काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल १२ अर्ब ६३ करोड ९२ लाख ५७९ रुपैयाँ मौज्दात रहेको छ । कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा ९ अर्ब ३२ करोड ६७ लाख ८२ हजार २३५ रुपैयाँ मौज्दात छ। यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड १८ लाख ९ हजार ४४४ अमेरिकी डलर मौज्दात रहेको छ । बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यस कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ । बाढीपछि सरकारले राहत र पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेसँगै स्वदेश तथा विदेशबाट रकम संकलन भई कोषमा दाखिला भएको हो ।
२- जापानको आइची–नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गरिएको छ । विहिबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गरेका हुन् । असोज ३ देखि १८ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट २१ खेलमा ७८ पुरुष र ५७ महिला गरी १३५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट प्रतियोगितामा २११ सदस्यीय टोली सहभागी हुँदैछ । टोलीमा २९ प्रशिक्षक, १७ व्यवस्थापक तथा खेल प्राविधिक, मेडिकल टोलीका ६ सदस्य, चार पत्रकार तथा विशिष्ट अतिथिसहित सेभ द मिसन, डेपुटी सेभ द मिसन र अन्य अधिकारी सहभागी हुनेछन् ।
नेपालले सन् १९५१ मा भारतमा भएको पहिलो एसियाली खेलकुददेखि सहभागिता जनाउँदै आएको छ । पहिलो संस्करणमा एथलेटिक्सतर्फ नौ सदस्यीय टोली सहभागी भएको नेपालले यसपटक २१ खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । नेपालले एसियाली खेलकुदमा पहिलो पदक सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको १०औँ संस्करणमा जितेको थियो । त्यसयता नेपाल एसियाली खेलकुदबाट पदकविहीन भएर नफर्किएको जनाइएको छ । सरकारले खेलाडीको क्षमता विकासका लागि वैदेशिक प्रशिक्षण तथा अन्तर्राष्ट्रिय अनुभवको व्यवस्था गर्दै आएको जनाएको छ। विदेशमा प्रशिक्षणरत केही खेलाडी त्यहीँबाट जापान पुग्नेछन् भने नेपालमा रहेका खेलाडीलाई विदेशी प्रशिक्षकमार्फत प्रशिक्षण दिइएको छ । तीन वर्षदेखि विशेष प्रशिक्षणमा रहेका खेलाडीलाई पछिल्लो दुई महिनादेखि बन्द प्रशिक्षणमा राखेर प्रतियोगिताका लागि तयारी गराइएको जनाइएको छ । यसपटक कबड्डीमा सबैभन्दा बढी २४ खेलाडी सहभागी हुनेछन् । क्रिकेटमा १५, भलिबलमा १२, उसुमा १०, करातेमा आठ, बक्सिङमा सात तथा जुडो, एथलेटिक्स, टेबलटेनिस र कुस्तीमा समान ६–६ खेलाडी सहभागी हुनेछन् ।खेल तालिकाअनुसार नेपाली खेलाडी जापान जाने क्रम सुरु भइसकेको छ । विभिन्न खेलका खेलाडी प्रतियोगिताको तालिकाअनुसार फरक–फरक मितिमा जापान पुग्नेछन् ।
३- भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा नवजात शिशु,बालबालिका र प्रजनन स्वास्थ्यमा परेको प्रभावको नियमित अनुगमन तथा स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले समिति गठन गरेको छ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण रसुवा,नुवाकोट र धादिङ जिल्लामा स्वास्थ्य सेवासँगै मातृ तथा नवजात शिशु स्वास्थ्य,बाल स्वास्थ्य तथा प्रजनन स्वास्थ्य सेवामा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव परेको मन्त्रालयले जनाएको छ । विपद्को अवस्थामा यी सेवामा हुन सक्ने अवरोध तथा स्वास्थ्य जोखिमलाई समयमै पहिचान गरी आवश्यक सेवा उपलब्ध गराउन नियमित अनुगमन आवश्यक देखिएपछि समिति गठन गरिएको हो ।

मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा.श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा गठन भएको समितिमा स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक र कान्ति बाल अस्पतालका निर्देशक सदस्य रहेका छन् । समितिले आवश्यकता अनुसार अन्य विषय विज्ञलाई समेत आमन्त्रण गर्न सक्नेछ । समितिले प्रभावित क्षेत्रमा मातृ तथा नवजात शिशु स्वास्थ्य,बाल स्वास्थ्य तथा प्रजनन स्वास्थ्य सेवाको अवस्था,आवश्यक स्वास्थ्य जनशक्ति,औषधि तथा स्वास्थ्य सामग्रीको उपलब्धता र विपद्पछिका स्वास्थ्य जोखिमको नियमित अनुगमन तथा पहिचान गर्नेछ । पहिचान भएका समस्या तथा आवश्यकताका आधारमा सम्बन्धित निकायसँग समन्वय तथा सहजीकरण गरी सेवा निरन्तरता र थप स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक पहल गर्ने मन्त्रालयले जनाएको छ ।
४- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले राष्ट्रिय सभामा माफी मागेकी छन् । बिहीबारको राष्ट्रियसभा बैठकमा सम्बोधन गर्दै भदौ २३ गते जेनजी दिवसको अवसरमा आयोजित कायर्क्रममा राष्ट्रिय सभा बारे दिएको अभिव्यक्तिप्रति माफी मागेकी हुन् । मन्त्री गौतमले प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डै दुई तिहाइ भए पनि राष्ट्रिय सभामा आफूहरूको उपस्थिति नहुँदा कानुन बनाउन असहज भएको अभिव्यक्ति दिएकी थिइन् । सो अभिव्यक्तिप्रति राष्ट्रिय सभामा सांसदहरुले आपत्ति जनाउदै राष्ट्रिय सभाले कुन कुन कानुन बनाउन अवरोध गर्यो स्पष्ट जवाफ दिन माग गरेका थिए । नेकपाकी सांसद रेणु चन्दले मन्त्री गौतम झुटो बोलेको भन्दै प्रतिनधिसभाबाट आएको कानुनहरू हालसम्म कुनै नरोकिएको भन्दै मन्त्री गौतमले राष्ट्रिय सभाको गरिमालाई चोट पुर्याएको भन्दै माफी माग्नुपर्ने माग गरेकी थिइन् । राष्ट्रिय सभामा जवाफ दिदै मन्त्री गौतमले आफ्नो अभिव्यक्तिलाई तोडमोड गरिएको दाबी गर्दै आफुले कानुन बनाउने प्रक्रिया जटिल भएको भन्न खोजेको बताएकी थिइन् । उनले भनिन्- ‘मैले बोलेको कुराले कसैलाई चोट पुर्याएको छ त्यसमा म क्षमाप्रार्थी छु ।’ विहिबारकै बैठकमा मन्त्री गौतमको अभिव्यक्तिप्रति एमाले सांसद रामकुमारी झाँक्रीले समेत आपत्ति जनाएकी थिइन् ।
५- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साह नियुक्त भएका छन् । शाहले विहिबार नै राष्ट्रपति निवासमा आयोजित कायर्क्रममा पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । मन्त्री साहलाई राष्ट्रपति रामचन्द पौडेलले पद तथा गोपनियताको शपथ गराएका हुन् । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले राजीनामा दिएपछि सो पदमा नियुक्त गर्न सिफारिस गरेका थिए ।
६- चिनियाँ राष्ट्रपति सी जीनफिङ यसै साताको अन्त्यमा भारतको नयाँदिल्लीमा हुने १८औँ ब्रिक्स सम्मेलनमा सहभागी हुन भारत जाने भएका छन् । चिनियाँ विदेश मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राष्ट्रपति सी सेप्टेम्बर १२ र १३ मा नयाँदिल्लीमा हुने ब्रिक्स सम्मेलनमा सहभागी हुने भएका हुन् । यो सीको सात वर्षपछिको पहिलो भारत भ्रमण हुनेछ । सन् २०२० मा गलवान उपत्यकामा भएको सीमा झडपपछि चीन र भारतबीचको सम्बन्धमा तनाव बढेको थियो । उक्त झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो भने चिनियाँ पक्षमा पनि केही सैनिकको मृत्यु भएको थियो । सीले पछिल्लो पटक सन् २०१९ मा भारत भ्रमण गरेका थिए । त्यस क्रममा उनले चेन्नईनजिकै मामल्लपुरममा प्रधानमन्त्री मोदीसँग अनौपचारिक शिखर वार्ता गरेका थिए । त्यसअघि सीले सन् २०१४ मा पहिलोपटक भारत भ्रमण गरेका थिए भने सन् २०१६ मा गोवामा भएको ब्रिक्स सम्मेलनमा सहभागी भएका थिए ।
