काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- राष्ट्रिय मानव अधिकार आयोगले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचन आचारसंहिताको पालनामा गम्भीर बन्न आग्रह गरको छ । निर्वाचनको क्रममा मानव अधिकारको अवस्थाको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरिरहेको बताउदै आयोगले अनुगमनका क्रममा राजनीतिक दलका केहि नेता र उम्मेदवारले एक अर्को दल, नेता र उम्मेदवारप्रति अमर्यादित भाषा प्रयोग गरी घृणाजन्य अभिव्यक्ति दिएको उल्लेख गरेको छ । त्यस्तै आयोगले अरुको मर्यादामा आँच आउने प्रकृतिका सामग्री उत्पादन गरी डिजिटल प्रविधिको माध्यमबाट प्रचारप्रसार गरिएको र मतदाताहरूलाई ´कुन दल/नेतालाई भोट दिने ?´
भनी प्रश्न सोध्ने र त्यसलाई भिडियो/अडियो रेकर्ड गराई सामाजिक सञ्जालमा राखी मतदाताको गोप्य मतदानको अधिकार र गोपनियताको हक उल्लङ्घन गरेको अनुगमनमा पाएको उल्लेख गरेको छ । त्यसैगरी आयोगले निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिता केही दल र उम्मेदवारहरुबाट उल्लङ्घन भएको प्रश्न उठेको, निर्वाचनपूर्व नै अमूक उम्मेदवारले जित्छ’ भनी समाचार तयार गरी भ्रम सिर्जना गरेको, मतदाता शिक्षा प्रभावकारी हुन नसकेको, केही राजनीतिक दलका कार्यालयहरूमा तोडफोड भएको विषय देखेको बताएको छ । आयोगले निर्वाचनको क्रममा एक अर्काप्रति घृणायुक्त आरोप प्रत्यारोप नगर्न, कोही कसैले पनि सामाजिक सञ्जालको दुरुपयोग नगर्न, मतदाताको गोपनियताको हकमा प्रभाव नपार्न, भ्रमपूर्ण समाचार प्रकाशन/प्रसारण नगर्न, हिंसात्मक क्रियाकलाप बन्द गर्न, मतदाता शिक्षालाई प्रभावकारी बनाउन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबै पक्षलाई आग्रह गरेको छ ।
२- गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकम केवल दूरसञ्चार सेवा प्रदायक मात्र नभई राज्यको ‘डिजिटल मेरुदण्ड’ को रूपमा स्थापित रहेको बताएका छन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को २२औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले दुर्गम हिमाली भेगदेखि तराईका बस्तीसम्म सञ्जाल विस्तार गरी राष्ट्रिय एकता, सेवा प्रवाह र आर्थिक क्रियाकलापलाई मजबुत बनाएको तथा प्राकृतिक विपद्, महामारी र आपत्कालीन अवस्थाहरूमा टेलिकमले खेलेको भूमिकाको प्रशंसा गर्दै राज्यको ‘डिजिटल मेरुदण्ड’ को रूपमा स्थापित रहेको बताएका हुन् ।
दूरसञ्चार सेवालाई हाल मानव जीवनको आधारभूत आवश्यकता तथा शैक्षिक, सामाजिक र आर्थिक विकासको महत्त्वपूर्ण पूर्वाधारका रूपमा चित्रण गर्दै गृहमन्त्री अर्यालले नवीनतम प्रविधिमा आधारित गुणस्तरीय सेवा प्राप्त गर्नु सेवाग्राहीको अधिकार रहेको कुरामा जोड दिए । सन्तुष्ट ग्राहक नै संस्थाको दिगो विकास र स्थायित्वको आधार स्तम्भ भएको उल्लेख गर्दै उनले कम्पनीलाई आगामी दिनमा अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाहमा केन्द्रित हुन र ग्राहक सन्तुष्टिलाई सर्वोपरि ठान्न सुझाव तथा शुभकामना व्यक्त गरेका थिए ।

३- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन एकै दिन र तोकिएकै मितिमा हुने स्पष्ट गरेकी छन् । विहिबार भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन एकै दिन सम्पन्न हुने बताएकी हुन् । यसअघि उनले नै हिमाली जिल्लाको निर्वाचन फागुन २१ हुन कठिनाइ भए पछि गर्न सकिने अभिव्यक्ति दिएकी थिइन् । प्रधानमन्त्री कार्कीले भनिन्- ‘मतपत्र हेरेपछि लाग्यो अब निर्वाचन आयो । अब जनताले छाप लगाउन मात्रै बाँकी छ । निश्चिन्त मान्नुस्, चुनाव एकै दिन हुन्छ, दुई चोटि कहीँ हुनेवाला छैन ।’ जनक शिक्षा सामग्री केन्द्रमा अहिले प्रत्यक्षतर्फको मतपत्र छपाईको काम भइरहेको छ । केन्द्रले प्रधानमन्त्री कार्कीलाई अहिलेसम्म ७२ लाख ६० हजार मतपत्र छपाई सकिएको जानकारी दिएको छ ।

४- आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ७२ लाख ६० हजार मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार जनक शिक्षा सामग्री केन्द्र, सानोठिमीमा हाल सम्म ७२ लाख ६० हजार छपाई गरेर ५ हजार ८२५ बाकस प्याकिङ्ग भई सकेको छ । आयोगले डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकूम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी गरी जम्मा २५ जिल्लाको छपाई तथा प्याकिङ्ग सम्पन्न भई सकेको जानकारी दिएको छ ।

आयोगले ६० निर्वाचन क्षेत्रको छपाई सम्पन्न भइसकेको जानकारी दिदै प्रत्यक्षतर्फ कुल २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ हुने जानकारी दिएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ गरिसकिएको छ । त्यसैगरी मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।

५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीका नेता डा. श्री कुँवरले पार्टी छोडेका छन् । रुपन्देही–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका कुँवरले पार्टीले खल्तीबाट निकालेर उम्मेदवार बनाएको भन्दै राजीनामा दिएका हुन् । उनले पार्टीले ‘प्राइमरी इलेक्सन’ मार्फत उम्मेदवार छनोट गर्ने प्रतिबद्धता विपरित सिधै उम्मेदवार तोकेको बताएका छन् । सो क्षेत्रबाट कुँवरसहित ६ जना आकांक्षी रहेकोमा रास्वपाले बालेन शाहका पूर्वसल्लाहकार सुनिल लम्साललाई उम्मेदवार बनाएको छ ।

६- भक्तपुरको चाँगुनारायण नगरपालिका वडा- ४ बस्ने तेज बहादुर तामाङ र सानुकान्छा तामाङ उपर प्रतिकुल बकपत्र गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ । अख्तियारले दुवैविरुद्ध २४ लाख ५० हजार बिगो माग गर्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो । भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउत समेतले मोही जग्गा दर्ता सम्बन्धी काम गर्न घुस लिएको मुद्धामा दुवैले यस अघि दिएको बयान अदालतमा बकपत्र गर्दा प्रतिकुल बयान दिएको अख्तियारको आरोप छ ।
