्सारीलाई तत्कालै उद्धार गरी उपचारका लागि वीरगञ्जस्थित न्युरो अस्पताल पुर्याइएको थियो । अस्पताल भर्ना गरिएका अन्सारीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको पारिवारले जानकारी दिएको छ ।
९- नेपाली कांग्रेस संसदीय दलको नेता चयनको निर्वाचन स्थगित गरिएको छ । शुक्रबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा चार सदस्यीय कार्यदल बनाइएपछि तत्कालका लागि संसदीय दलको नेताको निर्वाचन स्थगन गरिएको हो । कार्यसम्पादन समिति बैठकबाट शर्माको नेतृत्वमा दुई उपसभापति र दुई महामन्त्री रहेको कार्यदल बनाइएको छ । अब कार्यदलले सर्वसम्मतिको पहल गर्ने र सहमति हुन नसकेपाची निर्वाचनमा जाने निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले जानकारी दिएका छन् । यसअघि कांग्रेसको आजै संसदीय दलको निर्वाचन गर्ने तयारी गरिएको थियो । जस अनुसार विहिबार नै मतदाता नामावली सार्बजनिक समेत गरिएको थियो ।
१० -नेपाल प्रहरीले सुकुम्बासी तथा भूमिहीन व्यवस्थापन प्रक्रियामा वास्तविक लाभग्राहीलाई न्याय दिलाउन सबैलाई सजग हुन आग्रह गरेको छ । प्रहरीले नेपाल सरकारले सञ्चालन गरेको सुकुम्बासी तथा भूमिहीन व्यवस्थापन प्रक्रिया उज्ज्वल भविष्य, सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिश्चित गर्ने महत्वपूर्ण पहल भएको जनाएको छ। प्रहरीले भनेको छ- ‘ नेपाल सरकारले सुरु गरेको सुकुम्वासी / भूमिहीन व्यवस्थापन प्रक्रिया तपाइँहरुकै उज्ज्वल भविष्य सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिश्चित गर्नका लागि सञ्चालन गरिएको महत्वपूर्ण पहल हो ।
यसको मुख्य उद्देश्य वास्तविक सुकुम्वासी/ भूमिहीनहरू पहिचान गरी न्यायोचित आवास तथा अधिकार प्रदान गर्नु रहेको छ ।’ यस प्रक्रियाको मुख्य उद्देश्य वास्तविक सुकुम्बासी तथा भूमिहीनको पहिचान गरी उनीहरूलाई न्यायोचित आवास र अधिकार उपलब्ध गराउनु रहेको प्रहरीले स्पष्ट पारेको छ । तर केही स्वार्थी तथा पहुँचवाला व्यक्तिहरूले वास्तविक सुकुम्बासीको नाम र अधिकारको दुरुपयोग गर्दै अनुचित लाभ लिन खोजिरहेको भन्दै प्रहरीले चिन्ता व्यक्त गरेको छ ।
यस्ता गतिविधिका कारण वास्तविक सुकुम्बासी तथा भूमिहीनहरू अवसरबाट वञ्चित हुनुका साथै राज्यबाट प्राप्त हुने सेवा–सुविधाबाट समेत टाढा रहनुपर्ने अवस्था सिर्जना भइरहेको जनाएको छ । प्रहरीले नक्कली सुकुम्बासी तथा भूमिहीनको पहिचान गर्न र आफ्नो हक मिच्ने व्यक्तिविरुद्ध सचेत रहन आग्रह गरेको छ । वास्तविक सुकुम्बासी तथा भूमिहीनहरू एकजुट भएर राज्यले अघि बढाएको व्यवस्थापन कार्यमा सहयोग गर्न, सुरक्षा निकायलाई समयमै सही सूचना दिन तथा सहकार्य गर्न पनि प्रहरीले अनुरोध गरेको छ। प्रहरीका अनुसार नागरिकको सानो सहयोगले वास्तविक पीडितको न्याय, अधिकार र सुरक्षित आवाससहितको भविष्य सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।
११- जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी अन्तर्गतको खेलमा नेपाल भानुआटुसँग पराजित भएको छ । शुक्रबार सम्पन्न खेलमा नेपाल भानुआटूसँग २२ रनले पराजित भएको हो ।भानुआटुले दिएको ९८ रनको लक्ष्य पछाएको नेपाल १५.३ ओभरमा अलआउट हुदै ७५ रन मात्र बनाएको थियो । यसअघि भानुआटुले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर ९७ रन बनाएको थियो ।