पछिल्ला वर्षहरूमा चीन र भारतबीचको द्विपक्षीय सम्बन्धमा सुधार आएको छ । विशेषगरी प्रधानमन्त्री मोदीको गत वर्षको चीन भ्रमणपछि सम्बन्ध सुधारतर्फ अघि बढेको थियो । दुवै देशको अमेरिकासँगको सम्बन्धमा उतारचढाव भइरहेका बेला चीन र भारतबीच सहकार्य बढेको देखिएको छ । भारतले सन् २०२० को सीमा झडपपछि चिनियाँ लगानीमा लगाएका केही प्रतिबन्ध पनि पछिल्लो समय खुकुलो बनाएको छ । विशेषगरी विद्युतीय उपकरण, पुँजीगत वस्तु र सौर्य सामग्री उत्पादन क्षेत्रमा चिनियाँ लगानीलाई सहज बनाइएको छ । दुवै नेताबीच पछिल्लो पटक यसै महिना किर्गिस्तानमा भएको क्षेत्रीय बैठकका क्रममा संक्षिप्त भेटवार्ता भएको थियो ।
७- बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ। बैठकले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । असोज ६ देखि १० गतेसम्म हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटिको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
यसैगरी अनुचित लेनदेन (मिटरब्याज)अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका कुल २७ स्थानीय तहका १७ हजार ४३८ गरिब घरपरिवारको सूची स्वीकृत गरेको छ भने शिक्षक सेवा आयोगको अध्यक्षमा डा.हरिप्रसाद लम्साल (भक्तपुर), सदस्यमा रामशरण सापकोटा (मकवानपुर) र महिला सदस्यमा विष्णु घिमिरे रिमाल (काठमाडौँ) लाई नियुक्ति गरेको प्रवक्ता पोखरेलले जानकारी दिए । त्यसैगरी बैठकले सहसचिव विनोदबहादुर कुँवरलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव पदमा पदस्थापन गर्ने गरेको छ । सहसचिव उत्तरकुमार खत्रीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ ।
८- रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनरुत्थानका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आँकलन गरेको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनअनुसार विपद्बाट सबैभन्दा बढी प्रभावित पूर्वाधार क्षेत्रको पुनरुत्थानका लागि मात्रै ४ खर्ब ७३ अर्ब ५७ करोड १९ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । पूर्वाधारतर्फ ऊर्जा र सडक क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीका कारण ७५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना र २४ मेगावाट क्षमताका पाँच सौर्य ऊर्जा आयोजना प्रभावित भएका छन्। ऊर्जा तथा विद्युत् प्रसारण प्रणालीको पुनरुत्थानका लागि मात्रै ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख ४० हजार रुपैयाँ आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, ६९ किलोमिटर सडक क्षतिग्रस्त भएको छ। ३३ वटा मोटरेबल पुल बगेका छन् भने चारवटामा आंशिक क्षति पुगेको छ। बाढी प्रभावित क्षेत्रमा रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटा क्षतिग्रस्त भएका छन्। समग्र यातायात पूर्वाधारको पुनरुत्थानका लागि ७३ अर्ब ३४ करोड २९ लाख ६० हजार रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ । बाढीले सामाजिक तथा उत्पादन क्षेत्रमा पनि ठूलो भौतिक र आर्थिक क्षति पुर्याएको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा गरी ७ हजार ५७० वटा निजी घर क्षतिग्रस्त भएका छन्। त्यस्तै, ४८ वटा सार्वजनिक भवन, १८ वटा विद्यालय, सात वटा स्वास्थ्य संस्था र ३० वटा सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। यी क्षेत्रको पुनरुत्थानका लागि १ खर्ब ३ अर्ब ५४ करोड ९९ लाख रुपैयाँ आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ । व्यापार, व्यवसाय, बैंकिङ तथा कृषि समेटिएको उत्पादनशील क्षेत्रको पुनरुत्थानका लागि ५० अर्ब ७७ करोड ४९ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ।