७- रौतहट-२ बाट प्रतिनिधि सभामा रास्वपाका उमेदवारको गाडीको ठक्करबाट बालिकाको मृत्यु भएको छ । बिहीबार दिउँसो रास्वपाका उम्मेदवार सगिर आलम चढेको गाडीको ठक्करबाट इशनाथ नगरपालिका-४ मठियाकी चार वर्षिया अल्फा खातुनको मृत्यु भएको हो । चुनाब प्रचार कै क्रममा बा१५च ४२४४ नम्बरको कार चढेर मत माग्न जाँदै गरेको बेला तिब्र गतिमा रहेको कारले नाबालिकालाई ठक्कर दिएको स्थानीयले बताएका छन् । गाडीको ठक्करबाट गम्भीर घाइते बालिकाको गौरस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उपचारको क्रममा बालिकाको ज्यान गएपछि चालक अस्पतालबाटै फरार भएका छन् । प्रहरीले बालिकालाई ठक्कर दिएको गाडी नियन्त्रणमा लिएर चालकको खोजी गरिरहेको बताएको छ ।
८- नेपलाले जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत दोस्रो वार्मअप खेलमा क्यानडालाई ६ विकेटले पराजित गरेको छ । क्यानडाले दिएको १६२ रनको लक्ष्य पछाएको नेपालले १८ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालका लागि असिफ सेखले सर्बाधिक ५८ रन बनाएका थिए । त्यस्तै सन्दीप जोराले ४४ रन बनाए भने गुलशन झाले ३१ रन बनाएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ६ विकेट गुमाएर १६१ रन बनाएको हो । क्यानडाका लागि नवनीत धालिवालले सर्बाधिक ४१ रन बनाएका थिए भने श्रेयस मोभ्वाले ३८, कनवरपाल ताथगुरले २५ र जसकरण सिंहले २१ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर सन्दीप लामिछाने र कुशल भुर्तेलले २-२ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले एक एक विकेट लिए । अब नेपालले टी-२० विश्वकप अन्तर्गत फेब्रुअरी ८ मा इङल्यान्डविरुद्ध खेलेर विश्वकपको शुरुवात गर्ने छ । आईसीसी विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुनेछ । नेपालको समूह स्कटल्याण्ड, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन् । नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा स्कटल्याण्डसँग खेल्ने छ । नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने तालिका छ ।
९- गृहमन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आयोगले ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई निर्वाचन आचारसंहिताको अनुगमन प्रभावकारी गर्न निर्देशन दिएको छ । आयोगले यसअघि ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई ‘निर्वाचन आचारसंहिता अनुगमन अधिकृत’ को जिम्मेवारी तोकेको सन्दर्भमा, गृह मन्त्रालयले उक्त जिम्मेवारी दृढतापूर्वक निर्वाह गर्न ७७ वटै जिल्लाका सहायक प्रजिअहरूलाई निर्देशन दिएको हो । गृह सचिव राजकुमार श्रेष्ठले आयोगले तोकेको क्षेत्राधिकार (आर्थिक विषय बाहेक) भित्र रही आचारसंहिता परिपालनाको अनुगमन कार्यलाई निष्पक्ष र निर्भीक भई सम्पादन गर्न निर्देशन दिएका छन् । मन्त्रालयले निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयन सुनिश्चित गर्दै सो हैसियतमा सम्पादन गरिएका कार्यहरूको प्रगति विवरण मन्त्रालयमा समेत नियमित उपलब्ध गराउन निर्देशन दिएको छ ।