यो हारपछि नेपालले ४ खेलमा २ जित र २ खेलमा हार बेहोरेको छ । त्यस्तै यसअघि लगतार तीन खेलमा हार बेहोरेको भानुआटुले पहिलो जित हासिल गरेको छ । रुवाण्डा क्रिकेट संघले आयोजना गर्ने पहिलो आइसीसी महिला च्यालेन्ज ट्रफी अप्रिल १८ देखि मे २ सम्म हुदैछ । यस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टोलीहरूमा अमेरिका क्षेत्रबाट संयुक्त राज्य अमेरिका, एसियाबाट नेपाल, युरोपेली क्षेत्रबाट इटाली, पूर्वी एसिया-प्रशान्त क्षेत्रबाट भानुआटु र अफ्रिकाबाट आयोजक रुवान्डा रहेका छन् । नेपालले अर्को खेल अप्रिल २६ मा अमेरिकासँग, अप्रिल २८ मा रुवाण्डासँग, अप्रिल ३० मा भानुआटुसँग र मे १ मा इटालीसँग खेल्ने तालिका रहेको छ ।
१२- नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज शुक्रबार नेप्से १.५४ अंकले बढेर २७८८.७० विन्दुमा पुगेर रोकिएको छ । आज ३५१ कम्पनिका एक करोड २१ लाख ७४ हजार ५१६ कित्ता शेयर ५ अर्ब २७ करोड ३ लाख ९९ हजार ७२७ मा कारोबार भएको थियो । आज फाइनान्स, लगानी, बीमा माइक्रो फाइनान्स, म्युचुअल फण्ड, निजिव बीमा, अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, पाल्पा सिमेन्ट, शिखर पावर र माइ खोला हाइड्रोको शेयर शेयरमामा सकरात्मक सर्किट लागेको छ । त्यस्तै आज सबैभन्दा बढी प्राइम डिभेन्चारको शेयर ४.५९ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी रिढी पावरको २७ करोड ३८ लाख र रिलायन्स स्पिनिग मिल्सको २४ करोड ९२ लाख बराबरको कारोबार भएको छ ।
१३- नेकपा एमालेले सुकुम्बासी बस्तीहरू जबर्जस्ती तथा बलपूर्वक हटाउन लागेकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । एमालेले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारको यस्तो कदमले नेपालको संविधानद्वारा सुनिश्चित गरिएका मौलिक अधिकार, मानवताका आधारभूत मूल्य, सामाजिक न्यायका सिद्धान्त तथा अन्तर्राष्ट्रिय मानवअधिकारका आधारभूत मापदण्डहरूको प्रत्यक्ष उल्लंघन गरेको ठहर गरेको उल्लेख गरेको छ ।
एमालेले भनेको छ- ‘गरिब, विपन्न तथा सुकुम्बासी समुदायमाथि गरिएको अमानवीय र असंवेदनशील व्यवहारप्रति हाम्रो पार्टी कडा आपत्तिसहित घोर भर्त्सना प्रकट गर्दछ । सुकुम्बासी समस्या सामाजिक, आर्थिक, सांस्कृतिक र ऐतिहासिक पृष्ठभूमिसँग गाँसिएको जटिल विषय भएकाले यसलाई बलपूर्वक हटाउने उपायबाट समाधान गर्न खोज्नु दिगो र न्यायोचित हुन सक्दैन।’
एमालेले बल प्रयोग, राज्यको संस्थागत धम्की तथा संवादविहीन एकपक्षीय निर्णयहरू मानवीय तथा कानुनी दुवै दृष्टिले अनुपयुक्त र आपत्तिजनक रहेको बताएको छ । यसको न्यायोचित र दीर्घकालिन समाधानका लागि राष्ट्रिय भूमि आयोगको गठन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन, नापजाँच र जग्गा वितरण प्रक्रिया अगाडि बढाइएको विषय पनि स्मरण गराउदै भनेको छ- ‘जबरजस्ती विस्थापन अन्तिम विकल्प हुनसक्दैन् । प्रभावित व्यक्ति र परिवारसँग पूर्वपरामर्श, वैकल्पिक आवासको सुनिश्चितता, क्षतिपूर्ति, पुनर्वास तथा पुनस्र्थापना, बालाबलिका, महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका संवेदनशील समुदायको विशेष संरक्षण गर्नु सरकारको प्रथम दायित्वभित्र पर्छ । नेपालको संविधान र कानुनी व्यवस्थाको सम्मान गर्न हामी आह्वान गर्दछौं ।’