बाढीबाट १ हजार ८०६ हेक्टर कृषि बाली, १७ वटा बैंक शाखा र ४ हजार ८०० व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन् । बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहमध्ये नुवाकोटको विदुर नगरपालिकामा मात्रै ३ हजार २६ घरमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । विपद् जोखिम न्यूनीकरण तथा नदी व्यवस्थापनका लागि ९४ अर्ब ७५ करोड ३१ लाख रुपैयाँ र लेदो तथा भग्नावशेष व्यवस्थापनका लागि ५१ करोड ५४ लाख रुपैयाँ आवश्यक पर्ने देखिएको छ । प्रतिवेदनले पुनर्निर्माणलाई तत्कालीन र दीर्घकालीन गरी दुई चरणमा विभाजन गरेको छ। आगामी छ महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनर्निर्माणका लागि ८ अर्ब ७३ करोड ५० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। दीर्घकालीन पुनर्निर्माणका लागि भने ७ खर्ब १४ अर्ब ५८ करोड २ लाख रुपैयाँ खर्च हुने आकलन गरिएको छ ।
९- नेप्सेमा आज पनि गिरावट आएको छ । आज विहिबार नेप्से १३.८५ अंकले घटेर २५३१.५५ विन्दुमा पुगेर रोकिएको छ । आज ३४१ कम्पनिका एक करोड ५ लाख ८८ हजार ६५३ कित्ता शेयर ४ अर्ब ९ लाख ७१ हजार ८९८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी लिबर्टी इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने दोल्टी पावरको शेयर ८.२२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सिन्धु विकास बैंकको शेयर १४.९८ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी लिबर्टी इनर्जीको ४५ करोड ४८ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको २१ करोड १२ लाख बराबरको कारोबार भएको छ ।
१०- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाहलाई चेतावनी दिदै तासको पत्ता भएको बताएका छन् । विहिबार प्रतिनिधि सभामा बोल्दै सांसद सिंहले मधेशी जनताको बिनाश गरेको भन्दै सरकार तासको पत्ता भएको बताएका हुन् । उनले भने- म राज्यलाई भन्न चाहन्छु, तपाइँ मधेशीको बलमा सरकार ठड्याउनु भएको छ, तपाइँ तासको पत्ता हो, तपाइँको लागि यहि व्यक्ति बोलेको थियो, यो सरकार बनेन भने आत्मदाह गर्छु, आज यहि ठाउबाट भन्न चाहन्छु तपाइँ मधेशीलाई तबाह गर्नुहुन्छ, तपाइको नाश लेखेको छ ।’ उनले मधेशीलाई शुरु देखि प्रहार भइरहेको बताउदै मन्त्री दिपक शाह र गौरी कुमारीलाई पनि त्यस्तै भएको बताए । उनले सरकार संबिधान अनुसार नचलेको आरोप लगाउदै सरकार सल्लाहकारले चलाएको आरोप लगाए । उनले सरकार संसदप्रति उत्तरदायी हुनुपर्नेमा सल्लाहकारले सरकार चलाएको र संसदलाई बेवास्ता गरेको आरोप लगाए । साथै, मधेशीको बलमा सरकारमा पुगेर अहिले मधेशीलाई प्रताडित गरेको आरोप लगाए । उनले प्रधानमन्त्रीका सल्लाहकारले प्रहरी प्रमुख, सांसद र नेताहरुलाई अपमानित गरिरहेको समेत उनले आरोप लगाए । सांसद सिंहले स्वास्थ्य र शिक्षामन्त्रीले मधेशीलाई नियुक्ति नगर्ने कसम खाएको बताउदै नियुक्तिमा समावेशीताको धज्जी उडाइएको बताए ।
११- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ । घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा.सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा.अजय शाहसहित पाँच सदस्यीय टोली आजै राजविराज प्रस्थान गर्ने भएको मन्त्रालयले जनाएको छ । साथै, मन्त्रालयको तर्फबाट उपचारात्मक सेवा महाशाखाका प्रमुख डा.पवनजंग राईमाझी समेत छानबिनका लागि टोलीसँगै आजै राजविराज जाने बताइएको छ । मन्त्रालयले अस्पताललाई घटनाका सम्बन्धमा स्पष्टीकरणसमेत सोधेको छ । घटनाको स्थलगत छानबिन गरी सत्यतथ्य बाहिर ल्याइने र छानबिनका क्रममा दोषी देखिएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ । घटनाबारे अस्पतालले समेत छुट्टै छानबिन समिति गठन गर्ने भएको छ । स्वास्थ्य संस्थामा उपचारका लागि आउने कुनै पनि सेवाग्राहीलाई स्वास्थ्य सेवाबाट वञ्चित गर्न नहुने भन्दै मन्त्रालयले घटनाको गम्भीरतापूर्वक अध्ययन तथा आवश्यक छानबिन अघि बढाइरहेको जनाएको छ ।