१०- अमेरिकामा मुद्धा खेपिरहेका भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोलाई अर्जेन्टिनाले सुपुर्दगीको औपचारिक माग गरेको छ । हाल न्यूयोर्कको जेलमा छन् र लागूऔषध तस्करीको आरोपको सामना गरिरहेका मादुरोलाई अर्जेन्टिनाका एक संघीय न्यायाधीशले वारेन्टमा जारी गरेका हुन् । मादुरोले काराकसमा धेरै गम्भीर आरोपहरूको सामना गरिरहेका छन् । उनीमाथि आफ्नो शासनकालमा प्रदर्शनकारीहरू र राजनीतिक विरोधीहरू विरुद्ध हिंसा भड्काएको आरोप छ, जसमा यातना र जबरजस्ती बेपत्ता पार्ने काम पनि समावेश छ । सुरक्षा बल र गुप्तचर एजेन्टहरूको हातबाट भयानक यातना भोगेका भेनेजुएलाका नागरिकहरूलाई यी मुद्दाहरूमा वादीको रूपमा नाम दिइएको छ । यो कानुनी लडाई २०२३ मा ब्यूनस आयर्समा मानव अधिकार संगठनहरूले सुरु गरेका थिए । यहाँका अदालतहरूले पहिले देश बाहिर गरिएका मानव अधिकार उल्लङ्घनका मुद्दाहरूको अनुसन्धान गरिसकेका छन् ।
जनवरी ३ मा अमेरिकी सेनाले मादुरोलाई सत्ताबाट हटाएपछि, अर्जेन्टिनाका सरकारी वकिलहरूले न्यायाधीश रामोसलाई सुपुर्दगी अनुरोध अगाडि बढाउन आग्रह गरेका थिए । अर्जेन्टिनाले १९९७ को सुपुर्दगी सन्धिलाई उद्धृत गर्दै यो अनुरोध गरेको हो । यद्यपि, ट्रम्प प्रशासनले तुरुन्तै पालना गर्ने सम्भावना कम छ । यो मुख्यतया अमेरिकामा मादुरोविरुद्ध चलिरहेको मुद्दाको कारणले हो । मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेस हाल ब्रुकलिनको जेलमा छन् ।
उनीहरूमाथि २५ वर्षदेखि लागूऔषध कार्टेलहरूसँग मिलेर हजारौं टन लागूऔषध अमेरिकामा तस्करी गर्न मद्दत गरेको आरोप छ । राजनीतिक समीकरणको सन्दर्भमा, अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलीले आफूलाई डोनाल्ड ट्रम्पको नजिकको सहयोगी मान्छन् र मादुरोको गिरफ्तारीको स्वागत गरेका छन् । मानव अधिकार संस्थाहरूले यो सुपुर्दगी अनुरोधलाई ऐतिहासिक भनेका छन् । अर्जेन्टिना फोरम फर द डिफेन्स अफ डेमोक्रेसीले यो शक्तिशालीहरू विरुद्ध बोल्ने साहस गर्ने पीडितहरूको विजय भएको बताएको छ । अब अर्जेन्टिनाको विदेश मन्त्रालयले यो आधिकारिक अनुरोध वाशिंगटन डीसीमा पठाउनेछ, जहाँ अमेरिकी न्याय विभागले यसलाई विचार गर्नेछ ।
११- नेप्सेमा दोहोरो अंकको वृद्धि आएको छ । साताको कारोबारको अन्तिम दिन विहिबार नेप्से २७.१९ अंकले बढेर २७०८. ७० विन्दुमा पुगेर रोकिएको छ । आज ३२६ कम्पनिका ३ करोड ५५ लाख ७४ हजार ६२७ कित्ता शेयर ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार ८०० मा कारोबार भएको थियो । आज ट्रेडिङबाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज कालिन्चोक दर्शन, सुपरमाई हाइड्रो, मोदी इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने रिढी पावरको ९.९७ र खानीखोला हाइड्रोको ९.९६ प्रतिशतले बढेको छ । त्यसैगरी आज सुपर मादी हाइड्रोको शेयर सबैभन्दा बढी ९.९८ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको ५८ करोड ७७ लाख बराबरको कारोबार भएको छ भने राढी जलविद्युतको ५७ करोड ५० लाख र एसवाई प्यानलको ५३ करोड ७४ लाख बराबरको कारोबार भएको छ ।