१४- अमेरिकाको अर्को युद्धपोत मध्यपूर्व नजिक पुगेको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्ड सेन्टकमका अनुसार अमेरिकाको विमानवाहक युद्धपोत यूएसएस जर्ज एचडब्ल्यू बुश मध्यपूर्व क्षेत्र नजिक पुगेर सेन्टकमको जिम्मेवारी क्षेत्रभित्र प्रवेश गरिसकेको छ। सेन्टकमले सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेको तस्वीरमा निमिट्ज वर्गको यो विशाल विमानवाहक जहाज हिन्द महासागरमा सञ्चालनमा रहेको देखिएको छ ।
यो युद्धपोत यसअघि नै क्षेत्रमा रहेका अमेरिकी जहाजहरूसँग मिसिने हो वा तिनको स्थान लिन आएको हो भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन। केही सञ्चारमाध्यमले यसले पुराना जहाजको स्थान लिन सक्ने अनुमान गरेका छन् । यसअघि सेन्टकमले अर्को विज्ञप्तिमा विश्वकै सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस जेराल्ड आर फोर्डले लाल सागर क्षेत्रमा आफ्नो काम जारी राखेको जनाएको थियो । उक्त जहाजले अमेरिकी पाँचौं बेडाअन्तर्गत समुद्री सुरक्षामा सहयोग गरिरहेको सेन्टकमले उल्लेख गरेको छ ।
१५- नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता त्यागेका १७ डाक्टरको लाइसेन्स खारेज गरेको छ । शुक्रबार काउन्सिलले नेपाली नागरिकता त्यागी विदेशी नागरिकता लिएका १७ जना डाक्टरको नाम नेपाल मेडिकल काउन्सिलको दर्ता कितावबाट खारेज गरेको जानकारी गराएको छ । काउन्सिलले नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २४, नेपाल नागरिकता ऐन २०६३, नेपाल मेडिकल काउन्सिलको निर्णयअनुसार उनीहरुको नाम खारेज गरिएको बताएको छ ।
यसरी नाम खारेज हुनेहरुमा हङकङ नागरिक डा. शर्मिला गुरुङ, अस्ट्रेलियन नागरिक डा. रोशन भुषाल, ब्रिटिस नागरिक डा. मोती गुरुङ, अस्ट्रेलियन नागरिक डा. देवराज रेग्मी, ब्रिटिस नागरिक डा. मेरिना गुरुङ, अमेरिकी नागरिक डा. निरन्जनदेव पाण्डे, ब्रिटिस नागरिक डा. रोजन केसी, ब्रिटिस नागरिक डा. ममता गुरुङ, पोर्चुगाली नागरिक डा. राजीव हमाल, ब्रिटिस नागरिक डा. सलुजासिंह थारु, अमेकिी नागरिक डा. सुजना केसी, ब्रिटिस नागरिक डा. जोस्ना शाही, अमेरिकी नागरिक डा. मनिपा हमाल, क्यानेडियन नागरिक डा. सुप्रिया शाक्य, क्यानेडियन नागरिक डा. इच्छा न्यौपाने, अमेरिकी नागरिक डा. दिपेन ढकाल र भारतीय नागरिक डा. तुपार सरवजना रहेका छन् ।
१६- इरानका सर्वोच्च नेता मोजतबा खामेनी पत्रहरू मार्फत इरानी शासनसँग सम्पर्कमा रहेको एक रिपोर्टमा दाबी गरिएको छ । इरानका नयाँ सर्वोच्च नेता आयतोल्ला मोजतबा खामेनी सर्वोच्च नेता बनेदेखि सार्वजनिक रूपमा देखा परेका छैनन् । रिपोर्टमा दाबी गरिएको छ कि मोज्तबा खामेनी आफ्नो पहिलो सार्वजनिक सम्बोधनमा कमजोर र असुरक्षित देखिन चाहँदैनन् । इरानी अधिकारीहरूलाई उद्धृत गर्दै द न्यूयोर्क टाइम्सले प्रकशित गरेको रिपोर्टमा, सुरक्षा कारणहरूले गर्दा र अमेरिकी र इजरायली निगरानीबाट बच्न, मोज्तबा खामेनीलाई सन्देशहरू पुर्याउने विधि अत्यन्त गोप्य राखिएको उल्लेख छ । सन्देशहरू हस्तलिखित, खाममा बन्द गरिन्छन्, र त्यसपछि विश्वसनीय कुरियरहरूको श्रृंखलाबाट पारित गरिन्छ । यी कुरियरहरूले सन्देशहरू आफ्नो गन्तव्यमा पुर्याउन मुख्य सडकहरू र भित्री मार्गहरूमा कार र मोटरसाइकलबाट यात्रा गर्छन् । मोजतबा खामेनीले इलेक्ट्रोनिक उपकरणहरू प्रयोग गर्दैनन्।