१२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले रसुवा बाढीमा बेपत्ता भएकाहरुको खोजी कार्य तीव्र बनाउन सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बुर्लाकोटीले हालसम्म भएका खोज तथा उद्धारका कामहरू विपद्को विशाल क्षतिको तुलनामा अपुग देखिएको भन्दै थप दक्ष जनशक्ति, आधुनिक उपकरण र स्रोत–साधन परिचालन गरी खोजी कार्य तीव्र बनाउन सरकारसँग माग गरेका हुन् । उनले उद्धार गरिएका, बेपत्ता रहेका तथा मृतकहरूको प्रमाणित आधिकारिक विवरण नियमित रूपमा प्रभावित वडा तहसम्म पुर्याउन र पीडित परिवारलाई प्रत्यक्ष सूचना उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गरे । उनले भेटिएका शवहरूको पहिचान सहज बनाउन तत्काल डीएनए परीक्षण गर्ने व्यवस्था, आवश्यक उपकरण तथा विज्ञ जनशक्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । त्यस्तै उनले आगामी दिनमा बाढी तथा पहिरोको उच्च जोखिम रहेका क्षेत्रमा कुनै पनि मानव बस्ती, सार्वजनिक कार्यालय वा भौतिक संरचना निर्माण नगर्न सुझाव दिए ।
१३- काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएपछि विद्यार्थीहरूले सडकमा दाउराबाट खाना पकाएर सांकेतिक विरोध गरेका छन् । विहिबार अखिल (क्रान्तिकारी) आवद्ध विद्यार्थीहरूले काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसको गेट अगाडि सडकमा नै खाना पकाएर विरोध गरेका हुन् । अखिल क्रान्तिकारीका अध्यक्ष विजय प्रकाश सापकोटाले डेरा गरी बस्ने विद्यार्थी तथा सर्वसाधारणले ग्यास अभाव झेलिरहेको अवस्थामा इन्डक्सन चुल्हो प्रयोग गर्न घरबेटीले नदिने र कोठाभित्र दाउरा बाल्ने विकल्प पनि नरहेको बताएका छन् । उनीहरूले सडकमा नै खाना पकाएर सडकमा नै खाना खाएका थिए । साथै, उनीहरुले सरकार जनताका समस्याप्रति उदासीन रहेको, सुशासनको नारा केवल भ्रम मात्र भएको बताउदै आवश्यकताभन्दा बढी ग्यास भित्रिदा पनि बजारमा चरम अभाव सिर्जना गरी कृत्रिम मूल्यवृद्धि गरिएको आरोप लगाएका थिए ।
१४- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा होमिएको छ । प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार हालसम्म ४४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ । पार्टीले भदौ मसान्तसम्म सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने गरी तयारी अघि बढाएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । पार्टीका अनुसार आज भदौ २५ गते कालिकोट, भोजपुर, बारा र दोलखामा जिल्ला अधिवेशन हुँदैछ। बाँकी अधिकांश जिल्लाको अधिवेशनको मिति तय भइसकेको र तयारी भइरहेको जनाइएको छ । राप्रपाले आगामी मंसिर २६, २७ र २८ गते महाधिवेशन गर्ने यसअघि नै घोषणा गरिसकेको छ । सोहीअनुसार भदौ मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाइएको पार्टीले जनाएको छ । पार्टीका अनुसार स्थानीय तह र जिल्लाका अधिवेशनहरू उत्साहजनक रूपमा भइरहेका छन्। हालसम्म ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, इलाम, उदयपुर, झापा, मोरङ, सप्तरी, सिराहा, सर्लाही, पर्सा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, भक्तपुर, चितवन, लमजुङ, मुस्ताङ, गोरखा, म्याग्दी, पर्वत, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपुर, कास्की, नवलपरासी पश्चिम, रोल्पा, गुल्मी, पाल्पा, बर्दिया, कपिलवस्तु, दाङ, रुपन्देही, मुगु, हुम्ला, सल्यान, रुकुम पश्चिम, दैलेख, डोटी र बैतडीमा अधिवेशन सम्पन्न भइसकेको छ ।