१२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिसमेत रहेका तनहुँ १ का उम्मेदवार स्वर्णिम वाग्लेले साइबर ब्युरोमा उजुरी दिएका छन् । झुटो विवरण तयार गरेर आफूविरूद्ध सामाजिक सञ्जालमार्फत् भ्रम फैलाइएको भन्दै त्यस्ता व्यक्तिहरूको पहिचान गरी कारबाही माग गर्दै वाग्लेले साइबर ब्युरोमा उजुरी दिएका हुन् । धर्म र व्यक्तिगत अवस्थाबारे भ्रम सिर्जना गराउने काम भइरहेको पाइएको उनले दिएको उजुरीमा उल्लेख छ । उनले उजुरीमा अफवाह फैलाउने व्यक्ति र समूहहरू पत्ता लगाएर अनुसन्धान गरी कारबाही गर्न माग गरेका छन् । वाग्ले तनहुँ-१ बाट फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवार रहेका छन् ।
१३- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ बिहीबारबाट सिराहा र धनुषा जोड्ने कमला पुल हुँदै चुनावी अभियानमा निक्लिएका छन् । घिसिङले नदी क्षेत्रमा ह्युम पाइप राखी अस्थायी आवत–जावतको व्यवस्था गरिएको स्थलबाट कमला नदी पार गरी सिराहातर्फ लागेका हुन् । पार्टीका नेता, कार्यकर्ता र स्थानीयले उनलाई कमला पुलमा स्वागत गरेका थिए । तराई–मधेशको जीवनरेखा मानिने हुलाकी राजमार्गअन्तर्गत सिराहा–धनुषा सीमामा पर्ने कमला नदीमा अस्थायी डाइभर्सन निर्माण भएसँगै वर्षौँदेखिको नागरिक समस्या अन्त्यतर्फ उन्मुख भएको छ ।
१४ वर्षसम्म पुल नबन्दा स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए भने सवारीसाधनले लामो वैकल्पिक रुट प्रयोग गर्दै आएका थिए । भौतिक मन्त्री रहेका बेला गत मंसिर ५ गते घिसिङले कमला पुलको स्थलगत निरीक्षण गरेका थिए । पुल नबन्दा सिर्जना भएको पीडा र जोखिम प्रत्यक्ष देखेपछि उनले समस्या समाधानका लागि नदी क्षेत्रमा ह्युम पाइप राखी अस्थायी आवत–जावतको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिई अस्थायी डाइभर्सन निर्माणको प्रक्रिया अगाडि बढाएका थिए । घिसिङले अस्थायी व्यवस्था भएपनि कमला नदी पार गर्न सकिँदा खुसी व्यक्त गरेका छन् । साथै, निर्माणाधीन १४ वर्षदेखि अलपत्र रहेको ४६९ मिटर लम्बाइको कमला पुलको भइरहेको बाँकी कामको पनि अवलोकन गरेका थिए । भ्रमणको क्रममा उनले धनुषा, सिराहा र सप्तरी जिल्लाका पार्टी उम्मेदवार, कार्यकर्ता र मतदातासँग भेटघाटको कार्यक्रम रहेको छ ।
१४- नासाले प्राविधिक कारणले बहुप्रतिक्षित आर्टेमिस २ मिसन फेरि एक पटक स्थगित गरेको छ । रकेटको इन्धन प्रणालीबाट हाइड्रोजन चुहावट भएपछि प्रक्षेपण स्थगित गरिएको नासाले जानकारी दिएको छ । फ्लोरिडाको केनेडी स्पेस सेन्टरमा, सबै कुरा योजना अनुसार चलिरहेको थियो । नासाको टोलीले ४९ घण्टाको प्रक्षेपण काउन्टडाउनको लागि पूर्वाभ्यास गरिरहेको थियो । वैज्ञानिकहरूले फेब्रुअरीको सुरुमै चन्द्रमामा चार अन्तरिक्ष यात्री पठाउने आशा गरेका थिए । तर रकेटको इन्धन प्रक्रिया सुरु भएपछि, तरल हाइड्रोजनले लिक भयो ।