न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार, आफ्नो बुबाको मृत्युपछि सत्ता सम्हालेका मोज्तबा खामेनी गम्भीर घाइते छन् र हाल लुकेर बसिरहेका छन् । प्रतिवेदनमा इरानका सर्वोच्च नेता मोजतबा खामेनी होशमा रहेको तर सार्वजनिक रूपमा देखा नपरेको र उनको भूमिका बिस्तारै घट्दै गएको पनि उल्लेख छ । प्रतिवेदनमा उनी पूर्ण रूपमा मानसिक रूपमा सक्रिय रहेको तर उनको शारीरिक चोटपटक गम्भीर रहेको उल्लेख छ। उनको एउटा खुट्टामा तीनवटा शल्यक्रिया भइसकेको छ र अब कृत्रिम अंगको आवश्यकता समेत रहेको रिपोर्टमा दाबि गरिएको छ । उनको एउटा हातको पनि शल्यक्रिया गरिएको छ र बिस्तारै निको हुँदैछ । उनको अनुहार र ओठ गम्भीर रूपमा जलेको छ, जसले गर्दा बोल्न गाह्रो भइरहेको छ र भविष्यमा उनलाई प्लास्टिक सर्जरीको आवश्यकता पर्न सक्ने समेत दाबी गरिएको छ ।
मोजतबा खामेनीको बारेमा यो जानकारी यस्तो समयमा आएको हो जब इरानको राजनीतिक र सैन्य नेतृत्व भित्र एकताको अभाव रहेको दाबी गरिँदैछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानको राजनीतिक र सैन्य नेतृत्व बीच आन्तरिक कलह रहेको दाबी गरे । यद्यपि, इरानले यी दाबीहरूलाई पूर्ण रूपमा अस्वीकार गरेको छ । इरानी राष्ट्रपतिले भनेका छन्- ‘इरानमा कुनै पनि कट्टरपन्थी वा उदारवादी छैनन्। हामी सबै इरानी र क्रान्तिकारी हौं। देशमा एकता छ। हामी आक्रमणकारीहरूलाई पछुताउनेछौं। एक भगवान, एक देश, एक नेता, र एक मार्ग… इरानको विजय हाम्रो लागि हाम्रो जीवन भन्दा बढी महत्त्वपूर्ण छ ।’
१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको २२ सयले घटेर तोलाको २ लाख ९६ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ९८ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७५ रुपैयाँले घटेर ४९४५ मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५०२० मा कारोबार भएको थियो ।
१८- लेबनान र इजरायलबीच जारी संघर्षमा तीन हप्ताका लागि युद्धविराम थप गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा भएको दोस्रो चरणको उच्चस्तरीय वार्तापछि युद्धविराम विस्तारको घोषणा गरेका हुन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत छिट्टै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र लेबनानका राष्ट्रपति जोसेफ आउनलाई ह्वाइट हाउसमा बोलाएर थप छलफल गर्ने योजना रहेको जानकारी दिएका छन् ।
इरानसँग सम्भावित सम्झौताबारे बोल्दै ट्रम्पले कुनै पनि सहमति अमेरिकाको हितमा मात्र हुने स्पष्ट पारे । उनले यस विषयमा कुनै निश्चित समयसीमा नरहेको र हतारमा निर्णय नगर्ने बताएका छन् । यस्तै, इरानविरुद्ध परमाणु हतियार प्रयोग नगर्ने पनि उनले उल्लेख गरेका छन् । उनका अनुसार परम्परागत आक्रमणबाटै इरानलाई ठूलो क्षति पुगिसकेकोले परमाणु हतियार प्रयोगको आवश्यकता नरहेको बताएका छन् ।