१५- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १३७७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म १३७७ जनाको शव फेला परेको हो । जसमा रसुवामा १७८, नुवाकोटमा १९८, धादिङमा ७०, चितवनमा ३६४, गोरखामा ७७, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२८ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ । त्यस्तै काठमाडौँमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको छ । अहिलेसम्म १०२ शव सनाखत भएर आफन्तले बुझेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार अहिलेसम्म ५ हजार १३० जना सम्पर्कविहिन रहेका छन् । प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार सम्पर्कविहीनमा नेपाली सेनाका ४५ जना, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२ जना, सरकारी कर्मचारी ७३ जना र बैंक तथा वित्तीय संस्थाका कर्मचारी २६ जना रहेका छन् । प्राधिकरणले अहिलेसम्म १३ हजार ६५६ जनाको उद्धार गरिएको जानकारी दिएको छ । प्राधिकरणले बाढीपछि राहत र उद्धारमा हाल २१ हजार ६३ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ ।
१६- नेपालले उत्कृष्ट बलिङ गर्दै मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा पुगेको छ । नेपालले दिएको १४८ रनको लक्ष्य पछाएको ओमानले २८.१ ओभरमा अलआउट हुदै ६० रन मात्र बनाएको हो । नेपालका लागि कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले ३-३ विकेट लिए भने ललित राजबंशी र रोहित पौडेलले २-२ विकेट लिएका थिए । त्यस्तै ओमानका लागि जतिन्दर सिंहले सर्बाधिक २५ रन बनाए भने जितेन रमानान्दीले १२ रन बनाए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४५.४ ओभरमा अल आउट हुदै १४७ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ५१ रन बनाए भने बसिर अहमदले ४७ रन बनाएका थिए । त्यस्तै ओमानका बलर जय विराम ओडेदारा र हसनैन शाहले ३-३ तथा मुहमद इमरानले २ विकेट लिएका थिए । यो जितपछि अब नेपालले शनिबार हुने फाइनलमा युएईको सामना गर्ने छ । यो प्रतियोगिता जित्ने टिम आगामी एशिया कप खेल्ने छ ।
१७- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार विमान मोल्दोभाबाट उडान भर्ने क्रममा ड्रोन आक्रमणको जोखिमबाट जोगिएको नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरेले बताएका छन् । स्टोरेका अनुसार जेलेन्स्कीको विमान उडान भर्न लागेका बेला एउटा ड्रोन विमाननजिकै पुगेको थियो । ड्रोन कति दूरीमा थियो भन्नेबारे भने उनले जानकारी दिएनन् । ड्रोनको चेतावनीपछि जेलेन्स्कीको उडान केही समय ढिला भएको थियो । जेलेन्स्की नर्वेका राजा हेराल्ड पाँचौँको अन्त्येष्टिमा सहभागी हुन ओस्लो जाँदै थिए । उनको विमान मोल्दोभाको चिसिनाउ अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको थियो । ड्रोनको चेतावनीपछि विमानस्थलको हवाई क्षेत्र बन्द गरिएको थियो । पछि मोल्दोभाका अधिकारीहरूले देशभित्र रुसी ड्रोन खसेको पुष्टि गरेका थिए । उक्त ड्रोन विमानस्थलबाट करिब १६० किलोमिटर टाढा खसेर नष्ट भएको जनाइएको छ । त्यसपछि जेलेन्स्कीको विमानलाई उडानको अनुमति दिइएको थियो । मोल्दोभाले ड्रोन रुसी भएको जनाएको छ । तर उक्त ड्रोन जेलेन्स्कीको विमानलाई लक्षित गरेर पठाइएको थियो वा अन्य कुनै लक्ष्यतर्फ जाँदै थियो भन्ने अझै स्पष्ट भएको छैन । अमेरिकाका लागि मोल्दोभाका राजदूत वलादिस्लाव कुल्मिन्स्कीले ड्रोन संयोगवश मोल्दोभा प्रवेश गरेको सम्भावना कम रहेको बताएका छन् । उनले जेलेन्स्कीको विमान विमानस्थलमा रहेका बेला जेट इन्जिनबाट चल्ने ड्रोन मोल्दोभा प्रवेश गर्नुलाई संयोग मात्र मान्न कठिन रहेको बताएका थिए । मोल्दोभाकी राष्ट्रपति माइया सान्दुले ड्रोन देशभित्र प्रवेश गर्नु गम्भीर सुरक्षा खतरा भएको बताएकी छन् । उनले युक्रेनको सीमासँग जोडिएको क्षेत्रमा भएको रुसी ड्रोन आक्रमणको समेत निन्दा गरेकी छन् । उक्त आक्रमणमा दुई जनाको मृत्यु भएको थियो ।