अनुसन्धानले इन्धन प्रणालीमा फेरि चुहावट भएको खुलासा गर्यो । ब्रह्माण्डको सबैभन्दा सानो तत्व हाइड्रोजन नासाको लागि प्रमुख टाउको दुखाइ बनेको छ । यो यति सानो छ कि यो सामान्य खुकुलो सिलबाट पनि सजिलै बाहिर निस्कन सक्छ । नासाको आर्टेमिस २ मिसन व्यवस्थापन टोलीका प्रमुख जोन हनीकटले चुहावटले छक्क परेको बताए । टोलीले रकेटमा रहेका प्रत्येक भल्भ र सिलको राम्ररी निरीक्षण गरेको थियो, तर रकेट र जमिन प्रणालीहरू बीचको अन्तरक्रिया यति जटिल छ कि सानो त्रुटिले पनि सम्पूर्ण मिसनलाई खतरामा पार्न सक्छ । हाइड्रोजनले नासाको मिसनमा बाधा पुर्याएको यो पहिलो पटक होइन । जब मानवरहित आर्टेमिस-१ मिसन २०२२ मा प्रक्षेपण गर्ने तालिका थियो, बारम्बार हाइड्रोजन चुहावटले मिसनलाई धेरै महिना ढिलाइ गरेको थियो । फ्लोरिडाको आर्द्रता र बारम्बार उतारचढाव हुने तापक्रमले हाइड्रोजन प्रणालीको लागि चुनौतीहरू अझ बढाएको बताइन्छ । यदि हाइड्रोजनले यति धेरै समस्याहरू निम्त्याउँछ भने, नासाले यसको प्रयोग किन त्याग्दैन ? उत्तर यसको अद्भुत क्षमताहरूमा निहित छ । स्पेस लन्च सिस्टम (एसएलएस) रकेटले तरल हाइड्रोजन र तरल अक्सिजनको मिश्रण प्रयोग गर्दछ ।
यो संसारको सबैभन्दा शक्तिशाली र कुशल इन्धन हो । जलाउँदा, यसले यति धेरै जोर उत्पन्न गर्दछ कि यसले विशाल रकेटलाई पृथ्वीको गुरुत्वाकर्षणबाट बाहिर निकाल्न सक्छ र चन्द्रमामा पुग्न सक्छ । सरल भाषामा भन्नुपर्दा, कम इन्धनमा उच्च माइलेज र अतुलनीय शक्तिको लागि हाइड्रोजन एक मात्र विकल्प हो । आर्टेमिस २ नासाको मिसन हो जसमा, पहिलो पटक, चार अन्तरिक्ष यात्रीहरू चन्द्रमाको परिक्रमा गर्नेछन् र फर्कनेछन् । मार्चमा हुने मिसनको प्रक्षेपणको लागि तयारीहरू अहिले भइरहेका छन् । नासाको लागि अन्तरिक्ष यात्री सुरक्षा सर्वोपरि छ । मानवरहित मिसनहरूले निश्चित मात्रामा जोखिम बोके पनि, वैज्ञानिकहरू मानवयुक्त मिसनमा १ प्रतिशत जोखिम पनि लिन हिचकिचाउछन् । अब नासाले यो मिशनको प्रक्षेपण मार्चको ६, ९ या ११ सम्म गर्नसक्ने बताएको छ ।
१५- प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । विहिबार बिहान बालुवाटारमा भएको भेटवार्ता निर्वाचन केन्द्रित भएको बताइएको छ । ओलीले निर्वाचनमा सामाजिक सञ्जालमा आफु केन्द्रित गालि र आलोचना भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरिरहेको समय प्रधानमन्त्री कार्कीसँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । त्यस्तै प्रधानमन्त्री कार्कीले हिमाली भेगको निर्वाचन पछि गर्ने भन्ने अभिव्यक्तिप्रति पनि ओलीले असहमति प्रकट गरिसकेका छन् । प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ।