१९- सिन्धुलीको सुनकोसी गाउँपालिका-३ का २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा शंकास्पद मृत्यु भएको घटनापछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू आफ्नै सरकारसँग न्याय माग्दै धर्नामा बसेका छन् । सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका विकको शव वैशाख ७ गते साँझ शौचालयको झ्यालमा झुन्डिएको अवस्थामा फेला परेको थियो । मृतकका परिवार र आफन्तले भने प्रहरीको यातनाका कारण उनको मृत्यु भएको दाबी गरेका छन् । सांसद खगेन्द्र सुनार र रीमा विश्वकर्मा विहिबारदेखि जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा धर्नामा बसेका छन् ।
सुनारले लेखेका छन्- ‘हिजोदेखि रातभर जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा छौं ! प्रहरीले हत्या गरेको श्रीकृष्ण विकको न्यायको लागि अहिले १० बजे सबैलाई CDO गेटमा उपस्थितिको लागि अपिल छ !!’ रास्वपा सांसद रिमा विश्वकर्माले सामाजिक सञ्जालमा एकातिर दलित समुदायसँग क्षमायाचना अर्को तिर अन्तरजातीय विवाहसम्बन्धी उजुरीकै आडमा हिरासतभित्रै (दलित) नागरिकको शंकास्पद मृत्यु भएको भन्दै सरकारसँग न्याय मागेकी छन् । धर्नामा रास्वपा सांसद सुनारसहित रिमा विश्वकर्मा, सुस्मा स्वर्णकार, गणेश विक, खिमा विश्वकर्मा र आसिस गजुरेल सहभागी रहेका छन् ।
उनिहरुले प्रमुख जिल्ला अधिकारी, प्रहरी एसपी र खुर्कोट इलाकाका इन्स्पेक्टरलाई तत्काल निलम्बन गर्न र उच्च स्तरीय संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् । मृतककी आमा विन्दामाया विकले एक ज्ञप्तिमार्फत आफ्नो छोराको प्रहरीको यातनाबाट मृत्यु भएको आरोप लगाएकी छन् । ललितपुरको सातदोबाटोबाट अन्तरजातीय विवाहको विषयमा पक्राउ परेका विकलाई वैशाख ४ गते खुर्कोट लगिएको थियो । प्रहरीले जबरजस्ती करणीको मुद्दा चलाउन दबाब दिँदै छोरालाई मानसिक र शारीरिक यातना दिएको आमा विन्दामायाले विज्ञप्तिमार्फत बताएकी छन् । यस घटनाप्रति राष्ट्रिय दलित आयोगले पनि गम्भीर ध्यानाकर्षण भएको जनाउदै प्रहरी हिरासतमा व्यक्तिको मृत्यु हुनु मानव अधिकारको दृष्टिले गम्भीर विषय भएको बताएको छ ।
२०- चेन्नई सुपर किंग्सले जारी आइपिएलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले मुम्बईलाई १०३ रनले पराजित गरेको हो । चेन्नईले दिएको २०८ रनको लक्ष्य पछाएको मुम्बईले १९ ओभरमा अल आउट हुदै केवल १०४ रन बनाएको थियो । मुम्बईका लागि तिलक बर्माले ३७ र सुर्यकुमार यादवले ३५ रन बनाए भा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।
त्यसैगरी चेन्नईका बलर अकिल हुसैनले सर्बाधिक ४ विकेट लिए भने नूर अहमदले २ विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले सन्जु सामसनको १०१ रनको शतकीय पारीको मद्धतले २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनाएको थियो । यो जितपछि चेन्नईको ७ खेलमा ६ अंक भएको छ र पाँचौं स्थानमा उक्लिएको छ । त्यस्तै मुम्बई इण्डियन्सको भने ७ खेलमा यो पाँचौं हार हो ।