१८- एप्पलले आइफोन सार्वजनिक भएको करिब २० वर्षपछि यसको डिजाइनमा ठूलो परिवर्तन गर्दै पहिलो पटक मोड्न मिल्ने आइफोन सार्वजनिक गरेको छ । कम्पनीका प्रमुख कार्यकारी जोन टर्नसले वार्षिक उत्पादन सार्वजनिक कार्यक्रममा नयाँ फोल्ड आइफोन सार्वजनिक गरेका हुन् । ‘डुओ’ नाम दिइएको नयाँ आइफोन किताबजस्तै गरी बीचबाट मोड्न र खोल्न मिल्ने छ । खोल्दा सानो आइप्याडजस्तो देखिने यो उपकरण मोडेपछि फराकिलो आइफोनको आकारमा देखिन्छ । कम्पनीका अनुसार यो अहिलेसम्मकै ठूलो आइफोन हो । अमेरिकामा यसको प्रारम्भिक मूल्य १ हजार ९९९ अमेरिकी डलर तोकिएको छ भने उच्च क्षमताको संस्करणको मूल्य ३ हजार २०० डलरसम्म पुग्नेछ । जुन आजको विनिमयदर अनुसार ३ लाख ४ हजार २२८ नेपाली रुपैयाँ छ भने उच्च संस्करणको नेपाली मुल्य ४ लाख ८७ हजारसम्म रहेको छ ।
टर्नसले नयाँ आइफोनको डिजाइन आइप्याडबाट प्रेरित भएको बताएका छन् । उनले मोड्ने प्रविधिलाई सहज र प्रयोग गर्न सजिलो रहेको दाबी गरेका छन् । एप्पलले बजारमा रहेका अन्य फोल्ड फोनभन्दा फरक अनुभव दिने गरी नयाँ उपकरण तयार गरेको जनाएको छ । एप्पलले यो फोल्ड आइफोनमा केही वर्षदेखि काम गर्दै आएको थियो । टर्नस एप्पलको उपकरण विकास विभागमा लामो समय उच्च जिम्मेवारीमा रहेका कारण यसको विकासमा प्रत्यक्ष रूपमा संलग्न थिए । उनी टिम कुकको उत्तराधिकारीका रूपमा हालै एप्पलको प्रमुख कार्यकारी बनेका थिए । प्रविधि क्षेत्रका विश्लेषकहरूले टर्नसलाई प्रमुख कार्यकारी बनाउने समय र नयाँ फोल्ड आइफोनको सार्वजनिक समयबीच सम्बन्ध रहेको बताएका छन् । उनीहरूका अनुसार एप्पलका लागि यो पछिल्ला धेरै वर्षयताकै महत्वपूर्ण आइफोन सार्वजनिक कार्यक्रममध्ये एक हो ।
एप्पलले यससँगै आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्स पनि सार्वजनिक गरेको छ । अमेरिकामा यी दुईको प्रारम्भिक मूल्य क्रमशः १ हजार १९९ र १ हजार २९९ अमेरिकी डलर तोकिएको छ । तर महँगो मूल्यका कारण फोल्ड आइफोन एप्पलको सीमित प्रयोग हुने महँगो उपकरण बन्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ । एप्पलको भिजन प्रो जस्तै यो उत्पादनले पनि अपेक्षित बजार नपाउन सक्ने विश्लेषकहरूको आकलन छ । अर्कोतर्फ, एप्पल वाचजस्तै विस्तारै ठूलो प्रयोगकर्ता समूह बनाउन सक्ने सम्भावना पनि रहेको उनीहरूको भनाइ छ । हाल सामसुङ र हुवावेजस्ता कम्पनीका फोल्ड फोनले विश्वको कुल स्मार्टफोन बिक्रीमा करिब २ प्रतिशत हिस्सा ओगटेका छन् । एप्पलको प्रवेशपछि माग बढे पनि आगामी दशकमा यस्तो फोनको हिस्सा करिब ४ प्रतिशतसम्म मात्र पुग्न सक्ने अनुमान गरिएको छ । यसैबीच एप्पलले कृत्रिम बौद्धिकतामा आधारित आफ्नो आवाज सहायक सिरीमा पनि ठूलो सुधार गर्ने घोषणा गरेको छ ।
आइफोन १८ बाट सिरीले फोनभित्र रहेका सन्देश, इमेललगायत जानकारी खोजेर प्रश्नको उत्तर दिनुका साथै प्रयोगकर्ताको तर्फबाट केही कामसमेत गर्न सक्ने भएको छ । नयाँ सिरीका केही सुविधा एप्पल घडीमा समेत उपलब्ध हुनेछन् । प्रयोगकर्ताले अनुमति दिएमा घडीले कुराकानी टिपोट गर्नुका साथै त्यसलाई लेखिएको रूपमा उतार्न सक्नेछ । टर्नसले आइफोनमा थपिएका कृत्रिम बौद्धिकता सुविधालाई प्रयोगकर्ताको व्यक्तिगत सूचना केन्द्रका रूपमा व्याख्या गरेका छन् । उनले प्रयोगकर्ताको दैनिक जीवनसँग सम्बन्धित अत्यन्त निजी जानकारी प्रयोग हुने भए पनि ती जानकारी सुरक्षित रहने दाबी गरेका छन् । उनका अनुसार अधिकांश कृत्रिम बौद्धिकता सुविधा उपकरणमै सञ्चालन हुनेछन् । बाह्य प्रणाली आवश्यक पर्ने अवस्थामा समेत जानकारी सुरक्षित रूपमा राखिने र एप्पलले समेत प्रयोगकर्ताको व्यक्तिगत जानकारीमा पहुँच नपाउने उनले बताएका छन् ।