१६- नेपालमा विदेशी पर्यटकको अगामन १५.७ प्रतिशतले बढेको छ । गत बर्षको जनवरी महिनामा भन्दा यस बर्षको जनवरीमा नेपाल आउने विदेशी पर्यटकको संख्या १५.७ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । यस बर्षको जनवरीमा कुल ९२ हजार ५७३ विदेशी पर्यटक आएका छन् भने अघिल्लो बर्षको जनवरीमा ७९ हजार ९९१ पर्यटक नेपाल आएका थिए । कोभिड शुरु हुनु अघि २०१९ को जनवरीमा यो संख्या ८१ हजार २७३ रहेको थियो । जनवरी महिनामा नेपाल आउने विदेशी पर्यटकमा सबै भन्दा बढी भारतबाट नेपाल आएका छन् ।
भारतबाट जनवरी महिनामा २६ हजार ६२४ जना अर्थात २८.८ प्रतिशत पर्यटक नेपाल आएका छन् । त्यस्तै जनवरीमा चीनबाट दोस्रो धेरै ९ हजार १०१ पर्यटक नेपाल आएको बोर्डले जानकारी दिएको छ । त्यसैगरी अमेरिकाबाट ८ हजार ४०६, बंगलादेशबाट ५ हजार ८१४ जना, अस्ट्रेलियाबाट ४ हजार ९५७, बेलायतबाट ३ हजार ९७३ जना, म्यानमारबाट ३ हजार ३९६ जना, दक्षिण कोरियाबाट ३ हजार २२६ जना थाइल्याण्डबाट ३ हजार २०५ जना र भुटानबाट ३ हजार १२ पर्यटक जनवरी महिनामा नेपाल आएका छन् । पर्यटन बोर्डका अनुसार सार्क देशबाट कुल ३६ हजार ३७५, एशियाका अन्य देशबाट २४ हजार १६१ जना, युरोपबाट ११ हजार ४१९ जना, अमेरिका क्षेत्रबाट ९ हजार ९५९ जना, ओसिनियाबाट ५ हजार २४७ जना जनवरी महिनामा नेपाल आएका छन् ।
१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको तोलाको ९ हजार ५ सयले घटेर तोलाको २ लाख ९५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ४ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्यमा पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६२० रुपैयाँले घटेर तोलाको ४९८० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५६ सयमा कारोबार भएको थियो ।
१८- पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक परेको छ । डा. भट्टराईका ९७ वर्षीय बुबा भोजप्रसाद भट्टराईको आज बिहान निधन भएको उनको सचिवालयले जानकारी दिएको हो । भट्टराईको आज बिहान पशुपतिस्थित विद्युत् शवदाह गृहमा अन्त्येष्टि गरिएको छ ।
१९- अमेरिकी प्रतिष्ठित पत्रिका द वाशिंगटन पोस्टले ठूलो संख्यामा कर्मचारी कटौतीको घोषणा गरेको छ । बर्षौ देखि कम्पनी ठुलो घाटामा रहेको भन्दै ३० प्रतिशत कर्मचारी कटौती गरिएको छ । यसले समाचार कक्षका लगभग ८०० पत्रकारहरू मध्ये ३०० भन्दा बढीलाई असर गरेको छ । यी कटौतीको भागको रूपमा खेलकुद बिट पूर्ण रूपमा बन्द गरिएको छ, यद्यपि केही रिपोर्टरहरू खेलकुद संस्कृति कभरेज जारी राख्न सुविधाहरू विभागमा सर्नेछन् । स्थानीय समाचार खण्ड घटाइनेछ, पुस्तक खण्ड बन्द गरिनेछ र दैनिक समाचार पोडकास्ट पोस्ट रिपोर्टहरू पनि बन्द गरिने बताएको छ । कार्यकारी सम्पादक म्याट मरेले कर्मचारीहरूलाई कम्पनीले धेरै वर्षदेखि घाटामा रहेको र पाठकहरूको आवश्यकता पूरा गर्न नसक्ने बताए ।