१९- युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजनमा बार्सिलोनाले फेयनुर्डलाई ५-१ ले हराउँदै शानदार सुरुवात गरेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि राफिन्हाले दुई गोल गरेका थिए भने करिम अदेयेमी, लामिन यामाल र गाब्रियल जेससले एक-एक गोल गरेका थिए । फेयनुर्डका लागि सेम स्टेनले एक गोल फर्काएका थिए । राफिन्हाले खेलको सुरुवातमै गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। अदेयेमीले २२औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए । दोस्रो हाफमा राफिन्हाले अर्को गोल थपेपछि लामिन यामालले ७७औँ मिनेटमा गोल गरेका थिए । फेयनुर्डका स्टेनले ८२औँ मिनेटमा एक गोल फर्काए पनि गाब्रियल जेससले ८५औँ मिनेटमा गोल गर्दै बार्सिलोनाको ५–१ को जित पक्का गरेका थिए ।
यता आर्सनलले भने इटालीको बलियो टोली नापोलीलाई उसकै मैदानमा १-० ले हराउँदै च्याम्पियन्स लिगको सुरुवात गरेको छ । खेलमा आर्सनलले धेरै अवसर सिर्जना गरे पनि गोल गर्न सकेको थिएन । अन्ततः कप्तान मार्टिन ओडेगार्डले ७५औँ मिनेटमा गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएपछि आर्सनलले महत्वपूर्ण जित हात पारेको थियो । ओडेगार्डको गोलसँगै आर्सनलले पछिल्लो सिजनको उपविजेताका रूपमा यसपटकको युरोपेली अभियानमा विजयी सुरुवात गरेको छ । नापोलीमाथिको जितसँगै आर्सनलले कठिन अवे मैदानबाट महत्वपूर्ण तीन अंक समेत जोडेको छ ।
२०- ओपनएआईले आफ्नो कृत्रिम बौद्धिकता प्रविधिले गणितको सबैभन्दा कठिन समस्यामध्ये एक मानिएको ९० वर्ष पुरानो नेभियर स्टोक्स समस्याको महत्वपूर्ण हिस्सा समाधान गरेको दाबी गरेको छ । ओपनएआईका अनुसार कृत्रिम बौद्धिकता प्रणालीले यसका लागि करिब ८८ घण्टा लगाएको थियो । नेभियर स्टोक्स समस्या सन् २००० मा प्रतिष्ठित गणित संस्था क्ले गणित संस्थानले छनोट गरेका सात कठिन गणितीय समस्यामध्ये एक हो । यी समस्यालाई ‘सहस्राब्दी समस्या’ भनिएको थियो
। सातमध्ये कुनै एक समस्या समाधान गर्नेलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरिएको थियो । नेभियर स्टोक्स समीकरणले पानी, हावा तथा अन्य तरल पदार्थ कसरी बग्छन् भन्ने कुरा गणितीय रूपमा व्याख्या गर्छ । वैज्ञानिकहरूले यी समीकरणमार्फत तरल पदार्थको गति, दिशा र बहावको अवस्था अनुमान गर्दै आएका छन् । तर यी समीकरणले सबै अवस्थामा सही रूपमा काम गर्छन् कि गर्दैनन् भन्ने प्रश्न अझै पूर्ण रूपमा समाधान भएको थिएन । ओपनएआईले नयाँ कृत्रिम बौद्धिकता प्रणाली प्रयोग गरेर समस्यासँग सम्बन्धित चारमध्ये दुई महत्वपूर्ण विषय प्रमाणित गरेको जनाएको छ । त्यसैले कम्पनीले यसलाई पूरै समस्या समाधान भएको दाबी नगरेको र १० लाख अमेरिकी डलरको पुरस्कारमा समेत दाबी नगर्ने जनाएको छ । ओपनएआईले प्रयोग गरेको नयाँ प्रणाली सर्वसाधारणका लागि सार्वजनिक गरिएको छैन । कम्पनीले यसको नाम पनि खुलाएको छैन ।
कम्पनीका अनुसार यो प्रणाली हाल सार्वजनिक गरिएको नयाँ पुस्ताको कृत्रिम बौद्धिकता प्रणालीभन्दा समेत बढी सक्षम आन्तरिक प्रणाली हो । यस काममा करिब १० हजार कृत्रिम बौद्धिकता प्रतिनिधि प्रयोग गरिएको र उनीहरूले करिब ३० लाख सन्देश आदानप्रदान गरेको ओपनएआईले जनाएको छ । यसबीच ओपनएआईको दाबीलाई लिएर विवादसमेत उत्पन्न भएको छ । गणितज्ञ ट्रिस्टन बकमास्टर र लेभेन्ट अल्पोगे पनि यही समस्यामा अनुसन्धान गरिरहेका थिए । उनीहरूले अनुसन्धानका क्रममा ओपनएआईका कृत्रिम बौद्धिकता उपकरणको समेत प्रयोग गरेका थिए । उनीहरूले अगस्टमा आफ्नो अनुसन्धानबाट केही नयाँ निष्कर्ष निकालेका थिए तर त्यसलाई सार्वजनिक गरेका थिएनन् । बकमास्टरले सेप्टेम्बर ३ मा आफ्नो अनुसन्धानसँग सम्बन्धित जानकारी ओपनएआईसम्म पुगेको थाहा पाएपछि आशंका व्यक्त गरेका थिए । तर ओपनएआईले ती दुई गणितज्ञको अनुसन्धान सार्वजनिक हुनुअघि आफूले नदेखेको दाबी गरेको छ ।