मरेले पत्रिकाको ध्यान अब मुख्यतया राष्ट्रिय समाचार, राजनीति, व्यवसाय र स्वास्थ्यमा केन्द्रित हुने बताएका छन् । बर्खास्त गरिएका कर्मचारीहरू अप्रिल १० सम्म कम्पनीमा रहनेछन्, यद्यपि उनीहरूले काम गर्ने अपेक्षा गरिने छैन । उनीहरूले छ महिनासम्म स्वास्थ्य बीमा लाभहरू प्राप्त गर्न जारी राख्नेछन् । द वाशिंगटन पोस्ट १८७७ मा स्थापित एक प्रसिद्ध अमेरिकी पत्रिका हो । यसलाई संयुक्त राज्य अमेरिकाको सबैभन्दा प्रभावशाली समाचार पत्रिकाहरू मध्ये एक मानिन्छ । पत्रिकाले मध्य पूर्व, भारत र अष्ट्रेलियाका रिपोर्टर र सम्पादकहरूलाई बर्खास्त गरेको छ । युक्रेनको युद्ध क्षेत्रबाट रिपोर्टिङ गर्ने लिज्जी जोनसनलाई पनि बर्खास्त गरिएको छ । इटालीमा शीतकालीन ओलम्पिक कभर गर्ने क्रममा बर्खास्तको बारेमा थाहा पाएको बताएकी छन् ।
कम्पनीको बैठक पछि इमेल मार्फत कर्मचारीहरूलाई बर्खास्तको बारेमा जानकारी गराइएको थियो । यी बर्खास्तहरू पत्रकार समुदायको लागि ठूलो धक्का मानिएको छ । वाशिंगटन पोस्ट अमेजनका संस्थापक र विश्वका धनी व्यक्तिहरू मध्ये एक जेफ बेजोसको स्वामित्वमा छ । वाशिंगटन पोस्टले विगत केही वर्षदेखि उल्लेखनीय घाटा बेहोरिरहेको छ । रिपोर्टहरूका अनुसार, २०२३ मा पत्रिकाले ७७ मिलियन डलर गुमाएको थियो, जबकि २०२४ मा यो घाटा १०० मिलियन डलर पुगेको थियो । विगत दुई वर्षमा कुल १७७ मिलियन डलर घाटा भएको रिपोर्ट गरिएको छ । कम्पनीले लगातार पैसा गुमाइरहेको छ र धेरै वर्षदेखि नाफा कम गरिरहेको छ, जसले गर्दा २०२३ र २०२५ मा स्वैच्छिक खरिद र सानो छटनी भएको छ । घाटा मुख्यतया डिजिटल मिडियामा सर्नुको कारण हो, जहाँ जेनेरेटिभ एआईको वृद्धिका कारण विगत तीन वर्षमा अनलाइन खोज ट्राफिक आधा घटेको छ ।
पहिले, मानिसहरू गुगल खोज मार्फत वाशिंगटन पोस्ट समाचार पढ्ने गर्थे, तर अब तिनीहरूले एआई उपकरणहरूबाट सिधै जवाफहरू पाइरहेका छन् । थप रूपमा, सदस्यताहरूमा उल्लेखनीय गिरावट आएको छ, विशेष गरी २०२४ को अन्त्यमा राष्ट्रपति चुनाव अघि जेफ बेजोसको निर्णय पछि कि पत्रिकाले कुनै पनि राष्ट्रपति उम्मेदवारलाई समर्थन गरेन । यसले कमला ह्यारिस-समर्थित मस्यौदालाई रोक्यो र लाखौं ग्राहकहरूले आफ्नो सदस्यता रद्द गरे, जसले गर्दा राजस्वमा थप कमी आयो ।
२०- भारत जारी आइसीसी यू-१९ क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलमा भारतले अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । अफगानिस्तानले दिएको ३११ रनको लक्ष्य पछाएको भारतले ४१.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । भारतका लागि आरोन जर्जले ११५ रनको शतकीय पारी खेलेका थिए भने बैभव सूर्यवंशीले ६८ र कप्तान आयुष म्हात्रेले ६२ रन बनाएका थिए ।
यसअघि पहिला ब्याटिंग गरेको अफगानिस्तानले ५० ओभरमा ४ विकेट गुमाएर ३१० रन बनाएको थियो । अफगानिस्तानका लागि फैसल शिनोजादाले ११० र उजैरुल्लाह मिआखिलले १०१ रन बनाएका थिए । यो जितसँगै भारतले अब फाइनलमा इङल्याण्डसँग खेल्ने भएको छ । यसअघि भएको पहिलो सेमिफाइनलमा इङल्याण्डले अस्ट्रेलियालाई २७ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो । अब फाइनल खेल शुक्रबार जिम्बाबेको हरारेमा हुने तालिका छ ।
FACEBOOK COMMENTS